भुवन पौडेल
मंगलबार, चैत्र ४, २०७६
477

नेपाल राष्ट्र बैंकको निर्देशकबाट अवकाशप्राप्त रमण नेपाल अहिले नागरिक लगानी कोषको कार्यकारी प्रमुखको जिम्मेवारीमा छन् । शैक्षिक रूपमा अर्थशास्त्रमा स्नातकोत्तर गरेका नेपाल विगत १५ महिनादेखि कोषको प्रमुख कार्यकारीको जिम्मामा छन् । अंग्रेजी साहित्यमा एमफिल गरेका उनले नागरिक लगानी कोषको उद्देश्यअनुसार आगामी दिनमा सर्वसाधारणको पनि सहभागिता हुने खालका योजना सञ्चालनमा ल्याउन लागेको बताउँछन् । कोषले मंगलबारदेखि नै व्यक्तिगत रूपमा पेन्सन योजना सञ्चालन गर्ने उनी बताउँछन् । सो योजनाअन्तर्गत छोटो अवधिमा नागरिक लगानी कोषमा जम्मा गरेको रकम दीर्घकालीन पेन्सन योजनामा परिवर्तन गर्न सक्ने व्यवस्था गरेको उनले बताए । नागरिक लगानी कोष आगामी केही दिनमा धितोपत्र दोस्रो बजारलाई सन्तुलन कायम गर्नका लागि स्टक डिलरको काम गर्नेसमेत तयारीमा रहेको बताउने नेपालसँग पुँजीबजार तथा नागरिक लगानी कोषका योजनाहरूको सन्दर्भमा कारोबारले गरेको कुराकानी :

तपाईंले नागरिक लगानी कोषको नेतृत्व सम्हालेको १५ महिना भइसकेको छ । यो अवधिमा नागरिक लगानी कोषका ग्राहकले महसुस गर्ने खालका कामहरू के–के गर्नुभएको छ ?
नागरिक लगानी कोषको नतृत्व लिएदेखि हालसम्ममा धेरै सुधारका कामहरू भएका छन् । कोष अन्तरी कार्यशैलीलाई चुस्त बनाउनका लागि उच्च व्यवस्थापना करारमा कर्मचारी नियुक्त गर्नेदेखि कोषको आफ्नै भवन बनाउनेसम्मका काम भएका छन् । त्यसका साथै कोषले धेरै पुरानो सफ्टवेयरमार्फत काम गर्दै आएकोमा त्यसलाई प्रतिस्थापन गरेर नयाँ सप्mटवेयर राख्ने काम भएको छ । नयाँ सफ्टवेयरको पनि डाटा माइग्रेसन सकिइसकेको र भेरिफिकेसनको काम भइरहेको छ । आगामी केही दिनमा त्यसलाई प्रयोगमा नै ल्याउने तयारीमा छौं । त्यसैगरी हाल कोषको कार्यालय रहेको स्थानमा व्यावसायिक भवन बनाउनेसमेत योजना बनेको छ । त्यसलाई आगामी दिनमा कार्यान्वयन गर्ने योजनामा छौं । त्यसैगरी २ वर्षदेखि हुन नसकेको कोषको अडिटसमेत भएको छ ।

नागरिक लगानी कोष पनि सरकारी लगानी भएको फरक प्रकृतिको वित्तीय संस्था हो । यसलाई पनि सरकारी तवरबाट नै प्रतिस्पर्धी स्थापना गरिदिएको अवस्था छ । यस्तो अवस्थामा कसरी अघि बढ्ने योजना बनाउनुभएको छ ?
नागरिक लगानीकोष, कर्मचारी सञ्चयकोष र सामाजिक सुरक्षाकोष गरी तीनवटा फरक प्रकृतिका वित्तीय संस्थाको स्थापना गरेको छ । सरकारले अहिलेसम्म सामाजिक सुरक्षको दायराभित्र नआएका मजदुरलाई समेट्ने गरी सामाजिक सुरक्षा कोषको स्थापना गरेको हो । सञ्चयकोषले निजामती कर्मचारी, सुरक्षा अंगका कर्मचारी तथा शिक्षकहरूको सञ्चयकोषको व्यवस्थापन गर्ने र योगदानमा आधारित पेन्सनको व्यवस्थापन गर्ने जिम्मा दिएको छ । नागरिक लगानी कोष भनेको सरकारी, निजी तथा गैरसरकारी संस्थाका कर्मचारीले स्वतन्त्र रूपमा बचत गर्ने संस्था हो । यो संस्थामा बचत गरेको खण्डमा कर योग्य रकम घटाइने व्यवस्थासहित बचत परिचालन गर्नका लागि स्थापना भएको संस्था हो । नागरिक लगानी कोषले बचत परिचालन गर्ने र धितोपत्र बजारको विकास गर्ने उद्देश्यसहित स्थापना भएको हो । त्यसैले सरकारले स्थापना गरेका यी तीन संस्थाबीच प्रतिस्पर्धा पटक्कै छैन । सरकारले स्थापना गरेका नयाँ संस्थाका कारण नागरिक लगानी कोषको निक्षेप परिचालनमा असर गरेको छैन । गत वर्ष मैले नेतृत्व सम्हालेको समयमा १ खर्ब ११ करोडको निक्षेप परिचालन थियो भने आज आउँदा त्यो निक्षेपको आकार १ खर्ब ४० अर्ब पुगेको अवस्था छ । त्यसैले त्यो निक्षेपलाई व्यवस्थापन गर्ने सन्दर्भमा कोषले नीति नै बनाएर सुरक्षित रूपमा लगानी गरेर धेरैभन्दा धेरै प्रतिफल दिने भनेर लगानी व्यवस्थापन गर्दै आएका छौं । त्यसैले सामाजिक सुरक्षाकोष सञ्चालन आएको अवस्थामा नागरिक लगानी कोषको कारोबार घट्छ भन्ने वा प्रतिस्पर्धी बजारमा आएको हुनाले फरक तरिकाबाट जानुपर्ने भयो भन्ने छैन ।

नागरिक लगानी कोषले बचतकर्ताको रकमलाई कसरी लगानी गर्दै आएको छ ?
कोषले बचत कर्ताको कुल रकमको करिब ६० प्रतिशत बैंक वित्तीय संस्थामा मुद्दती निक्षेपमा राखेको अवस्था छ । यसरी बैंक वित्तीय संस्थामा निक्षेप राख्नका लागि निश्चित मापदण्ड बनाएर लगानी गर्ने गरेका छौं । त्यसका साथै कोषले बचतकर्ताको पैसा वाणिज्य बैंकमा बाहेक अन्य वित्तीय संस्थाहरूमा निक्षेप राख्न छोडेको छ । विगतमा विकास बैंक तथा फाइनान्स कम्पनीमा पनि निक्षेप राख्दा ती समूहका संस्थामा धेरै समस्या आएको देखिए त्यसले गर्दा कोषको केही रकम समस्यामा पनि परेको अवस्था छ । त्यसले गर्दा पनि वाणिज्य बैंकभन्दा अन्य संस्थामा लगानी नगर्ने निर्णय गरेका हांै । समस्यामा आएका बैंक वित्तीय संस्थामा कोषको करिब ५० देखि ६० करोड रुपैयाँ अड्केको छ । तर, त्यो रकममध्ये अधिकांश रकम उठ्ने अवस्थामा छ । हिमालयन फाइनान्समा निक्षेप राखेको करिब ७ करोड रुपैयाँ भने अन्यको तुलनामा धेरै जोखिममा छ ।
त्यसैगरी कोषले बचतकर्तालाई सापटी दिनका लागि करिब २० प्रतिशतको हाराहारीमा सापटी लगानी गर्छ । त्यसैगरी सहभागीलाई घर कर्जा, प्रोजेक्ट कर्जा गरेर कुल १६ प्रतिशत लगानी त्यो क्षेत्रमा छ भने बाँकी सेयर तथा डिबेञ्चरमा लगानी छ । सरकारले लगानी गर्ने योजनाहरूमा हामीले लगानी गर्छांै । तर, निजी क्षेत्रका परियोजनामा लगानी गर्दैनौं । सरकारले लगानी गर्ने योजनामा हामीलाई लगानी गर्न भनेर प्रस्ताव पनि नआउने भएकाले पूर्वाधार क्षेत्रमा लगानी हुन नसकेको अवस्था हो ।

नागरिक लगानी कोषले धितोपत्र बजारमा पनि लगानी गर्ने तथा धितोपत्र बजारलाई पनि व्यवस्थित गर्ने भन्ने उद्देश्यअनुसार लगानीको अवस्था कस्तो छ, त्यसैगरी नागरिक लगानी कोषले स्टक डिलरको काम गर्ने भन्ने कुरा कहाँ पुगेको छ ?
हालसम्म कोषले संस्थापक तथा पब्लिक सेयर गरेर करिब ८ अर्ब रुपैयाँबराबरको लगानी गरेको छ । त्यसैगरी करिब ६ अर्ब रुपैयाँबराबरको डिबेञ्चरमा लगानी गरेको छ । त्यसपछिको लगानी भनेको सरकारको ग्यारेन्टीमा नेपाल एयरलाइन्सलाई १२ अर्ब रुपैयाँ कर्जा दिएको अवस्था छ । त्यसैगरी माथिल्लो तामाकोसीको सेयरमा तथा कर्जामा पनि लगानी छ । पछिल्लो समयमा करिब ५० करोड रुपैयाँबराबरको लगानी धितोपत्रको दोस्रो बजारमा लगानी गरेका छौैं । त्यो दीर्घकालीनभन्दा पनि परीक्षणका लागि लगानी गरेको हो । त्यसैगरी धितोपत्र बजारमा लगानी गरेको पनि बैंकको ब्याजभन्दा केही धेरै प्रतिफल आउने गरी बिक्री गर्छौं ।
धितोपत्र बजारमा लगानी गर्दा बचतकर्ताको पैसालाई जोखिममा राखेर गर्दैनौं । म आएपछि सुरु भएको धितोपत्रको दोस्रो बजारको कारोबार परिक्षणका लागि मात्र हो । धितोपत्र बजारका ब्लुचिप सेयर मात्र खरिद बिक्री गर्ने तथा बैंकको ब्याजदरमा केही प्रिमियमा प्रतिफल आउने अवस्था बिक्री गर्ने लगायतका योजना बनाइ लगानी गर्दै आएका छौँ ।
कोषले स्टक डिलरको काम गर्नका लागि कम्पनी दर्ता गरेर काम अघि बढेको छ । कम्पनीको बोर्ड पनि गठन भइसकेको छ । त्यो कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत र नेपाल रि–इन्स्योरेन्स कम्पनीको १० प्रतिशत सेयर छ । बाँकी रहेको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने छौं । कम्पनीको चुक्तापुँजी ५ अर्ब छ । कम्पनीले आगामी जेठ अन्तिमदेखि काम सुरु गर्छ । कम्पनीले नागरिक लगानीकोष, नेपाल टेलिकम र नेपाल रिको सेयरको काम गर्नेछ । कम्पनीले धितोपत्र बजारमा अधिकतम ५३ अर्ब रुपैयाँसम्म लगानी गर्नेछ ।
कोषको नयाँ योजना के छ ?
कोषले मंगलबारदेखि नागरिक पेन्सन योजना ल्याउने भएको छ । सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले कोषको बचत कार्यक्रमको दायरामा नसमेटिएका नेपाली नागरिकलाई आबद्ध गराउन ‘नागरिक पेन्सन योजना’ सञ्चालन गर्न लागेको छ । यसका लागि कोषको सञ्चालक समितिले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । यस योजनाअन्तर्गत आय–आर्जन गर्ने, प्रचलित कानुनबमोजिम स्थापना भएका संघ–संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक-कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरूले न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक-त्रैमासिक-अर्धवार्षिक-वार्षिक रूपमा रकम जम्मा गर्न सकिने विशेषतासमेत छ । यस्तो किस्ता बुझाउँदा मासिक पाँच सयभन्दा कम नहुने गरी बुझाउनु पर्नेछ । बचतकर्ताको आयस्रोत गुमेमा वा अशक्तताको कारणले आय आर्जन गर्न असक्षम भएमा वा बसाई सरी अन्य मुलुकमा गएको खण्डमा यस योजनाबाट अलग हुन सकिनेछ । यसरी योजनाबाट अलग हँुदा बचतकर्ताहरूले शर्तबमोजिम नियमित रूपमा बचत गरेको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने छ । यस्तो अवस्थामा बचतकर्ताको नाममा जम्मा रहेको सावाँ रकम एकमुष्ठ भुक्तानी गरिनेछ ।
पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने छ । बचतकर्र्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफलसमेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनका रूपमा भुक्तानी लिन सक्नेछन् । कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रूपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् ।