दीपेन्द्र थापा
बिहिवार, फाल्गुन ८, २०७६
756

सरकारले आगामी वैशाख २३ देखि २५ गतेसम्म २५६४औं अन्तर्राष्ट्रिय बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्दैछ । ‘द वर्थ प्लेस अफ लर्ड गौतम बुद्ध, द फाउन्टेन अफ बुद्धिज्म एन्ड वर्ड पिस’ नाराका साथ सम्मेलन आयोजना हुन लागेको हो । बुद्धको जन्मभूमिमा धार्मिक पर्यटकको प्रचार प्रसार गरी नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पु-याउने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको छ । मूल आयोजक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले यसै साता सरोकारवाला निकायसँग बैंठक बसी सम्मेलनको कार्ययोजना र भावी रणनीतिसम्बन्धी छलफल आयोजना गरेका छन् । ‘२५६४औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २०७७ आयोजक समिति’ को बैठकले २९ वटा उपसमिति गठन गरेको छ । सम्मेलनमा बुद्ध र बुद्धिज्मको अध्ययन तथा अनुसन्धानका लागि आउनेबाट नेपाल भ्रमणको प्रचारमा पनि ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । सम्मेलन सफल पार्नका लागि सरकारले आयोजक समितिको सदस्य–सचिवमा पासाङ शेर्पालाई नियुक्त गरेको छ । मन्त्री अध्यक्ष रहने आयोजक मूल समितिमा १ सय १ जना सदस्य छन् । आदिवासी जनजाति महासंघको पूर्वअध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय कमिटिका सदस्य, नेकपा पाटीको पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागका उपप्रमुख शेर्पासँग कारोबारका दीपेन्द्र थापाले सम्मेलनको तयारीका सम्बन्धमा गरेको कुराकानीको सार :

नेपालमा बौद्ध सम्मेलन आयोजना गर्नुको लक्ष्य र उद्देश्य के के छन् ?
नेपाल बौद्ध धर्म र बुद्धबीच अनोन्याश्रित सम्बन्ध छ । त्यसैले बुद्ध धर्मसँग जोडेर नेपाललाई चिनाउँदा भगवान बुद्धको नाम सँगै आउँछ । राज्यको दायित्व पनि के हो भने भगवान बुद्धको विश्वव्यापी प्रचार गर्नु हो । राज्यले त्यो दायित्व लिनु पनि पर्छ र लिएर निर्वाह गर्दै आएको अवस्था पनि छ । विगतमा २ चरणमा बौद्ध सम्मेलन आयोजना भइसकेको अवस्था छ । यसै शिलशिलामा विश्वका सबै बौद्धमार्गी धर्मावलम्बीहरू, राष्ट्रिय प्रतिनिधि, विभिन्न बौद्ध सामाजिक प्रतिष्ठान सरोकारकारवाला निकायलाई नेपालमा आमन्त्रण गरेर भगवान बुद्ध र नेपालका बारेमा संसारभर प्रचारप्रसार गर्ने मूल अभियान हो । सम्मेलनको नारा पनि ‘द वर्थ प्लेस अफ लर्ड गौतम बुद्ध, द फाउन्डेसन अफ बुद्धिज्म एन्ड वर्ड पिस’ नाराका साथ सम्मेलन आयोजना हुन लागेको हो । अर्थात् भगवान बुद्धको जन्मस्थल र बुद्ध धर्मको ज्ञान प्राप्तस्थलको समेत प्रचार हुने गरी सम्मेलनको नारा तय गरिएको छ । विगतको अभियानलाई निरन्तरता दिँदै सम्मेलनलाई परिष्कृत र सुधार गरेर सम्मेलन आयोजना हुँदैछ । भगवान बुद्ध र नेपाललाई विश्व जनमानसमा चिनाउनका लागि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । यही उद्देश्य लिएर सम्मेलन आयोजान हुँदैछ ।

सम्मेलन बुद्ध जयन्तीकै अवसरमा आयोजना गरिँदै छ नि ?
बुद्ध जयन्ती हरेक वर्ष वैशाख पूर्णिमाकै दिन मनाउँदै आएका छौं । लुम्बिनी कोषले हरेक वर्ष यसको आयोजना गर्दै आएको छ । बौद्ध सम्मेलन सरकारले हरेक २ वर्षको अन्तरालमा पनि आयोजना गर्दै आएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरेर पनि यो सम्मेलन यस वर्ष आयोजना हुँदैछ । यस कारण सम्मेलनलाई विशेष महत्वका साथ हेरिएको अवस्था छ । साथै नेपाल भ्रमण वर्षलाई समेत सम्मेलनले ठूलो टेवा पु-याउने छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको थियो भने आयोजक पनि मन्त्रिपरिषद्ले गठन गरेको हो । साथै सम्मेलनका लागि विभिन्न समिति तथा उपसमिति गठन भएका छन् । आयोजकका लागि २५६४औं अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सञ्चालनसम्बन्धी कार्यसम्पादन तथा आर्थिक कार्यविधि –२०७६ तयार पारिएको छ । सोही कार्यविधिको आधारमा कार्यसम्पादन तथा सम्मेलन आयोजना हुनेछ । यसको अवधारणामा रहेर २७ वटा क्षेत्रगत र वस्तुगत उपसमिति गठन भएका छन् । सो उपसमितिले दिएको जिम्मेवारीमा रहेर कार्यसम्पादन गर्नेछन् । उपसमितिको संयोजक तोकिएको अवस्था छ । केही दिनमा नै सो समितिमा ९ सदस्य थप गरेर समितिलाई जानकारी गराउँदै उपसमितिले कार्य क्षेत्रमा रहेर काम कारबाही अगाडि बढाउनु पर्ने दायित्व छ । सम्मेलनको आयोजना हुँदै गर्दा छिमेकी मुलुक चीनमा कोरोना भाइरसको महामारी फैलिएको अवस्था छ । धेरै बौद्ध धर्मालम्बी रहेको चीन सहभागी नहुँदा सम्मेलनलाई कस्तो असर पर्ने देखिन्छ ।
स्वाभाविक रूपले एक छिमेकी राष्ट्रलाई परेको विपतको असर अर्को राष्ट्रमा पर्ने नै देखिन्छ । कोरोना भाइरसले नेपालको पर्यटन उद्योगलयागत विश्वको अर्थतन्त्रमा नै ठूलो प्रभाव पार्ने देखिएको छ । हामी यो संक्रमणबाट छिमेकी मुलुकले चाँडै मुक्ति पायोस् भन्ने प्रार्थना गर्न चाहान्छु । चीन आफंैमा शक्तिशाली र सुविधा सम्पन्न राष्ट्र भएकाले यो संक्रमणलाई चाँडै नियन्त्रणमा ल्याउने छ भन्ने हाम्रो विश्वास छ । लामो समय बाँकी छ, सम्मेलनको मिति नजिकिँदै गर्दा संक्रमण नियन्त्रणमा आएर सम्मेलनमा चीनले समेत सहभागीता जनाउने वातावरण विकास भई संक्रमणका समस्या समाधान हुने मैले आशा र अपेक्षा राखेको छु ।

सरकारले नेपाल भ्रमण वर्ष– २०२० मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सम्मेलनले नेपाल भ्रमण वर्षलाई सफल बनाउने र प्रवद्र्धन गर्ने आधार के के छन् ?
नेपालको पर्यटन विकासको ४ क्षेत्र छन् । पहिलो पर्वतारोहण, दोस्रो प्राकृतिक मनोरम दृष्य ट्रेकिङ, तेस्रो भनेको नेपालमा रहेको सांस्कृतिक सम्पदा विविधता, चौथो भनेको साहसिक पदयात्रा हो । यीमध्ये अझ आउने क्षेत्र भनेको धार्मिक पर्यटनको ठूलो सम्भावना भएको राष्ट्र हो । नेपाल संसारभरका हिन्दूहरूले मानेको भगवान पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिरका साथै बौद्ध धर्मावलम्बीहरूले लुम्बिनी, स्वयम्भू, बौद्ध क्षेत्रका साथै अन्य क्षेत्र पनि छन् । नेपाल ठूलो धार्मिक पर्यटकको क्षेत्र भएकाले गर्दा यसै वर्ष धार्मिक पर्यटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरेर विश्वभरका प्रतिनिधिलाई आमन्त्रण गरेर सबै बौद्धमार्गीलाई एकै थलोमा सहभागी गराउने उद्देश्य लिएको छ । बौद्ध धर्म जोडेर सो देशका राष्ट्र प्रमुखदेखि प्रतिनिधिहरू आउनु हुन्छ, यसले नेपालको धार्मिक पर्यटकको आगमनमा ठूलो वृद्धि हुनेछ । यसले गर्दा नेपाल भ्रमण वर्षको सफलतालाई पनि सहयोग पुग्छ भने नेपाल धार्मिक पर्यटकीय गन्तव्यको रूपमा पनि विकास हुँदै जाने हुँदा नेपालको प्रचार प्रसारमा पनि सहयोग पुग्ने छ ।

सम्मेलन के कस्ता विषय वस्तुमा केन्द्रित रहने छ ?
साताभरि नै आयोजना गर्ने गरी कार्यक्रमहरू अगाडि सारेका छौं । वैशाख १९ गतेदेखि नै स्थानीय सरकारको सहयोगमा नगर सफाइ, रक्तदान, वृक्षरोपण, म्याराथुन दौड, सांस्कृतिक कार्यक्रम, सम्मेलन, अन्तरक्रिया, शान्ति -याली, बुद्ध जयन्ती मूल समारोह तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको लुम्बिनी घोषणपत्र जारी गर्दै सम्मेलन समापन हुने कार्यक्रम तय भएको छ । यसरी आन्तरिक र अन्तर्राष्ट्रिय किसिमका कार्यक्रय तय गरिएको छ । ३ दिनको सम्मेलन अन्तर्राष्ट्रियस्तरको हुनेछ । यो तीन दिन अन्तर्राष्ट्रिय बौद्ध धर्मावलम्बीहरूका लागि पनि महत्वपूर्ण रहने छ भन्ने हामीले विश्वास लिएका छौं । बुद्ध जयन्तीको दिन घोषणपत्र जारी गरिने कार्यक्रम छ । यो दिन अन्तर्राष्ट्रिय जगतका लागि पनि महत्वपूर्ण हुनेछ । सम्मेलनलाई औपचारिक रूपमा राष्ट्रपतिले उद्घाटन गर्नु हुनेछ भने प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । बौद्ध धर्मसम्बन्धी कार्यपत्र प्रस्तुत तथा खोज अनुसन्धान गरिएका विषय वस्तुको जानकारी र छलफल अन्तरक्रिया कार्यक्रम छन् ।

सम्मेलनमा कति देशका राष्ट्र प्रमुख, मन्त्री, प्रतिनिधि तथा संस्थाको सहभागीता जनाउने तय भएको छ ?
सम्मेलनमा भाग लिनका लागि श्रीलंकाका राष्ट्रपति, थाइल्याण्डका प्रधानमन्त्री, म्यानमारका स्टेट काउन्सिलर, भारत, चीन, भियतनाम, कम्बोडिया, लाओस, जापानले सहभागिता जनाउने छन् । त्यसैगरी दक्षिण कोरिया, भुटान, मंगोलिया, मलेसिया, सिंगापुर, बंगलादेश, अमेरिका, बेलायत, रसिया, कोस्टारिका, फ्रान्स र जर्मनका संस्कृति तथा धार्मिक मामिलामन्त्री तथा संयुक्त राष्ट्र संघका पूर्वमहासचिव वानकि मुन पनि सहभागी हुनुहुनेछ । भारतका उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, उत्तराखण्डका मुख्यमन्त्री, तिब्बतका गभर्नरका साथै यूएन डब्लूटीओका महासचिवलाई पनि आमन्त्रण गरिएको छ । करिब ४० देशका प्रतिनिधि, संघसंस्था र प्रतिष्ठानको सम्मेलनमा सहभागीता जनाउने हाम्रो लक्ष्य छ । समग्रमा सम्मेलनमा प्रतिनिधि तथा व्यक्ति गरेर ५० राष्ट्रको सहभागीता जनाउने छन् भन्ने हामीले लक्ष्य लिएका छौं । हामीले धेरैभन्दा धेरै देशका प्रतिनिधि र सबै देशका बौद्ध धर्मालम्बीहरूको संस्थाले सहभागीता जनाउन सकून् भनेर आमन्त्रण गरेका छौं । जसले गर्दा सबै देशमा हाम्रो प्रचारप्रसार हुनेछ । सबै अतिथि तथा प्रतिनिधिलाई राष्ट्रले आमन्त्रण गर्नेछ । हामीले यतिले नै सहभागीता जनाउने छन् भन्ने यकिन संख्या अहिले नै भन्न सकिने अवस्था छैन ।

सम्मेलनमा कति खर्च हुने अनुमान गरिएको छ र सम्मेलनका लागि आर्थिक स्रोत कहाँबाट जुटाउने योजना रहेको छ ?
सम्मलेन भव्यताका साथ सम्पन्न गर्न गत माघ २० मा बसेको मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको थियो । सम्मेलनमा करिब १५ देखि २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तत्काल अर्थ मन्त्रालयसँग मन्त्रिपरिषद्ले ४ करोड रुपैयाँ माग गरिएको छ । अन्य खर्चको स्रोत सरोकारवाला निकाय नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय, लुम्बिनी विकास कोष, निजी क्षेत्रबाट संकलन गरी खाता खोलेर लगानी जुटाउने छौं । यसका लागि आर्थिक उपसमिति गठन भएको छ । समितिले सोअनुसार रकम संकलन गर्नेछ । अन्तर्राष्ट्रिय सम्मेलन भएकाले गर्दा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्ने भएकाले गर्दा खर्चको भार बढेर जाने हामीले अनुमान गरेका छौं । साथै अतिथिलाई नेपालको पर्यटकीय गन्तव्यको साइट सिन देखाउने, लजिङ फुडिङले गर्दा लागत बढेर जानेछ । समितिले रकम संकलन गरी पारदर्शी ढंगले खर्च गर्ने योजना तय गरेको छ । अतिथिको बसाइ अवधि के कति दिन रहने भन्नेबारे परराष्ट्र मन्त्रालयले तय गर्नेछ ।

सम्मेलन गर्नका लागि पूर्वाधार अभाव र भएका पूर्वाधारको समेत मर्मत सम्भार गर्नुपर्ने अवस्था छ, यसलाई कसरी सम्बोधन गर्ने योजना छ ?पूर्वाधारका बारेमा अध्ययन अनुसन्धान गर्नका लागि पनि समिति गठन भएका छन् । समितिले स्थलगत अनुगमन गरी मन्त्रालयमा रिपोर्ट गर्नेछ भने मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई पूर्वाधारको वस्तुगत सुधार तथा मर्मतका लागि सिफारिस गर्नेछ । सडकदेखि विमानस्थल पर्यटकीय गन्तव्य, सुरक्षा सबै निकायलाई जानकारी गराएर गर्न सकिने सुधारमा मन्त्रालयले सहजीकरण गर्नेछ भन्ने औपचारिक छलफल भएको छ । समितिले सोहीअनुसार काम गर्नेछ । सोहीअनुसार अन्तर्राष्ट्रिय पाहुनालाई सहज हुने गरी संघीय सरकार र प्रदेश सरकारको सहयोगमा हाल भएका पूर्वाधारलाई सुधार गर्ने योजना छ । निर्माणाधीन गौतम बुद्ध विमानस्थल पनि सोही समयसम्म सञ्चालनमा आउने आशा गरेका छौं ।

अन्त्यमा,
नेपाललाई विश्वमाझ चिनाउँदा खेरी सगरमाथा, भगवान गौतम बुद्धको देश वा वीर गोरखालीको देश भनेर चिनिँदै आएको छ । भगवान बुद्धको देश भनेर चिनाउने गरी सम्मेलन आयोजना गर्दैछौं । सबै नेपालीले आफ्नो क्षेत्रबाट के कस्तो सहयोग गर्न सकिन्छ त्यो गरांै । सम्मेलनमा सबैको प्रतिनिधित्व रहने गरी सबै नेपालीलाई सहभागीका लागि आग्रह गर्दछौं । भगवान बुद्ध सबै नेपालीका प्रतिक रहनु भएको थियो । त्यसैले यो वा त्यो धर्म नभनी हामी नेपाली भएर सम्मेलन सफल रूपमा समापन गर्न सहयोग गरौं । विश्व शान्तिका दूतका प्रतिक बुद्ध जन्मेको देशको रूपमा चिनाउन लागि परौं ।