कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६
506

नेपाले भ्रमण वर्ष मनाइरहँदा निजी क्षेत्रको भूमिकालाई प्रमुखताका साथ हेरिएको छ । एक वर्षमा २० लाख पर्यटक ल्याउने महत्व ाकांक्षी लक्ष्यका मुख्य साझेदार हुन् निजी क्षेत्र । पर्यटन व्यवसायमा संलग्न निजी क्षेत्रका विभिन्न संघ संगठनमध्ये पुरानोमध्येको एक हो– नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) । टूर एन्ड ट्राभल व्यवसायीहरूको यो छाता संगठन भने यतिबेला नयाँ नेतृत्वको निर्वाचनमा होमिएको छ । विगतमा ठमेल र दरबारमार्गको टिमबीच प्रतिस्पर्धा हुने नाट्टामा पछिल्ला चुनाव भने राजनीतिक आस्थाका आधारमा हुने गरेका छन् । यसैले पनि नाट्टाको आगामी नेतृत्व कसले पाउँछ भन्ने विषय पर्यटन क्षेत्रमामात्र सीमित छैन, राजनीतिक तहसम्म यसले महत्व पाएको छ । हालसम्मको अवस्था हेर्ने हो भने शुक्रबार हुने नाट्टाको निर्वाचनमा अध्यक्ष पदमा तीनजना स्थापित र यस क्षेत्रमा योगदान पु-याइरहेका व्यक्तित्वहरूबीच नै प्रतिस्पर्धा हुँदैछ । उनीहरूले अलग अलग टिम बनाएर मैदानमा होमिएका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं र पूर्व महासचिव भीमप्रसाद पन्त तथा अर्का पूर्वमहासचिव मिहिका शाह धाख्वा नेतृत्वमा समूह बने पनि निर्वाचनको अन्तिम जोडघटाउ भइरहेको छ । त्यसो त नेपालको पर्यटन क्षेत्र भनेकै सरकारसँग नजिक रहेर, पब्लिक प्राइभेट पार्टनरसिपका आधारमा काम गरिरहेको क्षेत्र पनि हो । भिजिट नेपालको थिम ‘लाइफ टाइम्स एक्सपिरियन्स’ राम्रो भए पनि त्यसका लागि व्यवसायीमार्फत नै पुस गर्नुपर्ने अवस्था छ । यसैले नाट्टाको निर्वाचनको सन्दर्भ पारेर हामीले नेपालको मेडिकल, खेलकुद, सिनेमा, सम्मेलन पर्यटनको पनि सम्भावना तथा सरकार, निजी क्षेत्र र नागरिक मिलेर होस्टेमा हैँसे कसरी गर्नुपर्छ भनेर नाट्टासँग सम्बन्धित व्यवसायीसँग कारोबारका लागि सरस्वती ढकाल र दीपेन्द्र थापाले गरेको कुराकानीको सम्पादित अंश :

अन्तर्राष्ट्रियस्तरका कार्यक्रम नेपालमै आयोजना गर्न लबिङ गर्छु
अच्युत गुरागांई
अध्यक्षका प्रत्याशी
नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाट्टा) पर्यटन क्षेत्रसँग प्रत्यक्ष र परोक्ष रूपमा जोडिएको संस्था हो । नाट्टाले गर्ने अधिकांश काम पर्यटन क्षेत्रसँग सम्बन्धित छन् । नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना छ त्यसको उच्चतम प्रयोग गर्दै अर्थतन्त्रमा टेवा पु-याउनुपर्छ भन्ने मूल उद्देश्य हो । भएका सम्भावनाबाट बढीभन्दा बढी लाभ लिन सकियो भने पर्यटन क्षेत्रमा मात्रै नभएर समग्र देशको आर्थिक अवस्था नै राम्रो हुन जान्छ । सन् २००६ बाट नाट्टाको कार्यकारिणी सदस्यबाट प्रवेश गरेर सचिव, महासचिव र अहिले वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छु । हिजोका दिनमा संस्थाप्रति मैले गरेको मेहनत र वरिष्ठताका आधारमा पनि नेतृत्व सम्हाल्ने मैले हो तर साथीभाइ पनि प्रतिस्पर्धी भएर आउनु भएको छ । मतदान गर्ने साथीहरूले अवश्य पनि मेरो मेहनत र संस्थाप्रतिको लगावलाई ध्यान दिँदै मलाई जिताउनु हुनेछ भन्ने विश्वास छ । वर्तमान कार्यसमितिले लिएका लक्ष्यहरू, सरकारले अगाडि सारेको नेपाल भ्रमण २०२० र नाट्टाका आगामी कार्यक्रम सफल रूपमा अगाडि लैजान मेरो नेतृत्व आवश्यक छ । भ्रमण वर्ष २०२० लाई भव्य रूपमा मनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । पर्यटन क्षेत्र आफैंमा संवेदनशील क्षेत्र हो, त्यसमा पनि सरकारले महत्वाकांक्षी योजना ल्याइरहेका बेला निजी क्षेत्रबाट पनि उत्तिकै साथ र सहयोग दिनु जरुरी छ । त्यसका लागि निजी क्षेत्रमा नेतृत्व गर्ने व्यक्ति पनि महत्व पूर्ण हुन्छ । टिममा सबैलाई मिलाएर लैजान सक्ने, संस्थाको कामका लागि जतिबेला पनि समय दिन सक्ने, आँट र जाँगर भएको व्यक्तिको नेतृत्व नाट्टालाई चाहिएको छ । यतिमात्रै नभएर सरकारसँग मिलेर विभिन्न कामहरू भइरहेका छन भने पर्यटन क्षेत्रलाई सही दिशातर्फ लैजान हामीले सल्लाह सुझाव दिँदै आएका छौं । सरकार संघीय संरचनामा गइसकेको अवस्थामा अब नाट्टा त्यसबाट टाढा हुन सक्दैन । प्रादेशिक साखा विस्तारका लागि बाँकी रहेका कर्णाली प्रदेश र २ नम्बर प्रदेशमा पनि अब छिट्टै शाखा विस्तार गर्नुपर्छ । नाट्टालाई प्रदेशमा लैजान महासचिव र उपाध्यक्ष हुँदा मेरो भूमिका महत्व पूर्ण रह्यो अब त्यसलाई पूर्णता दिन पनि म अध्यक्ष बन्नुपर्ने आवश्यकता छ । पर्यटन क्षेत्रमा देखिएको विदेशी मुद्रा, टिकेटिङको समस्या समाधान गर्नुपर्नेछ । पर्यटकीय क्षेत्रमा पर्यटक बसहरूको थप व्यवस्थापन, हेरिटेज साइटको मर्मत सम्भार, ट्वाइलेटको उचित व्यवस्था गर्नुपर्ने आवश्यकता छ । सरकारले अगाडि सारेको लक्ष्यमा साथ दिन अन्तर्राष्ट्रिय एयलाइन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई नेपालमा बोलाएर मिटिङ गर्ने, विदेशमा हुने कार्यक्रमहरूलाई नेपालमै आयोजना गर्न लबिङ गर्न मेरो जोड रहनेछ । त्यसैगरी सदस्य रहेका एजेन्सीहरूलाई अप्ठेरो परिस्थितिलाई मध्यनजर गर्दै इमरजेन्सी फन्डको व्यवस्था गर्ने, पर्यटकहरूलाई टूर गाइडको प्रयोगबाट मात्रै घुम्न पठाउने, सरकार, पर्यटन बोर्ड तथा सरोकारवाला निकायसँग मिलेर कार्यक्रमहरू आयोजना गर्ने र बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मेरो विशेष पहल रहनेछ । नेपालमा फेस्टिबल टुरिस्टको उत्तिकै सम्भावना छ त्यसलाई विश्वस्तरमा चिनाउन मैले नेतृत्व सम्हाल्ने अवसर पाएँ भने उत्ततम रूपमा ध्यान दिनेछु । हेमराज बास्तोला वरिष्ठ उपाध्यक्ष, यज्ञमूर्ति आचार्य उपाध्यक्ष, महासचिवमा राकेश धमाला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमारमणि थपलिया र सह कोषाध्यक्षमा पासाङ दावा शेर्पा प्यानलमा छन् । सदस्यहरूमा परशुराम घिमिरे, नवराज भेटुवाल र रमेश थापा रहेका छन् ।

नयाँ आउने कार्यसमितिलाई मार्गदर्शन गर्नेछु
सीएन पाण्डे
वर्तमान अध्यक्ष
शुक्रबार हुने साधारणसभाले नाट्टाको नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति आइसकेपछि पनि हाम्रो विधानले निवर्तमान अध्यक्षलाई कार्यसमितिमै रहने व्यवस्था गरेको छ । म नयाँ आउने कार्यसमितिलाई मार्गदर्शक भएर नाट्टालाई नयाँ उचाइमा पु-याउन सँगै हुनेछ । अहिले चुनावी प्रतिस्पर्धामा रहेका नेतृत्व सम्हाल्ने साथीहरू मेरो कार्यकालमा नजिक रहेर काम गरका साथीहरू नै हुन् । सबै साथी नेतृत्वका लागि सक्षम छन् । चुनाव एउटा प्रक्रिया हो तर हामी नाट्टा परिवार एकै ठाउँमा छौँ ।
वर्तमान कार्यसमितिले गरेका कामहरूलाई अब आउने कार्यसमितिले निरन्तरता दिनु जरुरी छ । केही कामहरू सम्पन्न हुने क्रममा छन् भने केही कामहरूलाई नयाँ तरिकाले पनि अगाडि बढाउनुपर्ने जरुरी छ । त्यसका लागि अब आउने नेतृत्वले नयाँ सोच, जोस र जाँगरका साथ आउनुपर्छ । नाट्टाको ५३ वर्षको इतिहासलाई थप उचाइमा पु-याउनका लागि नयाँ नेतृत्वले धेरै काम गर्नुपर्नेछ । नाट्टाको सचिवालय चुस्त दुुरुस्त बनाउने पहल वर्तमान कार्यसमितिले गरेको छ, आगामी दिन सूचना प्रविधिको अत्यधिक प्रयोग गर्दै व्यवस्थापनमा जोड दिनु जरुरी छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यसका नाट्टाका साथ अनिवार्य छ । सन् २०२० लाई भिजिट वर्ष घोषणा गरेर २० लाख पर्यटकको लक्ष्य राखिएको छ । यो विषयलाई सकारात्मक रूपमा सबैले सहयोग गर्न आवश्यक छ । पर्यटकको संख्यामा वृद्धि हुनेबित्तिकै नेपालको समृद्धिको अभियान पूरा हुनेछ । नेपालको विकासको सबैभन्दा सहज र सजिलो बाटो भनेको पर्यटन नै हो । नेपालमा पर्यटक बढाउने भनेको अब हवाई मार्गबाट मात्रै सम्भव हुँदैन । मुख्य कुरा, बोर्डरबाट पर्यटक भित्र्याउने अभियान सुरु गर्नु आवश्यक छ । अर्को कुरा, भैरहवा विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । यो विमानस्थलबाट राजस्व उठाउने भन्दा पनि सस्तो फेयरमा उडान गर्ने एयरलाइन्स कम्पनीलाई विशेष छुट दिएर हब विमानस्थल बनाउन आवश्यक छ, जसमा भारत र चीनबाट थुप्रै एयरलाइन्स भैरहवामा आउनेछन् । अर्को कुरा, नेपाल वायुसेवा निगमले खरिद गरेका दुई थान वाइडबडी युरोप, जापान, लन्डन, दक्षिण कोरिया, चीनको बेइजिङ उडान पहल गरेर तत्काल उडान सुरु गर्न आवश्यक छ । युरोपको हकमा ईयूले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेकोमा यसबाट मुक्त गराउन जरुरी छ । यसैको बहानमा नेपाल आउने पर्यटकको विमान शुल्क पुनर्बिमा कम्पनीहरूले बढाइरहेका छन् । यो बिमा शुल्क महँगो भएकाले नेपाल आउने पर्यटकको प्याकेजमै महँगो हुन पुगेको छ । सबै पक्षले ध्यान दिनुपर्ने भनेको चिनियाँ र भारतीय बजार नै हो ।

विभाजित नाट्टालाई एकैढिक्कामा ल्याउनेछु
भीमप्रसाद पन्त
अध्यक्षका प्रत्याशी
मैले विगत सन् १९९६ देखि यो पेसामा संलग्न भएर काम गर्दै आएको छु । मैले मरो कार्यकालमा विभाजिन नाट्टालाई एकै समूह बनाएर व्यावसायिक योजनाका साथ अगाडि बढाउने योजना बनाएको छु । मेरो नाट्टाप्रतिको समर्पण र लगावलाई आत्मसाथ गर्दै साथीहरूले अत्यधिक मतले विजयी बजाउनु हुन्छ भन्नेमा विश्वस्त छु । सरकारले लिएको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल कार्यान्वयन गर्न मरो कार्यकाल केन्द्रित रहने भने, टुरिस्ट बसपार्क निर्माण, नेपाल वायुसेवा निगमको गन्तव्य विस्तार गर्न मैले पहलकदमी गर्नेछु । सन् २०२० मा २० लाख पर्यटक ल्याउनका लागि पूर्वाधार निर्माणमा जोड दिँदै प्रचार प्रसारमा ध्यान दिनुपर्छ, म महासचिव हुँदा नै आगामी सन् २०३० सम्ममा वार्षिक ३० लाख पर्यटकलाई नेपाल भित्र्याउन पहल गर्नुपर्छ भनेर योजना अगाडि सारेको योजनालाई मेरो कार्यकालमा कार्यान्वयनमा लैजाने योजना बनाएको छु । यसका लागि सबै सरोकारवाला निकायसँगको साथ सहयोग प्राप्त हुने विश्वास लिएको छु ।
मेरो टिम सबल, समावेशी, सक्षम नेतृत्व प्रदान गर्न सक्ने रहेको छ । यो नै मेरो नेतृत्वले निर्वाचनमा विजय हासिल गर्न आधार हो । विगतमा मैले कार्यसमिति सदस्य, महासचिव पदमा रहेर कार्य सम्पादन गरिसकेको अनुभव भएकाले पनि आगामी नेतृत्वका लागि मेरो दाबी रहेको छ । आफ्नो समूह व्यवसायीहरूको साझा र समावेशी टिम रहेको छ । मेरो प्रमुख एजेन्डा भनेको नाट्टामा आबद्ध सबै व्यवसायीलाई एकीकृत बनाएर लैजाने र यो संस्थालाई सबै व्यवसायीहरूको साझा मञ्च बनाउनमा मरो पहल हुनेछ । पर्यटन व्यवसायीहरूको बीचमा व्यवसायी एकताको वातावरण बनाएर स्वच्छ व्यवसाय गर्ने आधार बनाउने छु । पर्यटन क्षेत्रका व्यवसायी र नेपाल पर्यटन बोर्ड मन्त्रालयका, प्रदेश सरकारबीचको सम्बन्ध बलियो बनाएर पर्यटन उद्योगलाई माथि उठाउन पहल गर्नेछु ।
नेपालको आर्थिक विकास पर्यटनबाट नै सम्भव भएकाले गर्दा यस क्षेत्रलाई राष्ट्रिय उद्योगका रूपमा विकास गर्नेका लागि सरकारले सोही अनुसारको पर्यटनमैत्री कानुनको तर्जुका गर्नतर्फ मैले पहल कदमी गर्नेछु । मेरो कार्यकाल पूर्ण रूपमा पर्यटक आगमन बढाएर गुणस्तरीय पर्यटनलाई नेपालमा भित्र्याउन सल्लाह र सुझाव दिँदै यो क्षेत्रलाई उर्वर बनाउन लागिपर्नेछु ।
मेरो समूहबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता र महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल उम्मेदवार रहेका छन् । त्यस्तै सचिवमा जिस्वान तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ र सहकोषाध्यक्षमा युविका भण्डारी उम्मेदवार रहनुभएको छ । साथै कार्यकारी सदस्यमा सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, लक्ष्मी कार्की अधिकारी, चूडाबहादुर जिम्बा, गीता ढकाल, डेण्डी शेर्पा र रामशोभित नायक उम्मेदवार रहनुभएको छ ।

युवाहरूलाई पर्यटन क्षेत्रमा आकर्षित गर्नेछु
मिहिका शाह धाख्वा
अध्यक्षका प्रत्याशी
नेपालमा पर्यटन क्षेत्रको पर्याप्त सम्भावना छ, हामी सबैले भनिरहेका छौँ तर त्यो सम्भावनाबाट कति लाभ लिन सकियो भन्ने अहिलेको मुख्य विषय हो । पर्यटन क्षेत्रसँग प्रयत्क्ष रूपमा जोडिएर आउँछ नाट्टा । यस संस्थाललाई यतिबेला सक्षम, समय दिन सक्ने, नयाँ भिजन र टिमलाई मिलाएर जान सक्ने नेतृत्व आवश्यक परेको छ । नाट्टाले सक्षम नेतृत्व पाउन सकेमा मात्रै पर्यटन क्षेत्रलाई थप उचाइमा लैजान सकिन्छ । २०२० मा २० लाख पर्यटक भित्र्याउने कार्यक्रम अगाडि बढेका बेला निजी क्षेत्रको प्रभावशाली संस्था नाट्टामा सहि नेतृत्व आउन सकेन भने समग्र पर्यटन उद्योगमै नकारात्मक प्रभाव पर्छ । नाट्टालाई अब सही मार्गमा लैजान मेरो नेतृत्व आवश्यक छ । वर्तमान कार्यसमितिले अगाडि सारेका कामहरूलाई सपन्न ‘परिवर्तनका लागि एकता’ भन्ने मूल मर्मका साथ मेरो टिमले काम गर्न चाहन्छ । त्यसका लागि म र मेरो टिमले पर्याप्त कार्ययोजना बनाएका छाँै । अहिले सदस्य र नाट्टाको दूरी बढिरहेको छ, संस्थालाई अगाडि बढाउने सवालमा यसरी दूरी बढ्नु राम्रो होइन । सदस्यहरूमा भएका समस्यालाई समाधान गरेर अगाडि जानुपर्छ त्यसका लागि म सक्षम छु । लामो समय पर्यटन उद्योगमै छु भने सन् २०१४ देखि २०१६ सम्म नाट्टाको महासचिवको भएर काम गरें । नाट्टामा महासचिव हुने पहिलो महिला थिएँ म । ३० वर्ष अगाडि अम्बिका श्रेष्ठ नाट्टामा अध्यक्ष बन्नुभएको थियो अब फेरि नाट्टाले महिला नेतृत्व पाउनुपर्छ । पर्यटनलाई कसरी अगाडि बढाउने भन्नेमा धेरै छफल गर्न जरुरी छ त्यसमा म सधैं तयार छु । हाम्रा प्रडक्टलाई जति बजारीकरण गर्न सकिन्छ त्यतिनै सेल हुने हो । हाम्रो बजारीकरण निकै कमजोर छ त्यसलाई सुधार गर्न मेरो टिमले कार्ययोजना बनाएको छ । हामीसँग रहेको अर्काे समस्या भनेको कनेक्टिभीटीको हो । नीतिगत रूपमा होस् या व्यावसायिक रूपमा लबिङ छलफल गर्न म तत्पर हुनेछु । पर्यटन क्षेत्रमा डेटा अभाव मुख्य समस्या हो— डाटा कलेक्नस र रिसर्चका कार्यक्रम सञ्चालन गर्नेछु । पर्यटन अनुसन्धान केन्द्र, पर्यटकीय क्षेत्रहरूमा अन्तर्राष्ट्रियस्तरको स्वच्छ तथा सफा शौचालय, सूचनासहितको पर्यटकीय बस सञ्चालन, युवाहरूलाई पर्यटन क्षेत्रमा आकर्षित गरी रोजगारीको अवसर दिलाउने मेरा प्राथमिकताका कार्ययोजना हुन् ।
सरकारले सन् २०२० मा २० लाख पर्यटकको लक्ष्य राखेको छ, जसका लागि ठूलो संख्यामा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक पर्छ । अझ हिमाली क्षेत्रमा जाने जनशक्तिको धेरै अभाव छ । यसमा निजी क्षेत्र, सरकारी सबै निकाय समन्वय गरेर अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनेछु । मेरो टिममा वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिवमा अमृतकुमार ढकाल, कोषाध्यक्षमा देवकी गुरुङ, सहकोषाध्यक्षमा फुडोमा शेर्पासहित १५ सदस्यीय समिति छ । मेरो टिममा ४० प्रतिशत महिला छाँै । पर्यटनलाई देशको अर्थतन्त्रको प्रमुख र बलियो खम्बाका रूपमा छ भन्ने पुष्टि गर्न हाम्रो टिम नाट्टालाई आवश्यक छ ।