कारोबार संवाददाता
बिहिवार, फाल्गुन २९, २०७६
431

विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले नेपालको अर्थतन्त्रलाई पनि प्रभावित बनाउँदै लगेको छ । हुन त नेपालमा हालसम्म कोरोना संक्रमणको अवस्था जटिल छैन र नेपालको सुरक्षात्मक अवस्था पनि त्यति प्रभावकारी छैन । तर, आजसम्मको अवस्था हेर्ने हो भने नेपालमा प्रमाणित रूपमा कोरोना भाइरसबाट संक्रमित कोही पनि भेटिएका छैनन् । अर्थात् जति व्यक्तिलाई कोरोना (कोभिड–१९) को संक्रमणको शंकामा परीक्षण गरिएको छ करिब ती सबै जनामा सो भाइरस नभएको पुष्टि पनि भएको छ । सरकारी अधिकारीहरूका अनुसार एक जनामा संक्रमण देखिएको थियो तर तिनले रोगलाई पराजित गरेर स्वस्थ जीवनयापन गरिरहेको अवस्था छ । यसरी हेर्दा कोरोना संकटको सम्भावित असर भन्दै नेपालीलाई वनको बाघभन्दा मनको बाघले खाएको स्पष्ट देख्न सकिन्छ ।
पछिल्लो समय कोरोनाको जोखिम नहोस् भन्दै सरकारले ल्याएका केही नीति तथा सर्वोच्च अदालतको आदेशलगायतले मुलुकको आर्थिक गतिविधिमा भने नराम्ररी असर गरेको छ । त्यसै पनि कोरोना प्रभावित मुलुकसँगको आर्थिक तथा पर्यटकीय गतिविधिमा असर परिरहेका बेला सरकारी नीति र अदालतको आदेशले आन्तरिक आर्थिक गतिविधिमा पनि असर परेको देख्न सकिन्छ । मुलुकको आर्थिक विकासका लागि कोरोनाको मनोवैज्ञानिक त्रास तथा कामकारबाही अन्ततः प्रत्युत्पादक हुने देखिएको छ । कोरोनाका कारण कतिपय मुलुकका विदेशी पर्यटकलाई नेपाल आउन रोक लगाइएको छ भने यही त्रासकै कारण स्थानीय उपभोक्ता आत्तिएका छन् र जथाभावी सञ्चय गरिरहेका छन् । व्यापारीले पनि यही मौकामा कालोबजारी गरेको पाइन्छ तर सरकार भने यी घटना देखेर पनि नदेखेको जस्तै गरिरहेको छ । सर्वोच्च अदालतले नै वास्तविकताभन्दा पर रहेर अन्तर्राष्ट्रिय उडान बन्द गराउन आदेश जारी ग-यो । सरकार आफैंले सबै सभा, समारोह बन्द गर्न गराउन उर्दी जारी ग-यो । यस्ता गतिविधिले आर्थिक क्षेत्र ठप्प हुने अवस्थामा छ र यसको सिधा असर मध्यमवर्गीय क्षेत्रमा पर्नेछ । यसैले कोरोनाको भौतिक संकटप्रति सचेत रहेर मनोवैज्ञानिक त्रास हटाई कसरी आर्थिक क्षेत्रलाई पुनर्जागृत गर्ने भन्ने विषयमा कारोबारले केही सरोकारवालासँग गरेको कुराकानीः

 सुरक्षात्मक उपायसहित आन्तरिक पर्यटन प्रवद्र्धन गरौं
विनायक शाह
प्रथम उपाध्यक्ष, होटल संघ नेपाल
हामीले नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा २० लाख पर्यटक ल्याउनेमात्र नभई नेपाली पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय प्रवद्र्धनले गति लिने अपेक्षा गरिरहेका थियौं । भ्रमण वर्षको तयारी केही ढिलो भए पनि अन्तर्राष्ट्रियस्तरको प्रवद्र्धनमा गरिने लगानी खेर जाँदैन भन्नेमा हामी विश्वस्त थियौं । २०२० मा २० लाख पर्यटक नआए पनि अहिलेको प्रवद्र्धनले आगामी केही वर्षमै २० लाख पर्यटक ल्याउन सकिने आधार तयार हुने थियो र यसले नेपालको पर्यटन क्षेत्रलाई अर्को उचाइमा पु-याउने अवस्था थियो ।
भ्रमण वर्षका लागि सरकारमात्र नभई निजी क्षेत्र पनि तयार थियो । भ्रमण वर्षको चर्चा चल्ने बित्तिकै निर्माण सुरु गरिएका कतिपय ठूला होटलहरू यतिबेला निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छन् भने देशैभरका पर्यटकीय क्षेत्र तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा निजी क्षेत्रले स्वस्फूर्त रूपमा गरेका लगानीको आँकडा हेर्ने हो भने निजी क्षेत्र निकै उत्साहित छ भन्ने पनि देखाउँछ । यस्तो उत्साहको सञ्चार भइरहेका बेला चीनमा भएको अनपेक्षित घटनाले हाम्रो उत्साहमा ब्रेक लागेको छ । चीनको बुहानबाट देखापरेको कोरोना भाइरस (कोभिड–१९)ले संसारका धेरै मुलुकमा समस्या देखिएकाले नेपाल प्रभावित हुनु स्वाभाविक नै हो । यसमा पनि नेपाल चीनको छिमेकीमात्र नभई नेपालमा पछिल्लो दशकमा चिनियाँ पर्यटकले भरथेग गर्दै आइरहेको अवस्थामा नेपाललाई दोहोरो घाटा लागेको अवस्था छ ।
कुनै पनि ठूला अन्तर्राष्ट्रिय घटनाले पहिलो प्रभावित हुने क्षेत्र भनेकै पर्यटन हो । कोरोनाको असर पनि मुलुकको आर्थिक क्षेत्रमा विस्तारै देखिँदै जान्छ तर पर्यटनमा त अहिले निकै ठूलो असर देखिइसकेको छ । यसैले पर्यटन क्षेत्रलाई यस्ता घटनाबाट जोगाउन अथवा असर कम गर्न तत्काल रेस्क्यु गरिनुपर्छ । इन्टरनेट र सामाजिक सञ्जालको युगमा सानो घटना पनि तत्काल विश्वभर फैलिने भएकाले हामीले यस क्षेत्रलाई जोगाउन सावधानी अपनाउनुपर्छ । अहिले नेपालमा कोरोना संकट देखिएको छैन र कोरोनाले प्रवेश नपाओस् भन्नेमा हामी सबैभन्दा संवेदनशील हुनुपर्छ । व्यवसायभन्दा नागरिकको स्वास्थ्य नै ठूलो हो भन्नेमा कसैको विमति छैन तर यस्तो अवस्थामा पनि आर्थिक र पर्यटकीय गतिविधि चलायमान बनाउन सकेनौं भने भोलि हामी उठ्नै नसक्ने गरी थला पर्नेछौं । हामीले कुनै न कुनै उपायद्वारा पर्यटकीय गतिविधिलाई पुनर्जागृत गराउनैपर्छ ।
पर्यटन क्षेत्रलाई कसरी नवजीवन दिने भन्नेमा पनि हाम्रो ध्यान केन्द्रित हुनु आवश्यक छ । अहिलेको अवस्थामा बाह्य मुलुकबाट पर्यटक ल्याउनसक्ने अवस्था नभएकाले हामीले आन्तरिक पर्यटनको विकास र विस्तारमा नै जोड दिनुपर्छ । कुनै पनि मुलुकका लागि आन्तरिक पर्यटन नै दिगो विकासको आधार हो र आजको दिनमा थाइल्याण्ड, अस्ट्रेलियाजस्ता मुलुक आन्तरिक पर्यटनले नै धानिएका छन् । नेपालीको पनि आम्दानी बढेको तथा घुम्ने संस्कृतिको विकास भइरहेका बेला आन्तरिक पर्यटनलाई नीतिगत रूपमै सम्बोधन गर्न सकियो भने अहिलेको कोरोना संकटबाट आहत पर्यटन क्षेत्रलाई पनि ठूलो राहत मिल्नसक्छ ।
पर्यटनमा सरकारको सानो नीतिगत निर्णयले पनि ठूलो प्रभाव पार्छ । यसैले आन्तरिक पर्यटन बढाउनका लागि सरकारले आह्वान नै गर्नुपर्छ । कोरोनाप्रति नेपालीमा चासो बढेको छ तर उनीहरूको गतिविधि रोकिएको छैन भन्ने होलीले देखायो । म आफैं पनि होलीको दिनभर सडकमा निस्किँदा विगतभन्दा खासै कम उत्साह देखिनँ । यसले नेपालीहरू कोरोनाप्रति संवेदनशील भए पनि आफ्नो गतिविधिमा सम्झौता गर्ने अवस्थामा छैनन् भन्ने देखाउँछ र नेपालीको यही दृढतालाई हामीले आन्तरिक पर्यटन प्रवद्र्धनको आधार बनाउन सक्छौं ।
विश्व स्वास्थ्य संगठनको सुरक्षात्मक मापदण्ड भने हामीले कडाइका साथ अपनाएर मात्र कुनै पनि गतिविधि अघि बढाउनुपर्छ र यसका लागि आन्तरिक नियमन र अनुगमनको पाटो बलियो बनाउनुपर्छ । यसो भयो भने हामी आफ्ना पर्यटकीय गतिविधिलाई तीव्रता दिनसक्छौं र यसमा सरकारको नीतिगत साथ भने चाहिन्छ । अर्कोतर्फ नेपाल भ्रमण वर्षको घोषणा फिर्ता लिएर यसको बजेट आन्तरिक पर्यटन प्रवद्र्धनमा खर्च गर्नसके पर्यटन क्षेत्रलाई राहत मिल्ने ठाउँ पनि छ । यससँगै नेपाल पर्यटन बोर्डको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि विनियोजित बजेटले पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा खर्च गर्न सकिने अवस्था छ । सरकारले निजामती कर्मचारीसहित सेना–प्रहरी, शिक्षकलगायतलाई बिदा पर्यटनका लागि प्रोत्साहित गर्ने तथा बैंक तथा वित्तीय संस्था र कर्पोरेट हाउसलाई पनि प्याकेजका रूपमा यसमा सामेल गराउन सक्छ । सार्वजनिक बिदालाई हप्ताको २ दिन पु-याउन सक्यौं भने पनि आन्तरिक पर्यटनमा टेवा पुग्नेछ । यतिमात्र होइन रोटरी–लायन्सजस्ता सामाजिक संघसंस्थालाई पनि सहभागी गराएर आन्तरिक पर्यटनलाई जागृत गराउन सकिन्छ । होटल संघकै मात्र पनि मुलुकभर १५ वटा च्याप्टर छन् र हामी आफैं पनि एक अर्को च्याप्टर भ्रमण गरेर यस्तो सन्देश दिन तत्पर छौं ।

सतर्क होऔं तर अनावश्यक आतंकित नहोऔं ।
लेखराज भट्ट
मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति
चीनबाट सुरु भएको कारोना भाइरसको आतंक अहिले युरोपदेखि झन्डै ६० देशमा फैलिएको छ । यस्तो अवस्थामा हामी सावधानी अपनाउने हो आतंकित भइहाल्ने भने होइन । नेपाल भौगौलिक रूपमा अरु देशको तुलनामा फरक छ भने भारतसँगको नाका खुला छ । भारतमा कोरोनाको संक्रमण फैलिएमा नेपालमा बढी चिन्ता हुन्छ । अहिले सरकारले हवाई सुरक्षामा ध्यान दिएको छ । अनअराइभल तथा कोरोना संक्रमित देशका उडान कटौती गरेको छ । सरकारले आफ्नो संयन्त्र पनि परिचालन गरेको छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकार र जनस्तरबाट सावधानी अपनाउनु जरुरी छ । यस्तो अवस्थामा मिडिया तथा आमसञ्चारको भूमिका पनि महत्वपूर्ण हुन्छ । समाजलाई आतंकित पार्ने भन्दा सचेत हुने र सावधानी अपनाउने खालका सन्देश दिनु जरुरी छ । चीन, भारत, तेस्रो देशबाट केही सामग्री आउँदैन भन्ने मनोविज्ञान तोड्नु आवश्यक छ । सामान आइरहेको छ तर केही सतर्कता अपनाइएको मात्रै हो । केही दिन नाकामा सामान राख्नुपर्ने बाध्यता छ यो किन भयो भने मान्छेबाट मात्रै नभएर वस्तुबाट समेत कोरोना सर्ने सम्भावना रहेकाले नाकामा केही दिन सामान राख्नुपर्ने अवस्था आएको हो ।
कुनै ठाउँमा केही समस्या देखिएमा तत्काल जानकारी दिन सरकारले आग्रह गरिसकेको छ । उपभोग्य सामानहरू माग बढ्दा केही मूल्य बढ्नु स्वाभाविक भए पनि कालोबजारी हुन नदिन हामीले ध्यान दिएका छौं । कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव छैन । यदि कतै कालोबजारी गरिएको पाइएमा कानुनअनुसार हदैसम्मको कारबाही हुन्छ यसमा सम्बन्धित पक्षले ध्यान पु-याउँदा हुन्छ । आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम भइरहेको छ । त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परेको मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी कानुन तथा अत्यावश्यक ऐनले गरेको व्यवस्थाअनुसार कारबाही हुन्छ । बजारलाई समान्य अवस्थामा राख्न अनुगमनलाई तीव्रता दिइएको छ ।
भारतको नाकाबाट हुने व्यापारमा कुनै पनि अवरोध भएको छैन । दैनिक उपभोग्य सामग्री अनावश्यक रूपमा घरमा थुपार्नपर्ने जरुरी पनि छैन । सतर्क हुन जरुरी छ तर महिनौं सम्मलाई पुग्ने सामग्री किनेर थुप्राउनुपर्ने अवस्था अहिले भएको छैन । नेपाल आयल निगमसँग पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भण्डारण ६८ हजार ३ सय ६४ किलोलिटर छ । खाद्यसामग्रीको व्यापार गर्दै आएको सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसनसँग १० महिनालाई पुग्ने नुन मौज्दात छ । साल्ट ट्रेडिङका अनुसार १ लाख ५९ हजार टन नुन मौज्दात छ । हाल नेपालमा मासिक १६ हजार टन नुन खपत हुँदै आएको छ । कर्पोरेसनले ६ महिनालाई पुग्ने आयोडिनयुक्त नुन मौज्दात राख्नुपर्ने व्यवस्था छ । कर्पाेरेसनसँग गोदाममा हाल २ हजार ५ सय टन र ७ हजार ५ सय टन बाटोमा रहेको समेत गरेर जम्मा १० हजार टन चिनी आफूसँग रहेको दाबी गरेको छ । चिनी उद्योगीसँग १ लाख १ हजार टन चिनी स्टक छ । मुलुकमा वार्षिक सरदर २ लाख ५० हजार टन खपत हुने गरेको छ । मुलुकको आन्तरिक उत्पादन १ लाख ८० हजार टन छ भने वार्षिक ७० हजार टन विदेशबाट आयात हुन्छ । यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार ६ सय ६९ टन चामल स्टक छ । यो खाद्यान्नले तीन महिना सजिलै धान्छ । त्यस्तै सिमी र तिते फापर गरी १ सय ३० टन मौज्दात छ ।

बजारमा कुनै सामान अभाव छैन हल्लाको पछि नलागौं
राजेन्द्र मल्ल
उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्श
छिमेकी मुलुक चीनबाट सुरू भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापी रूपमा फैलिएसँगै त्यसको असर विभिन्न क्षेत्रमा पर्न थालेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिमको सूचीमा राखेसँगै एकातिर त्रास सिर्जना भएको छ भने अर्कोतिर नेपाली उपभोक्ता आत्तिएको अवस्था छ । विश्व स्वाथ्य संगठनले सूचना जारी गरेको छ भने छिमेकी मुलुक र युरोपियन देशमा पनि पछिल्लो समय कोरोना भाइरसले आतंक मच्चाएको छ । कोरोना संक्रमणबाट सचेत हुनु हाम्रो लागि अति नै आवश्यक छ तर अहिले जसरी सामाजिक सञ्जालमा मनोत्रासमा पार्ने गरिएको छ यो आतंक फैलाउने काम भयो । यदि सामाजिक सञ्जालमा कोरोनाको बारेमा लेख्न मन छ भने कसरी बच्ने, कुन कुन कुरामा ध्यान दिनु जरुरी छ भन्ने जस्ता सन्देश दिउँ । आम नागरिकलाई हतासमा ल्याउने खालका सन्देश दिएर आतंकित पार्ने काम भएको छ यसमा सरकारले अनुगमन गरेर कारबाही गर्नुपर्छ । अग्रिम तयारीका विषयमा सिकाउनु, बुझाउनु र जानकारी दिनु दायित्व हो तर आतंक फैलाउनेलाई कारबाही गर्नुपर्छ । अहिले गाउँगाउँमा मानिस धेरै त्रसित भएको अवस्था छ । कारोना लागेपछि ठाउँका ठाउँ मरिन्छ भन्ने सन्देश गएको छ । यसलाई चिर्नका लागि गाउँ गाउँमा प्रभावकारी बन्ने मिडियामार्फत जनचेनात्मक सूचना दिनुपर्छ । सुरक्षित कसरी रहन सकिन्छ, कोरोना लागि हाले के गर्ने भन्ने जस्ता सन्देश दिनु जरुरी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सो मातहतमा रहेको स्वास्थ्य विभागको भूमिका बढाउनु जरुरी देखिएको छ ।
अर्काेतर्फ बजारमा दैनिक उपभोग्य सामग्री अभाव छैन । अफवाह फैलाएर कृत्रिम अभाव सिर्जना गर्न खोज्नेलाई सरकारले कारबाही गर्नुपर्छ । अप्ठेरो परेको बेला सहयोग गर्ने भन्दा कालोबजारी गर्ने प्रचलन हाम्रो नेपाली समाजमा बढ्दै गएको छ । यसलाई चिर्न सरकारले अनुगमन बढाउने र तत्काल कारबाही गर्नुपर्छ यसमा निजी क्षेत्रको साथ छ ।
हामीले यसै साता चेम्बरमा निजी क्षेत्र र सरकारको संयुक्त पहलमा बजारको अवस्था जानकारी गराएका थियौं । बजारमा पर्याप्त सामग्री छ भन्ने सूचना हामीले दिइसकेका छौं । बजारमा अभाव हुनसक्ने आंशकामा उपभोक्ताले चामल, ग्यास, दाल, तेल र नुनलगायतका अत्यावश्यक भन्डारण गरेर राख्न जरुरी छैन ।