मनिषा चम्लागाईँ
शुक्रवार, जेठ ९, २०७७
559

प्रदेश–१ सरकारले कृषि, जलस्रोत र पर्यटनलाई समृद्ध प्रदेश निर्माणका आधार मान्दै आएको छ । कृषि, जलस्रोत र पर्यटन क्षेत्रमा उपलब्ध स्रोत र साधनको समुचित उपयोग गर्नु प्रदेशको मुख्य प्राथमिकता रहेको छ । चीनको वुहान प्रान्तमा डिसेम्बर अन्तिमबाट देखिएको कोरोना भाइरस संक्रमणबाट नेपाल पनि अछुतो रहेन, जसका कारण सरकारका योजना केही पछि धकेलिएका छन् भने पर्यटन क्षेत्र डमाडोल बनेको छ ।
भ्रमण वर्ष २०२० मा प्रदेश–१ मा ५ लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकार साथै पर्यटन व्यवसायीको थियो । पर्यटकीय हिसाबले प्रदेश–१ नेपालकै होचो केचनादेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको प्रदेश हो । यहाँ पर्यटक रमाउने, खुसी हुने स्थान प्रशस्त छन् । हिमाली इलाकामा सगरमाथादेखि कञ्चनजंघासम्मका हिमशृंखला छन् । कोरोनाले आर्थिक क्षेत्रमा ल्याएको मन्दीले विश्वका धेरै देश समस्यामा छन् । आर्थिक अवस्था साविकझैँ हुन केही वर्ष पर्खनुपर्ने हुन्छ, जसले गर्दा तत्काल नेपालमा बाह्य मलुकका पर्यटक आउने अवस्था छैन । केही महिनामा कोरोना महामारीको अन्त्य हुन सके प्रदेश–१ मा भने भारतीय पर्यटक आगमनलाई बढाउन सकिने पर्यटन व्यवसायी बताउँछन् । यसै विषयमा कोरोना कहरले पर्यटन क्षेत्रमा निम्त्याएका चुनौती र अवसरमा केन्द्रित रहेर सम्बन्धित सरोकारवालासँग कारोबारकर्मी मनीषा चम्लागाईंले गरेको कुराकानीको सार :


डेढ अर्ब बजेट छुट्याइने
इन्द्र आङ्बो, आर्थिक मामिला तथा योजनामन्त्री, प्रदेश–१
कोरोना कहरका कारण सबैभन्दा धेरै क्षति पर्यटन क्षेत्रमा छ । पर्यटन व्यवसायी र मजदुर गरेर लाखौँको रोजगारी गुमेको छ । प्रदेश सरकारले उनीहरूको पुनरुत्थान गर्ने र अन्य क्षेत्रमा रोजगारी सुनिश्चितता गर्ने कार्यक्रम ल्याउनेछ । आगामी आर्थिक वर्ष पर्यटन क्षेत्रमा डेढ अर्ब बढी बजेट विनियोजन गर्ने तयारीमा छौँ । अबको बजेट भ्रमण वर्ष लक्षित हुनेछ । अहिले नीति तथा कार्यक्रमका विषयमा छलफल भइरहेको छ । होटल व्यवसायी, हवाई उडान, ट्राभल एजेन्सी, यातायात व्यवसायीलगायत क्षेत्र बढी मारमा छन् । उनीहरूलाई आवश्यकताअनुसार राहत कोष उपलब्ध गराउनेछौँ । कोरोना कहरको अन्त्यसँगै आन्तरिक हवाई उडान सुरु गर्ने र पर्यटन पूर्वाधार विकासमा लागि पर्नेछौँ । प्रत्येक जिल्लामा एउटा आकर्षक पर्यटकीय गन्तव्य र पूर्वाधार निर्माण गर्ने विषयमा गुरुयोजना बनिसकेको छ । उक्त काम पनि पहिलो प्राथमिकतामा पर्नेछ । मनोरञ्जन गर्ने उद्देश्यले वार्षिक लाखौँ पर्यटक विभिन्न देश पुग्ने गर्छन्, यसलाई निरुत्साहित गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा ध्यान पु-याइनेछ ।

कोरोना कहरपछि बंगाल र विहारका पर्यटन व्यवसायीसँग छलफल
उद्योग पर्यटन, वन तथा वातवरणमन्त्री, प्रदेश–१
जगदीशप्रसाद कुसियैत
संघीय सरकारले दिएको दायित्वस्वरूप प्रदेश–१ सरकारले धुमधामका साथ भ्रमण वर्ष २०२० लाई स्वागत गरेको थियो । होचो स्थान केचना र विश्वको सर्वोच्च शिखर सगरमाथा प्रदेश–१ मा नै पर्ने भएकाले उक्त पर्यटकीय गन्तव्यलाई समेटेर कार्यक्रम तय गरेका थियौँ । पदयात्रा, मोटरसाइकल -याली सम्पन्न भएको थियो भने धार्मिक पर्यटकीयस्थल पाथिभरा जाने पर्यटकका लागि हवाई सेवा सुरु गरिएको थियो । हलेसी महादेवमा पनि हवाई सेवा सुरु गर्ने तयारीमा थियौँ । कोरोना संकटपछि यसलाई हामी पुनः सुचारु गर्छौं । हामीले एक दशकलाई पर्यटन वर्ष मानेर मनाउने निर्णण गरेका छौँ । यो निरन्तर रहन्छ । कोरोना संकटले शक्तिशाली भनिएका देशहरू पनि धराशायी बन्दै गएका छन् । कोरोना संकटपछिका हाम्रा पर्यटक भनेको भारतको बंगाल र बिहारका नागरिक नै हुन् । यसका लागि हामी बिहार बंगालका पर्यटन व्यवसायीसँग छलफल गर्नेछौँ । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि संघीय सरकारले बजेट विनियोजन गर्दै आएको छ भने प्रदेश सरकारले चालू आर्थिक वर्षमा पर्यटनमा ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । अहिले करोडौँ लगानीका साथ खोलिएका होटल बन्द छन् । उनीहरूलाई आवश्यक राहत प्याकेज उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ । यो समयको सदुपयोग गर्दै होटल, रेस्टुराँ र पार्कको प्रवद्र्धसमेत गरिनुपर्छ ।

अध्ययन–अनुसन्धान र दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्छ
एलिना मगर, पर्यटन प्रवद्र्धन समिति सदस्य, प्रदेश–१
अहिले विश्व कोरोना महामारीमा छ । नेपाल सरकारका योजना पनि स्वास्थ्य केन्द्रित छन् र हुनुपर्छ । सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ २०२० लाई भ्रमण वर्ष घोषण गरेको केही महिनामा नै हामीले कोरोना संकट झेल्नुप-यो । हामी पूर्वका पर्यटकीय क्षेत्रको प्रचार विभिन्न देशका पर्यटन व्यवसायीसँग गरिरहेका थियौँ, अहिले भने हामी भारतीय र भुटानका पर्यटन व्यवसायीसँग मात्र सम्पर्कमा छौँ । कोरोना महामारीपछि भने केही समय भारतीय र भुटानी पर्यटक मात्र नेपाल आउन सक्ने अवस्था रहन्छ । त्यसैले उनीहरूको सम्पर्कबाट हामी टाढा रहनै मिल्दैन । अहिले हामी पर्यटन व्यवसायी खाली छौँ । यो समयको सदुपयोग गर्दै सूचना, प्रवृत्तिको प्रयोग गरेर आफूलाई अब्बल बनाउनुपर्छ । सरकारले आन्तरिक पर्यटक बढाउन छलफल गरिरहेको छ । यसका लागि बुकिङ प्रक्रिया ‘ट्राभल थ्रो’ बाट गर्नुपर्छ । भ्रमण वर्ष २०२० ले लगानीका लागि लगानीकर्तालाई आकर्षित गर्नु थियो, तर अहिले लगानीको काम रोकिएको हुँदा लगानीका लागि वातवरण बनाइदिनुपर्छ । पर्यटन व्यवसायी यो क्षेत्रबाटै पलायन हुने अवस्थामा छन् । उनीहरूलाई राहत प्याकेज दिनुप-यो । जस्तै ः नयाँ व्यवसाय दर्तामा छुट, व्यवसाय गरिरहेकालाई नवीकरणमा छुट तथा बैंकिङ प्रक्रियामा सरलता हुनुपर्छ । अब पर्यटन क्षेत्रमा १० वर्षे योजना बनाएर पर्यटनको अध्ययन अनुसन्धान र दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्छ । भ्रमण वर्षको बजेट बाँकी रहेको छ भने यसलाई पूर्वाधार विकासमा लगानी गर्नुपर्छ । विभिन्न देशमा रहेर पर्यटनको क्षेत्रमा काम गर्दै आएका नेपाली नेपाल फर्कने अवस्था छ । उनीहरूलाई यसै क्षेत्रमा दीर्घकालीन समयसम्म टिकाउने कार्यक्रम ल्याइनु आवश्यक छ ।

ग्रामीण पर्यटन धराशायी बन्दा रोजगारी गुम्यो
देवी पौडेल, होटल एसोसिएसन संघ, इलाम, अध्यक्ष
नेपाल सरकारले लकडाउन घोषण गर्नुपूर्व नै होटलहरू बन्द भइसकेका थिए । इलाममा भ्रमण वर्षलाई लक्षित गर्दै नयाँ होटल बन्दै थिए भने भएका होटलहरूको स्तरोन्नति गरिएको थियो । इलाममा साना, मझौला र ठूला गरेर ४ सय ५० होटल छन् भने दर्ता भएका १२ वटा सामुदायिक होमस्टे रहेका छन्, जहाँ १ सय ५० परिवार आबद्ध छन् । कोरोना कहरले ६ हजार पर्यटन व्यवसायीको रोजगारी गुमेको छ भने बैंकको ऋण कसरी तिर्ने भन्ने पीरमा छन् व्यवसायी । अब यो संकटबाट मुक्त हुन १ वर्ष बढी लाग्ने देखिन्छ । इलाम ग्रामीण पर्यटनमा अग्रसर क्षेत्र हो । यहाँका अधिकांश पर्यटकीय स्थल ग्रामीण भेगमा छन् । अब ग्रामीण भेगमा सञ्चालित होमस्टे र सहरी भेगमा सञ्चालित होटलबीच सहकार्य हुन आवश्यक छ । गत वर्षमात्र इलाम भ्रमणका लागि १ लाख ६३ हजार पर्यटक इलाम आएका थिए । प्रदेश सरकारले प्रदेश–१ मा ५ लाख पर्यटन भित्र्याउने लक्ष्य राखेकोमा इलाममा मात्र २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्यका साथ हामी अघि बढेका थियौँ । अब नेपालको पर्यटन व्यवसायलाई बचाउनका लागि आन्तरिक पर्यटकको संख्यामा वृद्धि गर्नु नै हो । मुलुकमा सञ्चालित विभिन्न देशका टुरिजम प्याकेज बन्द गर्नुपर्छ र सबै नागरिकलाई सबैभन्दा पहिला आफ्नै देशको भ्रमणका लागि आह्वान गर्नुपर्छ । हामी नेपाली विदेश गएर लाखौँ खर्च गर्न तयार हुन्छौँ, तर आफ्नो देशमा खर्च गर्न हिचकिचाउँछौँ, अब आफ्नो देशको पैसा आफ्नै देशमा खर्च गर्ने समय आएको छ । यो कुरालाई सबैले मनन गर्नुपर्छ । साथै सरकारले पर्यटन व्यवसायीलाई सहयोग गर्नुपर्छ ।

कोरोना संक्रमणले अवसर दिएको छ
वासुदेव बराल
पर्यटन व्यवसायी
अहिले सबै पर्यटनकर्मी पर्ख र हेरको अवस्थामा छन् । कोरोना कहरमा सबैभन्दा धर्मर क्षेत्र पर्यटन नै हो । पर्यटनमा पनि होटल व्यवसायी बढी मारमा छन् । अहिले मानव जीवन कसरी बचाउने भन्ने सन्दर्भ एकातिर छ भने पर्यटन क्षेत्रलाई कसरी टिकाउने भन्ने चिन्ता अर्कातर्फ छ । हामी भ्रमण वर्षलाई सफल बनाउन उत्साहका साथ लागिरहेका थियौँ । प्रदेश–१ मा मात्र ५ लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य थियो । पूर्वका पर्यटकीय स्थल पाथिभरा धाम, कञ्चनजंघा संरक्षण क्षेत्र, कन्याम, अन्तु, केचना, अर्जुनधाराधाम, सगरमाथा राष्ट्रिय निकुञ्ज, कोसीटप्पु वन्यजन्तु आरक्ष, हलेसी महादेव, बराहक्षेत्र, पिण्डेश्वरी, भेडेटारजस्ता पर्यटकीय क्षेत्रको प्रचारमा तल्लीन थियौँ, यसै बीचमा कोरोना संकट सुरु भयो । कोरोना कहरलाई हामीले अवसरका रूपमा लिनुपर्छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य त राखेका थियौँ, तर हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ३० लाख यात्रु ओसारप्रसार गर्ने रहेको छ । त्यसमा वार्षिक १३ लाख नेपालीले देश छाडेको देखिन्छ भने १२ लाख विदेशी नेपाल भित्र्याएको तथ्यांक छ । बाँकी ५ लाखमात्र विदेशी नेपाल भ्रमणका लागि आउने गरेको पाइन्छ । त्यसैले यो समय अवसरका रूपमा लिँदै निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गर्नतर्फ लाग्नुपर्छ । भारतबाट मात्र वार्षिक ३० लाख पर्यटक भ्रमणका लागि थाइल्यान्ड पुग्छन्, ती पर्यटकलाई नेपाल ल्याउन सक्ने नीति तथा कार्यक्रम निर्माण हुनुपर्छ ।