कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६
1138

गफ चाहिँ शिक्षकले राजनीति गर्न हुन्न भनिन्छ । तर शिक्षकमा बहाल हुँदा गरेको राजनीतिबाटै स्थानीय तहमा जनप्रतिनिधि चुनिए । यसको उदाहरण हुन्, कालिकोट खाँडाचक्रका प्रमुख जसिप्रसाद पाण्डे । ०४३ सालमा शिक्षण पेसा सुरु गर्दाताका नै पाण्डेले तत्कालीन मोटो मसाल र पातलो मसाल विभाजन हुँदा मोटो मसालको सदस्यता लिए । ०५२ सालमा मोटो मसाल एकता भइसकेपछि जनयुद्ध गर्ने पार्टीको निर्णयपछि उनी पछि हटे र ०५४ सालमा तत्कालीन नेकपा एमालेमा प्रवेश गरे । राजनीति र शिक्षणमा निरन्तरतासँगै शिक्षणलाई छोडेर नगरपालिकाको प्रमुखमा चुनिए । उनी भन्छन्, “पहाडको नगर भए पनि विकास गरेरै छाड्छु ।” उनी नगरलाई सुशासनमैत्री बनाउने, आन्तरिक राजस्व प्रवद्र्धन गर्दै आत्मनिर्भर हुने कल्पनामा डुबेका छन्, तर आफ्नै दलका कार्यकर्ताले कामै नगरी पैसा, पैसाभन्दै सताउँदा भने दिक्क छन् । “कामै नगरी आफ्नै दलका कार्यकर्ताले पैसा मागेर दुःख दिएका छन्,” उनले भने । यसै सन्दर्भमा नगरको विशेषता, विकास निर्माणको अवस्था, समस्या र चुनौतीलगायतका विषयमा केन्द्रित भई उनीसँग कालिकोटका कारोबारकर्मी किरण अधिकारीले गरेको कुराकानीको सार :

विषम भूगोल भएको नगरको प्रमुख हुनुहुन्छ, कसरी कार्यसम्पादन गरिरहनु भएको छ ?
भौगोलिक विकटताका कारण पूर्वाधार विकासको क्षेत्रमा ठूलो कठिनाइ छ । सामाजिक विकासको क्षेत्रमा समाजका विकृतिलाई चिर्न पनि ठूलो कठिनाइ भएको छ । मानिसमा अपनत्वको भावना नहुने भएकाले गारो पनि परेको छ र हरेक काम गर्दाखेरि समुदायमुखी भन्दा पनि व्यक्तिमुखी प्रवृत्ति हावी भएका कारणले काम गर्न असहजता उत्पन्न भएको छ । जुनसुकै काम थालनी गरे पनि परिणाम ल्याउन भने ठूलै संघर्ष गर्नुपरेको छ । यस्ता समस्याका वावजुत पनि नगरलाई समृद्ध बनाउन लागिपरेको छु । जनताका आकांक्षा बढी छन् । हाम्रो स्रोतसाधनले पुगेअनुसार सबैको समस्या समाधान गर्न लागिपरेको छु । यस नगरपालिकालाई आत्मनिर्भर बनाउन स्थानीय उत्पादन र कृषि क्षेत्रलाई विशेष जोड दिएर लागिपरेको छु ।

सामाजिक विकासका लागि कस्ता कार्यक्रम कार्यान्वयनमा ल्याउनु भएको छ ?
कुनै मानिसले उत्पादन गरेको वस्तु बजारीकरण गरेर मानिस आत्मनिर्भर भएन भने आर्थिक समृद्धि हासिल गर्न सकिँदैन । आर्थिक समृद्धिका लागि पहिलो पक्ष त कृषि क्षेत्रलाई जोड दिएर लागिपरेका छौँ साथै फलफूलखेती पशुपालन र नगदेबालीलाई आर्थिक उन्नतिका लागि प्रमुख पक्ष मानेर नीति तथा कार्यक्रम ल्याएका छौँ र अबको नयाँ पुस्तालाई प्राविधिक तथा ब्यावहारिक शिक्षा प्राथमिकतामा राखेर युवा स्वरोजगार, महिला आत्मनिर्भरका कार्यक्रम पनि ल्याएका छौं । जुन नगरपालिकाको आर्थिक उन्नतिको महत्वपूर्ण पक्ष पनि हो । त्यसैगरी खाँडाचक्र नगरपालिकाको भूगोलअनुसार उत्पादन हुने वस्तुलाई ध्यानमा राखेर हामीले विभिन्न फलफूल पकेट क्षेत्र बनाएका छौं र ति पकेट क्षेत्रमा उत्पादित फलफूललाई बजारीकरण गर्नका लागि नगरपालिकाभित्रै खपत हुने वातावरण सिर्जना गरेका छौं । परम्परागतखेती प्रणालीलाई त्यागेर आधुनिकखेती प्रविधि अंगाल्न किसानलाई प्रेरित गरिरहेका छौं । जसबाट नगरपालिकामा आर्थिक समृद्धि हासिल गर्न सक्छौँ ।

नगरको आन्तरिक राजस्व संकलनको अवस्था कस्तो छ ?
कालिकोट जिल्लाका अन्य गाउँपालिका वा नगरपालिकाभन्दा सबैभन्दा बढी राजस्व संकलन गर्ने मेरो नगरपालिका हो । हामिले राजस्व समिति पनि बनाएका छौं, साथै नगरपालिकाको कार्यालयमा छुट्टै आन्तरिक राजस्व शाखा बनाएर राजस्व संकलन गरिरहेका छौं । गत आवमा ५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएका थियौं जसमध्ये ३५ लाख संकलन भएको थियो भने यस आवमा हामी एक करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएका छौं । हामीले नगरपालिकाभित्रका हरेक व्यवसायीलाई करको दायरामा ल्याएका छौँ । साथै घरबहाल करलाई प्रत्यक्ष निगरानीमा अनिवार्य कर लागू गरेका छौँ । जसले नगरपालिकाभित्रको राजस्व संकलनको अवस्था वृद्धि भइरहेको छ । अहिले हामी संघ र प्रदेशको भरमा चलिरहेको भए पनि अबको केही वर्षपछि हामी आन्तरिक राजस्वकै कारण आत्मनिर्भर हुन सक्छौं ।

जनतामा कर फोबिया देखिएको छ, यसलाई तपाईं कसरी टिप्पणी गर्न हुन्छ ?
विगत २० वर्षमा जनताले कर नतिर्ने जुन परिपाटि थियो, यस कारण हल्का गुनासो आउनु स्वाभाविक नै हो । तर हामीले पहिले संघीय सरकारले पनि लिने करभन्दा हामीले बढी लिने गरेका छैनौं । त्यसैगरी व्यवसायीले तिरेको करको आधारमा उनीहरूको व्यवसायको सुरक्षाको ग्यारेन्टी पनि लिने गरेका छौँ । भविष्यमा आइपर्ने आगलागी, चोरीजस्ता समस्यामा सहयोग गर्ने गरेका छौँ । जसबाट विस्तारै मानिसको बुझाइमा सकारात्मक परिवर्तन भएको छ । त्यस्तै हामीले हरेक व्यवसायी अनिवार्य रूपमा दर्ता गर्नुपर्र्ने बनाएका छौँ । व्यवसायीलाई हामीले तिरेको कर हाम्रै प्रयोजनका लागि नै खर्च हुन्छ भन्ने सकारात्मक बुझाइ छ । पहिले पहिले त त्यस्ता गुनासा आउने भए पनि अहिले खासै करको दायरा बढी भयो भनेर गुनासो भने आउँदैन ।

नगर, निजी क्षेत्र र वित्तीय संस्थाबीचको सम्बन्धलाई कसरी अगाडि बढाइरहनु भएको छ ?
नेपाल सरकारको तीनखम्बे अर्थ नीतिअनुसार निजी क्षेत्र अतिआवश्यक पर्छन् । तर निजी क्षेत्रमा लगानीकर्ताको अभाव छ । नगरबासीहरू थोरैथोरै पुँजी संकलन गरेर संयुक्त व्यवसायप्रति त्यति आकर्षित भएको पाइँदैन र नगरपालिकामा क वर्गका बैंक माइक्रोफाइनान्स भय तापनि मानिसलाई आकर्षित गर्न र लगानी गर्ने वातावरण सिर्जना भएको छैन । तर पनि नगरपालिका आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धन गर्न लागिरहेको छ ।

खासगरी कालिकोटमा निजी क्षेत्रबाट गर्ने लगानीका मुख्य क्षेत्रहरू के के हुन् ?
हाम्रो नगरपालिकाभित्र लगानीका क्षेत्रहरू प्रचुरमात्रामा छन् । यहाँ स्थानीयस्तरमा उपलब्ध स्रोत र साधन उपयोग गरेर धेरै आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ । यहाँ साना तथा घरेलु उद्योगहरू जस्तै डोकोडालो, सिस्नोपाउडर, स्याउका विभिन्न परिकार, पशुपालनजस्ता क्षेत्रमा लगानी गर्न सकिन्छ । त्यस्तै पर्यटकीय दृष्टिकोणबाट नगरपालिकाभित्र थुप्रै सम्भावना छन् । यहाँका पर्यटकीय क्षेत्र कोटदबार, युद्ध पर्यटकीय क्षेत्र पिली जहाँ जनयुद्धको अन्तिम लडाइँ भएको ठाउँ पनि यहीं छ । यी क्षेत्रमा लगानीकर्ताले लगानी गरे भने नगरपालिकासँगै लगानीकर्तालाई पनि फाइदा हुन्छ । साथै पर्यटकलाई यहाँको स्थानीय चिजबाट बनेका कोसेली, होमस्टेजस्ता क्षेत्रमा लगानी गर्न सकिन्छ ।

प्रदेश योजना आयोग तथा केन्द्रीय योजना आयोगले तपाईंको नगरपालिकामा कस्ता काम गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्नुभएको छ ?
अहिले प्रदेश योजना आयोग बनिसकेको बेलामा हामीले सानासाना योजना र सामाजिक विकासजस्ता क्षेत्रका समस्या समाधान गरिरहेका छौं । तर प्रदेश योजना आयोग र केन्द्रीय योजना आयोगले दीर्घकालीन र ठूला खालका समस्या समाधान गरिदिए हुन्थ्यो । जुन कामबाट धेरै मानिस लाभान्वित हुने खालका योजना प्रदेशले केन्द्रीय योजना आयोगले बनाइदिनु पर्छ । कम्तीमा पनि भौगोलिक आधारमा बजेट विनियोजन गरिनु पर्छ । साथै सहकार्य र समन्वय गरेर अगाडि बढ्नु पर्छ ।

स्थानीय ऐन कानुनहरू निर्माण र कार्यान्वयनको अवस्था कस्तो छ ?
हामीलाई प्रदेश सरकारले कानुन नबनाउँदा काम गर्न असहज भएको छ । जस्तै सहकारी ऐन, वित्तीय ऐन नबन्दा हामी अन्योलमा छौं । हामीले स्थानीय तहमा बनाउन मिल्ने केही कानुन त बनाएका छौं । तर ति कानुनहरू भोलि प्रदेशसँग बाझिन गएमा स्वतः निस्क्रिय हुने भएकाले हामीले केही कानुन बनाउन बन्देज गरेका छौं र हाम्रो क्षेत्राधिकारभित्र पर्ने र हामीले बनाउने सबै कानुन बनाइसकेका छौँ । र, हामीले बनाएका ऐन तथा कानुन कार्यान्वयन भइसकेका छन् ।

प्रमुखको दृष्टिमा नगरको सुशासनको पक्षलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
जुनसुकै काम गर्दाखेरि सफल हुन सुशासन महत्वपूर्ण पक्ष हो । खाँडाचक्र नगरपालिकामा सुशासन कायम गर्न हामी जुनसुकै काम गर्दा त्यसको लागत अपेक्षित उपलब्धिको बारेमा त्यस कार्यक्रम अथवा योजनाबाट लाभान्वित वर्गलाई जानकारी गराउने गरेका छौं । त्यस्तै नागरिकबाट आउने गुनासालाई सम्बोधन गर्नका लागि गुनासो सुनुवाइ संयन्त्र बनाएका छौं । हामीले प्रत्येक योजनाको जानकारी दिनका लागि योजना निर्माणस्थलमा होर्डिङ बोर्ड राख्ने र प्रत्येक शाखामा सेवाग्राही आउँदा उसले पाउने सेवाका बारेमा जानकारी दिन कार्यालयमा नागरिक बडापत्र राख्ने गरेका छौं । हामीले गर्ने कमका बारेमा काम सुरु हुनुभन्दा पहिले र काम सम्पन्न भइसकेपछि अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ गर्ने गरेका छौं । त्यसैगरी नगपालिकाले हरेक चौमासिकभित्र गरेका कामका बारेमा नागरिकलाई जानकारी दिन वर्षमा चार पटक प्रत्येक वडाका नागरिकलाई राखेर सार्वजनिक सुनुवाइ गर्ने गरेका छौं । त्यसैगरी कुनै पनि नागरिकले हामीले गरेका कुनै पनि कामका बारेमा सूचना लिन खोजेमा निवेदन दिएपछि नगरपालिकाबाट दिन मिल्ने सूचना पनि दिने गरेका छौं ।

भ्रष्टाचार तथा बेरुजुको अवस्था कस्तो छ ?
पहिलो त आर्थिक अनुशासन भएन भने त्यो राम्रो हुँदैन । तर मैले सुरुदेखि नै भ्रष्टाचार अन्त्य गर्न लागेको हँु । म निवार्चित हुनु पहिल्यै कर्मचारीबाट केही गल्ती भएको हुनसक्छ । तर अहिले पूर्णरूपमा बन्द गर्न लागेका छौं । कतिपय कुरा कर्मचारी अपुग र काम गर्ने तौरतरिका नमिल्दा पहिले बेरुजु वृद्धि भएको थियो । त्यो पनि बेरुजु फस्र्योट गर्न नजान्दा बेरुजु आयको र विषयगत शाखाका कर्मचारीलाई पनि आफ्नो शाखामा कति बजेट विनियोजन भएको छ र काम भइसकेपछि कसरी फस्र्योट गर्ने भन्ने कुरामा अहिले सचेत छौं । साथै लेखा अधिकृत नहँुदा लेखापालमार्फत काम चलाउँदा पनि केही समस्या भएको थियो । साथै अहिले जुनसुकै काम गर्दा पनि काम सुरु हुनुभन्दा पहिले र काम सम्पन्न भइसकेपछि सार्वजनिक सुनुवाइ गर्ने परिपाटि सिर्जना गरेका छौँ ।

अहिले नगरभित्रका योजना छनोटको अवस्था कस्तो छ ?
हामी कुनै पनि योजना छनोट गर्दा व्यक्तिको भन्दा पनि समुदायको आवश्यकतालाई हेरेर योजना छनोट गर्ने गरेका छौँ । योजना छनोट गर्दाका चरणहरू पूरा गरेर आएका योजनालाई प्राथमिकतामा राख्ने गरेका छौं । जनताले थोरै भए पनि आम्दानी होस् भन्ने उद्देश्यले हामीले ३० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समितिमार्फत र त्योभन्दा बढी रकमका योजना टेन्डरमार्फत सम्पन्न गर्ने गरेका छौं । साथै योजनाको तीन चरणमा अनुगमन गर्ने कामलाई अझै मजवुद बनाएका छौं । जसबाट योजनामा अनिमितता ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य गर्ने र कुनै पनि योजना गुणस्तरहीन नहुन् भन्ने उद्देश्यले लागिपरेका छौं । साथै नगरपालिकामा योजना छनोट गर्दा धेरैभन्दा धेरै मानिस त्यो योजनाबाट लाभान्वित हुन र उनीहरूको दैनिकीमा योजनाले सकारात्मक परिवर्तन ल्याओस् भन्ने उद्देश्यले योजना छनोट गर्ने गरेका छौं ।

लक्षित वर्गहरू लाभान्वित हुनेगरी कस्ता कार्यक्रम अघि बढेको छ ?
विशेषगरी हाम्रो नगरपालिकामा झण्डै ३३ प्रतिशत दलित समुदायको बसोबास छ । त्यसैगरी दलित समुदायमा शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता पनि पूरा नभएको अवस्था छ । झण्डै ६ करोड लागतको दलित र महिलालाई लक्षित हुनेगरी राष्ट्रिय योजना आयोगबाट लागू गर्ने गरी कार्यक्रम बनाएका छौं । त्यसैगरी अत्यन्तै विपन्न दलित र महिलालाई लक्षित गरेर कसैलाई बाख्रा पालनमा जोड्ने, कसैलाई कुखुरापालनमा जोड्ने योजना बनाएको छु । त्यसैगरी प्रदेश सरकारबाट एक सय ४२ वटा बाख्रा वितरण गर्ने आत्मनिर्भरका कार्यक्रम ल्याएको छु । जसबाट लक्षितवर्ग लाभान्वित हुनेछन् । त्यसैगरी बालबालिकाको क्षेत्रमा विशेषगरी पोषणमा लगानी गर्ने गरेका छौँ । अपांगको हकमा उनीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक सहायक सामग्रीजस्तै ह्विलचियर, वैशाखी वितरण गर्ने कार्यक्रम राखेका छौँ । त्यसैगरी वृद्धवृद्धालाई उनीहरूको आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गरेका छौं ।

आगामी रणनीति के छ ?
आगामी दिनमा नगरपालिकालाई आन्तरिक राजस्व प्रवद्र्धन गर्दै आत्मनिर्भरमुखी नगरपालिका बनाउनुका साथै नगरबासीलाई आर्थिक समृद्धितिर कसरी लैजाने भन्ने रणनीति तयार गरेको छु । यससँगै नगरबासीका आधारभूत आवश्यकता र समाज रूपान्तरणका काममा पनि हाम्रो प्रमुख लक्ष्य छ । र, भौतिक पूर्वाधार विकासका कामलाई पनि जोड दिने प्रमुख रणनीति छ । त्यसैगरी सामाजिक क्षेत्रमा रहेका हरेक नकारात्मक क्रियाकलापजस्तै छाउपडी, जातीय छुवाछुत बालविवाहजस्ता विकृतिलाई अन्त्य गर्नका लागि नगरबासीको सोचाइमा सकारात्मक सोचमा परिवर्तन ल्याउने र जनचेतनाका क्रियाकलापहरू अगाडि बनाउने रणनीति छ । त्यसैगरी नगरपालिकाका प्रत्येक वडामा उत्पादन भएका स्थानीय वस्तुलाई बजारीकरण गर्नका लागि सडक निर्माण गर्ने, नगरपालिकाभित्र बेरोजगार युवालाई रोजगार दिनका लागि सीपमूलक तालिमको व्यवस्था गर्ने र खाँडाचक्र नगरपालिका साविकको सदरमुकाम भएकाले वातावरणीय सरसफाइसँगै नगरपालिकालाई हरित नगरपालिका बनाउने प्रमुख रणनीति छ ।