कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५
735

यही चैत २३ गतेदेखि २०७६ वैशाख २४ गतेसम्म एक महिनासम्म बराहक्षेत्र चतराधाममा सञ्चालन हुने अर्ध कुम्भमेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । बुधबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पूरा भएको जानकारी गराएको हो ।
आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालका प्रथम जगद्गुरु एवं पिण्डेश्वर कुम्भमेलाका अन्वेषक श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजले मेलाको अवसरमा पवित्र कौशिकी गंगामा हुने विशेष कुम्भ स्नानमा सहभागी भई कुम्भ स्नान गर्न सम्पुर्ण भक्तजनहरुमा अनुरोध गरेका छन् । समुन्द्र मन्थनपछि प्राप्त अमृत पिण्डबाट निर्मित पिण्डेश्वर महादेवको स्थापना गरी स्वयं भगवान विष्णुले नेपालको चतराधामस्थित कोशी किनारमा सुरु गरेको कुम्भ मेला समयान्तरमा लुप्त हुन पुगेपछि शास्त्रीय प्रमाणको आधारमा नेपालका प्रथम जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजले २०५९ सालदेखि पुनः शुरु गरेका हुन् ।

२०५९ सालमा प्रथमपटक सञ्चालन भएको कुम्भमेलामै करिब २० लाख श्रद्धालुले कुम्भ स्नान गरेपछि क्रमशः अर्ध कुम्भ मेलामा २०६३÷६४ र दोश्रो पूर्ण महाकुम्भ मेला २०७०÷०७१ सम्म आइपुग्दा एक महिनाको मेला अवधिमा करिब डेढ करोड धार्मिक पर्यटकको आवगमन भएको बताइएको छ ।
पत्रकार सम्मेलनमा विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले उक्त कुम्भ मेलामा सहभागी हुन सम्पूर्ण भक्तजनहरुलाई आग्रह गरे । त्यस्तै, विश्व हिन्दू परिषद्का अध्यक्ष देवराज अधिकारीले यो कुम्भ मेलाले धागोको काम गर्ने सुनाए । उनले भने, “वैदिक सनातन धर्मको संरक्षण गर्नुपर्छ, यो मेलामा सम्पूर्ण देशभक्तहरुको भेला हुनुपर्छ ।”
मेलामा स्वदेश तथा विदेशबाट करिब ३ करोड भक्तजनले स्नान गर्ने आयोजकले विश्वास लिएको छ । मेलामा कोटिहोम, वेद पाठ, पुराण वाचन, सामूहिक व्रतबन्ध, स्वदेश तथा विदेशका जगद्गुरु, शंकराचार्यहरु धर्माचार्य एवम् चतुक्ष्य सम्प्रदायका वैष्णवाचार्यहरुबाट प्रवचन, साहित्यिक कार्यक्रम, झाँकीहरु, भजनकीर्तन, शास्त्रार्थ सम्मेलन पनि हुने आयोजकले जानकारी दिएको छ ।