कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५
640

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड होली पर्वको अवसरमा पनि गन्तव्य बन्न सफल भएको छ । लेकसाइड क्षेत्रमा विदेशी पाहुनासँग सामूहिक रुपमा विभिन्न रंग लगाउँदै उनीहरुसँगै नाच्न पाउने भएपछि होली पर्वको दिन पनि लेकसाइडमा भीड लागेको हो ।
लेकसाइड क्षेत्रमा बिहानदेखि नै आन्तरिक तथा विदेशी पर्यटकहरुको भीड लागेको थियो भने पोखरा आएका अधिकांश विदेशी पर्यटकहरु सडकमै होली खेलेका देखिन्थे । जिल्ला ट्राफिक कार्यालय कास्कीले प्रहरीको सहयोगमा सहिद चोकदेखि र हल्लनचोकदेखि सवारी साधनमा रोक लगाएको थियो । पोखराको करिब ४ किलोमिटर सडक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको जमघट भएको थियो ।
रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले पनि होलीको अवसरमा महोत्सव आयोजना गरेको थियो । सामूहिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागी गराई नेपालको संस्कृति र पर्वको बारे जानकारी गराउँदै एक आपसमा मित्रता र सद्भाव साटासाट गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले बताए ।