भुवन पौडेल
सोमवार, माघ ६, २०७६
1536

नेपाल सरकारको मन्त्रिपरिषद्को पुस २२ गते सम्पन्न बैठकले भीष्मराज ढुंगानालाई पुँजीबजारको नियामक धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय ग-यो । सरकारले निर्णय गरेको चार दिनमा पदभार ग्रहण गरेका ढुंगाना नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाश प्राप्त हुन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक भएर करिब तीन वर्ष काम गरिसकेका ढुंगानाले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यसैगरी ढुंगानाले बेलायतबाट फाइनान्समा एमबीएसमेत गरेका छन् । धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएपछि ढुंगानाले बजारको स्थायित्व, विस्तार र व्यावसायिक बनाउन काम गर्ने योजनामा छन् । नेपालको पुँजीबजारमा सीमित वित्तीय औजारहरूको मात्र कारोबार हुने भएकाले पनि अस्थिर हुने गरेको बताउने ढुंगानाले लगानीकर्तालाई धितोपत्र बजारसम्बन्धी आधारभूत तथा प्रविधिक जानकारी दिलाउन आवश्यक रहेको उल्लेख गरे ।
पुँजीबजारमा संस्थागतभन्दा पनि व्यक्तिगत लगानीकर्ता धेरै भएकाले पनि बजारमा अस्थिरता आउने गरेको उनको भनाइ छ । संस्थागत लगानीकर्ताको सहभागिता बढेको खण्डमा सेयर मूल्यमा अस्वाभाविक उतारचढाव नआउने उनी बताउँछन् । बजारमा संस्थागत लगानीकर्ताको संख्या बढाउनका लागि स्टक डिलरको लाइसेन्स दिनुपर्ने उनको बुझाइ छ । त्यसका साथै बजारलाई व्यावसायिक बनाउनका लागि बुक बिल्डिङ प्रोसेसमार्फत सेयर मूल्य तय गर्ने अभ्यास सुरु गर्नुपर्ने ढुंगाना बताउँछन् । धितोपत्र बजारमा सुशासनको व्यवस्था स्थापित गरी अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नु आवश्यक रहेको ढुंगानाको भनाइ छ । लगानीकर्ताले सेयरको मूल्यलाई उतारचढाव गराउने आर्थिक गतिविधि तथा सम्बन्धित कम्पनीको अवस्थालाई विश्लेषण गरेर लगानी गर्नुपर्ने बताउने ढुंगानासँग धितोपत्र बजारको दिगो विकासका लागि आगामी योजना तथा समग्र बजारका अवसर तथा चुनौतीका विषयमा केन्द्रित रहेर कारोबारकर्मी भुवन पौडेलले गरेको कुराकानीको सार :

पछिल्लो समयमा सेयर बजार बियरिस ट्रेन्डमा पनि भएकाले सेयर लगानीकर्ताको मनोबल कमजोर भएको अवस्था छ । भर्खरै मात्र धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ । लगानीकर्ताले महसुस गर्ने गरी बजारको दीर्घकालीन विकासका लागि तपाईंका योजनाहरू के–के छन् ?
धितोपत्र बजारमा केही समस्या छन्, जसले गर्दा लगानीकर्ता कहिले निराश हुने तथा कहिले उत्साहित हुने अवस्था छ । सबैभन्दा पहिलो र मुख्य समस्या भनेको धितोपत्र बजारमा कारोबार हुने वित्तीय औजारहरूमा विविधता नहुनु हो । अहिले इक्विटी सेयर, सामूहिक लगानी कोषका एकाइ, संस्थागत तथा सरकारी ऋणपत्रको मात्र कारोबार हुन्छ । सीमित वित्तीय औजार भएकाले लगानीकर्ताले आफ्नो लगानीमा विविधता ल्याउने अवसर हुँदैन । धितोपत्र बजारमा अरू विभिन्न खालका वित्तीय औजारहरू उपलब्ध हुन सक्छन् । जस्तै इन्डेक्स बेस्ड ट्रेडिङ, सेक्टरल इन्डेक्सका ट्रेडिङ, बजारसँग सम्बन्धित अन्य डेरिभेटिभ प्रडक्टहरू डिजाइन हुन सक्छन् । बजारमा लगानी गर्ने क्षेत्रको विविधता नहुँदा लगानीकर्ता इच्छाअनुसारको लगानी गर्न पाएका छैनन् । अन्तर्राष्ट्रिय बजारलाई हेर्दा पेन्सनसँग सम्बन्धित योजनाहरू, बिमासँग जोडिएका योजननाहरू मर्चेन्ट बैंकरहरूले जारी गर्छन् । यसले लगानीकर्ताका लागि लगानी गर्ने विभिन्न खालका वित्तीय उपकरणहरू उपलब्ध गराइदिन्छ । तर, हाम्रो बजारमा त्यस्तो छैन । त्यसले गर्दा सबै लगानीकर्ता धितोपत्रमा नै लगानी गर्छन् । धितोपत्र बजारमा लगानी गर्न गइसकेपछि पनि लगानीकर्ताले टेक्निकल नलेज नराख्ने गरेको देखिन्छ । हाम्रा लगानीकर्ताको प्रमुख समस्या भनेको धितोपत्र बजारमा उपयुक्त ज्ञान तथा जानकारीबिना नै लगानी गर्ने गरेको पाइएको छ । हाम्रा लगानीकर्ताले अरूले भनेको भनेर सुनेकै भरमा लगानी गर्ने गरेका छन् । सेयर मूल्य कम हुँदा धेरै किन्ने र बढेको अवस्था सक्दो धेरै बिक्री गर्ने हो । तर, हाम्रोमा सेयर मूल्य बढेको समय किन्ने र घटेको समय बिक्री गर्ने गरेको देखिन्छ, जुन गलत हो । नेपालको धितोपत्र बजारमा ४ देखि ५ वर्षको अवधिमा सेयर बजार परिसूचकले उच्च बिन्दु बनाउने चक्र देखिन्छ । निश्चित समयसम्म होल्ड गर्न सकेको खण्डमा लगानीकर्ताले बजारबाट प्रतिफल पाउँछ भन्ने आधार यसले पनि देखाउँछ । साना लगानीकर्ताले बजार उच्च बिन्दुमा पुगेको समयमा सेयरमा लगानी गर्ने गरेको अवस्था छ । त्यसैले साना लगानीकर्तालाई प्रोटेक्सन गर्ने सिस्टम पनि हुनुपर्छ भन्ने लाग्छ । बजारको अवस्थाअनुसार जोखिम बढेको अवस्थामा साना लगानीकर्तालाई सावधान गराउने व्यवस्था गर्न सके सम्भावित नोक्सानीबाट जोगिन सक्छन् । पुँजीबजार साक्षरता अझै बढाउनुपर्ने अवस्था छ ।
अहिले सरसर्ती हेर्दा १६ लाख डिम्याट एकाउन्ट छन् । तर, अनलाइनमा कारोबार गर्ने लगानीकर्ताको संख्या हेर्दा १ हजार ६ सयमात्र छ । यी १ हजार ६ सयलाई राम्रोसँग शिक्षित गराउने हो भने धितोपत्र बजार सुधार हुन्छ । हाम्रो बजारमा संस्थागत लगानीकर्ताभन्दा व्यक्तिगत लगानीकर्ता धेरै भए । धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढ्ने बित्तिकै सेयर मूल्यमा हुने अस्वाभाविक उताचढाव आफैं नियन्त्रण हुन्छ । त्यसैले संस्थागत लगानीकर्ताको सहभागिता बढ्नेबित्तिकै धितोपत्र बजार स्थिर हुन्छ । धितोपत्र बजारमा संस्थागत लगानीकर्ता भित्र्याउने संयन्त्र विकास हुन नसकेको अवस्था छ । त्यसका लागि डिलर लाइसेन्स वितरण गर्ने तथा बुक बिल्डिङ प्रोसेसमार्फत मूल्य निर्धारण गरेको खण्डमा संस्थागत लगानीकर्ताको सहभागिता बढ्न जान्छ । बुक बिल्डिङ प्रोसेसमा पनि धितोपत्र बोर्डले पहिचान गर्छ । यसरी पहिचान भएका लगानीकर्ताले साधारण सेयरको मूल्य निर्धारण गर्छन् । त्यसैले यो व्यवस्था नगर्दासम्म बजारको विकास हुँदैन ।
अहिले लगानीकर्ता अत्तिहाल्नुपर्ने अवस्था छैन । तर, सेयर बजार बढेको अवस्था अझै बढ्छ भनेर लगानी बढाउने र घटेको समयमा आत्तिने गर्नु होइन । बजार बढेको समयमा लगानी बढाएका लगानीकर्ता बजार घटेको अवस्थामा किनेर नोक्सानी कम गर्न सकिन्छ । नेप्से परिसूचक १ हजार ८ सय पुग्दा लगानी गरेका लगानीकर्ताले अहिले घटेर १ हजार १ सयमा आएको अवस्थामा सेयर खरिद नोक्सानी घटाउने तथा जोखिम व्यवस्थापन गर्न सकिन्छ । लगानीकर्तासँग यो खालको स्किल नहुँदा पनि नेप्से बढ्दा उत्साहित हुने र घट्दा आत्तिने गरेको अवस्था हो । यस्ता खालका समस्यालाई नियामकले थोरै सम्बोधन गरिदिनुपर्ने हुन्छ ।

सेयर बजार घट्न थालेपछि बजार सुधारका लागि सरकार, धितोपत्र बोर्डलाई गाली गर्ने तथा आन्दोलन गर्ने स्थिति छ । विगतमा लगानीकर्ता तथा धितोपत्र दलालले आफ्ना माग पूरा गर्नका लागि सेयर कारोबार नै ठप्प पारेको अवस्था हो, यो अवस्था आगामी दिनमा दोहोरिन नदिनका लागि तपाईंले कस्तो कदम लिने योजनामा हुनुहुन्छ ?
सेयर बजारका लगानीकर्ता यिनै भए पनि यिनीहरूमा टेक्निकल एक्सपर्टिज भएन, साथसाथै लगानीकर्तालाई प्रक्षेपण गर्ने सीप पनि भएन । त्यतिमात्रै नभई बजारको विश्लेषण गर्ने ज्ञानसमेत नहुँदा कि त हल्लालाई आधार मानेर लगानी गर्ने कि भने गलत मनसायले मोटिभेट गर्ने व्यक्तिहरूको पासोमा परे अवस्था हो । अन्तर्राष्ट्रिय रूपमा हेर्दा यस्तो समस्या समाधान गर्नका लागि सर्टिफाइड एजेन्टको व्यवस्था गरेको हुन्छ । त्यसलाई नियामक निकायले अनुमति दिन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा त्यस्तो खालको लाइसेन्स दिँदा बिमा कम्पनीका एजेन्ट जस्ता भइहाले नि भन्ने गरेको पनि सुनियो । तर, त्यो होइन । एजेन्टको आफ्नै भूमिका हुन्छ । एजेन्टले सेयर बजारमा लगानी गर्ने इच्छुक व्यक्तिले बजारको विषयमा जानकारी लिने तथा लगानीसम्बन्धी जानकारी लिनका लागि सर्टिफाइड एजेन्ट आवश्यक हुन्छ । त्यसका लागि धितोपत्र बोर्डले अनुमति दिने र नियमन गर्ने काम गर्छ । एजेन्टको आचासंहिता, काम गर्ने प्रकृति, कमिसन कति लिने, उनीहरूले दिने सेवा के–के हुने भन्ने कुराको निर्धारण बोर्डले गर्छ । अहिलेको अवस्थामा बोर्डले ५ सय जनालाई सर्टिफाइड एजेन्टको अनुमति दिएको खण्डमा लगानीकर्ताको दायरा पनि फराकिलो हुन्छ । एजेन्टले सेयर बजारका पोटेन्सियल क्लाइन्टको खोजी गरी सल्लाह सुझावसमेत दिने भएकाले बजारसमेत विस्तार हुनमा मद्दत हुन्छ । यो काम गर्नका लागि नेपालको सन्दर्भमा कत्तिको स्वीकार गर्न सकिन्छ ? कुनै पनि नयाँ काम गर्दा दुई दृष्टिकोणबाट हेर्नुपर्छ । पहिलो भनेको सेवा दिने र लिने व्यक्तिले के चाहन्छ भन्ने स्पष्ट हुनुपर्छ । त्यसका साथै ती दुई पक्षबीच दुविधा छ वा छैन भन्ने पनि प्रस्ट हुनुपर्छ । त्यसमा नियामकले यी दुवैलाई मिलाइदिन उपयुक्त वातावरण तयार गरिदिने हो । त्यसमा सेवा लिने–दिनेबीच निर्धारण हुने शुल्क नियामकले तोकिदिने हो । त्यसका साथै पर्याप्त वित्तीय उपकरण बजारमा उपलब्ध हुने र संस्थागत लगानीकर्ताको संख्या बढेको खण्डमा अहिले देखिएको समस्या समाधान हुन्छ ।

तपाईंले धितोपत्र बजारमा वित्तीय उपकरणको विविधता आवश्यक छ भन्दै गर्दा शून्यप्रायः भएको डेब्ट मार्केटलाई कसरी सक्रिय सञ्चालन गर्न सकिन्छ भन्ने लाग्छ ?
डेब्ट मार्केट भनेको डिबेन्चर मार्केट नै हो । यसमा हामीसँग संस्थागत र सरकारी ऋणपत्र छ । आगामी दिनमा यो विस्तार हुनेछ । संघले, प्रदेश सरकारहरूले पनि ऋणपत्र जारी गरेर ऋण उठाउँछन् । यो संयन्त्र बनाइसकेपछि सरकारले जारी गर्ने वित्तीय औजार बढ्न जान्छ । सरकारी ऋणपत्र कारोबार नै आउन सकेको छैन । सरकारी ऋणपत्र बढे पनि कारोबारका लागि फ्लोरमा नआउँदासम्म त्यसले धितोपत्र बजारलाई कुनै योगदान दिँदैन । सरकारी ऋणपत्र कारोबारका लागि आउने संयन्त्र तयार गर्ने सन्दर्भमा समन्वयको अभाव देखिन्छ । कारोबार गर्नका लागि सरकारी ऋणपत्र पनि डिम्याटमा आउनुपर्छ । यसमा केन्द्रीय बैंकले पनि डिम्याट ऋणपत्रको निष्कासन गरे कष्ट लाग्छ । राष्ट्र बैंकले डिम्याटको कष्ट बेहोर्न चाहेको छैन । राष्ट्र बैंक आफैंले ओपन मार्केट चलाइरहेको छ । राष्ट्र बैंकले निष्कासन गर्ने अन्य वित्तीय औजारहरू पनि छन्, जसको कारोबार बारम्बार हुने गर्छ । त्यसरी बारम्बार कारोबार हुने औजारको कारोबार कमिसन किन तिर्ने भन्ने केन्द्रीय बैंकलाई छ । त्यसैले कारोबार रकमका आधारमा कारोबार गर्ने संयन्त्रको विकास गर्नुपर्छ । यो धितोपत्रको दोस्रो बजारमा आउनैपर्ने वित्तीय औजार हो ।
डिबेञ्चर तथा बन्डको कारोबार गर्ने संयन्त्र धितोपत्रभन्दा फरक छ । यसको हरेक दिन मूल्य निर्धारण हुन्छ । बन्ड मर्केट सञ्चालन गर्दा प्रिमियम र डिस्काउन्टका आधारमा कारोबार हुने संयन्त्र बनाउनुपर्छ । त्यसमा वित्तीय क्षेत्रको औसत ब्याजदरको पनि भूमिका हुन्छ । कुनै एक व्यक्ति वा संस्थाले खरिद गरेको डिबेन्चरको ब्याजदर थोरै छ । तर, परिपक्व हुने अवधि धेरै छ भने डिस्काउन्ट रेट बढी हुन्छ । त्यसैगरी उच्च ब्याजदर तथा लामो अवधिका डिबेन्चर छन् भने प्रिमियम उच्च हुन्छ । यो संयन्त्र नेपालको बजारमा नभएकाले यो गर्नु आवश्यक छ । बजारको विकास गर्ने हो भने डिबेन्चर मार्केटलाई प्रिमियम र डिस्काउन्टका आधारमा सञ्चालन गर्नुपर्छ । त्यसका साथै केन्द्रीय बैंकले सबै बैंकलाई अनिवार्य ऋणपत्र निष्कासन गर्न भनेको छ । त्यसले गर्दा पनि डेब्ट मार्केट विकास हुन्छ भन्नेमा निश्चित छ । डिबेन्चर धेरै आएको खण्डमा बजार पनि निर्माण हुन्छ । त्यसका साथै कारोबार गर्ने संयन्त्र पनि खोजिन्छ । साथै दोस्रो बजारमा आउने डिबेन्चर जति धेरै भयो बजार विकास गर्न उति सजिलो हुन्छ ।

प्राथमिक बजारलाई पूर्ण प्राविधिकमैत्री बजारको विकास भएको देखिन्छ, तर दोस्रो बजारमा यसको प्रभावका कम परेको देखिन्छ, प्रविधि प्रयोग गरेर दोस्रो बजारमा हुने अनावश्यक चलखेल नियन्त्रण गरी स्वस्थ बजारको विकास गर्ने सन्दर्भमा तपाईं कसरी अघि बढ्ने योजना गर्नुभएको छ ?
धितोपत्र बोर्डको कुरा गर्ने हो भने प्राथमिक र दोस्रो बजार दुवैलाई नियन्त्रण गर्न नसकेको अवस्था छ । प्राथमिक बजारमा जलविद्युत् कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँमा सधारण सेयर निष्कासन गर्न अनुमति दियो । त्यो कम्पनीले साधारण सेयर बिक्री गरेर दोस्रो बजारमा सूचीकरण गरेको भोलिपल्ट कारोबार हुँदा ६० रुपैयाँमा झरेको अवस्था छ । त्यसमा धितोपत्र बोर्डले ६० रुपैयाँमा निष्कासन गर्न लगाउनुपर्ने होइन ? दोस्रो बजारमा १५ दिन पनि मूल्य स्थिर नरहने बजारलाई नै प्रदूषित गर्ने खालका सेयरको मूल्य निर्धारण संयन्त्र नै भएन नि । त्यसका साथै रियल सेक्टरका कम्पनीलाई प्रिमियममा सेयर निष्कासन गर्न अनुमति दिने व्यवस्थालाई नै परिवर्तन गर्नु आवश्यक छ । त्यसका लागि प्रतिसेयर नेटवर्थ, कम्पनीले दिँदै आएको प्रतिफलको अनुपात, कम्पनीको फ्युचर एक्पेक्टेसन कस्तो ? यी तीन कुरालाई हेरेपछि मात्र सेयर मूल्य तोकिनुपर्छ । यसका आधारमा कुनै नियामक निकायले गर्न सक्छ भने त्यसलाई दिऊँ । होइन भने बजारलाई निर्धारण गर्न दिऊँ । त्यसका लागि बुक बिल्डिङ प्रक्रियामार्फत मूल्य निर्धारण हुनुपर्छ । यसका लागि धितोपत्र बोर्डले छलफल गरिसकेको छ । यसलाई कार्यान्वयन गर्नुपर्नेछ । त्यसका साथै दोस्रो बजारको सन्दर्भमा झनै धेरै विषय छन् । दोस्रो बजारका समस्याको विषयमा निश्चित अध्ययन गरेर उपयुक्त समाधानको खोजी हुन्छ ।

हालको धितोपत्र बोर्डले पुँजीबजारलाई नै नियमन गर्न नसकेको अवस्थामा कमोडिटी बजारको नियमनको जिम्मा पनि थपिएको छ, बोर्डलाई सक्षम बनाएर पुँजीबजार र कमोडिटी बजार नियमन गर्ने सन्दर्भमा कसरी अघि बढ्ने तयारी गर्नुभएको छ ?
सबैभन्दा पहिला धितोपत्र बोर्डलाई सक्षम बनाउनुपर्छ । एउटा नियामक निकायको आफ्नै जग्गामा भवन हुनुपर्छ । त्यसका साथै बोर्डको आईटी एमआईएसमा धेरै काम गर्नु देखिन्छ । धितोपत्र बजारका हरेक काम विद्युतीय माध्यमबाट हुने र निरीक्षण तथा सुपरिवेक्षणमा कडाइ गर्ने हो भने बजारलाई स्थायी बनाउन गाह«ो पर्दैन । यसका लागि केही प्रविधि जोड्ने, पूर्वाधार निर्माण गर्ने, आवश्यक संयन्त्र तय गर्ने र केही सीप लगानीकर्तालाई दिलाउन सकियो भने नेपालको मार्केट सानो होइन । आगामी दिनमा स्थिर धितोपत्र बजारको कुल बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको करिब ७० देखि ८० प्रतिशत पु-याउन सकिएको खण्डमा उपयुक्त हुन्छ ।
बजारमा लगानीकर्तालाई लगानी गर्ने विकल्पहरू सरकारले उपलब्ध गराइदिनुपर्छ । कमोडिटी मार्केट पनि सञ्चालन गर्न दिनुपर्ने हो । रोकेको किन भन्ने थाहा भएन । कमोडिटी मार्केटमा लगानी गर्छु भन्ने लगानीकर्ता पनि छन् नि । तिनीहरूलाई किन अवसर नदिने ? पैसा भनेको प्रतिफल जता धेरै हुन्छ त्यतै सिफ्ट भइराख्छ । त्यसका लागि सिफ्ट हुने क्षेत्र तयार गरिदिनुप-यो । त्यसपछि बल्ल माग र आपूर्तिको सन्तुलन कायम हुँदै जान्छ । त्यसपछि बजार स्थायी हुने हो । अहिले विदेशी मुद्रामा भन्दा सुनको डिमान्ड धेरै छ । सुनको माग बढेपछि मूल्य बढेको छ । अमेरिका र इरानबीच युद्ध हुने अवस्था आएको खण्डमा सुनको मूल्य बढ्छ । युद्ध भएन भने मुद्राको मूल्य बढ्छ । त्यसैले लगानीकर्ताका लागि यस्ता क्षेत्रहरूको उपलब्धता हुनुपर्छ भन्ने हो ।
धितोपत्र बोर्डले नियमन गर्न सक्दिन भन्ने विषय होइन । कमोडिटी र सेक्युरिटी मार्केट दुवैलाई सन्तुलित बनाएर अघि लैजानुपर्छ । लगानीकर्ताले वैधानिक रूपमा स्प्याकुलेटिभ काम गर्न चाहन्छ भने त्यसको पनि व्यवस्था हुनुपर्छ । यी सबै कुरा सन्तुलित बनाउन सकिएन भने बजारको दीर्घकालीन विकास हुन्छ भन्ने लाग्दैन ।

धितोपत्र बोर्डको नियमनको पक्षलाई हेर्दा निकै कमजोर रहेको देखिन्छ, बजारमा हुने चलखेल, संस्थागत सूचनाका आधारमा हुने इनसाइडर ट्रेडिङ भयो भनेर नियामकले नै भने पनि अहिलेसम्म कुनै पनि कारबाही भएको अवस्था छैन । यस्ता खालका सेयर मूल्यमा प्रभाव पार्ने अस्वाभाविक खालका चलखेललाई नियन्त्रण गर्ने सन्दर्भमा कसरी अघि वढ्ने सोचमा हुनुहुन्छ ?
धितोपत्र बोर्डले नगरेको नै भन्न नमिल्ला । धितोपत्र ऐनमा नै इनसाइडर ट्रेडिङलाई नियन्त्रण गर्नुपर्छ भन्ने व्यवस्था छ । त्यसको नियमावली बनेको थिएन । अहिले नियमावलीको पनि मस्यौदा बनाएर स्वीकृतिका लागि पठाएको अवस्था छ । कुनै पनि व्यक्तिले व्यक्तिगत लाभका लागि इनसाइडर इन्फर्मेसन फ्लो गर्न पाइँदैन । यो संसारभरि नै पाइँदैन । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा सेयर मूल्यमा प्रभाव पार्ने सूचनाका आधारमा चलखेल गर्नु भनेको फौजदारी मुद्दा हो । यसको विषयमा अनुसन्धान पनि हुन्छ । फेडरल एक्सेचन्ज बोर्डले कुनै पनि कम्पनीको सेयर मूल्य बढ्नुभन्दा १५ दिनअघि कसैले ठूलो मात्रामा सेयर किनेको छ भने किन किनेको भनेर स्पष्टीकरण माग्छ । त्यसमा खरिदकर्ताले जस्टिफाइ गर्न सक्नुपर्छ । यो प्रक्रियामा बोर्डलाई शंका लागेको खण्डमा उसको फोनमा को–कोसँग कुरा भएको छ समेत हेर्छ । फेडरल एक्सचेन्ज बोर्डलाई सबै सञ्चारका माध्यमको समेत चेक गर्न पाउने अधिकार छ । इनसाइडर सूचनाका आधारमा सेयर खरिद गरेको हो होइन भन्ने विषयमा विस्तृत अध्ययन हुन्छ । यदि इनसाइडर कारोबार भएको ठहरिएमा खरिदकर्ताको कारोबार नै रद्द गरेर कारबाहीसमेत गर्छ । सेयर मूल्यमा प्रभाव पार्ने सूचना छ भने पब्लिकली उपलब्ध हुनुप-यो । सेयर मूल्य बजारले निर्धारण गर्नुप-यो । यस विषयमा बनेको नियमावली पनि कार्यान्वयनमा जोड दिनुपर्नेछ । यो अनिवार्य चाहिन्छ । त्यसैले बजारमा सुशासनको अवस्था इन्स्टल गर्नुपर्छ । त्यो गरेपछि बजार स्ट्याबल हुन्छ ।

अर्थमन्त्री, गभर्नर तथा धितोपत्र बोर्डको प्रमुख नियुक्त भएको वा हटेको भरमा सेयर किन्ने वा बिक्री गर्ने निर्णय गर्ने लगानीकर्तालाई सेयर बजारका बारेमा बुझाउन सहज छ र ?
सेयर मूल्यलाई तलमाथि गराउने विभिन्न किसिमका सूचकहरू हुन्छन् । कुनै कम्पनीको सेयर मूल्य के–कस्ता कुराहरूले तालमाथि हुन्छ त ? सम्बन्धित कम्पनी राम्रो नराम्रो भन्ने सन्दर्भमा समान्यतः दुइवटा विश्लेषण गरिन्छ । त्यो भनेको टेक्निकल विश्लेषण र आधारभूत विश्लेषण हो । त्यसमा कम्पनीभित्रको संरचनामा के परिवर्तन भएको छ, त्यसले सेयर मूल्यमा प्रभाव पार्छ । त्यसैगरी जग्गा–जमिनको भाउ बढ्ने, मूल्यवृद्धि बढ्ने, निर्यात बढ्ने लगायतका विषयहरू जसले सबै उद्योगधन्दालाई प्रभाव पार्छ । आर्थिक वृद्धि ८ प्रतिशतले बढ्यो भने सबै क्षेत्रको भाउ ८ प्रतिशतका दरले बढ्नुप-यो । यस्ता कुराले पनि सूचीकृत कम्पनीको सेयर मूल्य प्रभावित हुन्छ । त्यसैले यी विषयलाई विश्लेषण गरेर लगानी गर्नुपर्छ । अर्थमन्त्रीले सेयर बजार त्यति राम्रो होइन भन्नुभयो भन्दैमा सेयर बजार नराम्रो नै हुने हो र ? प्रधानमन्त्रीले सेयर बजार धेरै राम्रो हुन्छ भन्नुभएकै भरमा मूल्य बढ्ने भन्ने हुन्छ र ? प्रधानमन्त्रीले भन्नुभएको कुरा सकारात्मक हो । तर, सेयर मूल्य बोलीका आधारमा निर्धारण हुने कुरा होइन । लगानीकर्ताले पैसा लगानी गर्ने हो, बोली होइन । पैसा लगानी गरिसकेपछि बढ्छ कि घट्छ भन्ने कुरा बजार तथा अर्थतन्त्रको गतिविधिले निर्धारण गर्ने कुरा हो नि । कसैले बोलेकै भरमा लगानी गर्ने होइन ।
सेयर बजारमा लगानी किन गर्ने भन्ने विषयमा लगानीकर्ताले हेर्नुपर्छ । पुँजीबजार विकास नभइराखेको अवस्थामा निश्चित बेनिफिट लगानीकर्तालाई दिनुपर्छ । बैंकमा निक्षेप राखेर ब्याज आम्दानी गरेको खण्डमा ५ प्रतिशत कर तिरे पुग्छ । पुँजीबजारमा लगानी गरेको खण्डमा ४ प्रतिशत मात्र कर तिर्नुपर्ने व्यवस्था किन नगर्ने । लगानीकर्तालाई तुलनात्मक लाभ दिन सकेको खण्डमा मात्र सेयर बजारको दिगो विकास हुने देखिन्छ । बैंकमा निक्षेप राख्दा ब्याज मात्र आउने हो । पुँजीबजारमा लगानी गरेको खण्डमा अन्य कुरा पनि आउँछन् । कम्पनीको कार्यसम्पादनअनुसारको लाभांश पाइन्छ । त्यो लाभांशमा ५ प्रतिशत कर लगाइदिऊँ । तर, लाभांश दिएको कम्पनीको सेयर मूल्य दोस्रो बजारमा पनि बढेको अवस्था बिक्री गर्दा हुने नाफाको कर घटाइदिन सकिन्छ । त्यो गरेको खण्डमा बजार विकास हुन्छ । यसका लागि मन्त्रालय तथा अन्य सम्बन्धित निकायको समन्वयमा पनि भर पर्छ । दर बढाएर वा कारोबार रकमको आकार बढाएर कर बढाउन सकिन्छ । तर, हामी कुन कुरालाई बढाएर धेरै कर उठाउने भन्ने हो । यसलाई थप अध्ययन गरेर सम्बन्धित निकायलाई बुझाएको खण्डमा नयाँ व्यवस्था गर्न सकिन्छ । पछिल्लो समयमा सामूहिक लगानी कोष सञ्चालन गर्नेले ३० प्रतिशत कर तिर्नुपर्छ भने महालेखा परीक्षकले बेरुजु देखाएको छ । यो इस्यु हो । यो कुराले बजार राम्रो हुँदैन । यसमा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गरिनुपर्छ ।

सेयर बजारमा प्रविधि भित्रिएको अवस्थामा पनि अरूको नामबाट सेयर आवेदन दिने अभ्यास नरोकिएको अवस्था छ, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
यो भनेको धितोपत्र बोर्डको निरीक्षण सुपरिवेक्षणको दायरा अलि पुगेन । प्रविधिमा फर्जी काम गर्न म्यानुअल जस्तो सहज हुँदैन । कानुनअनुसार एक व्यक्तिले बहुव्यक्तिको नामबाट कारोबार गर्ने सेयर आवेदन दिने भनेको कसुर हो । यस सन्दर्भमा केही व्यक्तिलाई कारबाही गरेको खण्डमा यस्तो अभ्यास रोकिन्छ । त्यसका लागि कारबाही हुन्छ भन्ने कुरा स्थापित हुनुपर्छ ।

पछिल्लो समयमा वाणिज्य बैंकको सहायक कम्पनीलाई धितोपत्र दलालको काम गर्ने अनुमति दिने विषयले चर्चा पाइरहेको छ । बैंकलाई धितोपत्र दलालको लाइसेन्स दिएपछि मात्र बजार विस्तार हुने हो ?
बजारलाई विस्तार गर्ने विभिन्न प्रकारका मोडालिटीहरू हुन्छन् । त्योमध्ये यो पनि एउटा हो । बैंकलाई धितोपत्र दलालको अनुमति दिएको खण्डमा धितोपत्रको सेवा सर्वसाधारणको घरआँगनमा हुन्छ । तर, यो विषय सबैले स्वीकार गरेको अवस्था छैन । यस सन्दर्भमा दिन हुन्छ र हुँदैन भन्ने पक्ष र विपक्ष समूह बनेको अवस्था छ । भनेपछि यो कुरामा विवाद आयो । विवाद आएको विषयमा थप अध्ययन गरेर विचार गरेर मात्र निर्णय गर्नुपर्छ । हामीले बजार बनाउने भनेको कुनै एक समूहका लागि मात्र होइन । सबैका लागि बजार बनाउने भएकाले त्योभन्दा अझै राम्रो उपाय सबैले स्वीकार गर्ने अन्य उपाय पनि छ कि ? त्यसलाई खोजी गर्नुपर्छ भन्ने लाग्छ । नेपाल राष्ट्र बैंकले पनि सहायक कम्पनीमार्फत धितोपत्र दलालको काम गर भनेको छ ।
यसलाई एडक राख्नुभन्दा पनि समाधान गर्न सकिन्छ । अन्तर्राष्ट्रिय प्रचलनमा सेक्युरिटी बिजनेस र फन्ड म्यानेजमेन्ट बिजनेस भन्ने हुन्छ । सेक्युरिटीमा ब्रोकरको काम, डिलर, प्रत्याभूतिकर्तालगायत आफ्नो प्रयोजनका लागि सेयर किन्ने र बिक्री गर्न बिजनेस सेक्युरिटी बिजनेस हो । अरूका लागि काम गरिदिने बिजनेस भनेको फन्ड म्यानेजर हो । अहिलेको बजारमा सबै काम एउटैले गरेको अवस्था छ । यसमा हुन सक्ने विवाद तथा स्वार्थ बाझिने खालका विषयहरूलाई छुट्याएर विवाद समाधान गर्नुपर्छ । पूर्ण रूपमा अनलाइन सेयर कारोबार हुनेबित्तिकै यी समस्याहरू धेरै समाधान हुन्छ ।

निजी क्षेत्रको नयाँ स्टक एक्सचेन्ज ल्याउने विषयमा तपाईंको सोच के छ ?
यस विषयमा हल्ला धेरै चलेको छ । मैले पहिला पनि धेरै सुनेको विषय हो । वास्तवमा भन्ने हो भने नेप्से टेक्निकल हुन सकेको छैन । नेप्से टेक्निकल हुनु भनेको कार्पोरेटाइज्ड हुनु हो । नेप्से आफैंले सबै काम गर्न सक्ने क्षमता भएको संस्थाका रूपमा स्थापित गर्नुपर्ने हो । त्यो हुन सकेको छैन । सरकारी निकायको सेयर फिर्ता गरेर निजी क्षेत्रलाई प्रवेश नगराई बन्न सक्दैन पनि भन्ने गरेको सुनिन्छ । अहिले सरकार तथा सरकार मातहतका संस्थाको लगानी फिर्ता गरेपछि सकिन्छ भन्ने बुझाइ छ । त्यो होइन । त्यो सेयर खरिद गर्नेले संस्थामा परिवर्तन ल्याउन सक्नुपर्छ । राष्ट्र बैंकको नेप्सेमा रहेको सेयर बिक्री गरेर नागरिक लगानी कोष र सञ्चय कोषले खरिद गरेर बजारले सोचेजस्तो नेप्से बन्छ भन्ने लाग्दैन । नेपालमा विदेशी नाम चलेका स्टक एक्सचेन्ज भित्र्याउनुपर्छ । विदेशी नाम चलेका स्टक एक्सचेन्ज आएको खण्डमा उनीहरू नयाँ तथा प्रभावकारी प्रविधिको विषयमा पनि जानकार हुन्छ । त्यो प्रविधि भित्र्याउन सकेको खण्डमा बल्ल हामीलाई पनि काम दिन्छ । तत्काल नै हामीले कमोडिटी एक्सचेन्जका लागि अनुमति दियौं भने त्यसको सबै मोडालिटी हेर्नका लागि अर्को एउटा स्टक एक्सचेन्ज चाहिन्छ कि ? यो सर्वसाधारणको चासोको विषय भएकाले यसमा म अझै अध्ययन गर्न-गराउन चाहान्छु । यसका सकारात्मक तथा नकारात्मक पक्ष हेरेर प्रस्ताव लिएर जाने हो ।