कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५
1117

जनकपुरमा भारतीय पर्यटक बढ्ने निश्चित छ
मोहन शर्मा लामिछाने
व्यवसायी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज वैशाख २८ गते नेपाल भ्रमणमा आउँदैछन् । उनी भारतको पटनाबाट नेपालको प्रदेश नम्बर २ को मुकाम जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । यसअघि दुई पटक नेपाल आइसकेका भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको सूची पहिलेको भ्रमणमा पनि थियो, तर प्राविधिक कारणले स्थगित भएको थियो । यसपटक भने उनले पहिलो भ्रमण जनकपुरबाट सुरु गर्ने भएका छन् । मोदीको स्वागतका लागि जनकपुरलाई दुलहीझैं सिँगारिएको छ । उनको भ्रमणका लागि २८ गते एक दिन प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा र भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा निजी क्षेत्रले पनि केही न केही आशा एवं अपेक्षाहरू राख्ने गरेको छ । भारतीय प्रधानमन्त्री मोदीको यसपटकको भ्रमणमा अपेक्षाभन्दा पनि सम्बन्ध सुधार तथा धार्मिक पर्यटनको विकासबाट प्रदेश नम्बर २ लाई समृद्ध बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । यसै सन्दर्भमा  बाराका व्यवसायी मोहन शर्मा लामिछानेसँग कारोबारकर्मी  प्रकाश लम्साले गरेको कुराकानीको सार :

 

मोदीको भ्रमणले प्रदेशको विकासमा कस्तो असर पार्ला ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले प्रदेश नम्बर २ को विकास आगामी दिनमा अझ सहज र बलियो हुने निश्चित हुन पुगेको छ । अन्य प्रदेशहरूको तुलनामा यो प्रदेशमा मोदीको आगमन आफैंमा बलियो उपस्थिति हो । हामी व्यापारीले यसरी बुझेका छौं । मोदी जनकपुर आउनु र नागरिक अभिनन्दन हुनुलाई सबै भारतीयले नियाल्नेछन् । त्यसबाहेक पनि नेपालकै आर्थिक प्रवेशद्वार रहेको यो प्रदेशमा अब भारतीय लगानीकर्ताहरूको समेत नजर पुग्ने निश्चित भएपछि विकासमा टेवा पुग्ने नै छ ।
मोदीको भ्रमणपछि यो प्रदेशलाई हेर्ने नजर परिवर्तन हुनेछ, उद्योग–कलकारखानाहरूले गति लिनेछन् र भारतीय पर्यटनको बाटो निश्चित खुल्नेछ ।

प्रदेश २ को सरकारलाई यो भ्रमण कतिको फलदायी होला ?
मुलुककै सम्बन्धको विकास गर्ने नवीकरणको सुनौलो अवसरका साथै प्रदेश नम्बर २ को सरकारलाई अवसरका रूपमा आएको छ यो भ्रमण । शक्तिशाली राष्ट्रका प्रमुखलाई नागरिक अभिनन्दन आफैंमा एउटा विशाल अवसर हो, जुन २ नम्बर प्रदेशले पायो । त्यसबाहेक पनि रामायण सर्किटको जनकपुरधामले अब भारतभर चर्चा पाउनेछ । अब जनकपुरमा भारतीय पर्यटक बढ्ने निश्चित छ । मोदीको भ्रमणले भारतीय उद्योगीहरूसमेत यो प्रदेशमा आउने विश्वास बढेर जानेछ ।

आर्थिक र सांस्कृतिक सम्बन्ध कस्तो हुनेछ ?
परापूर्व कालदेखि नै आर्थिक र सांस्कृतिक रूपमा धेरैजसो एउटै परम्परा रहिआएकोमा यस पटकको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै कसिलो बनाउने र सुधार हुने मेरो विश्वास छ ।

विगतमा भएको नाकाबन्दीको तिक्ततालाई कतिको मेटाउला यो भ्रमणले ?
तिक्तता हटाउन मोदीकै अनुपम प्रयासस्वरूप जनस्तरबाट नागरिक अभिनन्दन ग्रहण हुँदैछ । मोदीको यो भ्रमणले सबै खाले तिक्तता हटाई तिनलाई इतिहासमा सीमित पार्ने प्रयास हुने मेरो बुझाइ छ ।

मोदीको शिरदेखि पाउसम्म भ्रमण हुँदैछ, के अनुमान गर्दै हुनुहुन्छ ?
नेपालमा धार्मिक स्थलहरू रहेर पनि हुन सक्छ, आफैंमा मनोरम सुन्दर यो देश मोदीले बुझेका छन् । राजनीतिक पाटोभन्दा पनि धार्मिक गतिविधिमा मोदी सहभागी हुनु स्वाभाविक हो, किनकि उनी धार्मिक आस्था राख्ने नेता हुन् ।