कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
844

यसै सातादेखि निजी क्षेत्रको हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले सातामा तीन पटक काठमाडौंबाट बेइजिङ उडान भर्न तालिका सार्वजनिक गरिसकेको छ । ३१ विदेशी एयरलाइन्स कम्पनीले नेपालमा दैनिक सयभन्दा धेरै उडान गर्दै आएका छन् भने चीनबाट मात्रै ६ वटा एयरलाइन्स कम्पनीले सातामा ६० उडान गरिरहेका छन् । चीन नेपाल भित्रिने पर्यटकहरूको दोस्रो ठूलो बजार हो भने नेपालको एउटा महत्वपूर्ण व्यापारिक साझेदार पनि हो । हालैका वर्षहरूमा चीनबाट व्यावसायिक तथा घुमफिरका लागि आउने पर्यटकहरूको संख्या ह्वात्तै बढेको छ ।
यसले पर्यटक संख्या र यसबाट हुने आम्दानीमात्र नबढाई दुई देशबीचको महत्वपूर्ण व्यापार सम्झौतालाई पनि प्रवद्र्धन गरिरहेको छ । नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा हिमालय एयरलाइन्स स्थापना भएको थियो । सरकारले २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै गर्दा चीनमा निजी क्षेत्रको वायुसेवाले उडान भर्न पाउनु गौरवको विषय हो । पर्यटक आगमन बढाउने दरिलो सूत्र सिधा उडान पनि हो । नेपाल भ्रमण वर्ष २०२० को मुखैमा यसरी निजी कम्पनीले सिधा उडान गर्न पाउनु अवश्य पनि सरकारी लक्ष्यलाई साथ मिल्छ भने प्रत्यक्ष र अप्रत्क्ष रूपमा त्यसले देशको अर्थतन्त्रलाई सहयोग गर्ने नै छ । चिनियाँ पर्यटकहरू अब सिधा उडानमार्फत बेइजिङबाट काठमाडांै आउन सक्नेछन् भने ट्रान्जिट यात्रुहरूलाई पनि थप सहज हुनेछ । पहिलो पटक एयरबस ३२० बाट ६० जना यात्रु लिएर बेइजिङतर्फ उडेको हिमालय एयरलाइन्स भविष्यका अन्य निजी उडानका लागि मार्गदर्शक पनि बनेको छ । हिमालयले यसअघि दोहा, आबुधाबी, दम्माम, दोहासहितका क्षेत्रमा उडान गरिरहेको छ । पर्यटन क्षेत्रमा भारतपछि दोस्रो ठूलो बजार चीनमा निजी क्षेत्रले सिधा उडान गर्दा यसबाट पर्ने सक्ने प्रभाव, भ्रमण वर्ष २०२० मा २० लाख पर्यटन ल्याउन पुग्ने सहयोग, व्यापारिक दृष्टिले के कसरी हेरिएको छ भन्ने विषयमा कारोबारले सरोकारवालासँग गरेको कुराकानी :

पर्यटक बढाउन सिधा सम्पर्कमा जोड दिनुपर्छ
राजेशकाजी श्रेष्ठ
पूर्वअध्यक्ष, नेपाल–चीन उद्योग वाणिज्य संघ
निजी क्षेत्रको कम्पनी हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा सिधा उडान सुरु गर्नु समग्र राष्ट्रका लागि खुसीको कुरा हो । यसले नेपालको पर्यटन क्षेत्रलाई एक खुड्किलो माथि चढ्न सहयोग पुग्नेछ । छिमेकी मुलुक चीनको राजधानीमा सिधा उडान हुनुले चिनियाँ नागरिकमात्रै नभएर बेइजिङ भएर नेपाल आउने पर्यटक र नेपालमा चीनतर्फ जानेलाई सघाउ पु-याउनेछ । चीनका अन्य सहर संघाई र क्वान्चाउमा पनि अब नेपालबाट उडान हुनुपर्छ । संघाई त्यहाँको व्यापारिक हब भएकाले कनेक्टिङ फ्लाइटभन्दा सिधा उडान सहज हुन्छ । चीनका थप दुई सहरमा सिधा उडान गर्न सकिएमा यसले पर्यटनका साथै दुई देशबीचको व्यापारमा पनि उत्तिकै टेवा पुग्छ । सरकारी वायु सेवा कम्पनी नेपाल वायुसेवाले पनि तयारी गरेको भन्ने सुनिएको छ छिटो यस कामलाई सम्पन्न गुर्नपर्छ । कनेक्टिभिटी विस्तार हुनुले पर्यटनमात्रै नभएर चक्रिय प्रभाव पार्छ । जसरी निजी क्षेत्रकै बुद्ध एयरले भारतको वनारसमा उडान सुरु ग-र्याे अहिले पूर्ण क्षमतामा उसले काम गरेको छ । नेपालको पशुपति र भारतको वनारस दुवै धार्मिकस्थल भम्रण गर्ने पर्यटकका लागि बुद्ध एयर निकै सहज भएको छ । त्यसरी नै चीनका अन्य सहरमा उडान थप गर्न सकेमा यसले पर्यटन प्रवद्र्धनमा सघाउन पु-याउने छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटन नेपाल ल्याउने लक्ष्य लिएको छ । नेपाल जस्तो देश जहाँ प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधता छ भने मानिस संस्कारी पनि छन् । हामीले कुनै वर्ष लक्षित गरेर पर्यटन वर्ष मनाउन जरुरी छैन हरेक दिन हरेक वर्ष पर्यटन वर्ष हुनसक्छ । पर्यटक ल्याउन पूर्वाधार विस्तार, उनीहरूलाई दिने सुविधामा ध्यान दिन सके हुन्छ । पूर्वाधार नबनाई यति पर्यटक ल्याउँछु भन्नुभन्दा पनि सुविधा छनोटको अवस्था सिर्जना गर्न सके पर्यटक आफै आउँछन् । असोज अन्तिम साता चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले विश्वमा हामीलाई चिनिन सजिलो भएको छ । नेपालको बारेमा थाहा नहुनेलाई पनि सीको भ्रमणले चिन्न सहज बनाएको छ । नेपालको सुरक्षा व्यवस्था, प्राकृतिक सुन्दरता, नेपालीको आत्मियता राम्रो छ भन्ने सन्देश गइसकेको छ । अब हामीले पूर्वाधारमा जोड दिन सक्यौं भने मात्रै पनि धेरै पर्यटक नेपाल ल्याउन सकिन्छ ।

उडानले पर्यटन उद्योगलाई उत्साहित बनाएको छ
दीपकराज जोशी
प्रमुख कार्यकारी अधिकृत
नेपाल पर्यटन बोर्ड
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि चीनमा नेपालको प्रचार प्रसार बढेर गएको छ । नेपालबाट चीनको राजधानीसम्म जोड्ने हवाई संजाल विस्तार भएको छ । यसै साता हिमालय एयरलाइन्सले चीनमा उडान भर्न थालेपछि हवाई संजाल विस्तारमा ठूलो टेवा पुग्नुका साथै उडानले नेपालको पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ । बेइजिङबाट काठमाडौं आगमन गर्न सहज भएको छ यसले गर्दा बेइजिङ हुँदै नेपाल आगमन गर्न चाहने पर्यटकलाई यो उडानले थप सहज बनाएको छ ।
हाल चिनियाँ पर्यटक आगमन १० प्रतिशतको वृद्धिदर छ भने हिमालय एयरको उडानसँगै २० देखि २२ प्रतिशतको वृद्धि हुने अनुमान गरेका छौं । हिमालयले चाडैं अन्य सहरमा समेत उडान गर्ने तयारी गरेको हामीले बुझेका छौं यसले गर्दा नेपाल भ्रमण वर्ष सहज बनाउन र नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउनमा सहयोग पुग्छ । नेपाल पर्यटन बोर्डले एयरलाइन्स कम्पनीसँग मिलेर संयुक्त रूपमा नेपालको प्रचार प्रसारलाई तीव्रता दिने गरी प्रक्रिया अगाडि बढाएका छौं । साथै प्रवद्र्धन र कनेक्टीभिटीको फोकस पनि गरेका छौं । नेपाल वायुसेवा निगमले पनि चीनमा उडानको तयारि गरिरहेको छ ।

चिनियाँ पर्यटन आगमनमा वृद्धि हुनेछ
विजय श्रेष्ठ
उपाध्यक्ष
हिमालय एयरलाइन्स
यो उडानसँगै नेपाल र चीनबीचका दुई राजधानीलाई सिधा हवाईमार्गले जोडेको छ । हिमालय एयरलाइन्सको काठमाडौं–बेइजिङको पहिलो व्यावसायिक उडान हामीले सुरु गरेसँगै नेपालको पर्यटन उद्योगमा ऊर्जा थपिने विश्वास लिएका छौं । यो उडानले निश्चित रूपमा चिनियाँ पर्यटकलाई आकर्षित गर्दछ । विशेषगरी उत्तरी चीनबाट नेपाल भ्रमण आउने पर्यटकको स्ंख्यामा वृद्धि गर्ने हामीले अनुमान गरेका छौं । यो रुटमा वर्षमा ४० हजारभन्दा बढी चिनियाँ यात्रु भ्रमणमा खर्च, लगानी तथा व्यावसायिक संस्था सञ्चालन गर्न नेपाल भित्रिने गर्दछन् । जसले पर्यटन उद्योगको सञ्जाल र नेपालमा सबै किसिमका आर्थिक क्रियाकलापका निम्ति नयाँ अवसर सिर्जना गर्नेछ । सरोकारवाला निकायबाट साथ पाएका कारण व्यावसायिक उडान गर्न सहयोग पुगेको छ । बेइजिङको यो रुट थप हुनु धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई देशमा भित्र्याउने नेपाल भ्रमण वर्ष २०२० प्रतिको हाम्रो गहिरो प्रतिबद्धताकै हिस्सा भएको हामीले ठानेका छौं । बीआरआईकै सन्दर्भमा पनि हिमालय एयरलाइन्सले संस्थागत र औद्योगिक क्षेत्रहरूका निम्ति नयाँ स्थल खुला गर्दछ । हामी तीनवटा नयाँ गन्तव्य स्थानमा जाने योजना बनाइरहेका छौं, ती हुन् गुइयाङ, चाङसा र नान्चाङ जुन छिट्टै नै चिनियाँ बजारको प्रवेशद्वार बन्नेछ । बेइजिङको यो नयाँ उडानले चिनियाँ व्यवसायी तथा पर्यटकका लागि निर्वाध सञ्जाल विकल्प प्रदान गर्नुका साथै यात्रुहरूका लागि छनोट र सुविधा उपलब्ध गराउनेछ । चीन भ्रमणका लागि हिमालय एयरलाइन्सको नयाँ सेवा सबैभन्दा रुचाइएको सेवा सञ्जाल हुनेमा हामी विश्वस्त छौं । चीनबाट आधा दर्जन एयरलाइन्स कम्पनीहरूले नेपालमा उडान गरिरहेको भए पनि नेपालबाट व्यावसायिक उडान हुन सकेको थिएन । यो उडानसँगै नेपाल भ्रमण वर्ष सन् २०२० लाई थप टेवा पुग्ने छ । साथै नेपालको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थपिने हामीले विश्वास लिएका छौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि नेपालको प्रचार प्रसारमा समेत सहयोग पुगेको छ । नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र हाम्रो संयुक्तरूपमा भ्रमण वर्षको प्रचारप्रसार गर्नेछौं । मिडिया, टुर अपरेटरलाई समेत नेपालमा भ्रमण गराएर नेपालको प्रचार प्रसारमा प्रवद्र्धन गर्दै नेपालको पर्यटक आगमनको वृद्धिदर बढाउनमा सहयोग पु-याउने लक्ष्य लिएका छौं । हाल साताको ३ व्यावसायिक नियमित उडान गर्नेछ भने आगामी ६ महिनामा २ एयरबस ३१९ विमान ल्याएर गन्तव्य विस्तार गर्नेछौं । विमान थप गरेर बेइजिङमा दैनिक उडान गर्नेछौं । यसले नेपाल भ्रमण वर्षमा पर्यटक आगमन बढाउनमा थप टेवा पु-याउने छ । चीनसँग सञ्जाल विकास गर्ने विचार गरी एयरलाइन्सले बेइजिङमा पहिलो उडान सुरुवात गर्दै क्रमशः चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा विस्तार गर्नेछौं । एक गन्तव्यबाट वार्षिक ५० हजार चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित आन्तरिक तयारी तीव्र गरेका छौं ।

हिमालय एअरलाइन्स
नेपाल–चीन संयुक्त लगानीका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायु सेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरूलाई संकेत गर्दछ, जुन देशको नाम उचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आकांक्षा राख्दछ । समयमै भरपर्दाे सेवा, सुरक्षा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्सले नेपालमा आफ्नो उच्च पहिचान बनाउन सफल भएको छ ।
एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एअरलाइन्सले तीन वर्षको अवधिमा आफ्नो स्वामित्वमा तीनवटा ए ३२० विमान कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एअरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एसियाली मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा युएईको आबुधावी, बंगलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालय एअरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका र बेइजिङमा उडान भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एकमात्र एअरलाइन्स हिमालय एअरलाइन्स हो र हाल चीनमा उडान भर्ने एकमात्र नेपाली एअरलाइन्स पनि हो ।
८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सिट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउ“दै आएका छन् । साथै निकट भविष्यमा नै ल्हासाजस्ता उच्चस्थानमा उडान भर्नका निम्ती एअरलाइन्सले ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ ।
व्यावसायिक रूपमा काम सुरु गरेको एक वर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेसनल एयरलाइन्स् इन साउथ एसिया अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । हिमालय एयरलाइन्सको टोली बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट निर्मित छ र ‘अतिथि देवो भवः ग्राहक नै भगवान भन्ने वर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।