कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६
1091

विश्वभर महामारीका रूपमा देखिएको कोरोना भइरसका कारण नेपाल सरकारले नेपालमा पनि देशैभर लकडाउन गरेको छ । सरकारले पहिलो चरणमा ७ दिन लकडाउन गर्ने निर्णय गरेको आज ६ दिन भएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानमा २ साता लम्ब्याउने निर्णय गरेको छ । सरकारले लकडाउन गरेपछि सेयरको कारोबारसमेत बन्द भएको हो । सोमबारसम्म बन्द नै भएको अवस्थामा सरकारले पुनः लकडाउनको अवधि बढाए सेयर बजार कारोबार खुल्छ कि खुल्दैन भन्ने जिज्ञासा आमलगानीकर्तामा छ । तर, महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि भीडभाड कम गर्ने तथा जनसम्पर्क नगर्ने भन्ने सरकारको निर्णयलाई आत्मसात् गर्दै धितोपत्र बोर्डले सेयर कारोबार स्थगन गरेको थियो । तर, उच्चस्तरीय वित्तीय समन्वय समितिले सेयर बजार पनि खुला राख्ने भएपछि सेयर कारोबार के हुन्छ भन्नेमा आमलगानीकर्ताको चासो देखिन्छ । तर, अनलाइनमार्फत कारोबार गर्न पनि सम्पूर्ण लगानीकर्ता त्यसको पहुँचभन्दा बाहिर रहेको अवस्था छ । त्यस आधारमा धितोपत्र बजार पनि अत्यावश्यक सेवाभित्र पर्ने देखिन्छ । तर, बोर्डले देशको परिस्थितिअनुसार विशेष अधिकारको प्रयोग गर्दै कारोबार रोक्ने निर्णय गरेको थियो । सरकारले लकडाउन पुनः लम्ब्याएको छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि संकटको अवस्थामा बैंकिङ क्षेत्रपछि बन्द हुनेमा बल्ल पुँजीबजार परेको देखिन्छ । कोरोना भाइरसको संक्रमणले आक्रान्त भएका देशहरूले पनि पुँजीबजारमा सुरक्षाका उपायहरू अपनाएर सञ्चालन गरिरहेको अवस्था छ । आगामी मंगलबारदेखि बजार सञ्चालन गर्न उपयुक्त हुने-नहुने विषयमा कारोबारले गरेको कुराकानी :

सबै पक्षको हित हुने गरी निर्णय गर्नेछौं
निरज गिरि
कार्यकारी निर्देशक
नेपाल धितोपत्र बोर्ड
सरकारले देशभर लकडाउन गरेको अवस्था छ । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि भीडभाड नगर्ने तथा घरभन्दा बाहिर ननिस्कने सरकारको निर्णयस्वरूप सोमबारसम्म सेयर कारोबार बन्द नै छ । गत सोमबारदेखि सेयर कारोबार बन्द भएको अवस्था हो । सरकारले पनि लकडाउनको अवधिलाई २ साता थप गरेको अवस्था छ । यो अवस्थामा धितोपत्र कारोबार खुला गर्ने वा बन्द नै हुने भन्ने विषयमा सम्बन्धित निकायहरूको छलफल पछि मात्र निर्णय हुन्छ । बजार खुल्ने तथा नखुल्ने सन्दर्भमा सम्बन्धित निकायले नै निर्णय गर्न सक्ने तथा न्यूनतम कर्मचारीमार्फत न्यूनतम सेवा प्रदान गर्ने उच्चस्तरीय वित्तीय समन्वय समितिले निर्णय गरेको अवस्था छ ।
नेपाल सरकारको निर्णयअनुसार कस्तो सेवा सुचारु हुन्छ भन्ने विषयमा सम्बन्धित निकायबाट निर्णय गर्न भनेको छ । त्यसका साथै कुन सेवा कहाँबाट पाइन्छ भन्ने कुरा हेरी छलफल गरेर निर्णय गर्नुपर्ने हुन्छ । सेयर बजार भनेको धितोपत्र बोर्ड तथा नेप्से मात्र नभई अन्य धेरै संस्था जोडिएको अवस्था हुन्छ । सरकारले लकडाउनलाई निन्तरता दिएको अवस्थामा कारोबार सञ्चालन गर्ने सन्दर्भमा पनि सोच्नुपर्ने हुन्छ । यस विषयमा लकडाउनले निरन्तरता पाएको अवस्थामा धितोपत्र बोर्ड तथा नेप्सेसँगै अन्य सरोकारवालासँग छलफल गरेर ठोस निर्णय होला । सेयर कारोबारको विषयलाई नै त भन्न नसकिने अवस्था छ ।
त्यसैले नेपाल सरकारको निर्णयअनुसार बोर्डले अध्ययन गरिरहेको छ । त्यसका साथै नेपाल स्टक एक्सचेन्जसँग पनि छलफल भइरहेको छ । सरकारले लकडाउनलाई थप गरेको हुनाले सोहीअनुसार छलफल गरेर उपयुक्त निर्णय लिनेछांै । धितोपत्र बजार भनेको सबैलाई सहज हुने गरी खुला हुनुपर्छ । बजार खोलेको अवस्था कुनै एक पक्ष वा समूहले मात्र फाइदा लिने गरी खुल्ने वा बन्द हुने हुँदैन भन्नेमा धितोपत्र बोर्ड गम्भीर छ । अहिले सबै लगानीकर्ता बजारको पुहँचमा नपुग्ने भएकाले केही व्यक्तिले मात्र बजारमा चलखेल गर्नसक्ने सम्भावना उच्च भएको हुनाले यस विषयलाई पनि बोर्डले गम्भीर रूपमा लिएको छ । बजारमा सेयर कारोबार गर्दा बजारका सम्बद्ध पक्ष तथा लगानीकर्ताहरू कारोबार गर्नसक्ने अवस्थामा हुनुपर्छ । सेयर कारोबारपछिको राफसाफका लागि भौतिक रूपमा हुने भएकाले पनि सहज भने छैन । अहिले कुल कारोबारमा अनलाइनमार्फत करिब ३५ प्रतिशत मात्र कारोबार भएको देखिन्छ । त्यसले गर्दा पनि अनलाइनमार्फत पनि कारोबार गर्न सहज नै हुन्छ भन्ने अवस्था देखिँदैन । अनलाइनमार्फत हुने कारोबार पनि न्यून भएकाले सीमित समूहलाई मात्र बजार खुलाएको जस्तो देखिने भएकाले सबै पक्षको हित हुने गरी छलफल गरेर निर्णय गर्नेछौं । यो अवस्थाले पनि आगामी दिनमा लगानीकर्ताहरूलाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्नुपर्ने अवस्था छ ।

हाम्रो अनलाइनमार्फत खरिद–बिक्री गर्न मिल्छ
भरत रानाभाट
अध्यक्ष
स्टक ब्रोकर एसोसिएसन नेपाल
अहिलेको अवस्थामा धितोपत्र बजारमा कारोबार तथा राफसाफ सम्भव छैन । यस्तो अवस्थामा पनि बजार खुला राख्ने भनेको खण्डमा नियामक निकायले धितोपत्र ब्रोकर तथा लगानीकर्ताको सहजताका लागि केही काम गर्नुपर्ने हुन्छ ।
धितोपत्र दलाल कम्पनीका केही कर्मचारीलाई कार्यालय जान सक्ने बतावरण बनाइदिनुपर्ने हुन्छ । अनलाइन कारोबार प्रणाली छ भने पनि धितोपत्र दलाल कम्पनी कार्यलयमा नजाँदासम्म कारोबार सम्पन्न हुनसक्ने अवस्था छैन । धितोपत्र दलाल कम्पनीमा कारोबार गराउने, राफसाफ गर्ने, लेखा तथा निक्षेप सदस्यमा काम गर्ने एक जना कर्मचारी जानै पर्ने हुन्छ । धितोपत्र दलाल कम्पनीको मालिक नगएको अवस्थामा पनि ४ जाना कर्मचारी जानुपर्ने हुन्छ । मालिक नै नगएपछि कर्मचारी जान्छन् भन्ने हुँदैन । त्यसैले मालिक पनि जानुपर्ने भएकाले एक धितोपत्र दलाल कम्पनीका लागि ५ जना कार्यलयसम्म जानुपर्ने भएकाले त्यसको व्यवस्था हुनुपर्छ ।
अनलाइनमार्फत सेयर कारोबार गर्दा पनि अहिलेसम्म २५ प्रतिशत एडभान्स लिएर कारोबार गरिरहेको अवस्था थियो । यसमा धितोपत्र दलाल कम्पनीले शतप्रतिशत लिएर मात्र कारोबार गर्न सक्ने व्यवस्था गर्नुपर्ने हुन्छ । किनभने पैसा उठाउन जान सक्ने अवस्था नै छैन । अनलाइबाट कारोबार गर्दा लगानीकर्ताले खातामा पैसा जम्मा गरेर कारोबार गर्न आउन सक्ने अवस्था हुन्छ कि हँुदैन ? बजार खुलाउनु भनेको कारोबार गर्नु हो । त्यो अवस्था हुन्छ कि हुँदैन भन्ने पनि विचार गर्नुपर्छ । त्यसका साथै डीआईएस ट्रान्सफर गर्दा खेरि सबैले मेरो सेयर नलिएको अवस्था छ । मेरो सेयर प्रयोग नगर्नेले सेयर बिक्री गर्न पाउने कि नपाउने ? काठमाडौंभन्दा बाहिर भएका लगानीकर्ताका लागि बैंक शाखाहरू खुलेका छैनन् । बैंकको शाखामार्फत निक्षेप खाता खोलेका लगानीकर्ताले डीआईएस ट्रान्सफर गर्ने कसरी ? डीआईएस ट्रान्सफर नगर्दा क्लोज आउटमा पर्छ । क्लोज आउटमा पर्दा २० प्रतिशत फाइन तिर्नुपर्ने हुन्छ । त्यो कसरी भराउने भन्ने सन्दर्भमा स्पष्ट हुनुपर्छ ।
बजार खुलेको अवस्थामा सबै लगानीकर्ताले अनलाइनमार्फत मात्र कारोबार गर्छन् भन्ने छैन । आज पनि कुल लगानीकर्तामध्ये अनलाइन युजरको संख्या १ प्रतिशतमात्र छ । त्यसका साथै धितोपत्र दलाल कम्पनीलाई फोन गरेर सेयर खरिद वा बिक्री गरेको अवस्थामा पनि चेक दिन तथा लिनका लागि ब्रोकर कम्पनीमै जानुपर्ने अवस्था रह्यो । यो अवस्थामा लकडाउन भएको अवस्थामा लगानीकर्ता कसरी आउँछन् ? सामान्य हिसाबमा पनि ५० दलाल कम्पनीको ५ जनाको दरले पनि २ सय ५० जनालाई पास मिलाउनुप¥यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्तीमा पनि ४ जना आईटीको कर्मचारी आउनपर्ने हुन्छ भनेको अवस्था छ । त्यसमा नेप्सेको आईटीको कर्मचारी भएर मात्र भएन । नेप्सेमा कम्तीमा १० जना मान्छे हुनुपर्छ ।
हामीले बजार खुला गरिसकेपछि कसैलाई सेयर कारोबार गर र कसैलाई नगर भन्न मिल्दैन । सबैलाई समान व्यवहार गर्नुपर्छ । सेयर बिक्री गरेर अहिलेको अवस्थामा आफ्नो कारोबार व्यवस्थापन गर्ने तर बजारको विषयमा धेरै ज्ञन नभएको व्यक्तिलाई सेयर कारोबार गरेर राफसाफ हुनसक्ने व्यवस्था गर्नुपर्ने हुन्छ । हामीले अहिले विभेदकारी रूपमा कारोबार गराउन पनि हँुदैन । हामीले अन्तर्राष्ट्रिय सन्दर्भहरू धेरै लिइरहेका छौं । अहिले भारतमा भएको कारोबार अनलाइनमार्फत हो । अनलाइनमार्फत कारोबार गर्न पर्याप्त पूर्वाधार सम्पन्न छ भारतीय सेयर बजार । तर, हाम्रो अवस्था त्यो छैन ।
धितोपत्र बजार खुलेर कारोबार भएको अवस्था धितोपत्र दलाल कम्पनीलाई त आम्दानी हुन्थ्यो नि । तर, अवस्थाअनुसार सेयर कारोबार गरेर राफसाफ गर्नका लागि व्यावहारिक रूपमा जटिल रहेको अवस्था छ । सम्पूर्ण देशमा लकडाउन गरेको अवस्थामा ब्रोकरका मान्छे र लगानीकर्तालाई कोरोना भाइरस नलाग्ने भन्ने हो र ? त्यस विषयमा पनि ध्यान दिनुप¥यो । हामीले अनलाइन भनिरहेको अवस्थामा सम्बन्धित पक्षलाई केही विषयमा बुझाउन पनि जरुरी देखिएको छ ।
हाम्रो अनलाइनमार्फत आजको दिनमा खरिद–बिक्री गर्न मिल्छ । तर, खरिदकर्ता र बिक्रीकर्ताको खातामा सेयर वा पैसा छ कि छैन भन्ने चेक नै नगरी कारोबार भइदिएको अवस्थामा राफसाफ गर्न समस्या हुन्छ । कारोबार भइसकेछिको राफसाफको काम गर्दा लगानीकर्ता स्वयं नै धितोपत्र दलालको कार्यालयमा उपस्थिति हुनुपर्ने अवस्था छ । यो कुरालाई हामीले बुझाउन नसकेको देखिन्छ । यस विषयमा सम्बन्धित पक्षले बुझ्नु जरुरी छ । धितोपत्र बोर्ड र नेप्सेले बुझेको भए पनि अर्थ मन्त्रालयले यसलाई नबुझेको देखियो । त्यो विषयमा बुझाउनुपर्ने देखिन्छ । फरक बैंक–वित्तीय संस्थामा खाता भएका लगानीकर्तालाई पनि राफसाफ गर्न झनै जटिल छ । लगानीकर्तालाई विभेद नगरी सेयर कारोबार गरेर सेयर र पैसा पाउने वातावरण नहुँदासम्म कारोबार नखुलाउँदा राम्रो हुने देखिन्छ ।

बजार बन्द राख्दा असर गर्ने हुँदैन
उत्तम अर्याल
अध्यक्ष
सेयर लगानीकर्ता संघ
उच्चस्तरीय वित्तीय समन्वय समितिले धितोपत्र बजार पनि खुलाउने भनेको रहेछ । त्यस विषयमा हामीले पनि सम्बन्धित निकायका अधिकारीहरूसँग पनि सोधपुछ गरेका छौं । त्यसमा बजार खुलाउने भन्दा पनि बजारका संयन्त्रलाई खुला राख्ने भन्ने भएको जानकारी पाएका छौं । बजारमा कसरी कारोबार हुने, कति समय कारोबार हुने वा बजार खुलाउने कि बजारको संयन्त्र मात्र खुला राख्ने भन्ने विषयमा बुझाउने काम भनेको नेपाल धितोपत्र बोर्डको हो । त्यसमा हामीले विश्व परिवेशलाई हेरेर बजार खुला राख्नुपर्ने बताउनुभएको अवस्थामा नेपाल र विश्व परिवेशको धरातल फरक रहेको जानकारी हामीले दिएका छौं । अन्तर्राष्ट्रिय पुँजीबजारहरू पूर्ण रूपमा अनलाइन प्रणालीमा सञ्चालित छन् । तर, हाम्रोमा कारोबार अनलाइन भए पनि राफसाफमा अनलाइन प्रणाली छैन । विदेशी धितोपत्र बजारमा फरेन डारेक्ट इन्भेस्टमेन्ट खुला छ । पुँजीबजारमा यो व्यवस्था हुने वित्तीय बन्द गर्न पाइँदैन । हामीकहाँ अनलाइन कारोबार प्रणाली सुरु भएको दुई वर्ष हुन लागिसक्दा पनि अधिकांशले फोनमार्फत वा ब्रोकरको कार्यालयमा गएर कारोबार गर्ने गरेका छन् । त्यसका साथै विदेशी लगानीकर्ता पनि बजारमा नभएको हुनाले बजार बन्द राख्दा असर गर्ने हुँदैन ।
अहिले कुल लगानीकर्ताको १ प्रतिशतले मात्र अनलाइन प्रयोग गर्छन् । बाँकी रहेका ९९ प्रतिशत लगानीकर्ताका लागि बजार खुलेर पनि कारोबार सम्पन्न गर्न सक्ने अवस्था आउने देखिँदैन । अहिले बजार खुलाएको अवस्थामा सेयर मूल्यमा म्यानुपुलेसन हुन्छ भन्ने कुरा हो । सीमित व्यक्तिहरूमा मात्र सहभागी भएको बजारले १६ खर्ब पुँजीको प्रतिनिधित्व गर्छ कि गर्दैन । सम्बन्धित नियकाले बुझ्नुपर्ने कुरा भनेको बजारमा सहभागीमध्ये १ प्रतिशतलाई मात्र कारोबारको वातावरण बनाएर हुन्छ ? यो गर्नु उपयुक्त हो–होइन भन्ने बुझ्नुपर्छ ।
लगानीकर्तालाई बजार खुल्नु भनेको राम्रो कुरा हो । बजार खुल्दै गर्दा बजारमा सहभागी लगानीकर्ता र बजारमा निष्पक्ष रूपमा कारोबार हुन्छ त ? बजार खुलेपछि सेयर मूल्यमा तलमाथि हुन्छ । किनभने बजारमा यस्तो खालको समूह छ, जसले बजारलाई घटाउने र साना लगानीकर्तालाई तर्साउने काम गर्न खोज्छ । संकटको समयमा पनि चलखेल गरेर पैसा कमाउने माध्यम बनाइने भएकाले बन्द हुनुपर्छ भनेको हो । जबसम्म बजारमा ५० प्रतिशत लगानीकर्ता आउने व्यवस्था रहँदैन तबसम्म बजार बन्द नै गर्नुपर्छ ।
राज्यले घरबाट बाहिर ननिस्की भनिरहेको अवस्थामा ब्रोकर कार्यालयसम्म कसरी गएर कारोबार गर्ने ? बैंक–वित्तीय संस्था जस्तो सेयर कारोबार होइन । बैंकमा जम्मा भएको पैसा झिक्न वा राख्न जानुहुन्छ, तर सेयर बजारमा सेयर कारोबार पनि राफसाफ पनि गर्नुपर्ने हुन्छ । त्यसका साथै सेयर रजिस्ट्रार कम्पनीहरू पनि पूर्णरूपमा बन्द रहेको अवस्था छ । कारोबार गरेको खण्डमा पैसा वा सेयर नभएका, क्लोज आउट भएमा, सेयर रजिस्ट्रारमा समस्या आएको खण्डमा जिम्मा कसले लिन्छ ? सेयर कारोबार भनेको एउटा सेयर खरिद–बिक्री गर्दा अन्य ६ निकाय सहभागी भएपछि मात्र कारोबार सम्पन्न हुन्छ । यो अवस्थामा सेयर कारोबार गर्नु भनेको संकटको अवस्थामा आफूले गर्दा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने अवस्था पनि उत्तिकै रहने देखिन्छ । त्यसैले पनि सेयर बजार पनि कुनै पनि हातलमा खोल्नु हुँदैन । बजारमा निष्पक्ष र कारोबार सम्पन्न हुने अवस्था सिर्जना गरिन्छ भने कारोबार खुुलाउँदा हुन्छ । यसमा एउटा व्यवस्था के गर्न सकिन्छ भने बजार खुल्नुभन्दा अघि बन्द भएको मूल्यमा सेयर बिक्री वा खरिद गर्ने व्यवस्था पनि गर्न सकिन्छ नि । कसैलाई अप्ठ्यारो नै परेको रहेछ भने कारोबार बन्द हुँदाको अघिल्लो दिनको मूल्यमा सेयर करोबार गर्ने अवस्था बनाउँदा उपयुक्त हुन्छ । सेयर बिक्री नगरी कारोबार मिलाउन सकेन भने त्यस्तो अवस्थामा तरलता उपलब्ध गराउनका लागि पछिल्लो कारोबार भएको दिनको अन्तिम मूल्यमा कारोबार गर्दा भयो । सेयर लगानीकर्ताको सहभागिता ५० प्रतिशतभन्दा माथि नपुग्ने अवस्थासम्मका लागि सेयर मूल्य घटाउने-बढाउने नगरी कारोबार गर्दा हुन्छ ।