कारोबार संवाददाता
बिहिवार, फाल्गुन १, २०७६
702

सरकारले पछिल्लो समय उच्च गुणस्तरयुक्त नेपाली सिमेन्टको ग्रेडिङ सुरु गरेसँगै स्वदेशी उद्यमी उत्साहित छन् । भूकम्पपछिको पुनर्निर्माण अपेक्षित ढंगले हुन नसके पनि स्थिति सामान्य अवस्थामा फर्किसकेको छ भने सरकारले जतिसुकै योजना ल्याए पनि भौतिक पूर्वाधार निर्माणको गति पनि त्यति उत्साहप्रद नरहेको अवस्था छ । यसैले ठूला पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन नै खपतका लागि व्यवसायी प्रयत्नशील छन् । मुलुकभित्रै उत्पादित स्ट्रेन्थयुक्त ४३ र ५३ ग्रेडका सिमेन्टलाई मान्यता दिने सरकारको निर्णयले उत्साहित निजी क्षेत्रले नेपालका सडकमा कालोपत्रेभन्दा अधिकतम स्थानमा सिमेन्ट उपयोग गरी स्वदेशी उद्योगलाई प्रवद्र्धनको आग्रह गर्दै बुधबार राजधानीमा बृहत् अन्तक्र्रिया कार्यक्रम आयोजना गरे ।
सडक पूर्वाधारमा जथाभावी अलकत्रा बिच्छ्याउने प्रवृत्ति कम गर्दै सिमेन्टजन्य निर्माणको अधिकतम प्रयोगमा निजी क्षेत्रको जोड छ । त्यसो त नेपाल सरकारले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहका सबै केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माण गर्ने निर्णय गरेको अवस्थामा सडकलाई बलियो र नेपाली उत्पादनकै प्रयोगबाट अघि बढाउनु आवश्यक पनि छ । सरकारको यो निर्णयको कार्यान्वयनसँगै एक-दुई वर्षभित्र सबै स्थानीय तहका केन्द्र प्रदेशको राजधानीसँग सडक सञ्जालमार्फत जोडिनेछन् । यी सडकका संरचना निर्माणमा सिमेन्टको अधिकतम प्रयोग गर्न सकियो पूर्वाधारहरू बलियो हुनुका अतिरिक्त नेपाली अर्थतन्त्र पनि चलायमान हुनसक्नेछ । यसैले पनि सिमेन्ट उत्पादक संघ र सडक विभागबीचको सहकार्यमा भएको कार्यक्रमसँगै निर्माण व्यवसायीलाई पनि नेपाली सिमेन्ट नै प्रयोग गर्न बाटो खुल्नेछ । यद्यपि, जुनसुकै निर्माण पनि योजनाबद्ध, गुणस्तरीय तथा दिगो हुनुपर्छ र यसका लागि निर्माण सामग्रीको गुणस्तरमा पनि निजी क्षेत्रले कुनै सम्झौता गरेको हुनुहुँदैन । सडक पूर्वाधार निर्माणमा नेपाली सिमेन्ट खपतको अवस्था तथा आगामी दिनका सम्भावनाका विषयमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी केही प्रबुद्ध व्यक्तिको विचार :
पूर्वाधार निर्माणमा दीर्घकालीन सोच जरुरी
वसन्तकुमार नेम्वाङ
मन्त्री, भैतिक पूर्वाधार तथा यातायात मन्त्रालय
वर्तमान सरकारले मुलुकमा पूर्वाधार निर्माणलाई जोड दिएको छ । पूर्वाधार विकास विना देशको समृद्धि सम्भव छैन भन्ने हामीले बुझेका छौं । पूर्वाधार निर्माणका लागि सिमेन्ट उद्योगको ठूलो योगदान छ । हामी सिमेन्टमा आत्मनिर्भरको अवस्थासम्म आइपुग्नु देशका लागि ठूलो उपलब्धि हो । पहिलो प्राथमिकता आत्मनिर्भर हुनु थियो अब निर्यातमा जोड दिने समय आएको छ । सरकारले ठूला पूर्वाधार निर्माणमा जोड दिएको अवस्था छ । यो समयमा सिमेन्टको खपत अवश्य बढ्छ ।
उत्पादनमा हाम्रो आत्मनिर्भतालाई कायम राख्दै अझ पूर्वाधार निर्माण र गुणस्तरियतामा जोड दिनुपर्ने समय आएको मैले ठानेको छु । यसका लागि सरकार आवश्यक सहयोग गर्न तयार छ । आत्मनिर्भतालाई अझ बढावा दिएर अझ बढी उपभोग र निर्यातमा जोड दिनका लागि सरकार आवश्यक पहल कदमी गर्न तयार छ । हामी मुलुक निर्माणको क्रममा छौं । अब दीर्घकालीन सोचसहित सडक, पूर्वाधार निर्माण कार्यमा जोड दिनुपर्ने समय आएको छ ।
निजी क्षेत्रले चिन्ता गर्नुपर्ने आवश्यकता छैन । यसको उपभोग वृद्धिका लागि सरकारले नयाँ बाटो बनाउने छ । निर्यातमा जोड दिन म आग्रह गर्दछु । सिमेन्टको प्रयोगले निर्मित सडक दीर्घकालीन रहने भएकाले हामीले अबका दिनमा कंक्रिट सिमेन्टका सडक निर्माणमा जोड दिनुपर्ने अवस्था आएको छ । लागतका हिसाबले बढी भए पनि कंक्रिट सिमेन्टका सडक दीर्घकालीन र सहज रूपमा ग्रामीण सडक निर्माणमा सहज हुने मैले ठानेको छु । यस्तो नयाँ प्रविधिको प्रयोगले सडक निर्माणमा नयाँ टेवा पु¥याउने मैले ठानेको छु ।

 सडक विभागको मापदण्डअनुसार उत्पादन गर्नसक्छौं
डा. ताराप्रसाद पोख्रेल
उपाध्यक्ष, सिमेन्ट उत्पादक संघ
हामी सिमेन्टमा आत्मनिर्भर बनिरहेका छौं । मुलुकलाई चाहिने सिमेन्ट हामीले स्वदेशमै आफ्नै क्लिंकर उत्खनन् गरेर आत्मनिर्भर बनिरहेका छौं भन्न पाउँदा निश्चय पनि गर्व लाग्दछ । नेपाली सिमेन्ट उद्योगहरूको उत्पादन क्षमता पनि निकै बढिरहेको छ र नयाँ उद्योग आएपछि झनै वृद्धि हुनेछ । यसैले हाम्रा उद्योगहरू पूर्ण क्षमतामा चलुन् र राज्यलाई राजस्व तथा मुलुकमा रोजगारी सिर्जना होस् भन्ने हाम्रो चाहनालाई राज्यले पनि बुझिदिनुपर्छ । हाम्रो विकासको प्रस्थानविन्दु भनेकै सडक पूर्वाधार भएको छ र बर्सेनि हजारौं किलोमिटर सडक निर्माण पनि भइरहेकै छ । त्यसै पनि सडकले सहर र गाउँलाई नजिक बनाउँदै छ । जहाँ सडक पुगेको छ, त्यहाँ स्थानीय आयआर्जनमा सक्रिय छन् । जीवनस्तर फेरिँदो छ, यात्रा छोटिएको छ । सहरबाट नुन, तेल र खाद्यान्न ढुवानी गर्न सहज भएको छ । यातायातको सहजताले गर्दा गाउँगाउँमा खुद्रा पसल र होटल खोल्ने प्रतिस्पर्धा छ । त्यसैले होला सडकलाई पूर्वाधारको पनि पूर्वाधार भन्ने गरिन्छ । निर्माण भइसकेका सडकको स्तरोन्नतिदेखि स्थानीय तहको गठनसँगै ग्रामीण क्षेत्रमा पनि सडक पूर्वाधार निर्माण धमाधम भइरहेको अवस्थामा हाम्रो भूमिका पनि महत्वपूर्ण हुने देखेका छौं । सडकको योजना बनाउने तथा नियमन गर्ने सडक विभागले हो र हामी सडक विभागसँगै सहकार्य गरेर उत्पादन गर्न चाहान्छौं । विश्वमा सडक निर्माणमा नयाँनयाँ प्रविधिहरूको प्रयोग भइरहेको छ भने हामीले पनि यस्ता प्रविधिको उपयोग गर्न सक्नेछौं । हामी उत्पादकका नाताले भन्न सक्छौं कि सडक विभागले तोकेको गुणस्तर मापदण्डअनुसारका सिमेन्ट हामी नेपालमै उत्पादन गर्नसक्छौं । यसका लागि सरकारसँग सहकार्य गर्न तयार छौं । काम गर्ने हामी हौं र नीति बनाउने सरकार हो भने हामीबीच समस्या नै छैन । हामी उत्पादनमा सहकार्य गरौं, निर्माणमा सहकार्य गरौं र म गुणस्तरमा सम्झौता गर्दैनौं भनेर प्रतिबद्धता पनि जनाउन चाहान्छु । हामीबीच सहकार्य भयो भने हामीले विकास पूर्वाधारमा चाहेको धेरै काम गर्न सकिन्छ र पूर्वाधार विकासको जनचाहनालाई पनि पूरा गर्न सकिन्छ । सिमेन्ट व्यवसायी नयाँ नेपाल निर्माण गर्न आतुर छन् र सरकारसँग सहकार्य गरेरै यसमा योगदान गर्न सकिन्छ भन्ने हामीलाई लागेको छ । यसका निमित्त केबल नीति निर्माणको तहबाट सहजीकरण भने जरुरी छ ।

सिमेन्ट निर्यातका लागि हामी तयार छौँ
धुव्र थापा
अध्यक्ष, सिमेन्ट उत्पादक संघ
सरकारले अगाडि सारेको सुखी नेपाली र समृद्ध नेपालको आंकाक्षालाई पूरा गर्न पूर्वाधार क्षेत्र महत्वपूर्ण हुन्छ । पूर्वाधारमा सम्पन्न हुनु भनेकै देश समृद्ध हुनु हो । जुन देशमा पूर्वाधार विकास भएको हुँदैन बाहिरबाटै देख्दा पनि त्यो देश समृद्ध भएको जस्तो लाग्दैन । पूर्वाधारमा पनि सडक र यातायातको पहुँच महत्वपूर्ण मानिन्छ । पूर्वाधार विकासमा महत्वपूर्ण मानिएका सडकहरू दीर्घकालीन बन्न सकेका छैनन् । स्थानीय मात्रै होइन राजमार्गका सडक पनि एक वर्ष नहुँदै भत्किने उप्किने समस्या छ । बिटुमिनको प्रयोगबाट सडक निर्माण गर्दा भन्दा कंक्रिट सिमेन्ट प्रयोग गर्न सकिएमा त्यसले दीर्घकालसम्म लाभ दिन सक्छ । सुरुवाति चरणमा केही लागत बढी लागे पनि दीर्घकालीन अध्ययन गर्ने हो भने बिटुमिन भन्दा सस्तो पर्छ । संघ, प्रदेश र स्थानीय तहले पूर्वाधार विस्तारलाई प्राथमिकता दिएका छन् तर सो बमोजिम काम हुन सकेको छैन । सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको छ । सडक निर्माणमा कंक्रिट सिमेन्ट प्रयोग गर्न कुनै समस्या छैन । हामीले मागअनुसार पूर्ति गर्न सक्षम भइसकेका छौं । दक्षिण एसियामा नेपाली सिमेन्ट सबभन्दा महँगो छ । यसलाई घटाउन सरकारले सहयोग गर्नुपर्छ, अन्यथा निर्यात हुन सक्दैन ।
देशमा दिनप्रतिदिन व्यापारघाटा बढिरहेको छ । सिमेन्ट निर्यात गर्न सकियो भने व्यापार घाटा स्वतः कम हुन्छ । सिमेन्ट ८० प्रतिशतसम्म भ्यालु एड हुने वस्तु हो । कृषि पछाडि सबैभन्दा धेरै भ्यालु एड हुने वस्तुमा सिमेन्ट पर्छ त्यसैले अब भारतका बोडर साइडसम्म भए पनि निर्यात गर्ने अवस्था बनाउनुपर्छ । हामी निर्यातका लागि सक्षम भइसकेका छौँ । विकसित देशहरूले बिटुमिनको सट्टा कंक्रिट प्रयोग गर्दा लामो समयसम्म सडकलाई टिकाउन सफल भएका छन् । एकपटक लागत लागे पनि त्यसको मर्मत सम्भार सामान्य तरिकाले गर्दा पनि लामो समय टिकाउन सकिन्छ । ४०-५० वर्ष टिक्ने मर्मत शुल्क कम लाग्ने वातावरण सुरक्षामा ध्यान दिन सकिन्छ । यसका लागि हामी सिमेन्ट उत्पादन बढाउन सक्छौं । हामी गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सक्षम पनि छौं । यसले गर्दा स्वदेशी उद्योगहरू फस्टाउनुका साथै नेपाली पैसा विदेश जानबाट बचाउन सकिन्छ । सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति लिनुपर्छ । कंक्रिट सिमेन्टको प्रयोग बढाउन सचेतना जगाउन लागि कार्यक्रम आयोजना गरेका छौँ । हामीले राजधानीबाट कार्यक्रम सुरुवात गरेका छौँ । अब सातै प्रदेशमा यस्ता कार्यक्रम अगाडि बढाउने तयारीमा छौं ।
नेपाली सिमेन्ट उद्योग अहिले बजारको मागभन्दा बढी उत्पादन गर्न सफल भइसकेको छ । आगामी आर्थिक वर्षमा उत्पादन बढाउन दोब्बर पार्न सक्ने संरचना तयार पनि गरिसकेका छौं । बजारमा माग अहिलेको अवस्थामा दोब्बर हुन सक्ने अवस्था छैन यदि दोब्बर वा सोभन्दा धेरै भए पनि माग धान्न सक्छौं । स्वदेशी उद्योग प्रवद्र्धन र सडकको दिगो विकास नै हाम्रो मुख्य एजेन्डा हो । त्यसैले कंक्रिट रोड बनाउने विषयमा नीतिगत रूपमै सुधार हुनुपर्छ । स्थानीय सडक राजमार्ग, रणनीतिक सडकहरूमा कंक्रिट सिमेन्ट प्रयोग भएमा दीर्घकालसम्म टिकाउ हुन्छ । नेपालमा गोङ्गबुको बसपार्क, सिन्धुली–बर्दिवास सडकको टर्निङ प्वाइन्टमा कंक्रिट प्रयोग गरिएको छ ।
बजार खोज्नेदेखि रकम उठाउन सरकारले सहयोग गर्छ
मोतिलाल दुगड
राज्यमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
पछिल्ला वर्षमा नेपालमा सिमेन्ट उत्पादन बढ्दो क्रममा छ, भोलिका दिनमा अझ बढ्छ भन्ने विश्वास छ । उद्योगको उत्पादन बढ्नु एउटा उद्योगीका लागि मात्रै नभएर समग्र राज्यका लागि खुसीको कुरा हो । एउटा उद्योग राम्रोसँग सञ्चालन हुँदा त्यसको चक्रिय प्रभाव रोजगारी सिर्जना, पूर्वाधार निर्माण, राजस्वदेखि अन्य क्षेत्रसम्म परेको हुन्छ । अब सिमेन्ट मात्रै नभएर सिमेन्टजन्य अन्य उत्पादनमा पनि उद्योगीहरूले ध्यान दिनुपर्छ । केही समय अगाडिसम्म आयातमुखी सिमेन्ट क्षेत्र अहिले आत्मनिर्भर भएको छ जुन निकै खुसीको कुरा हो । अब निर्यातका लागि बजारमा खोज्ने चुनौती थपिएको छ । यसलाई चुनौतीका रूपमा नभएर अवसरको रूपमा लिनुपर्छ ।
मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने उद्योगलाई सरकार बढीभन्दा बढी सहयोग गर्न तयार छ । निर्यातजन्य उद्योगको बजार खोज्नेदेखि अन्तर्राष्ट्रिय रूपमा लबिङ गर्न सरकार तयार छ । भारतमा समकक्षी मन्त्रीसँग छलफल हुँदैछ । त्यसमा पनि सिमेन्टको विषय उठान गर्नेछु । केही समय अगाडि पाम आयलमा देखिएको समस्या अहिले समाधान भएको छ । निजी क्षेत्रका लागि पर्याप्त सुविधा दिनुपर्छ भन्नेमा म विश्वस्त छु । बजार, कच्चा पदार्थ पूजी परिचालन, विद्युत लगायत निर्यात प्रवद्र्धनमा सहयोग गर्न सकिन्छ । सामान बजार पठाएर रकम असुल गर्न सहजीकरण गर्ने नीतिगत व्यवस्था गर्न सरकार तयार छ । निजी क्षेत्रको समृद्धि हुनु भनेको देश पनि समृद्ध हुनु हो, त्यसैले सरकार हातेमाले गरेर अगाडि बढ्न तयार छ ।
सरकारले सिमेन्टलाई तुलनात्मक लाभको वस्तुको रूपमा लिएर उत्पादकलाई आयकरमा सहुलियत, पुनः कर्जा सुविधा, पहुँच मार्ग र विद्युत् आपूर्तिमा सहयोगको प्रक्रिया अगाडि बढाएको छ । यो सबै सिमेन्टको उत्पादन लागत घटोस् र निर्यात गर्ने अवस्था सिर्जना होस् भन्ने नै हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सिमेन्ट उद्योगलाई निर्यातमूलक उद्योगको रूपमा विकास गरिने व्यवस्था गरिएको छ । यो सबै विकास निर्माणमा सिमेन्ट उद्योगको भूमिका र दायरा अझ बढाएर लैजान सकियोस् भन्ने नै हो । निजी क्षेत्रले मनोबल उच्च बनाएर काम गर्नुस् सरकार सधैसँगै छ ।

दीर्घकालीन टिकाउ सडक अबको आवश्यकता
राजेन्द्रराज शर्मा
सहसचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
अहिले अधिकांश ठाउँमा बिटुमिनबाट निर्माण गरिएका सडकमात्र छन् । लागतका हिसाबले सुरुमा धैरे महँगो परे पनि सिमेन्टबाट बनाइएका सडक दीर्घकालीन समयसम्म टिकाउ हुन्छ । हाल भिरालो सडक र धुलिखेल–सिन्धुली सडक खण्डको केही भागमा सिमेन्ट प्रयोग गरिएको छ । कस्तो सडकमा सिमेन्टको प्रयोग गर्ने, यसको लाभ के हुने, दीर्घकालीन प्रभावलगायतका विषयमा थप प्रष्ट हुन कार्यक्रम आयोजना गरेका हौं । स्वदेशमै उत्पादित सिमेन्टको खपत बढाउन सकिए हाल तेस्रो मुलुकबाट आयात हुने बिटुमिन कम हुन्छ । हाल देशभर एक लाख किलोमिटर सडक रहेको अवस्था छ । गत आवमा ६६ हजार मेट्रिकटन बिटुमिन आयात भएको छ । जसबाट ३ दशमलव ३ अर्ब रुपैयाँको बिटुमिन आयात भएको भन्सार विभागको तथ्यांक छ । यसका लागि नीतिगत तहबाट नै सिमेन्टको सडक निर्माणमा जोड दिनुपर्ने समय आएको छ । हाल जति पनि सिमेन्टबाट सडक बनेका छन् त्यसको कुनै मापदण्ड छैन नीति तहबाटै नै सुधार हुनु जरुरी छ । हाल नेपालमा प्रयोग भएका बिटुमिनको गुणस्तरमा समस्या रहेकाले गर्दा सरकरले लगानी गरेर निर्माण गरेका सडक चाँडै बिग्रिने गरेको छ । सिमेन्टको सडक निर्माण गरेको खण्डमा गुणस्तरियता मापन गर्न र सहज रूपमा सडक निर्माण गर्न सकिने अवस्था छ । सिमेन्टको सडक निर्माणसँगै हाल बिटुमिन सडक निर्माण समय समयमा गरिने मर्मत गर्नु नपर्ने भएकाले लागत घटेर दीर्घकालीन रूपमा लागत भने घटेर जानेछ । सुरुमा धैरै लागत रहे पनि लाइफ साइकल लागत भने कम छ । दीर्घकालीन रूपमा हेर्दा सस्तो सुलभ र टिकाउ भएकाले हामीले सिमेन्टका सडक निर्माणमा जोड दिनुपर्छ । दीर्घकालीन रूपमा हेर्दा हामीले मागअनुसारको सिमेन्ट उत्पादन गर्न सक्ने चुनढुंगा खानि रहेकाले गर्दा सिमेन्टको आपूर्तिमा कुनै समस्या रहने छैन । ठूला ठूला राजमार्ग निर्माण गर्दा सिमेन्ट कंक्रिटका सडक निर्माणमा जोड दिनुपर्छ । महेन्द्र राजमार्ग विस्तार गरेर ६ लेनको लागि निर्माण गरिँदै छ । यसमा सिमेन्ट कंक्रिटको सडक बनाउन सकेको खण्डमा ३० देखि ४० वर्षको समयसम्म टिक्ने अध्ययन अनुसन्धानले देखाएको छ ।