प्रगति ढकाल
बुधवार, चैत्र १९, २०७६
839

विश्व यतिबेला कोरोना भाइरस (कोभिड १९) को संक्रमणले गुज्रिरहेको छ । संक्रमणको बेलामा घरभित्रै बस्ने र प्रसस्त मात्रामा स्वच्छ पानी पिउन चिकत्सकको सुझाव छ । तर प्रश्न यो छ कि के हामीले पिउने पानी गुणस्तरयुक्त छ त ? हालसम्म ८८ प्रतिशत जनसंख्यालाई आधारभूतस्तरको र २० प्रतिशत जनसंख्यालाई उच्च र मध्यमस्तरको खानेपानी सेवामा पहुँच पुगिसेकेको योजना आयोगको १५औं योजनाको आधारपत्रमा उल्लेख छ । विश्व बैंकको तथ्यांकअनुसार सन् २००६ देखि २०१६ को अवधिमा नेपालमा आधारभूत खानेपानी सुविधाको पहुँच पुगेका घरधुरीको अनुपात ७९ प्रतिशतबाट बढेर ८६ प्रतिशत पुग्यो । तथापि करिब २७ प्रतिशत जनसंख्यामा मात्र विश्व स्वास्थ्य संगठन र युनिसेफले परिभाषित गरे जस्तो प्रदूषणरहित, आफ्नै घर आँगनमा उपलब्ध र मागबमोजिम प्राप्त हुने सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानीको सुविधाबाट लाभान्वित छन् । मानवीय क्रियाकलापबाट केही खण्ड अत्यधिक प्रदूषित र क्षयीकरण भएको काठमाडांैं उपत्यकास्थित वागमती नदीलाई यसको एउटा ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ । सन् २०१४ मा मुलुकभर करिब ४५ प्रतिशत पानीका स्रोतहरु (पाइबाट वितरित पानी, इनारको पानी र सतही पानी मानव मलमूत्रमा पाइने जिवाणुबाट प्रदूषित भएको पाइएको थियो । यसको दर ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी छ । पानीको स्रोत प्रदूषित हुनुमा दिसाजन्य लेदोको पर्याप्त व्यवस्थापनको अभाव प्रमुख कारण हो । प्रदूषित पानीका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पर्छ । तर कहिले पाउलान् नागरिकले गुणस्तरीय खानेपानी ? कस्तो छ खानेपानीको गुणस्तर ? अनि यसले मानव स्वास्थ्यमा कस्तो असर गर्छ यसै विषयमा कारोबारकर्मी प्रगति ढकालले विभिन्न सरोकारवाला व्यक्तिसँग गरेको कुराकानी :

अहिलेको अवस्थामा स्वच्छ र गुणस्तरीय पानी
डा. शेरबहादुर पुन
संयोजक, क्लिनिकल रिसर्च युनिट,
शुक्रराज ट्रर्पिकल तथा सरुवा रोग अस्पताल, टेकु
प्रदूषित पानीले गर्दा अहिले त हामीले नेपालको सन्दर्भमा हेर्ने हो भने भाइरल हेपटाइटिस, झाडापखला, टाइफाइट लगायतका रोगहरू देखापर्छ । मुख्यतयाः गर्मी महिना लाग्दै गर्दा यो समस्या पनि आउँछन् । आउँ पनि प्रदूषित पानीको प्रयोगबाट लाग्ने रोग हो । नेपालमा सामान्यतयाः बढी मात्रामा देखिने भनेको यिनीहरू नै ह्न् । अहिले विश्वमा जुन कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिरहेको छ । प्रत्यक्ष रूपमा त हामीले लिंक गर्न सक्दैनौ कि प्रदूषित पानीको कारण पनि कोरोनाको संक्रमण झनै बढ्छ, कोरोनाको बिरामी बढ्न सक्छन् भनेर । तर के हो भने, कोरोना भाइरसको पनि रुघाखोकी, ज्वरोजस्तो लक्षण देखा पर्छ । यस्ता रोगसँग लड्न पनि शुद्ध पानी आवश्यक पर्छ । यसकारण अहिलेको अवस्थामा स्वच्छ र गुणस्तरीय पानी आवश्यक पर्छ । जसका कारण हामीलाई स्वस्थ्य रहन मद्दत गर्छ । तर प्रत्यक्ष रूपमा शुद्ध पानी पिउँदैमा कोरोना रोग निको हुन्छ भन्न सकिन्न । कोरोनाको संक्रमणबाट बच्न, नियमित सफा पानी र साबुनले हात धुने, घरबाहिर ननिस्कने, भीडभाडमा नजाने, कोरोनाको शंका लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ । कोरोना भाइरसको संक्रमण भए पनि यो रोगबाट निको हुने भनेकै उपचार हो । अहिलेको अवस्थामा मन तातोपानी खानु नै उपयुक्त हुन्छ । चिसोले खोकी लाग्छ । राम्रो भनेको मन तातो बनाएर खानुपर्छ । कतिलाई मनतातो पानीको स्वाद मन नपर्न पनि सक्छ, यस्तो अवस्थामा फ्रिजमा राखिएको पानी बढी चिासो हुन्छ । फ्रिजको पानी चाहिँ खाँदै नखाउँ । सामान्यतयाः २÷३ लिटर पानी खाने भन्ने छ । सबैमा पनि त्यो लागू नहुन सक्छ । सबैमा त्यो लागू पनि नहोला । जति धेरै पानी खायो त्यती राम्रो हो । वातावरणीय प्रदूषणले पनि मानव स्वास्थ्यमा धेरै असर गर्छ । यसकारण स्वस्थ्य रहनका लागि सफा पानी र प्रदूषणरहित वातावरणको आवश्यक पर्छ ।

धेरै ठाउँमा पानीका स्रोतहरू प्रदूषित छन्
भुषण तुलाधार
वातावरणविद्
धेरै ठाउँमा पानीका स्रोतहरू प्रदूषित छन् तर मानव बस्तीबाट टाढा भएका पानीका स्रोतहरूमा प्रदूषण कम हुने गर्छ । प्रदूषणको मात्रा ठाउँ र समयअनुसार फरक हुन्छ । जस्तै सहरी क्षेत्रमा मानव मलमूत्र र उद्योगहरूको फोहोर पानीका स्रोतहरूमा मिसिँदा अलि बढी प्रदूषण हुनेगर्छ भने कुनै ठाउँमा प्राकृतिक कारण पनि पानी प्रदूषित हुनसक्छ । जस्तै तराईका केही जिल्लामा भूमिगत पानीमा आर्सेनिकको मात्रा बढी हुने हुनाले त्यस्ता ठाउँमा ट्युबेलको पानीमा आर्सेनिक प्रदूषण बढी हुनसक्छ । साधारणतया पानीमा सुष्मजीवाणुबाट हुने प्रदूषण गर्मी महिनामा वर्षाभन्दा पहिले अलि बढी हुनेगर्छ, किन भने उच्च तापक्रमले सूक्ष्म जीवाणुलाई बढी क्रियाशील बनाउँछ । तर पानी पर्दा खोलामा बहाव बढेर प्रदूषणको मात्रा केही कम हुनसक्छ । नेपालका अधिकांश घरमा खानेपानी पनि प्रदूषित हुने गरेको छ । छ वर्षअघि सन् २०१४ मा नेपाल सरकार र युनिसेफले गरेको एक अध्ययनमा नेपालका ८२ प्रतिशत घरका खानेपानीमा जैविक प्रदूषण भेटिएको थियो ।
पानी प्रदूषण हुनुमा प्राकृतिक र मानवीय कारण दुवै छन् । प्राकृतिक कारण भनेको प्रकृतिमा भएका सुष्म जीवाणु वा रसायनहरू पानीमा मिसिनाले वा पानी प्रदूषित हुन सक्छन् । विशेषगरी प्राकृतिक कारणले रासायनिक प्रदूषण हुने सम्भावना भूमिगत पानीमा बढी हुनसक्छ भने जैविक प्रदूषण सतही पानीमा बढी हुनसक्छ । मानवीय कारण भनेको मानव मलमूत्र, फोहोर मैला र औद्योगिक फोहोर तथा फोहोर पानीका कारणले पानी प्रदूषण हुनसक्छ ।
खोलाको पानी, मूलको पानी, जमिनको पानी र लाइनको पानीमध्ये कुन पानी बढी प्रदूषित हुन्छ ठ्क्याक्कै भन्न सकिँदैन । जस्तै काठमाडौंमा चोभारतिर वा टेकुतिर बागमती नदीको पानी निकै प्रदूषित होला तर सुन्दरीजलतिर त्यही बागमती नदी त्यति प्रदूषित हुँदैन । काठमाडौँबाट बाहिर गएपछि पनि प्रकृतिले नै नदी प्रदूषण घटाउँदै जान्छ र रौतहटको चपुरमा पुग्दासम्म बागमतीको प्रदुूाणको मात्रा निकै कम हुन्छ । त्यसैगरी जमिन मुनिको पानी पनि कुनै ठाउँमा प्राकृतिक वा मानवीय कारणले गर्दा बढी हुन्छ भने कुनै ठाउँमा निकै कम हुन्छ । खानेपानी प्रणालीबाट वितरण गरिएको प्रशोधित पानी भने साधारणतया सफा हुनुपर्ने हो तर कहिलेकाहीं वितरण प्रणालीमै पानी प्रदूषित हुनसक्छ ।
पानीको स्रोत वरपर सफा राख्नुपर्ने, फोहोरमैला पानीका स्रोतमा फाल्न नपाइने र सकेसम्म पुनः प्रयोग गरी व्यवस्थापन गर्नुपर्ने, चर्पीको फोहोर वा सेप्टी ट्यांकिबाट आउने दिसाजन्य लेदोलाई प्रशोधन गरेरमात्र विसर्जन गर्ने वा पुनः प्रयोग गर्ने, घरेलु, औद्योगिक वा अरु कुनै पनि स्रोतको फोहोर पानी सिधै खोलानाला, पोखरीजस्ता पानीका स्रोतमा निष्कासन गर्न नपाइने र प्रशोधन गरेर यसको गुणस्तर सरकारले तोकेको मापदण्डभित्र पुगे पछि मात्र पानीका स्रोतमा निष्कासन गर्न पाइने नीति सरकारले लिनैपर्छ । यसैगरी जथाभावी किटनाशक वा रसायनिक मलको प्रयोग नगर्ने । खानेपानीलाई राम्रो सित प्रशोधन गरेपछि मात्र पिउने, घरमा आउने पानी सफा छैन भने उमालेर वा उपयुक्त फिल्टर प्रयोग गरेर वा क्लोरिनको झोलजस्ता विधि प्रयोग गरी घरमै प्रशोधन गरेर मात्र पिउने, पानीका स्रोतहरूको गुणस्तरको नियमित अनुगमन गरी प्रदूषित हुनबाट बचाउने नीति अवलम्बन गरिनुपर्छ ।
कोरोनाको संक्रमणबाट बच्न प्रदूषित रहित पानी आवश्यक पर्छ, कोरोना संक्रमण प्रदूषित पानीभन्दा पनि संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यँु गर्दा उनको शरीरबाट निस्कने साना थोपाबाट हुनेगर्छ जुन हावामा वा विभिन्न सतहमा हुनसक्छ । यस्ता सतहहरू अरुले छुँदा र ति व्यक्तिहरूले आफ्नो अनुहार छुँदा संक्रमण सर्नसक्छ । त्यसैले बेला बेलामा साबुन पानीले हात धुनुपर्छ वा स्यानिटाइजरले हात र धेरै व्यक्तिले छुनसक्ने सतहहरू डिसइन्फेक्ट गर्नुपर्छ । तर हालै गरेका केही अनुसन्धानले संक्रमितका दिसामा पनि कोरोना भाइरस भएको देखाएको छ । यदि संक्रमितको दिसाबाट पनि भाइरस सर्न सक्ने हो भने संक्रमितको दिसा वा दिसाजन्य लेदोको व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।

२० प्रतिशतले मात्रै गुणस्तरीय पानी खान पाएका छन्
भीम उपाध्याय
पूर्वसचिव खानेपानी मन्त्रालय
मागभन्दा पनि आधारभूत पानी नेपालको जनसंख्याको करिब ८७ प्रतिशतलाई पुगेको अनुमान छ । तर करिव २० प्रतिशतले मात्रै गुणस्तरीय पानी पिउन पाएका छन् । दिगो विकासको लक्ष्य २०३० सम्ममा नेपाल सरकारले पनि प्रतिबद्धता जनाएको छ । त्यो पूरा गर्नका लागि विभिन्न किसिमले स्वच्छ खानेपानी व्यवस्थापन सम्बन्धी कार्यक्रम पनि तय भइरहेको छ । यसका लागि सरकार तथा निजी क्षेत्र दुवैको भूमिका महत्वपूर्ण छ । यदि निजी क्षेत्र र सरकारको साझेदारीमा खानेपानी सम्बन्धी कार्यक्रम लागू गर्न सकिन्छ भने कार्यक्रम अझै प्रभावकारी हुनसक्छ । कतिपय क्षेत्रमा पानीको ट्रिटमेन्ट गर्न सकिन्छ । विदेशतिर पहिला प्रयोग गरिसकेको पानी पुनःप्रयोग गर्नका लागि धेरै ट्रिटमेन्ट गर्नुपर्छ । हाम्रोमा प्राकृतिक रूपमा आएको पानी हो । खासै धेरै त ट्रिटमेन्ट गर्नुपर्दैन । वर्षायामको बेलामा ट्रिटमेन्ट धेरै गर्नुपर्छ अन्य समयको तुलनामा । पहाडी तथा हिमाली भेगमा पानी गुणस्तरीय नै हुन्छन् प्रायःजसो । तराई क्षेत्रमा चाँहि ट्रिटमेन्ट गर्न सकिन्छ ।
हामी रिसाइकल गरेर पानी खाँदैनौ । फ्रेस पानी खान्छौ हामी । जहाँ मानिसले प्रदूषण गर्दैनन् त्यहाँ पानी शुद्ध हुन्छ । पछिल्लो समय पानीको गुणस्तरमा ध्यान दिन थालिएको छ । पहिला पहिला सर्वसाधारणलाई आधारभूत पानी भन्ने पहिला थियो । अहिले गुणस्तरीय पानी भन्ने छ । काठमाडौंमा पानी शुद्ध गर्न क्लोलोरिन हाल्ने हो । मूलको पानी धेरै सफा छ । मूलमा फोहोर गरेन भने सफा हुन्छ । तर खोलाको पानीमा बढी शुद्धीकरण गर्नुपर्छ । मेलम्चीको पानी आएपछि गुणस्तरीय हुन्छ । पानी शुद्धीकरण गर्ने ट्रिटमेन्ट प्लान्ट बन्दै छ । पहिलो अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय पानी हुनेछ । नेपालको पानीमा केमिकल छैन । खाली वायोलोजिकल प्रदूषण हुन्छ । पहिल्लो समय खोला नालाहरू प्रदूषित हुँदै गएका छन् । पानी पूर्णरूपमा सफा छैन भने विभिन्न रोगहरू लाग्न सक्छ । यसकारण समयमा नै सरकारको ध्यान जान जरुरी छ । विभिन्न ठाउँमा पानीको उपचार केन्द्रहरू वा पानी शुद्धीकरण छ । मूलको पानी धेरै शुद्धीकरण गर्नुपर्दैन । पानी हेरिकन यस्ता अझै थप केन्द्र स्थापना गनुपर्छ । एकपटक बनाइन्छ तर मर्मत सम्भार हुँदैन । शुद्ध पानी व्यवस्थापनका लागि नीति तथा कार्यक्रम छैन । यसका लागि नीति तथा कार्यक्रम बनाउनुपर्छ ।

पानीको गुणस्तर सुधार्न ‘पानी सुरक्षा योजना’ ल्याएका छौं
सुनिलकुमार दास
महानिर्देशक, खानेपानी तथा ढल व्यवस्थापन विभाग
हामीले खानेपानी आयोजना सम्पन्न गरिसकेपछि सञ्चालन व्यवस्थापनको जिम्मेवारी खानेपानी उपभोक्ता समितिलाई दिन्छौ । उपभोक्ता समितिहरूले अपरेसन गर्ने हो । उनीहरूले गुणस्तर व्यवस्थापन गर्नका लागि जहाँ पानीको मुहान नै स्वच्छ छ । त्यहाँ चाहिँ वर्षको माध्यममा मात्रै डिस्ट्रिलेसन गर्ने काम गरिरहनुभएको छ । क्लोरिन झोल मिलाएर शुद्धीकरण गरिन्छ । साना सहरमा खानेपानी आयोजना कोरिनझोल बनाएर त्यसलाई पानीमा मिलाएर वितरण गरेको छ । यिनै कुरा प्रमोट गरेका हौं । ठूला आयोजनामा कोरिन झोल मिलाएर वितरण गरिन्छ । पहिल्यै निर्माण भइसकेका आयोजनामा जहाँ ट्रिटमेन्ट प्लाण्टहरू छैन । त्यहाँ चाहिँ यस्ता प्लाण्टहरू जडान गर्दै जानेछौं । जहाँ मूलबाट आएको पानी हुन्छ । बर्खाको समयमा पनि धमिलो हुँदैन । त्यहाँ चाहिँ क्लोरिनेसन युनिट जडान गर्ने, यसले गर्दा पानी सुरक्षित होस् । पानी सुरक्षा योजना ल्याएका छौं दुरदराजका ठाउँहरूका लागि । प्राकृतिक रूपमा नै कतिपय मुहान सुक्छ । मानवीय क्रियाकलापले पनि प्रदूषित हुन्छ । पानी बन्द भयो भने, पनि प्रदूषण छिर्न सक्छ । उपभोक्तालाई ज्ञान दिन सकिन्छ । नयाँ बन्ने खानेपानीका योजनामा ट्रिमेन्ट प्लाण्ट जडान गर्दै जानेछौं । अनुगमनको पाटोलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउने छौं । खानेपानी सुरक्षा योजना लागू भएपछि धेरै हदसम्म खानेपानीको गुणस्तरमा सुधार आउने छ । सर्वसाधारणलाई जनचेतनामूलक कार्यक्रम पनि लागू गरेका छौं । ५ वटा प्रदेशमा ल्याब छ । कतिको गुणस्तर छ भनेर जाँच गर्न ल्याइन्छ । अहिले उच्च तथा मध्यमस्तरको खानेपानी करिब २१ प्रतिशतमा उपलब्ध छ । यसलाई १५औं योजनाको आवधिमा ४० प्रतिशतमा लैजाने योजना बनाएका छौं । त्यसपछि दिगो विकासको लक्ष्य हासिल गर्ने बेलामा हामीले ९० प्रतिशत पु¥याउने भन्ने छ, यहीअनुसार वार्षिक कार्यक्रम र आयोजनाहरू बन्नेछन् ।