धर्मेन्द्र कर्ण
बिहिवार, कार्तिक २९, २०७५
476

अब न त पेन उस्तो रहन गएको छ, न त पेनको पेशा गर्ने मात्र कायस्थ्य रहेका छन् । सबैले सबैको पेशा अपनाउन पाउने कानुनी अधिकार सुनिश्चित छ । अब कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरी डिभाइसहरू बनाइएका छन् । ती डिभाइसलाई मुखले भन्दा उसले विषयवस्तु लेखोटमा वा शब्दमा रेकर्ड गरी राख्न सक्छ । अब कायस्थ्यहरूले पनि जीवनशैलीमा द्रुतगतिमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।

ज्ञानगुनका विषयलाई कण्ठ्य संग्रह विधिबाट संरक्षण गर्न नसकिने भएपछि लेख विधिको प्रादुर्भाव भएको इतिहास पाइन्छ । सुरूमा वेदपाठी ब्राह्मणहरूले ज्ञानगुनको विषयलाई पुस्तान्तरण गर्न तथा संरक्षण गर्न आफ्ना सन्तान र शिष्यहरूलाई कण्ठस्थ्य गराउन लगाएको इतिहासले बताउँछ ।
वर्णमालाको विकास र वर्णमाला लेख्न विभिन्न किसिमको कलम अर्थात् पेनको विकास भएको पाइन्छ । वेदपाठी ब्राह्मणहरूले आफ्ना ज्ञानगुनका विषयलाई प्राकृतिक वस्तुको रंग वा मसी बनाई ताडपत्रमा लेखेर संरक्षण गर्ने गरेका थिए । विकासक्रमसँगै कागज र कलमको विकास भई अनुभवजन्य ज्ञान र विज्ञानका विषयलाई कागज र कलमले संरक्षण गरिएको थियो । अहिले यस्ता ज्ञानगुनका विशाल भण्डारलाई सानो चिपमा भविष्यका पुस्ताहरूका लागि संरक्षण गर्न सकिने उच्चतम प्रविधिको विकास भइरहेको हामी पाउँछौं ।

टच स्क्रिनका आइप्याड वा नोटबुकमा प्राविधियुक्त कलमको प्रयोग गरी आफूले जेसुकै लेखेर संरक्षित गरी राख्न सकिने अवस्था हामीकहाँ आइपुगेको छ । यी सबै विषयको विकास र परिवर्तनलाई अर्थ सामाजिक तथा राजनीतिक सम्बन्धले प्रभावित गरिआएको सहजै देखिन्छ । यस्ता विषयको विकास र परिवर्तन वाष्प इन्जिन र मेसिन युगको आगमनपछि द्रुतगतिमा भएको इतिहासले दर्शाउँछ ।
मानव समाजको विकासक्रमसँगै विभिन्न चाडपर्वको विकास पनि भएको पाइन्छ । अहिलेका चाडपर्वको विकास कृषिमा आधारित रहेर आएको हुन सक्ने देखिन्छ । प्राचीनकालमा गरिने यज्ञ होमदेखि लिएर अहिलेका बर्थडेजस्ता उत्सव होइन, सबैमा अर्थ सामाजिक तथा राजनीतिक सम्बन्धको निरन्तर प्रभाव रहेकोमा दुई मत छैन ।
कृषिबाली भित्र्याइएपछि गरिने तिहार, भाइटीका र छठ पर्व नेपाल र भारतका भिन्नभिन्न ठाउँमा भिन्नभिन्न नाम र विधिले मनाउने गरिन्छ । तिहारलाई दिपावली, दियाबाती वा दिवालीलगायतका नामले सम्बोधन गरिन्छ भने भाइटीकालाई भ्रात द्वितीय वा भैया दुज भनेर पनि सम्बोधन गर्ने गरिन्छ । मृत्युका देवता यमराजले भाइटीकाका दिन राजकाजबाट बिदा लिएर बहिनीसँग टीका थाप्न गएको प्रसंग भाइटीकासँग जोडिने गरिएको पाइन्छ । भाइटीकाकै दिन यमराजका महालेखापालको रूपमा चिनिएका चित्रगुप्तको पनि पूजा गरिन्छ । चित्रगुप्तका सन्तानको रूपमा चिनिएका कायस्थ्यहरूले भाइटीकाको दिन आफ्ना आदिपुरूषको पूजाअर्चना गरी मनाउँछन् ।
भारतका भिन्नभिन्न प्रान्तहरूमा भिन्न कायस्थहरूको आफ्नै संस्कार र जीवनशैली रहेका छन् । नेपालमा पनि कायस्थहरूको बसोबास भएको पाइन्छ । प्रायः सबै ठाउँमा कायस्थहरूको बसोबास रहेको भए पनि सघन बसोबासको क्षेत्र राजधानीलगायत देशका प्रमुख सहरमा रहेको देखिन्छ । प्रान्तीय हिसाबले भन्नुपर्दा प्रदेश नम्बर २ मा कायस्थ्यहरूको सघन बसोबास भएको क्षेत्र पाउन सकिन्छ भने अन्य ठाउँमा केही परिवारहरूको बसोबास छ । पश्चिम नेपालको तराई फाँटमा श्रीवास्तवहरूको बलियो उपस्थिति रहेको छ भने पूर्वी नेपालमा कर्ण कायस्थ्यहरूको उपस्थिति छ ।
कर्ण कायस्थ्यहरूको समूहगत थर हो । यो थरअन्तर्गत दास, मल्लिक, कण्ठ, दत्त, लाल, लाभ, निधि, बर्मा र चौधरीजस्ता थर बोकेका कर्ण कायस्थ्यहरू पर्छन् । यसका अतिरिक्त सिन्हा र माथुर थरका कायस्थ्यहरूको पनि उपस्थिति नेपालमा नभएको होइन । कर्ण कायस्थ्यहरूको आगमन भारतको कर्णाटकवंशी नान्यदेवसँग भएको विद्वानहरूको मत रहेको छ । इतिहासविद् डा. शैलेन्द्रनारायण मल्लिकका अनुसार नान्यदेवसँग १४ घरपरिवार नेपाल आएका थिए, जसलाई चौधघरा भनिन्छ ।
यो चौधघराको विकास मूलका हिसाबले ५ सयभन्दा बढी हुन गएको छ । आर्थिक सामाजिक हैसियतका आधारमा कर्ण कायस्थ्यहरूको मूलको विकास हुने गरेको र यसको लेखाजोखा गर्ने व्यक्तिलाई पञ्जिकारहरूले गर्ने गरेको पाइन्छ । यही पञ्जिकारहरूको लेखाजोखाका आधारमा निर्माण हुने मूल अहिले ५ सयभन्दा बढी भएको पाइन्छ । सामान्य अवस्थामा कुनै घरपरिवारको व्यक्तिले आफ्नो मूल घर छोडेर अन्यत्र घरजम गरेर बसेमा तिनको मूलमा परिवर्तन हुने गरेको छ ।
जनकपुरबाट काठमाडौंमा बसोबास गर्नेहरूको मूलको निर्माण यसरी हुन सक्छ– जनकपुर संघ, काठमाडौं डेरा । जब त्यो परिवारको सम्बन्ध काठमाडौंमा जमेर अन्यत्र सर्छ, अनि त्यो मूलको निर्माण यसरी हुन जान्छ– जनकपुर संघ, काठमाडौं डेरा, बास गैरीगाउँ । यो मूलको आवश्यकता जातीय परम्पराअनुसार विवाह सम्बन्धको निक्र्यौल गर्नुपर्ने बेला हुन्छ ।
राजधानीमा बस्ने कायस्थ्यहरूले बर्सेनी ज्वागल युएनपार्कको मूलढोका अगाडि रहेको सानो मन्दिरमा चित्रगुप्तको पूजाआजा गर्ने गर्छन् । कायस्थ्यहरूले आफूलाई पाँचौं वर्णको रूपमा दाबी गर्ने र आफूहरू चित्रगुप्तको सन्तान भएको बताउँछन् । चित्रगुप्त पुराणलगायत विभिन्न ठाउँमा कायस्थ्यको वर्णन पाइन्छ । मिथकीय र धार्मिक दृष्टिकोणले कायस्थ्यहरूको दाबी जे भएपनि प्राचीन इतिहासमा कायस्थ्य राज्य सञ्चालनका लागि लेखाजोखाको लगत राख्ने उच्च पदस्थ पदाधिकारीहरूको पद थियो भन्ने इतिहासकारहरूको मत छ ।
यो पदमा आसिन व्यक्तिहरू राज्यमा शक्तिशाली ओहोदाका भएको र तत्कालीन कृषिमा आधारित राज्य संयन्त्रको लेखाजोखा गर्ने जिम्मेवार व्यक्ति भएकाले उनीहरूबाट हुनेगरेको थिचोमिचोलाई रोक्न र राज्यसंयन्त्रमा ब्राह्मणहरूको गुम्दै गएको साख जोगाउन तत्कालीन ब्राह्मण समाजको प्रतिरोधबाट कायस्थ्यहरू राज्यका उच्च संयन्त्रमा शक्तिशाली रहेको पुष्टि हुन्छ ।
“गुप्तोत्तर कालः सामाजिक, आर्थिक एवं सांस्कृतिक विकास’ शीर्षकमा प्राचीन भारतको इतिहासको लागि हिन्दू कलेजका इतिहासविद् हरिशंकर कोटियालले चार वर्णीय वर्ण व्यवस्थाबाट उत्पन्न दूरावस्थाबाट कायस्थ्य जातिको प्रादुर्भाव भएको उल्लेख गरेका छन् । साथै कायस्थहरूको प्रभावमा परिचालित राजकीय संयन्त्रबाट पीडित ब्राह्मणहरूको हक संरक्षणसमेतलाई ध्यान दिएर याज्ञवलक्यले यसो भनेको उनले उल्लेख गरेका छन् ।
याज्ञवलक्य स्मृतिमा भनिएको छ, भक्ष्यमाण प्रजाः रक्ष्या कायस्थे च विशेषतः ।’
औपचारिक रूपमा वर्ण व्यवस्था विहीन वर्तमान राज्यमा राज्यका पदाधिकारीहरूबाट आम जनता प्रताडित भएको प्रशस्तै उदाहरण पाइएकोले त्यतिखेरको समान्ती राज्य व्यवस्थामा उच्च पदस्थ पदाधिकारीहरूबाट सदैव न्याय नै भएको थियो होला भन्नु स्वाभाविक नभएको सन्दर्भमा याज्ञवलक्यको यो भनाइलाई त्यही सन्दर्भमा बुझ्नु उचित हुने देखिन्छ ।
इतिहासकार कोटियालका अनुसार वेदव्यास तथा ओशमन स्मृतिमा कायस्थ्यलाई एक जातिको रूपमा मानिएको छ । कानुनी रूपमा वर्णव्यवस्थामा आधारित वर्तमान समाज नरहेको भएपनि व्यवहारिक रूपमा वा संस्कारगत रूपमा कुनै न कुनै रूपमा जाति व्यवस्था रहेको छ ।
कलमजीवी कायस्थ्यहरूले चित्रगुप्त पूजाका दिन कलम र मसिदानीलाई सफासुग्घर बनाई पूजा गर्ने गरेकाले उनीहरूका लागि यो दिन ‘पेन डाउन’को दिन हो । परम्परागत रूपमा कायस्थ्यहरूले यो दिन कलमले लेख्ने गर्दैनन् भन्नुको अर्थ त्यो दिन कलमको पेशाबाट आयआर्जन गर्दैनन् भन्ने हो । यसैले उनीहरूले भाइटीकाका दिनलाई पेनडाउन नै भन्छन् । यो वर्ष काठमाडौंमा आयोजित चित्रगुप्त पूजामा प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाललगायतका जेष्ठ कायस्थ्यहरूलाई सम्मान गरेका थिए ।
अब न त पेन उस्तो रहन गएको छ, न त पेनको पेशा गर्ने मात्र कायस्थ्य रहेका छन् । सबैले सबैको पेशा अपनाउन पाउने कानुनी अधिकार सुनिश्चित छ । अब कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरी डिभाइसहरू बनाइएका छन् । ती डिभाइसलाई मुखले भन्दा उसले विषयवस्तु लेखोटमा वा शब्दमा रेकर्ड गरी राख्न सक्छ । अब कायस्थ्यहरूले पनि जीवनशैलीमा द्रुतगतिमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।
राजधानीको चित्रगुप्त पूजामा सहभागी एक विद्यालयका प्राधानाध्याक सत्येन्द्र लाल कर्णले भने, “अति उन्नत विज्ञान प्रविधिको स्वरूपमा निर्माण हुँदै गएको पेनलाई समात्ने जीवनशैली बनाउनु बदलिँदो युगको हाँक कायस्थ्यहरूका लागिमात्रै होइन, सबैका लागि आवश्यक भइसकेको छ ।”