यादव हुमागाई
सोमवार, कार्तिक १८, २०७६
2948

बिमा कम्पनीहरूको संख्या वृद्धिसँगै नेपालमा बिमाको पहुँच पनि बढेर २५ प्रतिशत हाराहारीमा पुगेको छ । कम्पनीहरूको सेवा गाउँगाउँसम्म पुगेको र सर्वसाधारण बिमाप्रति सचेत हुन थालेको बताउँछन् रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी । वित्तीय साक्षरता बढाउन, बचत गर्ने बानीको विकास गर्न पनि बिमाले ठूलो भूमिका खेलेको र बजार उत्साहित भएको उनको भनाइ छ । बिमा कम्पनीहरूको संख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धा पनि हुन थालेको र यसप्रति नियामक निकाय थप सचेत हुनुपर्ने उनको सुझाव छ । यसैगरी प्रविधिको प्रयोग गर्दै बिमाको वितरण लागत घटाउनुपर्ने र साथसाथै सबै वितरण प्रणालीमार्फत बिमा विस्तार गर्न पाउनुपर्ने उनले बताए ।
दुई दशकदेखि वित्तीय क्षेत्रमा सक्रिय लोहनीले सिभिल इन्जिनियङ र एक्जुकेटिभ एमबीए उत्तीर्ण गरेका छन् । बैंकमा धितो मूल्यांकन र बिमा कम्पनीको सर्भेयरका रूपमा करियर सुरु गरेका उनले रिलायबल फाइनान्स र डेभलपमेन्ट बैंकको संस्थापक सीईओका रूपमा लामो समय काम गरे । तत्कालीन रिलायबल माइक्रोफाइनान्सका संस्थापक अध्यक्षसमेत रहेका उनले रिलायबलको इन्स्योरेन्सको पनि स्थापनाकालदेखि व्यवस्थापकीय नेतृत्व गर्दै आएका छन् । उनीसँग नेपालमा बिमा व्यवसायको अवस्था, सम्भावना र चुनौतीबारे कारोबारकर्मी यादव हुमागाईंले गरेको कुराकानीको सार :

बिमा बजारमा नयाँ कम्पनी थपिएपछि पहुँच पनि विस्तार भएको छ । बजारलाई तपाईंले कसरी मूल्यांकन गर्नुहुन्छ ?
बिमा क्षेत्रमा नयाँ कम्पनीहरू आएपछि समग्रमा बिमाको बजार बढेको छ । कम्पनीहरूले नयाँ–नयाँ बिमा लेखहरू ल्याएका छन् । बिमा क्षेत्रमा जनशक्तिको विकास पनि भएको छ । नयाँ व्यक्तिहरूलाई बिमामा करियर बनाउने अवसर सिर्जना भएको छ । देशको दूरदराजसम्म बिमाको पहुँच विस्तार हुन थालेको छ । सँगसँगै देशमा वित्तीय साक्षरता बढाउन, बचत गर्ने बानीको विकास गर्न पनि बिमाले ठूलो भूमिका खेलेको छ । साढे २ वर्षअघि बिमाको पहुँच ७ प्रतिशतमात्र थियो । अहिले बिमाको पहुँच वृद्धि भई २५ प्रतिशतको हाराहारीमा पुगेको छ । यो एकदमै उत्साहजनक अवस्था हो ।
बजार र पहुँच विस्तारसँगसँगै केही चुनौती पनि देखिएका छन् । बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि हुन थालेको छ । सबै कम्पनीलाई बजार विस्तार गर्नुपर्ने प्रतिस्पर्धाका कारण कर्मचारी तानातानदेखि भूmटा आश्वासन दिएर बिमा गर्ने, गलत प्रचार गर्ने जस्ता विकृति पनि छिटफुट रूपमा देखिएका छन् । अहिले देखिएको मुख्य चुनौती भनेको बिमाको वितरण लागत घटाउनु नै हो । बिमा कम्पनीका सेवालाई प्रविधिसँग जोडेर लागत घटाउनुपर्छ । यसबाट बिमित र सरोकारवाला सबैलाई फाइदा हुन्छ । समग्रमा बिमाको बजार सकारात्मक रूपमा विकास हुँदै गएको छ । बिमाको भविष्य उज्ज्वल छ ।

बजारमा देखिएका अस्वस्थ प्रतिस्पर्धा कम गर्नका लागि बिमा समितिको नियमन र निर्देशनहरू कत्तिको प्रभावकारी छन् त ?
बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले बजारको अवस्थाअनुुसार समयसापेक्ष नीति निर्देशन जारी गर्नुका साथै नियमनलाई पनि कसिलो पार्दै लगेको छ । यसबाट बिमा बजार व्यवस्थित बन्दै गएको छ । आगामी दिनमा पनि समितिको भूमिका र दायरा बढाउन सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता छ ।

अभिकर्ता र एजेन्टलाई कम्पनीहरूले प्रदान गर्ने वैदेशिक भ्रमण र कर्मचारीलाई दिने गाडी सुविधामा कडाइ गर्दा हस्तक्षेप भयो भनेर आलोचना पनि भयो नि ?
नयाँ कम्पनीहरू बजार विस्तारमा आक्रामक ढंगले लागिरहँदा केही अप्ठ्यारो परेको हो । यो निर्देशन सबै कम्पनीलाई लागू हुन्छ । समितिले विदेशमा भन्दा स्वदेशमा भ्रमण गरौं, यसबाट हाम्रो बढ्दो व्यापारघाटा कम गर्न पनि सघाउ पुग्छ भन्ने उद्देश्य राखेको होला । यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ । समितिले अभिकर्ता-एजेन्टलाई वैदेशिक भ्रमणका लागि पूर्ण रोक लगाएको होइन । समितिबाट स्वीकृति लिएर वैदेशिक तालिम गर्न सकिन्छ ।
पछिल्लो समयमा बिमा कम्पनीहरूमा कर्मचारीको लागत धेरै घटेको छ । कम्पनीहरूबीच कर्मचारी तान्ने काम पनि कम भएको छ । कर्मचारीहरूले पनि बुझिसकेका छन् । उनीहरू सेवा–सुविधामा भन्दा पनि संस्थागत सुशासन राम्रो भएको कम्पनीमा नै बस्न चाहन्छन् । हामीले रिलायबल स्थापना गर्दा ४–५ जना मात्र अनुभवी कर्मचारी लिएका हौं । त्यसबाहेक अरू कर्मचारीहरू नयाँ र अन्य क्षेत्रबाट ल्याएर आफैंले तालिम दिएर दक्ष बनाएका हौं । उहाँहरूको आउटपुट पनि राम्रो आएको छ ।

बिमा कम्पनीहरूले बैंकमार्फत व्यवसाय विस्तारमा जोड दिइरहेका बेला राष्ट्र बैंकले रोक लगायो । यसले कस्तो असर पार्ला ?
यसमा राष्ट्र बैंकको आफ्नै लजिक होला । तर, बिमाको विस्तारका लागि आजको युगमा सबै खालको वितरण प्रणाली खुला हुनुपर्छ ।

बिमा कम्पनीहरू प्रिमियम बढाउन मात्र जोड दिँदा विकृति बढेको हो ?
बिमा भनेको लामो समय दायित्व वहन गर्नुपर्ने व्यवसाय हो । हामीले छिटो व्यवसाय लिने भन्दा पनि त्यो व्यवसाय दिगो हुने हिसाबले काम गर्नुपर्छ । यो आजको भोलि नाफा हुने व्यवसाय पनि होइन । राम्रोसँग इन्स्योरेन्स गर्न सकिएन र दाबी भुक्तानी धेरै आउन थाल्यो भने रि—इन्स्योरेन्स कम्पनीले पनि शुल्क बढाउँछ । बजारमा प्रतिस्पर्धी भएर काम गर्न पनि सक्दैनौं । त्यसैले हामीले गुणस्तरीय व्यवसाय विस्तारमा ध्यान दिनुपर्छ ।

कम्पनीको संख्या र बजार विस्तारपछि रि–इन्स्योरेन्स कम्पनीले नेपाली बजारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ त ?
कम्पनीको संख्या र कारोबार बढेपछि रि–इन्स्योरेन्स कम्पनीको चासो बढ्ने नै भयो । हिजोका दिनमा नेपालमा थोरै मात्र रि–इन्स्योरेन्स कम्पनी आएको थिए भने अहिले संख्या बढेको छ । नेपाली कम्पनी नेपाल रि पनि सक्रिय छ । जीवन बिमाको हकमा रि–इन्स्योरेन्स कम्पनीहरूले राम्रो बिजनेस पाएका छन् । नेपाली बजारलाई हेर्ने दृष्टिकोण पनि सकारात्मक छ ।
पछिल्लो समय बिमासँग जोडिएर आपराधिक घटना सार्वजनिक भएका छन् । यसबाट बिमा कम्पनीहरू सचेत हुनुपर्ने अवस्था आएको हो ?
यो समग्र उद्योगकै विषयको कुरा हो । बिमा कम्पनीहरूले दिगो व्यवसायमा प्रतिस्पर्धा गर्ने हो भने यस्ता घटनाहरू हुँदैनन् । कम्पनीहरूले अभिकर्ता, एजेन्ट, कर्मचारीलगायतलाई सोहीअनुसार ट्रेन गर्नुपर्छ । रिलायबल इन्स्योरेन्सको मात्र कुरा गर्ने हो भने अभिकर्ताहरू हाम्रो परिवारका सदस्य हुन् । उनीहरूलाई झूटा कुरा नबोल्नुहोस्, झूटा आश्वासन नदिनुहोस्, दिगो व्यवसाय ल्याउने गरी काम गर्नुहोस् भनेर तालिम दिने गरेका छौं । अहिलेसम्म त्यस्ता घटनामा हामी जोडिएका पनि छैनौं । बिमाको प्रचार गर्ने अभिकर्ता नै भएकाले उनीहरूलाई दिगो व्यवसाय आउने गरी ग्राहकलाई विश्वासमा लिनुहोस् भनेका छौं । एउटा ग्राहकले यो संस्था र अभिकर्ता विश्वासिला छन् भन्ने बुझ्यो भने एकबाट अर्को गर्दै बजारमा सकारात्मक प्रचार हुन्छ ।

बिमा ल्याप्स दर बढ्नुको कारण पनि अस्वस्थ प्रतिस्पर्धा हो नि ?
बिमा कम्पनीहरूको संख्या वृद्धिसँगै बिमा ल्याप्स गर्ने संख्या बढेको हो । तर, जुन हिसाबले बिमालेखको संख्या बढेको छ त्यसको तुलनामा सरेन्डर र ल्याप्सको अनुपात बढेको छैन । अभिकर्ताले बिमा गराउनका लागि जसरी अभिप्रेरित गरेको हुन्छ सोहीअनुसार नवीकरण गर्नका लागि पहल नगरेको पनि हुनसक्छ । त्यसका लागि कर्मचारीहरूले पनि आफ्नो तहबाट फलोअप गर्नुपर्छ । अभिकर्ता साथीहरूले पनि सुरुमा बिमा गर्नका लागि पहल गरेजस्तै समयमा प्रिमियत तिर्न, नवीकरण गराउनका लागिसमेत पहल पनि गर्नुपर्छ ।

नवीकरणका लागि अभिकर्तालाई जिम्मेवार बनाउन सकिँदैन र ?
अभिकर्तामार्फत बिमा गराए पनि सुरक्षण हुने त बिमा गर्ने व्यक्तिको नै हो । बिमा पोलिसी सकिएपछि भुक्तानी पाउने पनि व्यक्ति नै हो, सुरक्षण पनि उसैको हुन्छ । त्यसैले व्यक्ति आफैं सतर्क हुनुपर्छ । अभिकर्ता त एउटा माध्यममात्र हो । आजको दिनमा जसले बिमा गर्नुहुन्छ उहाँहरू पनि अधिकांश शिक्षित हुनुहुन्छ । बिमाको बारेमा बुझेर मात्र पोलिसी खरिद गर्नुहुन्छ । यसका फाइदाबारे जानकारी राख्नुहुन्छ । कहिले प्रिमियम बुझाउनुपर्छ, नवीकरण कहिले गर्नुपर्छ भन्ने विषयमा सचेत हुनुहुन्छ । अभिकर्ताले पनि सुरूमा बिमा पोलिसी ल्याउँदा बढी कमिसन आउँछ भनेर एउटा पोलिसी ल्याप्स गराएर अर्को पोलिसी खरिद गराउँदा सुरुमा फाइदा भए पनि ग्राहकले यथार्थ बुझेपछि ऊप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुन्छ । त्यस्तो व्यवसाय दिगो हुँदैन ।
एक कम्पनीको पोलिसी ल्याप्स गराएर अर्को कम्पनीमा खरिद गर्ने प्रवृत्ति छ भने त्यसलाई रोक्नुपर्छ । यसका लागि सर्वसाधारणलाई पनि बिमाबारे सचेत बनाउन जरुरी छ ।

बिमा साक्षरता बढाउन के गर्नुपर्ला ?
कम्पनीहरूले त आफ्नो ढंगले काम गरिरहेका छन् । गाउँगाउँमा पुगेर तालिम सञ्चालन गरिरहेका छौं । बिमा समितिले पनि बिमा साक्षरताका कार्यक्रमहरू लिएर गएको छ । बिस्तारै साक्षरता बढ्दै गएको छ ।

बिमा सूचना केन्द्र स्थापनाको पहल पनि सुरु भएको छ । यसले कस्तो प्रभाव पार्ला ?
बिमा क्षेत्रको व्यवस्थित विकासका लागि सूचना केन्द्र एकदमै जरुरी विषय हो । कुनै पनि व्यक्तिले कतिवटा कम्पनीमा कस्तो बिमा गरेको छ, आफ्नो क्षमताभन्दा बढीको बिमा गरिरहेको छ कि ? भन्ने बुझ्नका लागि सूचना केन्द्र प्रभावकारी हुन्छ । एकपटक मात्र प्रिमियम लिएर भएन । एकपटक अभिकर्ताले धेरै प्रलोभन देखाएर, दबाब दिएर बिमा गर्ने अनि अर्को पटकबाट प्रिमियम तिर्न नसक्ने अवस्था छ कि ? यस्ता विषयहरू विश्लेषण गर्नका लागिसमेत सूचना केन्द्र प्रभावकारी हुन्छ । धेरै ठाउँमा इन्स्योरेन्स गर्ने र सुनियोजित रूपमा घटना घटाउने प्रवृत्तिलाई कम गर्नका लागि पनि सूचना केन्द्रमार्फत नियमन गर्न सकिन्छ ।

पछिल्लो समयमा बिमाप्रति आमसर्वसाधारणको बुझाइ कस्तो पाउनु भएको छ ?
समग्रमा नेपालीहरूमा इन्भेटमेन्ट प्रकृतिका बिमालेखमै चासो बढी छ । पछिल्लो समयमा बिमामा प्रतिफल मात्रभन्दा पनि जोखिम बहन गर्ने गरी बिमा गर्ने सोच पनि विकास हुन थालेको छ । त्यो राम्रो पनि हो । टर्म प्लान, मेडिकल इन्स्योरेन्स, घातक रोगको बिमातर्फ आमसर्वसाधारणहरू आकर्षित भएका पाइन्छन् । यसले समग्रमा बिमा बजार विकासमा राम्रो गर्छ ।

घातक रोगको बिमा योजनामा आकर्षण बढे पनि दाबी भुक्तानी लिने प्रक्रिया जटिल छ भनिन्छ नि ?
बिमा कम्पनीहरूले सर्वसाधारणको पैसा परिचालन गरेर सर्वसाधारणकै जोखिम बहन गर्ने हो । बिमा सेवामूलक संस्था त होइनन् । घातक रोगको बिमा गर्दा कसैले पहिल्यै रोग लागेपछि बिमा गरेको छ भने त उसले दाबी भुक्तानी पाउँदैन । यस्तो अवस्थामा कम्पनीहरूले पनि आफ्नो तर्फबाट अनुसन्धान गर्छन् नै । माग दाबी उपयुक्त छ भने कम्पनीहरूले अप्ठ्यारो बनाउने सवाल नै आउँदैन । तर केही कैफियत भेटिएमा बिमा कम्पनीहरूले पनि राम्रोसँग अनुसन्धान गर्नुपर्छ ।

कम्पनीहरूले पोलिसीको सर्तबारे बिमितलाई जानकारी नदिँदा दाबी भुक्तानीमा विवाद हुने गरेको हो ?
बिमा पोलिसीमा कम्पनीका सर्तहरू ‘ब्लाक एन्ड ह्वाइट’मै क्लियर हुन्छ । जागरूक उपभोक्ताले पहिल्यै सोधेर बुझेरमात्र बिमा गरेको हुन्छ । दाबी भुक्तानीमा विवाद होस् भन्ने कम्पनीको उद्देश्य हुँदैन । तर, ग्राहकले बिमा गर्ने बेलामा ढाँटेको छ अनि भुक्तानी लिने प्रक्रियामा पत्ता लाग्यो भने मात्र समस्या हुने हो ।

बिमा कम्पनीलाई ठगी गर्ने नियतलाई निरुत्साहित गर्न कानुनी कारबाही गर्न सकिन्छ त ?
बिमा गरेको व्यक्तिलाई घातक रोग लागेको या मृत्यु भएको अवस्थामा दाबी भुक्तानी पर्ने हो । यस्तो अवस्थामा भएका व्यक्तिलाई कानुनी कारबाही अगाडि बढाउन अप्ठ्यारो हुन्छ । एक हिसाबले पीडामा भएको व्यक्तिलाई झन् पीडा कसरी थप्ने ! फर्जी कागज पेस गर्नेलाई कानुनी कारबाही गर्न त सकिन्छ तर त्यो भएको छैन ।
बिमा समितिले हालै लगानी निर्देशिका परिवर्तन गरी लगानी गर्ने दायरा ठूलो बनाएको छ । यसले बिमा कम्पनीलाई कस्तो प्रभाव पार्ला ?
रिलायबल सञ्चालनमा आएको दुई वर्ष भयो । नयाँ कम्पनी भएकाले हामीसँग कोष ठूलो छैन । तर, धेरै कोष भएका कम्पनीहरूका लागि त यो एकदमै सकारात्मक छ । पूर्वाधार र उत्पादमूलक क्षेत्रमा लगानी गर्ने अवसर खुल्ला गरेको छ ।

अवसरसँगै जोखिम पनि त छ नि ?
लगानीसँगै जोखिम आउनु सामान्य नै हो । जोखिम नमोलीकन प्रतिफल त आउँदैन । जोखिम लिन नचाहने हो भने त बैंकको मुद्दती निक्षेपमै राखेर बसे भइहाल्यो नि । व्यवसायमा घाटा, नाफा र जोखिम सँगसँगै आउँछ ।

केही कम्पनीका प्रवद्र्धकको स्वार्थमा घरजग्गामा लगानी खुला गरियो भन्ने आरोप छ नि ?
मलाई यस्तो लाग्दैन । आजको दिनमा पनि घरजग्गाको कारोबार बैंकको मुद्दतीभन्दा राम्रो प्रतिफल देखिन्छ । यसमा पनि केही प्रतिशतमात्र लगानी गर्न खुल्ला गरिएको हो । कम्पनीहरूले ५ प्रतिशतभन्दा कम मात्र घरजग्गा व्यवसायमा लगानी गर्न पाउँछन् । यो एकदमै कम भएकाले यसले त्यस्तो जोखिम निम्त्याउँछ जस्तो लाग्दैन ।

रिलायबल लाइफको कारोबारको अवस्था कस्तो छ ?
रिलायबल नेपाल लाइफ इस्योरेन्स सञ्चालनमा आएको दुई वर्ष भयो । हाम्रो लक्ष्यअनुसार नै ग्रोथ गरिरहेका छौं । गत आर्थिक वर्षमा १ अर्ब २८ करोड प्रिमियम संकलन गरेको छौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३१ करोड प्रिमियम संकलन गरेको छ । व्यवसाय विस्तार सन्तोषजनक छ । यो वर्ष हामी सर्वसाधारणमा सेयर जारी गर्नका लागि योग्य भयौं । चालू
आवभित्र साधारण सेयर जारी गर्छौं । आधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकको आवश्यकताअनुसार प्रतिस्पर्धी सेवा दिन हामी प्रतिबद्ध छौं ।