कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
422

 नेपालीहरूको मुख्य पर्व दसैं सुरु भएको छ । आइतबार घटस्थापनादेखि सुरु भएको दसैं विजयादशमीसम्म विभिन्न धार्मिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यताअनुरूप मनाइन्छ । १० दिनसम्म मनाइने दसैंको टीकाको पाँच दिनपछि पूर्णिमालाई पनि दसैंकै अंगका रूपमा मान्ने गरिन्छ । अर्थात् पूर्णिमापछि मात्र औपचारिक रूपमा दसैं सकिएको मानिन्छ । दसैंपछि तिहार र तिहारपछि छठ आउँछ । तीनै पर्व राष्ट्रिय ठूला पर्वमा पर्छन् र महत्वका साथ मनाइन्छ । चाडबाड आएको छनक भने दसैंको सुरुवातले दिने गर्छ । खानपान, नयाँ लुगाफाटा, ग्याजेट, गाडी, घर आदि जोड्नेदेखि साथीभाइ, इष्टमित्र भेला भएर मनाइने पर्व दसैं कसैका लागि दशा पनि बन्ने गरेको छ । खासगरी सीमित कमाइले गुजारा गर्नुपर्ने निम्न वर्गका नेपालीदेखि सबैको चित्त बुझाउन खर्च गर्नुपर्ने बाध्यताको भुमरी रहने मध्यम वर्गलाई महँगीका कारण खर्च व्यवस्थापनमा चुनौती थपिने गर्छ । धनी वा उच्च वर्गका लागि पनि गच्छेअनुसार खर्चको मात्रा बढाउनुपर्ने हुनाले थोरबहुत चुनौती त हुन्छ नै, यसका बाबजुद पनि अधिकांश नेपालीलाई दसैंले छोएको छ । देश–विदेशमा रहने नेपालीहरू दसैंको माहोलमा रमाइरहेका छन् । जात, धर्म, वर्ग, भूगोल जे–सुकै भए पनि दसैंको रौनक भने सबैका घरमा सुरु भइसकेका छन् । मुख्य सहरहरूमा खसी बोका आपूर्ति हुन थाल्नु, गाउँमा पनि बोका किनबेच हुनुदेखि बजारमा चहलपहल बढ्नु दसैं आएको महसुस गराउने अवस्थाका रूपमा लिइन्छ । दसैंमा खासगरी महँगी मुख्य चुनौतीका रूपमा देखिँदै आएको छ भने महँगी नियन्त्रणमा सरकारको कदम जहिले आलोचनाको विषय बन्ने गरेको पनि छ । त्यसपछिको पक्ष भनेको खानपानको हो । देखासिकी संस्कारले पनि दसैं दशाको रूपमा देखिने गरेको छ । दसैंमा आउन सक्ने अर्को समस्या भनेको स्वास्थ्यको हो । स्वास्थ्य नबिग्रोस् भनेर खानपानमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । सरोकारवालाले दसैंलाई बढी देखासिकीको पछाडि लागेर दशाका रूपमा नमनाई दसैंको आफ्नो मौलिकताअनुसार खुसी साटेर मनाउनुपर्नेमा जोड दिन्छन् । प्रस्तुत छ, विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिनिधित्व गर्ने सरोकारवालासँग कारोबारले दसैंका सन्दर्भमा गरेको कुराकानीको सार :
विपन्न वर्गको हितमा सरकारी तदारुकता देखिनुपर्छ

सीता अधिकारी
प्रदेशसभा सदस्य
प्रदेश नम्बर ३
दसैं नेपालीहरूले मनाउने सबैभन्दा ठूलो चाड हो । यो नेपालको राष्ट्रिय बिदाका रूपमा मनाइने पर्व हो । परम्परागत रूपमा दसैंमा दिइने बिदामा कटौती गरिएको छ । यसो गर्नु भनेको नेपालीहरूले मनाउने सबै चाडपर्वमा बिदा दिए काम कहिले गर्न सवाल खडा हुन्छ । साथै नेपाल विभिन्न जातजाति, समुदायको बसोबास भएको विविधतायुक्त समाज भएको देश हो । सबैको सम्मान हुने हिसाबले विभिन्न जातजातिका महत्वपूर्ण पर्वमा सरकारले बिदा दिने गरेको छ । दसैं बहुसंख्यक जनताले मनाउने भएकाले यो राष्ट्रिय बिदाको पर्वका रूपमा देखापरेको छ । शिक्षण संस्थाहरू घटनास्थापनादेखि बन्द भए पनि सरकारी कामकाज हुने अड्डा फूलपातीदेखि बिदा हुनेगर्छ । त्यसपछि सरकारी र निजी क्षेत्रका कर्मचारी कामदारहरू आफ्नो थातथलो फर्किने गरेका छन् । त्यसैले यो नेपालको सबैभन्दा ठूलो चाड पनि हो । यो पर्वको दुर्बल पक्षको निषेध गर्न नेतृत्ववर्गले विशेष रूपले ध्यान दिनुपर्ने हुन्छ । सानसौकतको प्रदर्शन गर्न दसैंको उपयोग गर्ने गरिन्छ । त्यो आफैंमा राम्रो विषय होइन । संयम र सादगीमा हर्ष र उल्लासको वातावरण सिर्जना गर्नुपर्छ । यही देखासिकीले गर्दा नहुने परिवारले ऋण लिएर दसैं मनाउने गरिएको पाइन्छ । यस्तो कुसंस्कारबाट टाढा रहनुपर्छ । सरकारले पनि दसैंमा सबैको चुलो बलोस् भन्ने किसिमको विधि र प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।
यसका अतिरिक्त दसैंमा खानपानका दृष्टिले बेठेगानको हुने गरेको पाइन्छ । दसैंमा माछा मासुका परिकार र मदिरा नभए दसैं नै नभएको मान्ने परिवारको कमी हामीकहाँ छैन । त्यस्ता परिवारले विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । घरमा माछा मासु खाने सदस्य छन् कि छैनन् । मदिराले बिगार गर्ने विषयको निक्र्योल गर्नुपर्ने हुन्छ । पैसा खर्च गरी गरी मासु मदिरा ल्यायो । खायो अनि बिगार गरेपछि डाक्टरलाई दक्षिणा दियो । यस्तो गर्नुको साटो त्यसलाई नियन्त्रण गरी बचेको पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिए । पैसाको बर्बादी हुन पनि जोगियो अनि त्यो रकमबाट उत्पन्न हुने रोजगारीबाट भलाइ हुन पुग्ने विषयमा ध्यान दिनुपर्छ । हामीले उपभोग गरेको हरेक खर्चले अरूको रोजगार निर्माण गर्छ । दुरुपयोगलाई सदुपयोगमा बदल्ने व्यवहार नै असुरमाथिको देवीको विजयगाथाको सार संक्षेप हुनसकेको मलाई लाग्छ । सीमित मात्रामा दसैंमा खानपानको उपभोग गर्नुपर्छ अनि पो नयाँ नेपालको नयाँ दसैं बन्न सक्नेछ । प्रदेश नम्बर ३ मा दसैंका बेला सडक दुर्घटनाका विषय सुन्न पाइने विषय हो । यस्ता विषयमा हामी सबैले ध्यान दिनुपर्ने आवश्यकता छ । दसैंका बेला बिक्रेताले उपभोक्ताबाट धेरै असुल्ने गरेको गुनासो सुन्नुपर्ने हुन्छ । सेवारत सरकारी संयन्त्रले तदारुकताका साथ यस्ता विषयमा ध्यान दिनुपर्ने हुन्छ । दसैंका दुव्र्यवहार कुनै एक पक्षको व्यवहारमा आएको परिवर्तनले सुधार हुने होइन । सबै पक्षले अनुपातभन्दा अति धेरै कुनै पनि वस्तुको खानपानमा सजग हुनु राम्रो हुन्छ ।
शरीरले पचाउन सक्ने मात्र खानुपर्छ
डा. प्रेमनारायण श्रीवास्तव
प्रमुख, पशुपति होमियो चिकित्सालय
हरिहरभवन, ललितपुर
दसैं खानपान, आचार–व्यवहारका लागि उपयुक्त समय हो । तर यसलाई हामीले अराजक हिसाबले लिनु हुँदैन । कहिले मानिस आफंै अराजक भएर जान्छ भने कहिले साथीभाइ, मन पर्ने नातेदारको करकापमा खानपानमा अराजक हुने पर्वका रूपमा दसैंलाई लिने गर्छन् । दसैंपछि हामीकहाँ आउने रोगीहरूले जनाउने विषयका आधारमा दसैंको अर्को रूप हो । शक्तिको पूजाआजा गर्नु, देवीका विभिन्न रूपको पूजा गर्नु, बोका–हाँस–कुखुराको बलि दिनुजस्ता धार्मिक–सांस्कृतिक विषयका अतिरिक्त दसैं मानवसमाजमा घटित हुने व्यवहारले भड्किलो पर्व पनि हो ।
समाजमा ‘वर्षभरि कमाउने दसैंमा गुमाउने’ भन्ने सोचका मानिस पनि हुन्छन् । यस्तोमा स्वाभाविक रूपले अन्य समयमा हुने खानपानमा भन्दा अराजकता बढी हुन्छ । शारीरिक बनावट पनि अलिकति अराजकता सहन सक्ने क्षमताको हुन्छ तर अलिकति अत्यधिकतिर गए शरीरले साथ दिन छोड्छ र समस्याका रूपमा ग्यास हुने, अपच हुने, बान्ता हुने, पखाला चल्ने हुनसक्छ । दसैंमा चिल्लो, पिरो, मसालेदार माछा–मासुलगायतका खानेकुरा बनाउने गरिन्छ । त्यतिमात्रै होइन, दसैंमा मदिरा खाने चलन नै चलेको छ । समग्रमा भन्ने हो भने दसैंमा बनाइने खानपानका परिकार आफैंमा स्वस्थकर हुन सक्दैनन् । घरमा पकाउँदा कतिखेर के पकाउने भन्ने ठेगान पनि हुँदैन ।
दसैंमा सामान्य रूपमा निम्त्याइएकाहरू मात्र आउने गर्छन् भने कहिलेकाहीं नचिताएका आफन्तहरू पनि आइपुग्छन् । कतिखेर उनीहरूले भन्ने गरेको आधारमा बनाइने खाना खाने गरिन्छ । दसैं भन्दै खानुस्, कति के खाइन्छ ठेगानै हुँदैन । झन् यस्तोमा मदिराभित्र गयो भने त कुरै बेग्लै हुन्छ । दसैंको माहोल बिगार्न परिवारका अन्य सदस्यले जेठा बुजु्रगलाई सम्मान गरी केही गर्दैनन् भने ठूलाले माया गरी दसैं न हो भनी छोड्ने चलन प्रायःजसो पाइन्छ । यस्तो दसैं धार्मिक–सांस्कृतिक महत्व बोकेको अराजक पर्व हो । माछा–मासु खाने पर्व हो । पर्व हुँदैमा हामीले यस्ता अराजकपना हटाउनेतिर ध्यान दिनुपर्छ । सके मदिरा सेवन नगर्ने, मदिरा सेवन गर्नुपरे सीमित मात्रामा सेवन गर्ने । मदिरा सेवन गरी वाहन चलाउने काम बन्द गर्ने । बरु मदिरा सेवनपछि विश्राममा जाने व्यवहारको बानी बसाल्नु र अरूलाई बानी बसाल्न प्रोत्साहन गर्नुपर्छ । यसले दसैंका कुसंस्कृतिको नाश हुने र सुसंस्कृतिको विकास हुनुका साथै दसैंपछि खर्च हुने स्वास्थ्य खर्चमा कमी आई ‘समृद्ध नेपाल सुखी नेपाली’ को जनआकांक्षामा सहयोग पुग्न सक्छ ।
चिल्लो, पिरो, मसालेदार खाने पदार्थको सेवन गरिहालेमा बान्ता, जलन, झाडा पखालाजस्ता समस्या देखापर्छ । यस्तोमा प्राथमिक उपचारका लागि होमियो चिकित्सा पद्धतिमा केही औषधि महत्वपूर्ण हुन्छन् । दसैंको महोलमा जानुअघि बान्ताका लागि ‘इपिकाक’, अपचका लागि ‘नक्सभोमिका’, चिल्लो पिरो खाएर झाडा पखाला लागेको अवस्थामा ‘प्लस्टिला’ र पेटभन्दा माथि जलन अनुभव भएको बेला ‘कार्बोभेज’ लिएर राख्नु राम्रो हुनेछ वा भनौं अन्य उपचार पद्धतिका आधारमा यस्तो स्वास्थ्यसम्बन्धी समस्याका लागि उपलब्ध प्राथमिक उपचारका औषधिहरू दसैंका बेला विशेष रूपमा राख्नु लाभकारी हुन्छ ।
बजार सुशासन नहुँदा उपभोक्ता ठगिएका छन्
विष्णु तिमिल्सिना
उपमहासचिव, उपभोक्ता हकहित संरक्षण मञ्च नेपाल
आपूर्तिको दृष्टिकोणबाट हेर्दा एक महिनादेखि दसैं लागिसकेको छ । चहलपहल बढेको छ । वस्तुहरूको उपभोग बढ्ने र व्यापारमा बढोत्तरी हुने सिजनमा दसैं र यसपछिका चाडबाडको समय महत्वपूर्ण छन् । यसो त कम आय भएका उपभोक्तालाई दसैं दशा बन्ने गरेको छ । सरकारी स्पष्ट नीति र कार्यक्रमहरू जिम्मेवारीपूर्ण तरिकाले लागू नहुँदा उपभोक्ताले सधैंझंै यसपालि पनि सास्ती भोगिरहेका छन् । दसैंको पर्यायजस्तै बनेको छ मासु । तर, यो वर्ष दसैंमा उपभोक्ताले मासु होइन, मासुको भाउ सुनेर जिब्रो टोकेर अचम्मित हुनुपरेको अवस्था छ । मासु बजार साउनयता निकै अनियमित बनेको छ । उपत्यकाको हकमा ११ सय प्रतिकिलोबाट १३ सय प्रतिकिलो पुगेको खसीको मासु अझै बढ्दै पनि छ । यातायात, खुद्रा पसल, मिठाइँजन्य उपज, मसलाजन्य उपज, दूधजन्य अन्य उपज आदि आवश्यक पर्ने चाडमा यी सबै वस्तुमा गुणस्तर कम र मूल्य उच्च हुँदा उपभोक्ता समस्यामा परेका छन् ।
खसीको मासुको मूल्यवृद्धिका कारण सरकारले क्वारेन्टाइनमा कडाइ गर्दा भन्ने छ । तर, एक वर्षदेखि नै सरकारले कडाइ गरिरहँदा साउनयता मात्र कसरी खसीको मासुको मूल्य बढ्यो ? जे–जसो समस्या भए पनि आवश्यकताअनुसार आएको छ नै । खाली महँगो मात्र भएको छ अर्थात् कालोबजारी मौलाएको छ । यसो हुँदा एकातिर सरकारले राजस्व पाएन भने अर्कातिर उपभोक्ताले चर्को मूल्य तिर्नुप¥यो । उता किसानले पनि त उचित मूल्य पाएका छैनन् । खसी बजारमा हालसम्म नदेखिएको समस्या देखिएको छ, बिचौलियाको । खसीमा बिचौलियाको लेयर थपिँदा मूल्य अत्यधिक बढेको छ, जसले गर्दा दसैंमा खसीको मासु ढुक्कले खाने वातावरण बनिरहेको छैन । खसीमात्र होइन, दसैंतिहारमा बढी खपत हुने मसलाजन्य पदार्थको मूल्य पनि अत्यधिक बढेको छ । मसलाजन्य पदार्थमा पनि कुहिएका बेचिन्छन्, बढीमा बेचिन्छन् । लेभल नभएका वस्तु खुलेआम बिक्री भइरहेका छन् र पनि सरकारको भूमिका गतिलो देखिएन ।
दसैंमा मिठाइँ, घिउतेलको खपत बढी हुन्छ । तर, दुग्धजन्य पदार्थको मागअनुसार आपूर्ति नहुँदा कालोबजारी र गुणस्तरहीनताको समस्या देखिएको छ । यातायातमा उस्तै समस्या छ । यातायातमा पनि बुकिङ खुलाए, तर टिकट दिएनन् । प्लेट टिकट पनि छैन । बसपार्कमा भित्र पाइँदैन, बाहिर पाइन्छ टिकट । सुपर डिलक्स र डिलक्स भनिएको छ, तर मान्छेले काटिएको टिकट सामान्य छ । यस्तो समस्याका बाबजुद उपभोक्ताले दसैं–तिहार लगायतका चाडबाड मनाउनुपरेको छ । यसो हुनुमा नियमनकारी निकाय नहुनु र भएकाले पनि प्रभावकारी ढंगले काम गर्न नसक्नु हो । जसले लाइसेन्स दिने उसैले अनुगमन गर्ने काम भइरहेको छ, जुन गलत छ । स्थानीय सरकारलाई बलियो बनाएर जानुपर्छ । तर, हाल स्थानीय सरकारलाई निरीक्षण अधिकृतको व्यस्वस्था नहुँदा समस्या छ । नियमावली सरकारले बनाएको छैन । बजार अनुगमन गर्न आपूर्ति विभागमा पाँच जनामात्र निरीक्षण अधिकृत छन्, देशभरि पाँच जनाले मात्र गर्न सम्भव छ ? मन्त्रालयले केही काजमा पठाएको छ । तर, दीर्घकालमा हँुदैन । अनुगमन देशभरि हुनुपर्छ, उपत्यकामा मात्र होइन । बैंक, सहकारी, औषधी पसल, दाल, चिनी, सबैमा ठगिएको छ । बजार सुशासन नहुँदा उपभोक्ता ठगिएका छन् । दसैंतिहारमा मात्र होइन, अन्य समयमा पनि अनुगमन गर्नका लागि छुट्टै निकाय बन्नुपर्छ । उपभोक्ता संरक्षण आयोग बनाएर सबैलाई नियमन गर्नुपर्छ ।