किरण आचार्य
मंगलबार, चैत्र ४, २०७६
447

हिजो सबै नागरिकको मुखमा झुन्डिएको शब्द हो ‘कोरोना’ अर्थात् कोभिड–१९ । कोरोनाको चर्चा होस खुलेका बालकदेखि उमेरले वृद्धसम्मले गरिरहेका छन् । समाचारमा कोरोना, चियापसलमा कोरोना, खानपान, स्वास्थ्य, शिक्षा, खेलकुद, सरकारीदेखि गैरसरकारी संघसंस्था सबैलाई प्रभाव पारेको विषय हो–कोरोना । कोरोनाले विश्व अर्थतन्त्रलाई नै उथलपुथल बनाइरहेको छ । यसको प्रभावले दैनिक उपभोग्य वस्तुको अभाव हुन्छ भन्ने हल्लाले नेपालमा पनि उपभोक्ताहरू सामान मौज्दात राख्नमा व्यस्त देखिन्छन् । नेपालमा मात्र होइन, अमेरिकामा पनि उपभोक्ताहरूले आवश्यकताभन्दा तीनदेखि पाँच गुणासम्म सामान थुपारिरहेका खबरहरू आइरहेका छन् । नेपालमा कालोबजारी गर्नेले उपभोक्तालाई ठगिरहेका छन् । स्यानिटाइजर, माक्स, ग्यासदेखि अन्य उपभोग्य सामग्रीमा कालोबजारी सुरु भएको छ भने प्रहरी, प्रशासनले कालोबजारी गर्नेलाई पक्राउसमेत गरिरहेको छ । चीनबाट फैलिएको कोरोना भाइरसको उद्गम बिन्दु मानिएको चीनमा यो भाइरस नियन्त्रणमा आएको छ भने युरोप केन्द्र भएर फैलँदैछ । अन्य क्षेत्रसँगै कृषिक्षेत्रमा यसको प्रभाव देखिएको छ ।
कोरोनाले नेपालको कृषि क्षेत्रमा मिश्रित प्रभाव पारेकोे छ । एकातिर बर्सेनि १ अर्बभन्दा बढीको कृषिउपज आयात हुने भएकाले आयात रोकिने अवस्था आएपछि कृषिक्षेत्रमा नकारात्मक प्रभाव पर्न सक्छ भन्ने लख काट्न थालिएको छ भने अर्कातिर आत्मनिर्भरताको गतिमा रहेको कृषिक्षेत्रलाई उकास्न पनि अवसर आएको विश्लेषण गर्न थालिएको छ । खासगरी दैनिक उपभोग्य वस्तु तरकारी, फलफूल, दाल, चामल, दूध, माछा, मासु, पुष्पलगायत क्षेत्रकृषिमा योगदान गर्ने प्रमुख क्षेत्रका रूपमा देखिन्छन् भने समग्र कृषि मूल्य श्रृंखलामै कोरोनाको प्रभाव परेको छ । कुन स्तरको प्रभाव कृषिक्षेत्रमा परेकोे छ त ? के नेपाललाई शोकलाई शक्तिमा बदल्ने अवसर पनि बन्न सक्छ ? यिनै प्रश्नहरूको उत्तर खोज्दै नेपालको कृषिक्षेत्रमा कोरोनाले पारेको प्रभावका बारेमा कारोबारकर्मी किरण आचार्यले सरोकारवालाहरूसँग गरेको बहस :

पुष्प क्षेत्रको ढाड भाँचिएको अवस्था छ
कुमार कसजू श्रेष्ठ
अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन
पुष्प क्षेत्र अर्थतन्त्रमा नयाँ र स्थापित क्षेत्रका रूपमा विकास भइरहेको अवस्था छ । उत्पादन र माग बर्सेनि बढिरहेको अवस्थामा २०७२ सालको भूकम्पले यो क्षेत्रलाई पनि तहसनहस नै पा-यो । भूकम्पको असरबाट पुनः यो क्षेत्र पुरानै लयमा फर्कने क्रममा थियो । तर, कोरोनाको कारण पुनः धराशायी बन्ने अवस्थामा हामी पुगेका छौं । कोरोनाको प्रभाव विश्वमा दुई महिनाअघिदेखि परे पनि नेपालमा भने एक महिना असर पुष्प क्षेत्रमा पर्न थालेकोे हो । जति बढी जमघट, कार्यक्रम भए त्यति नै व्यापार चल्ने हो । व्यापार चल्दा उत्पादक किसानलाई पनि राम्रो हुन्छ । अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने हो । तर, एक्कासि कोरोना आयो । कोरोनाको प्रभाव कम गर्न सार्वजनिक कार्यक्रम नगर्न सरकारी निर्देशन आयो । अब पुष्प व्यवसायीहरूको व्यापार ठप्प हुने अवस्था छ । चैत महिलामा खासै सभासम्मेलन, बिहेबारी नहुने हुँदा अरू व्यापार हुँदैन । तर, हामीले हरेक वर्ष चैतमा पुष्प मेला गर्ने गरेका छौं । कोरोनाकै कारण मेला स्थगित भएको छ । करिब ४० लाखको खर्च र ५५ लाखको आम्दानी अनुमान गरिएको मेला गर्न नपाउँदा संस्थागत हिसाबले समस्या परेको छ । योभन्दा ठूलो कुरा पुष्प क्षेत्र नै अब के हुने हो भन्ने छ । भूकम्पपछि पनि पुष्प क्षेत्रले पुरानो लयमा फर्कने क्रममा थियो नै । २०२० भिजिट नेपालले हामीमा ऊर्जा थपेको थियो । कोरोनाका कारण भिजिट नेपाल प्रभावित भएको छ । फ्लाइटहरू रोकिएका छन् । ठमेलमा पर्यटक निकै न्यून छन् । पोखरामा पनि होटलहरू खाली हुने, बुकिङ क्यान्सिल हुने भएको छ । यसको सीधा असर पुष्प क्षेत्रमा परेको छ ।
गत आवका अनुसार प्रतिमहिना १७ देखि २० करोडको कारोबार भइरहेको छ । यो सब घाटामा जानेवाला छ । कम्तीमा एकतिहाइ बजार घट्ने अनुमान छ हाम्रो । आयात र निर्यात दुवै हुने क्षेत्र हो– पुष्प क्षेत्र । गत वर्ष २० करोडको आयात थियो । हालसम्मको बुकिङ भएको त आइहाल्छ । अब आयात हँुदैन । साथै क्वारेन्टाइनका कारण बोर्डरमा रोकिँदा प्रभावित भएको छ । हवाइवाला पनि थोरै प्रभावित छ । मुख्य कुरो बिजनेस बढिरहेको क्षेत्र भएकाले कोरोनाका कारण पुष्प क्षेत्रको ढाड नै भाँचिएको छ । असारमा कट्फ्लावर उत्पादन हुँदैन । माग बढी हुन्छ । यो समय उत्पादन गर्न रोप्ने समय हो । बिरुवा आएको छ । रोप्ने कि नरोप्ने कन्फ्युज छ । निर्यातको पनि सिजन हो । फूलका गानो, जरा निर्यात हुन्छ । कट्फ्लावर कतार निर्यात हुन्थ्यो, बंगलादेश यसपालि पठाउने योजना थियो । कार्नेटल र रोज समस्याले रोकियो, सरकारले पुष्प व्यवसाय प्रवद्र्धनका लागि स्थानीय र प्रदेशबाट लगानी पनि भइरहेको छ । तर, बजार लक्षितभन्दा कार्यक्रम सक्नमात्र भइरहेको जस्तो लाग्छ । सरकारले किसान, व्यापारी, उपभोक्तासमेतलाई लक्षित गरी कार्यक्रम लागू गर्ने र नयाँ परिस्थितिलाई बुझेर मात्र अगाडि बढ्नुपर्छ । फूलको पनि प्रशोधन उद्योग ल्याउनुपर्ने भयो, तर अहिले छैन । पुष्प व्यवसायीहरूले बैंकको ऋण लिएका हुन्छौं । बिक्री नभएका कारण किस्ता तिर्न समस्या छ । बैंकहरू सफ्ट बन्नुपर्छ भन्नेमा सरकारले गरिदिनुपर्छ । बाँकी सरकार, हामी सबै मिलेर समस्या समाधान गर्न लाग्नुपर्छ । अन्य क्षतिको कुरा ग-यौं । बिमाले यस्तो नयाँ प्रकारको क्षतिको कुरा आयो, समेटिनुप-यो । यस्ता समस्या आउँदा यो क्षेत्रलाई कसरी अगाडि लैजाने भन्ने विषयमा पुनःविचार गर्नुपर्ने परिस्थिति पनि आएको छ ।
युवाशक्तिलाई व्यावसायिक कृषिमा फर्काउने योजना ल्याउनुपर्छ
नवराज वस्नेत
अध्यक्ष, राष्ट्रिय कृषक समूह महासंघ
कोरोनाले विश्वभर नै प्रभाव पारेको छ । यस्तोमा हामीलाई पनि प्रभाव पार्नु स्वाभाविक हो । देशभरिका साना किसानहरूको संगठन भएकाले वर्षभरि नै हाम्रा विभिन्न संगठनात्मक क्षमता अभिवृद्धिलगायतका कार्यक्रमहरू हुने गर्छन् । संस्थागत रूपमा ठूला कार्यक्रम नगर्ने गरी देशैभर हामीले संगठनको च्यानलबाट किसानहरूलाई सर्कुलर गरेका छौं । झट्ट हेर्दा अहिलेसम्म किसानमा त्यस्तो ठूलो समस्या देखिएको छैन । तर, सजकता जरुरी छ । किसानहरू त्रसित अवस्थामा छन् । यदि महामारी फैलिहाल्यो र घरबाहिर ननिस्कने अवस्था आयो भने त सबैभन्दा बढी असर किसानमा पर्छ । आधा पेट खाएर श्रम गरिखाने किसान पछि छन् । यस्ता किसान सबैभन्दा मारमा पर्छन् । अहिलेलाई किसानलाई हामीले सजग रहन संरचगत रूपमा स्वास्थ्य, सरसफाइमा रहने र होसियारी अपनाउन भनेका छौं । केही परेमा सहयोगी भूमिका निर्वाह गर्नतर्फ लाग्छौं । तर, महामारी नै आएमा हामीले मात्र गरेर हुँदैन । सरकारले नै ठोस विचार पु-याउनुपर्ने हुन्छ ।
ठूलो संख्यामा नेपाली युवा बाहिर छन् । युवाहरू बाहिरिँदा कृषि उत्पादन घटेको यथार्थबाट हामी गुज्रिरहेका छौं । विदेशबाट युवाले पैसा त पठाउँछन्, तर किनेर खाने अन्नसमेत आयात गर्नुपरेको अवस्थामा विश्वभर देखिएको भाइरसको महामारीले एकातिर विदेशमा गएका युवाहरूको कमाइ नहुने समस्या र आयात पनि नहुने समस्या पनि देखिन्छ । चुनौतीसँगै अवसर पनि छ । विश्वभर कोरोना फैलिएको सन्दर्भमा विदेश जान ठिक्क परेका युवाहरू जाने छैनन् । विदेशका पनि फर्केर आउने अवस्था हुनसक्छ । यस्तो अवस्थामा सरकारको ठोस नीति तथा कार्यक्रम युवालाई स्वदेशमै स्वरोजगार बनाउनेमा लक्षित हुनुपर्छ । आउने बित्तिकै युवाहरूले रोजगारी पाएनन् वा उत्पादित बजारले मूल्य पाएन भने पनि उल्टो असर पर्नसक्छ । यस्तोमा राज्यले रोजगारीको वातावरण बनाउन सक्छ । बजेट निर्माणको चरणमा पनि छ । कृषिमा लाग्ने युवाहरूलाई व्यावसायिक रूपमा केही गर्न चाहन्छ भने योजना र कार्यक्रम दिनुपर्छ । काम गर्ने थलो, स्रोत, सीप, ऋण प्रदान गर्ने गरी कार्यक्रम ल्याउनुपर्छ । युवाशक्ति कृषिमा लगाउनुप-यो ।
दुग्ध पदार्थको बजार १० प्रतिशतले घटेको छ
प्रह्लाद दाहाल
महासचिव, नेपाल डेरी एसोसिएसन
कोरोनाको प्रभाव दुग्ध क्षेत्रमा पनि परेको छ । गर्मी चढेको छ, यो समय दुग्ध पदार्थको माग बढ्ने समय पनि हो । आइसक्रिम, दही, दूधलगायतका पदार्थको उत्पादन बढ्ने समय हो । तर, उद्योगीहरूले यो वर्ष कोरोनाका कारण ठूलो क्षति भोग्नुपर्ने अवस्था आउने संकेत हामीले पाएका छौं । अहिले नै बजारमा दुग्ध पदार्थको उपभोग १० प्रतिशतले कम भइसकेको छ । अर्कातिर गर्मीलाई लक्षित गरी दूध खरिदका लागि सम्झौता अघि नै भइसक्ने भएकाले आपूर्ति अझै बढ्छ । दुग्ध पदार्थ स्टक बढेको छ । उपभोग घट्नुको मुख्य कारण उपभोक्तामा डरको वातावरण सिर्जना हुनु हो । चिसोका कारण रोग फैलन्छ भन्ने भ्रामक प्रचारले गर्दा उपभोक्ताले चिसो पदार्थ कम खाएको पाएका छौं । त्यस्तै बजारमा चहलपहल कम भएकाले होटल, रेस्टुराँ बन्द हुने र कम चल्ने गरेको पाइन्छ । यसले अर्थतन्त्रमा सीधा असर गरिरहेको महसुस हामीले गरेका छौं । अहिले नै दुग्ध बजार घटेको छ भने अब स्कुल, कलेजहरू बन्द भएपछि बजार यसै खुम्चने देखिन्छ । यसको असर हामी उद्योगीलाई मात्र होइन, किसानहरूमा पनि पर्न सक्छ । किसानको समस्या समाधानका लागि हामी किसानको दूध नियमित खरिद गर्ने कुरामा प्रतिबद्ध छौं । तर, यो विषय आफंैमा गम्भीर विषय भएकाले सरकारी तवरबाट यस विषयमा पहल हुनुपर्छ ।
दुग्ध क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान गर्छ । यो क्षेत्रको मुख्य सरोकारवाला निकाय भएकाले समस्या पर्दा अलिक बढी मार हामी परिरहेका हुन्छौं । हामी उद्योगीहरू कृषक र उपभोक्ताको बीचमा भएकाले दुवै क्षेत्रको दबाबमा पर्ने गर्छौं । यस्तो दबाब हामीले पटक पटक भोगेका छौं र किसान, उपभोक्ताको हितका काम गरेको उदाहरण पनि छन् । जस्तोसुकै अवस्थामा पनि हामीले कृषकको उत्पादन खरिद गर्नुपर्ने हुन्छ । गरि नै रहेका छौं । भूकम्प र नाकाबन्दीमा पनि हामीले निरन्तर दुग्ध पदार्थ आपूर्ति गरेर सामाजिक उत्तरदायित्व निर्वाह गर्ने काम गरेका थियौं । यसपटक पछि गर्छौं । तर, सरकाले उद्योगीको समस्या पनि बुझिदिनुपर्छ । खासगरी दूध आफैंमा संवेदनशील पदार्थ भएकाले अन्य उद्योग र यो उद्योगलाई फरक हिसाबले हेर्नुपर्छ । दुग्ध उद्योगीहरूको संस्था हामी दुईवटा छौं, नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघ नेपाल । दुवै संस्थाले पनि आपसी छलफलमा साझा समस्या पहिचानको काम गरिरहेका छौं । सरकारले पनि हाम्रो मर्का बुझिदिनुपर्छ । बैंकबाट ऋण लिएर उद्योग चलाइएको हुन्छ, समयमा किस्ता तिर्न समस्या पर्न सक्छ । भ्याटको समयमा तिर्न समस्या, किसानलाई समयमा भुक्तानी गर्न लगायतका समस्या आउन सक्छन् । यसको सीधा असर उद्योगी र किसानमा पर्न सक्छ । त्यसैले सरकारले किसान, उद्योगी र उपभोक्ता तीनै क्षेत्रका समस्या पहिचान गरी सरकारले ठोस पहलकदमी चालोस् भन्ने अनुरोध गर्छु ।