केदार दाहाल
बिहिवार, जेठ ३, २०७५
1452

पछिल्लो तीन महिनाको बीचमा नेपाली हवाई आकाशमा तीनवटा हवाईजहाज दुर्घटनामा परेका छन् । गत फागुनमा यूएस बंगलाको जहाज धावन मार्गमा दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको थियो । त्यस्तैगरी चैत महिनामा मालिन्दो एयरको जहाज पनि धावन मार्गमा दुर्घटनामा परेको थियो, जसका कारण २४ घण्टा विमानस्थल बन्द हुन पुगेको थियो । त्यस्तै बुधबार फेरि नेपाली हवाई आकाशमा मकालु एयरको कार्गो विमान दुर्घटनामा परेको छ, जसका कारण क्याप्टेन र को–पाइलटको मृत्यु भएको छ । नेपाली हवाई आकाश सुरक्षित नभएको भन्दै सन् २०१३ देखि युरोपेली युनियनले कालोसूचीमा समेत राख्दै आएको छ । यसरी दुर्घटनाहरू बढ्दै जाँदा कालोसूचीबाट हट्ने नेपालको प्रयास पनि असफल हुँदै आएको छ । हवाई दुर्घटनालाई शून्य बनाउन नसके पनि कम गर्न भने सबैको पहल भएमा अवश्य सम्भव हुन्छ । प्रस्तुत छ, नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन के गर्नु आवश्यक छ भन्ने विषयमा कारोबार दैनिकका लागि केदार दाहालले गरेको कुराकानीको सार :

हवाई दुर्घटना न्यूनीकरण गर्नमै सरकारको ध्यान केन्द्रित छ

बुद्धिसागर लामिछाने
प्रमुख
हवाई सुरक्षा महाशाखा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
हवाई दुर्घटना हुनु  आफैंमा दुःखको कुरा हो । संसारका हवाई दुर्घटनालाई शून्य नै बनाउन त सकिँदैन, तर त्यसलाई कसरी कम गर्ने र कसरी दुर्घटनबाट हुने मृत्यु कम गर्ने ? भन्ने विषयमा छलफल, बहस तथा नीतिगत सुधारका साथै निरन्तर तालिमहरू गरेरै दुर्घटना न्यूनीकरण गर्दै जाने हो । हाम्रा पछिल्ला दुर्घटना पनि नेपालका कारणले भएका छैनन । यूएस बंगला र मालिन्दो एयरको जहाज पनि जहाजकै प्रविधिक कारणले दुर्घटना भएको हामीले गरिरहेको अध्ययनले देखिएको छ । नेपालका नागरिक उड्डयनको नीति कमजोर भएर दुर्घटना भएका होइनन् । कतिपय दुर्घटना पाइलटहरूको लापरबाही तथा एयरलाइन्सहरूको दबाबले पनि भएका छन् । खालि कुरा के हो भने कसरी हवाई आकाशलाई सुरक्षित बनाउने भन्नेमा सबैको ध्यान जानु जरुरी छ । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणलाई थप शक्तिशाली कसरी बनाउने भन्ने विषयमा समेत पछिल्ला समयमा बहसहरू भइरहेका छन् । कति विषयमा सुधार पनि भइरहेका छन्, जुन दुर्गम क्षेत्रमा हामीले सिंगल इन्जिन जहाजलाई चार्टर उडान भर्न अनुमति दिइरहेका छौं । यो जहाजको विषयमा विगतमा पनि पटक–पटक निर्णय हुँदै उल्टिँदै गएको छ । अहिले उक्त जहाजहरूलाई चार्टर उडानको मात्रै स्वीकृति दिएका छौं । अब चार्टर पनि रोक्ने हो कि भन्ने विषयमा हामी केन्द्रित भएका छौं ।
अर्को कुरा, युरोपेली युनियनको कालोसूचीको विषय नेपालको हवाई दुर्घटनासँग मात्रै सम्बन्धित नरहेकाले यसमा अहिले धेरै कोणबाट सम्बोधन गर्न वार्ता, छलफलहरू भइरहेकाले पनि केही समयमा कालोसूचीबाट हट्ने अपेक्षा रहेको छ । मन्त्रालयले अब सुरक्षित बनाउन पूर्वाधार निर्माणमा पनि जोड दिएको छ । नीतिगत सुधारका लागि पनि काम भइरहेको छ । पर्यटनलाई नेपाल सरकारले अर्थतन्त्रको प्रमुख हिस्सेदारका रूपमा राखिरहेकाले पर्यटनको विकासका लागि पनि हवाई क्षेत्रको विकास र सुधार अनिवार्य रहेकाले सोहीअनुसारका सुधारहरू गर्न लागिरहेका छौं ।

 

दुर्घटना कम नभएसम्म ईयूको कालोसूचीबाट बाहिरन मुस्किल

रतिशचन्द्रलाल सुमन
पूर्वमहानिर्देशक
नेपाल नागरिक उड्डयन प्राधिकरण
सबैभन्दा पहिले सडक हामी आफू गाडी चलाउँदै छौं । तर, सडकमा रेखांकन गरिएको हुन्छ । ट्राफिक नियमहरू हुन्छन्, तर पनि लत्याउँदै जथाबाही ओभरटेक गर्छौं, जसमा दुर्घटनाको ठूलो जोखिम हुन्छ । हवाई क्षेत्रमा पनि मुख्य समस्या त्यही हो । ५० प्रतिशतले सबै कुरा, नियम मानेर उडान भर्ने गरेको भए पनि ५० प्रतिशतले उल्लंघन गर्छन्, जसबाट १०० प्रतिशत नै दुर्घटनाको जोखिममा हुने गर्छ । मैले भन्न आँटेको के भने सबैभन्दा पहिले एयरलाइन्स, पाइलट तथा नियामक निकायले पहिलो सर्त सुरक्षालाई दिनुपर्छ । सुरक्षालाई पहिलो सर्त मानेर उडान गरियो भने दुर्घटना शून्य पार्न त सकिँदैन, तर धेरै कम भने गर्न सकिन्छ । भएका जानकारीहरू लुकाउने, एक–आपसमा छलफल नगर्ने आदिको समेत एयरलाइन्स क्षेत्रमा समस्या छ । एकले अर्कोलाई कसरी उछिन्ने, कसरी धेरै कमाउने भन्नेमा मात्रै ध्यान जाँदासमेत कतिपय अवस्थामा दुर्घटनाहरू भएका छन् ।
हवाई क्षेत्रसँग प्रत्यक्ष जोडिने एयरक्राफ्ट (मेसिन), पाइलट (जनशक्ति) र प्रोसेड्युर अर्थात् समग्र प्रणाली र प्रक्रियाबीच आपसी तालमेल हुन नसक्दा नेपालले बारम्बार हवाई क्षेत्रमा यस्ता घटना बेहोर्नुपरेको छ ।
यसबाहेक हवाई दुर्घटनापछि त्यसबारे हुने छानबिन र तयार हुने प्रतिवेदनको कार्यान्वयनमा नेपालमा अझै सम्झौता हुनुले पनि जहाज दुर्घटनाले निरन्तरता पाइरहेको छ । तलबको अपर्याप्तता र समयमै भुक्तानीको व्यवस्था नहुँदा पनि पाइलटलाई मानसिक रूपमा तनाव हुने र त्यसले उडानमा समेत असर पार्न सक्न सक्छ । छानबिन समितिबाट प्राप्त सुझावलाई अझै पनि कार्यान्वयन गराउन नसक्दा नेपालमा सामान्य गल्तीबाट पनि हवाई दुर्घटना दोहोरिँदै गएको छ ।
हवाई सेवा सञ्चालकले नियम पालना गरेको छ-छैन ? त्यो कसले हेर्ने ? अहिले के छ भने एकातिर नियमहरू छन्, तर ती नियम पालना भएको छैन । नियम कार्यान्वयनको फितलो अवस्था दुर्घटनाको जिम्मेवार पक्ष हो । त्यसैले बनेका नीति–नियम कार्यान्वयन गर्न कडाइका साथ लाग्नुपर्छ ।
प्रतिवेदनमा जे सुझाव दिइन्छ, ठ्याक्कै त्यही पालना गर्ने विषयमा सम्झौता भएका उदाहरणहरू छन् । जबसम्म त्यस्ता सुझावको प्रभावकारी कार्यान्वयन हुँदैन तबसम्म हवाई सुरक्षाको सुधार गर्न पनि कठिन छ । अर्को ईयूको कालोसूचीको विषयमा भने दुर्घटना कम गर्ने र मृत्युको दरलाई नघटाएसम्म हट्न समस्या रहेको छ । त्यसैले कालोसूचीबाट हट्नका लागि मुख्य कुरा भनेको दुर्घटना न्यूनीकरण गर्ने नै हो ।

 

सरकार र निजी क्षेत्रको सहकार्यले नै हवाई सुरक्षामा सुधार ल्याउछ

घनश्याम आचार्य
प्रवक्ता
वायुसेवा सञ्चालक संघ (आयोन)
एयरलाइन्स कम्पनी र नियामक निकाय प्राधिकरणको मुख्य ध्येय भनेको हवाई सुरक्षामा हो । हवाई दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा हामी विभिन्न छलफल, तालिमहरू गरिरहेका हुन्छौं ध्यान दिइरहेका छौं । नेपालमा हवाई दुर्घटना हुनुमा धेरै फ्याक्टरले काम गरेको छ । कति अवस्थामा एयरलाइन्स कम्पनीहरूलाई पनि आरोप लगाउने गरिन्छ । कति अवस्थामा प्राधिकरणको कमजोरीका विषयहरू हुन सक्छन् । मुख्य दुर्गम क्षेत्रमा हवाई दुर्घटना हुने कारक भनेको मौसम र भौगोलिक अवस्था नै हो । यसमा चाहेर पनि दुर्घटना शून्य गर्नु कठिन विषय हो ।
न्यूनीकरण गर्ने सवालमा प्राविधिक रूपमा हामी कति अगाडि छौं भन्ने विषय पनि आउने भएकाले नियामक निकाय एयरलाइन्स कम्पनीबीच पछिल्लो समय हवाई सुरक्षाका विषयमा धेरै छलफल भएर निष्कर्षहरू आएका छन् । दुर्घटनापछि आउने छानबिन प्रतिवेदनको कार्यान्वयका विषयहरू पनि छन् । कति विषय एयरलाइन्स आफैंले पनि सुधार गर्दै लगेका छन् । सबै एयरलाइन्स कम्पनीको हरेक वर्ष सेफ्टी अडिट प्राधिकरणले गर्दै आएको छ । यसबाट पनि कति सुधार हुँदै जानेछन्, कति भइरहेका छन् ।
हवाई सुरक्षामा सुधार गर्न निजी क्षेत्र र सरकारी निकायबीच अझै छलफल, बहस हुँदै नीतिगत सुधार पनि गर्दै जानु पहिलो सर्त हो । ईयूको कालोसूचीले नेपालको पर्यटनमा पुनर्बिमा कम्पनीहरूले प्रिमियम महँगो बनाइरहेका छन् ।
कालोसूचीबाट हट्नका लागि सबै एयरलाइन्स कम्पनीहरूले यतिबेला पाइलटको तालिममा मुख्य ध्यान केन्द्रित गरिरहेका छन् । यसमा सबैको साथ र सहकार्य जरुरी छ ।

पाइलटको तालिमका कडाइ गरिरहेका छौँ


इ. भेषराज सुवेदी
हवाई सुरक्षा विभाग
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)
हवाई दुर्घटना हुनुमा कुनै एउटा कारण मात्र जिम्मेवार हुँदैन । प्राविधिक या मानवीय त्रुटि हुन सक्छन् ? विज्ञहरू लागेर यसलाई केलाएर, छानबिन गरेर मात्र के कारणले भएको हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ । नेपालको भौगोलिक अवस्थितिले गर्दा हवाई उडानका लागि कठिनचाहिँ छ ।
नेपालमा हवाई दुर्घटना कसरी कम गर्ने भन्ने विषयमै प्राधिकरणको ध्यान केन्द्रित भइरहेको छ । पछिल्लो समयमा धेरै सुधार भइरहेका छन् भने कति सुधारकै अवस्थामा रहेका छन् । त्यसका लागि हामीले एयरलाइन्स कम्पनीहरूलाई गर्ने नियमन, निर्देशन पनि दिइरहेका हुन्छौं । कतिपय अवस्थामा कम्पनीहरूले विकल्पमा अर्को चालक दल नराख्ने र एउटै समूहले उडान गरिरहँदा पर्याप्त आराम नपाउने जस्ता समस्या पनि नेपालमा छ । यसरी एउटै चालक दलले उडान गर्नुपर्दा एउटा उडान पूरा नहुँदै अर्को उडानको चिन्ता रहने भएकाले पनि पाइलट मानसिक रूपमा तनावमा रहने गरेका छन् ।
चालक दलको विकल्प र समयमै पर्याप्त तालिम उपलब्ध गराउने हो भने पनि पाइलटको कमजोरीबाट हुन सक्ने दुर्घटना कम हुनेछ । यसबाहेक हवाई कम्पनीबीच पाइलटलाई पर्याप्त तालिमबिना नयाँ रुटमा उडान गराउने प्रतिस्पर्धाका कारण पनि समस्या देखिंदै गएको छ । हामीले पछिल्लो समय सबै एयरलाइन्स कम्पनीहरूलाई तालिमको विषयमा विशेष जोड दिइरहेका छौं । धेरै कुरा गर्न कतिपय अवस्थामा प्रविधिको कमी हुनु तथा बजेटको अभावका बीच पनि धेरै सुधार गरिरहेका छौं । अर्को कुरा, नेपालमा हवाई दुर्घटना मौसम र भौगोलिक अवस्थाले समेत हुन्छ । ईयूको कालोसूचीको विषय सबैभन्दा पेचिलो बनेको छ । यसमा मुख्य कुरा भनेको अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) ले नियामक निकायको अडिट गर्ने हो । यसमा हामी पास भइसकेका छौं, ईयूले एयरलाइन्स कम्पनीको अडिट गर्ने हो । त्यसैले एयरलाइन्स कम्पनीहरूको हातमा धेरै विषय छन् । त्यसलाई नियमन गर्ने र सुधार गराउन हामी अहोरात्र खटिरहेका छौं । आशा गरौं, छिटै समाधान हुनेछन् ।