धर्मेन्द्र कर्ण
आइतवार, आश्विन २६, २०७६
319

नेपालमा २३ वर्षपछि चीनको राष्ट्राध्यक्षका रूपमा चिनियाँ राष्ट्रपति सी चिनफिङको यो पहिलो भ्रमण पनि हो । सन् २०१६ मा नेपालको भ्रमण हुने भनिए पनि त्यतिखेरकोे संक्रमणकालीन राजनीतिक अवस्थाले सम्पन्न हुन सकेको थिएन ।
गरिब देशको आवरण हटाएर चीनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा ठूलो अर्थतन्त्र तथा शक्तिशाली अमेरिकासँग व्यापारयुद्ध लडिरहेका बेला राष्ट्रपति सीको यो भ्रमणले नेपालको भूराजनीतिक हैसियतलाई बलियो पारेको कतिपयको बुझाइ छ ।

नेपाल दुई ठूला अर्थतन्त्रबीचको रणनीतिक चेपमा फसेको चर्चा चलिरहेका बेला सीको भ्रमण भएको हो । चीनको बीआरआई र अमेरिकाको इन्डो प्यासिफिक स्ट्रेटजीबीच नेपाल फसेको चर्चा भइरहेको छ ।
इन्डो प्यासिफिकमा आफू नरहेको विश्वास दिलाएपछि सीको भ्रमणबाट नेपालले आर्थिक सम्बन्धको विकासमा मैत्री सम्बन्धलाई कसरी अगाडि बढाउने हो, त्यो विषय अहिले चासोको विषय रहेको छ ।
चीनले इन्डो प्यासिफिकमा नेपाल नभएको बुझेर जाँदा अमेरिकाको सहयोगमा सञ्चालित ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को कार्यक्रम कार्यान्वयन गर्न गत असोज १२ गते आइतबार नेपाल सरकार र अमेरिकी सरकारबीच दोस्रो पटक सहमति भयो ।
अमेरिकासँगको यो कार्यक्रम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पालामा भएको थियो ।
‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ विषयसँग सम्बन्धित विधेयक संसद्मा विचाराधीन छ । ठीक यही बेला चिनियाँ राष्ट्रपतिको सी भ्रमणले नेपालको कूटनीतिक कुशलता उत्तम दर्जाको भएको कूटनीतिक वृत्तमा चर्चा रहेको छ । राष्ट्रपति सीको भ्रमणसँग जोडेर कारोबारकर्मी धर्मेन्द्र कर्णले विभिन्न व्यक्तिसँग गरेको कुराकानीको सार :

चीनको लगानी नेपालमा भित्र्याउन पहल गर्नुपर्छ
महिन्द्र राय यादव
सदस्य, अध्यक्ष मण्डल
राजपा
चीन हाम्रो छिमेकी भएकाले त्यहाँका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण स्वाभाविक रूपले खुसीको कुरो हुन्छ । राष्ट्रपति सीको यो भ्रमण दुई दशक लामो समयपछि हुन लागेको हो । चीन छिमेकी मात्र नभएर विश्वको उदाउँदो शक्ति पनि हो । हामी एसियाबाट उदाइरहेका दुई शक्तिको बीचमा छौं । यसले हाम्रो भूराजनीतिक अवस्थालाई माथि उठाएको छ । सरकारले यो अवसरलाई देशहितमा बढीभन्दा बढी लाभमा बदल्न सक्नुपर्छ । कहिलेकाहीँ बलियो छिमेकीले सहयोग गर्दा भारबाट थिचिन सक्ने अवस्था पनि रहन्छ, त्यसबारे सरकारले ध्यान दिनुपर्ने हुन्छ ।
देशको पूर्वाधारको क्षेत्रमा रेललगायतको कुरो आएको छ । यस्ता ठूला–ठूला पूर्वाधारको निर्माण गर्न हाम्रो आर्थिक अवस्थालाई हेर्नुपर्ने हुन्छ । हामीले छिमेकहरूसँग यस्ता ठूला पूर्वाधारका लागि अनुदान सहयोगका बारेमा विश्वास दिलाउनुपर्छ । ऋण सहयोगमा यस्ता पूर्वाधारबाट हामी डुब्न सक्ने खतरा रहन्छ । भारत होस् वा चीन जसले रेलजस्ता पूर्वाधार अनुदानमा दिन्छ, लिनुपर्छ । तर, ऋण सहयोगबाट जोगिनुपर्छ । हाम्रो दुवै छिमेकीसँगको व्यापारघाटा ठूलो छ । यसबारे ध्यान दिनुपर्छ ।
नेपाली वस्तुहरूको निर्यात गरी व्यापारघाटा कम गर्ने विषयमा सीको भ्रमणका बेला अधिकारीहरूसँगको छलफलबाट ठोस सरकारले उपलब्धि प्राप्त गर्न सक्नुपर्छ । छिमेकीहरू हुँदैमा जे पनि माग्न सकिने हुँदैन । कसले के दिने भन्ने विषयमा सोच्नुपर्छ । कसबाट के लिने, त्यसबारे विचार गर्नुपर्छ । अहिले चीनसँगको सीमा खुला छैन । भारतसँगको सीमा खुला छ । आवतजावत खुला छ । यसरी नेपालका दुई छिमेकी आसन्न छिमेकी भए पनि सम्बन्धको हिसाबले फरक छ । भारतबाट प्राप्त गर्न सकिने र खोजिने सहयोगका विषयहरू फरक खालको हुन्छ भने चीनसँगको सहयोग फरक खालको हुन्छ । नेपाली अर्थतन्त्रलाई विकास गर्ने खालका सहयोगलाई प्राथमिकतामा राखेर चीनबाट प्राप्त गर्ने सहयोगका लागि सीको यो भ्रमणलाई लिनुपर्ने हुन्छ ।
विगतमा सरकारले छिमेक र मित्र देशहरूसँगको सम्बन्धलाई ठीक ढंगबाट कूटनीति व्यवहार गर्न नसक्दा समस्या उत्पन्न भएको कूटनीतिक क्षेत्रको बुझाइलाई सरकारले ध्यान दिनुपर्छ । सीको भ्रमणबाट सरकारले कतिपय सन्दर्भमा कूटनीतिक कमजोरीलाई सच्याएर अघि बढेको देखिएको छ । चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । चीनको लगानी नेपालमा भित्र्याउन पहल गर्नुपर्छ । चीनले नेपालको दक्षिणी सिमानासँग जोडिएका उत्तर भारतीय क्षेत्रमा पनि ठूलो लगानी लगाएको छ । उत्तर भारतको हावापानी र मौसम भएजस्तै नेपालको तराई–मधेसमा विद्यमान भएकाले त्यतातिर लगानी लगाउन विषयमा चिनियाँ अधिकारीहरूसँग छलफल बढाउनुपर्ने आवश्यकता छ । अहिले अमेरिकासँगको व्यापार युद्ध चलिरहेको छ । यो अवस्थाबाट नेपालले कुन–कुन क्षेत्रबाट लाभ लिन सक्ने अवस्था छ, त्यसबारे सोच्ने सरकार हो । हामीले देशहितमा रहेका लगानीका लागि सहयोग र समर्थन गर्ने मात्र हो । नेपालले आफ्नो भूराजनीतिक अवस्थाको सही मूल्यांकन गरी अवसरहरूबाट लाभ लिन सक्नुपर्छ । राष्ट्रपति सीको भ्रमणबाट पनि यसैगरी लाभ लिन र मित्रता विस्तार गर्न सक्नुपर्छ ।

नेपाल र चीनबीचको मैत्री सम्बन्धको विकास गर्नुपर्छ
रामसहाय यादव
महासचिव
समाजवादी पार्टी
नेपाल–चीन सम्बन्धको विस्तारमा चिनियाँ राष्ट्रपति सी चिनफिङको यो भ्रमणले थप योगदान दिने र यो भ्रमण सफल हुने शुभकामना व्यक्त गर्न चाहन्छु । छिमेकी चीनसँग नेपालको सम्बन्ध पुरानो रहेको छ । यसअघि भएको चिनियाँ राष्ट्रपतिको भ्रमणयता सीको यो भ्रमण दुई दशकयता भइरहेको छ । विश्वको शक्तिशाली देशका रूपमा उदीयमान विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको चीनको पहिलो राष्ट्रपति सीको यो भ्रमणले नेपालको भूराजनीतिक अवस्थालाई थप उचाइमा पु¥याएको छ ।
अहिले चीनको लगानी दुनियाँभर फैलिरहेको छ । नेपालसँग पनि आर्थिक विकाससम्बन्धी सन्धि–सम्झौताहरू भएका छन् । तिनको कार्यान्वयनका साथै थप लगानी भित्र्याउने गरी सरकारका तर्फबाट पहल हुनुपर्नेछ । सरकारका प्रतिनिधिहरूले चिनियाँ प्रतिनिधिहरूलाई तराई–मधेस नेपालको भूभागमा लगानी गर्न उपयुक्त हुने विषयमा विश्वस्त तुल्याउनुपर्ने आवश्यकता छ ।
तराई–मधेसमा चीनको लगानीका लागि सरकारका तर्फबाट पहल नहुने गरेकाले चिनियाँ लगानीकर्ताले यस क्षेत्रको सम्भाव्यताबारे ध्यान नदिएको गुनासोलाई तोड्नुपर्ने आवश्यकता रहेको छ । चिनियाँ प्रतिनिधिमण्डलहरूले पनि तराई–मधेसमा लगानी गर्दा प्रतिफल राम्रो हुन सक्ने र यसले समग्र नेपालको विकासमा योगदान दिन सक्ने विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।
चीनले भारतको उत्तरी क्षेत्रमा लगानी लगाएकाले नेपालको तराई–मधेसमा चिनियाँ लगानी भित्र्याउन सहज हुन सक्ने देखिन्छ । यसमा पहल हुन नसक्नुमा यसअघिका सरकारलाई लगाउने गरिएको गुनासो सही ठहर्छ । तराई–मधेसका प्रादेशिक सरकारले पनि चिनियाँ लगानीलाई भित्र्याउन आवश्यक पहल गर्नुपर्ने हुन्छ ।
यसअघिका चिनियाँ राष्ट्रपतिहरू विकासशील देशका प्रतिनिधित्व गरिरहेकाले सीको भ्रमण अलि भिन्न खालको छ । विश्वको पहिलो ठूलो र शक्तिशाली देश अमेरिकासँग व्यापार युद्ध लडिरहेको देशका राष्ट्रपतिका रूपमा सीको भ्रमण भएको हो । चीनले अगाडि बढाएको बीआरआई विकास परियोजनाबाट नेपाललाई हुन सक्ने देशहितका विकास परियोजनामा साझेदारी गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने हुन्छ ।
नेपालको खुला सीमा भएको भारतसँग चीनले आर्थिक सम्बन्धको विकास र विस्तारलाई ध्यान दिइरहेका बेला यो दुई देशबीचको नेपालले यसबाट ठीक ढंगबाट लाभ लिनका लागि यो अवसरको उपयोग गर्न सक्नुपर्छ ।
सीको यो भ्रमणलाई अल्पकालीन र दीर्घकालीन विकास र लाभका परियोजनाबारे भएका अवधारणा ठोस गर्ने र नयाँ अवधारणको विकास गर्ने अवसरका रूपमा लिनुपर्ने आवश्यकता छ ।
नेपालका लागि चीन र भारत दुई उदीयमान शक्तिहरू हुन् । यी दुई उदीयमान शक्तिहरूका विरुद्ध स्वाभाविक रूपमा प्रतिस्पर्धामा क्रियाशील नकारात्मक शक्तिहरूबाट सुरक्षा दिन सक्ने बलियो आधार तय गर्नुपर्ने हुन्छ । त्यस्ता शक्तिहरूको गतिविधिका लागि नेपालको भूराजनीतिक अवस्थाले निम्तो गरिरहेको कूटनीतिज्ञहरूको बुझाइ रहेको छ । यस्तो अवस्थालाई समाधान र नियन्त्रण गर्ने विषयमा सरकार त्यही अनुरूप व्यवहार चाल्ने र यसबारे छिमेकी देशहरूको विश्वास जित्ने प्रयास गर्नुपर्छ ।
हामीले पछिल्लो समय यस्ता कूटनीतिक गतिविधिको कमी–कमजोरीबारे थाहा पाएका थियौं । यसबारे सबै पक्ष सजग हुनुपर्छ । नेपाल र चीनबीचको मैत्री सम्बन्धको विकास गर्नुपर्छ ।

मित्रराष्ट्रहरूसँगको सम्बन्धको विस्तार देशहितमा गर्न सक्नुपर्छ
सीता अधिकारी
प्रदेश सभा सदस्य
प्रदेश नम्बर ३
राष्ट्रपति सी चिनफिङको शनिबार भएको औपचारिक भ्रमण २३ वर्षपछि भएको हो । यसअघि सीको भ्रमण एकपटक सन् २०१६ तिर हुने भनिए पनि त्यतिखेरको नेपालको आन्तरिक राजनीतिक संक्रमणका कारण हुन नसकेको हो । सीको नेपाल भ्रमण चीनले अमेरिकासँग व्यापारयुद्ध लडिरहेका बेला भएको छ । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लार्ई विस्तारित गरिरहेका बेला सीको नेपाल भ्रमण भएको छ ।
यसमा नेपाल एउटा पक्ष देश हो । सन् २०१९ मा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले नौवटा परियोजनासहित सहभागिता जनाउने प्रतिबद्धता पनि जाहेर गरिसकेको छ ।
चीनले समृद्धि एक्लैले प्राप्त गर्न नसक्ने कुरा बुझेर नै बीआरआईलाई अगाडि बढाएको देखिन्छ । चीन एक्लै समृद्ध भएर हुँदैन, छिमेकसहित पूरै क्षेत्र समृद्ध हुनुपर्ने बुझाइ यसमार्फत जनाउन थालेको छ ।
सीको यो महŒवपूर्ण भ्रमणबाट सरकारले समृद्धि आदानप्रदान गर्न र बजार विस्तार गर्न सकिने कार्यक्रममा ध्यान दिनुपर्ने देखिन्छ ।
विज्ञहरूका अनुसार चीन आफ्नो क्षेत्रमा प्रतिस्पर्धी नभएर एक प्रकारले विकासको सहयोगी राष्ट्रका रूपमा देखिएको छ । त्यसका लागि चीनले आफ्नो वित्तीय संस्थाहरूको निर्माण गरेको छ । त्यसमा ४० अर्ब अमेरिकी डलरको सिल्क रोड फन्ड रहेको छ । यस्तै एआईआइबीले चिनिएको एसियाली पूर्वाधार लगानी बैंक पूर्वाधार क्षेत्रको विकासका लागि चिनियाँ पहलमा बढेको छ ।
चीनको सिल्क रोड फन्ड र एआईआईबी एक्लै नभएर विश्व बैंक, एसियाली विकास बैंकसहित उनीहरू पनि यसैसँग जोडिएर काम गरिरहेको देखिएको छ । यसैबाट भारतले सहुलियत ऋण प्राप्त गरेको छ । यी ऋणहरू एडीबी, विश्व बैंकसँग सह–वित्तीयकरणअनुसार विनियोजन गरिएको थियो । संसारको भूमण्डलीकरणअनुसारको वित्तीय संरचनाहरूभित्र मिलेर कसरी काम गर्न सकिने विषय चीनले देखाएको छ ।
राष्ट्रपति सीको नेपाल भ्रमणलार्ई क्षेत्रीय मात्र होइन, अन्तर्राष्ट्रिय समृद्धिको विकासको पूर्वाधार निर्माणको दिशामा उपयोग गर्न खोजिएको देखिएको छ । नेपालको विकास र समृद्धिको आधार खोज्न सीको भ्रमणले अवसर जुटाइदिएको छ ।
सीको भ्रमणले नेपालको आर्थिक विकासका लागि भरपर्दो परियोजनाहरूलाई ध्यान दिनुपर्ने आवश्यकता छ । अहिलेको अवस्थामा नेपाललाई चाहिने विकासका अल्पकालीन र दीर्घकालीन परियोजनाका लागि चीनलाई विश्वास दिलाउनुपर्ने छ । लगानीको विषयलाई सरकारले गम्भीरता साथ लिनुपर्ने हुन्छ । नेपालको राष्ट्रिय पुँजी निर्माण गर्ने खालका लगानीहरूलाई भित्र्याउनुपर्ने हुन्छ । चीनको लगानीलाई पूर्वाधार क्षेत्रमा ल्याउनुपर्दा त्यो आवश्यकताभन्दा बढी भारी हुन नहुने भनाइहरूलाई बेवास्ता गर्न हुँदैन । यस्ता विषयमा सरकार गम्भीर रहेको देखिन्छ र गम्भीर रहनुपर्छ ।
चीनले उपलब्ध गराएको बन्दरगाहको समुचित उपयोगका लागि चाहिने पूर्वाधार विकासलाई सक्दो चाँडो पूरा गर्ने विषयमा ध्यान दिनुपर्छ । यसका लागि चिनियाँ अधिकारीहरूको विश्वास जितेर अवसरलाई लाभमा परिणत गर्न सक्नुपर्छ ।
चीनका राष्ट्रपति सीको यो भ्रमणले नेपालको भूराजनीतिक अवस्थामा वृद्धि गरिदिएकोमा शंका रहेको छैन । नेपालले प्राप्त गरेको यो हैसियतअनुसार छिमेक र मित्रराष्ट्रहरूसँगको सम्बन्धको विस्तार देशहितमा गर्न सक्नुपर्छ ।