यादव हुमागाई
सोमवार, चैत्र २४, २०७६
638

यतिबेला विश्व कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध जुधिरहेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथाम गर्न सरकारले अघि सारेका कार्यक्रमहरूमा सहकारी क्षेत्रले पनि हातेमालो गरिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पु-याउन भन्दै नेपालमा सहकारी क्षेत्रले कोरोना नियन्त्रण सहकारी केन्द्रसमेत स्थापना गरेको छ । निजी अस्पताहरूले कोरोना संक्रमणको संकास्पद बिरामीको समेत उपचार नगरेको भन्दै आलोचना भइरहेका बेला सुरु गरिएको केन्द्रले सरकारी अस्पतालको भारलाई केही हदसम्म भए पनि भरथेग गर्ने बताउँछिन् केन्द्रकी संयोजक तथा महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल । सहकारी संघ–संस्थासँगको हातेमालोमा सुरु गरिएको केन्द्र नेपालबाट कोरोना संक्रमण अन्त्य नभएसम्म जारी रहने उनले जानकारी दिइन् । कोरोना संक्रमण त्रास र लकडाउनको अवस्थामा समेत सहकारी क्षेत्रले प्रभावकारी भूमिका खेलिरहेको उनको भनाइ छ ।
नेपालमा ३५ हजार संस्था, ६५ लाख सर्वसाधारणको आबद्धता रहेको सहकारी अभियानले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रभावकारी भूमिका निर्वाह गर्नसक्ने मल्लको भनाइ छ । कृषि सहकारीमार्फत कृषि उपज उपलब्ध गराउने, उपभोक्ता सहकारीमार्फत दैनिक उपभोग्य सामानको बिक्री वितरणसमेत भइरहेको उनले जानकारी दिइन् । कोरोना संक्रमणका कारण आर्थिक गतिविधि नै सुस्त भएकाले अन्य क्षेत्रमा जस्तै सहकारीमा पनि समस्या परे पनि संस्था नै बन्द हुने अवस्था नआउने उनको आंकलन छ । अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड डाइरेक्टरसमेत रहेकी उनीसँग सहकारीले खेलिरहेको भूमिका र आगामी दिनमा पर्ने प्रभावका विषयमा कारोबारकर्मी यादव हुमागाईंले गरेको कुराकानी :

कोरोना भाइरसको संक्रमण रोकथामका लागि छुट्टै सहकारी केन्द्र बनाउनुपर्ने कारण के हो ?
नेपालमा हामी हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउँछौं । सहकारी दिवसमा सप्ताहव्यापी रूपमा विभिन्न अन्तरक्रिया, गोष्ठीका साथै प्रभातफेरी, रक्तदानलगायतका सामाजिक कार्यक्रम गथ्र्यौं । यसपटक पनि ६३औं सहकारी दिवस मनाउन सहकारी विभागका रजिस्ट्रारको संयोजकत्वमा समिति बनाएर तयारी अघि बढाएका थियौं । यही बीचमा कोरोना भाइरसको संक्रमण फैलिएकाले यसको रोकथामका लागि सरकारले देशलाई नै लकडाउन गरेकाले औपचारिक कार्यक्रमहरू स्थगित भए । यो अवस्थामा सहकारी दिवसमा केही रचनात्मक काम गरौं भनेर राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सहकारीले सञ्चालन गरेको मनमोहन मेमोरियल अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गरेका हौं ।
सहकारीका सात सिद्धान्तमध्ये एउटा सिद्धान्त समुदायप्रति चासो हो । त्यसैले समुदायका लागि सहकारीको पनि भूमिका हुन्छ । अहिले विश्व नै कोरोना भाइरसविरुद्ध जुधिरहेका बेला हामी सहकारी क्षेत्रले पनि भूमिका खेल्नुपर्छ भनेर सल्लाह ग-यौं । यसबारेमा भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारणमन्त्री पद्माकुमारी अर्यालयसँग पनि राय सुझाव लियौं । मन्त्रीसँगको छलफलमा पनि सहकारी संघसंस्थाहरूले नेपाल सरकारकै कोषमा रकम सहयोग गर्नेभन्दा पनि आफै केही गर्दा राम्रो हुने निश्कर्ष आएपछि कोरोना नियन्त्रण केन्द्र स्थापना भएको हो ।
सहकारी दिवसकै दिन चैत २० गते केन्द्र उद्घाटन भएको छ । तत्कालका लागि महासंघको १५ लाख रुपैयाँ र नेपाल बचत बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को ५ लाख र कृषि सहकारी केन्द्रीय संघको ५ लाख गरी २५ लाख रुपैयाँ केन्द्रलाई हस्तान्तरण गरेका छौं । उक्त रकमबाट अस्पतालमा थप एउटा भेन्टिलेटर खरिद प्रक्रिया अघि बढेको छ । यस्तै पीपीईलगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद भएको छ । अब अस्पताल र महासंघबीच सम्झौता गरेर अघि बढ्छौं । नेपालमा कोरोना भाइरस नियन्त्रणमा नआएसम्म केन्द्र सञ्चालनमा रहनेछ । त्यो सञ्चालनका लागि आवश्यक पर्ने आर्थिक सहयोग हामी महासंमार्फत जुटाउँछौं । त्यसका लागि सहकारी संघसंस्थालाई सहयोगको आह्वान पनि गर्छौं । अहिले निजी अस्पतालहरूले कोरोना संक्रमणको आशंका भएका व्यक्तिलाई समेत उपचार गर्न नमानेको र सरकारी अस्पतालको क्षमताले नभ्याएको अवस्थामा सहकारी क्षेत्रको भूमिका प्रभावकारी हुन्छ । त्यसले सहकारीको शक्ति हामीले कोरोना संक्रमण नियन्त्रण र रोकथाममा लगाएका छौं ।
नेपालमा सहकारीबाट सञ्चालित अस्पताल धेरै छन् । तर, प्रभावशाली व्यक्तिको दबाबमा केन्द्र सञ्चालन गर्ने अस्पताल छनोट गरिएको आरोप छ नि ?
सहकारी दिवसका दिन केही रचनात्मक काम गरौं भनेर छलफल गर्न सहकारीमन्त्रीले सरोकारवालाको बैठक बोलाउनु भएको थियो । उक्त बैठकमा केन्द्रीय स्वास्थ्य सहकारी संघका अध्यक्षको नाताले राजेन्द्र पाण्डेको पनि सहभागिता थियो । उक्त छलफलमा कोरोना नियन्त्रण केन्द्र बनाउने कुरा उठेपछि पाण्डेले यसमा सहयोग गर्न मनमोहन अस्पताल तयार रहेको जानकारी गराउनुभयो । अस्पतालका भौतिक पूर्वाधार र जनशक्ति प्रयोग गर्न सकिने प्रस्ताव गर्नुभयो ।
यो विषयमा हामीले पछि छलफल ग-यौं । सहकारीबाट सञ्चालित अस्पतालमध्ये मनमोहन पर्याप्त भौतिक पूर्वाधार भएको ठूलो अस्पताल पायौं । अस्पतालमा भेन्टिलेटर नै ६ वटा, सीसीयू १० वटा, आईसीयू १६ वटा, साधारण बेड नै ३०० वटा छन् । भौतिक पूर्वाधार पर्याप्त छ । यसैगरी अस्पतालले समेत केन्द्र सञ्चालन गर्न रुचि देखाएकाले यसबाट काम गर्दा प्रभावकारी हुन देखिएकाले छनोट गरेका हौं । यो अस्पताल छनोटमा कसैको दबाब र आग्रह पूर्वाग्रह छैन ।

राजधानी बाहिर पनि यस्ता उपचार केन्द्रको खाचो छ । कुनै सहकारी अस्पतालले काम गर्न खोजेमा सहयोग गर्नुहुन्छ त ?
राजधानी बाहिरका कुनै सहकारी संस्थाले संचालन गरेको अस्पतालमा कोरोना उपचार केन्द्र संचालन गर्न चाहेमा सहयोग गर्न राष्ट्रिय सहकारी महासंघ तयार छ । महासंघले सहकारी संघसंस्थाहरूलाई सहयोगका लागि पनि आह्वान गर्नसक्छ । कोरोना भाइरस नियन्त्रण र रोकथाममा महासंघ निरन्तर लागिरहने छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहकारी क्षेत्रले खेलेको भूमिकालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
देशभरका सहकारी संघसंस्था र सहकारीकर्मीहरू कोरोनाविरुद्धको लडाइँमा हातेमालो गरिरहनुभएको छ । सहकारी संघसंस्थाले स्थानीय, प्रदेश र केन्द्रीय सरकारको उपचार कोषमा आर्थिक सहयोग गरिरहेका छन् । यसैगरी स्थानीयस्तरमा जनचेतनामूलक कामका साथै लकडाउनमा अप्ठेरोमा परेका सदस्य तथा सर्वसाधारणलाई राहत वितरण गर्न पनि सहकारी संघसंस्थाहरूले भूमिका खेल्दै आएका छन् ।
स्वास्थ्य सहकारी संस्थाहरूले आफूले सञ्चालन गरेको अस्पतालबाट सेवा प्रदान गरिरहेका छन् । निजी अस्पतालहरूले सेवा नदिएको अवस्थामा सहकारी अस्पतालले सेवा दिएका छन् । यसैगरी तरकारी लगायतका कृषि उपजहरू स्थानीयस्तरमा बिक्री गर्न कृषि सहकारीहरूले काम गरिरहेका छन् । उपभोक्ता सहकारीहरूले सञ्चालन गरेको खाद्य स्टोरबाट दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा बिक्री भइरहेको छ ।
वित्तीय कारोबार गर्ने सहकारीहरूले आंशिक समय कार्यालय खोलेर भए पनि सेवा दिइरहेका छन् । फोहोर संकलन गर्ने सहकारीहरूले समेत काम रोकेका छैनन् । सहकारीको काम प्रचारप्रसार नहुँदा ओझेलमा परेको मात्र हो ।

सहकारी क्षेत्रको अभिभावक राष्ट्रिय सहकारी महासंघले कस्तो भूमिका खेलिरहेको छ त ?
राष्ट्रिय सहकारी महासंघको गतिविधि सिधै जनताको दैनिकीसँग जोडिएको छैन । त्यसैले महासंघले लकडाउनलाई पालना गर्दै सहकारी संघसंस्थालाई सहजीकरण गर्ने काम पनि जारी राखेको छ । महासंघमा कार्यरत तल्लो तहका कर्मचारीहरूलाई बिदा दिएका छौं । उच्च तहका कर्मचारी भने घरबाटै काम गरिरहनुभएको अवस्था छ ।
महासंघका सञ्चालकबीच पनि आवश्यक्तानुसार प्रविधिमार्फत कोअर्डिनेसन भइरहेको छ । विषेशगरी सरकारले लकडाउन घोषणा गरे पनि सहकारी संस्था कसरी सञ्चालन गर्ने भन्ने विषयमा अन्योल भयो । यसैगरी सहकारी विभागले जारी गरेको परिपत्रमा पनि केही द्विविधा हुँदा महासंघले सहकारी संघसंस्थालाई सहजीकरण गरेको छ । यसैगरी प्रारम्भिक संस्थाहरूलाई परेको समस्या र उनीहरूले गरेका काम जानकारी गराउन महासंघले अनुरोध पनि गरिरहेको छ । महासंघले सहकारी क्षेत्रको गतिविधिलाई सहजीकरण गरिरहेको छ ।
महासंघमा धेरै केन्द्रीय संघ, जिल्ला संघका अध्यक्षहरू सञ्चालक हुनुहुन्छ । उहाँहरूमार्फत सबै सहकारी क्षेत्रमा सहजीकरण भइरहेको छ । सहकारी संस्थाहरूलाई अहिलेको अवस्थामा गाइड गर्ने र उनीहरूलाई कुनै अप्ठ्यारो परेको अवस्थामा तुरुन्त समन्वय गर्न महासंघ तयार छ ।

दूध बिक्री नभएर बाटोमै पोख्नुपरेको, तरकारी नबिकेर बारीमै कुहिएको समाचार आएका छन् । सहकारी उत्पादन बिक्रीका लागि महासंघले के गर्दैछ त ?
नेपालमा सहकारीहरू दूध उत्पादन तथा प्रशोधनमा संलग्न छन् । दूध प्रशोधन गरी बजारमा बिक्री गर्ने कलकारखाना सहकारी क्षेत्रसँगै न्यून मात्र छ । केही सहकारी संघहरूले मात्र दूध प्रशोधन तथा बिक्री गर्दै आइरहेका छन् । त्यसैले सहकारीहरूले उत्पादन भएका दूध संकलन गरी डीडीसीका साथै निजी डेरी उद्योगलाई बिक्री गर्दै आएका थिए । अहिले ती उद्योगहरूले दुग्धजन्य पदार्थ उत्पादन नहुने भएकाले हामी दूध लिन सक्दैनौं, संकलन नगर्नुहोस् भनेपछि यो अवस्था आएको हो ।
दुग्ध सहकारीबाट यो जानकारी आएपछि महासंघले सहकारीका साथै कृषिमन्त्रीलाई भेटेर समस्या राखेका छौं । लकडाउनमा उद्योगहरू बन्द भएकाले पनि समस्या भएको हो । किसानको समस्यामा गम्भीर बन्न सरकारलाई दबाब दिएका छौं । यो समस्याको समाधान हामी आफैले मात्र गर्न सक्दैनौं । सरकारीस्तरबाट पनि समाधान गर्नुपर्ने भएकाले हामीले लबिङ गरिरहेका छौं ।
दूधबाहेक तरकारीलगायत दैनिक उपभोग्य सामानको बजार व्यवस्थापनका लागि भने सहकारीहरूले काम गरिरहेका छन् । कृषि सहकारीहरूले साना किसानबाट तरकारी संकलन गरी समुदायमा लगेर बिक्री गर्ने काम भइरहेको छ ।
उपभोक्ता सहकारीहरूले आंशिक रूमा भए पनि स्टोर चलाएर सर्वसाधारणलाई दैनिक उपभोग्य सामान सर्वसुलभ मूल्यमा उपलब्ध गराइरहेका छन् ।

कोरोना संक्रमणको त्रास सुरुभएसँगै सहकारीमा तरलताको समस्या बढेको थियो । लकडाउमा सेवा दिने विषयमा त सहकारी संस्था र विभागको विवाद नै भयो नि ?
विश्व अर्थतन्त्रमा नै समस्या आएपछि सहकारी क्षेत्रमा पनि समस्या नपर्ने कुुरा नै भएन । विशेषगरी काठमाडौंका सहकारी संस्थाहरूका तरलताको समस्या देखिएको हो । यहाँ ७७ जिल्लाका सर्वसाधारण भाडामा बस्ने भएकाले उनीहरू आफूसँग नगद नहुँदा असुरक्षित महसुुस गर्ने भएकाले यस्तो बेला तरलताको अभाव भएको हो । नेपालमा ठूला ठूला समस्याहरू पर्दा पनि तरलताको अभाव भएको थियो । राजदरबार हत्याकाण्ड, भूकम्प, नाकाबन्दी, जनआन्दोलनको बेला पनि पैसाको हाहाकार भयो । बरु यसपटक कोरोना त्रसित भएको बेला समस्या कम छ । अन्य बन्द वा कर्फ्युभन्दा लकडाउन फरक हो । यस अवधिमा २४ सै घण्टा मानिसको गतिविधि बन्द भएकाले सर्वसाधारणलाई बिहान बेलुकी छाक टार्ने रकम भए पुग्छ । अन्य कामका लागि पैसा चाहिएको छैन । त्यसैले यो बेला पैसाको कुरा धेरै उठेको छैन । सदस्यहरूले पनि सहयोग नै गरेका छन् ।
विभागले लकडाउनका बेला संस्था सञ्चालन गर्न भनेकाले केही समस्या भएको हो । अहिले केन्द्रीय संघहरूले त सवारी पास पाएका छैनन् प्रारम्भिक संस्थाले पाउने सम्भावना भएन । यो अवस्थामा कसरी संस्था सञ्चालन गर्न सक्नु । बरु अतिआवश्यक परेका सदस्यलाई कुनै न कुनै विधिबाट रकम दिनुपर्छ भनेका छौं । संस्थाहरूले पनि अत्यावश्यक परेका सदस्यहरूलाई सेवा दिन व्यक्ति तोकेर फोन नम्बरसहित सूचना सार्वजनिक गरेका छन् । सदस्यहरूलाई अप्ठ्यारोमा पारेका छैनन् । विभागको सूचनाले द्विविधा सिर्जना गरेकाले महासंघले यसलाई प्रष्ट पारिसकेको छ । अहिले कुनै समस्या छैन ।
कोरोनाका कारण आर्थिक गतिविधि प्रभावित भएको हो । होटल, उद्योग, व्यापारलगायतका सबै व्यवसायमा समस्या भएकाले सहकारीमात्र नभई सिंगो आर्थिक क्षेत्र नै प्रभावित हुन्छ । तर यसको असरले सहकारी संस्था डुब्ने अवस्था नै आउँछ जस्तो मलाई लाग्दैन ।

राष्ट्र बैंकले बैंकहरूलाई ऋणको किस्ता र व्याज तिर्ने समय असारसम्म दिन भनेको छ । यसैगरी व्याज छुट विषय उठिरहेको छ । सहकारीका सदस्यलाई राहत दिने विषयमा तपाईंहरूको योजना के छ ?
बैंकले गरेजस्तै सहकारीबाट ऋण लिएका सदस्यलाई पनि राहत दिनका लागि हामीले सहकारीमन्त्रीसँग छलफल गरेका छौं । यसबारेमा महासंघले संस्थाहरूलाई आह्वान गर्छाैं । कर्जाको व्याज मिनाहा गर्ने विषयमा बैैंकहरूका लागि अर्थ मन्त्रालयले समन्वय गर्छ । निजी बैंकबाट सर्वसाधारणले कुनै सुविधा पाउँदा सहकारीका सदस्यले पाउनुपर्छ भनेर हामीले पहल गरिरहेका छौं । सहकारी मन्त्रीबाट पनि समन्वय गर्ने प्रतिबद्धता आएको छ ।

तपाईं अन्तर्राष्ट्रिय सहकारी महासंघको समेत सञ्चालक हुनुहुन्छ । विश्व नै कोरोनाबाट प्रभावित भएका बेला सहकारीको भूमिका कस्तो पाउनुभएको छ ?
अहिले नै सहकारीको भूमिका कस्तो रह्यो भन्ने विश्लेषण गर्ने समय भइसकेको छैन । यसबारेमा हामीले विश्लेषण पनि गरेका छैनौं । तर, अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) का विभिन्न देशमा रहेका सञ्चालकहरू निरन्तर सम्पर्कमा नै छौं । एक अर्का देशका सूचना आदानप्रदान भइरहेको छ । आईसीएको मार्चमा हुने बोर्ड मिटिङ पनि भिडियो कन्फेरेन्समार्फत हँुदैछ । कोरोनाको महामारी सुरु भएपछि अध्यक्ष एरियल ग्वार्कोले सहकारीका लागि सन्देश पनि जारी गर्नुभएको छ । नेपालमा सहकारी क्षेत्रले कोरोना सेन्टर सञ्चालन गरेको विषयको पनि प्रशंसा भएको छ ।
अहिलेको अवस्था भनेको पहिला आफू सुरक्षित हुने अनि अरुलाई सहयोग गर्ने हो । यो अवस्थामा विश्वभरका सहकारीले आफ्नो क्षमताले भ्याएसम्म आफ्नो क्षेत्रमा भूमिका खेलिरहेका छन् । सहकारी संघसंस्था र सहकारीकर्मीले देश र नागरिकको सर्पोटमा एकजुट हुनुपर्छ ।