एनजीओ मोडलमा आएको पुँजी र प्रविधि दिगो हुँदैन
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५
1274

सिद्धान्तराज पाण्डे
अध्यक्ष-प्रबन्ध निर्देशक, बिजनेस अक्सिजन प्रा.लि.
२५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका सिद्धान्तराज पाण्डे अहिले सेयर स्वामित्वसहित लगानीको मोडल ‘प्राइभेट इक्युटी फन्ड’ सञ्चालन गरिरहेका छन् । आईएफसी, स्पेसल क्लाइमेट चेन्ज फन्ड र डीएफआईडीको प्रत्यक्ष वैदेशिक लगानीसहित नेपाली लगानीकर्ताको कम्पनी डब्लूएलसीमार्फत बिजनेश अक्सिजन सञ्चालनमा छ । १४.३ मिलियन डलर फन्डमार्फत नेपालको साना तथा मझौला व्यवसायमा लगानी भइरहेको छ । नेपालमा अधिकांश साना तथा मझौला व्यवसाय पारिवारिक तथा अनौपचारिक रूपमा चलेको र यसलाई विकास र विस्तार गर्न इक्युटी फन्ड प्रभावकारी हुने उनको भनाइ छ । कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका उनले प्रत्यक्ष विदेशी लगानीसहितको इक्युटी फन्डमार्फत पुँजीसँगै सीप र प्रविधि पनि आउने भएकाले सरकारले यसलाई प्रोत्साहन दिनुपर्ने बताए ।
बेलायतबाट बिजनेस डेभलपमेन्ट इकोनोमीमा स्नातकोत्तर गरेका पाण्डेले यसअघि संयुक्त राष्ट्रसंघ, एस डेभलपमेन्ड बैंकलगायतमा काम गरिसकेका छन् । उनीसँग नेपालमा प्राइभेट इक्युटी फन्ड सञ्चालनको समस्या र सम्भावनाबारे कारोबारका सम्पादक कुबेर चालिसे र संवाददाता यादव हुमागार्इंले गरेको कुराकानीको सार :

बैंकिङ क्षेत्र छोडेपछि के गर्दै हुनुहुन्छ ?
बैंकिङ क्षेत्रबाट बाहिरिएपछि प्राइभेट इक्युटी भेन्चर क्यापिटल फन्ड ‘बिजनेस अक्सिजन’ सञ्चालन गर्दै आएका छौं । यसमा विश्व बैंकअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी), स्पेसल क्लाइमेट चेन्ज फन्डका साथै बेलायतको डीएफआईडीको लगानी छ । यसमा कोष व्यवस्थापनका रूपमा नेपाली कम्पनी डब्लूएलसी भेन्चर रहेको छ । यस कोषमार्फत हामीले साना तथा मझौला व्यवसायमा इक्युटी लगानी गर्दै आएका छौं ।

बैंक तथा वित्तीय संस्थाको लगानी र तपाईंहरूको लगानीमा के फरक छ ?
हामी बैंकले जस्तो ऋण लगानी गर्दैनौं । कुनै पनि कम्पनीमा सेयर हिस्सा नै लिएर लगानी गर्छौं । हामी पाँच देखि आठ वर्षसम्मका लागि लगानी गर्छौं । यसलाई ह्यान्ड होलिङ मेकानिजम् पनि भनिन्छ । पुँजीका साथसाथै उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, यसको क्षमता विकास र विस्तार गर्न, अन्य संघसंस्थासँग सहकार्य गराउन पनि हामीले काम गर्छौं । सेयरका रूपमा लगानी भए पनि सञ्चालकका रूपमा हाम्रो प्रतिनिधित्व हुँदैन । हाम्रो तर्फबाट कम्पनीमा लेखापाल भने राखेका हुन्छौं ।

नेपालमा लगानी भनेको पुँजी मात्रै हो भन्ने भ्रम छ नि ?
हामी लगानी भनेको पुँजीका रूपमा मात्र हेर्छौं, तर विदेशी लगानीसँगै प्रविधि पनि सँगै आउँछ । यसबाट व्यवसायमा रूपान्तरण पनि हुन्छ । नेपालमा साना तथा मझौला व्यवसाय पारिवारिक बिजनेसका रूपमा चलेका छन् । यस्ता बिजनेस गर्दा नियम–कानुनको प्रक्रिया नपुगे पनि हुन्छ भन्ने मान्यता राखेको पाइन्छ । कतिले कर तिर्छन्, कतिले तिरेको हुँदैन । कारोबार पनि पारदर्शी हुँदैन । उनीहरू नियम–कानुनबारे पनि अनभिज्ञ हुन्छन् । तर, हामी जुन कम्पनीमा लगानी गर्छौं, यस्ता कम्पनी वा व्यवसायमा कानुनी प्रक्रिया अनिवार्य गराउँछौं । सबै प्रक्रिया हामी आफैं सेट गरिदिन्छौं । हामीकहाँ लगानी माग्न आउने कम्पनीहरूलाई तपाईंले भोलिदेखि भ्याट तिर्नुपर्छ भन्छौं । त्यसपछि उसले हिसाब गर्छ, अब मैले १३ प्रतिशत भ्याट तिरेपछि मेरो खर्च बढ्छ अनि सँगैको अरूसँग प्रतिस्पर्धा गर्न सक्दिनँ भनेर फिर्ता जाने पनि छन् । तर, जो–जो हामीसँग बसेर काम गर्छन् तिनले बिस्तारै महत्व बुझ्दै जान्छन् । आज प्रक्रियामा चल्यो भने भोलि कम्पनी ठूलो र व्यवस्थित बन्छ । पुँजीसँगै भ्यालु एडिसन हुन्छ । हामीसँग सहकार्य गरेपछि पाउने एक्सपोजरबाट समेत फाइदा लिन सक्छ । हामीले विश्वभरका कम्पनीहरूसँग सहकार्य गर्छौं । यसबाट हाम्रो बजार विश्व बजारसँग जोड्न पनि सजिलो हुन्छ । यो इक्विटी मात्र नभएर इम्प्याक्ट फन्ड पनि हो । नेपालजस्तो देशमा पुँजीमात्र होइन, अन्य प्राविधिक सहयोग पनि आवश्यक भएकाले यसको महत्व बढी छ । यसलाई ब्लेन्डेड फाइनान्स पनि भनिन्छ ।

»नेपालमा साना तथा मझौला व्यवसाय पारिवारिक बिजनेसका रूपमा चलेका छन् । यस्ता बिजनेस गर्दा नियम–कानुनको प्रक्रिया नपुगे पनि हुन्छ भन्ने मान्यता राखेको पाइन्छ ।

»अहिलेको अवस्थामा प्राइभेट इक्विटी इन्भेस्टमेन्टबारे छुट्टै कानुन नभएकाले दोहोरो करको पनि समस्या हुन सक्छ ।

»फन्ड सञ्चालनका लागि प्रत्यक्ष वैदेशिक लगानी ल्याउने कामलाई पनि सरल बनाउनु आवश्यक छ ।

»भारतमा गत वर्ष मात्र ६१ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आएकोमा ५० प्रतिशत प्राइभेट इक्विटी इन्भेस्टमेन्टमार्फत मात्रै भित्रिएको देखिन्छ ।

»उद्यमशील कसरी हुने भनेर सिकाउने भए त प्राध्यापक आफैं उद्यमी भएर अर्बौंपति भइसक्थे होलान् नि !

»हाम्रा युवाहरूले सुरु गरेका बिजनेसहरू राम्रो देखिए पनि त्यसमा मौलिकता देखिँदैन । कुनै न कुनै देशमा सुरु भइसकेको व्यवसाय कपि गरेको पाइन्छ ।

»हामीले बिजनेस सुरु गर्दा हाम्रो मौलिकता र सांस्कृतिक पक्षलाई महत्व दिनुपर्छ ।

»अहिले धेरै युवा विदेशमा अध्ययन गरी फर्केर व्यवसाय सुरु गरेकाले ५ वर्षमा नभए पनि १० वर्षमा नेपाली व्यवसायको क्षमता क्षेत्रीय स्तरसम्म विकास हुन्छ ।

नेपालजस्तो सकेसम्म नियम–कानुन मान्न नपरे हुन्थ्यो अथवा माने पनि सरकारी कर्मचारीसँगको सहकार्यमा कानुन छल्ने देशमा इक्विटी इन्भेस्टमेन्टको सम्भावना कस्तो छ ?
बैंक तथा वित्तीय संस्थाले लगानी गर्न धितो आवश्यक हुन्छ । इक्विटी इन्भेस्टमेन्ट गर्दा व्यवसायको भविष्य मूल्यांकन गरी त्यसैका आधारमा लगानी गर्छौं । चलिरहेको कुनै कम्पनीमा व्यवसाय थप विस्तार गर्नका लागि पुँजी आवश्यक भयो भने उसले धितो नभइकन योजनाका आधारमा मात्र बैंकबाट ऋण पाउँदैन । पुँजीको अभावमा व्यवसाय विस्तार गर्न नपाउनु भनेको दुर्भाग्यको कुरा हो । यो अवस्थामा इक्विटी इन्भेस्टमेन्टको महत्व देखिन्छ । त्यसैले पनि नेपालमा इक्विटी इन्भेस्टमेन्टको महत्व झन् बढी छ ।

तर, कानुन पनि नभएको अवस्थामा विदेशी लगानीकर्तालाई कसरी विश्वासमा लिएर लगानी भित्र्याउन सक्नुहुन्छ ?
हाल यसलाई मात्र हेर्ने छुट्टै कानुन मात्र नभएको हो । हाल भइरहेका छुट्टाछुट्टै कानुनबाट हामी नियमन भएका छौं । अहिले हामीकहाँ डेभलपमेन्ट फाइनान्स इन्टिच्युसन (डीएफआई) हरूको लगानी आइरहेको छ । उनीहरूले नेपालका बारेमा सबै बुझेका हुन्छन् । जे–जति प्राइभेट इक्विटीमार्फत लगानी आएको छ, त्यो डीएफआइजहरूकै हो । उनीहरूमा जोखिम बहन गर्ने क्षमता पनि बढी हुन्छ । निजी फन्डहरू आउन त अझै समय लाग्छ, तर निजी फन्डहरू पनि आउने कुरामा हामी ढुक्क छौं ।

इक्विटी इन्भेस्टमेन्टको काम गर्नका लागि नेपालको प्रचलित नीति–नियमहरूबाट कतिको सहजता छ ?
नेपालमा प्राइभेट इक्विटी इन्भेस्टमेन्टबारे छुट्टै नियमनको नीति र निकाय छैन । छुट्टा–छुट्टै निर्देशिकाहरूबाट नियमन हुँदै आएको छ । विश्वका धेरै देशमा वैकल्पिक लगानीमा नियमनबारे नीति–नियम आइसकेको छ । भारत, बंगलादेश, श्रीलंकामा पनि यसको नियमन हुन थालिसकेको छ । नेपालमा अहिलेसम्म कम्पनी रजिस्टार कार्यालयमा प्राइभेट लिमिटेड कम्पनी दर्ता गरी यस्तो सेवा दिइरहेको अवस्था छ । हामीले सरकारलाई प्राइभेट इक्विटी इन्भेस्टमेन्टलाई छुट्टै निर्देशिकामार्फत नियमन आवश्यक छ भनेर आह्वान गरिरहेका छौं । धितोपत्र बोर्डले यसमा काम गरिरहेको छ । अहिले निजी कम्पनी बनाएर काम गर्दा पनि बाधा छैन । तर, यस्ता फन्डमा वैदेशिक लगाउन भित्र्याउन समय लाग्ने गरेको छ । जस्तै, कम्पनी कानुनमा तीन वर्षसम्म नाफा नभईकन कम्पनीले प्रिमियममा सेयर जारी गर्न नपाउने व्यवस्थाले पनि प्राइभेट इक्विटी फन्डलाई गाह्रो हुने देखिन्छ । त्यसैले पनि हामीले छुट्टै नियम मागेका हौं ।

लगानीका लागि कम्पनी कसरी छनोट गर्नुहुन्छ ?
उद्यमशीलताबारे विभिन्न कार्यक्रम भइरहेका हुन्छन् । हामीले लगानी गरेका कम्पनी हुँदै व्यक्ति–व्यक्तिबाट समेत मार्केटिङ भइरहेको हुन्छ । यसै आधारमा लगानीका लागि प्रस्ताव आउछन् र त्यसबाट छनोट गर्ने हो । कुनै कम्पनीसँग सम्पत्ति छैन भने पनि उसको नगद प्रवाह र वित्तीय अवस्थाले सुन्दर भविष्यको पुष्टि गर्छ र व्यवसायमा सम्भावना देखिन्छ भने हामी लगानी गर्छौं । कम्पनीको भविष्यका आधारमा त्यसको मूल्यांकन गर्छौं । बैंकमा कुनै कम्पनीको सम्पत्ति नै छैन भने त त्यो कम्पनीको शून्य मूल्यांकन हुन्छ । तर हामी, उसको टर्नओभर कति छ ? उसको नगद प्रवाह कति हुन्छ, १० वर्षमा क्षमता कति विस्तार हुन्छ, त्यसैका आधारमा कम्पनीको मूल्यांकन गरी हिस्सा लिन्छौं र लगानी गर्छौं । यस्तै, निश्चित समयपछि हामी फिर्ता हुन्र्छौं ।

निश्चित समयपछि लगानी फिर्ता गर्दा अप्ठेरो होला नि ?
जुन मोडलमा कम्पनीमा प्रवेश गर्छौं सोही मोडमा बाहिरिन्छौं । त्यसका लागि समस्या नहोला । तर, अहिलेको अवस्थामा प्राइभेट इक्विटी इन्भेस्टमेन्टबारे छुट्टै कानुन नभएकाले दोहोरो करको पनि समस्या हुन सक्छ । यसलाई सम्बोधन गर्नका लागि छुट्टै निर्देशिका र नियमनकारी निकाय भए सजिलो हुन्छ, जसका लागि पहल भइरहेको अवस्था छ ।

वैकल्पिक लगानीलाई कसरी नियमन गर्न सकिन्छ ?
अधिकांश देशमा वैकल्पिक लगानी निर्देशिका बनाएर धितोपत्र बजार नियमन गर्ने निकायमार्फत यसको नियमनको प्रचलन छ । नेपालमा पनि यही प्रक्रिया अवलम्बन गर्न सकिन्छ । जस्तो बाफियाले बैंकहरूलाई नियमन गर्छ, त्यस्तै हामीलाई पनि छाता ऐन–नियमबाट नियमन भएमा काम गर्न सजिलो हुन्छ । तर, अहिले भएको नीति–नियमको माथि अर्को एउटा तह थपेर झन्झट दिने हो भने काम छैन ।

वैकल्पिक लगानी निर्देशिका कस्तो हुनुपर्छ ?
फन्ड सञ्चालनका लागि प्रत्यक्ष वैदेशिक लगानी ल्याउने कामलाई पनि सरल बनाउनु आवश्यक छ । अहिले कुनै वैदेशिक लगानी ल्याउन महिनौं लाग्छ । कुनै केसमा त वर्षौं लागेको पनि छ । यसलाई छिटो–छरितो बनाउनका लागि निर्देशिकाले सहयोग गर्नुपर्छ । प्राइभेट इक्विटी र भेन्चर क्यापिटलका लागि देशको आन्तरिक स्रोतले मात्र भ्याउँदैन । विदेशीहरू पनि जहाँ छिटोछरितो र सहज रूपमा लगानी गर्न सकिन्छ, त्यहीँ आउने हुन् । लगानी गर्नका लागि प्रक्रियामै महिनौं-वर्षौं लाग्ने हो भने लगानी आकर्षित गर्न सकिँदैन ।
भारतमा गत वर्ष मात्र ६१ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आएकोमा ५० प्रतिशत प्राइभेट इक्विटी इन्भेस्टमेन्टमार्फत मात्रै भित्रिएको देखिन्छ । यो देश विकासका लागि महत्वपूर्ण हुन्छ । यसलाई प्रोत्साहन हुने गरी निर्देशिका बनाउन आवश्यक छ ।

प्राइभेट इक्विटी इन्भेस्टमेन्ट वैदेशिक लगानी भित्र्याउने राम्रो फर्मुला भए पनि नेपालमा सरकारले प्राथमिकता नदिएको हो ?
अहिले प्राइभेट लिमिटेडबाट भए पनि काम गरिरहेका छौं । विभिन्न ऐन–नियमले हामीलाई नियमन गरिरहेको छ । कम्पनी रजिस्टार, राष्ट्र बैंकमा रिपोर्टिङ गरिरहेका छौं । भविष्यमा यसलाई ठूलो र सजिलो बनाउनका लागि नै हामीले छुट्टै निर्देशिकाका लागि माग गरेका हौं । त्यसबाट प्रभावकारी नियमन भने आवश्यक छ ।

नेपालमा कुनै नयाँ व्यवसाय सुरु भएपछि सबैले त्यसलाई पछ्याउने प्रवृत्ति छ । भेन्चर क्यापिटल पनि धेरै आउन थालेछन् नि ?
प्राइभेट इक्विटी फन्डमा ठूलो भविष्य रहेको छ । धेरै मानिसले पैसा भए पनि लगानी गर्न सकेका छैनौं । बैंकमा भन्दा बढी प्रतिफल आउँछ भने लगानी गर्छन् । त्यसैले यो त राम्रो कुरा हो ।

हाल उद्यमशीलता विकासका लागि विभिन्न फन्डमार्फत स्टार्टअपदेखि चलिरहेका व्यवसायसम्मलाई सहयोग गर्ने धेरै संस्था आइसकेका छन् । के ती सबै सफल होलान् ?
उद्यमको मान्यता नै के हो भने ९० प्रतिशत उद्यम सुरुवाती चरणमै बन्द हुन्छन् । तर, बाँकी रहने १० प्रतिशतको प्रभावचाहिँ ठूलो हुन्छ । हामीले काम सुरु गरेको दुई वर्षमा ७-८ सयवटा व्यवसायको रिभ्यु गरेर ७ वटा बिजनेसमा लगानी गरेका छौं । अरू ८ वटामा लगानी गर्ने चरणमा छौं । यो जोखिमपूर्ण व्यवसाय हो । विश्वभरिकै उदाहरण लिने हो भने पनि ९९ वटा उद्यम असफल भएर एउटा मात्र सफल हुँदा पनि यसको प्रभाव राम्रो हुन्छ ।

हामी धेरै वर्षदेखि विदेशी पुँजी र सीप भित्र्याउनुपर्छ भनेर बहस गरिरहेका छौं । पुँजी लगानी केही मात्रामा आए पनि प्रविधि भने भित्रिन नसकेको गुनासो छ नि ?
अहिलेसम्म हामीकहाँ सामाजिक संस्थाको मोडलमा मात्र पुँजी र प्रविधि भित्रिएको छ । एनजीओ-आइएनजीओ मोडलमा आएको पुँजी र प्रविधि दिगो हुँदैन । यसलाई दिगो बनाउनका लागि त्यसमा व्यापारिक दृष्टिकोण आवश्यक पर्छ । नाफामूलक हुनैपर्छ । ग्रान्ट (अनुदार) र च्यारेटी (समाजसेवा) भएका आयोजनाहरूमा कसैको अपनत्व हुँदैन । ग्रान्ट-च्यारेटी छउन्जेल मात्र चल्ने हो, त्यसपछि भुस भएर जान्छ । प्राइभेट इक्विटीबाट व्यवसायमा थप लगानी गरेर उनीहरूको पसिनालाई ठूलो बनाउँछौं । यसबाट कम्पनीमा उद्यमी र लगानीकर्ताको अपनत्व पनि हुन्छ र भविष्य पनि दिगो हुन्छ ।

बैंकिङ क्षेत्रमा लामो समय बिताउनुभयो, अहिले इक्विटी फन्डमार्फत पनि उद्यमशीलता विकासमै लागिरहनुभएको छ । वास्तवमा उद्यमशीलताको विकास कसरी हुने रहेछ ?
मलाई धेरै कलेज या कार्यक्रममा उद्यमशीलताबारे बोल्नका लागि अनुरोध आउँछ । म यो क्षेत्रको विज्ञ त होइन, मेरो विचारमा उद्यमशीलता सिक्ने कुरा होइन । हामीले सिक्ने त उद्यम गर्ने सिस्टम मात्र हो । उद्यमीसँग प्रोडक्टको मात्र ज्ञान हुन्छ । त्यसलाई कसरी मार्केटिङ गर्ने ? कसरी लगानी खोज्ने ? कम्पनी चलाउन के के गर्नुपर्छ थाहा हुँदैन । त्यसका लागि हामीले मद्दत गर्छौं । एउटा उद्यमीले मम बनाउने कम्पनी चलाएको छ भने मम बनाउन तरिका हामीलाई थाहा हुँदैन । तर, हामीले त फाइनान्नसियल सिस्टम कसरी राख्ने, मार्केटिङ कसरी गर्ने भन्ने मात्र थाहा हुन्छ । उद्यमशील कसरी हुने भनेर सिकाउने भए त प्राध्यापक आफैं उद्यमी भएर अर्बौंपति भइसक्थे होलान् नि !

नेपालमा विश्वविद्यालयमा उद्यमशीलताका कोर्स नै सुरु भएका छन् । सरकार, गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था र विभिन्न कम्पनीले काम पनि गरिरहेका छन्, तर उद्यमीको संख्या बढेको छैन । हाम्रो समस्या के हो ?
मुख्य कुरा आइडिया र पुँजी हो । आइडिया मात्र भएर पुँजी भएन भने पनि काम छैन । पुँजी मिलाउनुपर्छ । ९० प्रतिशत आइडिया पुँजी संकलन गर्दागर्दै असफल हुन्छ भने अर्को ९० प्रतिशत पुँजी लगानी भएपछि असफल हुन्छ । हाम्रो देशमा बिजनेस सुरु गर्दा सबै जना फेसबुक र एमेजन हेर्छन् । तर, टेस्ला कम्पनी नाफामा नभए पनि पछि राम्रो नाफा हुन्छ भनेर सेयर मूल्य बढिरहेकै छ त ।
हाम्रा युवाहरूले सुरु गरेका बिजनेसहरू राम्रो देखिए पनि त्यसमा मौलिकता देखिँदैन । कुनै न कुनै देशमा सुरु भइसकेको व्यवसाय कपि गरेको पाइन्छ । व्यवसाय गर्नका लागि अनुसन्धान भएको पाइँदैन । बौद्धिक सम्पत्ति अधिकारबारे पनि जानकारी छैन । आफ्नो व्यवसाय मौलिक छ भने त्यसमा बौद्धिक सम्पत्ति अधिकार संरक्षण गर्ने र अर्कोको सम्पत्ति प्रयोग गर्दा पनि ख्याल गर्नुपर्छ । हामीले बिजनेस सुरु गर्दा हाम्रो मौलिकता र सांस्कृतिक पक्षलाई महत्व दिनुपर्छ ।

तपाईंहरूले हाल लगानी गरेका कम्पनी पाँच वर्षमा अन्तर्राष्ट्रिय स्तरमा पुग्ने क्षमता राख्लान् त ?
हाम्रो म्यान्डेड कुनै व्यवसाय सुरु गर्नु मात्र होइन । कुनै कम्पनी एक-दुई वर्ष चलाइसकेको, नाफामा भएको र विस्तारका लागि थप लगानी आवश्यक भए हामी लगानी गर्ने हो । हामीले लगानी गरेका कम्पनीमा फ्रेन्चाइज मोडलमा जान सक्ने क्षमता विकास भइरहेको छ । एउटा कम्पनी विदेशी लगानीकर्ता भित्र्याउने क्षमतामा पुगेको छ । अरू पारिवारिक मोडलमै रहे पनि उनीहरूको क्षमता भने विस्तार हुन्छ । अहिले धेरै युवा विदेशमा अध्ययन गरी फर्केर व्यवसाय सुरु गरेकाले ५ वर्षमा नभए पनि १० वर्षमा नेपाली व्यवसायको क्षमता क्षेत्रीय स्तरसम्म विकास हुन्छ ।

नेपलमा उद्यमका लागि कुन–कुन क्षेत्रमा बढी सम्भावना छन् ?
पर्यटनसँग सम्बन्धित उद्योगमा ठूलो सम्भावना छ । यसैगरी कृषि, जडीबुटीलगायतका उत्पादन उद्योग र होटललगायतका सेवाक्षेत्रमा पनि राम्रो छ । नवीकरणीय ऊर्जा, जलविद्युत्मा पनि सम्भावना छ ।

उद्यमशीलताको इकोसिस्टममा कसको भूमिका महत्वपूर्ण देख्नुहुन्छ ?
इकोसिस्टमा उद्यमी, लगानीकर्ता र सरकार छन्, जसमा सबैभन्दा ठूलो भूमिका उद्यमीकै हुन्छ । त्यसपछि सरकारको हुन्छ । सरकारले प्रवद्र्धनकारी निकायका रूपमा सहयोग गर्नुपर्ने हो । तर हाम्रो कर्मचारीतन्त्र सहयोगी छैन । त्यसैले सरकार प्रवद्र्धनकारी भन्दा पनि नियमनकारीका रूपमा देखिएको छ ।