विपेन्द्र कार्की
बिहिवार, चैत्र ६, २०७६
549

अञ्जन श्रेष्ठ
सभापति, उद्योग समिति, नेपाल उद्योग वाणिज्य महासंघ


निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा लगातार चौथो कार्यकालमा कार्यकारिणी समिति सदस्य रहेका व्यवसायी अञ्जन श्रेष्ठले उद्योग समितिको नेतृत्व सम्हालिरहेका छन् । २५ वर्षको उमेरदेखि नै व्यवसायमा होमिएका श्रेष्ठ पछिल्लो दशकमा आक्रामक व्यवसाय गरिरहेको व्यावसायिक घराना लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् । अटोमोबाइलसहित ट्रेडिङ, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रमा संलग्न रहेको लक्ष्मी समूहले सेवा क्षेत्र (पर्यटन) मा पनि प्रवेशको तयारी गरिरहेको छ । युवा उद्यमी श्रेष्ठले नाडा अटोमोबाइल डिलर्स एसोसिएसनको नेतृत्वसमेत सम्हालिसकेका छन् । मुलुकको चेम्बर आन्दोलनमा आशालाग्दा युवा उद्यमीका रूपमा हेरिएका श्रेष्ठ महासंघको आसन्न निर्वाचनमा वस्तुगत उपाध्यक्षको उम्मेदवारी दिने तयारीमा छन् । कोरोना संकटसँगै मुलुकको आर्थिक क्षेत्रको समग्र अवस्था, महासंघ निर्वाचन लगायतका विषयमा श्रेष्ठसँग कारोबारकर्मी विपेन्द्र कार्कीले गरेको कुराकानी:

विश्वव्यापी कोरोना संकट बढिरहँदा नेपालमा कस्तो असर पर्ने देख्नुहुन्छ ? खासगरी नेपालको व्यावसायिक क्षेत्रमा कोरोनाले कस्तो असर पार्दैछ ?
कोरोनाको असर विश्वव्यापी भएसँगै नेपालमा स्वाभाविक रूपमा प्रभाव पारेकै छ । अहिले नेपालमा कोरोना संक्रमण प्रत्यक्ष रूपमा नदेखिए पनि मानसिक असर देखिइसकेको छ । खासगरी सबैमा अन्योल छ कि के हुने हो कसो हुने हो भन्ने । चीनपछि इटालीको समस्या देख्दा मानिसहरू त्रसित छन् । इन्डियामै पनि केही प्रभाव परिसकेकाले नेपालमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । काठमाडौंकै सडक पहिलेभन्दा खाली देखिन थालिसक्यो । अघिल्लो हप्तासम्म होलीमा मानिस तराई गएर खाली भएको होला भनियो तर अहिले त झन् पातलो हुँदै गएको देख्दा कोरोनाको मनोवैज्ञानिक त्रास निकै बढिसकेको देखिन्छ । जब बजारमा असर देखिन्छ भने व्यवसायमा त्यसको प्रत्यक्ष प्रभाव परिहाल्छ ।

कुन व्यवसायमा कस्तो असर परिरहेको छ ?
अहिले असर परिसकेको क्षेत्र भनेको नै टुरिजम हो । होटल, रेस्टुराँ बार, एयरलाइन्स सबैजसो खाली नै छन् । मानिसहरूको मुभमेन्ट घट्दा उपभोग पनि घटाउँछ । फेरि यही बेला उपभोक्ता पनि सञ्चितितिर गए कि भन्ने पनि देखिएको छ । सरकारले पर्याप्त स्टक छ भनेर भनिरहेको छ । तर, पेट्रोलियम खाद्यान्न नुन चिनीलगायतमा चाप छ । हुन म त आफैं साल्ट ट्रेडिङको सञ्चालक समितिमा नै छु र हामीले जहिल्यै न्यूनतम ६ महिनाको नुन स्टकमा राखेका पनि हुन्छौं । अहिले त झन् ९ महिनालाई पुग्ने नुन छ, तर पनि उपभोक्ताले सञ्चितिमै जोड दिइरहेका छन् ।
अहिले मुख्यतया हवाई क्षेत्रमा आवतजावत घट्यो । सार्वजनिक यातायातमा पनि घटिरहेको छ । कोरोना अहिलेसम्म मुलुकमा आएको छैन भनेर पनि ढुक्क हुने अवस्था छैन । सार्वजनिक यातायातमा पनि यसले असर देखिन्छ ।

औद्योगिक क्षेत्रमा परेको असरले पार्ने प्रभावलाई कसरी आकलन गर्नुभएको छ ?
नेपालमा औद्योगिक कच्चा पदार्थको उपलब्धता कम छ । हामीले अरु मुलुकमै निर्भर रहनुपर्ने भएपछि ति मुलुकको अवस्था कस्तो हुन्छ भन्नेमा नै भर पर्छ । यसबाट सप्लाई चेनमा असर पर्छ र उद्योगमा प्रत्यक्ष असर पर्ने देखिन्छ । भारतले ३० वटा औषधि निर्यातमा रोक लगायो र यसको कारण थियो— चाइनाबाट आउने कच्चा पदार्थ रोकिनु । नेपालमा पनि यस्तै अवस्था नआउला भन्न सकिँदैन । किनकि हामी पनि कच्चा पदार्थमा भारतसँगै निर्भर छौं । भारतले बन्द ग¥यो भने हामीमा असर पर्न सक्छ । अर्कातर्फ हाम्रा एउटै उद्योगमा ४–५ सय मजदुर काम गर्छन् । कतै संक्रमण देखियो भने के गर्ने भन्ने पनि चुनौती छ । अहिले अन्योल छ र सँगसँगै चुनौती बढ्ने हो कि भन्ने चिन्ता पनि छ ।

औद्योगिक वा व्यावसायिक क्षेत्रका लागि त राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामा ल्याउने भनिएको पुनर्कर्जा, पुनर्तालिकीकरण लगायतका सुविधाले भरोसा दिएको छैन र ?
हो, राष्ट्र बैंकले कन्फिडेन्स बढायो । केही नभएको बेलामा यो नै ठूलो कुरा पनि हो । हामी व्यवसायीलाई चुनौती सामना गर्न यसले ढाडस दिएको जस्तो लाग्छ । यद्यपि, भोलिका दिनमा हुने त्यसको कार्यान्वयन पक्ष हेर्नुछ । आज बोल्ने भोलि नहुने विगतका अनुभव दोहोरिनु भएन । यसका लागि कार्यान्वयन पक्षलाई बलियो बनाउनु जरुरी छ ।

अहिल्यै सम्बोधन गर्नुपर्ने अवस्थाचाहिँ छैन र ?
तत्कालै सम्बोधन गर्नुपर्ने क्षेत्र भनेको पर्यटन हो । यसमा गम्भीरतापूर्वक लाग्नुपर्छ । हालै मात्र एक मित्रले निकै इमोसनल कुरा गर्नुभयो– भोलि के हुने हो ? भौतिक सम्पत्ति त रहला तर हामी नै रहन्छौं कि रहँदैनौं ? यस्ता कुरा सम्बोधन गर्न राज्य तयार हुनुपर्छ । हामी निजी क्षेत्र पनि पर्यटनको यो संकटका बेला सहयोग गर्न तयार रहनुपर्छ । सरकारले पर्यटन क्षेत्रलाई पुनर्कर्जा तथा ऋणको पुनर्तालिकीकरणलगायतका सुविधा पनि दिनुपर्छ । यससँगै ब्याजदर पनि हेर्नुपर्छ । होटल अहिले शून्य छ भने ब्याज नै तिर्न सक्दैन । बैंकले पनि ब्याज मिनाहा गर्न त सक्दैन किनकि ऊ त मिडियटर हो । त्यसैले सरकारले यसमा सम्बोधन गर्नुप¥यो । ब्याज तिर्ने चैत मसान्तलाई असारसम्म लैजाने कि अथवा अवस्था हेरेर त्योभन्दा पनि बढाउने भन्ने तत्काल निर्णय जरुरी छ । पर्यटन क्षेत्र सुनको अन्डा दिने कुखुरा हो जुन अहिले बिरामी छ त्यसैले बचाउनुप¥यो । संकटका बेला सरकारको साथ जरुरी छ । रेस्टुरेन्ट, बार, होटल, एयरलाइन्स, ट्राभल, ट्रेकिङ सबै क्षेत्रलाई समेटेर प्याकेज ल्याउनु जरुरी छ । तर यस्तो प्याकेजको निर्णय चैतको अन्तिममा गएर घोषणा गर्ने होइन कि बेलैमा हुुनपर्छ । असर परिसकेको क्षेत्रका क्षेत्रमा चैतको ब्याज असारसम्म दिन सकिन्छ । भूकम्पका बेला पनि गरिएकै हो ।

मनोबलको कुरा गर्नुभयो, कोरोना संकट बिर्सने हो भने अहिले व्यवसायीको अवस्था कस्तो छ ?
दुःखका साथ भन्नुपर्छ कि मनोबल खस्केको अवस्था छ । वातावरणको कुरा भनौं, लगानीमैत्री वातावरण भाषण र कार्यक्रममै सीमित छ । हाम्रो कम्प्लायन्स नै बढी छ । धेरै नीति नियमले बाँधिएका छन् । आयकर ऐन, मूल्य अभिवृद्धि कर, हाम्रो आफ्नै सेल्फ एसेसमेन्ट छ यसको ‘फुल अडिट’ पनि छ । राजस्व अनुसन्धान छ । यतिले नपुगेर महालेखासम्म पुग्छ । हामीले कति ठाउँ जवाफदेही हुने ? सम्पत्ति शुद्धीकरणमा आर्थिक त्रुटिलाई पनि राखिएको छ । आर्थिक त्रुटिमा आर्थिक दण्ड हुने विश्वव्यापी मान्यताविपरीत यहाँ हामीलाई थुन्ने व्यवस्था गरिएको छ । हिजोका दिनमा ऐन पुराना थिए, बलियो सरकार चाहियो भन्यौं । यस्तो सरकार हामीले खोजेजस्तै आयो र ऐन नियम बलियो सरकार आए पनि हतोत्साही बनाउने खालका भए । हिजो दण्ड जरिवानामा ‘वा’ भन्ने थियो भने अहिले ‘र’ भएको छ । व्यवसायीलाई अलि टाइट गर्न खोजेको हो कि भन्ने देखिन्छ । सिद्धान्तमा खुला बजार र प्रतिस्पर्धात्मक बजारलाई मानिएको छ तर ऐनमार्फत नियन्त्रण गर्न खोजिएको छ ।
अर्कातर्फ हामीले एक पटकलाई सम्पत्ति स्वघोषणा गर्ने अधिकार देऊ भनेको हो, त्यो सुनिँदैन । शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई टेकेर हामीलाई त्रसित बनाइँदैछ । सम्पत्ति शुद्धीकरणमा नेपालको प्रतिबद्धता सह्रानीय पनि हो । आर्थिक रूपमा भएका गल्तीलाई अरू ऐनले निर्दिष्ट गरिरहेको छ भने त्यता किन लगेको भन्ने हाम्रो प्रश्न हो ।

निजी क्षेत्रका संघ संगठनको भूमिका यस्तै समसया समाधानमा देखिनुपर्ने होइन र ? यसलाई हामीले निजी क्षेत्रको प्रभावकारिता कमजोर भएको भनेर बुझ्न सक्दैनौं ?
निजी क्षेत्र कमजोर भएको भनेर नबुझौं । हामीले आवाज उठाइरहेका छौं । तर, सरकार आफ्नै बाटोमा हिँडेको महसुस गरिरहेका छौं । निजी क्षेत्र निरुत्साहित यस्तै कारणले भइरहेको छ र लगानी घट्दै गइरहेको रिफ्लेक्सन देखिन्छ । निजी क्षेत्रका संघ–संगठन प्रभावकारी नभएका होइनन् । बारम्बार स्ट्रोंग्ली कुरा राखेका पनि छौं । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरणजस्ता निकाय माथिल्ला निकायमा गएपछि झन समस्या भएको हो । यसैले भोलिका दिनका लागि पनि हामी अध्ययन गरिरहेका छौं । अब भोलिका दिनमा कसरी प्रस्तुत हुने भनेर तयारी गरिरहेका छौं ।

निजी क्षेत्रका लागि प्रतिकूल रहेको यस्तै परिस्थितिका बीचमा तपाईं निजी क्षेत्रको माथिल्लो तहमा जाने तयारी गरिरहनुभएको छ । महासंघमा तपाईंको उम्मेदवारी किन ?
म आफ्नो व्यक्तिगत व्यवसायभन्दा पनि समग्रमा निजी क्षेत्रलाई सक्षम र सबल सशक्त बनाउने मेरो प्रयत्न हो । हामीले व्यवसायीको हक हित तथा व्यवसाय प्रवद्र्धनका लागि वातावरण बनाउने प्रयास गर्नेछौं । म एक्लैले होइन र महासंघ एक्लैले मात्र पनि होइन कि समूहगत लबिङ गर्ने हाम्रो प्रयास रहन्छ । आफ्ना समस्या सही रूपमा सरकारलाई बुझाउने र सोहीअनुसार नीति नियमको व्यवस्था गर्ने सामान्य एजेन्डा हो हाम्रो । संगठनलाई यही कारण सशक्तीकरणमा लैजानुपर्छ र यसकै लागि मैले आफूलाई सक्षम र सबल ठानेको पनि छु । यसका लागि मेरो अनुभव, योग्यता र इमानदारितालाई निजी क्षेत्रकै पक्षमा भरपुर उपयोग गर्नेछु ।

निजी क्षेत्रको सशक्तीकरण कसरी सम्भव छ ? यति धेरै धेरै संगठन छन् र नियामक निकायहरू भने निजी क्षेत्रमा फुटाऊ र राज गरको रणनीतिमा देखिन्छन् ?
हामी अब निजी क्षेत्रबीच फाटो ल्याउनेप्रति सजग छौं । अब निजी क्षेत्रबीच सहकार्य नै हुन्छ । विगतमा पनि महासंघले प्राक्टिस गरेकै हो । सबै संगठनसँग मिलेर अघि बढ्छौं । हामीबीच ठूलो भिन्नता नै छैन । शेखर गोल्छा नेतृत्वको महासंघले निजी क्षेत्रका सबै संगठनबीच सहकार्यको पहल तथा प्रयास गर्नेछ र तपाईंले चाँडै नै यसको रिजल्ट पनि देख्नुहुनेछ ।

अर्कातर्फ तपाईंले उम्मेदवारी दिन लाग्नुभएको वस्तुगत संघ संगठनबीच पनि उत्तिकै अन्तरविरोध देखिन्छन् नि ?
नेपालमा राजनीतिक परिवर्तनपछि संघ संगठन खुल्ने फेसनजस्तै बनेको पक्कै हो र त्यसको केही प्रभाव हाम्रो वस्तुगत संगठनहरूमा पनि देखिन्छ । अब सबै साथीहरूले परिस्थितिको मनन गरिरहनुभएकाले स्थिति फरक भइरहेको छ । तपाईंले हेर्नुभयो भने पहिलेको जस्तो अवस्था छैन । गलैंचाका संगठन एक भए, सुनचाँदीमै हिजोको जस्तो विवाद अहिले छैन । यसैले अब हामी एउटै हुनुपर्छ भन्नेमा भावना आइराछ । नम्बरले गनेरमात्र आफ्नो क्षेत्रको उपलब्धि हासिल हुने होइन । त्यसैले संख्यात्मक नभई गुणात्मक संगठन आवश्यक छ र त्यस दिशातर्फ हामी गइरहेका छौं । यसलाई व्यवस्थित गर्न चेम्बर कानुन जरुरी छ र महासंघले लामो समयदेखि यसको माग गरिरहेको पनि छ । सरकारले चेम्बर कानुन ल्याउनुपर्छ । निजी क्षेत्र जति सबल र सक्षम हुन्छ त्यति नै चाँडो आर्थिक समृद्धिको लक्ष्य पूरा हुन्छ । एसडीजीमा निजी क्षेत्रकै लगानी बढी अपेक्षा गरेको छ भने चेम्बर कानुन ल्याउन सरकारले नै सहयोग गर्नुप¥यो । निजी क्षेत्रलाई एक आपसमा भिडाएर हैन स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न सकिए निजी क्षेत्रको योगदान अझै बढ्नेछ ।

महासंघ निर्वाचनमा तपाईंको जितका आधारहरू केके हुन् ?
म महासंघमा अप्रत्यक्ष रूपमा २० वर्ष र प्रत्यक्ष रूपमा १२ वर्ष निरन्तर संलग्न र सहभागी छु । यसबीचमा मैले राजस्व समिति, उद्योग समितिजस्ता महŒवपूर्ण मितिमा रहेर काम गरिसकेको छु भने सरकारका विभिन्न निकायमा निजी क्षेत्रको प्रतिनिधित्व गरेर ऐन निर्माणमा पनि योगदान दिएको छु । उद्योग व्यवसायसँग सम्बन्धित ऐन होस् वा राजस्वसम्बन्धी ऐनमा कुनै न कुनै रूपमा मेरो सहभागिता रहेकाले आफूलाई भाग्यमानी पनि ठान्छु । अर्कातर्फ आफैंमा २५ वर्ष व्यवसायको अनुभव पनि छ । यसमा पनि विविधिकृत व्यवसाय रहेको छ । उत्पादनमूलक, कृषि, ट्रेडिङमा छौं । पर्यटनमा लगानी गर्दैछौं, ऊर्जामा दुई परियोजनामा लगानी गरिसकेका छौं । यसरी विविधीकरण गर्दै अगाडि बढिरहेको तथा संस्थामा पनि रहेको दुवै अनुभवका आधारमा मैले नेतृत्व दाबी गर्नु स्वाभाविक नै हो । अर्कातर्फ मैले जहाँ जस्तो भूमिका पाएँ त्यहाँ आफ्नो नेतृत्व क्षमतासमेत प्रमाणित गरेको छु भन्ने लाग्छ ।

वस्तुगततर्फका बहालवाला उपाध्यक्षसँगै चुनाव लड्नु कत्तिको चुनौतीपूर्ण ठान्नुभएको छ ?
निश्चय पनि चुनौती छ । तर, मलाई के विश्वास छ भने वस्तुगत संघका सबै साथीहरूले आफूले जिम्मेवारी पाएको समयमा कसले के ग¥यो भनेर हेर्नुहुनेछ । वस्तुगतमा सबै नेतृत्व क्षमता भएका र संस्था संगठन हाँकिरहेका साथीहरू हुनाले विवेक प्रयोग गरेर सही निर्णय गर्नेमा म विश्वस्त छु । मैले आफ्नो क्षमता कार्यक्षेत्र र उद्योग वाणिज्य महासंघमा देखाइसकेकाले उहाँहरूले यसलाई मनन गर्नु नै हुनेछ । यसैले म विश्वस्त छु ।

१२ वर्षअघि कार्यकारिणी समितिमा चुनिँदा तपाईंसहित पशुपति मुरारका, शेखर गोल्छा र सौरभ ज्योतिलाई महासंघ हाँक्ने सम्भावना बोकेका युवा भन्ने गरिन्थ्यो, तर यो बीचमा मुरारका निवर्तमान अध्यक्ष भइसक्नुभयो गोल्छाले अध्यक्षको नेतृत्व सम्हाल्दै हुनुहुन्छ भने तपाईं र ज्योतिचाहिँ बल्ल उपाध्यक्षको दौडमा हुुनुहुन्छ । आफू ढिलो भएजस्तो लाग्दैन ?
आजभन्दा १२ वर्षअघि नै हामीलाई नेतृत्वको सम्भावनाका रूपमा हेरिएको रहेछ, जुन आज प्रमाणित भइरहेको छ । त्यसैले हिजोका दिनमा जो–कोहीले यसरी विश्लेषण गरे उनीहरू सही रहेछन् भन्ने प्रमाणित हुँदैछ । नेतृत्वमा सबै एकैपटक आउन सक्दैनन् र त्यसमा हुने ढिलोचाँडोलाई स्वाभाविक रूपमा लिनुपर्ने पनि हुन्छ । धैर्य गर्दा समयले सबैलाई मौका दिन्छ । तपाईंले नाम लिनुभएको हामी चार जनामध्ये कसैले पनि एकआपसमा प्रतिस्पर्धा गरेनौं । त्यसैले म यो भन्न चाहन्छु कि हिजोका दिनमा जसले यस्तोा सोचे त्यो दूरदर्शी सोचाइ हो र आज हामीले यसलाई मूर्त रूप दिँदैछौं ।

तपाईंहरूपछि त महासंघमा युवाका लागि बार लगाएजस्तै भयो, युवा पुस्ताको आकर्षण किन बढेन ?
युवा आकर्षण नबढेको होइन । आज पनि जिल्ला उवासंघमा पनि युवा छन्, वस्तुगतमै पनि कतिपय युवाले नेतृत्व लिइरहेका छन् भने एसोसिएटमा त युवा नै बढी छन् । यो वर्षको आकांक्षी हेर्ने हो भने युवाकै जमात बढी छ । तपाईंले भनेजस्तै एकैपटक युवा धेरै नदेखिए पनि क्रमशः विस्तार भइरहेको छ ।

अर्कातर्फ ठूला घरानाले पनि महासंघमा नयाँ पुस्तालाई पठाएनन् भनिन्छ ?
हामीले यस्ता युवालाई महासंघमा ल्याउन मोटिभेट गरिरहेका छौं । गत वर्ष पनि गरेका थियौं र यस वर्ष पनि गरेका छौं । मैले नै पनि व्यक्तिगत रूपमा पहल गरिरहेको छु । यस वर्षको एसोसिएटमा टिम हेर्नुभयो भने तपाईंले पनि देख्नुहुनेछ । अर्कातर्फ धेरै युवा वेटिङमा पनि छन् । एनवाईइएफ पनि सशक्त बन्दैछ र भोलिको महासंघ यसैबाट आउने हो । भोलिको दिनमा यसका अध्यक्ष महासंघमा पदेन हुनुपर्छ भन्ने बहस पनि छ । युवा मात्र नभई महिलालाई पनि सशक्तीकरणमा लैजाने हाम्रो तयारी छ । महासंघमा युवासंघै महिला सहभागिता पनि बढ्नेछ ।

तपाईं हिजोका चुनावमा आफ्ना लागिभन्दा पनि अरूलाई जिताउन बढी लाग्नुहुन्छ भन्ने टिप्पणी हुन्थ्यो । यसपालि आफैं पदाधिकारीमा प्रतिस्पर्धी हुनुहुन्छ भने अरुका लागि क्याम्पेन गर्दा र आपैंm मैदानमा जाँदा कत्तिको फरक हुँदो रहेछ ?
हिजाको दिनमा म जुन टिममा लागेँ, दत्तचित्त भएर लागेँ । त्यो मेरो इमानदारिता र विश्वसनीयताको उपज पनि हो । डेडिकेसन पनि हो । अहिले मलाई के विश्वास छ भने हिजो लागेको टिमले मलाई आज सहयोग गर्नेछ । मलाई हिजोको दृढताले फाइदा नै गरेको छ । यद्यपि, आफैं लड्नुमा केही फरक छ, प्रेसर बढी छ । तर, मैले नेतृत्वमा पुगेका सबैजसोसँग गरेको सहकार्य र अभ्यासले मलाई खारेको पनि छ । अनुभव र पाठले मलाई सजिलो पनि बनाएको छ ।