कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
525

सूर्योदय र सूर्यास्थको दृष्यावलोकनका लागि अब्बल गन्तब्य श्रीअन्तु, विभिन्न देश र दुई दर्जनमाथि हिमालको अलवोलन गर्न सकिने सन्दकपुर, विश्व रामसार सूचीमा सूचिकृत माइपोखरी, हरियाली चियावारीको अवलोकन, नेपालकै पुरानो उद्योग, लोपोन्मुख लेप्चा जातिको ऐतिहासिक बसोबास, सरकारले देशका १०० वटा घुम्नै पर्ने पर्यटकीय गन्तब्यसमेत इलाममा पर्ने भएकाले यहाँका पर्यटकीय गन्तब्य पर्यटकहरूका लागि अति नै महत्वपूर्ण मानिन्छन् ।

सम्भावना नै सम्भावना बोकेको इलाम पहाडी जिल्लाहरुमध्ये देशकै अग्रणी जिल्लाका रूपमा पर्दछ । त्यसमध्ये पनि इलामको आर्थिक समृद्धिका रूपमा तीन चिजले विषेश महत्व राख्दै आएको छ । पर्यटन, पानी र कृषिले इलामको समृद्धिमा विशेष योगदान दिएको छ ।
‘नकुँदिएको हिरा’, ‘पहाडकी रानी’ जस्ता उपनामले समेत चिनिने इलाममा धेरै पर्यटकलाई लोभ्याउने आकर्षक केन्द्र बिन्दुहरु छन् । पर्यटन क्षेत्रमा अग्रणी इलाममा दर्जनौ यस्ता ठाउँहरू छन् जुन विश्वमा नै नभएका पनि । तर यसको उचित प्रसार प्रचार हुन सकेका छैनन् भने उचित प्रवद्र्धन पनि हुन सकिरहेको छैन ।
सूर्योदय र सूर्यास्थको दृष्यावलोकनका लागि अब्बल गन्तब्य श्रीअन्तु, विभिन्न देश र दुई दर्जनमाथि हिमालको अलवोलन गर्न सकिने सन्दकपुर, विश्व रामसार सूचीमा सूचिकृत माइपोखरी, हरियाली चियावारीको अवलोकन, नेपालकै पुरानो उद्योग, लोपोन्मुख लेप्चा जातिको ऐतिहासिक बसोबास, सरकारले देशका १०० वटा घुम्नै पर्ने पर्यटकीय गन्तब्यसमेत इलाममा पर्ने भएकाले यहाँका पर्यटकीय गन्तब्य पर्यटकहरूका लागि अति नै महत्वपूर्ण मानिन्छन् ।
‘खोल्साको कालो सुन’ भनेर चिनिने अलैँची ‘डाँडाडाँडामा हरियो सुन’ भनेर चिनिने चिया, किवि, दूध र दुग्धजन्य परिकार, आठ ‘अ’ ले चिनिएका कृषि उपजहरू पनि जिल्लामा आर्थिक स्रोत भित्र्याउने वस्तुहरू हुन् । अझ यस वर्षदेखि उत्पादन सुरु गरिएको केशरखेतीले पनि कृषि उत्पादनबाट आशा जगाएको छ । प्रतिकिलो १० लाखभन्दा बढी मूल्यमा बिक्री गर्न सकिने यस खेती जिल्लाको माईजोगमाई गाउँपालिकाको थुम्के भन्ने स्थानमा यसै वर्षदेखि ब्यावसायिक उत्पादन सुरु गरिएको छ । पहिलो वर्ष नै आशा लाग्दो उत्पादन भएपछि यस वर्षबाट अझ जिल्लाका अन्य स्थानमा खेती गर्ने लक्ष्य अघि बढाइएको छ ।
त्यस्तै जिल्लालाई समृद्ध बनाउन पानी तथा हाइड्रोले पनि मद्दत गरेको छ । जिल्लामा उत्पादन सुरु भएका एक दर्जन बढी हाइड्रोपावर र तिनका क्यास्केटले पनि जिल्लालाई हाइड्रो उत्पादनका जिल्लाका रूपमा परिचित गराएको छ । इलाम हाइड्रपावरमैत्री जिल्ला हो । दुई वर्ष अगाडि नै जिल्लालाई हाइइ«ोमैत्री जिल्ला घोषणा गरिएको छ । त्यसपछि जिल्लामा लोडसेडिङको औपचारिक रूपमा नै अन्त्य भएको छ । सामान्य समस्या आउँदाबाहेक यस जिल्लामा लाइन बन्द हुँदैन । त्यसले गर्दा पनि जिल्लामा उद्योगधन्दा खुलिरहेका छन् । जिल्लामा सञ्चालित साना तथा ठूला गरेर एक सय बढी चिया कारखाना पनि विद्युत् आपूर्तिमा समस्या नभएकै कारण फैलाउँदै गएका छन् ।
पर्यटकीय गन्तव्यका रूपमा अघि बढ्दै गरेको इलाम कृषि पर्यटनको समेत सम्भावना खोजिरहेको छ । सुन्दर अनि मनोरञ्जनात्मक प्राकृतिक छटा, सांस्कृतिक विविधता र कृषि उत्पादनको उर्वरताले यसको सुन्दरताका साथै इलामेलीहरूको व्यावसायिकतालाई अझै बलियो बनाएको छ । कृषि पर्यटनमा समेत यस जिल्लालाई अगाडि बढाउन सके अझ पर्यटकहरूको आगावमनमा वृद्धि हुने थियो । यहाँ उत्पादन हुने अलैँची, अदुवा, आलु, अम्म्रिसो देशका पश्चिमी क्षेत्रमा उत्पादन हुनसक्छ या सक्दैन । यसका बारेमा पनि उत्पादन हुने क्षेत्रमा नै खेती गर्ने तरिका, भौगोलिक अवस्था, सुरु गर्ने र उत्पादन हुने समयका बारेमा जानकारी प्रदान गर्न सके कृषि पर्यटनले समेत सार्थकता पाउने थियो ।
कृषि क्षेत्रबाट व्यावसायिक सम्भावना बोकेको यस इलाम अन्य जिल्लाको तुुलनामा अग्रणी छ । इलाम ‘अ’ नै ‘अ’ को जिल्ला भनेर समेत चिनिने गरेको छ । अनि इलाम आएकाहरूले सोही उपनाम दिने गरेका पनि छन् ।
विशेष गरेर इलाममा उत्पादित सात ‘अ’ ले जिल्ला र देशमात्र हैन विश्वमा नै ख्याती कमाएको छ । ओलन, अकबरे, अलैंची, अदुुवा, अम्लिसो, आलुु र अ¥ग्यानिक चिया (अर्थोडक्स) ले इलामका सात ‘अ’ को प्रतिनिधित्व गरेको छ । हुन त इलामलाई धेरैले अन्य ‘अ’ हरूसँग समेत गाँस्ने गएिको छ । मूलतः यिनै हुन् इलामका सात अ ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालय इलामले भने जिल्लामा उत्पादित यिनै सात वटा ‘अ’ लाई इलामका ‘अ’ को संज्ञा दिएको छ । पछिल्लो समयमा जिल्लामा किवी फलले समेत यहाँको व्यावसायिकतामा टेवा थप्ने काम गरेको छ ।
इलामा उत्पादित सात ‘अ’ र किवी फल देश तथा विदेश निर्यात हुने गरेको छ । कृषि क्षेत्रबाट नेपालकै सबैभन्दा धेरै व्यावसायिक सम्भावना भएको जिल्लामध्येमा अग्रणी रूपमा अघि बढेको यस जिल्लाका धेरैजसो मानिसहरू कृषिमा नै आफ्नो गुुजारा चलाइरहेका छन् । इलाममा विशेषतः तीनवटा कुराको उच्च सम्भावना छ– कृषि, पर्यटन र पानी ।
यी सम्भावनाहरूको उचित सदुपयोग गर्न सक्ने हो भने इलामको काँचुली नै फेरिन सक्ने स्थानीय बुद्धिजीवी युद्धप्रसाद वैद्य बताउँछन् ।
पर्यटन र पानीमा जति आत्मनिर्भर छन् त्यसको तेब्बर बढी जनसंख्या कृषिमा नै निर्भर छन् । । हुुन त पर्यटन र पानीमा सुुरुमा नै धेरै लगानी आवश्यक रहेकाले पनि त्यसतर्फ जिल्लाबासी नलागेको हुुनुपर्छ । तर हाल पर्यटकहरुको चहलपहल बढेपछि जिल्लाका धेरै क्षेत्रमा होटल तथा लजसमेत सञ्चालनमा आएका छन् ।
जिल्लावासीले गर्ने यिनै खेतीमा चर्चित सात ‘अ’ लाई आधुनिक र व्यावसायिक बनाउन सके इलामको मात्र नभई समग्र देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ । धेरै युुवाहरू विदेसिएको अवस्थामा यी र यस्ता कुराहरूको सदुुपयोग गर्न सके नेपालीहरूले रोजगारी समेत पाउन सक्छन् ।
इलाममा उत्पादन हुने कुनै पनि कृषि र गैरकृषि उत्पादनलाई बजारको अभाव छैन । पूर्वका ठूला सहरी क्षेत्र भएका जिल्ला मोरङ र झापा इलामेली उत्पादनको राम्रो बजार हुन सक्छन् । त्यस्तै खुुल्ला सिमाना रहेको भारतका सिलगुडी र दार्जिलिङ समेतमा इलामले आफ्ना उत्पादन आपूर्ति गर्न सक्छ ।
इलाम उत्पादनमा सक्षम भए पनि कहिलेकाहीँंं सम्बन्धित क्षेत्रबाट उचित सहयोग पाउन नसक्दा इलामेलीहरूले हैरानी ब्यहोर्नुुपर्ने किसानहरू बताउँछन् । यसतर्फ पनि अब सम्बन्धित निकायको ध्यान जान जरुरी छ । देशमा हाल तिन तहका सरकार छन् । स्थानीय सरकारले नसके प्रदेश सरकार छ । प्रदेश सरकारले पनि नसके केन्द्र सरकार छ । साँच्चि देशमा विकास नै चाहने हो भने प्रायः असम्भव छैन । विदेशले पनि हाम्रो देशमा निकै सहयोग गरिरहेको छ । तर गर्नका लागि हिम्मत आवश्यक छ ।

टीका खतिवडा