कारोबार संवाददाता
शुक्रवार, कार्तिक १७, २०७४
869

मुलुकको पुरानो औद्योगिक तथा व्यापारिक घराना ज्योति समूहको तेस्रो पुस्ताका प्रतिभाशाली प्रतिनिधि अभिक ज्योति पछिल्लो कम्पनी नेपाल जेनरल मार्केटिङ प्रालि (एनजीएम) का अध्यक्ष हुन् । हजुरबुबा मणिहर्ष ज्योतिले स्थापना गरेको व्यवसायलाई दोस्रो पुस्ताका पद्मज्योति र अभिकका बुबा डा. रूप ज्योतिले उचाइमा पु¥याएका छन् । तेस्रो पुस्ताका अभिक प्रतिस्पर्धी व्यापार र बदलिँदो प्रविधिसँग उत्तिकै जानकार रहे पनि सधँै लो प्रोफाइलमा रहन रुचाउँछन् । ज्योति समूहअन्तर्गत दर्जनभन्दा धेरै उत्पादनमूलक उद्योग तथा भारतका स्थापित ब्रान्डका ट्रेडिङ व्यवसाय सञ्चालनमा छन् । ५५ वर्षभन्दा लामो समय नेपाली डन्डी बजारमा आफ्नो प्रभुत्व अब्बल बनाउन सफल हिमाल स्टिल ज्योति समूहभित्रकै प्रतिष्ठित कम्पनी हो । युवा उद्यमी ज्योतिले नर्थ इस्टर्न युनिभर्सिटी, बोस्टन, अमेरिकाबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र इन्जिनियरिङ म्यानेजेमेन्टमा स्नातकोत्तर गरेका छन् । सन् २००४ मा अमेरिकाको उच्च शिक्षापछि नेपाल फर्किएका उनी हिमाल आइरनमा बजार व्यवस्थापन, कम्प्युटर शाखा, नेटवर्क म्यानेजमेन्टलगायतमा कामको अनुभवी छन् । अहिले पनि ज्योति समूहको सूचना प्रविधि डेस्क ज्योतिले हेर्छन् । हिमाल आइरन व्यवस्थापनमा १३ वर्षदेखि निरन्तरता दिएका ज्योति योग्यता क्षमता र व्यवस्थापकीय हिसाबले अब्बल मानिन्छन् । उद्यमी ज्योतिसँग कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार ः

नेपालीहरूका ठूला चाडपर्व दसैं, तिहार र छठ भर्खरै सकिएका छन्, चाडपर्वको समयमा अटोमोबाइलको बजार तुलनात्मक रूपमा बढ्छ भनिन्छ, कत्तिको व्यापार बढेको अनुभव गर्नुभयो ?
अटोमोबाइलका क्षेत्रमा बिक्रीका हिसाबले खास गरी दुईवटा सिजन हुन्छन् । त्यसमा दसैं सिजन सबैभन्दा महŒवपूर्ण मानिन्छ । यो सिजनामा एकतिहाइभन्दा धेरै बिक्री हुन्छ । त्यसपछि अर्काे सिजन भनेको नेपाली नयाँ वर्ष हो । नेपाली ग्राहकहरू यिनै दुई सिजनमा धेरै अटोमोबाइल किन्छन् । तराइतिर बिहेको सिजनमा पनि अटोमोबाइल बिक्री राम्रो हुन्छ । १०० र १२५ सीसी इन्जिन क्षमताका मोटरसाइलको बिक्री अलि घटेको छ । अघिल्लो वर्ष नाकाबन्दी हुँदा पनि २ लाखजति बिक्री भएको थियो । बजारको अवस्था हेर्दा यो वर्ष अलि कम बिक्री होला भन्ने पनि हामीले बुझेका छौं । विगतका वर्षहरूमा १ लाख ४० हजारको हाराहारीमा बिक्री हुने मोटरसाइकल गत वर्ष बढेको थियो । यो वर्ष २ लाखभन्दा कम हुन्छ, तर १ लाख ४० हजारभन्दा धेरै होला भन्ने हाम्रो अनुमान छ । १०० र १२५ सीसीका मोटरसाइकल कामकाजका लागि प्रयोग हुन्छ भने १५० देखि माथि गएपछि स्टाइल र प्रविधि खोज्ने गरिन्छ । सबैभन्दा बिक्री बढेको ‘सेगमेन्ट’ भनेको स्कुटर नै हो । गत ‘ड्यास र डुयट’ स्कुटर लञ्च गरेका थियौँ । २००७ मा हिरोहोन्डा हुँदा प्लेजर लञ्च गरेको थियो, त्यसपछि कुनै स्कुटर आएको थिएन । २०१६ मा ड्यास र डुयट लन्च भएको हो ।

अहिले देशमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको माहोल तातिरहेको छ, निर्वाचनले सवारी साधन बिक्री कत्तिको बढेको छ ?
खासै देखिएको छैन । दसैंसँग तुलना गर्दा निर्वाचनको समयमा बिक्री बढेको भन्न मिल्दैन । दसैंमा सामान्य अवस्थाको तुलनामा झन्डै दोब्बर बिक्री हुनेमा निर्वाचनले त्यस्तो फरक पाएका छैनौँ । निर्वाचनमा बढ्छ भन्छन् तर ठीक उल्टो भएको छ । कहिले बैंक बन्द, कहिले के कारणले डिलरहरूले सामान उठाउन समस्या भएको छ । निर्वाचन हुनु देशका लागि राम्रो हो, देशका लागि जे राम्रो हुन्छ उद्योग व्यवसायीका लागि त्यो झनै राम्रो हो । त्यसैले नकारात्मक रूपमा लिएका छैनौं । निर्वाचन सकिएपछि बिक्री बढेर जान्छ भन्ने हाम्रो बुझाइ छ ।

नेपालमा बिक्री हुने दुईपाङ्ग्रे सवारीमा हिरो ब्रान्डले अन्य टप ब्रान्डहरूमध्ये कुन स्थान लिएको छ ?
टप ब्रान्डमा होन्डा, बजाज र हिरो नै हुन् । यी सबैका आ–आफ्नै सेगमेन्ट छन् । हिरोको हामी मार्केट लिडर छौं जुन कम्युनल सेगमेन्ट जसमा १०० र १२५ सीसी हुन्छन् । मानिसहरू १०० र १२५ सीसी खोज्नुपरे हिरोमै आउँछन् भने १५० भन्दा माथिका सेगमेन्टमा जाँदा बजाजमा जान्छन् । स्कुटरमा सबैको मुखमा होन्डा डियो नै हुन्छ । प्रिमियम सेगमेन्ट यो वर्ष अलि बढेको देखिन्छ, त्यसैले बजाज नै अगाडि छ । स्कुटरमा होन्डा अगाडि छ । तेलको मूल्य बढ्यो भने हाम्रो बिक्री बढ्छ । माइलेजका बारेमा सतर्क हुन खोज्ने उपभोक्ता हिरो ब्रान्ड बढी खोजी गर्छन् । ‘ग्रेट फर ग्रेट भ्यालु’ जसले बुझ्छ हिरोको विकल्प छैन ।

हिरोका उत्पादनहरू मध्यमवर्गको रोजाइभन्दा माथि उठ्न सकेनन् नि, किन ?
हिरो ब्रान्ड खास गरी क्वालिटी, माइलेज र प्राइसमा फोकस छ, तर पनि मलाई लाग्छ— स्कुटरमा हिरोलाई धेरैले मन पराएका छन् । हामीले ड्युट लन्च गर्दा छनोटको अवसर भएको छ । १२५ सीसीमा होन्डा र हिरो नै प्रतिस्पर्धामा छन् । १५० मा यामाहा, सुजुकी, टिभिएस, होन्डालगायतका ८ वटा छनोट अवसर छन् । त्यस्तै स्कुटरमा पनि बढी छनोट छ । मानिसको मनमा माइलेज र प्राइस कन्सियस छ भन्ने हाम्रो बुझाइ छ । पहिला करिज्मा बाइक हुँदा हिरोको स्पोर्टीमा पनि थियो । सुरुमा बजार कब्जा गरेको हिरोले नै हो । हिरो र होन्डा सबै सेगमेन्टमा फोकस भएको छ, त्यसले गर्दा हाम्रो बिक्री १०० र १२५ सीसीमै धेरै छ ।

ज्योति समूह परम्परागत व्यवसायभन्दा माथि उठेर नयाँ क्षेत्रमा व्यवसाय गर्न सकेन नि ?
ज्योति समूह ट्रेडिङ व्यवसायबाट नै सुरु भएको हो । हजुरबुबा, बुवाहरू ल्हासा जानुहुन्थ्यो, त्यहीँबाट व्यवसाय सुरु भएको हो । मोटरसाइकल व्यवसाय सन् १९६८ मा सुरु भएर १९९० मा मात्रै ‘टेकअफ’ भएको हो । बिजनेस भनेको ‘रिस्क’ हो । कहिले कुन सामान चल्छ भन्ने थाहा हुँदैन । भाजुरत्न इन्जिनियरिङ पनि हामीले सुरु गरेका छौँ । यसले ट्याक्टर आयात गर्ने, पावरका सम्बन्धका काम गर्छ । पहिला भाजुरत्नको कारोबार धेरै हुन्थ्यो । अहिले मोटरसाइकलको बढी छ, त्यसैले समयअनुसार व्यवसायमा परिमार्जन भने गर्नुपर्छ । अहिले हामीले हस्पिटल, फार्मेसी, मोबाइल टेक्लोलोजीलगायत हिमाल आइरन, हिमाल अक्सिजन, हिमाल वायरलगायत एक दर्जनभन्दा धेरै क्षेत्रमा लगानी गरेका छौं । समयअनुसार हामीले पनि लगानीलाई विविधिकरण गरेका छौं । अबको १० वर्षपछि मोटरसाइल चल्छ कि चल्दैन ? त्यसैले हस्पिटल व्यवसायमा हाम्रो लगानी बढ्न सक्छ । त्यसपछि अरू ठाउँमा आवश्यकताअनुसार हामीले लगानी बढाउँदै जान्छौँ ।

५५ वर्षदेखि हिमाल आइरनले बजारमा आफ्नो प्रभुत्व अब्बल रूपमा जमाएको छ, यति लामो समय उपभोक्ताको रोजाइको स्टिल बन्न सक्नुको ‘राज’ के हो ?
हिमाल स्टिल हजुरबुबाको पालादेखि नै सञ्चालनमा आएको हो । हजुरबुबा भारतको खानी उद्योगमा काम गर्नुहुन्थ्यो । तत्कालीन राजा महेन्द्र र बीपी कोइरालाहरूले तपाईं किन भारतमा काम गर्ने ? नेपालमै केही गर्नुस् भनेर हजुरबुबालाई बोलाएको भन्ने मलाई जानकारी छ । नेपालमा लगानी गर्न र व्यवसाय बढाउन राजा महेन्द्र र बीपीको देन छ । त्यसबेला डन्डी सबै भारतबाट आयात हुन्थ्यो । नेपालको विकासका लागि चाहिने सिमेन्ट र डन्डी कारखाना हजुरबुबाले सबैभन्दा पहिले खोल्नुभयो । हामीले हिमाल सिमेन्ट भनेर चोभारमा कारखाना खोलेका थियौँ । सरकारलाई हिमाल सिमेन्ट र हिमाल आइरन एउटै व्यक्तिले खोल्नु हुन्न भनेर सिमेन्टलाई राष्ट्रियकरण ग¥यो । अहिले उक्त सिमेन्ट बन्द छ । तर, डन्डीमा भने नेपाली जनताले राम्रो सामान पाउनुपर्छ भनेर सुरु गरेकाले हामीले गुणस्तरमा कहिल्यै सम्झौता गरेनौँ । गुणस्तरकै कारण बजारमा अब्बल रहन सकेको छ भन्ने लाग्छ । हामी कवाडी डन्डी, पाता प्रयोग गर्दैनौँ, जे–जति मापदण्ड पूरा गर्नुपर्ने, त्यसमा केही कमी छैन । उपभोक्ता सचेत छन् । सस्तो होइन गुणस्तरीय सामान दिनुपर्छ भन्ने हाम्रो एक मात्र प्रण हो ।

ज्योति समूह फेरि सिमेन्ट उद्योग खोल्ने योजनामा छ ?
तत्कालका लागि सिमेन्टमा लगानी गर्ने योजना छैन । डन्डीमै केही गर्न सकिन्छ कि भनेर हेरेका छौँ । अरू सामानको तुलनामा डन्डीमा ‘फ्री मार्केट’ रहेको पाएँ । १० वर्षअघि झन्डै ४० कम्पनी थिए, बीचमा २० वटामा झरे । फेरि पछिल्लो समयमा बढेका छन् । आइरन भनेको उत्पादन गर्नुपर्ने सामान हो । यसका लागि बिजुली चाहिन्छ । एक वर्षयता अलि सहज भएको छ । फ्याक्ट्रीमा धेरै बिजुली खपत हुने भएकाले पहिलो ध्यान बिजुली व्यवस्थापनमा जान्छ । नेपालमा सिमेन्ट उद्योग पनि धेरै छन्, जहाँ धेरै कम्पनी छन् त्यहाँ जानु पनि ठीक होइन । सकेसम्म नयाँ क्षेत्रमै जान खोजका छौँ । हस्पिटल नयाँ क्षेत्र हो, त्यसैले ग्य्रान्डी सिटी हस्पिटलमा लगानी ग¥यौं । मेरो बुबाले नेपालीहरू बिरामी भएपछि भारत जाने क्रम बढेको देखेर यहीँ राम्रो सेवा दिन सके यहीँ उपचार गर्छन् भनेर हस्पिटल शुरु गर्नुभएको हो ।

यति लामो बिजनेस अनुभव भएको समूहले टे«डिङ व्यवसायलाई नै प्राथमिकता दिनु कत्तिको उपयुक्त हो ?
ज्योति समूहले टे«डिङ व्यवसाय सुरु गरेदेखि आजका दिनसम्म छाडेको नै छैन । फ्याक्ट्री खोल्दा पनि फाइदाका लागि ट्रेडिङ व्यवसाय राख्नैपर्ने देखिएको छ । हस्पिटलमा लगानी गरे पनि, फ्याक्ट्री खोले पनि एक भाग टे«डिङ राख्नैपर्ने हुन्छ । टे«डिङ व्यवसायकै कारण ज्योति समूह बचेको हो भन्नुपर्छ ।

पाँच दशक पुराना व्यावसायिक घरानाहरूलाई नयाँ घरानाहरूले चुनौती दिएजस्तो लाग्दैन ? कत्तिको सहज अनुभव गर्नुभएको छ प्रतिस्पर्धालाई ?
व्यवसायमा प्रतिस्पर्धा हुनु सामान्य हो भन्ने मलाई लाग्छ । जुन क्षेत्रमा बढी फाइदा हुन्छ अवश्य पनि त्यही क्षेत्रमा प्रतिस्पर्धा बढ्ने हो । डन्डी र मोटरसाइल दुवैमा उच्च प्रतिस्पर्धा छ । प्रतिस्पर्धा हुँदा चुनौतीभन्दा पनि अवसरका रूपमा लिन्छु । यसले ग्राहकलाई छनोटको अवसर हुन्छ । वारेन्टी, फ्री सेवा, स्पेयर पाट्र्समा पहिला सुविधा थिएन अहिले छनोट छ । हामीलाई पनि नयाँ तरिकाले जान र इनोभेसनका लागि अवसर दिन्छ ।

पुरानो व्यवसायबाट केही माथि उठेर हस्पिटलमा लगानी गर्नुभो, कत्तिको सफल भएजस्तो लाग्छ ?
समग्रमा हेर्दा यसको सुरुवात भएको धेरै भएको छैन । सबैले गरेका तरिकाले नै काम भएको छ । फरक गर्ने सोचमा छाँै । हस्पिटलको सबै जिम्मेवारी बुवाले लिनुभएको छ । कसरी प्रतिस्पर्धी बजारमा नयाँ र गुणस्तरीय रूपमा जान सकिन्छ भन्नेमा हाम्रो जोड छ । फुल बडी स्क्यान भर्खरै ल्याइएको छ । हेल्थ इन्स्युरेन्स पनि ल्याउने योजनामा छौँ । ग्राहकको सुविधाका लागि एम–कार्ड पनि व्यवस्था गरेका छाँै । एम–कार्ड भएपछि ग्राहक लाइन बसिहनुपर्ने बाध्यता हुन्न, जुन तलामा उहाँहरूको काम पर्छ त्यहाँ कार्ड प्रयोग गर्न सक्नुहुन्छ । हामीले हेल्थ प्याकेज दिन थालेपछि अरू हस्पिटलले पनि त्यो प्याकेज दिन थालेका छन् ।

ग्य्रान्डी हस्पिटलमा शुल्क उच्च छ, मध्यमवर्गले उपचार गर्न सक्दैनन् भन्ने गुनासो पनि छ नि ?
शुल्क धेरै उच्च होइन । हस्पिटललाई हामीले व्यापारभन्दा पनि सेवाको भावले हेरेका छाँै । मानिसहरू भारत, थाइल्यान्ड गएर महँगोमा औषधि उपचार गर्छन्, तर त्यहाँ बराबरको सुविधा यहाँ दिँदा आरोप लगाउँछन् । बाहिरको तुलनामा सुविधा उही हुँदा पनि हस्पिटल निकै सस्तो छ । विदेशमा हस्पिटलमा जुन उपकरण छन् हामीले पनि त्यो बराबरको सुविधाका लागि त्यस्तै उपकण राखेका छौँ । उपकरण महँगो भएका कारण केही महँगो होला, तर सेवाका हिसाबले महँगो भन्न मिल्दैन ।

तपाईं ज्योति समूहको तेस्रो पुस्ता हुनुहुन्छ, नयाँ पुस्ताका लागि सम्भावना र चुनौती के देख्नुहुन्छ ?
नेपाल ल्यान्डलक्ड भएकाले टे«डिङ व्यवसाय गर्नु नै पर्छ । नेपालमा जुन खालका सामानको माग हुन्छ त्यसको उत्पादन लागत स्वदेशमा भन्दा बाहिर सस्तो पर्छ । भारत र चीनसँग प्रतिस्पर्धा गर्न कठिन छ । भविष्यमा ऊर्जा खपत बढ्ने देखिन्छ, त्यहाँ सम्भावना छ । त्यस्तै स्वास्थ्य, शिक्षा, सूचना प्रविधिमा धेरै सम्भावना छ ।

अहिले सञ्चालित व्यवसायमा थप लगानी र अन्य क्षेत्रमा लगानी विविधीकरणको कुनै योजना छन् कि ?
मोटरसाइकल व्यवसायमा हामीले लगानी बढाइरहेका छाँै । वर्कसप खोल्नेदेखि म्यानपावर तालिम, शोरुम, शाखा कार्यालय खोलेका छौँ । बुवाले हस्पिटलमा लगानी गर्नुभएको छ । अब औषधि उत्पादनमा हामीले हेरिरहेका छौँ । दाइहरूले मोबाइल व्यवासाय, इन्टरनेटमा जोड दिनुभएको छ । पहिला वर्षमा मुस्किलले पाँचवटा मोटरसाइकल बिक्री हुथ्यो, अहिले महिनामा ३÷४ हजार भन्दा धेरै हुन्छ । त्यसको समग्र व्यवस्थापनका लागि बर्सेनि लगानी बढेको छ । अवसरअनुसार हामी लगानी गर्छौं । कतिपय उद्योग बन्द पनि भएका छन् । सेरामिक्सतर्फ पनि हामीले प्रयास गरेका थियौँ, त्यो बन्द भयो । पस्मिना व्यवसाय पनि सफल भएन । सञ्चालनमा रहेका उद्योगमा हिमाल आइरन, हिमाल अक्सिजन, स्पिनिङ मिल छन् । टे«डिङतर्फ पहिला ल्हासासँग हुने व्यापार ठप्प भएको छ । मोटरसाइकलको स्याटर ट्रेडिङले हेरेको छ, ट्याक्टर भाजुरत्न, फाजुरत्न फार्म भनेर औषधिको काम गरेको छ । डन्डीको बजार अहिले बढेको छ । पहिला डन्डीमा गुणस्तरभन्दा सस्तो हेरिन्थ्यो, तर भूकम्पपछि गुणस्तरमा ध्यान गएको छ । हिमाल आइरनको रोजाइ फेरि बढेको छ । सुरक्षाका दृष्टिकोणले हिमाल आइरनको माग बढेको छ ।

ज्योति समूहभित्रै दुई परिवारजस्तो देखिन्छ, एक–अर्काबीच प्रतिस्पर्धा छ कि सहकार्य ?
हिरो र होन्डा त प्रतिस्पर्धी नै हुन् । हिरो र होन्डा फुटेपछि हामीले पनि प्रतिस्पर्धा गर्नुपरेको हो । पहिले हिरो र होन्डा सँगै थिए । हिरो र होन्डामा म्यानपावर, डिलर, शोरुमदेखि सबै कुरा छुट्टाछुट्टै छन् । हिमाल आइरन हामीले सँगै चलाएका छाँै । ठूलोबुबाले फ्याक्ट्री हेर्नुहुन्छ, म मार्केटिङ हेर्छु । हिमाल अक्सिजन र भाजुरत्नको त्यस्तै सेटअप छ । छुट्टाछुट्टै व्यवसाय गर्नुपर्नेमा छुट्टाछुट्टै पनि छ, सँगै हुनुपर्ने सँगै पनि छौँ । प्रतिस्पर्धा र सहकार्य दुवै छ ।

अहिले ज्योति समूहअन्तर्गत कुन–कुन कम्पनी सञ्चालनमा छन् ?
नेपाल जेनरल मार्केटिङ प्रालि, हिमाल आइरन, हिमाल अक्सिजन, हिमाल वायर्स, ग्य्रान्डी सिटी अस्पताल, जेएसपिनिङ मिल, स्याकार ट्रेडिङ कम्पनी, भाजुरत्न फार्म, भाजुरत्न इन्जिनियरिङ, सोची ट्राभल एजेन्सी सञ्चालन छन् ।

हिरो र होन्डा विभाजित हुँदा तपाईंहरूलाई लाभ भयो कि हानि ?
होन्डा भनेको पुरानो कम्पनी हो, हिरो पनि भर्खरै छुटेको हुनाले आएनडी सेटअप भएको छ । उसको क्षमता हेर्न बाँकी छ । राम्रो सामान निकाले पनि ‘पोटेन्सियल’ हेर्न बाँकी छ । समग्रमा फाइदा नै भएको छ ।