मनोरञ्जन शर्मा
शुक्रवार, फाल्गुन १६, २०७६
635

प्रस्तावित लुम्बिनी प्रदेश (हाल प्रदेश नम्बर ५) कृषि, पर्यटन, उद्योगका लागि नेपालकै उत्कृष्ट प्रदेश रहेको छ । अन्तर्राष्ट्रियस्तरमा सबैको ध्यानआकृष्ट गर्न सफल सम्पदा बुद्धजन्मस्थल लुम्बिनी, बाघका लागि उत्कृष्ट क्षेत्र बर्दिया निकुञ्ज, भारतको रानीमहलको झल्को दिने पाल्पाको रानी महल, कपिलवस्तु लगायतका स्थानमा भएका बुद्धस्थलहरू, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वाधार निर्माणसम्बन्धी सिमेन्ट र छडलगायत अन्य ठूला उद्योग, नेपाल भारतको सबैभन्दा ठूलो स्थल नाका बेलहिया–भैरहवा लगायतका कारणले यो प्रदेश आफैंमा महत्वपूर्ण छ । प्रदेशले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाइरहेको छ । प्रदेशको उद्योग, पर्यटन वन, तथा वातावरणमन्त्री लिला गिरिसँग कारोबारकर्मी मनोरञ्जन शर्माले जारी भ्रमण वर्ष, यस क्षेत्रको पर्यटन तथा औद्योगिक विकासलगायतका विषयलाई समेटी गरेको कुराकानीको सार :

लुम्बिनी भ्रमर्ण वर्ष २०७६ अन्तिमतर्फ पुगेको छ । कस्तो रह्यो प्रतिफल ?
वास्तवमा हामीले लुम्बिनी भ्रमण वर्ष भनेर प्रदेश स्थापना भएको पहिलो वर्ष नै सुरुवात गरेका हौं । यो कार्यक्रमलाई लिएर धेरैमा कौतुहलता तथा उत्सुकता रह्यो । २०७६ सालको बुद्ध पूर्णिमाका दिन भव्यतापूर्वक यो कार्यक्रम सुरु भयो । कस्ता कार्यक्रम आयोजना भए, कति पर्यटक आए भन्ने उत्सुकता सबैमा छ । समग्रमा हामीले यस्ता भ्रमण वर्ष कार्यक्रमको आयोजना गर्नु भनेको लुम्बिनीको प्रचारात्मक अभियान हो । लुम्बिनी यहाँ छ, बुद्ध जन्मस्थलसँग सम्बन्धित क्षेत्रहरू यी यी छन् भनेर स्वदेश या विदेशमा चिनाउनु नै लक्ष्य थियो । यो एउटा प्रचारात्मक अभियान थियो । कार्यक्रममै हामीले चारवटा नयाँ कार्यक्रमहरू ल्यायौं । पहिलो बुद्धले ज्ञान प्राप्त गर्नुअघि सुजाता नामक महिलाले खुवाएको खीर जो पछि सुजाता खीरको नामले चिनियो, त्यस्लाई सुजाता खीरको नाममा खीर उत्सव ग-यौं, अर्को कुरा बुद्धको सिद्धार्थको रूपमा लुम्बिनीमा जन्म भएपछि आमा मायादेवीलाई घर कपिलवस्तु फिर्ता लगिँदाको स्मरण गर्दै मायादेवी सुत्केरी उत्सव कार्यक्रम आयोजना गरियो । प्रत्येक पूर्णिमाका दिन बुद्ध जीवनीमा आधारित स्थलमा फुल मुन डेको रूपमा कार्यक्रम ग-यौं । त्रिपिटक वाचन कार्यक्रम आयोजना भयो । समग्रमा लुम्बिनी भ्रमण वर्ष प्रचारात्मक अभियानसँगै केही नयाँ कार्यक्रम ग-यौं । यी नयाँ कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिने सोच पनि बनाइएको छ । अर्को कुरा भ्रमण वर्ष सुरुवात घोषणा हुनुभन्दा अघि निर्माण सुरु भएको भैरहवा–लुम्बिनी सडक खन्डको निर्माण अझै जारी छ । जसका कारण पर्यटकहरूले कष्टकर यात्रा गर्दै लुम्बिनी पुगेका छन् । यो आस्थाका कारणले हो । समग्रमा लुम्बिनी भ्रमण वर्ष सफल रूपमा अघि बढेको कार्यक्रम हो । यस वर्षको चैत्र पूर्णिमाका दिन यो कार्यक्रमको समापन हुनेछ ।

आन्तरिक र बाह्य प्रचार अभियान कस्तो रह्यो ?
लुम्बिनी भ्रमण वर्ष २०७६ मा प्रचारात्मक अभियान निकै राम्रो रह्यो । भ्रमण वर्षको सुरुवातअघि नै सिद्धार्थ होटल संघ नेपाल (सान)को नेतृत्वमा भैरहवाबाट सडक प्रदर्शन कार्यक्रममार्फत तीन चरणमा कार्यक्रम सम्पन्न भयो । पहिलो चरणमा भैरहवा, बुटवल, पाल्पा, स्याङ्जा, पोखरा, तनहँु, धादिङ, काठमाडौंमा । दोस्रो चरणमा नवलपरासीबाट सुरु गरी नवलपुर, चितवन, हेटौँडा, वीरगन्ज, बर्दिबास, जनकपुर, लाहान, इटहरी, धरान, भेडेटार, विराटनगर, बिर्तामोड, धुलाबारी, काकडभित्ता, भद्रपुर, इलाम (फिक्कल) । तेस्रो चरणमा बुद्ध जन्मस्थल लुम्बिनीबाट सुरु भई तौलिहवा, चन्द्रौटा, लमही, नेपालगन्ज, धनगढी, महेन्द्रनगरसम्म प्रचारात्मक अभियानमार्फत लुम्बिनी भ्रमण वर्ष २०७६ मा बुद्धस्थल लुम्बिनीमा स्वागत छ भ्रमण गर्न आउनुहोस् भन्ने अभियान सफलतापूर्वक सम्पन्न भयो । भ्रमणका क्रममा त्यहाँका स्थानीय तहलाई निमन्त्रणा दिइएको थियो । त्यसैगरी सातै प्रदेशमा पत्रकार सम्मेलन आयोजना भयो । त्यस्तै बाह्य प्रचारमा भारतको बोधगयामा सिद्धार्थ होटल संघकै नेतृत्वमा त्यहाँ आयोजना भएको बौद्ध ट्राभल मार्टमार्फत प्रचारात्मक अभियान भयो । त्यसैगरी निजी क्षेत्रकै सहकार्यमा दिल्ली, मुम्बई लगायतका स्थानमा भएका पर्यटन मेलामा पनि प्रचारात्मक अभियान पनि गरियो । त्यसैगरी चीनको सिचुआन प्रान्तलगायतका धेरै प्रान्तमा प्रचारात्मक अभियान भयो । यसै महिनाको पहिलो साता ३ टोली बनाई फेरि देशका तीन क्षेत्र पूर्व, पश्चिम र मध्यमा प्रचारात्मक अभियान सम्पन्न भएको छ । समग्रमा प्रचारात्मक अभियान पनि राम्रै रह्यो भन्ने मेरो बुझाइ छ ।

प्रदेश सरकारले लुम्बिनी प्रवद्र्धनका लागि कस्तो कस्तो कार्यक्रम ल्याउँदैछ ?
लुम्बिनी विकाश कोषलाई संघीय सरकारले आफ्नो मातहतमा राखेको छ । त्यहाँको विकास आयोजना, सञ्चालक समिति, विकासको परियोजना साथै लुम्बिनीसँग जोडिएका सबै स्थलमा त्यहाँ केही गर्न खोज्दा पुरातात्विक महत्वका स्थलहरू तिलौराकोट, कुदान, देवदह, सग्रहवा, निग्लीहवा, रामग्राम लगायतका स्थानमा त्यसै केही गर्न मिल्दैन भन्ने कुरा आउँछ । कुरा ठिकै पनि हो । त्यस्ता महत्वपूर्ण सम्पदाहरू जो पुरातात्विक महत्वका स्थलहरू छन् । तिनीहरूको उत्खनन, विकास योजनाबद्ध तरिकाले हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यस्ता स्थलहरूको महत्व उजागर गर्नुपर्छ । आवश्यक परे जग्गा अधिग्रहण गरेर भए पनि ति क्षेत्रको विकास हुनुपर्छ । लुम्बिनीको विकाशका लागि हामी मिलेर काम गर्न तयार छौं संघसँग । प्रवद्र्धनात्मक कार्यक्रम निरन्तर आयोजना गर्छौं ।

प्रदेश सरकारले लुम्बिनीको विकासका लागि आफू मातहत ल्याउन पहल किन गर्दैन ?
हामीले बारम्बार भन्दै आएका छौं, यो सञ्चार माध्यमबाट पनि भन्न चाहान्छु, लुम्बिनी विकास कोषलाई जसरी सञ्चालन गर्नुपर्ने हो र यी सबै स्थललाई व्यवस्थित गर्न र स्थानीय रूपमा त्यसको निगरानी गर्न र नजिकबाट त्यसको अभिभावकत्व प्रदान गर्ने गरी संघीय प्रदेश र स्थानीय सरकारको उपस्थितिमा संलग्न यी स्थलहरू सञ्चालन हुनु पर्दछ, व्यवस्थापन हुनु पर्दछ भन्ने हाम्रो माग हो । लुम्बिनीलाई प्रदेश सरकार मातहत दिए अझ राम्रोसँग विकासको गतिविधि अघि बढ्छ भन्ने हाम्रो धारणा हो । तर संघअन्तर्गत लुम्बिनी छ भनेर हामी आफ्नो दायित्वबाट पन्छेका पनि छैनांै । संघ सरकारको कार्यक्रम चलिरहे पनि हामीले पनि आफ्नो तर्फबाट काम गरेका छौँ । लुम्बिनी विकास कोष परिधि बाहिरको सडक अहिले प्रदेश सरकारले निर्माण गर्दैछ । त्यसैगरी लुम्बिनी भ्रमण वर्ष २०७६ पनि हामीले जिम्मेवारीबोध गरी आयोजना गरेको कार्यक्रम हो । त्यसैगरी क्रकुछन्द मुनि बुद्ध र कनकमुनि बुद्धको मूर्ति उहाँहरूको ततस्थलमा निर्माण गरी राख्ने गरी बजेट छुट्याएका छौँ । यसै आर्थिक वर्षभित्रै सम्पन्न गर्ने योजना छ । लुम्बिनी संघीय सरकार अन्तर्गत रहे पनि हामी हाम्रो जिम्मेवारी बोधबाट पछि हटेका छैनौं । प्रवद्र्धन र विकासमा लागिपरेका छौं ।

लुम्बिनीलाई कसरी परिभाषित गर्नु हुन्छ ?
लुम्बिनी विश्वभरिको एक महत्वपूर्णस्थल हो । नेपाललाई विश्वमा चिनाउने भनेकै सगरमाथा र लुम्बिनी हो । विश्वभरका पर्यटकलाई लुम्बिनीमा आकर्षित गर्ने सम्भावना भएको ठाउँ हो । दुनियाभरबाट धेरै पर्यटक आउने सम्भावना बोकेको ठाउँ हो लुम्बिनी । लुम्बिनीमात्र नभई वरपरका अन्य पर्यटकीय स्थललाई पनि लुम्बिनीसँग कनेक्टीभिटी गर्नुपर्छ । विश्वको महत्वपूर्णस्थान मध्ये लुम्बिनी पनि एक हो ।

मन्त्रालयमा पर्यटन योजनाको खाका के छ ?
पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजना निर्माणका लागि हामी लागिपरेका छौं । पर्यटन क्षेत्रमा जाने बाटाहरू बनाउनु पर्छ, त्यो महत्वपूर्ण कुरा हो । हामीसँग बुद्ध जन्मस्थल लुम्बिनी छ । रुरु, रेसुंगा, सुपादेउराली, वागेश्वरी, स्वर्गद्वारी, पाणिनी तपोभूमिजस्ता धार्मिकस्थल छन् भने सांस्कृतिक र पर्यटकीय महत्वले पाल्पाको रानीमहल, अत्यन्तै मनोरम पहाडीस्थल सिस्ने हिमाल, बाँके बर्दिया निकुञ्ज, बुद्धस्थलहरू छन् । ती सबै स्थलहरूको प्रवद्र्धन तथा विकास गरी लुम्बिनी आएका पर्यटकलाई ति सबै स्थलमा भ्रमणका लागि पु-याउन सकिने गरी काम गर्ने योजना छ । यो सबै काम गर्न निजी क्षेत्रसित सहकार्य गरी अघि बढ्ने र यसका लागि आवश्यक जनशक्तिसमेत तयार गर्ने हाम्रो लक्ष्य छ ।

बजेट विनियोजनमा कुन स्थानमा छ पर्यटन क्षेत्रको बजेट ?
पर्यटन क्षेत्रलाई प्रदेश सरकारले निकै महत्व दिएको छ । बजेटको हिसाब गर्दा कुल बजेटको शीर्षकमा चौथो स्थानमा छ । प्रदेश सरकारको प्राथमिकतामा छ पर्यटन ।

भ्रमण वर्ष २०२० मा पनि खासै चहल पहल देखिएन नि ?
हामीले भ्रमण वर्षको सुरुवात बर्दिया निकुञ्जबाट ग-यौं । संघीय सरकारले आफ्नो स्तरबाट र हामीले आफ्नै किसिमबाट विभिन्न कार्यक्रममार्फत गरिरहेका छौँ । प्रदेशमा मुख्यमन्त्री संरक्षक र पर्यटनमन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्ष प्रदेशस्तरीय समिति बनेको छ, त्यही समितिले काम गरेको छ । निकै उत्साह छ । त्यहीअनुसार प्रचार पनि भएको छ । तर यो बीचमा धेरै पर्यटक आउने मुलुक चीनमा कोरोना भाइरस देखिएकाले त्यहाँबाट आउने पर्यटक संख्या प्रभावित हुने सम्भावना बढेको छ । तर पनि यसको विकल्पमा के गर्न सकिन्छ कसरी बढी पर्यटक ल्याउन सकिन्छ भन्नेमा हामी लागिपरेका छौँ ।

विदेशी र भारतीय पर्यटक आकर्षित गर्न के योजना छ ?
स्थलमार्ग हुँदै बढी पर्यटक भारतबाट आउने गर्छन् । जुन पर्यटक भारत हुँदै आउछन्, ति पर्यटकले अधिक खर्च भारतमै गर्छन् । पर्यटकले धेरै खर्च पहिलो भ्रमणस्थलमै गर्छन् । त्यसैले लुम्बिनी आउने पर्यटकले कम खर्च गर्ने वा एकै दिनमा फिर्ता जाने कारणमध्ये एक यो पनि हो । अहिले भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्नपछि सोझै पर्यटक आउनेछन् र त्यस्ता पर्यटकले खर्च पनि गर्छन् । पर्यटकका लागि पहिलो कुरा कनेक्टीभिटी हो । दोस्रो कुरा होटल हो । यो क्षेत्रमा निजी क्षेत्रले पर्यटकीयस्तरका देखि पाँच तारेसम्मका सुविधा सम्पन्न होटल निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्न पर्यटकीय गतिविधि बढी हुनुपर्छ, हाम्रो प्रयास त्यसमा छ । अर्को कुरा भारत पनि ठूलो आर्थिक वृद्धि हुँदै गएको देश हो । भारतका मानिसको आम्दानी बढ्दै गएको छ । उनीहरूको नजिकको घुम्न जाने रमणीय देश भनेकै हाम्रो देश हो । दिल्ली, लखनउ, वनारस, कानपुरजस्ता ठूला सहर हाम्रै प्रदेशनजिक पनि छ । तसर्थ, हामीले भारतमा प्रचार पनि गरिरहेका छौं, भारतीय पर्यटक आकर्षित हुनुहुन्छ भन्ने हाम्रो धारणा छ ।

भारतीय पर्यटकलाई भ्रमण सहज छैन भन्ने कुरा आएको छ नि ?
हामीले पर्यटनमैत्री अपनाउनु जरुरी छ । विगतमा पर्यटन व्यवसायमा हामी धेरै अभ्यस्त नभएका कारण समस्या आउने गरेका छन् । स्थलमार्गबाट आउने विदेशी पर्यटक भारतीयहरू हाम्रा अतिथि हुन् । अतिथि भनेको हाम्रा देवता हुन्छन् भन्ने जुन संस्कृति छ त्यसअनुसार व्यवहारमा देखाउने र कानुनी रूपमा परेका कतिपय अडचनहरू विस्तारै कानुुनी हिसाबमै फुकाउनु पर्छ भन्ने तर्फ हामी जानुपर्छ र हामीले संघीय सरकारलाई पनि यो कुरा राखेका छौं, हामी स्वयं पनि कसरी लचिलो हुन सकिन्छ भन्नेमा लागेका छौँ । कसरी भारतीय पर्यटकको यात्रा सहज हुन्छ, सुखद हुन्छ, त्यसतर्फ ध्यान दिएका छौँ ।

प्रदेशको औद्योगिक अवस्था के छ ?
प्रदेशको औद्योगिक अवस्था निकै राम्रो छ । ठूला उद्योगहरू यहाँ छन् । देशमा सिमेन्ट छडको आवश्यकता अनुसारको उत्पादन ३० प्रतिशतभन्दा बढी यहीं हुने गरेको छ । पर्यटनसँगै औद्योगिक क्षेत्रमा पनि प्रदेश राम्रो छ । अर्को कुरा प्रदेशमा हामी आफै औद्योगिक क्षेत्रहरू सञ्चालन गर्न चाहान्छौँ । बुटवल औद्योगिक क्षेत्र, निर्माणाधीन मोतिपुर र नौबस्ता औद्योगिक क्षेत्रलाई प्रदेश सरकारले आफै सञ्चालन गर्ने गरी प्रदेश सरकारले संघीय सरकारसँग माग पनि गरिरहेको छ । संघीय सरकारले सकारात्मक सोचाइ पनि राखेको छ यो विषयमा ।

लुम्बिनी करिडोरका उद्योगका कारण लुम्बिनी क्षेत्रको वातावरण प्रभावित भएको आवाज उठने गरेको छ ? कसरी सम्बोधन गर्नुहुन्छ ?
विगतको सरकारले दुरदृष्टि नराखी अनुमति दिएर उद्योगहरू स्थापना भए । उद्योगहरूको विषयमा अदालतले फैसला पनि गरेको छ । उद्योगहरू जसरी स्थापना भए उनीहरूको लगानी छ त्यसमा पनि सकारात्मक दृष्टिकोणले हेर्नुपर्छ । उहाँहरूलाई अवसर दिएर विस्तारै उद्योगहरू यो ठाउँबाट अर्को स्थानमा स्थानान्तरण गर्नुहोस् । तपार्इंहरूको यो ठाउँलाई पर्यटन व्यवसायको रूपमा परिणत गर्नुहोस् भनेर भनिरहेका छौं । उहाँहरूले बुभ्mनु पनि भएको छ । लामो समयसम्म यो स्थानमा उद्योग सञ्चालन गर्न सक्दैनौ भन्ने आभास उद्योगपतिहरूले गर्नु भएको छ । उद्योगको क्षेत्रको कुरा संघीय सरकारसँग भइरहेको छ । हामी यो समस्या समाधानका लागि लागेका छौं । करिडोरका उद्योगलाई अन्यत्र जग्गा उपलब्ध गराउने अथवा क्षतिपूर्ति प्रदान गर्ने काम संघीय सरकार या प्रदेश सरकारले गर्न सके उद्योगीहरू अन्यत्र निश्चित रूपमा जानुहुन्छ । स्थानान्तरण हुन्छ ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?
अहिले हाम्रो देशमा कृषि क्षेत्र महत्वपूर्ण क्षेत्र रहे पनि केही वर्षभित्र प्रधान अर्थतन्त्रको रूपमा पर्यटन क्षेत्रका रूपमा यो मुलुक रहनेछ । त्यसको विकासका लागि हामी लागिपरेका छौँ । तमाम सञ्चार क्षेत्र र नागरिक समाज, निजी क्षेत्रले पनि यो पर्यटन व्यवसायलाई अंगालेर त्यसको प्रचार प्रसार गरेर यसमा रहेका सम्भावनालाई नागरिकबीच पु-याएर पर्यटन क्षेत्रबाटै हामीले समृद्धि प्राप्त गर्नुपर्छ भन्न चाहान्छु ।