कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
844

पहिला र अहिलेको पनौती । भृकृटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड पुग्दा तस्बिरमा पुरातात्विक, पर्यटकीय एवं ऐतिहासिक नगरीलाई देख्न सकिन्छ । युवा फोटो पत्रकार प्रशान्त श्रेष्ठले संकलन गरेका र खिचेका तस्बिरबाट पनौतीबारे सहजै जान्न सकिन्छ ।
पुस २० देखि २६ गते (आज)सम्म राखिएको प्रदर्शनीमा प्रशान्तले विदेशीदेखि स्वदेशी पत्रकारहरुले खिचेका तस्बिरलाई राखेका छन् । “पाँच दशक अघिको पनौती र अहिलेको पनौतीमा धेरै फरक छ । ऐतिहासिक, पर्यटकीय र पुरातात्विक नगरी पनौतीलाई चिनाउन र यसबारे जानकारी दिनका लागि प्रर्दशनी आयोजना गरिएको हो,” श्रेष्ठले भने, “प्रर्दशनीमा राखिएका तस्बिरले पनौतीको महत्वलाई दर्शाउँछन् ।” विश्व सम्पदा सूचीमा प्रस्तावित पनौती बजारभित्र मात्र एक सयभन्दा बढी मठ मन्दिर छन् भने पुरानो नेवारी वस्ती छ । पुरातात्विक सम्पदा देख्न सकिने पनौतीमा प्रत्येक १२ वर्षमा मकर मेला लाग्छ । मकर मेला लाग्ने त्रिवेणी नदीदेखि पनौतीको बस्ती, यहाँको पुरातात्विक घर र कला कौशललाई तस्बिरमा समेटिएको छ ।
प्राकृतिक रुपमा समेत सुन्दर पनौतीलाई तस्बिरबाट चिनाउने प्रयास गरेका प्रशान्त प्रदर्शनीले पनौतीको महत्वलाई अझ उच्च बनाउने बताउँछन् । राजनीतिक नेता, इतिहासविद्, संस्कृतिविद्, पुरातत्वविद्देखि सर्वसाधारणले समेत प्रदर्शनी नियालिरहेका छन् ।