कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५
1050

प्रदेश नम्बर २ को विकासमा ठूलो फड्को
सुनिल जयसवाल
अध्यक्ष, चन्द्रपुर नगर उद्योग वाणिज्य संघ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज वैशाख २८ गते नेपाल भ्रमणमा आउँदैछन् । उनी भारतको पटनाबाट नेपालको प्रदेश नम्बर २ को मुकाम जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । यसअघि दुई पटक नेपाल आइसकेका भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको सूची पहिलेको भ्रमणमा पनि थियो, तर प्राविधिक कारणले स्थगित भएको थियो । यसपटक भने उनले पहिलो भ्रमण जनकपुरबाट सुरु गर्ने भएका छन् । मोदीको स्वागतका लागि जनकपुरलाई दुलहीझैं सिँगारिएको छ । उनको भ्रमणका लागि २८ गते एक दिन प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा र भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा निजी क्षेत्रले पनि केही न केही आशा एवं अपेक्षाहरू राख्ने गरेको छ । भारतीय प्रधानमन्त्री मोदीको यसपटकको भ्रमणमा अपेक्षाभन्दा पनि सम्बन्ध सुधार तथा धार्मिक पर्यटनको विकासबाट प्रदेश नम्बर २ लाई समृद्ध बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । यसै सन्दर्भमा चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल जयसवालसँग कारोबारकर्मी  सुब्बा कार्कीले गरेको कुराकानीको सार :

भारतीय प्रधानमन्त्री मोदीेको भ्रमणलाई कसरी हेरिरहनुभएको छ ?
आर्थिक नगरी भनेर चिनिने वीरगन्ज पनि यसै प्रदेशमा परेको, कलकारखाना भएको प्रदेश भएकाले पनि भारतबाट नेपाल आउने कच्चापदार्थ, विभिन्न सामान आयातमा देखिएको समस्या समाधान हुने अपेक्षा गरेका छौं ।

यस भ्रमणबाट निजी क्षेत्रले के अपेक्षा राखेको छ ?
यतिखेर चर्चामा रहेको रेलमार्गले २ नम्बर प्रदेशको आर्थिक अवस्थालाई माथि लैजान ठूलो काम गर्ने भएकाले पनि रेलमार्ग निर्माणमा देखिएका समस्यालाई प्रदेश सरकार र मोदी सरकारबीच सम्झौता गरी अगाडि बढाउनुपर्ने देखिन्छ । हुलाकी राजमार्गले पनि २ नम्बर प्रदेशको समृद्धिको ढोका खोल्ने भएकाले यसको काममा देखिएको ढिलासुस्तीलाई पार लगाउँदै अगाडि बढ्नका लागि मोदीको भ्रमणले सहयोग पुर्याउने अपेक्षा गरेको छु । भारतसँग जोडिएको प्रदेश भएकाले भारतबाट आउने हरेक सामानमा लाग्ने भन्सारलगायत अन्य करमा सहुलियत दिएर व्यापारीहरूलाई प्रोत्साहन गर्ने काममा प्रदेश सरकारले भारतसँग अनुरोध गरेर करमा छुट दिने सके २ नम्बर प्रदेशको आर्थिक समृद्धिलाई टेवा पुग्ने देखिन्छ । पछिल्लो समयमा मोदी सरकारले अयोध्या–जनकपुरबीचको मार्गलाई अगाडि ल्याएको छ, त्यसले प्रदेशलाई भारतसँग सोझै जोड्ने नयाँ आयामका रूपमा लिएको छु । यसले भारतसँग नेपालको सीधा सम्पर्क बनाएर आर्थिक, सामाजिक, सांस्कृतिक महत्वलाई उजागर गरेको छ । यसले नेपालमा भारतबाट भित्रिने पर्यटकको संख्या बढाएर आर्थिक रूपमा सबल बनाउने अपेक्षा गरेको छु । विगतमा देखिएको दुई देशबीचको सम्बन्धलाई यस मार्गले नजिक ल्याउने काम गरेर भारतसँग नेपालको सदिऔंदेखि रहिआएको सम्बन्धमा समेत सुमधुरता ल्याउने अपेक्षा गरेको छु ।

यस पटकको भ्रमणले प्रदेश २ को विकासमा के फरक पार्न सक्छ ?
विगतका दिनमा भारत सरकारले समग्र नेपाललाई दिँदै आएको सहयोगको निरन्तरताका साथै २ नम्बर प्रदेशको समृद्धिका लागि आफ्नै स्रोतको पहिचान गरी त्यसलाई अगाडि ल्याउने विषयमा भारत सरकारले प्रदेश नम्बर २ लाई सहयोग गरी असल छिमेकी देशक तथा प्रदेशको सम्बन्धलाई अझ प्रगाढ बनाउन सक्नेमा आफु आशावादी रहेको छु । २ नम्बर प्रदेशको समग्र विकासमा मोदीको भ्रमणले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छु । भारत सरकारसँग २ नम्बर प्रदेशले अपेक्षा गरेको अर्काे महत्वपूर्ण विषय भनेको हरेक वर्ष वर्षातको समयमा हुने गरेको तराई डुबानको समस्या प्रमुख रहेको छ । गत वर्षको साउनमा आएको भीषण बाढीबाट विशेष गरी २ नम्बर प्रदेशका सबैजसो भूभाग जलमग्न हुनुका साथै सयौं मानिसको ज्यान गएको छ । अर्बांैको आर्थिक क्षति भएको छ भने हजारौं घरबारविहीन भएका छन् । यसको प्रमुख कारण भनेको नेपाल र भारतबीच देखिएको समस्या हो । यसले नेपाललाई हरेक बर्ष डुबानमा पारेर आर्थिक रूपमा पछाडि पारेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको प्रवेशद्वार नै २ नम्बर प्रदेश भएकाले पनि यस विषयलाई पनि उठान गरी नेपालका हजारौं मानिसलाई घरबारविहीन हुनबाट जोगाउनुका साथै जनधनको क्षतीलाई न्यूनीकरण गर्नेतर्फ लाग्नुपर्ने देखिएको छ । भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीकै समयमा नेपालमा भएको ६ महिना लामो नाकाबन्दीबाट ग्रसित भएका व्यापारीलाई अब भारतसँगको व्यापारमा कुनै समस्या नआउने वातावरण बनाउने कामको पुलका रूपमा प्रदेश नम्बर २ सरकारले भारत सरकारका प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेश २ वास्तवमै अत्यन्त धेरै सम्भावना भएको प्रदेश हो । तर, राजनीतिक नेतृत्वको सक्षमतामाथि पनि प्रश्न उठाउने प्रशस्त आधार भएकाले यसको भविष्य कस्तो देख्नु हुन्छ ?
मोदीको नेपाल भ्रमणको समयमा २ नम्बर प्रदेशमा निर्माण हुन सक्ने ठूलो योजनाहरूलाई पहिचान गरी त्यसका लागि लगानीको वातावरण सिर्जना गर्दै प्रदेशलाई देशकै नमुना आर्थिक प्रदेशका रूपमा रूपान्तरण गर्न सकिने अवस्था देखिएकाले अब २ नम्बर प्रदेश आर्थिक हिसाबले देशकै १ नम्बर प्रदेश हुन सक्ने सामर्थ रहेकाले यसका बारेमा प्रदेश सरकारले प्रस्ताव राख्नुपर्छ । नेपालको सिँचाइ, सडक, शिक्षामा भारत सरकारको ठूलो लगानी रहेको अवस्थामा शैक्षिक क्षेत्रमा २ नम्बर प्रदेश पछाडि रहेको र सडक सञ्जालमा केही समयदेखि गति लिएको अवस्थामा हुँदै गरेको कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन भारतसँगको सहकार्य आवश्यक रहेकाले मोदीको २ नम्बर प्रदेश भ्रमण र २ नम्बर प्रदेशका नागरिकले गर्ने अभिनन्दनले पनि मोदीलाई २ नम्बर प्रदेशलाई समग्र रूपमा अगाडि बढाउनका लागि सहयोग गर्न नैतिक दबाब पर्ने भएकाले पनि अब मोदीको नेपाल सहित २ नम्बर प्रदेशको विशेष आवागमनले पछाडि परेको २ नम्बर प्रदेशलाई अगाडि ल्याउनेमा आफु आशावादी छु । व्यापारी, व्यवसायीहरूका समस्या समाधानका लागि प्र्रदेश सरकारले मोदी सरकारसँग एउटै टेबलमा बसेर बहस गरेर अबका दिनमा नेपाली व्यापारीहरूलाई समय–समयमा भारतीय पक्षले दिने गरेको दुःख झेल्नुपर्ने अवस्था आउँदैन । यसका लागि प्रदेश नम्बर २ का प्रमुख लालबाबु राउत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको आर्थिक समृद्धिका मुद्दामा हुने कुराकानीले तय गर्ने देखिन्छ ।