कारोबार संवाददाता
शुक्रवार, चैत्र २१, २०७६
743

कोरोना भाइरसविरुद्ध

कोरोना भाइरस (कोभिड–१९) ले संसार आक्रान्त छ । संक्रमित हुने देश, संक्रमित हुने र निधन हुनेको संख्या बढिरहेको छ भने उपचारपछि निको भएकाहरुको संख्या पनि बढेको छ । यस भाइरसका विरुद्ध लड्न संसार एकजुट भएको छ । विभिन्न देशले लकडाउन गर्ने तथा अन्य विशेष सावधानी अपनाउँदै आएका छन् ।
नेपाल पनि चैत ११ गतेदेखि लकडाउनको अवस्थामा छ र अन्य विशेष सावधानीहरु पनि अपनाइएको छ । तीनै तहका सरकारहरु यस भाइरस विरुद्धमा सशक्त भएर एकसाथ युद्धस्तरमा लागिरहेका छन् । खासगरी छिमेकी मुलुक भारत र तेश्रो मुलुकबाट स्वदेश भित्रिएका नेपालीहरु पहिचान गर्ने, क्वारेन्टाइनमा बस्ने-बसाउने र आइसोलेसनमा राख्नको लागि देशव्यापी क्वारेन्टाइन र आइसोलसन शैया बनाउने कार्य भैरहेको छ । काठमाडौंमा मात्रै भैरहेको प्रयोगशाला परीक्षणको कार्य बिहीबारसम्म आइपुग्दा प्रदेश नम्बर ५ बाहेकका प्रदेशमा भैरहेको छ ।
अहिले स्थानीय तहहरु अझै सक्रिय हुनुपर्ने बेला हो । पछिल्लो समय विदेशबाट स्वदेश आएकाहरुको पहिचान गर्ने, सम्भावित संक्रमण रोक्न क्वारेन्टाइन र आइसोलेसनमा राख्ने तथा संक्रमित भेटेमा तिनको उपचारमा भूमिका खेल्न स्थानीय तहले कुनै कसर बाँकी राख्नु हुदैन । यस्तै लकडाउनले जीविकोपार्जनका माध्यम प्रभावित बनेकाले भोकमरी हुन नदिन राहत बितरणमा पनि स्थानीय तहले उत्तिकै जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने छ । यसैले स्थानीय तह स्व:स्फूर्त सक्रिय बनेर कोराना भाइरस बिरुद्ध उर्जाका साथ लड्नुपर्ने छ ।
नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि बनाइने क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७६ तथा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धि न्यूनतम मापदण्ड, २०७६ र कोभिड–१९ को कारण प्रभावित क्षेत्रहरुको लागि राहत सुविधा प्रदान गर्ने कार्ययोजना, २०७६ निर्माण गरी स्थानीय तहलाई कार्यसम्पादन गर्न सहजीकरण गरिरहेको छ । यसैले स्थानीय तहले नेपाल सरकारका मापदण्ड र कार्ययोजना अनुसार कार्य गर्दै स्थानीय तहले आफूलाई सक्रिय राख्दै प्रभावकारी कार्य गर्नुपर्ने छ ।
मापदण्डमा संघ, देश र स्थानीय तहमा निमाण हुने वा तोकिने क्वारेन्टाइनको बारे स्पष्ट गरिएको छ । मापदण्डमा संघ, देश र स्थानीय तहले समिति गठन गरेर क्वारेन्टाइनस्थलको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न सकिने उल्लेख गरेको छ । यस्तै कुनै स्थानीय तहमा स्थान अभाव भएमा नजिकको अन्य स्थानीय तहमा रहेका क्वारेन्टाइनमा सम्भावित जोखिम भएका व्यक्तिलाई राख्न सकिने व्यवस्था मापदण्डले गरेको छ ।
क्वारेन्टाइन सम्भव भएसम्म घनाबस्तीबाट छुटै (टाढा) रहेको, सञ्चार, स्वास्थ्य, सडक, पानी, बिजुलीको पूर्ण व्यवस्था भएको हुनुपर्ने छ । यसैगरी मापदण्डमा क्वारेन्टाइनको लागि सम्भव भएसम्म सय जनाभदा बढीलाई राख्ने क्षमता भएको, तयार भौतिक पूर्वाधारलाई प्राथमिकता दिने, सरकारी, संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचना जस्तै होटेल, तालिम केन्द्र, शैक्षिक संस्था, सरकारी संरचना क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने उल्लेख छ । मापदण्डले यदि पक्की भौतिक संरचना उपलब्ध नभएमा खुला मैदानमा पाल वा अन्य अस्थायी पूर्वाधार तयार गरी क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने र गभवति, महिला, दश वर्षसम्मका बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका मानिसका लागि प्राथमिकता दिई अलग्गै क्वारेन्टाइनको व्यवस्थासमेत गर्नुपर्ने उल्लेख छ । यस सन्दर्भमा रुपन्देही, अर्घाखाँची र ताप्लेजुङका कारोबारकर्मीहरुले स्थानीय तहका प्रमुखसँग गरेको कुराकानीको प्रस्तुति :

सामथ्र्यले भ्याएसम्म लागेका छौं
जितेन्द्रनाथ शुक्ल (बब्लु)
अध्यक्ष, सम्मरीमाई गाउँपालिका (रुपन्देही)
कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई असर गरेको छ । यसको प्रभावबाट नेपाल पनि अछुतो रहेन । अहिलेसम्म ६ वटा पोजिटिभ केस देखिएकाले त्रासको अवस्था छ ।
हाम्रो गाउँपालिकालाई पनि नराम्ररी प्रभावित बनाएको छ कोरोना भाईरसको त्रासले । हामीलाई २ कारणले त्रासमा पारेको छ । पहिलो कुरा हाम्रो गाउँपालिका भारतसँग सिमाना जोडिएको छ । दोश्रो कुरा यो गाँउपालिकाका पनि धेरै युबाहरु रोजगारका लागी तेश्रो मुलुक (अरब मलेसिया लगायत) तथा छिमेक भारतको बिभिन्न स्थानमा गएका छन् ।
२ साता अघि आउनेहरु भन्दा पनि चैत्र महिना भित्र अर्थात लकडाउन सुरु हुनुको २ साता भित्र आउनेहरुलाई बिशेष निगरानीमा राखेका छौ । उनीहरुलाई सेल्फ क्वारेनटाइन (होम)मा राखेका थियौ । सोमबारबाट हामीले यही गाउँपालिकाको वडा नम्बर ७मा रहेको एक मदरसामा क्वारेन्टाईन पोष्ट निर्माण गरेका छौ २० शैयाको । अब बिदेशबाट आएका त्यस्ता संकास्पदहरुलाई त्यहाँ राख्छौ । कोही आएर बस्न सुरु पनि गरिसकेका छन् । क्वारेन्टाईनमा बस्नेको खानपानको सबै व्यबस्था हामीले मिलाएका छौ ।
तर अहिले सम्म कोरोना भाइरसको संक्रमण संग मिल्दोजुल्दो लक्षण कसैमा देखिएको छैन । गाउँबासीमा स्वास्थ्य सम्बन्धि कु्नै समस्या देखीए गाउँपालिकामा रहेका ६ वटा स्वास्थ्य चौकीमा २४ घन्टा नै स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध हुन्छ । ठूलै समस्या देखिएमा नजिकै सदरमुकाम भैरहवामा रहेका ठूला अस्पतालमा पठाउने ब्यबस्था गर्छौ ।
यसका साथै अहिले लकडाउनको समयमा सबै एक किसीमले घरभित्रै हुनुहन्छ । घरमा रहेका सबैलाई केही सहयोग होस् भनी प्रत्येक घरधुरीमा खाद्य बस्तुको एक एक पोका राहत पहिलो चरणमा बितरण गर्दैछौ ।
प्रत्येक पोकामा ५ किलो आँटा, २ किलो चिनी, २५० ग्राम चियापत्ति, नुन २ किलो, १ किलो सर्फ, हात धुने साबुन रहेको छ । आबश्यकता अनुसार हामी गाउँपालिकाका जनतालाई दोश्रो चरणको राहत उपलब्ध गराउँछौ ।
करिब ७१ सय ५० घर धुरी र ४२ हजारको आसपासमा जनता छन् सम्मरीमाई गाउँपालिकामा । गाउँपालिकाले कोरोना भाइरसका बिरुद्धमा लडान १ करोड रुपैयाँ बिनियोजन गरेको छ । विपद कोष पनि स्थापना गरेको छ । त्यसमा स्वयं म गाउँपालिका अध्यक्षको नाताले ५० हजार रुपैयाँ प्रदान गरेको छु । गाउँपालिकाका कुनै पनि नागरिक, व्यबसायी लगायतले स्वेच्छीक रुपमा सहयोग गर्न सक्नुहुन्छ । अहिले हामी कोरोना भाइरसको बिरुद्धमा डटेर लागेका छौ । सरसफाईमा ध्यान दिएका छौ ।
जनतालाई कोराना भाइरसको बिषयमा जानाकारी दिन बिभिन्न माध्यमबाट प्रयोग गरी जनचेतना फैलार्ईएको छ । अर्को मुख्य कुरा हाम्रो दक्षिणको सिमाना खुल्ला छ । मूल नाका तरेनी हो । नाकामा निगरानी भए पनि खुल्ला सिमाना लामो छ । वारी पारीबाट आउजाउ रोकिएन । कतै खुल्ला नाकाको कारणले नभित्रियोस् कोरोना संक्रमण । हामीलाई डर छ ।
हामीसँग सिमित श्रोत साधन छ, त्यसैको प्रयोग गरी कोरोना भाइरसको बिरुद्धमा उभिएका छौ । हामी हाम्रो क्षमता र सामथ्र्यले भ्याए सम्म कोरोना भाइरसको बिरुद्धमा लड्नेछौ । हाम्रो आग्रहलाई मानिदिनोस् सबै घरमै बस्नुहोस् । समाजसँग दुरी कम गर्नु होस् । हामी त्यसै त शिक्षा, स्वास्थ्यले पछि छौ, अझ त्यसमा पनि यो कोरोना भाइरसको संक्रमण हाम्रोमा भेटियो भने त्यसले हामीलाई उठ्न दिदैन । त्यसैले आजको आवश्यकता भनेको हामी सबै मिलेर कोरोना भाइरस बिरुद्ध सामना गर्नु हो ।

प्रस्तुति: मनोरञ्जन शर्मा

लकडाउन कार्यान्वयनको अवस्थामा सुधार
अच्युत गौतम
प्रमुख, पाणिनी नगरपालिका
पाणिनी गाउँपालिका भित्र लकडाउन कार्यान्वयनको अवस्था सुधार भएको छ । पहिला भन्दा सुधार हुदै गएको छ । धेरै मानिसहरुलाई सुचना प्रवाह गरेपछि लकडाउनको पहिलो र दोस्रो दिनमा भन्दा धेरै कार्यान्वयन भएको छ । यहाँका मानिसहरू सचेत भईसकेका छन् । पाणिनीका ८ वटा वडामा नै क्वारेन्टाइन बेड बनाईएको छ । यहाँका ८ वटा विद्यालयमा क्वारेन्टाईन बेड बनाईएको छ । ८० वटा क्वारेन्टाईन बेड मध्ये पाणिनीको अडगुरीमा २ जनालाई क्वारेन्टाईनमा राखिएको छ । यहाँ २ जना महिलाहरुलाई राखिएको छ । कपिलवस्तुबाट अडगुरी आउनुभएको र उहाँलाई शंका लागेपछि सन्धिखर्कबाट बुटबल रिफर गरिएको थियो । बुटबलबाट रिपोर्ट नेगेटिभ आएपछि एक हप्ताका लागी क्वारेन्टाईनमा राखेका छौँ ।
उनीहरूका लागि पाणिनी गाउँपालिकाले खाना खाजाको व्यवस्था गरेको छ । स्थानिय होटलसँगको सहकार्यमा उनीहरुलाई खाना र खाजको व्यवस्था गरेका छौँ । वडा र पालिकाको समन्वयमा काम भईरहेको छ।
लकडाउनको समयमा पणेना, धातिवाङ्ग, मैदान, पोखराथोक तथा अन्य वडामा आएका मानिसहरुलाई आफ्नो घरमा एक्लै कोठामा बस्नेगरी राखेका छौ । काठमाडौं, बुटबलबाट आएकालाई घरमै क्वारेन्टाईनमा राख्ने, शंका लागेका बिरामी भए क्वारेन्टाईनमा राखेका छौ । विपतको अवस्था हो, विद्यालय भवन उपयुक्त देखिएकाले विद्यालयको प्रयोग गरेको हो । सधैभरी कोरोना रहिरहँदैन ।
पाणिनीमा गाउँपालिकाको तर्फबाट कपडाको मास्क वितरण गरेका छैनौ । क्वारेन्टाईन निर्माण भएका ठाउँमा सर्जिकल मास्क वितरण गरेका छौ । सुरक्षाकर्मीलाई पनि सर्जिकल मास्क वितरण गरेका छौ ।
हामी पालिकाको तर्फबाट साबुन वितरण गरेका छैनौ । पालिकाबाट अनुमति नलिई वितरण गर्न पाईदैन । विपतको समयमा घरभित्रै बस्नुस् । जनता बचाउनका लागी गरिएको लकडाउनको नियम पालना गर्नुस् । बाहिरबाट आउनुभएको छ, भने घरमै सुरक्षित रुपमा क्वारेन्टाईनमा बस्नुहुनका लागि गाउँपालिकाको तर्फबाट आग्रह गर्दछु ।


स्थानीय तह सचेत छ
सूर्य अधिकारी
प्रमुख, शितगंगा नगरपालिका
भौगोलिक दृष्टिकोणले नेपालकै सबैभन्दा ठूलो नगरपालिका शितगंगा हो । यहाँ भूगोल धेरै छ, तराईसँग पनि सिमाना जोडिएका कारण सुरक्षाकर्मी परिचालन गरि लकडाउन पूर्ण रूपमा कार्यान्वयन गरेका छौ । महत्ववपूर्ण काम बाहेक यहाँ कोहि पनि बाहिर निस्केका छैनन् । जनप्रतिनिधि मार्फत घरघरमा कोरोना भाईरसबाट बच्नका लागि सचेतनामूलक सन्देशहरू बनाएका छौ । यहाँ विद्यालयको प्रयोग गरेर ७५ वटा क्वारेन्टाइन बेड राखेका छौ । बाहिरबाट आएका ३ जनालाई क्वारेन्टाइनमा राखेका छौ । क्वारेन्टाइनमा बसेकाहरूका लागि व्यवस्था स्थानिय सरकारबाटै भएको छ । विकट क्षेत्र बढि छ, धेरै मानिसहरू ज्यालादारीबाट आश्रीत छन् । यहाँ शितगंगा नगरपालिकाले दैनिक मजदुरी गरि खानेहरुको लागि खाद्यान्न वितरण गर्ने निर्णय गरेका छौ ।
दैनिक काम गरेर साँझ बिहान छाक टार्ने अति विपन्न परिवारलाई मध्य नजर गर्दै दैनिक उपभोग्य वस्तु राहत प्रदान गर्ने वडामा तथ्यांक संकलन गरि नगरपालिकाले राहत दिने तयारी गरेका छौ । वडाहरुमा संकलन भएको विवरणको आधारमा दैनिक उपभोग्य वस्तुहरु प्रदान गर्ने स्थानीय सरकारको तयारी छ । स्वास्थ संस्थाहरू खुल्ला छन, स्वास्थ्यकर्मी जनताको सेवामा छन् । कोरोना भाईरसको महामारी आउनुभन्दा अगावै हामिहरू सचेत छौ ।

प्रस्तुति : घनश्याम पौडेल

नगरपालिकाले गरिबको घरमा चुल्हो बाल्छ
छत्रपति प्याकुरेल
प्रमुख, फुङलिङ नगरपालिका
फुङलिङका बजार पसल बन्द छन् । नगरपालिकाले कोभिड–१९ संक्रमणका बेला राहत कोष स्थापना, सचेतनामूलक कार्यक्रम र नगर क्षेत्रमा किटनाशक विषादी छर्कने कामको सुरुवात गरेको छ । कोरोना भाइरसबाट उत्पन्न परिस्थितिसँग सामना गर्न नगरसरकारले कन्जुस्याँई गरेको छैन ।
बुधबार (चैत १९ गते) ‘कोरोना भाइरस रोकथाम तथा राहत कोष’ नेपाल बैङ्कमा खोलिएको छ । उक्त कोषमा नगरपालिकाका जनप्रतिनिधिले १ महिनाको तलब जम्मा गरेको छ । नगरपालिकाले समानीकरण अनुदानअन्तर्गत पुँजीगत रकम २० लाख रुपैयाँ कोषमा जम्मा गरेको छ ।
जनप्रतिनिधिको ८ लाख २७ हजार पाँच सय र पुँजीगत रकम २० लाखसहित २८ लाख २७ हजार पाँच सय कोषमा जम्मा गरिएको हो । उक्त कोषमा व्यक्ति वा संघ-संस्थाले पनि जम्मा गर्न मिल्नेगरिको निर्णय हुन बाँकी छ । नगरपालिकाभित्रका ११ वटै वडाअध्यक्षको नेतृत्वमा समिति गठन गरि आर्थिक अवस्था कमजोर परिवारको तथ्याङ संकलन अवधि विहिबारसम्म छ ।
उपलब्ध तथ्याङ्कमाथि पुन: अनुगमन गर्ने र प्रशासनसँग समन्वय गरेर राहत वितरण गर्ने तयारी छ । घरमा धान,कोदो,मकै र चामलजस्ता दैनिक उपभोग्य सामाग्री भएकाको पनि नाम समावेश गरेको छ भन्ने गुनासो पाइएकाले नगरपालिका सचेत छ । जो दैनिक ज्यालाको काम गरेर साँझ विहान हातमुख जोर्ने नागरिक छन्,–त्यो व्यक्ति मात्र राहत पाउन हकदार हुन्छ ।
तथ्यांक संकलनमा खटिएकाले संकलन गरेको विवरण सत्य तथ्य भए-नभएको बारे सहयोग गर्नु नगरबासीको दायित्व पनि हो । ४ जनासम्मको संख्या भएको परिवारलाई १५ केजी चामल,२ केजी दाल,१ लिटर तेल र १ केजी नुन वितरण गर्ने नगरपालिकाको चैत १८ गते बसेको ४८औं कार्यपालिका बैठकले निर्णय गरेको छ । ४ जनाभन्दा बढि सदस्य भएको परिवालाई २५ केजी चामल प्रदान गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले उद्योग वाणिज्य सँघ २० बेड क्षमता भएको क्वारेन्टाइन निर्माणमा आर्थिक सहयोग गरेको छ । नगरपालिकाको स्वास्थ्य विभागअन्तर्गत क्वारेन्टाइनमा राखिएकाको खर्च व्यवस्थापन नगरपालिकाले नै गरेको छ । गत चैत ४ गते फ्रान्सबाट आएकी कोरोना संक्रमित १९ वर्षीया युवती चढेको जहाजमा आएका १ जना युवक र उनका परिवारका २ जनालाई चैत १२ गतेदेखि चैत २० गते विहानसम्म क्वारेन्टाइनमा राखिएको थियो । संक्रमणको लक्षण नदेखिएकाले स्वास्थ्यकर्मीसँगको परामर्शमा विहिबार चैत (२० गते) घर फर्किएका छन् । तथापी मापदण्ड अनुसारको क्वारेन्टाइन छैन । क्वारेन्टाइनका लागि मापदण्ड अनुसारको स्वास्थ्यकर्मी व्यवस्था छ,न त सामाग्री नै । तथापी उपलब्ध स्रोत र साधनलाई व्यवस्थित गरिएको नगरप्रमूख प्याकुरेलको तर्क छ । बैदेशिक रोजगारबाट चैत १ गते यता फर्र्किएकाको तथ्यांक संकलन पत्येक वडालाई दिइएको छ । अहिलेसम्म कति छन र कसरी बसेका छन् भन्ने तथ्यांक नगरपालिकासँग छैन् । नगरक्षेत्रभित्र किटनाशक विषादी बुधबारदेखि छर्कन सुरु गरेको छ । मानिसको सिँगान,खकार र थुकमा रहेका किटाणुलाई नष्ट गर्न सोडियम हाईड्रोक्लोराइड विषादी छर्कन सुरु गरेको हो । विषादीलाई पानीसँग मात्र मिलाएर छर्किएको हो । बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता दिनेगरि गरिएको निर्णय यो बेला व्यवहारिक नहुने भएकाले घर–घरमै गएर वितरण सुरु गरिएको छ । स्थानिय संञ्चारमाध्यम र सामाजिक संञ्जाल प्रयोग गरि सचेतनामुलक सामाग्री प्रकाशन-प्रसारणमा जोड दिइएको छ । सामाजिक तथा धार्मिक संस्कारका काम जुन पछि मिल्ने हुन्छन्, ती सबै स्थगित गर्न अनुरोध गरेको छ । नगरपालिकाभित्र दैनिक उपभोग्य सामाग्री अभाव हुन नदिन मालबहाक सवारी साधन गुड्न समस्या छैन ।
प्रशासन र उद्योग वाणिज्य सँघसँघ समन्वय गरेर प्रत्येक पसलको बाहिर ल्यान्ड लाइन र मोवाइल नम्बर अनिवार्य राख्नुपर्ने प्रबन्ध मिलाएको छ । ताकी लकडाउनको नियम पालना गरेर सामान खरिद गर्न आएका ग्राहक रित्तो फर्कन नपरोस् ।
प्रस्तुति : देवराज गुरुङ