कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६
758

विजयलाल श्रेष्ठ विगत १५ वर्षदेखि मर्चेन्ट बैंकिङ कारोबारमा संलग्न छन् । विं सं. २०६८ सालदेखि सनराइज क्यापिटल (साबिक एनसीएम मर्चेन्ट बैंकिङ) मा प्रबन्ध निर्देशक भई कार्यरत निज श्रेष्ठ हाल यस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत हुन् । मर्चेन्ट बैंकिङको इतिहासमा बिभिन्न कम्पनीहरूको प्राथमिक सेयर निष्कासन, अन्डर राइटिङ गर्नेदेखि लिएर विं सं. २०५० सालमा निष्कासन गरिएको एनसीएम फस्ट म्युचुअल फन्डहरूको निष्कासन, सेयर रजिष्ट्रार तथा सम्बन्धित कार्यहरूको समेत अनुभव रहेका श्रेष्ठले व्यवस्थापनमा स्नातकोत्तर प्राप्त गरेका छन् । विभिन्न समयमा आफ्नो दक्षता प्रस्तुत गर्दै आफ्नो कार्यकौशलद्वारा बजारमा अभिन्न छाप छोड्न सफल श्रेष्ठसँग कारोबारले म्युचुअल फन्ड तथा सनराइज फस्ट म्युचुअल फन्डका बारेमा गरेको कुराकानीको सार :

पछिल्लो समय म्युचुअल फन्डहरूले सेयर बजारमा जुन प्रकारले प्रभावकारी भूमिका खेल्नुपर्ने हो, त्यसो भएन भन्ने गुनासो छ नि ?
म्युचुअल फन्ड एउटा लगानीको उपकरण हो, जसले स–साना लगानीकर्तादेखि ठूला लगानीकर्ता समेतको लगानी एउटै पुल बनाएर सेयर बजारमा लगानी गरी त्यसबाट आर्जित प्रतिफल दामासाही रूपमा लगानीकर्ताहरूलाई नै फिर्ता गर्छन् ।
यसको विशेषताहरूका बारेमा लगानीकर्ताहरूले जान्न अत्यन्त जरुरी हुन्छ । यो विशुद्ध पारदर्शी र विशेषज्ञहरूबाट लगानीका लागि निर्देशित हुने भएकाले यसको बजारमा छुट्टै भूमिका हुन्छ । हल्ला बहकाव र छोटो समयको प्रतिफल लक्षित नभई लामो समयसम्मको स्थिर प्रतिफल तथा मूल्यवृद्धिका लागि लक्षित रहन्छ । आफ्नो विश्लेषणमा लगानी गर्ने भएकाले समय–समयमा लगानी थपघट गर्नु यसको विशेषता नै हो । गुनासाहरू छन्, त्यो स्वाभाविक हो । रातारात लगानी बढ्छ र छोटो समयमा प्रतिफल पाइन्छ लगानीकर्ताहरूको भ्रम हटाउनु जरुरी छ । बजार घटेका बेलामा म्युचुअल फन्डले लगानी थपेर स्थिरता कायम गरोस्, त्यसमा टेवा प्रदान गरोस् भन्ने सबैको चाहना हुन्छ । तर, एउटा कुरा के बुझ्न जरुरी हुन्छ कि लगानीको प्रमुख उद्देश्यप्रति फलमुखी र प्रतिफल सुरक्षण नै रहन्छ । त्यसैले यसलाई सधैं मार्केट मेकरका रूपमा नलिई ठूला लगानीकर्ताको रूपमा लिइयो भने गुनासो अलिकम हुन्छ भन्ने मेरो विश्वास छ ।
जहाँसम्म पछिल्लो मार्केट मुभमेन्टको सवाल छ, त्यसमा म्युचुअल फन्डहरूको बजार घटिरहेको अवस्थामा लगानी गरेर बजारमा राम्रो टेवाप्रदान गरेको पाइएको छ । त्यसैले ११०० बिन्दु पछि मार्केट त्यति तल नघटी रि बाउन्ड पनि भएको थियो । त्यसैले म्युचुअल प्रभावकारी भएन भन्न मिल्दैन ।
म्युचुअल फन्डले प्रतिफल र जोखिमको सन्तुलन मिलाई उचित जोखिम लिई लगानी गर्ने भएकाले यो व्यक्तिगत लगानीभन्दा फरक हुन्छ । यसअघि २-३ वटा म्युचुअल फन्डका स्किम छोडेर लगभग औसत १०.५ प्रतिशतभन्दा माथि प्रतिफल प्रदान गरेको पाइएको छ । बजार घट्दो क्रममा पनि यति प्रतिफल दिन सक्नु भनेको प्रशंसा योग्य छ । त्यसैले बजारमा टेवा पु-याउन, घट्दो बजारमा पनि सन्तोषजनक प्रतिफल दिन म्युचुअल फन्ड सफल देखिएकाले प्रभावकारी पनि देखिएको छ ।

म्युचुअल फन्डहरू घट्दो बजारमा लगानी गरेर बजारको विकास गर्नुको सट्टा पैसा राखेर ब्याज खान पल्केका छन् भन्ने आरोप पनि छ । यसरी म्युचुअल फन्डहरू सेयर बजारमा सकृय नभै बैकमा पैसा राखेर नाफा कमाए भन्ने आरोपमा के प्रतिक्रिया छ ?
सबै लगानी व्यवस्थापकहरूको स्किम चलाउने आ–आफ्नो रणनीति तथा योजना हुन्छ । मुद्दती खातामा कति राख्ने भन्ने कुरा म्युचुअल फन्डको स्किमको प्रकृतिमा फरक पर्छ र सोको बारेमा विवरण पत्रमा उल्लेख गरिएको छ । नियमानुसार १० प्रतिशतभन्दा बढी मुद्दती खातामा लगानी गर्न म्युचुअल फन्ड निर्देशिकाले रोक्छ । नियम तोडेर अस्वाभाविक रूपमा मुद्दती खातामा लगानी गर्ने म्युचुअल फन्डलाई दण्डित गरेका उदाहरणहरू पनि छन् । घट्दो बजार स्थिर भएपछि र बढ्दो बजारमा करेक्सन आएपछि मात्र धेरै म्युचुअल फन्डको लगानी बजारमा भित्रिने हुँदा केही म्युचुअल फन्डले आफ्नो लगानीको केही प्रतिशत मुद्दतीमा लगानी गरेको पाइन्छ ।
सबैको चाहना बजारको न्यूनबिन्दुमा लगानी गर्ने हुन्छ । तर, प्रायजसो फन्डहरूमा सिस्टमेटिक इन्भेस्टमेन्ट प्रयास रहेको पाइन्छ । अरब र त्योभन्दा बढी लगानी लिएर दुई महिनामा लगानी गरिसक्नु त्यति उचित देखिँदैन । १० वर्षको फन्ड जुन बिन्दुमा भए पनि एकैचोटी खन्याउनु घातक हुनसक्छ । त्यसैले म्युचुअल फन्डहरू लगानी गर्ने र झिक्ने बिन्दुहरू लिएर बसेका हुन्छन् र त्यही योजनाअन्तर्गत सञ्चालित हुन्छन् । त्यसैले म्युचुअल फन्डहरूलाई आफ्नो रणनीति तथा योजनामा आधारित लगानी गर्ने वातावरण दिनुपर्छ । म्युचुअल फन्ड लगानीकर्ता र बजारको हितमा सधैं तत्पर रहने भएकाले उचित ठाउँमा लगानी व्यवस्थापन गर्दै र बेला–बेला झिक्दै अगाडि बढिरहने र त्यसको प्रतिफल अन्ततः एकाइ धनीहरूलाई फिर्ता गर्ने भएकाले ज्वाइँ भन्ने कुरा म मान्दिन ।

बैंक वित्तीय संस्थाले राम्रै लाभांश घोषणा गरेका छन् । सरकारले पनि लगानीकर्ताको मागबमोजिम सेयर बजारका नीति ल्याइदिएको छ तर पनि किन बजार बढेन नि ?
बजारको घट्ने र बढ्ने क्रमलाई धेरै कुराले असर गरिरहेको हुन्छ । डिमान्ड र सप्लाइले नै बजारको घटाइ र बढाइको नियन्त्रण गरिरहेको हुन्छ । बैंक तथा वित्तीय संस्थाको लाभांश निकै नै राम्रो छ त्यस्तै अनलाइन ट्रेडिङ, मार्केट डेप्थ, आस्बा प्रणालीको विकास आदिलाई निकै नै सकारात्मक प्रगतिका रूपमा लिन सकिन्छ । तर, पनि बजार बढ्नुमा लगानीकर्ताहरूको विश्वास नै प्रमुख कारण हो । विश्वास भएन भने प्रगतिको विवरण जतिसुकै राम्रो भए पनि लगानी गर्ने वातावरण हुँदैन । त्यस्तै बेला–बेलामा आउने सरकारी नीति पनि पछिल्लो क्रममा बाधक बनेको छ भन्ने कुरा नकार्न सकिन्न । बाँकी सबै कुराहरू स्थिर रहे बजारको आफ्नो चक्र हुन्छ, त्यही साइकलमा चल्छ । त्यसैले बजार बढ्यो घट्यो भन्नुभन्दा सुरक्षित लगानी गरेर बस्नु बेस हुन्छ ।

सरकारले कस्तो नीति ल्याए लगानीकर्ताको मनोबल बढ्थ्यो र बजार उकालो लाग्थ्यो जस्तो लाग्छ ? अथवा सेयर बजार कहिलेदेखि बढ्ला ?
पुँजीबजार देशको अर्थतन्त्रको ऐनाका रूपमा मानिन्छ । पुँजी बजारको उतार चढावमा विभिन्न कारक तत्वहरूको भूमिका रहन्छ । देशको समग्र अर्थतन्त्रको अवस्था, सरकारी नीति नियम, विदेशी लगानीको अवस्था व्यापार, कम्पनीहरूको वित्तीय अवस्था, लगानीकर्ताहरूको मनोवल, माग आपूर्ति आदिले बजारको दिशानिर्धारण गर्न मुख्य भूमिका खेल्ने गर्छ ।
बजार प्रतिको सरकारी नीति सकारात्मक देखिन्छ । नेपालको पुँजीबजार अहिले यहाँसम्म आइपुग्नुमा सरकारी नीतिको ठूलो भूमिका छ तर यो अझै प्रभावकारी नभएको जस्तो मलाई भान हुन्छ । विकसित देशहरूमा वर्षाैं अगाडि आएका नीति नियमहरू तथा प्रविधिहरू नेपालमा भर्खरै मात्र भित्रिएको अवस्था छ । विकसित देशहरूमा पुँजीबजारको विकासका लागि गरिएका प्रयत्नहरू हाम्रो देशमा समेत अबिलम्ब अवलम्बन गर्न आवश्यक देखिन्छ । साथै राजधानी केन्द्रित नेपाली पुँजीबजार विकेन्द्रीकृत बनाउनुपर्ने कुरामा जोड दिन चाहन्छु ।
नेपालमा रहेको विभिन्न सक्टरका कम्पनीहरूलाई पुँजीबजारमा सहजै प्रवेश गर्ने नीतिहरू प्रभावकारी रूपमा ल्याउनु जरुरी छ । त्यसै इनसाइडर टे«डिङ मार्केट म्यानिपिलेट गर्नेलाई निरुत्साहित गर्ने कडा नीति तथा कानुन अबिलम्ब कार्यान्वयन गर्नुपर्छ ।
नीतिमात्र लिएर मनोवल बढ्ने होइन । त्यो क्षणिक हुन्छ । नीतिहरू अबलम्ब गरेर त्यसअन्तर्गतका कामहरू राम्ररी पालना हुनुपर्ने देखिन्छ । सरकारी नीतिहरू राम्रै छन् । त्यही नीतिहरू पछ्याएर काममात्र नभएको हो । यसपालिको बजेटमा म्युचुअल फन्डमा लगानी गर्न सरकारकै पक्षबाट कदम चालिनु आवश्यक छ । सरकारकै मातहतका रिटायरमेन्ट फन्ड, नागरिक लगानीकोष, सञ्चयकोषमा म्युचुअल फन्डमा लगानी गर्ने नीतिआएमा म्युचुअल फन्डले नै बजार निर्माताको काम गर्न सक्छ ।

सेयर बजारमा कुनै उत्साह नभएको बेलामा सनराइज फस्र्ट म्युचुअल फन्ड ल्याउनु भएको छ । यही समयमा किन म्युचुअल फन्ड ल्याउनु भएको हो ?
उत्साह नभएको त म भन्दिन । अहिले बजार बियरिस फेजबाट गुज्रिरहेता पनि बजारमा समय–समयमा आउने उतार चढावले लगानीकर्ताहरूलाई प्रतिफल दिएको पनि होइन । सबैले ठीक समयमा इन्ट्री पर्खेर बसिरहेको मात्र हो । सेयर बजारमा जहिले पनि इन्ट्री पोइन्टले एकदमै महत्वपूर्ण भूमिका खेल्छ ।
बैंकको तरलता र बजारको बिन्द हेर्दा यो नै उपयुक्त समय देखिएकाले यसै मौकामा स्किम निकालिएको हो । बजारका लागि सुस्त र लगभग ११३० को बिन्दुमा नै इन्ट्री लेभल निर्धारण गरी यसैलाई नै उपयुक्त बिन्दु ठानेका छौं । बजार घटिरहेको बेलामा अलिकति लगानी गर्दा धेरै नै टेवा पुग्ने हुनाले सोको उद्देश्य साथ हामी आएक छौं । वारेन बफेटले भनेको कुरा सापटी लिएर भन्दै छु अरु आतिदा आफू नआतिकन लगानी गर्नुपर्छ र अरू मातिदा आफू निस्किनुपर्छ । सायद बजार त्यही नै हो ।

सनराइज फस्र्ट म्युचुअल फन्ड किन किन्ने ?
सनराइज फस्ट म्युचुअल फन्ड लिएर आएको सनराइज क्यापिटलका लागि यो पहिलो म्युचुअल फन्ड नभई विं.सं. २०५० सालदेखि नै फन्ड व्यवस्थापन गर्दै आएको कम्पनी हो । २०५९ मा निष्कासन भएको एनसीएम म्युचुअल फन्ड, जुन २०६९ सालमा म्याद समाप्त भयो र उक्त फन्ड १० रुपैयाँमा लगानी गर्ने लगनीकर्ताहरूले म्याद समाप्तिका समयमा ४६.५२ रुपैयाँ फिर्ता भुक्तानी प्राप्त ग-यो । साथै प्रतिफल जोड्दा १० रुपैयाँका लागि ८.६ रुपैयाँ कुल प्रतिफल दिएको थियो । सोही म्युचुअल फन्डको अनुभव बोकेका फन्ड व्यवस्थापकहरू अझै सनराइज क्यापिटलमा नै हुनुहुन्छ । सनराइज फस्ट म्युचुअल फन्डमा लगानी गर्नुका फइदाहरू यस प्रकार हुनेछन् ।
–अनुभवप्राप्त दक्षकर्मचारीहरूबाट व्यवस्थापन गरिने
– बजारमा लगानी गर्ने उपयुक्त समय भएका कारण सोबाट फाइदा लिन
–पारदर्शी, विविधीकरण, अनुशासित, व्यावसायिक र विगतमा राम्रो प्रतिफल दिइको इतिहास रहेको
– लगानीलाई स्थिर प्रतिफल दिने उद्देश्यका साथ नीतिहरू तर्जुमा गरेर अबलम्बन गर्ने भएकाले ।