भुवन पौडेल
सोमवार, जेठ ७, २०७५
2528

एनआईटी इन्जिनियरिङ, नागपुर, इन्डियाबाट कम्प्युटर साइन्स इन्जिनियर गरेका देवप्रकाश गुप्ता पछिल्लो समयमा नेपालको पुँजीबजारसँग जोडिएका छन् । पुँजीबजारको अति आवश्यक मानिएको केन्द्रीय निक्षेप सेवाको स्थापना भए पनि पूर्ण सञ्चालन हुन नसकेको अवस्थामा सीडीएस एन्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका गुप्ता पछिल्लो समयमा सेयर बजारलाई प्रविधिमैत्री बनाउन सफल भएका छन् । शैक्षिक रूपमा व्यावसायिक प्रशासनमा स्नातकोत्तर गरेका गुप्ताले पछिल्लो समयमा पुँजीबजारलाई फोकस गरेर फाइनान्समा एमफिल गरेका छन् । हाल पुँजीबजारसँग सम्बन्धित पीएचडी गर्दै गरेका गुप्ताले साधारण सेयरको आवेदनका लागि हुने लामो लाइन मात्र हटाएनन्, प्राथमिक बजारमा हुने चलखेललाई समेत समाप्त पारेका छन् । साधारण सेयरमा अरूको नामबाट आवेदन दिने प्रचलनको अन्त्य गर्दै बोरेलाई समेत बजारबाट बाहिर निकाले । सञ्चालन हुने–नहुने दुविधामा रहेको सीडीएस स्थापनाको चार वर्षपछि जिम्मेवारी सम्हालेका गुप्ताले आफूले जिम्मेवारी लिएको साढे दुई वर्षको अवधिमै सीडीएसलाई स्थापित मात्र गरेनन्, सेयर लगानीकर्तालाई समेत प्रविधिमैत्री सेयर बजारको सपना साकार बनाए । सेयर बजारमा प्रविधि भिœयाउँदा चुनौती तथा समग्र सीडीएस कार्यान्वयनको अवस्थाका बारेमा गुप्तासँग कारोबारकर्मी भुवन पौडेलले गरेको कुराकानी :

सीडीएस एन्ड क्लियरिङले पूर्ण रूपमा काम गर्न थालेको करिब दुई वर्ष भन्दा धेरै भए पनि सूचीकृत धितोपत्रको अभौतिकीकरण अभैm पूर्ण हुन नसक्नुको कारण के हो ?
हाल धितोपत्रको दोस्रो बजारमा सूचीकृत कुल सेयरमध्ये करिब ७७ प्रतिशत धितोपत्र अभौतिकीकरण (डिम्याट) भएको छ । अभौतिकीकरण नभएका मध्ये अधिकांश संस्थापक सेयर छन् । मेरो अनुमानमा डिम्याट नभएका सेयरमध्ये २० प्रतिशत संस्थापक र बाँकी ३ प्रतिशत साधारण सेयर रहेका छन् । संस्थापक सेयरमध्ये पनि विदेशी लगानीकर्ताले डिम्याट गरेका छैनन् । विदेशी लगानीकर्तालाई सेयर कारोबार गर्न आवश्यक नै नभएकाले पनि डिम्याटमा नआएका हुन सक्छन् । जस्तो स्ट्यान्डर्ड चार्टर्ड बैंकको सम्पूर्ण संस्थापक सेयरको डिम्याट भएको छैन । उनीहरूलाई कारोबार गर्नु नै नपर्ने भएकाले पनि अभौतिकीकरण नगरेका हुन् ।
साधारण सेयरको पार्टबाट हेर्दा समग्रमा २ देखि ३ प्रतिशत मात्र सेयर डिम्याट हुन बाँकी छ । त्योमध्ये कति सेयरमा लगानी गरेर विदेश गएको वा केही सेयर डिम्याटमै ल्याउन नमिल्ने अवस्थामा छन् । डिम्याट सेयर कारोबारको सुरुवातदेखि नै बजार मागलाई कुनै अवरोध सिर्जना भएको छैन । सरसर्ती हेर्दा सीडीएसले सूचीकृत सेयरमध्ये करिब ९८ प्रतिशत सेयर अभौतिकीकरण गराउन सफल भएको छ ।
कृषि विकास बैंकले गाउँ–गाउँमा गएर सेयर दिएको छ । त्यो सेयर डिम्याटमा आउन सकेको छैन । त्यसको कारण भनेको जनचेतना अभाव हो । कृषि विकास बैंकको सेयरको विषयमा हामी बैंकसँग सहकार्य गरेर उपयुक्त संयन्त्र बनाउने सोचमा छौं । जनचेतना विस्तार गरेर बैंकको सहकार्यमा निश्चित संयन्त्र तयार भएको खण्डमा बाँकी रहेको २ प्रतिशत सेयर पनि अभौतिकीकरण हुने निश्चित छ । सेयर कारोबार गर्न परेको खण्डमा डिम्याट गरेको हुनुपर्छ भन्ने जानकारी सेयर पाउने किसानलाई थाहा नभएकाले रोकिएको हो । त्यस्तो सेयरका अतिरिक्त दोस्रो बजारमा कारोबार हुने शतप्रतिशत सेयर डिम्याट भएको छ ।
प्राथमिक बजारलाई प्रभावकारी र सहज बनाउन धितोपत्र बोर्डले आस्बा लगायो । त्यसलाई सीडीएसले सप्लिमेन्ट गरेर सी–आस्बा सुरु गर्यो । सी–आस्बा कार्यान्वयनपछि लाइनमा बसेर साधारण सेयरको आवेदन दिनुपर्ने अवस्था अन्त्य भयो । आस्बा आए पनि ६० देखि ७० दिन बाँडफाँडका लागि लाग्थ्यो । तर, सी–आस्बा र मेरो सेयरको माध्यमबाट हामीले सार्वजनिक निष्कासन भएको ३७ घण्टामै बाँडफाँड गर्न सफल भयौं । त्यति मात्र होइन, बाँडफाँड भएको ३१ औं दिनमा धितोपत्रको दोस्रो बजारमा कारोबार भयो । यस्ता विकासका लागि हामी प्रतिबद्ध छौं । आगामी दिनमा पनि यस्ता कार्य निरन्तर कायम राख्नेछौं । त्यसैले जनचेतना अभिवृद्धि गरेर बजारको समयसापेक्ष विकास गर्नका लागि हामी सधैं तत्पर छौं ।

इक्युटी सेयर मात्र डिम्याटमा आएको देखिन्छ, डिबेन्चरको डिम्याट गर्ने क्रम अझै सुरु हुन सकेको छैन, यसको कारण के हो ?
ऋणपत्रलाई पनि डिम्याट गर्ने भनेर धेरै छलफल गर्येउ । त्यसमा सरकारी ऋणपत्रको सन्दर्भमा पनि धेरै प्रयास गर्येउ । तर, नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने ऋणपत्र संस्थागत र व्यक्तिगत गरेर छुट्ट्याएको छ । त्यसको कारोबार गर्दा पनि संस्थागत ऋणपत्रको खरिदकर्ता संस्था र व्यक्तिगत ऋणपत्रको खरिदकर्ता व्यक्ति हुनुपर्ने भएकाले पनि समस्या देखिएको हो । ऋणपत्रको कारोबार संयन्त्र हेर्दा पनि नमिलेको देखिन्छ । त्यसका साथै पुँजीगत लाभ करको सन्दर्भमा पनि ब्याजदर भुक्तानी दिने समयावधिअनुसार तोकिएकाले जटिलतला देखिएको हो । अहिलेको हाम्रो पुँजीबजार इक्युटी बेस छ । लगानीकर्तामा पनि डेब्ट मार्केट तथा डेरिभेटिभ मार्केन्ट सन्दर्भमा जनचेतनाको कमी छ । त्यसका अतिरिक्त कारोबार संयन्त्रलाई परिवर्तन गरी जुनसुकै समूहले पनि खरिद–बिक्री गर्न पाउने व्यवस्था गरेको खण्डमा बन्डको कारोबार वढ्ने देखिन्छ । कारोबार बढ्ने भएपछि अभौतिकीकरण गर्ने क्रम स्वतः बढ्न जान्छ ।
अहिले देश संघीयतामा गएको छ । यो अवस्थामा प्रदेश तथा स्थानीय तहलाई पैसा चहिन्छ । प्रदेश तथा स्थानीय तहले पैसा ल्याउने भनेको आन्तरिक ऋणबाटै हो । त्यसमा म्युनिसिपल तथा प्रदेश बन्ड जारी गरेर पैसा संकलन गरी विकास–निर्माणका लागि काम गर्छ । अहमदाबाद पनि म्युनिसिपल बन्डको माध्यमबाट पुँजी संकलन गरेर विकास गरेको स्टेट हो । बन्ड जारी गरेपछि बिक्री गर्ने संयन्त्र तयार भएको खण्डमा सीडीएसको महत्वपूर्ण भूमिका हुन्छ । सीडीएसले अभौतिकीकरण गरेर कारोबार गर्न योग्य बनाउँछ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार लागि आवश्यक आधार तयार गरिदिन्छ । अहिले सीडीएससँग बलियो पूर्वाधार छ । त्यसमा कुनै संकोच मान्नु पर्दैन । संघीयता कार्यान्वयनका क्रममा सरकारले नीतिगत सुधार गरेर अघि बढेको खण्डमा सीडीएसको महत्वपूर्ण योगदान रहन्छ ।

अहिले सीडीएसले दिइरहेको सेवामा सेवाशुल्क महँगो भयो भन्ने पनि सुनिन्छ, यसमा हेरफेर गर्ने योजना छ ?
निक्षेप सदस्यले लिने सेवा शुल्क सीडीएसले नै तोकिदिएको छ । वार्षिक रूपमा १ सय रुपैयाँ तोकेको छ । यो भनेको केही पनि होइन । यसलाई दैनिक रूपमा हेर्दा ३० पैसा मात्र हो । अन्य विकसित राष्ट्रहरूको तुलनामा यो शुल्क धेरै तल हो । त्यसका साथै व्यावसायिक टिक्ने माध्यम नै भएन भने सेवा प्रदान गर्ने अवस्था रहँदैन । सेवा प्रदान नगर्नु भनेको लगानीकर्तालाई नै घाटा हो । म सीडीएसमा आउँदा निक्षेप सदस्यले काठमाडौं उपत्यकामा मात्र सेवा प्रदान गरेका थिए । अहिले हेर्ने हो भने देशका ७७ वटै जिल्लाबाट निक्षेप सदस्यले सेवा दिएका छन् । करिब साढे २ वर्षको अवधिमा निक्षेप सदस्यको सेवा सबै जिल्लामा पु¥याउनु चुनौतीपूर्ण थियो । अहिले बैंक–वित्तीय संस्थाका झन्डै १२ सय शाखामार्फत निक्षेप सदस्यले सेवा दिँदै आएका छन् । रसुवागढी, साञ्जेन, आरम्भ माइक्रो फाइनान्सलगायतका पछिल्ला सार्वजनिक निष्कासनमा डोल्पा तथा सोलुखुम्बुबाट समेत आवेदन आएका छन् । यो सुविधा पहिले त थिएन नि ! त्यसैले सेवाप्रदायक संस्थाले आफ्नो खर्च नै उठाउन सक्दैन भने सेवा कसरी दिन्छ ? सेवाको निश्चित शुल्क आवश्यक हुन्छ । हाल लगानीकर्ताले तिर्नुपर्ने सेवाशुल्क महँगो होइन । तर, पैसा तिरेअनुसारको प्रभावकारी सेवा भने पाउनुपर्छ । त्यसका लागि सीडीएस गर्नुपर्ने सुधारका लागि तयार छ ।

सीडीएसको निक्षेप सदस्य रहेको धितोपत्र दलालले लगानीकर्ताको अनुमतिबिना नै खातामा रहेको सेयर बिक्री गरे भन्ने गुनासा पनि आएका छन्, सीडीएस आएपछि लगानीकर्ताको सम्पत्ति धितोपत्र दलालको हातमा गएकाले जोखिम झनै बढ्यो भनिन्छ नि ?
केही समयअघि खातावालाको अनुमतिबिना नै धितोपत्र दलाल कम्पनीले सेयर बिक्री गरेको उजुरी परेका थिए । पछि हामीले बुझ्दा झुक्किएर गल्ती भएको भन्ने आयो । त्यो समस्यामा खातावालाले दलाल कम्पनीसँग सेयर नै दिनुपर्ने माग राखेका थिए । दोस्रो बजार बढ्ने क्रममा रहेकाले पनि ग्राहकले सेयर नै मागेको हुन सक्छ । त्यसमा सीडीएसले धितोपत्र दलाल कम्पनीलाई स्पष्टीकरण सोधेर सचेत गरायो । त्यसका साथै ग्राहकलाई क्षतिपूर्ति पनि दिलायो । सीडीएस भर्खरै मात्र कार्यान्वयनको चरणमा भएकाले पहिलो गल्ती हुन सक्छ भनेर सचेत गराएर छाड्यौं । त्यसपछिको प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा पनि पठाएका थियौं ।
अहिले नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएसले सुपरिवेक्षणलाई प्रभावकारी बनाउन संयुक्त संयन्त्र बनाएका छौं । त्यसका धितोपत्र कारोबारको सुपरिवेक्षण नेप्सेले तथा राफसाफको सुपरिवेक्षणको जिम्मेवारी सीडीएसको र सम्पूर्ण नेतृत्वको जिम्मेवारी बोर्डले लिने गरी सुपरिवेक्षण संयन्त्र विकास गरेका छौं । यसरी काम गरेपछि एक–अर्कालाई दोष देखाउन पनि मिल्दैन र काम पनि प्रभावकारी रूपमा हुन्छ । यो संयन्त्रले पछिल्लो समयमा धेरै राम्रो काम गरेको छ । पछिल्लो समयमा नो योर कस्टुमर (केवाईसी) अपडेट नगरेको केसमा ५० हजार रुपैयाँ जरिवाना गरेको छ । यो पनि शंकास्पद कारोबारलाई ट्रेस गर्दा पत्ता लागेको हो ।
पछिल्लो समयमा धितोपत्र दलालले दायाँबायाँ गर्ने सम्भावना नै छैन । पछिल्लो समयमा बोर्ड र नेप्से लगानीकर्ताले बिक्री आदेश दिएको हो–होइन भन्ने सम्मको खोजी गर्ने क्रममा छ । लगानीकर्ताले सेयर बिक्री आदेश दिएको हो होइन भन्ने ट्रेस गरेको खण्डमा यस्ता समस्या पुनः आउँदैनन् ।

भौतिक सेयर हुँदा नक्कली प्रमाणपत्र बनाएर कारोबार हुने गरेको हाम्रो बजारमा अभौतिक सेयर भए पनि गलत मनसाय भएका व्यक्ति वा समूहलाई झनै सहज हुने देखियो नि ?
सीडीएसको पूर्ण सञ्चालन पछि फ्रड काम गर्न सहज भएको छैन । सीडीएस कार्यान्वयन भए पनि भैतिक रूपमा रहेको सेयर कारोबारका लागि वान टाइम बिन्डो दिने कि भन्ने कुरा पनि आएको थियो । त्यो कुरालाई मैले नै रोकेको हुँ । यसमा धितोपत्र बोर्डले पनि सहयोग गर्यो । एउटा मौका दिने बित्तिकै अरूको नाममा सेयर हाल्ने अर्थात् फेक नाममा सेयर हाल्ने बोरेहरूले नै मौका पाउने हुन् । बोरेहरूलाई रोक्नका लागि पनि मैले त्यो मौका नदिएको हो ।
हालको पुँजीबजारको प्रणालीमा फ्रर्ड काम गर्नका लागि सहज छैन । अहिले निक्षेप खाता खोल्नका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्छ । त्यसका साथै बैंकखाताको सिआरएन नलिई सार्वजनिक निष्कासनमा आवेदन दिन पाइँदैन । अहिले हामीसँग ९ लाख ५६ हजार सीआरएन नम्बर जेनरेट भइसकेका छन् । सीआरएन नम्बर लिन पनि व्यक्ति स्वयं उपस्थित हुनुपर्छ । अब आफ्नो नामबाहेक अरूको नाममा सेयर आवेदन नै दिन सकिने अवस्था छैन । धितोपत्र बोर्ड र सीडीएसले दुईवटा निक्षेप खाता खोल्न सकिने व्यवस्था गरेको छ । दुईवटा निक्षेप खाता खोलेर नामको फरक स्पेलिङ राखेर आवेदन दिने गरेको पनि पाइयो । त्यसका लागि पनि हामी एउटै हो कि फरक व्यक्ति भनेर भेरीफाई गर्छौं । एउटै व्यक्तिले फरक स्पेलिङमा आवेदन दिएको खण्डमा कारबाही हुन्छ । सेयरको डिम्याट आएपछि फ्रड भन्ने शून्यमै आएको छ । त्यसका लागि म नै सुनिश्चित गर्न सक्छु । प्राथमिक बजारमा मात्र होइन, सीआरएनले दोस्रो बजारमा पनि फ्रड शून्यमा झारेको छ ।

पछिल्लो समयमा मल्टिपल डीपी एकाउन्टलाई क्लोज गरेर सिंगल एकाउन्टमा जोड दिनुभएको छ, मल्टिपल एकाउन्टले समस्या बढाएको हो ?
निक्षेप खाता खोल्ने काम सुरु भएको समयमा म आएको भए एउटा भन्दा धेरै दिने थिइनँ । मल्टिपल एकाउन्ट कसरी भयो, के भयो त्यतातिर नजाऊँ । तर, यसलाई कसरी व्यवस्थित गर्दै जाने भन्नेमा हामी अघि बढिरहेका छौं । हामीले हाल मल्टिपल बीओआईडी म्यापिङको सफ्टवेयर पनि बनाइरहेका छौं । त्यो सफ्टवेयर करिब कार्यान्वयनको चरणमा छ । त्यसमा हामी डेटा माइनिङ गरेर केवाईसी जेनरेट गर्छौं । पछिल्लो समयमा लगानीकर्ताले सीडीएसलाई पूर्ण रूपमा विश्वास गरेको अवस्था छ । सीडीएसमा सेयर राख्दा सेयर हराउने, चोरी हुने वा समस्या आउने हुँदैन भन्ने विश्वास लगानीकर्तामा छ । यो विश्वासले पनि पूर्ण कार्यान्वयमा सहज भएको छ ।
पहिला सेयरको लाभांश लिन पनि मर्चेन्ट बैंकर वा सम्बन्धित कम्पनीमै जानुपर्ने अवस्था थियो । अहिले लगानीकर्ताको बैंक खातामै लाभांश आउँछ । पहिला हामीले लाभांश दिनका लागि बैंक एकाउन्ट अनिवार्य गर्येउ । त्यसले गर्दा लगानीकर्ता लाभांश लिनका लागि कम्पनी जानुपर्ने अवस्थाको अन्त्य भयो । बजारमा दुईनम्बरी गर्नेलाई हटाउन पनि सीआरएन नम्बरले धेरै मद्दत गर्छ । डीपी एकाउन्ट, बैंक एकाउन्ट, सीआएरएन नम्बर र सम्बन्धित व्यक्तिको नागरिकता भएपछि मात्र भेरिफाइ हुने भएकाले धेरै सुरक्षित भएको छ । त्यससँगै सेयर किनबेच गर्ने व्यक्ति पहिचान पनि हुन्छ ।

धितोपत्र बजारको विकासका लागि सीडीएसको नेतृत्व सम्हाल्नुभएको हिसाबले अगामी नयाँ योजना के छन् ?
अहिले तीन–चारवटा परिदृश्यबाट काम गरिरहेका छौं । सबैभन्दा पहिला बजारको डाटा क्लिन अप गर्येउ । त्यसपछि हामीले सबै क्षेत्रमा प्रयोग हुने गरी कमन केवाइसी जेनरेट गर्न खोजिरहेका छौं । अहिले सीडीएले नै तयार गरेको केवाईसीलाई धितोपत्र बोर्डले प्रमाणित गरिदिएको छ । अहिलेको पुँजीबजारमा लागू भएको केवाईसी सबै सीडीएसले नै बनाएको हो । पुँजीबजार वा वित्तीय बजारमा खाता खोल्दा सीडीएसमा सेन्ट्रल केवाईसी राखेर त्यसैले काम गर्ने खालको संयन्त्र निर्माण गर्ने तयारीमा छौं । सबै लगानीकर्ताको विस्तृत विवरण सीडीएससँग हुने भएकाले मर्चेन्ट बैंक र धितोपत्र दलालले लगानीकर्ताको बीओआईडी नम्बरमार्फत भेरिफाई गरेर अन्य काम गर्न सक्छ । यसरी लगानीकर्तालाई केवाईसी आइडीमार्फत सबै क्षेत्रमा प्रयोग हुने खालको बनाउने प्रयासमा छौं । हामीसँग अहिले ६५ बैंक वित्तीय संस्था आबद्ध छन् । ती बैंक वित्तीय संस्थामा खाता खोल्न जाँदा छुट्टा–छुट्टै केवाईसी भर्नुपर्छ । त्यसका साथै हस्ताक्षर भेरिफिकेसनका लागि बैंकमा गाहकलाई हस्ताक्षर गर्न लगाएर हाम्रो सिस्टममा राख्न सकिने सिस्टमको विकास गर्न लागेका छौं । हामीले वित्तीय कारोबारका लागि आवश्यक हुने सेन्ट्रल केवाईसीको संयन्त्र निर्माण गरेर आगामी सातादेखि परीक्षण पनि सुरु गर्दै छौं ।
त्यसका साथै लगानीकर्तालाई अझै सहज होस् भनेर मेरो सेयरको प्लेटफर्ममार्फत डिआईएस पठाउन मिल्ने बनाउँदै छौं । त्यसैगरी हामीले सेयर कारोबारको एसएमएस अलर्ट पनि गर्न खोजेका छौं । हामीसँग सबै लगानीकर्ताको मोबाइल नम्बर पनि छ । नेप्सेको अनलाइन कारोबारमार्फत सेयर खरिद बिक्री त गर्छौं । तर, त्यो खातामा आएको छ कि छैन भनेर चेक गर्नका लागि एसएमएस अलर्टको सुविधा दिने योजनामा छौं । त्यसका लागि दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग पनि सहकार्य गर्नुपर्ने भएकाले केही शुल्क लाग्छ । सेयर बजारलाई आईटीमैत्री बनाउने क्रममा सार्वजनिक निष्कासनमा आवेदन दिँदा भ्यालिडेसन मेलमा जाने मेकानिजम् छ । पछिल्लो समयमा इमेललाई धान्न नसकेर तत्काल नै देखाउन लगाएका थियौं । आईपीओको सेक्युरिटी कोड पनि एसएमएसमार्फत नै पठाउने प्रणालीको विकास गर्ने तयारीमा छौं । त्योबाहेक पनि हामीले मोबाइल बेसलगायत अन्य सुविधाहरू दिने योजनामा छौं । यसले पुँजीबजारलाई धेरै सहज र आधुनिक बनाउने निश्चित छ ।

पुँजीबजारको सन्दर्भमा काम गर्ने भन्दा पनि क्रेडिट लिने होड देखिन्छ, नेपालमै बसेर केही गरौं भन्नका लागि कत्तिको सहज हुँदो रै’छ त ? तपाईंले सीडीएसको नेतृत्व लिएको पनि करिब साढे २ वर्ष भएको छ, यो अवधिमा तपाईंको अनुभव कस्तो रह्यो ?
मैले सीडीएसको जिम्मेवारी लिएको केही गर्छु भनेरै हो । मैले पैसाका लागि हुन्थ्यो भने सीडीएसमा भन्दा धेरै मेरो पहिलेको जागिरमा थियो । मसँग कम्प्युटर साइन्स इन्जिनियरिङ गरेका साथीहरू कोही पनि नेपालमा छैनन् । आफ्नै देशमा बसेपछि केही योगदान गर्नुपर्छ भन्ने लाग्यो । आफूले जानेको भनेको प्रविधि र पुँजीबजारको क्षेत्रमा हो । आफूले जानेको क्षेत्रमा केही योगदान गर्छु भनेर पुँजीबजारमा जोडिन आएका हुँ । कसले कति काम गरेको छ । त्यो क्रेडिट कसले लिएको छ भन्ने कुरा बजारले मूल्यांकन गर्ने हो । म यो बजारमा काम गर्न आएको हुँ । त्यसका लागि म सक्दो काम गर्छु । मलाई क्रेडिट बजारले नै दिने हो । मलाई सही लागेको र बजारको विकास हुने काम गर्छु । मैले प्रचारबाजीका लागि काम गर्नु आवश्यक छैन । आमजनताको मागलाई सम्बोधन गरेर सेवा दिन सक्यो भने मेरा लागि त्यही नै ठूलो सन्तुष्टि हो ।
यो बजारमा आउने क्रममा धेरै गर्न सक्छु भन्ने थियोे । तर, बजार बुझ्दै जाँदा धेरै अठ्याराहरू पाएँ । राम्रो काम गर्न खोजे १० जनाले खुट्टा तान्ने परम्परा छ । बजारमा खुट्टा तान्ने पक्ष सानो मात्रामा भए पनि धेरै शक्तिशाली छन् । अहिले हामीले आस्बा र सी–आस्बा लगाएपछि बोरे एक जना पनि छैन । बोरेलाई बजारबाट बाहिर पठाउने काम भएको छ । त्यसका साथै काठमाडौं उपत्यकामा मात्र सीमित सेयर बजार निक्षेप सदस्याको माध्यमबाट देशभरि नै विस्तार भएको छ । साधारण सेयर निष्कासनमा लाइन बस्नुपर्ने समस्या समाधान भयो । बजारको पहुँच नेप्सेको हातमा छ । नेप्सेले अनलाइन कारोबार प्रणाली ल्याएर विस्तार गरे पनि त्यसका लागि सहजकर्ताको काम गर्ने धितोपत्र दलाल पुग्न सकेको छैन । यो सिस्टम नल्याएको भए बजारबाट कुनै पनि हालतमा बोरे आउट हुने थिएन । बजार सुधारको काम गर्दा सुधार नचाहने पक्षहरू थोरै भए पनि शक्तिशाली भएकाले निकै चुनौतीपूर्ण रह्यो । मलाई व्यक्तिगत रूपमा पनि दबाब नआएका होइनन् । सीडीएसको बोर्ड तथा कर्मचारीहरूको सपोर्टले नै सफल भएको हो । अझै पनि बजार विकासका लागि धेरै गर्न सकिन्छ । बजारका लागि आवश्यक निक्षेप ऐन र ट्रस्ट ऐन छैन । त्यसका साथै ऐन–नियमहरू समयसापेक्ष छैनन् । त्यसका लागि पनि छलफल भएका छन् । आगामी दिन गर्नुपर्ने देखिन्छ । यसमा धितोपत्र बोर्ड र नेप्सेले गर्नुपर्ने देखिन्छ ।

धितोपत्र दलालले क्लाइन्टको पैसा चलाउने कुरालाई बन्द नै गरिदिनुभयो, अहिले कारोबार राफसाफको अवस्था कस्तो छ ? तपाईंको योजनाअनुसार बजारका अन्य पक्षहरू पनि अघि बढेको अवस्था हो ?
मैले सीडीएसमा काम सुरु गर्नेबित्तिकै अनिवार्य रूपमा सेयरको डिम्याट गर्ने भनें । त्यसमा धितोपत्र बोर्ड र नेप्सेले पनि पर्याप्त सहयोग गरेकाले सफल पनि भयो । त्यसमा केही कमजोरी पनि थिए । अनिवार्य डिम्याटभन्दा अघि जाँदा सेयर खरिदकर्ताले ब्रोकरलाई पैसा दिएर जान्थ्यो, सेयर कहिले पाउने थाहा थिएन । बिक्रीकर्ता पनि सेयर दिएर जान्थ्यो, पैसा कहिले पाउने निश्चित थिएन । त्यसका लागि ब्रोकर कम्पनी जानुपर्ने वा फोन गर्नुपर्ने अवस्था थियो । मेरो एक मात्र उद्देश्य भनेको टी प्लस थ्रीमा बिक्रीकर्ताले पैसा र खरिदकर्ताले सेयर पाउनुपर्यो भन्ने थियो । त्यसलाई कार्यान्वयन गर्दै जाने क्रममा सीडीएस पनि आंशिक रूपमा सञ्चालनमा थियो । सीडीएस पूर्ण रूपमा सञ्चालन भएको अवस्थामा पनि टी प्लस थ्रीको पालना नभएको अवस्था थियो । अहिले हामी टी प्लस थ्रीको १२ बजे सेटल गर्छौं । पहिला ब्रोकरहरूले पैसा नदिने जस्ता समस्या पनि थिए । त्यसमा हामीले कानुनी प्रक्रिया अपनाएर कारबाही पनि गर्येउ । किनेको सेयर टी प्लस थ्रीमा सेयर खातामा आएको छैन भने या बिक्री गरेको पैसा पाउनुभएको छैन भने उजुरी दिनुहोस्, हामी आवश्यक एक्सन लिन तयार छौं ।