दीपेन्द्र थापा
बिहिवार, श्रावण १५, २०७७
520

दीपकराज जोशी 
पूर्वप्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी दीपकराज जोशी सन् २००० देखि निरन्तर पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनमा सक्रिय छन् । हाल कोभिड–१९ पछिको पर्यटनलाई दिशानिर्देश गर्न संयुुक्त राष्ट्र विश्व पर्यटन संगठन (युनाइटेड नेसन्स वल्र्ड टुरिजम अर्गनाइजेसन) का पूर्वमहासचिव डा. तालेव रिफाईको संरक्षकत्वमा सुरु भएको र १ सय १२ देशका प्रतिनिधि सदस्य रहेको विशेष अन्तर्राष्ट्रिय परियोजना रिब्युल्डिङ ट्राभलमा टास्कफोर्स मेम्बरका रूपमा आबद्ध जोशीले प्यासिफिक एसिया ट्राभल एसोसिएसनको डेस्टिनेसन कमिटीको अध्यक्षका रूपमा प्यासिफिक एसियाको पर्यटन क्षेत्रलाई नेतृत्व पनि गरिसकेका छन् ।
भूकम्प र नाकाबन्दीपछि थला परेको पर्यटनलाई दुई वर्षमै दोब्बर पर्यटक भिœयाउन नेतृत्वदायी भूमिका खेलेका जोशी च्याम्पियन्स इन च्यालेन्ज र एसिया क्षेत्रको पर्यटन बोर्ड क्योटोगरीमा सर्वोत्कृष्ट सीईओजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित व्यक्तित्व हुन् । पर्यटन बोर्डको चार वर्षे सफल र परिणाममुखी कार्यकालपश्चात् पनि कोभिड–१९ को महामारीबाट मारमा परेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि जोशी उत्तिकै सक्रिय छन् । उनी कोभिड–१९ को बीचमा आन्तरिक र बाह्य पर्यटकलाई सुरक्षा मपदण्ड तय गरेर गन्तव्यहरूको प्रचार–प्रसारमा जोड दिनुपर्ने बताउँछन् । विश्व पर्यटन मानचित्रमा अन्तर्राष्ट्रिय विज्ञको पहिचान बनाइसकेका जोशी दिनहुँ राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा हुने वेब मिटिङ तथा सेमिनारमा व्यस्त रहेकै बेला नेपालको पर्यटन पुनरुत्थान गर्न तत्काल सरकार र निजी क्षेत्रले पर्यटन उद्योगलाई उकास्न गर्नुपर्ने रणनीतिका सन्दर्भमा जोशीसँग कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानीको सार :

कोभिड–१९ ले नेपालको पर्यटन क्षेत्रलगायत अर्थतन्त्रमा ठूलो गिरावट आएको छ, करिब पाँच महिनाको लकडाउनले थलिएको पर्यटन र अर्थतन्त्रलाई चलायमान गर्न अब के गर्नुपर्छ ?
पाँच महिनाभन्दा बढी बन्दाबन्दीमा घरभित्रै खुम्चिएको हाम्रो समाज र बन्द अर्थतन्त्र केही सीमिततासहित चलायमान बनाउन खोजिएको छ । अप्रिल र मे महिनामा ९० प्रतिशतभन्दा माथि रहेको कोभिड–१९ बारे मानसिक रूपमा रहेको डर-त्रास जुलाईमा २० प्रतिशतभन्दा मुनि झरेको विश्वव्यापी आँकडाले देखाएको छ । कोभिड–१९ निको पार्ने भ्याक्सिन वा औषधि बजारमा उपलब्ध नभएसम्म सामाजिक–आर्थिक अवस्था चल्दैन भन्ने बुझाइ छ । त्यसैले औषधिबिनै पनि निश्चित सुरक्षा मापदण्ण्ड अपनाई अघि बढ्नुपर्छ । अर्थतन्त्र चलायमान बनाउनका लागि सारा विश्व नै लागिपरेको अवस्था छ, प्रयासरत र अग्रसर पनि छ । यस महामारीको प्रभाव बढि नै रहँदा पनि यही सेरोफेरोमा विश्वका धेरै देशले आन्तरिक तथा बाह्य आवतजावतका लागि वातावरण सहज बनाउँदै जीवनयापन चलायमान बनाइरहेका छन् । मानव जातिका लागि स्वास्थ्यको पाटो जति महत्वपूर्ण हो, त्यत्तिकै महत्वपूर्ण सामाजिक र आर्थिक पाटो पनि हो । एक देशदेखि अर्को देश र एक सहरदेखि अर्को सहर मात्रै हैन, आन्तरिक आवतजावतसमेत बन्द भएको अवस्थामा यसको प्रभाव विगतमा देखिएका संकटहरूमध्ये सबैभन्दा बढी छ । सबैभन्दा बढी प्रत्यक्ष असर त यसले पर्यटन उद्योगमा नै पारेको छ, जुन एक ठाउँबाट अर्को ठाउँमा ट्राभल गर्दा गरिने गतिविधिहरूले सिर्जित हुने अर्थतन्त्र हो । होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, -याफ्टिङ, एयरलाइन्स, रेस्टुराँजस्ता पर्यटन क्षेत्रमा खर्बौंको आय गुमिरहेको छ । प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सिर्जित करिब ११ लाख जनशक्तिको रोजगारी संकटमा छ । पर्यटन उद्योगमा मात्रै ४ खर्बभन्दा बढीको बैंक तथा वित्तीय क्षेत्रको लगानी रहेको प्रारम्भिक अनुमान छ । स्थिर सरकार, देशमा बढ्दो विकासोन्मुख सोच र मानसिकता, २० लाख पर्यटन भिœयाउने लक्ष्यसहित घोषित भ्रमण वर्ष २०२० तथा सुध्रिँदै र विस्तार हुँदै गएको पूर्वाधारका कारण यस क्षेत्रमा ठूलो मात्रामा लगानी बढ्ने अपेक्षा छ । 

पर्यटन उद्योगमा गरिएको ४ खर्ब लगानी जोखिममा परेको हो ?
होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, -याफ्टिङ, एयरलाइन्स, रेस्टुराँजस्ता पर्यटन क्षेत्रमा खर्बौंको आम्दानी गुमिरहेको छ । प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सिर्जित करिब ११ लाख जनशक्तिको रोजगारी संकटमा परेको छ । पर्यटन उद्योगमा मात्रै ४ खर्बभन्दा बढीको बैंक तथा वित्तीय क्षेत्रको लगानी रहेको प्रारम्भिक अनुमान छ । महामारीले महासंकट त ल्याएको छ र यसको भार आउँदा दिनमा थपिँदै जानेछ । छिमेकी चीनमा संकट र अवसर दुई फरक शब्द नभई एउटै अर्थ राख्ने शब्द हुन् भन्ने बुझाइ छ । वास्तवमा हरेक संकटले नयाँ अवसर पनि ल्याएको हुन्छ । संकटका बेला धेरै मानिस हार मान्छन् र हराउँछन् । केही मानिस बाँच्ने उपाय खोज्छन् र आफूलाई बचाउँछन्, केही मानिस बाँच्ने प्रयासका साथै नयाँ अवसर खोज्न लाग्छन् र संकटलाई जितेर नयाँ सामाजिक आर्थिक साम्राज्य खडा गर्छन् । तसर्थ अब संकटबाट कसरी बच्ने, यसलाई कसरी पराजित गर्ने भन्ने चिन्तन गर्दै संकटग्रस्त अवस्थाबाट यथाशीघ्र सामाजिक–आर्थिक पुनरुत्थानतर्फ लैजाने बाटो कोर्ने बेला हो यो । डर, आशा र विश्वासमात्रै गरेर बस्नु उचित र फलदायी रणनीति होइन । 

पछिल्लो समय राजधानीमा संक्रमण बढ्दो छ र देशका अन्य भागमा पनि जोखिम कम भएको छैन, यस्तो अवस्थामा कहिलेसम्म पर्यटन उद्योगलाई पुरानै अवस्थामा फर्काउन सकिएला ?
हरेक संकटको एउटा आयु हुन्छ र संकटले अवसर ल्याएर आएको हुन्छ । कोरोना भाइरस महाप्रकोप पनि केही समयपछि हराउनेछ । भ्याक्सिन वा एन्टिभाइरल ड्रग्स बजारमा सहज रूपमा उपलब्ध नभए पनि विभिन्न सुरक्षा मापदण्ड अपनाई संसार अघि बढ्नेछ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा पर्यटनका विभिन्न क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक गरिसकेको छ । अब विस्तारै ट्राभलमा रहेको नियन्त्रण खुकुलो हुँदै जानेछ । आन्तरिक र अन्तर्राष्ट्रिय आवागमन यही भदौ १ गतेदेखि सुचारु गर्ने घोषणा नेपाल सरकारबाट भइसकेको छ । अब पर्यटन बचाउन (सर्भाइभल), फर्काउन (रिचाइभल) र फैलाउन (थ्राइभल) का लागि कम्तीमा तीनवर्षे रणनीतिका साथ अझ बढी सक्रिय हुँदै हिँड्नुपर्ने हुन्छ । पर्यटन उद्योगलाई बचाउन र फेरि पुरानै लयमा फर्काउन गर्नुपर्ने धेरै कामको लामै सूची हुनसक्छ । सबै काम एकैपटक सुरु गर्न र सम्पन्न गर्न सम्भव छैन । नेपाली अर्थतन्त्र उकासिने सबैभन्दा महत्वपूर्ण समय हो– दसैंको अवसर । तसर्थ, दीर्घकालमा बलियो बन्न तयारीस्वरूप दसैंअघिसम्म कम्तीमा दसवटा काम गर्नैपर्छ । 

ती दस काम के हुन् ? 
पहिले त पुनर्कर्जा कोषको परिचालनको परिचालन गर्नु आवश्यक छ । पर्यटन क्षेत्रका उद्योगी, व्यवसायी र कामदारहरूको पेसा बचाउनका लागि राहत दिने तथा सबल बनाउन प्याकेज ल्याउने कामलाई प्राथमिकता दिनुपर्छ । अहिले सरकारबाट छुट्याइएकोे ५० अर्ब रुपैयाँको कोष पर्यटन क्षेत्रका लागि मात्र बुझिएकोमा हाल अन्य साना तथा मझौला उद्योगका लागि पनि हो कि भन्ने दुविधा रहेको सन्दर्भमा उक्त कोष केका लागि कति हो भन्ने तथ्य यथाशीघ्र प्रस्ट्याउनुपर्छ । र, यसका लागि मर्का परेका मुख्य क्षेहरू जस्तै हस्पिटालिटी, एयरलाइन्स, बेरोजगार कामदारलगायत क्षेत्रगत रूपमा छुट्टाछुट्टै टास्क फोर्स बनाई एक कार्यविधि निर्माण गरी त्यो कोष आउँदो भदौ महिनाको पहिलो सातादेखि नै परिचालित हुने स्थिति बनाउने । पर्यटनलाई चोट अहिले परेको छ तर त्यसको उपचार चार महिना वा आठ महिनापछि भएमा यो कोष पर्यटन क्षेत्रलाई बचाउन सहयोगी हुने छैन । अब यात्रामा निस्कने हरेक पर्यटक, स्वदेशी-विदेशी, दुवैले गन्तव्य वा गतिविधि छनोट गर्दा स्वास्थ्यसम्बन्धीको तयारीलाई पहिलो क्राइटेरिया बनाउनेछन्् । पर्यटन पुनरुत्थान हुँदै गर्दा धेरै चिज पहिलेजस्तै रूपमा फर्के पनि एसएमएस (एस–सेफ डिस्टेन्सिङ, एम–मास्क, एस–सेनिटाइज) को प्रचलन रहिरहनेछ । कम्तीमा यी तीन चलन जताततै लागू भएको प्रत्याभूति गर्न सक्नुपर्नेछ । त्यसैले यात्रा गर्ने साधन जस्तै– हवाईजहाज, बस, कार, बास बस्ने स्थान जस्तै– होटल-रिसोर्ट-होमस्टे-टेन्ट; पर्यटन सेवा र गतिविधिका स्थलहरू जस्तै– विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय; -याफ्टिङ-बन्जि-प्याराग्लाइडिङ-साइक्लिङ-बोटिङ-हात्ती सवार-सफारीजस्ता गतिविधिका साधनलाई नियमित रूपले डिस्इन्फेक्ट गर्ने, सफाइ तथा हाइजिनको मापदण्ड कडाइका साथ लागू गर्नुपर्छ । यात्रु वा यात्रीहरूबीच भौतिक दूरी कायम राख्ने जस्ता कार्य गर्न सरकारी, निजी क्षेत्र तथा पर्यटक प्रहरीका प्रतिनिधि संलग्न एउटा संयन्त्र बनाई त्यसको नियमित अनुगमन गर्ने व्यवस्था गर्ने । 

यसरी सन्देश प्रवाह गर्न कार्यान्वयन र आन्तरिक पर्यटनमा भने कसरी जोड दिने ?
अहिले भनेको डिजिटाइजेसनको समय हो । यसका लागि एउटा इन्फोग्राफिक भिडियो सामग्री बनाई मुख्य स्रोतबजारका सरोकारवाला, सञ्चार क्षेत्र, गैरआवासीय नेपाली संघ र नेपाली डायस्पोरा, दूतावासमार्फत यथाशीघ्र सम्पे्रषित गर्ने, जसले नेपालको सक्रियता र तैयारीका बारेमा सकारात्मक सन्देश विश्वसामु पु-याउनका लागि सहयोग गर्नेछ । यता अर्कातर्फ भने पर्यटनमा आउने संकटपछि पुनरुत्थान हुने पहिलो सेगमेन्ट आन्तरिक पर्यटन नै भएको हुँदा यसको प्रवद्र्धनका लागि एक अभियानको तयारी गर्ने । देश दर्शनका प्रवद्र्धनात्मक सामग्री र प्याकेज आउन अब ढिलो गर्नु हुँदैन । सरकारी तथा निजी क्षेत्रका संगठित संस्थामा कार्यरत कर्मचारीहरू १० लाखभन्दा बढी छन् । उनीहरूलाई वर्षमा दुईपल्ट गरी जम्मा १० दिनको खर्चसहितको भ्रमण बिदामा पठाउने कार्यक्रम यही आर्थिक वर्षदेखि लागू गर्नुपर्छ । मलेसिया, थाइल्यान्ड, सिंगापुर, भारत, चीन, दुबई, इन्डोनेसिया, युरोप तथा अमेरिकी सहरहरूसम्म घुम्नकै लागि जाने नेपालीहरू करिब १२ लाख छन् । विदेशी मुद्राको सञ्चिति घट्न नदिनका लागि सरकारले देशबाहिर घुम्न जाँदा लैजान मिल्ने विदेशी मुद्रा सटहीको व्यवस्थालाई नियन्त्रण गर्नेछ । र अबका दिनमा यो संख्या पनि देशभित्रै पर्यटकीय गतिविधि गर्न प्रेरित हुनेछ । र यो संख्या विदेशी पर्यटकहरूले गर्ने खालकै गतिविधिमा रमाउने खालको र खर्च गर्ने खालको हुनेछ । त्यसैले यसको व्यवस्थित विकास र प्रभावकारी प्रवद्र्धनमा तत्काल र यथाशीघ्र जोड दिनु अत्यावश्यक छ । यस्ता भ्रमण कम्तीमा एक वर्षका लागि ठूलो लगानी भएका क्षेत्र र गतिविधिमै केन्द्रित हुन प्रोत्साहित गर्ने । पर्यटन एक अत्यन्तै अनुशासित र सेवामुखी व्यवसाय पनि हो । अतिथिको सेवा र सत्कारमार्फत विश्वास आर्जन नगरी यो व्यवसाय सफल हुँदैन । यो व्यवसायमा वर्षौंको अनुभव भएका र तालिम प्राप्त जनशक्ति छन् । हाल सार्वजनिक यातायात, स्थानीय बजार, सपिङ मलहरू खुलिसकेको अवस्थामा पर्यटन प्रवद्र्धनका लागि पनि राज्यका निकायहरू सक्रिय हुनुपर्छ, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पनि जोड दिनुपर्छ ।

यी सबै कार्य सञ्चालन गर्नका लागि पर्यटकलाई आकर्षित गर्न र अभिमुखीकरणको पाटोमा के गर्न सकिन्छ ? 
यो कार्य क्षमता बढाउने र उत्पादकत्वको विकास गर्न आफ्नो संगठनलाई स्रोतसाधनले भरिपूर्ण बनाउने समय हो । समयको सदुपयोग गर्दै व्यापक तालिम तथा अभिमुखीकरण गर्नुपर्छ । पर्यटन क्षेत्रमा र पर्यटन क्षेत्रका लागि अग्रपंक्तिमा काम गर्ने जनशक्ति, उद्यमी, व्यवसायी, कामदारहरूलाई संक्रमण रोक्न गर्नुपर्ने व्यवहार र उपायका बारे नियमित तालिम प्रदान गर्ने । नयाँ नवप्रवर्तन हरेक संकटले एउटा नयाँ अवसर ल्याएको हुन्छ । त्यो अवसरलाई चिन्ने र त्यसबाट फाइदा लिन सक्ने हाम्रो क्षमता नहुँदा आएका अवसरहरू गुमाइन्छ । युवाहरूलाई दिगो पर्यटनका लागि उत्पे्ररित गर्न यस संकटपछि नवीनतासहित वातावरणमैत्री, दिगो पर्यटन, डिजिटल इन्नोभेसन, संकटको समाधानजस्ता विषयवस्तुमा केन्द्रित उद्यमशीलता जन्माउन स्टार्टअप-सिडक्याम्पको सुरुवात गर्ने । बुझाइ र विश्वास, त्यसैगरी मुख्य स्रोत बजारका नेपालमा नियमित रूपमा पर्यटक पठाउने प्रतिष्ठित कम्पनीका विज्ञ प्रतिनिधिहरूमार्फत स्रोत बजारमा नेपाल आउन इच्छुक पर्यटकहरूको नेपालबारे रहेको बुझाइ, हामीले गर्नुपर्ने तयारीका बारेमा नेपालका सेवाप्रदायक व्यवसायीहरूलाई नियमित रूपमा वेबिनारमार्फत अभिमुखिकरण पनि यही बेला गर्ने । 

नयाँ गन्तव्यको विकास, ब्रान्ड भिजिबिलिटी र पूर्वाधारमा पनि आवश्यक देखिन्छ ?
गन्तव्य तथा गतिविधिहरूको स्तरोन्नतिमा पनि जोड दिनुपर्छ । आगामी दुई–तीन वर्षसम्म हामीकहाँ २० लाखभन्दा बढी पर्यटक आउन सक्ने अवस्था देखिँदैन । त्यसैले नयाँ गन्तव्यको खोजी वा विकासमा हामीसँग रहेको सीमित साधन र स्रोत लगानी गर्नुभन्दा विद्यमान मुख्य पर्यटकीय गन्तव्यहरू जस्तै काठमाडौं उपत्यकाका विश्वसम्पदा सूचीमा परेका स्थलहरू, पोखरा, चितवन, लुम्बिनी, जनकपुरजस्ता क्षेत्र, राष्ट्रिय निकुन्ज वरिपरिका क्षेत्रहरू, मुख्य पदयात्रा मार्गहरू र -याफ्टिङ रिभरहरूको सौन्दर्यीकरण, सफाइ, मर्मत, तथा साइनेज स्थापना गरी स्तरोन्नतिका काम गर्ने, जसमा हाल बेरोजगार रहेका पर्यटन क्षेत्रमा संलग्न कामदारहरूलाई लगाउने । त्यसैगरी बर्दिया, इलाम, धरान, पाल्पाजस्ता उदीयमान पर्यटकीय गन्तव्यहरूको विकासका लागि काम गर्ने । ब्रान्ड भिजिबिलिटी पहिचान एउटा यस्तो चिज हो जुन संकटकाल होस वा समृद्धकाल, जहिले पनि भिजिबल भइराख्नुपर्छ । उद्यम, व्यापार, व्यवसायमा त पहिचान र छवि सबैभन्दा महत्वपूर्ण चिज हुन् । त्यसैले यो संकटका बेला पनि नेपाल मन पराउने र सहयोग गर्नेहरूसँग नेटवर्किङ गर्ने, देशभित्र विकसित भएका सकारात्मक विकासहरूको प्रचार गर्ने काम पनि यही बेला गर्नुपर्ने हुन्छ । लकडाउनका बेला पनि विमानस्थलका काम भइरहेका छन्, स्थानीय तहमा पदयात्रा मार्गको स्तरोन्नति भइरहेको छ । कतिपय सम्पदाको सौन्दर्यीकरण भइरहेको छ । कतिपय विदेशीहरू नेपाल सुरक्षित ठानेर यहीं बसिरहेका छन्; जुन कथाहरू बाहिर प्रचारित गर्ने बेला पनि यही हो । सांस्कृतिक विशिष्टता, प्राकृतिक सुन्दरता र हिलिङ डेस्टिनेसनको छवि अझ बढी प्रचारित गर्नुपर्छ । आन्तरिक पर्यटक, विशेष रुचिका (निश) पर्यटक, आध्यात्मिक पर्यटक र बिजनेस पर्यटक हरेक संकटपछि पुनरुत्थान हुने महत्वपूर्ण चारवटा सेगमेन्ट हुन् । त्यसैगरी आन्तरिक, रिजनल, सर्टहल र लङहलका स्रोत बजारमा विशेष र लक्षित पर्यटन प्रवद्र्धनका कार्यको प्राथमिकताका आधारमा सुरुवात तथा तयारी गरौं, प्रभावकारी ब्रान्ड भिजिबिलिटीका साथ गर्नुपर्छ । 

पुनरुत्थानका लागि विशेष संयन्त्र र विशेष कार्यक्रमबाट कसरी सम्बोधन गर्न सकिन्छ ?
संकटबाट यथाशीघ्र उम्कने मूल मन्त्र भनेकै एकता, समन्वय र सहकार्य नै हो । जति धेरैलाई एउटा मिसनमा सक्रिय बनाउन सकियो त्यति नै छिटो पर्यटनमा पुनरुत्थान गर्न सकिन्छ । अहिले भ्रमण वर्ष २०२० अभियान र सचिवालय स्थगन गरिसकिएको अवस्था छ । यस्तो बेलामा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई एउटा पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने समय आएको छ । यसले पर्यटन रिभाइभलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालयअन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म रिभाइभलका लागि विशेष कार्यक्रमहरू बनाई कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्नेछ । पर्यटनको सर्भाइभलसँग रिभाइभल र रिभाइभलसँग थ्राइभल जोडिएको हुँदा यी तीनै पक्षलाई एकीकृत ढंगबाट अघि बढाउन सकियो भने नेपालको पर्यटन छिटै पुनरुत्थान गर्न सकिने र भविष्यका लागि बलियो आधार पनि तय गर्न सकिनेछ ।