प्रगति ढकाल
बुधवार, कार्तिक २०, २०७६
571

चितवन सौराहा चितवन राष्ट्रिय निकुञ्जका कारण पर्यटकीय हब नै बनेको छ । जंगल सफारीका कारण अझै बढी पर्यटन व्यवसाय फस्टाएको छ । गत आर्थिक वर्ष ०७५-७६ मा अहिलेसम्मकै सबभन्दा बढी १ लाख ८५ हजार ६ सय ४४ जना पर्यटकले चितवन निकुञ्ज भ्रमण गरेका थिए । त्यहाँ गैंडा, बाघ, हात्ती तथा अन्य जैविक विविधताका कारण पर्यटकीय आकर्षणको स्थान बनेको छ सौराहा । यो नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज पनि हो । यसलाई १९८४ मा विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ । यतिबेला सौराहामा पर्यटकलाई थप आकर्षित गर्न भन्दै क्षेत्रीय होटल संघ चितवन सौराहाले ल्याएको रात्रिकालीन जिप सफारीको अवधारणा बहसको विषय बनेको छ । क्षेत्रीय होटेल संघ चितवनले रात्रिकालीन जंगल सफारी सञ्चालन गर्नका लागि छलफल चलाउँदै आएको छ । यतिबेला बहसको विषय भनेको छ, सौराहामा रात्रिकालीन जीप सफारी गर्नु उचित छ या छैन । वन्यजन्युविद्हरू रात्रिकालीन सफारी सञ्चालन गर्दा वन्यजन्तुलाई असर गर्ने बताउँदै आइरहेका छन् भने उता क्षेत्रीय होेटल संघ चितवनले भने रात्रिकालीन सफारी सञ्चालनले वन्यजन्तुलाई असर नपुग्ने र पर्यटन विकासका लागि आवश्यक रहेकाले रात्रिकालीन सफारी सञ्चालन गर्नु आवश्यक रहेको बताउँदै आएको छ । संघले ल्याएको चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र राति पर्यटकलाई जिपमा घुमाउने योजनाको विषययमा संरक्षणविद्हरू भने घोर विरोध गर्दै आएका छन् । विरोधको बीचमा पनि सौराहाका होटल व्यवसायी भने रात्रिकालीन जिप सफारीको तयारीमा लागेका छन् । रात्रिकालीन सफारी आवश्यक छ या छैन भन्ने विषयमा सरोकारवालासँग कारोबारकर्मी प्रगति ढकालले गरेको कुराकानीको सार :
हचुवामा रात्रिकालीन सफारी सञ्चालन गर्नु उचित होइन
नारायण रूपाखेती
वार्डेन, चितवन राष्ट्रिय निकुञ्ज
अहिलेको मौजुदा ऐन–नियमले रात्रिकालीन सफारीलाई मान्यता नै दिएको छैन । यसले रात्रिकालीन सफारीलाई अनुमति नै दिँदैन । मात्र रात्रिकालीन सफारीको विषय चाहिँ एउटा अध्ययनको विषय हुन सक्छ । रातिको समयमा जनावरले आराम गर्ने र दिउँसो विचरण गर्ने, यसको बासस्थानमा आवास तथा प्रकाशसहितको चिज जाँदा कत्तिको खलल पु-याउँछ । जनावरको सुरक्षा सवारीबाट हुन सक्ने जनावरको सुरक्षा र जोखिम त्यसैगरी जनावर हेर्न जाने पर्यटकको सुरक्षा र जोखिमको विषयमा अध्ययन हुनसक्छ । जनावर बसिरहेको ठाउँमा विचलन हुँदा नजिक खेतीबारी छ भने त्यसले गर्दा मानव–वन्यजन्तु द्वन्द्व बढाउन सक्ने त्यसको एउटा अवस्था र त्यो भइहाल्यो भने चाहिँ पर्यटकले रात्रिकालीन सफारीमा जाँदा पाउने मनोरञ्जनजस्ता कुरालाई हेरेर एउटा अध्ययनको विषयचाहिँ हुन सक्ला, तर अहिले नै चितवन राष्ट्रिय निकुञ्जमा रात्रिकालीन सफारीको विषयमा अध्ययन अनुसन्धान हुनसके पनि व्यवहार र कार्यान्वयनमा ल्याउन सजिलो छैन । कानुनी रूपमा पनि सम्भव छैन र अध्ययनको निष्कर्ष केही हुन सक्ला, तर अहिले बिनाअध्ययन हचुवाको भरमा रात्रिकालीन सफारी सञ्चालन गर्नुपर्छ भन्नु उचित होइन । यदि रात्रिकालीन सफारी सञ्चालन गर्ने हो भने जनावरको विचलनमा प्रभाव पार्न सक्छ । अर्को मुख्य कुरा भनेको त पर्यटकहरूको सुरक्षाको कुरा पनि त हो नि । दिउँसो चारैतिर उज्यालो हुने भएकाले उसले सुरक्षाका प्रक्रियाहरू अपनाउन सक्छ । राती प्रकाश एकतिर मात्रै उज्यालो हुने हुँदा तीनतिर त अँध्यारो हुन्छ । हिंस्रक जनावर बाघ तथा चितुवाबाट आक्रमण हुने सम्भावना पनि त छ नि । जनावरको बासस्थान खल्बलिसकेपछि नजिकको मानव बस्तीमा गएर आक्रमण गर्न सक्छ । निकुञ्ज आसपासमा रहेका मानवमा त्रास बढी उत्पन्न हुन सक्छ । यसकारण मानव वन्यजन्तु द्वन्द्व बढ्न सक्ने सम्भावना बढी हुन सक्ने भएकाले पनि त्यति उचित देख्दिन । यदि भइहाल्यो भने पनि पर्यटकले रात्रिकालीन समयमा ड्राइभमा जाँदा उसले साँच्चै मनोरञ्जन लिन सक्ला भन्ने विषय पनि सोच्नुपर्छ नि ।
यो क्षेत्र भनेको पर्यापर्यटनको हव नै हो । अहिले पर्यटन बढेको छ । पहिला विदेशीलाई मात्रै पर्यटक भनिन्थो अहिले नेपालीहरू पनि फुर्सदको समयमा घुम्न आउने स्थान बनेको छ । दसैंको नवमीको दिनमा मात्रै सौराहा प्रवेश दरमा मात्रै ६ लाख ३६ हजार राजस्व उठेको छ । यसले के देखाउँछ भने छुट्टीकै समयमा पनि नेपालीहरू अन्तरिक पर्यटनमा जान्छन्, रमाउँछन् भन्ने देखाउँछ । पर्यटन वर्ष–२०२० लाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जमा बाटोहरू खोल्ने पूर्वाधार विकास गर्ने काम भइरहेको छ । सिसी क्यामरा पनि जडान गर्दैछौँ । अझै जतिसक्दो पर्यटन बढाउनका लागि सेवा सुविधा कसरी थप गर्ने ? भन्ने विषयमा योजनाहरू बनाइरहेका छौं, तर रात्रिकालीन सफारीको विषयमा होटल संघले छलफल चलाएको छ भन्ने सुन्नमा आए पनि हामीहरूकहाँ प्रस्ताव आएको छैन ।

पर्यटक बढाउन रात्रिकालीन सफारी आवश्यक छ
दीपक भट्टराई
अध्यक्ष, क्षेत्रीय होटल संघ चितवन, सौराहा
रात्रिकालीन सफारी सञ्चालन गर्दा नयाँ सन्देश जान्छ । आन्तरिक पर्यटन तान्न सकिन्छ कि भन्ने हो । सन् २०२० को भ्रमण वर्षमा सौराहा क्षेत्रमा धेरै पर्यटक भित्र्याउन हामीले रात्रिकालीन योजना अघि सारेका हौं । त्यहाँ वन पर्ने ठाउँ नै छैन । त्यो पनि अध्ययन गरेर जनावरलाई असर नगरी सञ्चालन गर्नेछौं । स्वीकृति पायो भने पर्यटन तान्न सकिन्छ । यो बफर्जनको क्षेत्र हो । निकुञ्ज छुँदै छँुदैन । जनावर बस्ने ठाउँ पनि होइन । निकुञ्जको अनुमति पाएमा काम सञ्चालन गर्ने हो । सौराहाबाट कुमरोज सामुदायिक वन हुँदै राप्ती नदीको किनारैकिनार लोथरसम्म राति सफारी चलाउने भनेर योजना बनाएका हौं । यसले वनक्षेत्र र वन्यजन्तुमा असर पर्दैन । पर्यटकलाई आकर्षण गर्नका लागि बेलुकी ५ बजेपछि ८ बजेसम्म सफारी चलाऔं भन्ने हो । बस्तीको छेउछाउ र कहीँकहीँ सामुदायिक वन हुँदै जाने भएकाले त्यति धेरै वन्यजन्तुलाई असर पर्दैन । बस्ती छेउछाउ भएर सफारी गरिने छ । बस्तीको बायाँ एकातिर मध्यवर्ती सामुदायिक वन र दायाँतिर निकुञ्ज क्षेत्रको कोर एरिया र राप्ती नदी पर्छ । राप्ती नदी र आसपास पानीका घोल छन् । ती घोलमा प्रशस्त गैंडा बस्छन् । रात्रिकालीन सफारी सञ्चालन गर्न लागेको राष्ट्रिय निकुञ्ज र सामुदायिक वनभित्र पनि होइन । अहिले अनुमतिका लागि स्थानीय स्तरबाट छलफल भएको छ । राष्ट्रिय निकुञ्जसँग छलफल गर्नेछौँ । सल्लाह गर्दैछौँ ।

रात्रिकालीन सफारी कानुन संगत छैन
पदम श्रेष्ठ
वातावरण कानुन्विद्
चितवनको मात्र राष्ट्रिय निकुञ्जको विषय वस्तु नभई समग्र राष्ट्रिय निकुञ्ज आफैंमा संवदेनशील हुने गर्छ । किनकि राष्ट्रिय निकुञ्जको वन क्षेत्रभित्र विभिन्न जातको वन्यजन्तुुहरूको बासस्थान हुनुका साथै रातको समयमा आराम गर्ने वन्यजन्तुहरू समेत रहेका हुन्छन् । रातीको समयमा यातायातसहित अवलोकन गर्दा वन्यजन्तुलाई प्रत्यक्ष पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को मर्मसमेत वन्यजन्तुलाई आरामदायी बसाइका लागि नै उतm क्षेत्रको संरक्षण गरिएको हो । यसका साथै राष्ट्रिय निकुञ्ज क्षेत्रसँग जोडिएको वा निकुञ्ज वा आरक्ष वरिपरिको भाग नै मध्यवर्ती क्षेत्र हुने भएकाले त्यसको वरिपरि रात्रिकालीन जंगल सफारी गर्नु वन्यजन्तु संरक्षकका दृष्टिले विल्कुल उचित क्षेत्र मानिँदैन । मध्यवर्ती क्षेत्रमा स्थानीयवासीको समेत घर खेत हुने भएकाले समेत रात्रिकालीन जंगल सफारी गर्नु वन्यजन्तु संरक्षण र मानवीय हिसाबले समेत ठीक छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३(ख) २ बमोजिम वातावरणलाई प्रतिकूल असर नपुग्ने र वन्यजन्तुलाई हानी नोक्सानी नपुग्ने गरी सार्वजनिक यातायात सञ्चालक गर्ने सकिनेछ भन्ने व्यवस्था छ । उक्त कानुनी आधारमा राष्ट्रिय निकुञ्जभित्र रातिको समयमा वन्यजन्तु हेर्नका लागि पर्यटनसहितको रात्रिकालीन पयर्टन व्यवसाय मानवको सुरक्षाको दृष्टिकोणबाट र समग्र वन्यजन्तु सुरक्षाको दृष्टिबाट नेपालको कानुनको व्यवस्थाबमोजिम समेत अनुमति दिएको छैन, केवल सार्वजनिक यातायातलाई अनुमति दिएको छ । त्यसलाई रात्रि जंगल सफारीलाई अनुमति दिएको भन्न मिल्दैन र मध्यवर्ती क्षेत्रभित्र रात्रिकालीन जंगल सफारी सञ्चालनमा ल्याउनु वन्यजन्तु संरक्षणको दृष्टिकोणबाट समेत उपयुक्त हुँदैन ।

रात्रिकालीन सफारी सञ्चालन गर्नै हुँदैन
श्यामसुन्दर बजिमय
पूर्वमहानिर्देशक,
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
अहिले सौराहामा रात्रिकालीन सफारी सञ्चालन गर्ने कुरा एउटा बहसका रूपमा बाहिर आएको छ । मलाई लाग्छ, संरक्षणको हिसाबले रात्रिकालीन सफारी सञ्चालन गर्न नै हुँदैन । यसले वन्यजन्तुलाई असर गर्छ । वन्यजन्तुको बासस्थान खल्बलिन्छ । रातको समय भनेको जनावरको एक्टिभ हने समय हो । रातमा जनावरहरू बढी चहलपहल गर्छन् । यदि रात्रिकालीन सफारी सञ्चालन ग-यौं भने वन्यजन्तुको डिस्टर्ब पनि त हुन्छ । अर्को कुरा, रात्रिकालीन नाइट सफारी गर्न त्यो खालको सफारी विकास भएको छैन । अर्को कुरा, सुरक्षाको हिसाबले पनि त यो उचित छैन नि । किनकि यसले मानव वन्यजन्तु द्वन्द्व बढाउन सक्छ । रातीमा सफारी सञ्चालन गर्दा जनावरले आराम गर्ने समय पनि आउँदैन । कुनै पनि अध्ययन नगरी रात्रिकालीन सफारी सञ्चालन गर्न खोज्दा यसको असर ठूलो पर्न सक्छ । पहिल्यै त्यसले पार्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्नु आवश्यक हुन्छ ।