कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५
778

जुम्ला-महिला अधिकारकर्मी तथा राजनीतिकर्मी लक्ष्मीकन्या बुढाको ‘कर्णालीमा महिला भाग–२’ नामक पुस्तक बुधबार विमोचन गरिएको छ । कर्णालीका महिलाले द्वन्द्वकालकालदेखि आजसम्म भोगिरहेका विभिन्न पीडाहरुलाई पुस्तकमा प्रस्तुत गरिएको छ । लक्ष्मीकन्या दश वर्षे जनयुद्धदेखि विभिन्न आन्दोलन तथा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी अधिकारकर्मी हुन् ।
महिलासँग सम्बन्धित घटनाहरु दैनिक बढ्नुले महिला मुक्तिका नारामा मात्र सीमित रहेको उनको भनाइ छ । महिला हिंसाविरुद्धको अभियानका लागि आफ्नो पुस्तकले अभिप्रेरित गर्ने उनको विश्वास छ ।
पुस्तक विमोचन कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जुम्ला कर्णाली र समग्र देशको महिलाको वर्तमान अवस्था तथा भावी रणनीतिको विषयमा प्रतिनिधित्व गर्ने बताए । जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले पुस्तकले कर्णालीका महिलाको प्रतिबिम्ब देखाएको बताए । हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले महिला हिंसा अन्त्यका लागि घरबाटै शुरु गर्नुपर्नेमा सुझाव दिइन् ।