भुवन पौडेल
सोमवार, कार्तिक ४, २०७६
1718

पन्जाब नेसनल बैंकमा २५ वर्ष बिताइसकेका गजेन्दर कुमार नेगी बिहीबारदेखि औपचारिक रूपमा एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् । भारतीय बैंक पन्जाब नेसनलको लगानी रहेको एभरेस्ट बैंकमा उच्च व्यवस्थापन पनि सोही बैंकबाट आउँछ । सोही समझदारीअनुसार एभरेस्ट बैैंकको प्रमुख कार्यकारीको जिम्मेवारीमा पन्जाब नेसनल बैंकका डेपुटी जनरल म्यानेजर नेगी आएका हुन् । पन्जाब नेसनलमा रहँदा उनले बैंकका हरेक तहका शाखामा काम गरेको अनुभव भएका नेगी इन्डियन इन्स्टिच्युट अफ बैंकिङ एन्ड फाइनान्सबाट सर्टिफाइड (सर्टिफाइड एसोसिएट अफ इन्डियन इन्स्टिच्युट अफ बैंकर (सीएआईआईबी) हुन् । बैंकिङ क्षेत्रमा जोडिनुभन्दा पहिले लाइफ इन्स्योरेन्स कर्पोरेसन र आय कर विभागमा समेत काम गरेका नेगीले डीएभी कलेज देहरादूनबाट विज्ञानमा स्नातक गरेका छन् । नेपालको सन्दर्भमा निजी क्षेत्रका ससाना बैंकहरू धेरै भएकाले ठूला परियोजनाहरूमा लगानी गर्नका लागि पनि बैंकहरू मर्जरमा जानु आवश्यक रहेको नेगी बताउँछन् । बैंकहरूले कस्ट घटाउन, ठूला परियोजनामा लगानी गर्न तथा समयअनुसार प्रविधिलाई परिवर्तन गरिरहने क्षमताका लागि पनि मर्जरमा जानु आवश्यक रहेको बताउने नेगी एभरेस्ट बैंकलाई आक्रामक रूपमा अघि बढाउनभन्दा पनि परम्परागत शैलीमा नियमित ग्रोथ कायम राख्ने गरी काम गर्ने योजनामा देखिन्छन् । स्प्रेड घटाउनका लागि भए पनि बैंकहरू मर्जरमा जानुपर्ने बताउने नेगीसँग कारोबारका सम्पादक कुबेर चालिसे तथा कारोबारकर्मी भुवन पौडेलले गरेको कुराकानीको सार :

पछिल्लो समयमा भारतमा अर्थमन्त्रीको निर्देशनमा केही बैंकहरू मर्जरमा गएका छन् । नेपालमा पनि बैंकहरू मर्जर गर्ने गराउने सन्दर्भमा धेरै चर्चा चलिरहेको छ । नेपालको सानो मार्केटका लागि बैंक–वित्तीय संस्थाको संख्या धेरै भए भनेर घटाउन सल्लाह दिने पनि उत्तिकै छन् । नेपाल र भारतको बजारलाई हेरेर बैंकहरू मर्जरमा जाने विषयलाई कसरी हेर्नुभएको छ, बैंकहरू मर्जरमा लैजाने प्रक्रियालाई कसरी अघि बढाउनुपर्छ भन्ने लाग्छ ?
नेपालको सन्दर्भमा मर्जर धेरै नै आवश्यक भइसकेको जस्तो लाग्छ । नेपालमा निजी क्षेत्रका बैंकहरू धेरै छन् । ती बैंकहरू आकारका हिसाबले पनि साना छन् । साना संस्थाले ठूलो परियोजनाका लागि लगानी गर्नसक्ने क्षमता राख्दैनन् । त्यसैले ठूलो जोखिम लिएर ठूला परियोजनामा लगानी गर्न सक्ने क्षमता विकास गर्न पनि नेपाली बैंकहरू मर्जरमा जानुपर्ने देखिन्छ । त्यसका साथै बैंकले लिने कर्जा तथा निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) घटाउन र प्रविधिको नियमित स्तरोन्नतिका लागि पनि मर्जर अति नै आवश्यक देखिन्छ । आगामी दिनमा कम्प्लायन्स तथा जोखिम व्यवस्थापनको खर्च बढ्दै जान्छ भने स्प्रेड घट्दै जान्छ । यसले गर्दा पनि बैंकको आकार सानो भएको खण्डमा जटिल हुन्छ । त्यसैले मर्जरमा जाँदा दीर्घकालमा प्रोफिट्याबिलिटी बढ्छ । नेपालको सन्दर्भमा कुरा गर्दा पनि अहिले बैंकहरूको स्प्रेड ४ देखि ५ प्रतिशतको बीचमा छ । भारतमा स्प्रेड रेट भनेको २ देखि ३ प्रतिशतको बीचमा छ । त्यसैले पनि समयअनुसार मर्जरमा जानुबाहेक अन्य विकल्प छैन ।

अर्थतन्त्रको आकारअनुसार बैंक तथा वित्तीय संस्थाको संख्या कति हुनुपर्ने भन्ने सन्दर्भलाई लिएर नेपालमा अध्ययन भएको भेटिएन, भारतमा भएको छ कि छैन ?
यस सन्दर्भमा मलाई पनि पूर्ण जानकारी छैन । तर, यस विषयमा अध्ययन भएको हुनुपर्छ भन्ने हो । मेरो विचार भन्नुहुन्छ भने बैंकहरूसँग त्यो क्षमता हुनुपर्छ, जुन देशका लागि आवश्यक लगानी गर्न सक्ने क्षमता राखोस् । बैंकले देशको आवश्यकता अनुसारको लगानी गर्ने रकम देखाउन सक्नुपर्छ । प्रुडेन्ट बंैकरले कुनै एक परियोजनामा बैंकको कोर क्यापिटलको २० देखि २५ प्रतिशतभन्दा धेरै लगानी गर्नु हुँदैन । त्यसका साथै क्सोर्टियममा लगानी गर्दा बैंकको संख्या ५ देखि ६ प्रतिशतसम्म व्यवस्थापन गर्न सकिन्छ । त्योभन्दा धेरै भएको खण्डमा ऋणी तथा बैंक दुवैलाई अप्ठ्यारो हुन्छ । कुनै पनि संयुक्त लगानीको परियोजनामा १ हजारदेखि ३ हजार करोडसम्मको लगानी ५ देखि ६ बैंकबाट सहज व्यवस्थापन हुन्छ । जस्तो अरुण तेस्रो परियोजनाका लागि १५ हजार करोड रुपैयाँ आवश्यक पर्छ । त्यसका लागि नेपाली बैंकहरू त्यो योजनामा लगानी गर्न सक्ने अवस्थामा नै छैनन् । त्यो परियोजनामा लागि आवश्यक अधिकांश कोष व्यवस्थापन भारतीय बैंकहरूले गरेका छन् । नेपाली बैंकहरूमा एभरेस्ट र नबिल बैंकले मात्र लगानी गर्ने भएका छन् । त्यसैले पनि नेपाली बैंकहरूको आकार बढाउन आवश्यक छ । नेपाली योजनाका लागि स्थानीय बैंकहरूले नै लगानी गर्न सक्ने क्षमताको विकास होस् । त्यसैले फेरि पनि भन्छु, नेपाली बैंकहरू मर्जरमा जानु आवश्यक छ ।

नेपाली बैंकहरूको आकार र क्षमता सानो भए पनि राम्रै नाफा कमाइरहेका छन्, यसलाई कसरी विश्लेषण गर्नु भएको छ ?
अहिले नेपाली बैंकहरूको नाफा बढ्नुमा स्प्रेड धेरै भएकाले पनि हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत स्प्रेडदर घटाएको छ । आगामी दिन बैंकहरूले स्प्रेड घटाउनै पर्छ । बैंकहरूले स्प्रेड घटाउँदा अर्थतन्त्र चलायमान हुन्छ । यदि अर्थतन्त्रको आकारअनुसारको बैंक भएको खण्डमा कम ब्याजदरमा लगानीयोग्य रकम उपलब्ध गराउन सक्छन् । अहिले नेपालको सन्दर्भमा कुरा गर्दा सबै बैंक करिब एउटै आकारका छन् । त्यसैले कुनै पनि बैंकले अर्थतन्त्रको आकारको फाइदा लिन सकिरहेका छैनन् । यदि कुनै एक बैंक मर्जरमा गएको खण्डमा अन्यको तुलनामा कम ब्याजदरमा कर्जा दिन सक्ने वातावरण हुन्छ । त्यसका साथै त्यो बैंकले अर्थतन्त्रको आकारअनुसारको फाइदा पनि लिन सक्छ । यो प्रक्रिया सुरु भएको खण्डमा समग्र वित्तीय क्षेत्रको परिदृश्य नै परिवर्तन हुनेछ ।

विगतमा केही वाणिज्य बैंक मर्जर पनि भएका छन् । ती बैंकहरूको वासलातको आकार हेर्दा अन्यको भन्दा ठूलो देखिए पनि उनीहरूले प्रवाह गर्ने कर्जाको ब्याजदरमा भने अन्यभन्दा कम हुन सकेको छैन, मर्जर हुँदैमा कम ब्याजदरमा कर्जा दिन त नसक्ने रहेछन् नि ?
नेपालमा ठूला भनेका वा मर्जर भएका बैंकहरूको सम्पत्तिको आकार करिब १५ हजार करोड रुपैयाँ हाराहारी रहेको देखिन्छ । त्यसैले मर्जर भएका बैंकहरू पनि करिब अरू बैंककै आकारमा छन् । यो अवस्थामा यदि कुनै बैंक १ लाख करोडको सम्पत्ति लिएर आउँछ र अन्य बैंकको सम्पत्ति १५ देखि २० हजार करोडको हुन्छ भने बल्ल अर्थतन्त्रको आकारसँग तालमेल गर्ने सम्भावना हुन्छ । त्यसका साथै त्यो आकारको बैंकले समयअनुसार प्रविधिलाई स्तरोन्नति गर्न तथा सो क्षेत्रमा लगानी गर्न सक्छ । पन्जाब नेसनल बैंकले आफनो वार्षिक बजेटको ठूलो हिस्सा प्रविधिमा लगानी गरेको छ । त्यसैले नेपालको सन्दर्भमा कुरा गर्दा साना बैंकहरूले त्यो आकारको लगानी कुनै एक क्षेत्रका लागि मात्र गर्न सक्दैनन् । हरेक वर्ष यस्तो प्रकारको खर्च बढी नै हुन्छ । हरेक दिन नयाँ प्रकारका साइबर क्राइमहरू बढ्दै गएका छन् । त्यसैले हामीले हाम्रो प्रविधिलाई अपडेट गर्नु आवश्यक छ । यो सँगै जोखिम व्यवस्थापनका लागि गरिने खर्च दैनिक रूपमा बढ्दै गएको छ । संस्थाको सञ्चालन खर्च बढ्नेबित्तिकै नाफा घट्न जान्छ । त्यसैले नाफा कायम गर्न वा बढाउनका लागि बैंकको वासलातको आकार बढाउनैपर्छ । यसमा धेरै विकल्प नै छैन ।

तपाईंले भनेअनुसार पछिल्ला चार–पाँच वर्षमा नेपाली बैंकहरूको नाफा केही घट्नुपर्ने देखियो, तर वास्तवमा बैंकहरूको नाफा त बढी नै रहेको देखिन्छ ?
यसको असर विस्तारै देखिँदै जानेछ । तत्काल नदेखिएको सत्य हो । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई विस्तारै कडाइ गर्दै आएको छ । बैंकहरूको पुँजी वृद्धि गरेको छ । प्रविधिमा लगानी बढाउनुपर्ने अवस्था छ । त्यसका साथै जोखिम व्यवस्थापनका लागि खर्च बढाउनुपरेको अवस्था छ । बैंकहरूले सुरक्षा तथा समयअनुसारको विश्वसनीय बैंकिङ सेवा प्रदान गर्ने क्रममा नै धेरै लगानी गर्नुपर्ने अवस्था छ, तर तत्काल बैंकहरूको नाफा नघटे पनि विस्तारै यसको असर देखिन्छ ।

पछिल्लो समयमा नेपालको वित्तीय पहुँचको अवस्था धेरै सकारात्मक देखिएको छ । तर, बैंकहरू मर्जरमा गएको खण्डमा त्यसलाई असर गर्दैन ?
बैंकहरू मर्जरमा गएकै कारणले वित्तीय पहुँच घट्छ भन्ने मलाई लाग्दैन । मर्जर भएपछि शाखा संख्या घट्ने भन्ने हुँदैन । मर्जर भएपछि १ सय मिटरको दूरी २ देखि ३ शाखा भएको खण्डमा मात्र बन्द हुन्छ । होइन भने बैंकका शाखा संख्या घट्छ वा मर्जरका कारणले शाखा बन्द भएर सर्वसाधरणले बैंकिङ सेवा पाउनबाट वञ्चित हुन्छ भन्ने मलाई लाग्दैन । त्यसैले मर्जर भएकै कारण सर्वसाधारणको बैंकसम्मको पहुँचलाई असर गर्दैन ।

पछिल्लो दिनहरूमा नेपाली बैंकिङ क्षेत्रमा केही साइबर क्राइमका घटना घटेका छन् । यसमा केन्द्रीय बैंकले प्रविधि अडिटको व्यवस्था पनि गरेको छ । यसभन्दा बाहेक अन्य कुनै पनि कुरा राष्ट्र बैंकको हातमा छैन । यस्ता खालका वित्तीय साइबर क्राइमलाई नियन्त्रण गर्न के गर्नुपर्छ भन्ने लाग्छ ?
नेपालमात्र नभई विश्वमै साइबर क्राइमको चुनौती बढ्दो क्रममा छ । यसलाई हामी दुई तरिकाबाट हेर्नुपर्ने हुन्छ । पहिलो भनेको प्रविधिको गलत प्रयोग हो । त्यसलाई बैंकहरूले समयमै स्तरोन्नति गर्ने तथा नियमित रूपमा सुरक्षित राखिराख्ने गर्नुपर्छ । प्रविधिलाई नियमित गर्नका लागि बैंकहरूले निरन्तर लगानी गरिरहनुपर्छ । प्रविधि भनेको कुनै पनि बेला परिवर्तन हुन सक्छ, त्यसका लागि बैंक पनि परिवर्तन स्वीकार गर्नका लागि तयारी अवस्थामा हुनुपर्छ । बैंक समयमै नियमित गर्ने वा स्तरोन्नति गरेको खण्डमा अपराधीभन्दा बैंकहरू सधैं अघि हुन्छ, जसले यस्ता खालका अपराध हुनबाट बचाउँछ । त्यसका साथै दोस्रो भनेको जनचेतना हो । बैंकिङ क्षेत्रका सेवाग्राही जति चनाखो भएर सेवा प्रयोग गर्छन् त्यति नै वित्तीय साइबर क्राइम कम हुन्छन् । त्यसका लागि बैंकहरूले आफ्ना ग्राहकलाई यसको प्रयोगबारे सिकाउनु जरुरी छ । ग्राहकले प्रविधिमा आधारित बैंकिङ सेवा प्रयोग गर्दै गर्दा पासवर्ड सेयर गर्ने, ओटीपी प्रयोग भएका मोबाइल कम्प्युटर सबैको पहुँचमा छोड्ने गर्नुभएको हुनसक्छ । यसमा चनाखो हुन आवश्यक छ । एभरेस्ट बैंकको सन्दर्भमा कुरा गर्दा आगामी दिनमा हामीले बैंकले प्रयोग गर्ने प्रविधिमा लगानी बढाउनुका साथै ग्राहकलाई सचेत गराएर यस्ता खालका अपराधलाई नियन्त्रण गर्न सक्दो लगानी गर्नेछौँ ।

बैंकहरूको लगानी प्रविधि क्षेत्रमा बढाउनका लागि केन्द्रीय बैंकको भूमिका के हुन सक्छ ?
केन्द्रीय बैंकले के गर्न सक्छ भन्ने सन्दर्भमा निर्देशन जारी गरेर सुरक्षित रहन बेला–बेलामा सचेत गराइरहन सक्छ । बैंकहरूले प्रयोग गर्ने प्रविधिको स्तर, गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्डलाई तोकेर बेला–बेलामा निर्देशन जारी गर्न सक्छ र केन्द्रीय बैंकले यो काम गरी पनि रहेको छ ।
बैंकले प्राविधिक क्षेत्रमा लगानी बढाउने र एक बैंकको घटनाका सूचना अर्को बैंकलाई सेयर गर्ने हो भने पनि यस्ता खालका अपराधमा कमी आउँछ । त्यसका साथै अन्य बैंकमा घटेका घटनाबाट सिकेर सुधार गर्नुपर्छ । आफ्नो बैंकमा नै घटना नघटेसम्म सुधार नगर्ने, लगानी नबढाउने सोचमा बस्नु हुँदैन । यस्ता सूचना एक बैंकले अर्को बैंकमा सेयर गर्न तथा बताउन पनि केन्द्रीय बैंकले सहजकर्ताको भूमिका खेल्न सक्छ ।

केन्द्रीय बैंकले निर्देशन जारी गरेर मात्र पुग्छ कि त्यसका लागि केन्द्रीय बैंकले बैंकहरूको सर्भर पनि आफ्नो मतहतमा ल्याएर सेन्ट्रल सिस्टममा राख्नुपर्ने हो कि, तपाईंलाई के लाग्छ ?
केन्द्रीय बैंकले वित्तीय प्रणालीका ससाना विषयहरूलाई व्यवस्थापन गर्छ भन्ने मलाई लाग्दैन । केन्द्रीय बैंकले सबै बैंकको केन्द्रिकृत सर्भरको व्यवस्था गरेर प्रविधिलाई पनि प्रत्यक्ष नियमन गर्छ भन्ने पनि लाग्दैन । तर, बैंकहरू संयुक्त रूपमा आएर केन्द्रिकृत सर्भर विकास गरेर काम गर्न सक्छन् । भारतमा यस्तो अभ्यास सुरु पनि भएको छ । नेपालमा पनि इक्युटी पार्टिसिपेसनमार्फत बैंकहरू एक भएर आएको खण्डमा त्यो सम्भव हुन्छ । हामीले यी सबै कुरा केन्द्रीय बैंकले व्यवस्थापन गरिदियोस् भन्ने चाहनु पनि हुँदैन ।

प्रविधिमा लगानी गर्ने सन्दर्भमा भारतीय बैंक र नेपाली बैंकको तुलना कसरी गर्न सकिन्छ ?
भारतमा सञ्चालनमा रहेका बैंकहरूले सूचना प्रविधिको क्षेत्रमा धेरै नै लगानी गरेका छन् । भारतीय बैंकहरूले ठूलो मात्रामा प्रविधिमा लगानी गरेका छन् । नेपाली बैंकहरूको प्रविधिमा लगानी अलि कम देखिन्छ । यसलाई सुधार्न आवश्यक छ । भारतीय बैंकहरूको सबैभन्दा ठूलो खर्च नै प्रविधि क्षेत्रमा रहेको छ । यो क्षेत्रमा लगानी बढाउँदा केही समयमा लागि नाफा प्रभावित भए पनि दीर्घकालीन रूपमा भने सकारात्मक प्रभाव नै पर्नेछ ।

पछिल्लो समयमा केन्द्रीय बैंकले बैंकहरूको चुक्ता पुँजी चार गुणासम्म बढ्यो, स्प्रेड पनि घटाउँदै आएको छ, त्योसँगै मर्जरलाई पनि दबाब दिएको देखिन्छ । यी सबै कामका लागि केन्द्रीय बैंकले अझै समय दिनुपर्ने थियो कि अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ ?
भारतको कुरा गर्नुपर्दा अहिले नेपाल राष्ट्र बैंकले गरिरहेका काम १९९० को अन्त्यदेखि नै अभ्यासमा ल्याइएको देखिन्छ । अहिले बल्ल आएर मर्जरले उपयुक्त स्थान पाएको छ । यो काम गर्नका लागि आवश्यक नै धेरै समय लाग्छ । नेपालमा पनि समय लाग्छ । तर, छिटो होस् वा ढिलो मर्जरमा जानु त पर्छ नै । त्यसैले मर्जरमा जानु नै छ भने ढिला किन गर्ने भन्ने मात्र हो । त्यसैले छिटो भयो भने बैंकले अर्थतन्त्रअनुसारको फाइदा पनि लिन सक्छ । बैंकको आकार पनि बढाउने र स्प्रेड पनि नघटाउने भन्ने हुँदैन । अर्थतन्त्र विस्तार हुनेबित्तिकै स्प्रेड घट्छ नै । त्यसका लागि मर्जरमा गएर बैंकको आकार नबढाउँदासम्म अहिलेको स्प्रेडमा नाफा प्रभावित हुन सक्छ । तर, मर्जर भएर ठूला बैंकका रूपमा काम सुरु गरेको खण्डमा नाफा पनि बढ्छ, स्प्रेड पनि घट्छ र अर्थतन्त्र पनि विस्तार हुन्छ । नेपाल बैंकहरूको नाफा तुलनात्मक रूपमा धेरै छ । अहिले बैंकहरूले २० देखि २५ प्रतिशतको प्रतिफल लगानीकर्तालाई दिइहेका छन् भने ब्याजदर घटेपछि त्यो पनि घट्छ । यसलाई लगानीकर्ताले पनि सहज रूपमा स्वीकार गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले सबै बैंकलाई उपयुक्त पार्टनर खोजेर मर्जरमा जान भनेको थियो, एभरेस्ट बैंकले कसलाई रोज्यो त ?
म भर्खर आएको छु । एभरेस्ट बैंक पनि मर्जरको प्रकृयामा रहेको छ । हामी यस विषयमा छलफल गर्ने तथा पार्टनर खोज्ने क्रममा नै छौं । बैंकहरू आफैं स्वस्फूर्त मर्जरमा आएको खण्डमा धेरै राम्रो हो । मर्जरले समग्र अर्थतन्त्रलाई पनि फाइदा नै गर्छ । बैंकहरूको स्प्रेड घट्छ । ब्याजदर घट्छ । त्यसले त अर्थतन्त्रलाई नै फाइदा हुने हो । त्यसैले यसमा काम भइरहेको छ ।

एभरेस्ट बैंकको नेतृत्व लिँदै गर्दा तपाईंका के–कस्ता योजना छन् ?
एभरेस्ट बैंकले विगत २५ वर्षदेखि राम्रो कार्यसम्पादन गर्दै आएको छ । बैंकले भर्खरै मात्र बेस्ट म्यानेज्ड बैंक अवार्ड पनि पाएको छ । एभरेस्ट बैंक आक्रामक ग्रोथका लागि दौडमा निस्कँदैन । बैंकले स्थिर खालको वृद्धि हासिल गर्ने गरी काम गरिरहेको छ । त्यसमा हामीले जहिले पनि ध्यान दिने भनेको गुणस्तरीय वृद्धिलाई हो । एभरेस्ट बैंकको उच्च व्यवस्थापन पन्जाब नेसनल बैंकले हेर्छ । पन्जाब नेसनल बैंक भनेको धेरै परम्परागत बैंक हो । पन्जाब नेसनल बैंक भनेको लामो दौडमा निस्केको खेलाडी हो । पन्जाब नेसनल बैंकले १ सय २५ वर्ष पूरा गरेको छ । एभरेस्ट बैंक पनि २५औं वर्षमा प्रवेश गरेको छ । नेसनल पन्जाब बैंकको यो अवधिमा ७ वटा बैंक मर्जर भएका छन् । यो वर्षको अन्त्यसम्ममा थप २ बैंक मर्जर हुनेछन् ।
बैंकिङ भनेको विश्वासको व्यापार हो । आगामी दिन पनि एभरेस्ट बैंकले कम्प्लायन्स र व्यवस्थापनमा जोड दिनेछ । बैंकिङ भनेको धेरै जोखिमपूर्ण व्यवसाय पनि हो । त्यसमा पनि हामीले सर्वसाधारणको पैसासँग खेल्नुपर्ने हुन्छ । त्यसैले बैंकका निक्षेपकर्तालाई विश्वास दिलाउने गरी सो रकमको परिचालन गर्ने काम हामी गर्छाैं ।
म बैंकमा डिजिटल बैंकलाई प्रवद्र्धन गर्नमा जोड दिनेछु । त्यसका साथै बैंकको शुल्कमा आधारित आम्दानी बढाउने योजनामा छु । त्यसका साथै क्रेडिट कार्ड पनि एउटा उपयुक्त र सम्भावना भएको क्षेत्रका रूपमा पर्छ । त्यसमा एभरेस्ट बैंकले अझै धेरै गर्नु पनि छ ।
त्यसका साथै नेपालको कन्ट्री रेटिङ नहुन तथा हेजिङको सुविधा नभएका कारणले गर्दा प्रत्यक्ष वैदेशिक लगानी भित्रिने सन्दर्भमा समस्याहरू देखिएका छन् । त्यसमा एभरेस्ट बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने लाग्छ । अरुण थ्रीमा पनि एभरेस्ट बैंकमार्फत नै लगानी भित्रिन लागेको हो । बैंकिङ भनेको दीर्घकालीन सम्बन्ध हो । त्यसैले एभरेस्ट बैंकले कहिल्यै अल्पकालीन फाइदा हेर्दैन । हामीले हाम्रा ग्राहकबाट कहिल्यै धेरै ब्याज दिएर निक्षेप तान्ने र ऋणबाट धेरै ब्याज लिने काम गरेका छैनौं । हामीले नेपाल राष्ट्र बैंकले तोकेको पुँजी कर्जा–निक्षेप अनुपातको सीमा पनि कहिल्यै नाघेका छैनौं अर्थात् हामी एक आदर्श बैंक बन्नेछौं ।