मेगराज खड्का
बिहिवार, फाल्गुन २३, २०७५
2051

पोखरामा जमेका रुकुमेली युवा
जीवनमा सफलता पाउन संघर्ष गर्नैपर्छ । परिश्रमको फल मिठो हुन्छ भनेर त्यसै भनिएको पनि होइन । यस्तै उक्तिको उदाहरण बनेका छन् रुकुमेली एक युवा रुकुम रावलबाराका २८ वर्षिय महेश रावल ।
उनी अहिले नेपालको प्रमुख पर्यटकीय स्थल पोखरामा जमेर व्यवसाय गरिरहेका छन् । उनी प्याराग्लाइडिङका पाइलट र अटो मार्केटिङ लगायतका अन्य व्यवसायहरूमा पनि छन् । सानो छँदा रुकुमका बजारहरूमा व्यापारीको सामान ओसार्ने भरिया बनेका रावल अहिले आफ्नै व्यवसायमा तीन दर्जन बढीलाई काम लगाएर रोजगारी समेत दिएका छन् ।

बाल्यकालमै भरिया बनेर गुजारा
निम्न वर्गीय परिवारमा जन्मेका रावल सानै उमेरदेखि जीवनका लागि अनेक संघर्ष गरेको बताउँछन् । १०-११ वर्षको उमेरमा रुकुम सदरमुकाम खलंगा बजारमा सकिनसकी दाउरा ल्याएर बेचेको उनलाई अहिले पनि झल्झल्ती याद आउँछ । त्यसबीचमा उनले स्थानीय व्यापारीहरूको समान ओसारपसार गर्ने काम लगायतका अन्य विभिन्न काम गरे । बुवाको नेपाल एयरलाइन्समा लोडर पदमा जागिर त थियो तर त्यो जागिरले मात्र परिवारको सबै सदस्यको लागि खर्च पुग्न सम्भव थिएन ।
त्यति मात्र नभएर विद्यालय खर्च जुटाउनको लागि पनि उनले भरिया लगायतको काम गर्नु नै पथ्र्याे । घरायसी कामको बीचमा पनि त्रिभुवन जनता मावि विद्यालयबाट एसएलसीमा राम्रो अंक ल्याएर प्रथम श्रेणीमा उत्तीर्ण भएका रावल उच्च शिक्षाको लागि पढ्न पोखरा गए ।
आर्थिक अभाबका बिचमा पनि पढ्ने र सिक्ने इच्छाशक्ति धेरै भएका रावलले पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्यापसमा जोडिए । तर, आर्थिक लगायतका अन्य समस्याका कारण पढाइलाई निरन्तरता दिन सकेनन् । पछि उनी पुनः रुकुम फर्किए । त्रिभुवन जनता उच्च माविमा दिउँसो अध्ययन र साँझ बिहान क्यान्टिन संचालन गरेर अध्ययनलाई निरन्तरता दिए । त्यसपछि उनी क्रमशः जिल्लामा मोटरसाइकल व्यवसाय थाले । त्यसबाट आएको केहि रकम र केहि ऋण लिएर पनि उनले जीपसमेत किने ।
सल्यान रुकुम यातायात नामको दुई जिल्लालाई केन्दित गरेर गठन गरिएको बस समिति भएपनि रुकुममा कुनै पनि समिति थिएन । रुकुममा सिस्ने हिमाल यातायात बस समिति स्थापना गर्नमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उनी दाबी गर्छन् । रुकुमको व्यवसायबाट फड्को मार्दै दाङमा उनले अटो व्यवसायमा पनि काम गरे । त्यसपछि उनको पुनः व्यवसायिक यात्रा पोखरातर्फ मोडियो ।

करोडौंको लगानी, दर्जनौंलाई रोजगार
बाल्यकालमा भरियाबाट दैनिकी गुजारेका रावल अहिले भने पोखरा पस्र्याङमा सोनिया अटोमार्ट कम्पनी संचालक छन् । २ करोड ५० लाख बढीको लगानी रहेको उक्त अटोमार्ट कम्पनीमार्फत् गाडि खरिद–बिक्रिसँगै वर्कसपको काम पनि हुन्छ । कम्पनीमा तीन दर्जन बढीलाई रोजगारी दिएका छन् । त्यस्तै बिन्दास मिनरल वाटर उद्योग पनि उनकै लगानीमा संचालनमा आएको हो । “म त रुकुमको मान्छे । पोखरा जस्तो ठाउँमा मलाई आर्थिक, भौतिक र नैतिक सहयोग गरेर स्थापित गराउने दिपेन्द्र केसी दाइ हुनुहुन्छ । यहाँको सहयोग र मेरो इच्छाशक्तिको निरन्तरताले म आज यो स्थानसम्म आएको हो,” उनले भने ।

पाइलटदेखि कम्पनी सञ्चालकसम्म
पर्यटकीय नगरी पोखरामा व्यवसाय गर्ने भएका कारण उनको मन पनि पर्यटन तथा टे«किङमा गयो । जसका कारण बेला बेला आन्तरिक तथा बाह्य पर्यटकसँग यात्रासँगै अनुभवहरू समेत साटासाट हुन गयो । जसबाट उनी उत्साहित भए र प्याराग्लाइडिङ पाइलट बन्ने लक्ष्य लिए । त्यसबेला नेपालमा प्याराग्लाइडिङको शिक्षण गर्ने विद्यालय नभएका करण भारतको पुनेमा गएर ३ वर्ष तालिम लिए ।
४० लाख बढी रकम उक्त तालिममा खर्च गरेको उनी बताउँछन् । तालिमपश्चात २०७१ सालमा नेपाल फर्किएका उनी अन्य व्यवसायसँगै प्याराग्लाइडिङ क्षेत्रमा पनि जोडिए । पोखराको लेकसाइडमा हनुमान प्याराग्लाइडिङ कम्पनी दर्ता गरि उनले फ्लाइट गर्न शुरु गरे । अहिले उक्त कम्पनीमा १० जना बढी कर्मचारीहरू छन् । समय मिलेको बेला उनले आफैं फ्लाइट गर्ने गरेका छन् । कम्पनीले एक फ्लाइट गरेको नेपालीका लागि ५ हजार र विदेशीका लागि १२ हजारसम्म लिने गरेको छ । जसमा १५ देखि २५ मिनेट सम्मको फ्लाइट समय हुन्छ । व्यवसायसँगै समाजसेवा क्षेत्रमा पनि उनको रुची छ ।
कम्पनीमार्फत् पोखरा प्याराग्लाइडिङको नियमित फ्लाइटसँगै देशका अन्य सम्भावित पर्यटकीय क्षेत्रमा पनि प्याराग्लाइडिङको परीक्षण उडान गर्दै आएका छन् । २ वर्षअघि रुकुमसहितका कर्णालीका प्रदेशका जिल्लाहरूमा पनि प्याराग्लाइडिङको सफल परिक्षणमा उनी आफंै सहभागी भएका थिए ।