धर्मेन्द्र कर्ण
आइतवार, फाल्गुन ११, २०७६
1243

केही दिन नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारमाथि अख्तियारले मुद्दा दायर गर्दा संसद्मा नेपाली कांग्रेसले विरोध जनायो र सामाजिक सञ्जालमा त्यसको विरोध पनि भयो । पार्टीले त्यसलाई गच्छदारको व्यक्तिगत लडाइँ भनेर पाइला पछि हटायो । अहिले सत्ताधारी पार्टीका नेता तथा सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि एजेन्टसँग कुरोकानी गरेको अडियो सार्वजनिक भयो । सत्ताधारी पार्टीले मन्त्रीलाई राजीनामा गर्न लगायो वा मन्त्रीले भनेबमोजिम नैतिकताका आधारमा राजीनामा दिएको प्रसंग सार्वजनिक भयो । यसअघि विभिन्न पार्टीका विभिन्न नेताहरू भ्रष्टाचारमा दोषी भई जेलसजाय भोगिसकेका छन् । प्रहरीका ठूला ओहदाका शीर्षपदस्थ अधिकारीहरूले भ्रष्टाचारमा जेल सजाय भोगेका छन् । कर्मचारीतन्त्रका ओहदावाल पनि भ्रष्टाचारमा नफसेका भने होइनन् । राजनीतिक दलले इमानदार र निष्ठावान नेतृत्वको विकास गर्न नसकेको आमरूपमा अनुभव गर्न थालिएको हो । विगतको चुनावमा केही वैकल्पिक शक्तिहरू पनि होमिए । उनीहरूले अपेक्षित सफलता हात पार्न सकेन् । मूलधारका रूपमा कांग्रेस र कम्युनिस्ट शक्ति र मधेसमा मधेशवादी शक्ति नै अगाडि आएको देखियो । तर, भ्रष्टाचारबारे जनचासो बढेको पाइएको छ । हालै मात्र सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले पनि कम्युनिस्टले नैतिकता बिर्सिन लागेकोमा दुःख व्यक्त गरेको पाइएका बेला यिनै विषयमा विभिन्न व्यक्तिसँग कारोबारकर्मी धर्मेन्द्र कर्णले गरेको कुरोकानीको सार :

नेतृत्वको भ्रष्ट आचरणबाट आन्दोलनको प्रतिष्ठा धुमिल हुन पुग्यो
विक्रममणि त्रिपाठी
साहित्यकार
सत्ता र शक्तिको प्रभावमा परेर राजनीतिक दलका नेताहरूले राजनीतिलाई सिद्धान्त र निष्ठाको सेवा कर्म बनाउन असफल भएको देखिएका छन् । राजनीतिक दलका नेताहरू जसको विरुद्ध आन्दोलन गरे उनीहरूकै प्रभावमा फसेको देखियो । सत्तामा जाने र अकुत सम्पत्ति कमाउने ध्याउनमा परेका नेताहरूलाई कर्मचारीतन्त्रले आफ्नो अनुकूल प्रयोग गरेको देखियो । मनी, पावर र मसलको प्रयोग गर्न निर्वाचनमा गुन्डा नाइकेलाई नेता बनाउने चलन परम्परागत राजनीतिक दलका नेताहरूबाट हुने गरेको सबैका अगाडिको विषय हो । राजनीतिक दलका नेताहरूबाट समाजमा ठूलो घर र ठूलो गाडी प्रदर्शन गर्ने संस्कार स्थापित गर्ने काम भयो । यसबाट परम्परागत राजनीतिक दलका नेताहरूको संरचनागत निर्माणले समाजमा विकृतिको बढावा भयो । जसरी चुनाव जितेर सत्तामा जाने दृष्टिकोण पूरा गर्न तस्कर, गुन्डा र बिचौलियालाई प्रोत्साहन गर्ने समूहको प्रभावमा राजनीतिक दल रहेका छन्, उनीहरूले यो वा त्यो बाटो अपनाएर नेताहरूलाई कमिसनको लोभ–लालचमा फसाउने गरेपछि नेताहरू फस्ने गरेका छन् ।
जनताका लागि आन्दोलन गर्दा दुःख कष्ट बिर्सेर राजनीतिक दलका नेता भ्रष्ट हुन थाल्छन् । आमजनतामा पनि त्यस्तै व्यक्तिहरूलाई सघाउनुपर्ने भ्रम फैलिएको छ । त्यसको लाभ यस्ता भ्रष्टाचारीहरूले लिने गरेका छन् ।
इमानदार र निष्ठावान नेतालाई प्रोत्साहन गर्ने व्यवहार सत्ताधारी र प्रतिपक्षबाट नभएकाले वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा आन्दोलन पनि भएको देखियो । कांग्रेस र कम्युनिस्टको परम्परागत राजनीतिक शक्तिको विकल्पमा अर्को नयाँ शक्तिको निर्माण गर्नुपर्ने आवश्यकता पूरा गर्न मधेसमा आन्दोलन पनि भयो, तर मधेसको आन्दोलनका नेताहरू पनि भ्रष्टाचारको हिलोबाट आफूलाई जोगाउन नसकेको देखियो । संघीय समावेशी लोकतन्त्रको वकालत गर्दै शक्ति निर्माण गरेको मधेस आन्दोलनका शक्तिहरू सत्तामा जाने अकुत सम्पत्ति कमाउने कमाउ धन्दामा जाँदा आन्दोलनले जन्माएका केही नेतृत्वको भ्रष्ट आचरणबाट आन्दोलनको प्रतिष्ठा धुमिल हुन पुगेको हो । जनताले इमानदार नेतृत्वहरूले आफूहरूका लागि केही ठोस गरोस् भन्ने चाहन्छन्, तर नेतृत्वबाट हुन नसकेको देखिएको हो । राजनीतिक दलका नेताहरूले भ्रष्टाचारको विषयमा गम्भीर नहुने हो र त्यस अनुरूपका कानुन र प्रावधानहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन नगर्ने हो भने लोकतन्त्र नै खतरामा पर्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि राजनीतिक दलले नयाँ इमानदार विकल्प दिन तयार हुन सक्नुपर्नेछ । अन्यथा, दलको प्रादुर्भाव हुन बेर लाग्ने छैन ।

लोकतन्त्र संरक्षणका लागि युवा नेता जाग्नु प-यो
सुरेन्द्रकुमार झा
सहमहामन्त्री, राजपा
परम्परागत राजनीतिक दलमा भ्रष्ट आचरण भएका व्यक्तिहरूको बोलवाला भएको विषय सत्ताधारी पार्टीका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको बोली भएको अडियो सार्वजनिक भएबाट कुन हदमा छ त्यसको प्रदर्शन गरेको छ । नेपालका राजनीतिक दलका नेताहरू नेपाली राजनीतिको पोखरीबाट पौडी खेली आएकाले यसको प्रभावबाट राजनीतिक दल स्वच्छ तथा पवित्र भए भन्न सकिँदैन, तर जनताले स्वच्छ तथा पवित्र राजनीति खोजेका छन् । राजनीति सत्ताका लागि गरिने भए पनि राजनीतिक दलले सिद्धान्त, निष्ठा र आदर्शको राजनीतिलाई बढावा दिनुपर्ने आवश्यकता बोध जनताले गरेका छन् । त्यस्तो व्यवहार सत्ताधारी र प्रतिपक्षबाट नभएकाले वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्नुपर्ने आवश्यकता खोजियो । कांग्रेस र कम्युनिस्टको परम्परागत राजनीतिक शक्तिको विकल्पमा अर्को नयाँ शक्तिको निर्माण गर्नुपर्ने आवश्यकता पूरा गर्न मधेसमा आन्दोलन भयो । मधेसको आन्दोलनले संघीय समावेशी लोकतन्त्रको वकालत गर्दै शक्ति निर्माण गरेको हो । मधेस आन्दोलनका शक्तिहरू सत्तामा जाने अकुत सम्पत्ति कमाउने कमाउ धन्दामा जाँदा आन्दोलनले जन्माएका केही नेतृत्वको भ्रष्ट आचरणबाट आन्दोलनको प्रतिष्ठा केही इमानदार नेतृत्वहरूमा आइपुगेको हो । मधेस आन्दोलनमा आएका राष्ट्रिय नेतृत्वले वैकल्पिक राजनीति पार्टी निर्माण गर्ने मात्र नभई सिद्धान्त, निष्ठा, त्याग, बलिदान, योग्यता तथा क्षमताको कदर गर्ने विषयलाई जनस्तरमा स्थापित गराउने राजनीतिलाई अगाडि बढाउनुपर्छ ।
राष्ट्रिय जनता पार्टी विभिन्न पार्टीहरू मिलेर बनेको पार्टी हो । राजपा बनेपछि जनताले निर्वाचनको छोटो समयमा गरिएको निर्णयबाट ठूलै सम्मान दिएको छ । जनताले पार्टीले बलियो बनाउनुपर्ने जिम्मेवारी दिएको छ । पार्टी नेतृत्वले यसलाई ठोस रूपमा लिनुपर्ने छ । परम्परागत राजनीतिक दलले गर्ने व्यवहारबाट वैकल्पिक पार्टीको निर्माण बन्न सक्दैन । साथै संदिग्ध चरित्रको नेतृत्वले पार्टीलाई, राम्रो पार्टीलाई जनताले पत्याउने पार्टीको रूपमा विकास गर्न सक्दैन । पार्टीमा योग्यता, क्षमता र अनुभवको आधारमा नेतृत्वको विकास गर्ने परिपाटी अगाडि बढाउनुपर्छ ।
राजनीतिक क्षेत्रमा इमानदार, निष्ठावान, समर्पित खालको नेतृत्व विकास गर्नुपर्ने खाँचो छ । यसका लागि पार्टीभित्र युवाहरूले सक्रियता देखाउनुपर्ने आवश्यकता छ । यो देशमा लोकतन्त्र, गणतन्त्र र संघीयताका लागि आन्दोलन गर्ने शीर्ष नेतृत्वहरूको पछिल्लो व्यवहारले उनीहरूमा अकुत सम्पत्ति कमाउने र कमजोर निर्वाचन प्रणालीका आडमा सत्तामा पुग्ने मनसाय उजागर हुने गरेको छ । यो नेपाली राजनीतिको दुःखद पक्ष हो ।
हाम्रो संविधानको मर्म भनेको मल्टिपार्टी डेमोक्रेसी हो । यसमा राजनीतिक दल हुन्छन्, तर डेमोक्रेसीको मर्ममाथि आघात पुग्ने गरेको छ । राजनीतिक दलको नेतृत्वबाट पञ्चायतको परम्परागत कर्मचारीतन्त्रको कार्यशैली र व्यवहार परिवर्तन गर्ने प्रयास गरिएन । अहिले त झन् कर्मचारीतन्त्र गणतान्त्रिक शासन प्रणालीमा आइपुगेका छन् , तर पनि कर्मचारीतन्त्रको कार्यशैली पुरानै रह्यो । त्यो भनेको राजनीतिक नेतृत्वलाई रिझाउने, कमिसनको झेलमा ल्याउने र सम्पत्ति कमाउने प्रवृत्तिबाट कर्मचारीतन्त्रलाई हटाउन सकिएन । अहिले त संघीय गणतन्त्र आइपुगेको हो । कर्मचारीतन्त्रलाई संघ र गण वा जनताप्रति जिम्मेवार हुनुपर्ने भावबोध हुनुपर्ने र उनीहरूको व्यवहार पारदर्शी हुनुपर्नेमा त्यस्तो भएको देखिएन ।
कर्मचारीतन्त्र मात्रै होइन, यहाँको सुरक्षा निकायसँग जोडिएका प्रहरी, अर्धसैनिक बल र सेनाजस्ता निकायमा पनि भ्रष्टाचारको खेल भएको पाइन्छ । झट्ट हेर्दा सुरक्षा निकायका शीर्ष तहका पदाधिकारीहरू भ्रष्टाचारको मुद्दामा जेल सजाय भोगेको दृष्टान्त सहजै पाइन्छ । सुरक्षा निकायको सबैभन्दा बलियो निकाय नेपाली सेना हो । तर, उनीहरूको पेसागत क्षमता अभिवृद्धिभन्दा पनि तिनका सहयोगी संस्थाहरूले लगानी गरी मुनाफा कमाउने काममा लागेको देखिन्छ । लोकतन्त्रको विकल्प अर्को कुनै प्रणाली हुन सक्दैन । लोकतन्त्रको विकल्प उन्नत वा उत्तम लोकतन्त्र मात्र हुनसक्छ । यसका लागि यसका विभिन्न पक्ष जनतामा समर्पित हुनुपर्छ । अन्यथा लोकतन्त्र खतरामा पर्छ ।
निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता छ । यसलाई अझ पारदर्शी, सशक्त र प्रभावशाली निर्वाचन आयोगको खाँचो छ । जनतामाझ इमानदार, निष्ठावान र सक्रिय कार्यकर्तासँग पैसा नभए चुनाव लडन नसक्ने अवस्थामा हुन्छ । आम जनतामा जनचेतना जगाउन नागरिक समाज मानवअधिकारकर्मी र मिडियाजस्ता समाजिक अंगहरूबीच समन्वय भएको साझा प्लेटफर्मबाट यस्ता विषयमा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ । युवा राजनीतिक कार्यकर्ताहरूले लोकतन्त्रको संरक्षणका लागि यस्ता विषयमा पहल नगरे यो खतरामा पर्न सक्नेछ । भ्रष्टाचारलाई बढावा दिने शक्तिहरूको चलखेल बढेर यसलाई झन् नष्ट गर्न सक्नेछ ।

पार्टीको शीर्ष नेतृत्व तहमा भ्रष्ट नै पुगे
प्रकाशचन्द्र परियार
केन्द्रीय सचिवालय सदस्य, साझा पार्टी
प्रमुख राजनीतिक दलका शीर्षतहका नेताहरू भ्रष्टाचारमा सजाय पाएका, मुद्दा चलाइएका र भ्रष्टाचारमा संलग्न भएका घटना सार्वजनिक हुनु आफैंमा गम्भीर चिन्ताको विषय हो । परम्परागत राजनीतिक दलका नेताहरूले सत्ता र सरकारमा गएर पनि राजनीतिलाई सफा पार्न अभ्यास गरेको देखिएन । राजनीतिक सिद्धान्त, निष्ठा, त्याग, समर्पण र सेवाजस्ता भावबाट गरिने विषय भएको ती राजनीतिक दलका नेताहरूले बिर्सेका छन् । उनीहरू एकपटक सत्ता र सरकारको शीर्ष तहमा पुगेपछि सात पुस्ता पुग्ने गरी अकुत सम्पत्ति कमाउनुपर्छ भन्ने विचारबाट प्रेरित हुन्छन् । व्यवहार पनि त्यस्तै गरिरहने र समाजको तल्लो तहका जनतालाई पनि यस्तै व्यवहारबाट प्रभाव पार्ने गर्छन् । राजनीतिक दलमा नैतिक सोच र जनताका लागि मर्नुपर्छ भन्ने हराउँछ । जसरी पनि चुनाव जित्ने र अकुत सम्पत्ति कमाउने मानसिकताले राजनीतिक दलमा भ्रष्टाचारको विकास गराउँछ र तिनै व्यवहार एकपछि अर्को राजनीतिक दलका नेताहरूको व्यवहारबाट सार्वजनिक हुने गरेको हो । सत्ता र शक्तिको प्रभावमा उनीहरूले शासन सत्तालाई आफ्नो पकडमा राख्न मनी, पावर र मसलको प्रयोग गर्छन् । गुन्डा नाइकेलाई नेता बनाउने चलन परम्परागत राजनीतिक दलका नेताहरूबाट हुने गरेको विषयले स्पष्ट पार्छ । समाजमा ठूलो घर, ठूलो गाडी र ठूलो लस्करको प्रदर्शन गर्ने प्रवृत्तिको विकास गराउने परम्परागत राजनीतिक दलका नेताहरूको संरचनागत निर्माणले समाजमा विकृत पुँजीवादले घर गर्न पुगेको छ । जसरी चुनाव जितेर सत्तामा जाने दृष्टिकोण पूरा गर्न तस्कर, गुन्डा, विचौलिया र विकृत पुँजीवादलाई बढावा दिने समूहको प्रभावमा परेका राजनीतिक दलबाट भ्रष्टाचार गरेका नेतृत्वले प्रश्रय पाउने हो ।
परम्परागत राजनीतिक दल चाहे सत्तापक्ष होउन् वा प्रतिपक्ष । सबैले आफ्नो संरचनामा विभिन्न पेशा समुदायको भगिनी संगठनको निर्माण गरिराखेका छन् । भ्रष्टाचार त्यहीँबाट संस्थागत हुनपुग्छ । विद्यार्थी, शिक्षक, प्राध्यापकजस्तो भगिनी संस्थाको निर्माण गरी तिनका नेताका लागि भरणपोषण गर्न आवश्यक पर्ने रकम गुन्डा, तस्कर र बिचौलियाहरूबाट व्यवस्था गरिन्छ ।
यसरी परम्परागत राजनीतिक दलको निर्माण यस्तै भगिनी संस्थाहरूको आडमा चलेको छ । यसैबाट पार्टीको नेता बन्ने प्रक्रिया अगाडि बढ्छ अनि पार्टीको शीर्ष नेतृत्व तहमा पुग्नेहरू भ्रष्ट आचरण भएकाहरू नै पुग्ने गर्छन् । इमान, जमान र क्षमता भएका कार्यकर्ता बाटोमै हराएर जान्छन् । समाजलाई केही गर्नुपर्छ । राजनीतिक सिद्धान्त र निष्ठाको उच्च प्रदर्शन गर्ने सेवा भावको बुझाइ भएकाहरू चुनाव लड्नै पाउँदैनन् । यसमा हाम्रो निर्वाचन प्रणाली पनि दोषी छ । निर्वाचन आयोगको गठन सत्तापक्ष र प्रतिपक्षको प्रभावबाट निर्माण हुन्छ । निर्वाचन आयोगले निर्वाचनका क्रममा हुने गरेको उल्लंघनविरुद्ध कारबाही गर्न नसक्ने गरेमा ढिलाइ गर्ने जस्ता अवस्था तिनका आयुक्तहरूको बाध्यताले गर्न नसकेको स्थिति छ । त्यसका लागि योग्यता तथा क्षमताका आधारमा गठन गरिने निर्वाचन आयोगको गठन प्रक्रिया बनाउनुपर्ने आवश्यकता छ, जसले गर्दा निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई ठामका ठाम कारबाही गर्ने अधिकार र फजुल खर्च गर्नेलाई जेल जानेसम्मको कारबाही गर्नुपर्ने सशक्त अधिकार सम्पन्न आयोगको रूपमा गर्न पाओस् । खर्च पारदर्शितासम्बन्धी विषय त्यसै पनि हराएर जाने गरेको र निर्वाचन आयोगले यससम्बन्धमा गर्ने कारबाही फितलो हुने गरेकाले पनि राजनीतिक दलमा यस्तो प्रवृत्ति बढ्दै गएको छ । यस्तो फितलो निर्वाचन आयोगको माध्यमबाट सत्तामा जाने र सात पुस्तालाई पुग्ने गरी कमाउने सोचबाट राजनीतिक दलका नेता भए हालै कमिसनको दाउ गरिरहेको सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएर रोकिँदैन, अन्य प्रवृत्तिहरू उदाङ्ग हुनेछन् ।
परम्परागत शक्तिमाझ आएको माओवादी पार्टीका नेताहरूमा निष्ठा त्याग र बलिदानको भाव बिलाएर गएको छ । गिट्ठा–भ्याकुर, च्युरा–मिट्ठा खाएको दिन उनीहरूले बिर्से, अब अकुत सम्पत्ति कमाउनेतर्फ सोचिएकाले पनि राजनीतिक दलभित्र भ्रष्टाचार संगठित हुन पुगेको हो । भारी भगिनी संस्थाको बोझ हलुंगो गर्न उनीहरूले आफ्ना परजीवी कार्यकर्तालाई स्वतन्त्र विद्यार्थी युनियनबाट भ्रष्टाचार गर्न सिकाउँछन् । विकास परियोजनाका लागि बन्ने उपभोक्ता समितिबाट भ्रष्टाचार गर्न सिकाउँछन् । पार्टीले कार्यकर्ताहरूलाई पेसा–व्यवसायमा नलगाए तिनको पालन पोषण गर्न भ्रष्टाचार गर्नुपर्ने हुन्छ । देश निर्माण र भ्रष्टाचार हटाउनका लागि जनस्तरमा चेतना जगाउनुपर्ने आवश्यकता छ । राजनीतिक दल आफूलाई गुन्डा, तस्कर र बिचौलियाको प्रभावबाट टाढा राख्न यस्तो भगिनी संस्थाको संरचनागत आडमा टेक्ने कामबाट अलग राख्नुपर्ने हुन्छ । तर, परम्परागत राजनीतिक दलमा वैकल्पिक आचरण त्यो भनेको सिद्धान्त, निष्ठा, त्याग र समर्पणजस्ता भावको बलमा चुनावमा गए चुनाव जित्ने विश्वास छैन । त्यसैले उनीहरूबाट यस्तो भएमा विश्वास गर्न सकिँदैन । किनभने राजनीतिक दल अहिले ‘भाग शान्ति जय नेपाल’, ‘मिलिभगत लाल सलाम’ र ‘बोलो मधेस, लुटो मधेस’को मिलिजुली सिन्डिकेटबाट सञ्चालित छन् । त्यसैले जनस्तरमा यस्ता विषयमा सचेतना फैलाउनुपर्ने आवश्यकता छ । हामीले भगिनी संस्थालाई भ्रष्टाचार गराउने प्रवृत्ति र दृष्टिकोणबाट टाढा रहेर राजनीति गर्नुपर्ने र त्यसलाई अगाडि बढाउने अभियान थालेका छौं ।
अर्को कुरा, नेतामा आध्यात्मिक चेत भयो भने पदमा पुग्नु भनेको समाज र देशका लागि सेवा गर्ने जनताको भलाई गर्ने अवसर हो भन्ने बुझाइ विकास गरे भ्रष्टाचार नहुन सक्छ, त्यसैले नेताहरूमा आर्यघाट पनि सीधै कुर्सीबाटै पुग्नुपरे हुन्थ्यो कि जसरी पदलोलुप, सत्ताप्यादा मानसिकता हुनुको पछाडि जति कमाए पनि र जति पदमा बसे पनि नअघाउने र सात पुस्तालाई पुग्नेसम्मको सम्पत्ति सत्ता र शक्तिमा भएकै पालो लुटिहालौं भन्ने खराब ग्रन्थिले पनि काम गरेको छ ।
दलीय शक्तिको आडमा बसेका राजकीय शक्तिको दुरुपयोग गरेर समाजमा सानका साथ जिउन पाउने वातावरणको स्वीकार्यता बढ्नु दुःखद हो पनि, भ्रष्टाचार गर्नेहरू सजायको भागि नहुने बरु उनीहरूकै हालिमुहाली, वर्चस्व र मानमनितो बढेको र राज्यका माथिल्लो निकायमा उनीहरूकै हालिमुहाली हुँदा पनि चुप लागेर बस्ने नागरिक समाज, दल पनि एउटा कारण मान्न सकिन्छ । त्यसकारण ‘यसो हुन नदिन भ्रष्टहरूलाई ठोक्नैपर्छ, दण्डित गर्नैपर्छ, जेलमा कोच्नैपर्छ । सामाजिक, राजनीतिक बहिष्कार गर्नैपर्छ । कडा ऐन ल्याउनैपर्छ ।