कारोबार संवाददाता
आइतवार, जेठ ६, २०७५
1588

नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको छ । व्यवस्थापिका संसद्को पहिलो र तेस्रो ठूलो दल एक भएसँगै नेपालमा अहिलेसम्मकै सवैभन्दा शक्तिशाली कम्युनिष्ट पार्टीका रूपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको छ । सरकारमा साझेदारी र निर्वाचनमा तालमेल गरेर अघि बढिरहेका दलबीचको एकताले नेपाली राजनीति तरंगित हुन पुगेको छ । केपी ओली र पुष्पकमल दाहाल दुई अध्यक्ष रहेको सो पार्टीले आफ्नो एकताको उद्देश्य ‘सुखी नेपाली, समृद्ध नेपाल’ भएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश २ बाहेक स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारसम्म बलियो सरकार छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अंक गणित मात्र होइन रणनीतिको हिसाबले पनि निक्कै कमजोर रूपमा छ । यस्तो अवस्थामा आफ्ना चुनावी घोषणापत्र लागू गर्न तथा कार्यक्रमहरू अगाडि बढाउनका लागि नेपाल कम्युनिष्ट पार्टीका अगाडि ठूलो बाधा देखिँदैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादीबीचको एकता विश्वकै असाधारण घटना भएको दाबी गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता प्रक्रिया नेपालको मात्रै नभई विश्वकै असाधारण घटना भएको दाबी गरेका हुन् । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष दाहालले समाजवादको नयाँ यात्रा सुरु गर्नका लागि दुई पार्टीका बीचको एकताले मार्ग प्रशस्त गरेको बताएका छन् । दुई पार्टीको एकता प्रक्रिया सुरु भएसँगै विश्वको ध्यान नेपालतर्फ भएको भन्दै उनले एकतालाई विश्व समुदायले आश्चर्यजनक रुपमा हेरेको पनि बताए । तर, नेपालको इतिहासकै सबैभन्दा बलियो सरकारका रूपमा रहेको अहिलेको केपी ओली नेतृत्वको सरकारले देशलाई आर्थिक विकास र समृद्धिको बाटोतर्फ कसरी लैजाला ? दुई पार्टीबीचको एकता र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावका बारेमा केन्द्रीत रहेर विभिन्न दलका नेताहरूसँग कारोबारले गरेको कुराकानीको सार :

दम्भ देखियो भने विनाश निम्त्याउँछ

विश्वप्रकाश शर्मा
प्रवक्ता, नेपाली कांग्रेस
दुई ठूला कम्युनिष्ट पार्टीको एकताले लोकतन्त्रलाई अझ बलियो बनाउने विश्वास लिएका छौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुनुलाई हामीले लोकतन्त्र बलियो हुन्छ भन्ने कडीका रूपमा लिएका छौं । तर, उहाँहरूमा दम्भ जन्म्यो भने त्यसले विनाश निम्त्याउँछ । सत्ताको द्वन्द्वभन्दा सत्ताको दम्भ बढी खतरा हुन्छ, भोलि त्यो खालको अवस्था उहाँहरू (नेकपा) भित्र मनोवैज्ञानिक रूपमा आउन सक्छ । त्यसैले त्यो बेलामा अहंकारको वृक्षमा विनाशको फल लाग्छ ।
एकता गर्दैगर्दा सबैभन्दा गम्भीर अभिव्यक्ति प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीबाट आयो । मुलुकमा अब प्रतिपक्षी वा प्रतिस्पर्धी दल रहेन भनेर कुनै देशको प्रधानमन्त्रीले भन्छ भने त्यसको पछिल्तिरको मनोवैज्ञानिक पृष्ठभूमि के हो ? कुन मनोविज्ञानले त्यो कुरा बोलियो ? हामीले स्थापना गरेको संसदीय व्यवस्थामा प्रतिपक्षी हुँदैन ? यो अधिनायकवादी मानसिकताको लक्षण हो । एकपटक निर्वाचन हार्दैमा कुनै पनि राजनीतिक दल सकियो भनेर भन्नु गलत हुन्छ । कांग्रेसको इतिहास नबुझ्नेले मात्र एकपटक हार्दैमा कांग्रेस सकियो भन्न सक्छ । तर, इतिहासमा कांग्रेसले कहिले जितेको छ । कहिले हारेको छ । आफु हार्दैगर्दा पनि जिम्मेवार प्रतिपक्षको भूमिका खेलेको छ । अहिले दुई ठूला कम्युनिष्ट पार्टी मिल्दा नेपाली कांग्रेस कमजोर भयो भनेर विश्लेषण गर्नु गलत हुन्छ ।
अब हारको समीक्षा गरेर संगठन निर्माणमा कांग्रेस परिचालन हुन्छ । एउटा जिम्मेवार राजनीतिज्ञले भावी पिँढीको चिन्ता गर्नुपर्छ । नेपाली कांग्रेसले भावी पिँढीको चिन्ता गरिरहेको छ । हामीलाई भावी पिँढीको चिन्ता छ, भावी नेपालको चिन्ता छ । भावी चुनावको चिन्ता छैन । तर, प्रधानमन्त्री ओलीजीलाई भावी चुनावको चिन्ता अहिलेदेखि नै सुरु भइसकेको छ । हामीलाई के लाग्छ भने मुलुकमा दलहरूको विभाजनले लोकतन्त्रलाई कमजोर बनाउँछ । दलहरूको एकताले लोकतन्त्रलाई बलियो बनाउँछ । त्यसैले हामीले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई शुभकामना र बधाई दिइसकेका छौं । उहाँहरूको एकता अगाडि बढ्दै गर्दा साँचो अर्थमा समग्रमा सबै कम्युनिस्टलाई अझै एकै ठाउँमा ल्याउने सफलता मिलोस् ।
संसदीय व्यवस्थाको पार्थिव शरीरमाथि सर्वहाराको अधिनायकवादी शासन स्थापना गर्छौं भन्ने संकल्प लिएर हिँडेका कयौं व्यक्ति, नेता आज संसदीय व्यवस्थाको नेतृत्व गर्दै हुनुहुन्छ । तर, त्यो मूल बाटोभन्दा बाहिर पनि केही कम्युनिस्ट पार्टीको क्रियाशीलता छ । उनीहरूलाई पनि हिंसाको बाटोभन्दा शान्तिको बाटोमा र संसदीय व्यवस्थाकै बाटोबाट हिँडाउने सफलता मिलोस् । संसदीय व्यवस्थाबाट नै मुलुकको भविष्य सुनिश्चित गर्न सकिन्छ । त्यसका लागि वातावरण बनाउनतर्फ लाग्न पनि नेपाल कम्युनिष्ट पार्टीलाई हाम्रो सुझाव छ ।
कांग्रेसले रचनात्मक तथा सिर्जनात्मक प्रतिपक्ष दलको भूमिका खेल्नुपर्छ । ढुंगामुढा गर्ने, हड्ताल गर्नेे असल प्रतिपक्षको गुण होइन । नेपाली कांग्रेस असल प्रतिपक्ष हो । नेपाली कांग्रेसले वर्तमान सरकारको सय दिन पुगेपछि कामको समीक्षा गर्छ ।

मधेसका एजेन्डा पूरा हुनेमा आशंका

बृषेशचन्द्र लाल
उपाध्यक्ष, राजपा
देशका दुई ठूला कम्युनिस्ट पार्टी एकीकरणबाट मधेसका सवाल समाधान होलान् भन्ने लाग्दैन । नवगठित नेपाल कम्युनिस्ट पार्टीका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विगतमा मधेसीका सवालमा भएको आन्दोलनलाई कमजोर पार्ने क्रियाकलाप गरेका छन् । माओवादी केन्द्रले मधेसी आदिवासी जनजातिलगायतका विभिन्न ३० दलीय गठबन्धनको नेतृत्व गर्दा गर्दै कित्ता परिवर्तन गरेर गएको हामीले धोका भएको अनुभव गरेकै छौं । पछि सरकारमा जाँदै संविधान संशोधन प्रस्तावको माध्यमबाट एजेन्डालाई बाटोमा तुहाई दिने काम माओवादी केन्द्रबाट भएकै हो । हामीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा भएको सरकारलाई समर्थन गर्यौं । त्यो समर्थन गर्नुको पछाडि हाम्रा एजेन्डालाई संसद्बाट पारित गराउन खोजेका थियौं । उनीहरूले आफ्नो राजनीति गरेर मधेसका मागलाई कमजोर बनाउने काम गरे । त्यसैले विश्वासको कमी हामी देख्छौं ।
अर्को कुरा मधेसका एजेन्डाको विरोधमा रहेको एमालेको हिस्सा नयाँ पार्टीमा बलियो उपस्थिति छ । त्यसैले मधेसका एजेन्डालाई उनीहरूले सम्बोधन गर्ने हुन् भन्ने विश्वास हामीलाई छैन । त्यसैले नयाँ ठूलो पार्टीले मधेसका एजेन्डालाई केन्द्रमा राखेर देश सञ्चालन गर्ने सोच नबनाएसम्म देशमा केही राम्रो होला भन्न सकिने अवस्था छैन । हामीले यो एकीकरण गर्ने दललाई शुभकामना र बधाइ दिएकै छौं तर अपेक्षा भनेको हाम्रा एजेन्डालाई सम्बोधन गर्नुपर्ने होस् भन्ने चाहना हुन्छ । विगतको व्यवहारले हामी त्यति उत्साहि भएका छैनौं ।
नेपालको राजनीतिमा मधेसको एजेन्डा महत्वपूर्ण छ । यसको समाधान नगरी देश अगाडि नबढ्ने विषयमा पार्टीका नेताहरू जानकार नै छन् । तर पार्टीका नेताहरू मधेसका एजेन्डाका बारेमा उदासिन देखिएका छन् । उनीहरूको उदासिनताले देशलाई आर्थिक समृद्धिको बाटोमा डोर्याउन बाधा उत्पन्न गराउँछ । ठूलो पार्टी हुँदैमा सवथोक हुने होइन । स्थानीय तहमा अन्य राजनीतिक दलको उपस्थिति पनि छ । बाधा र अड्काउको अवस्थामा हुने गतिविधिले परिणामा राम्रो देला भन्न सक्ने आधार तत्काल देखिँदैन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उपस्थित जनतामा नभएको होइन् । यो एकताले देशमा दुई-तीन पार्टीको उपस्थिति मात्र गराउने संकेत भने गरेको छ । यसो भनिरहँदा जहाँसम्म यो एकीकरणले नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच एकीकरण हुने सम्भावनाको चर्चासम्बन्धी विषय छ त्यो तत्काल देखिँदैन । अहिले फोरम र राजपाबीचको एकीकरणका विषयहरू पनि छन् । यस्तोमा नेपाली कांग्रेस, फोरम र राजपाबीचको एकीकरण भइ लोकतान्त्रिक शक्तिको निर्माण गर्ने विषय तत्काल अघि बढ्ने देखिँदैन । नेपाली कांग्रेस पनि मधेसका मुद्दामा उदार भएको हामीले पाएका छैनौं । मधेशी दल लोकतान्त्रिक भएकाले यी शक्तिहरूसँगको राजनीतिक गठबन्धनलाई इन्कार भने गर्न सकिँदैन । हामी लोकतान्त्रिक गठबन्धनमा समावेश हुन सक्छौं । हाम्रा एजेन्डालाई कांग्रेसले केन्द्रीय राजनीतिक एजेन्डा बनाएर जान राजी भए यो गठबन्धन बन्न सक्छ । यसलाई हामीले अगाडि बढाउन सक्छौं । तर नेकपा ठूलो दल बनेकै भरमा अर्को तर्फका पार्टीहरूबीच एकीकरण हुने कुरा हुँदैन । पहिलो त यो एकीकरण कहिलेसम्म जाने हो त्यसको राजनीतिक आंकलन गर्न बाँकी छ ।

राजनीतिक अस्थिरता अन्त्य भएको सन्देश

भीम आचार्य
नेता, नेकपा
नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक हुनु नेपालको राजनीतिका लागि एकदमै सकारात्मक कुरा हो । धेरै दल हुने, गठबन्धन सरकार बनाउने र कुनै दलको प्रष्ट बहुमत नहुँदा कुनै न कुनै बेला सरकार ढल्न सक्ने डर रहँदैन । हाम्रो एकताले राजनीतिक अस्थिरतको पूर्णरूपमा अन्त्य गरेको छ । नेपालको विकास नहुनुमा मुख्यरूपमा दुई विषय कारकका रूपमा रहेका थिए । नेताहरूको स्पष्ट भिजन नहुनु र राजनीतिक अस्थिरता नै विकासका बाधकका रूपमा रहँदै आएका थिए । २०६४ देखि २०७४ सालको १० वर्षलाई नै हेर्दा पनि किन हामी पछि पर्यौं हाम्रो समस्या के हुन् ? भन्ने छर्लंग हुन्छ । किनकी यो अवधिमा १० जना प्रधानमन्त्री बने । सरकार १ वर्ष नपुग्दै ढले । एउटा प्रधानमन्त्रीको योजना र भिजन अर्को प्रधानमन्त्रीसँग नमिल्ने र काम नहुने अवस्थाबाट हामी अब मुक्त भयौं । अबको पाँच वर्ष स्थिर सरकार हुन्छ ।
एकता गरेर हामीले निर्वाचनमा जनतासँग गरेको एउटा बाचा पूरा गरेका छौं । अब बाँकी बाचा पूरा गर्न सरकारले काम गर्नुपर्छ । एकताले स्थिरताको जग हालेको छ, जसका कारण लगानीको वातावरण बन्नेछ । स्वदेशी र विदेशी लगानी कर्ता आकार्षित हुनेछन् । त्यसले विकास र समृद्धिको हाम्रो लक्ष्य पूरा गर्न सहयोग पुर्याउनेछ ।
अहिले छिमेकीहरूसँगको सम्बन्धसमेत सुधार भएको छ । समान नीति बनाएर दुवै छिमेकीसँग स्थिर र सुदृढ सम्बन्ध कायम गर्नेछौं । सरकारले यही कुरामा जोड दिइरहेको छ । दुवै छिमेकीसँग प्रगाढ सम्बन्ध राख्ने र उनीहरूबाट अधिकतम फाइदा लिने दिशामा हामी जानेछौं । अन्य देशसँग पनि हामी सुमधुर सम्बन्ध बनाउने र फाइदा लिने विषयमा हामी केन्द्रीत हुनेछौं ।
अब ठूलो पार्टी बनाएका छौं, धेरै नेता कार्यकर्ता छन् । तीनको उचित ढंगले व्यवस्थापन गर्नुपर्ने चुनौति पनि छ । नेतृत्वले ठीक ढंगले व्यवस्थापन गर्नुपर्छ । एकता गरेर हामीले ऐतिहासिक काम गरेका छौं । त्योसँगै केही चुनौति पनि छन् । तीनको सामना गर्न व्यवस्थापन गर्न पनि हामी सक्षम छौं । अब पाँच बर्षे सरकार हुन्छ विकासको वातावरण बनेको छ । हाम्रो ध्यान मुलुकको विकासमा हुनेछ ।

समृद्धि त भन्ने कुरा मात्रै हो

चित्रबहादुर केसी
अध्यक्ष, राष्ट्रिय जनमोर्चा
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनताको बहुदलीय जनवाद, २१औं शताब्दीको जनवाद, संसदीय प्रणालीबाटै जनवाद ल्याउँछौं भनिसकेपछि दुईवटा अलग पार्टी भइरहनुको कुनै अर्थ नै थिएन । एउटै पार्टी भएकोमा हामीले स्वागत नै गरेका छौं । यो एकतापछि सरकार अलिकति अडियो भने स्थीर सरकार हुने भो । राजनीतिक अस्थिरता रोकिएला । सरकारलाई अपदस्थ गरेर नेपालमा रजाइँ गरेका बाहिरी र आन्तरिक शक्तिले खेल खेलिरहन्छन् । त्यसबाट यो कसरी जोगिन्छ त्यो हेर्न बाँकी छ । अहिले दुईवटा कम्युनिष्ट पार्टी मिल्दैमा चमत्कार नै हुन्छ भन्ने लाग्दैन । गुणात्मक परिवर्तन हुने देख्दिन तर, केही मात्रात्मक परिवर्तन भने होला । पार्टी एउटै भए पनि ती पार्टीका मान्छे चिनिएकै छन् । जनताले नचिनेका बिष्ट ती होइनन् । त्यसकारण धेरै आशा गर्न सकिन्न ।
नेपालमा राजनीतिलाई व्यापार बनाउनेहरू दल बदलिरहन्छन् । अहिले ठूलो कम्युनिष्ट पार्टी बनेपछि हाम्रो पार्टीमा पनि त्यसको असर पर्न सक्छ । त्यस्ता मान्छेहरू जो फाइदाका लागि राजनीतिमा छन् उनीहरू जान पनि सक्छन् । जाने आउने कुरा राजनीतिमा चलिरहन्छ ।
उनीहरूले समृद्धिको कुरा गरेका छन् । नेपालमा राजनीतिक दलका नेताहरू र केही समुहको त समृद्धि भइरहेकै छ । तर, जनताको आधारभूत तहले अनुभूत गर्ने गरी परिवर्तन भएको छैन । सत्तामा बस्नेहरूले समृद्धि त भन्ने कुरा न हो । हिजो राजाले पनि समृद्धि भनेकै थिए । पञ्चायतले पनि भन्यो । कांग्रेसले पनि भन्यो । तर, समृद्धि जनताका लागि आएन । देश अर्धऔपनिवेशिक अवस्थामा रहेसम्म भनेर मात्र समृद्धि हुँदैन । समृद्धि अहिलेको अर्धऔपनिवेशिक अवस्थाको अन्त्य नभइकन आउँदैन । प्राकृतिक स्रोत साधनमाथी अरुले कब्जा गरेपछि कसरी हुन्छ समृद्धि ? ५० लाख नेपाली श्रमिकका रूपमा बाहिर छन् । समृद्धि आउला भनेरै जनताले भोट दिएका छन् । समृद्धि ल्याउन सरकार लागोस् भन्ने नै जनताको चाहना हो । तर, मलाई अहिले नै यीनीहरूले समृद्धि ल्याइहाल्लान्, ठुलै परिवर्तन गर्लान् भन्ने लाग्दैन ।