जगन्नाथ दुलाल
आइतवार, जेठ १३, २०७५
4937

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे समकालीन युवा नेताहरूमा सैद्धान्तिक, वैचारिक क्षमता भएका नेताका रूपमा हेरिन्छन् । मातृ पार्टीले संवैधानिक राजतन्त्र भन्दै गर्दा नेपाल विद्यार्थी संघको तत्कालीन अध्यक्ष रहेका घिमिरेले गणतन्त्र भनेबापत राजद्रोहको मुद्दासमेत खेपे । गणतान्त्रिक आन्दोलनमा नेतृत्व गरेका घिमिरे गणतन्त्र आइसकेपछि भने चर्चाका हिसाबले ओझेलमै छन् । त्यति बेला गणतन्त्र भनेबापत आफूहरूलाई पार्टीबाट निकाल्नुपर्छ भनेर समेत भनिएको स्मरण गर्दै उनी अहिले कांग्रेसमा मात्र होइन, अरू पार्टीमा पनि गणतन्त्रका लागि लडेकाहरूलाई छेउ लगाउन खोज्नेहरूको बोलवाला रहेको बताउँछन् । कम्युनिस्टहरू सपनाको व्यापारी भएको बताउने उनी नेपालका कम्युनिस्टहरू लोकतन्त्र र संसदीय व्यवस्थाप्रति प्रतिबद्ध छन्–छैनन्, परीक्षा सुरु भएको बताउँछन् । पार्टीभित्रको अहिलेको शीर्ष नेतृत्वले अहिलेसम्मको राजनीतिक कोर्सलाई सफलतापूर्वक यहाँसम्म ल्याएकामा साधुवाद दिनुपर्ने उनी बताउँछन् । तर, अब यहाँभन्दा अगाडि लैजाने सामथ्र्य अहिलेको मूल नेतृत्वसँग नरहेकाले अब युवा नेता अग्रसर हुनुपर्ने उनको मत छ । त्यसका लागि जस्तोसुकै जोखिम उठाउन तयार रहेको बताउने कांग्रेस केन्द्रीय सदस्य उनै घिमिरेसँग सरकारको नीति तथा कार्यक्रम, सरकारले देखाएको सपना कार्यान्वयनका चुनौती र कांग्रेसको अबको बाटोका बारेमा केन्द्रित रहेर कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार :

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ । आर्थिक वर्ष ०७५/७६ को बजेट मंगलबार आउँदैछ । नीति तथा कार्यक्रममा कांग्रेस किन असन्तुष्ट ?
प्रस्तुतीकरणका दृष्टिकोणबाट यसलाई त्यति खराब भन्न मिल्दैन । नीति तथा कार्यक्रममा ५ वर्षे, १० वर्षे कार्ययोजना प्रस्तुत गरिएको छ । रोजगारीदेखि आय दोब्बर बनाउने, विद्युत् उत्पादन बढाउने कुरा गरिएको छ । सरसर्ती सुन्दा कर्णप्रिय लाग्छ । यी घोषणा पूरा हुन सक्छन् त ? भन्दा विगतको पृष्ठभूमि हेर्दा फगत घोषणामा सीमित हुने खतरा टड्कारो छ । यो नीति तथा कार्यक्रम एउटा सपनाको वितरणजस्तो लाग्छ । किनभने कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय चरित्र भनेकै सपनाको व्यापार गर्नु हो । कम्युनिस्टहरू भनेका सपनाका व्यापारीहरू हुन् । त्यसो भएकाले यिनीहरूले भनेका कुरा घोषणा गरेको अवधिभित्र पूरा हुने सम्भावना छैन । दुईवटा कम्युनिस्ट पार्टी मिलेका छन् । सरकारलाई बहुमत प्राप्त भएकाले पाँच वर्ष सरकार चल्ने सम्भावना बढेर गएको छ । यस्तो सरकारले त पूरा गर्न सक्ने कार्यक्रम पो घोषणा गर्ने हो । फगत घोषणा गरेर यो सरकार भोलि गएर असफल हुने बाटोतिर गएको देखिन्छ ।

सत्तारूढ दलका नेताहरू कांग्रेस अवसर पाउँदा केही गर्दैन । सपना देख्दैन, देखाउँदैन । जति बेला हामी सपना देख्छौं, केही गर्न खोज्छौं, विरोधका लागि विरोध मात्र गर्छ भनिरहेका छन् नि ?
सपना पनि वस्तुनिष्ठ, यथार्थपरक देखाउने हो । एउटा खरदारको जागिर खाने निजामती कर्मचारीले छोरालाई पल्सर बाइक, छोरीलाई आइफोन किन्दिन्छु भनेजस्तै हो । कति मीठो सपना छ । तर, यो एक प्रकारको मीठो भ्रम पनि हो । उसले किन्नै सक्दैन, त्यसका लागि अनुचित बाटो प्रयोग गर्नुपर्छ । सरकारले त अनुचित बाटो प्रयोग गर्नै सक्दैन । त्यसकारण सपना देखाउँदा पनि सत्य यथार्थको नजिक हुनुपर्छ । उहाँहरूले ०४८ सालमा पनि सपना देखाउनुभयो । चार बिघा जग्गा दिने, चार तोला सुन दिने, घरमा भैंसी बाँधिदिने जस्ता सन्दर्भअनुसारका सपनाहरू उहाँहरूले त्यतिबेला बाँड्नुभयो । ती कोरा सपनाका रूपमा रहे । त्यसकारण हामीले पूर्वाग्रह राखेर मात्र उहाँहरूलाई सपनाको व्यापारी भनेको होइन ।

प्रधानमन्त्री केपी ओलीले अहिले जुन ‘सुखी नेपाली, समृद्ध नेपाल’ भनिरहनुभएको छ । त्यो साकार हुने आधारहरू कति छन् ? वा यो पनि कोरा सपना मात्र रहला ?
उहाँले दिएको नारामा हाम्रो आपत्ति होइन । उहाँले भनेका कुरामा असहमति पनि होइन । जनताको संवेदनासँग खेल्ने काम राजनीतिक दलले गर्नु हुँदैन । ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा राम्रै हो । यो कालान्तरमा सार्थक पनि हुन्छ । तर, उहाँहरूले तोक्नुभएको समयसीमामा सम्भव देखिँदैन । उहाँहरूजस्तो चिन्तन, चेतना र विचारधारा बोकेको पार्टीबाट त्यो सम्भव पनि छैन । उहाँहरूको लोकतन्त्रप्रतिको अझै पनि गहिरो निष्ठा हो कि होइन ? त्यो प्रमाणित गर्नै बाँकी छ । संसदीय बहुदलीय व्यवस्थाप्रति प्रतिबद्ध हो कि होइन ? त्यो पनि अझै प्रयोगबाट सिद्ध हुनै बाँकी छ । उहाँहरू मूलतः लोकतन्त्रवादी हो कि होइन ? बहुलवादमा विश्वास गरेको हो कि होइन ? प्रमाणित हुनै बाँकी छ । हँसिया–हथौडा भएको झन्डा बोकेर, साम्यवादी विचारधारा बोकेर, माक्र्सवादी सिद्धान्तको अनुयायी हौं भनेर उहाँहरूले लोकतन्त्रको कुरा गर्न कति सुहाउँछ ? त्यसकारण यो समय उहाँहरूको परीक्षणकाल पनि हो । व्यवहारबाट सिद्ध गर्नुभयो भने हामीलाई उहाँहरूको नामसँग लेनादेना पनि छैन ।

एउटा कम्युनिस्टविरुद्ध अर्को कम्युनिस्ट पार्टीलाई कांग्रेसले उपयोग पनि गर्न सफल भयो । दुवै ठूला कम्युनिस्ट पार्टीको एकताले कांग्रेसका लागि चुनौती थप्ने विश्लेषण भइरहँदा कांग्रेसले कसरी लिएको छ एकतालाई ?
नेपाली कांग्रेसका लागि यो अवसर पनि हो । इतिहासको यात्रालाई ७० वर्षदेखि हामीले डोहोराउँदै आयौं । राणाशासनको अन्त्य होला भनेर जनताले सोच्नसमेत छाडिसकेका थिए । क्रान्ति गरेर देशमा हामीले प्रजातन्त्र ल्यायौं । जति बेला कम्युनिस्टहरूको अत्तोपत्तो थिएन, कम्युनिस्ट पार्टीचाहीँ स्थापना भएको थियो त्यतिबेला कम्युनिस्टहरूले क्रान्तिको विरोध गरेका थिए । यो बुर्जुवाहरूले गरेको क्रान्ति हो । यसले परिवर्तन हुँदैन भनेर पुष्पलाल श्रेष्ठले पर्चा नै छरेका थिए । हामीले प्रारम्भ गरेको राजनीतिक यात्रालाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्यायौं । हामीले अग्रसरता नलिएको भए ०४६ सालको परिवर्तन नै हुँदैनथ्यो । हामीले नचाहेको भए गणतन्त्र नै आउँदैनथ्यो । ०७० सालमा संविधानसभाको निर्वाचन पनि हुँदैनथ्यो । ०६४ मा उहाँहरू मिल्दा संविधान ल्याउन सक्ने अवस्था हुँदा पनि संविधान आएन । ०७० मा हामी ठूलो पार्टी भएर आएपछि संविधान आयो । हाम्रो नेतृत्व भएकै कारण तीन तहको निर्वाचन सम्पन्न भयो । त्यसकारण मैले धेरै बोलिरहनै पर्दैन । इतिहासदेखि आफूलाई पुष्टि गर्दै नेपालको राजनीतिलाई सकारात्मक दिशामा हामीले ल्याएका छौं । अहिले यो निर्वाचनबाट हामी सत्ताबाहिर भएका छौं । यो अवसर हो ।
वैचारिक, सैद्धान्तिक, दार्शनिक रूपमा निकै कमजोर भइसकेको विचारधारामा विश्वास गर्ने एमाले र माओवादीबीच पार्टी एकता भएको छ । कम्युनिस्ट पार्टी एक भएर मुलुकलाई धु्रवीकरणतिर लाने र समग्रमा वैचारिक ध्रुवीकरण निर्माण गर्ने खतरा पनि छ । कमजोर भइसकेको विचारधारा, सिद्धान्त र दर्शन निर्वाचनबाटै सत्तामा पुग्नु र जनतालाई निर्वाचनमा आफ्नो पक्षमा मत हाल्ने अवस्था बनाउनु विचित्रको घटना हो । संसारबाटै यो विचार खुम्चँदै गएको, अन्तिम श्वास लिँदै गरेको र भेन्टिलेटरमा पुगिसकेको स्थितिमा नेपालमा आश्चर्यलाग्दो नतिजा आएको छ । संसारका प्रयोगबाट असफल भएको, जनताको सर्वोच्चतालाई अस्वीकार गर्ने, कम्युनिस्ट सर्वोच्चतामाथि विश्वास गर्ने, सर्वहारा अधिनायकत्वको नाममा कम्युनिस्ट अधिनायकत्व स्थापित गर्ने जुन राजनीतिक सिद्धान्त छ, यसले जनमतबाटै सत्तामा पुग्ने बाटो तय गर्नु संसारकै लागि आश्चर्यको विषय हो । अब हामीले गम्भीर रूपबाट कांग्रेसको मूल चरित्रमा पुनरावलोकन गर्नुपर्छ । गरेको गल्ती–कमजोरी सच्याउनुपर्छ । अब पार्टी संगठनलाई आधारभूत तहबाटै बलियो बनाउनुपर्छ ।

पटक पटक सत्ता सञ्चालनको अवसर पाएको र विश्वमा अहिले स्थापित प्रजातान्त्रिक धारको पार्टी भएर पनि कांग्रेस किन यति कमजोर हुन पुग्यो ? कहाँ चुक्यो कांग्रेस ?
कम्युनिस्ट पार्टीहरूको बल र बुद्धिका कारण मात्र उनीहरूलाई सफलता मिलिरहेको छैन । यी सबै घटनाक्रमका पछाडि लोकतान्त्रिक शक्तिका कमजोरी पनि अन्तरनिहित छ । ०४६ को परिवर्तनपछि हामी जनतामा जाने भन्दा सिंहदरबार केन्द्रित भयौं । सत्तामुखी मनोवृत्तिका कारण जनतासँगको सम्बन्धबाट टाढियांै । अहिले जनताको घरआँगनमा जाने अवसर आएको छ । एक प्रकारले हामी भनेको सत्ता, सत्ता भनेको हामी भनेर सोच्न थाल्यौं । सिंहदरबार मुख्य कुरा भन्ने मनोविज्ञान राख्यौं । कतिपय नेताले त कार्यकर्तालाई भेडाबाखा ठान्न थालेका थियौं । जनतालाई के ठान्यौं, त्यो कुरा नगरौं । त्यो चरित्रको नवसामन्तको रूपबाट हाम्रा नेताहरू अघि बढ्न थालेका थिए । हामीले देशलाई सुरक्षित रुपबाट यहाँसम्म ल्यायौं भनेर पनि जनतालाई भन्नुपर्छ । सत्तामा रहँदा कांग्रेसले विकास र पूर्वाधारका काम तथा नेपाललाई अघि बढाउने केही न केही काम गरेकै हो । कांग्रेस नेतृत्वमा भएका विकास–निर्माणको दृष्टान्त धेरै दिन सकिन्छ । तर, जनतासँगको सम्बन्धलाई कांग्रेसले पहिलेजस्तै कायम राख्न सकेन । हिंसाको ज्वारभाटाबाट देशलाई उद्धार गरेर शान्तिमा ल्यायौं, राजनीतिक अधिकारको लडाइँलाई टुंगोमा पुराएको कुरा जनतालाई भन्नुपर्छ । इतिहासमा कांग्रेस पार्टीले गल्ती नै गरेको छैन । गल्ती पार्टीका नेताहरूले गरेका छन् । अहिले सरकारमा बसेका कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय चरित्र, विगत सबै जनताकहाँ लैजानुपर्छ । ०७ सालको क्रान्तिदेखि आजको राजनीतिक परिवर्तनसम्म डोराएर ल्याउन कांग्रेसको भूमिका के थियो ? आज नेपाली समाजलाई कुन बाटो, कुन दिशा दिएर कहाँ पुराउन खोजेका छौँ ? कांग्रेसको प्राथमिकता के हो ? जनता र नयाँ सन्ततिको भविष्यप्रति हामी कति चिन्तित छौँ ? भन्ने विषयमा जनतालाई सम्झाउनुपर्ने र जनताबीच गएर उनीहरूका घर आँगनमै आफूलाई उभ्याउन चुक्यौँ । हाम्रो कमजोरीको फाइदा कम्युनिस्टहरूलाई पुग्यो ।

कांग्रेसमा अहिले शीर्ष नेतृत्वको सान्दर्भिकतामाथि बहस छ । के साँच्चै अहिलेको मूल नेतृत्व असक्षम पुष्टि भएकै हो ?
अहिले हाम्रा नेताहरूसँग दुईवटा विकल्प छ— एउटा उद्धारको, अर्को सुधारको । उद्धार भनेको मुक्ति अर्थात् विश्राम हो । यदि सुध्रिएर आउनुभयो भने फेरि पनि अवसर छ । मूल नेतृत्वमा उहाँहरूकै पुस्ताबाट अथवा उहाँहरू निकटको अर्को पुस्ताबाट नेतृत्व आउला । यदि सुध्रनु हुन्न भने त उहाँहरूले विश्राम लिनुपर्छ । अहिले पनि हामीले शंकाको सुविधा दिइरहेका छौं । उहाँहरूलाई सुध्रनुस् भनेर भनिरहेका छौं । व्यक्ति नसुध्रिएसम्म त संस्था सुधार्न सकिँदो रहेनछ । हामीले केन्द्रीय समितिमा प्रस्तुत गरेको दस्तावेजमा र बाहिर पनि भनेका छौं, पहिला आफू बदलिनुपर्छ । आफू बदलिएपछि पार्टी बदल्न सकिन्छ । पार्टी बदलेपछि मुलुक बदल्न सक्छौं । वैचारिक, सैद्धान्तिक कुरा बदल्न जरुरी छैन । केही नीतिगत कुरा, कार्यक्रम, रणनीति समयसापेक्ष बनाउनुपर्यो । त्यसका लागि नेतृत्व तयार हुनुपर्यो । नेतृत्वको अग्रसरता हुनुपर्यो । हामीले त अग्रसरता लिन्छौं भनेकै छौं नि । त्यसकारण नसुध्रनेहरू इतिहासको अँध्यारो गर्तमा बिलाउँछन् । चाहे पार्टीका नेता हुन्, चाहे देशका नेता हुन् ।

युवा नेताहरू पनि शीर्ष तहका नेताहरूकै कुनै न कुनै गुटका सदस्य देखिन्छन् । यस्तो अवस्थामा कांग्रेसमा युवाहरूबाट पनि धेरै आशा गर्न सकिन्न भन्छन् नि ?
वैयक्तिक स्वार्थले काम गरेको छ । आफू के–के बन्ने हो, अहिले नै बनिहाल्नुपर्छ भन्ने स्वार्थ छ । अर्को कुरा, असुरक्षाको भावना व्याप्त छ । त्यो मनोवैज्ञानिक आतंककै रूपमा फैलिएको छ । मैले नेतृत्वसँग फरक मत राखे पनि गोता खानुपर्छ, जोखिममा पर्छु भन्ने मनोविज्ञान छ । त्यो मनोविज्ञानबाट मुक्त हुनुपर्छ । मैले के पाउँछु वा पाउँदिन भन्ने सोच्न छाड्नुपर्छ । राज्यको उच्च ओहोदामा पुग्नका लागि हामी राजनीतिमा होमिएको होइन । हिजो गणतन्त्रको माग गर्दा सबैले पागल भन्थे । गणतन्त्र आएपछि हामीलाई पागल भन्नेहरूले गणतन्त्रको सम्पूर्ण अवसर छोपिरहेका छन् । जोखिम उठाउन के बाँकी छ ? गोता खान के बाँकी छ ? मलाई व्यक्तिगत रूपमा भन्नुहुन्छ भने जोखिम उठाउन कुनै पनि चिन्ता छैन । हिजो गणतन्त्रका बेला जसरी जोखिम उठाएँ, अहिले पार्टीको सुधारका लागि, नयाँ पुस्ताको भविष्यका लागि जोखिम उठाउन तयार छु । विगतमा सफलतापूर्वक देशको राजनीतिलाई यहाँसम्म ल्याइपुराउनुभएकोमा उहाँहरूलाई साधुवाद छ । अब यहाँभन्दा अगाडि डोराएर लैजान उहाँहरूको सामथ्र्य पुग्दैन । अब नयाँ पुस्ता अग्रसर हुनुपर्छ । त्यसका लागि पार्टीभित्रको राजनीतिमा वा देशको राजनीतिमा जस्तोसुकै जोखिम उठाउन हामी तयार छौं ।

अब के के गर्यो भने कांग्रेसमा सुधार आउला ?
पहिलो कुरा, आन्तरिक रूपबाट पार्टी संगठनलाई व्यवस्थित बनाउनुपर्छ । पार्टीका अवयवहरू पूर्णता दिनुपर्छ । भ्रातृसंस्थाभित्रका अनुशासनहीनता र अराजकतालाई अन्त्य गरेर त्यसलाई व्यवस्थित गरेर उद्देश्य केन्द्रित बनाउनुपर्छ । दोस्रो कुरा, अहिलेको राजनीतिक मोडमा हामी जहाँ उभिएका छौं, अब नयाँ व्याख्या र विश्लेषणसहित अगाडि आउनुपर्छ । सरकारमा कम्युनिस्ट पार्टी छ । हामी प्रतिपक्षमा छौं । अबको हाम्रो जिम्मेवारी के हो ? मुलुकको चुनौती के हो ? समाजका चुनौती के हुन् ? यी विषयमा स्पष्ट नीति तर्जुमा गरेर पार्टी अगाडि बढ्नुपर्छ । जिल्ला सभापतिहरूको बैठक, महासमितिको बैठकबाट सुझाव लिनुपर्छ । अर्को मूल कुरा, संसद्भित्रको पार्टीको भूमिकालाई व्यवस्थित गर्नुपर्यो । हाम्रो अहिले दुईवटा ठाउँ हो । एउटा संसद् र अर्को जनताका बीचमा हो । संसद्भित्र सरकारले गर्ने कामकारबाहीमा गुण र दोषका आधारमा हामी पक्ष र विपक्षमा उत्रिन्छौं । प्रतिपक्षको भूमिकालाई पनि पुनःपरिभाषित गर्नुपर्यो । परम्परागत भूमिकाले अब हुँदैन । कतै हामी चुकेका छौं । ०४८ सालको एमाले र ०६४ पछिको माओवादीले प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेनन् । हामी मार्गदर्शक पनि हौं । त्यसकारण प्रतिपक्षको भूमिका यस्तो हुनुपर्छ भनेर हामीले संसद्भित्र उदाहरण प्रस्तुत गर्नुपर्छ । जनताको बीचमा उभिँदा जनता आश्वस्त हुने काम विगतमा गरेका छौं । अब त्यो भन्दा पनि राम्रो गर्न सक्छौं भन्ने आत्मविश्वास कार्यकर्तामा भर्न सक्नुपर्छ । जनतालाई विश्वस्त पार्न सक्नुपर्छ ।

अहिले केन्द्रदेखि प्रदेश तहसम्मै प्रतिपक्षको भूमिकामा तपाईंहरू हुनुहुन्छ । अब कांग्रेस कसरी अगाडि बढ्छ ?
हामी आगामी पाँच वर्षका लागि केन्द्रीय सरकार र प्रदेश सरकारमा छैनौँ । अब हामीले सरकारले के–के काम गर्छ त्यसलाई सचेततापूर्वक हेर्नुपर्छ । उनीहरूले गरेका खराब काममा प्रश्न उठाएर त्यस्ता काम गर्नबाट रोक्न सक्नुपर्छ । कतै हाम्रो सरकार नहुनुको मतलब कांग्रेस सकियो भन्ने होइन । हामीले ३५ लाख मत पाएका छौं । साढे ३१ लाख समानुपातिक मत छ । हाम्रो संगठनको जरा गाउँगाउँसम्म छ । हामीले अहिलेको सरकारले गरेको कामलाई सचेततापूर्वक हेर्दै खराब काम गर्नबाट रोक्न सक्नुपर्छ । बहुमतको आडमा खराब काम गरे भने गलत कामलाई जनताबीच लगेर नङ्ग्याउन सक्नुपर्छ ।