भीम गौतम
बुधवार, फाल्गुन २८, २०७६
538

 

प्रमुख कार्यकारी अधिकृत, एसजेभीएन अरुण–३ डेभलपमेन्ट कम्पनी

२२ वर्षदेखि जलविद्युत् क्षेत्रमा सक्रिय अरुण धिमान नेपालमा निर्माण भइरहेको सबैभन्दा ठूलो नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी एसजेभीएन अरुण–३ डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । भारतको हिमाञ्चलस्थित रामपुरमा जलविद्युत् आयोजना निर्माणमा संलग्न भएर लामो अनुभव बटुलेका उनी २०२२ को सेटेम्बरसम्ममा अर्थात् लक्ष्यअनुसार नै आयोजना निर्माण सम्पन्न हुनेमा ढुक्क छन् । कम्पनीका अध्यक्ष नन्दलाल शर्माले दैनिक रूपमा आयोजनामा भएको प्रगतिको अनुगमन गरी नजिकबाट नियालिरहेको तथा आवश्यक सुझावसमेत दिइएकाले आयोजना दु्रतगतिमा अघि बढेको उनी बताउँछन् । सरकारले सुरक्षा प्रबन्ध गरेको र लगानी बोर्डले सहजीकरण गरिरहेको तथा प्राकृतिक रूपमा आउने बाहेकका अन्य जोखिम कम भएकाले आयोजना दु्रतगतिमा अघि बढ्ने उनी बताउँछन् । हिमाञ्चल र नेपालको जलविद्युत् को विकासक्रम, अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणको अवस्था, यसका चुनौती र समस्या तथा यसबाट नेपालले लिने फाइदाबारे कारोबारकर्मी भीम गौतमले गरेको संक्षिप्त कुराकानी : 

तपाईसँग भारतमा जलविद्युत् आयोजना निर्माणको लामो अनुभव छ । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणमा संलग्न भएपछिको नेपालको जलविद्युत् क्षेत्रबारे तपाईंको अनुभव के छ ?
नेपाल एउटा ठूलो जलविद्युत् उत्पादनको सम्भावना भएको देश हो । म भारतको हिमाञ्चल प्रदेशबाट आएको हुँ । त्यहाँ र यहाँको समान अवस्था छ । त्यहाँ पनि धेरै जलविद्युत् को सम्भावना थियो । धेरै निर्माण पनि भइसकेका छन् । यस्तै नेपालमा पनि छ । यो नेपालका लागि सुनौलो अवसर हो । यो रोजगारी सिर्जनाका साथै वातावरण, सामाजिक, आर्थिक तथा सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण अवसर पनि हो ।

नेपाल र हिमाञ्चलबीचको विकासक्रममा केही फरक देख्नुभएको छ ?
हिमाञ्चलमा हामीले पहिल्यै जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न गरिसकेका छौं । १५ सय मेगावाटको नाथमा झाक्री लगायतका थुप्रै आयोजना सम्पन्न भइसकेका छन् । नेपालमा भने धेरै आयोजना बन्न बाँकी छन् । यसको अभाव छ । त्यसकारण नेपालमा जलविद्युत् आयोजनाहरू हामीले निर्माण सुरु गरेका हौं । अन्य जलविद्युत् आयोजना निर्माणका लागि हाम्रो कम्पनीका अध्यक्ष, ऊर्जामन्त्री लगायतले पनि कुरा गरिरहनुभएको छ । हामीले अवसर पायौं भने त्यो सम्पन्न गर्न सक्छौं । हिमाञ्चलमा गत १५ वर्षदेखि निजी क्षेत्रलाई सरकारले आयोजना पनि दियो तर ती सम्पन्न हुन सकेनन् । विद्युत् उत्पादन क्षमता छ तर लागत सोलारको कारण घट्न थालेको अहिले बजार र घट्दो लागत समस्या छ । यसलाई दृष्टिगत गरी हिमाञ्चल सरकारले निःशुल्क ऊर्जाको प्रावधानमा केही परिवर्तन गरेको छ । केही सहुलियत दिएको छ । १० वर्षसम्मका लागि ४ प्रतिशत मात्र निःशुल्क ऊर्जा दिए हुने व्यवस्था गरेको छ । त्यसपछि बढ्दै जाने व्यवस्था गरिएको छ । ४ प्रतिशत, १० प्रतिशत, १५ प्रतिशत, २० प्रतिशत र २५ प्रतिशतसम्म निःशुल्क ऊर्जा दिने व्यवस्था गरिएको छ । विकासकर्ताले यसलाई अंगीकार गर्नसक्ने अवस्था छ । जलविद्युत्मा सुरुको अवस्थामा प्रतिफल कम हुन्छ । सन् २००८ तिर प्रतियुनिट ७-७.५० बिक्री थियो । अहिले ३-३.१५ रुपैयाँमा आएको छ । जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतको बिक्री दर धेरै घटेको छ । तर पनि जलविद्युत् आयोजना निर्माणले अर्थतन्त्रलाई बलियो बनाउन ठूलो भूमिका खेल्छ । हिमाञ्चल क्षेत्रमा जलविद्युत् विकासले अर्थतन्त्रमा ठूलो योगदान दिएको छ । जलविद्युत्बाट आर्थिक समृद्धि हुन्छ भन्ने कुरालाई नेपाल सरकारले पनि विश्लेषण गर्नुपर्छ ।

नेपालमा जलविद्युत् आयोजनाप्रति नकारात्मक मानसिकता धेरै देखिन्छ । विगतमा हिमाञ्चलमा जलविद्युत्बारे त्यहाँका धारणा कस्तो थियो । नेपालमा जलविद्युत्मैत्री मानसिकता कसरी बनाउन सकिने अवस्था देख्नुभएको छ ?
पहिला गैरसरकारी संघसंस्था, वातावरणको मुद्दालगायतका कारणले जलविद्युत् आयोजनाबारे गलत मानसिकता थियो । विरोध पनि थियो तर वातावरण संरक्षणका लागि जति जंगल काटिन्छ, त्यसको दोब्बर रोप्ने व्यवस्था पनि छ । जलविद्युत् आयोजना निर्माण गर्दा वातावरण मात्र विनाश हुन्छ भन्ने विगतको मानसिकताबाट यसले वातावरण संरक्षण पनि गर्छ भन्ने मानसिकतामा हिमाञ्चल क्षेत्रका बासिन्दा आएका छन् । उनीहरूले यसबाट हुने आर्थिक फाइदाबारे पनि थाहा पाए । हिमाञ्चलको रामपुर क्षेत्रमा निर्माण भएका आयोजना हुने, झाक्री आयोजना नै होस्, यसले यस क्षेत्रको प्रतिव्यक्ति आम्दानी पनि धेरै बढायो । समुदायको विकास पनि भयो । कुनै क्षेत्रको केही विकास भएपछि यसप्रतिको मानसिकता पनि बढ्ने रहेछ । जलविद्युत् आयोजनालाई बढी वातावरणमैत्री रूपमा विकास गर्दा यसले सकारात्मक धारणा बन्नु पनि स्वाभाविक हो । नेपालमा पनि यही कुरा बुझाउनु जरुरी छ । नेपालमा पनि जलविद्युत् आयोजनाले वातावरण विनास गर्दैन, यसले आर्थिक विकासमा ठूलो योगदान पु-याउँछ भन्ने चेतना पु-याउनु जरुरी छ । जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न हुँदै गएपछि आफसेआफ यसप्रतिको धारणा पनि सकारात्मक हुँदै जान्छ । आयोजनाबाट देश र जनतालाई हुने फाइदाले जनतामा जलविद्युत् बुझ्न सहज हुन्छ, जलविद्युत्मार्फत हुने आर्थिक समृद्धिबारे बुझेपछि त अझ सकारात्मक धारणा बढ्दै जान्छ ।

अब अरुण तेस्रोकै कुरा गरौं । अहिले यो आयोजनाको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
लगभग २८ प्रतिशत जति आयोजनाको काम सम्पन्न गरिसकेका छौं । बाँध, सुरुङ र विद्युत्गृहको काम भटाभट भइरहेको छ । यो वर्षको अन्त्यसम्ममा टर्बाइन, जेनेरेटर लगायतका मेसिनसमेत आइसक्छन् । ११ किलोमिटरमध्ये हालसम्म ३ किलोमिटर जति सुरुङ निर्माण पनि सम्पन्न गरिसकेका छौं । चारवटा अडिट सुरुङ निर्माण गरेर मुख्य टनेलको काम अघि बढाउन लागेका छौँ । रक कमजोर भएको कारण सुरुङमा केही समस्या भने देखिएको छ । यो प्राकृतिक प्रक्रिया भएकाले अघि बढ्छ । हामीलाई के विश्वास छ भने लक्षित समयभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्छौं । हालै वित्तीय व्यवस्थापनको काम पनि सकिसकिएको छ । आर्थिक व्यवस्थापनको पनि समस्या समाधान भएको छ । अब द्रुतगतिमा जलविद्युत् निर्माणको काम अघि बढ्छ ।

आयोजना निर्माणको क्रममा केही जोखिम र चुनौती देख्नुभएको छ ? ति कस्ता किसिमका छन् ?
जलविद्युत् निर्माणका लागि प्रकृतिसँग जुध्नुपर्छ । सुरुङ निर्माण भइरहेको देख्नुभयो । ड्राइभर्सन सुरुङ बनाएर भए पनि बाँध निर्माणको काम अघि बढाएको पनि तपार्इंले देख्नुभयो । त्यहाँ प्रकृतिसँग जुध्नुपर्छ तर हामीसँग त्यसलाई जुँधेर निर्माण गर्ने अनुभव छ । हामीसँग यसका लागि प्राविधिक ज्ञान छ । हामी यसको आधारमा समाधान गर्न पनि सक्षम छौँ । अर्को कुरा आयोजनाका लागि आवश्यक विभिन्न उपकरण ल्याउनका लागि समस्या भने छ । ति सामान ल्याउनका लागि अहिलेको सडक मार्ग साँघुरो छ । कोसी राजमार्ग पनि साँघुरो छ । यसलाई चौडा बनाउनुपर्नेछ । त्यसपछि खाँदबारीदेखि दोभानसम्मको सडकलाई समेत स्तरोन्नति गरेर आवश्यक सामग्री लैजानका लागि सहज बनाउनुपर्ने आवश्यकता छ । वर्षामा उपकरण र सामग्री लैजान समस्या हुने अवस्था छ । ट्रकबाट सामान लैजानका लागि सडक उपयुक्त हुनु आवश्यक छ । यसका लागि सरकारलाई पनि भनेका छौँ । हामीले पनि यसमा लगानी गरेर आयोजना निर्माणमा सहजीकरण गर्ने विचारमा छौं । हामीले अहिले निर्माण गरेर पछि सरकारबाट फिर्ता ल्याउने गरी निर्माणका लागि पहल भइरहेको छ । सरकारले बनाऊ भनेमा पछि एडजष्ट हुने गरी हामी निर्माण गर्न पनि तयार छौं । सडककै कारणले परियोजना पछि धकेलिन जाने समस्यालाई दृष्टिगत गरेर यसका लागि प्रस्ताव गरेका हौं । वर्षामा सडक राम्रो बनाउन नसकिए यसले आयोजना ५-६ महिना ढिलो हुनसक्छ ।

के आयोजनामा सामाजिक आर्थिक जोखिम र चुनौती पनि देख्नुभएको छ ?
मेरो अनुभवमा अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण क्षेत्रमा रहेका जनता धेरै समझदारी र सहयोगी छन् । उनीहरू पनि समयमै जलविद्युत् आयोजना निर्माण सम्पन्न होस् भन्ने चाहान्छन् । गाउँपालिका, गाउँपालिकाका अध्यक्ष लगायतले पनि हामीलाई सहयोग गरिरहनुभएको छ । हामीले आफ्नोतर्फबाट स्थानीय निकायलाई पनि सक्दो सहयोग गरेका छौं ।

कहिले काहीं जलविद्युत् आयोजनामा बम विष्फोटका घटना पनि भइरहेका छन् । यसमा सरकारको तर्फबाट कतिको सुरक्षाका लागि सहयोग भइरहेको छ ?
केही घटना भएका छन् र केही सुरक्षाको जोखिम पनि छ । ६-७ विष्फोटकका घटनाहरू पनि भइसकेका छन् । तैपनि कामहरू अघि बढेका छन् । हामीले सुरक्षाका लागि सरकारसँग अनुरोध गरेकोमा सरकारले सशस्त्र प्रहरी बलसहितको सुरक्षा पनि राखेको छ । बम विष्फोटका घटनाले मानसिक रूपमा तनाब त हुन्छ । काम गर्ने कामदारमा पनि समस्या हुन्छ । गत वर्ष भएको विष्फोटको कारणले गर्दा ३-४ महिना काममा ढिलाइ हुने अवस्था पनि आयो । अहिले सरकारले सुरक्षाको व्यवस्था गरेपछि मनौवैज्ञानिक रूपमा समेत उनीहरूमा काम गर्दाको सन्तुष्टि बढेको देखिन्छ ।

आयोजनाको मुआब्जा वितरणमा समेत समस्या भएको देखिएको छ । यो के कारणले हो र कसरी समस्या समाधान गर्दै हुनुहुन्छ ?
जहाँसम्म झ्याऊकुटीदेखि विद्युत्गृहको सडक निर्माणका लागि जग्गाको मुआब्जाको समस्या छ, यसमा सरकार र जसले यसबारे कुरा गर्नुभएको छ, उहाँहरूबीचको कुरा हो । यसमा सरकारले पनि आफ्नो कदम उठाएको छ । यसमा केही रुटको समस्या देखिएको छ । यसमा लगानी बोर्डले काम गरिरहेकोले समस्या समाधान होला भन्ने अपेक्षा गरेका छौँ ।

आयोजनाहरूमा देखिएको समस्या समाधानका लागि लगानी बोर्डले कसरी सहजीकरण गरिरहेको पाउनुभएको छ ?
जुन किसिमले लगानी बोर्डले हामीलाई सहजीकरण गरिरहेको छ, यसमा हामी खुसी छौं । प्रशंसनीय छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पनि हामीलाई ठूलो सहायता गरिरहनु भएको छ । यसले निरन्तरता पाउने छ भन्ने अपेक्षा पनि गरेका छौँ ।

नेपालको फाइदाको दृष्टिकोणले हेर्दा अरुण तेस्रोको महत्व किन र के छ भन्ने तपाईंलाई लाग्छ ?
यो एउटा निर्माण निर्माणाधीन आयोजनामध्ये सबैभन्दा ठूलो हो । यसमा झण्डै १ खर्ब ४० अर्बभन्दा बढी लगानी हुँदैछ । यसले नेपालको अर्थतन्त्र वृद्धि गर्न सहयोग पनि पु-याउँछ । यो राष्ट्रिय गौरवको आयोजना पनि हो । नेपाल सरकारले पनि यसलाई दु्रत गतिमा विकास होस् भन्ने चाहेको छ । आयोजनामा कार्यरत पनि धेरै नेपाली छन् । अहिले बाँध र विद्युत्गृहतिर जाने हो भने ६०-७० पसल पनि देखिन्छ । स्थानीयबासीकै ४० भन्दा बढी सवारी साधान पनि भाडामा लिइरहेका छौं । त्यहाँबाट पनि राम्रो आम्दानी भइरहेको छ । यो अप्रत्यक्ष रोजगारी सिर्जना हो । समुदायका लागि समेत हामीले धेरै सहयोग गरेका छौं । विद्यालय, स्वास्थ्य केन्द्र लगायतलाई पनि सहयोग गरेका छौं । आयआर्जनमा पनि सहयोग गरेका छौं । यसबाट धेरै स्थानीयबासी लाभान्वित पनि भएका छन् ।

आर्थिक दृष्टिकोणले हेर्दा नेपालले यसबाट के फाइदा लिन सक्ने अवस्था छ ? कसरी ?
२५ वर्षको आयोजना अवधिमा राजस्वबाट मात्र ठूलो फाइदा लिन सक्ने अवस्था छ । राजस्व, कर, निःशुल्क ऊर्जा लगायतबाट मात्र प्रत्यक्ष ३ खर्ब ३४-३५ अर्ब नेपालले पाउनेछ । निर्माण सुरु भएको एक वर्षअघि र अहिलेको अवस्थामा स्थानीयबासीले पाएको फाइदा धेरै देख्न सकिन्छ ।
भविष्यमा अरुण तेस्रो निर्माणको मोलाडिटीले अन्य नेपाली परियोजनालाई के कस्तो पाठ सिकाउन सक्ने देख्नुभएको छ ?
नेपालका धेरै क्षेत्रमा नयाँ जलविद्युत् आयोजनाहरू निर्माण भइरहेका छन् र उत्पादनको क्रममा छन् । यसमा जनताको सहभागिता महत्वपूर्ण हुन्छ तर कम भएको देखिन्छ । यस आयोजनाले स्थानीयबासी, स्थानीय व्यापारी समूह तथा अन्य आयआर्जनका लागि राम्रो प्याकेजको व्यवस्था गरेको छ । त्यसैगरी अहिले अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गरिरहेका जनशक्तिले पनि आगामी दिनमा दक्षतापूर्ण तरिकाले जलविद्युत् आयोजनाहरू निर्माण गर्न सक्छन् । २५ वर्षसम्म यो जलविद्युत् आयोजना सञ्चालन हुँदा धेरै कुरा नेपालीले सिक्न सक्छन् । यसले नेपालको जलविद्युत्को बजारीकरणका लागि पनि सहयोग पु-याउँछ । यसमा निःशुल्क ऊर्जा दिइएको छ । स्थानीयबासीलाई पनि निःशुल्क ऊर्जा दिने योजना छ । अन्य जलविद्युत् आयोजनाले पनि यसबाट पाठ सिकेर आयोजना निर्माण गर्न सक्नेछन् ।

अरुण तेस्रो जलविद्युत् आयोजनापछि के सतलज कम्पनीले अन्य आयोजना निर्माण गर्ने सोच बनाएको छ ? तल्लो अरुणको प्रतिस्पर्धामा सहभागी हुनभएको छ, यसको सम्भावना कत्तिको देख्नुभएको छ ?
हो, तल्लो अरुण जलविद्युत् आयोजना निर्माणमा चासो छ । लगानी बोर्डले आह्वान गरेकोमा सतलज कम्पनीले यसमा आवेदन पनि दिएको छ । अहिले यसका लागि सतलजसहित तीन कम्पनीको नाम छोटो सूचीमा परेको छ । तर केही प्रावधानका कारणले यसबाट ब्याक आउनुपर्ने अवस्था छ । यसमा सरकारले २० प्रतिशत निःशुल्क ऊर्जाको कुरा ल्याएको छ । त्यसअनुसार आयोजना अघि बढाउन गाह्रो छ । अहिले जलविद्युत् उत्पादन र यसको बजारीकरणको कुरामा धेरै परिवर्तन भइरहेको छ । यसबारे विश्लेषण गरिरहेका छौं । हामीले यसको प्रावधानमा परिवर्तनका लागि अनुरोध पनि गरिरहेका छौ । यसको समयावधिका साथै अन्य सहुलियतका लागि पनि अनुरोध गरेका छौँ । परियोजनालाई लगानीयोग्य बनाउनका लागि अहिले भएका प्रावधानका केही न केही सुधार आवश्यक छ । लगानीयोग्य परियोजना नभए त कोही पनि लगानीकर्ता आउँदैनन् ।