कारोबार संवाददाता
शुक्रवार, आश्विन १०, २०७६
283

चाडपर्व नजिकिएसँग उपत्यकाको बजार तातेको देखिन्छ भने बजारभाउ अकाशिएको छ । तरकारीलगायतका सामग्रीहरूको भाउ अस्वाभाविक रूपले वृद्धि भइरहेको छ । सरकारी निकायले मासुको सजिलै आपूर्ति हुने बताइरहेका छन् । उता, उपत्यकाबाहिरका व्यापारी-व्यवसायीहरू भने अपेक्षित व्यापार हुन नसकेको बताउँछन् । खासगरी भारतसँग सीमा जोडिएका तराईका जिल्लाबाट सीमावर्ती भारतीय बजारमा चाडपर्वलक्षित खरिद गर्न जाने गरिन्छ । नेपालगन्जका व्यापारी-व्यवसायीहरू दसैं नजिकिए पनि व्यापार भने सुनसान बनेको बताउँछन् । हुन त जति व्यापार भए पनि व्यापार भएन भन्नु व्यापारीको धर्मजस्तै देखिन्छ । यसले गर्दा पनि कतिपय अवस्थामा व्यापारीले ढाँटछल पनि गरेको पाइन्छ । हेटौंडाका व्यापारीहरू भने सरकारका कारण मूल्यवृद्धि भइरहेको बताउँछन् भने कैलालीका अधिकारकर्मी भने चाडपर्वमा ठगी हुने गरेको, मूल्यवृद्धि हुने गरेको बताउँछन् । यद्यपि, सरकारी निकायले अनुगमन पनि गरिरहेको छ । यसैले चाडपर्व लक्षित व्यापारको नाफाघाटाका बारेमा यकिन तथ्यांक पाइने गरिँदैन । उपभोक्ताले चाडपर्व मान्नका लागि किनमेल गर्नुपर्ने अनिवार्यता छ भने यही मौकामा मुनाफा धेरै राखेर बिक्री गर्नु व्यापारीहरूको कर्म नै बनेको सन्दर्भमा हेटौंडा, धनगढी र पोखराबाट कारोबारकर्मीहरूले सरोकारवालाहरूसँग गरेको कुराकानी सार :

कालो बजारी रोक्न निजी क्षेत्र पनि तयार छ
किसान सुनार
अध्यक्ष
नेपाल च्याम्बर्स अफ कमर्श कास्की
दसैंतिहार हाम्रा लागि ठूला चाड हुन् । यस अवसरमा उमंग र मनोरन्जनका साथ यो पर्व मनाउने गरिन्छ । यस अवसरमा धेरै किनमेल हुने हुँदा यसले हाम्रो अर्थतन्त्रलाई पनि चलायमान गराएको हुन्छ ।
रेमिट्यान्सबाट नेपालीहरूको जीवनस्तरमा पहिलाको तुलनामा केही सुधार आएको छ । खानपिनमा सोखको बढेको छ । पहिला भने बाध्यात्मक हिसाबले चाडबाड मनाइने गरिन्थ्यो । दसैं पर्वको अवसरमा पुंँजी चलायमान हुने हँुदा यस अवसरमा पैसाको कारोबार पनि व्यापक हुन्छ । यस अवसरमा नेपाल राष्ट्र बैंकले नयाँ नोट ल्याउनु पनि पैसाको चलायमान गाउँ सहर हँुदै घरघरमा हुने गर्दछ । पहिलाको तुलनामा पछिल्ला वर्षमा माग पनि बढ्ने, आपूर्ति पनि त्यही ढंगबाट हुने, बाहिर रहेको वा संचित गरिएको पैसा खर्च गर्न पनि यसै पर्वमा गर्ने गरेको पाइन्छ । पहिलाभन्दा हाल जनताको जीवनस्तर सुधारिएको छ । पछिल्लो समयमा दसैं खर्चिलो हुँदै आएको छ । बजारमा व्यापार बढी नै भएको देखिन्छ । तर हामीले आयातित सामानको बढी प्रयोग गर्ने गरेका छौं । स्वदेशी उत्पादनका सामान बजारमा कम हुँदा व्यापार घाटालाई यस पर्वले थप बढ्वासमेत दिँदै आएको छ । आयात हुने वस्तु उत्पादनमा हामीले स्वदेशमै जोड दिनुपर्छ अन्यथा यस्ता चाडपर्वले हाम्रो व्यापार घाटा झन चुलिँदै जान्छ । कच्चा पदार्थ आयात गर्दा राज्यले विशेष छुटको व्यवस्थासहित स्वदेशी उत्पादन गर्ने उद्योग र वस्तुलाई सरकारले प्रवद्र्धन गर्नुपर्छ । बजारमा हुने कालोबजारीलाई नियन्त्रण गर्न राज्यले सधै ध्यान दिनुपर्छ । अनुगमनको नाममा स्वच्छ व्यवसाय गर्नेलाई यो वा त्यो बहानामा दु:ख दिएको हामी पाउँछौं यसको अन्त्य हुनुपर्छ । बजार अनुगमन बाह्रै महिना हुनुपर्छ । जसले कालो व्यापार गरेको छ, कालो बजारी गरेको छ दसैंमा यही हो मौका भनेर लाग्नेहरू छन् भने उनीहरूलाई रोक्न निजी क्षेत्र पनि तयार छ ।
प्रस्तुति : दीननाथ बराल

गुणस्तरीय वस्तु तथा सेवा उत्पादन हुन नसक्दा आयआर्जन बाहिरियो
मीना गुरुङ
सांसद-संस्थापक अध्यक्ष
गण्डकी प्रदेश-महिला उद्यमी संघ कास्की
हामी नेपालीहरूले वर्षौं वर्षसम्म टाढा रहेर जीवन व्यतीत गरिराखेको अवस्थामा यस्तै चाडपर्वले हामीलाई पुनर्मिलन गराउने काम गरेको हुन्छ । नेपालमै रहे पनि हामी आफ्नो गच्छेअनुसार पर्वलाई केही रकमको जोहो गरी खर्च गर्ने गरेका छौं ।
भलै सक्नेले लाखौं करोडौं खर्च गर्लान् तर गरिब जनताले भने एकसरो नयाँ लुगा लगाउने र मिठोमसिनो खाएर चाड मनाउने प्रचलन छ । वर्षभरि बचत गरिएको रकमलाई दसैंको अवसरमा जसरी खुलेर खर्च गर्ने प्रचलन छ, यसले पक्कै पनि हाम्रो अर्थतन्त्रलाई चलायमान बनाएको हुन्छ । आवश्यकताको आधारमा एउटा व्यक्तिको पैसा अर्को व्यक्तिसम्म पुगेको हुन्छ । दसैंतिहारमात्रै नभई हामी महिलाले त तिज पर्वमा पनि आफ्ना आफन्तसँग भेट्ने, मन खुलेर आफूले मन परेको खाने र नयाँ लुगा लगाउने प्रचलन छ । हामीले एउटा उत्सवको रूपमा मनाउँदै आएको यस पर्वमा हरेक घरघरमा खर्च गर्ने परिपाटी बढ्दै जाँदा पनि यस पर्वमा आर्थिक क्रियाकलाप हरेक वर्षजसो बढ्दै गएको पाइन्छ । सञ्चित रकम मन खुलेर खर्च गर्ने चाडको रूपमा पनि हामीले लिएका छौं । केही व्यक्ति तथा संस्थाको आम्दानी गर्ने अवसरको रूपमा पनि प्रयोग गरेको पाइन्छ । अनावश्यक जुवा तास खेल्ने गलत काममा लाग्नु हुँदैन । यी पर्व हाम्रा कला संस्कृतिसँग पनि जोडिएका छन् । नेपाली परम्पराअनुसार चाडपर्वको मर्म र धर्मअनुसारै हामीले मनाउनु पर्छ । यस्ता चाडपर्व मनाउँदा हामीले आफ्नो घाँटी हेरी हाड निल्नुपर्छ । चाडपर्वमा हामीले प्रयोग गर्ने अधिकांश वस्तु तथा सेवा बाहिरबाट आयातित भएको हुँदा हाम्रा यस्ता चाडपर्वले व्यक्ति, घर परिवार, समुदाय र सिंगो राष्ट्रलाई केही न केही रूपमा नोक्सान पु-याएको हुन्छ । यस्ता पर्वले अर्थलाई शिखर पु-याएको हुन्छ । हाम्रा धेरै व्यापारीले यस अवसरमा विभिन्न उपहार योजना दिँदै आमउपभोक्तालाई आकर्षण गर्ने गरेको पाइन्छ । करिब ८-१० महिनाको व्यापार केही व्यवसायीले यही दसैं तथा तिहार पर्वको अवसरमा गर्ने गरेको पाइन्छ ।पहिला रेडिमेट वस्तु कम आउने थानका कपडा किन्ने सिलाएर लगाउने प्रचलन रहेकोमा हाल रेडिमेट लुगा आयात भएका छन् । स्वदेशमा गुणस्तरीय वस्तु तथा सेवा उत्पादन हुन नसक्दा हाम्रो आयआर्जन बाहिरिएको छ । स्वदेशी उत्पादनलाई बढाउन सके स्वदेशमै आर्थिक क्रियाकलाप बढी गर्न सकिन्छ ।
प्रस्तुति : दीननाथ बराल

चाडपर्वकै बेला उपभोक्ताहरू बढी ठगिन्छन्
भोजराज जोशी
सचिव
उपभोक्ता हित संरक्षण मञ्च, सुदूरपश्चिम प्रदेश समिति
दसैंतिहारका बेला उपभोक्ताहरूले सबैभन्दा धेरै खाद्यान्न किनमेल गर्छन् । त्यसबाहेक लत्ताकपडादेखि पूजाआजाका लागि भाँडाकुँडा पनि किन्ने गरिन्छ । मूलत: दसैंतिहारमा खाद्यान्नकै किनमेल बढी हुन्छ, जसअन्तर्गत चामल, दाल, गेडागुडी, मसला, फलफूल, दूध, दही, घिउ, मासु, माछा, तरकारीलगायत पर्छन् । जति खाद्यान्न वर्षभरि प्रयोग गरिन्छ, दसैंतिहारका बेला ती सबै प्रकारका खाद्यान्न प्रयोग हुन्छ । सबैजसो उपभोक्ताले यही बेला किन्नुपर्ने हुन्छ ।
यही बेला आएर बजारमा भाउ बढ्छ । सबैभन्दा पहिले उपभोक्ताले बजारभाउमा ध्यान दिनुपर्छ । आमरूपमा १ किलो आलु किन्ने मान्छेले दसैंतिहारमा ५ किलो आलु किन्छ । यो बेला धेरै परिमाणमा सामान बिक्री हुने हुनाले पसलेले उपभोक्तालाई जस्तो पनि सामान भिडाउने खतरा रहन्छ । उपभोक्तालाई छनोट गर्ने समय नहुने र पसलमा भीड बढी हुने भएकाले कैयौं गुणस्तरहीन सामग्री यसै बेला बिक्री गरिन्छ । म्याद सकिएका वस्तु बिक्री हुने सम्भावना पनि यही बेला रहन्छ । यस्ता कुरामा पनि उपभोक्ताले ध्यान पु-याउनुपर्छ ।
धनगढीका उपभोक्ताहरूको कुरा गर्दा धनगढीमा एकदमै राम्रा सामान पाइरहेको देखिन्छ । तर, यहाँका उपभोक्ता सस्तोको खोजीमा अटोमा ५०-६० रुपैयाँ भाडा तिरेर भारतीय सीमावर्ती बजार गौरीफन्टा, वनगाउँ जाने गर्छन् । वनगाउँमा ५ किलो किनेको चिनी नेपालमा आएर जोख्दा आधा किलो अथवा ६-७ सय ग्राम कम हुन्छ । भारतमा किनमेल गर्दा हामी तौलमा पक्कै ठगिएका हुन्छौं । अहिले सामान तौलन ढक प्रयोग गरिँदैन । डिजिटल तराजु हुन्छ । भारतीय व्यापारीले आफ्नो तरिकाले सेटिङ गरेको हुन्छ । अनुगमन आएको थाहा पाउनेबित्तिकै उसले तुरुन्तै सेटिङ मिलाएर सही ठाउँमा ल्याउँछ । त्यसैगरी भारतीय बजारमा प्राय: कम गुणस्तरका सामान राखिएका हुन्छन् । भाँडा पनि सिमानाका बजारमा कम गुणस्तरका पाइन्छन् । खास गरेर सिमानाका बजारहरूमा स्थानीय कम्पनीका सामान पाइन्छन्, जसले कुनै गुणस्तर चिह्न प्राप्त गरेका हुँदैनन् ।
फलफूल र तरकारीमा पनि यो बेला खपत बढी हुने भएकाले विषादी प्रयोग भएका हुन सक्छन् । नेपाली बजारमा डडेलधुरा, बैतडी, डोटी, दार्चुलातिरको साग तरकारी र फलफूल भनेर बेचिने विषादीयुक्त भारतीय तरकारी, फलफूलहरू छन् । दाल, चामल बोरामा प्याकिङ छ भने त्यसको उत्पादन मिति र उपभोग्य मिति हुन्छ । तर, आमरूपमा नेपालीहरूले किन्ने भनेको खुला दाल–चामल हो । एक–दुई किलो किन्ने वा धेरै किने १०–१५ किलो किन्ने गरिन्छ । यसरी खुला राखिएको दाल चामलको उत्पादन मिति कहिले हो भन्ने कुरा थाहै हुँदैन । यसरी किन्दा एउटा ब्रान्डको दाल–चामलमा सस्तो खालको दाल–चामल मिलाएर बिक्री गरेको पाइन्छ ।
मिठाइँमा पनि अत्यधिक मात्रामा खाद्यान्नमा प्रयोग गर्न नहुने खालका रंगको प्रयोग भएको पाइन्छ । तेल, घिउहरूमा समेत मिसावट हुन्छ । मिठाइँहरू कस्तो घिउमा बनाइएको छ भन्ने कुरा हेर्नु जरुरी छ । यहाँकै लोकल भनिए पनि दसैंतिहारका बेला अधिकांश खसी बोका भारतबाटै आउँछन् । भारतमा खसीबोका पाल्ने ठाउँमा हेर्ने हो भने एकदमै कम उमेरका खसीबोकालाई इन्जेक्सन दिएर बढाइन्छ र मासुका लागि बिक्री गरिन्छ । यी सबै खाले किनमेलमा उपभोक्ताहरू ठगिँदै छन् । यस्ता खसीबोकाको छाला र बोसो फालेर खानुपर्छ ।
लुगाकपडा, जुत्ताचप्पलको किनमेलमा पनि यही बेला अघिल्लो वर्ष बिक्री नभएका सामान बिक्री गर्ने चलन छ । यो बेला नै मूल्य पनि चर्को वृद्धि हुन्छ ।
यसलाई नियमन गर्ने काम सरकारी निकायहरूको हो । खास गरेर चाडपर्व आएपछि मात्रै सरकारी कार्यालयहरू अनुगमनमा दौडिन्छन् भन्ने आमउपभोक्ताको आरोप छ । तर बढीजसो चाडपर्वकै बेला कालोबजारी हुने हुनाले यो बेला सघन रूपमा बजार अनुगमन गर्नु स्वाभाविक हो । किनभने यो बेला उपभोक्ताहरूको भीड बजारमा हुन्छ । यही मौका छोपेर पसलेहरूले म्याद सकिएका, गुणस्तरहीन सामानहरू बिक्री गरिरहेको हुन्छ । अरू बेला ७५ रुपैयाँमा बिक्री हुने चिनी यो बेला ८०–८५ रुपैयाँसम्ममा बिक्री गरिरहेका हुन्छन् । यो बेला दैनिक रूपमा बजार अनुगमन गर्नु आवश्यक छ । अरू बेला पनि बजार अनुगमन निरन्तर भई नै रहनुपर्छ । यो सँगसँगै सरकारी निकायहरूले पनि उपभोक्तालाई गुणस्तरीय सामान उपलब्ध गराउन अहिले साल्ट ट्रेडिङले चलाएको जस्तो सुपथ मूल्य पसल चलाउनु आवश्यक छ । यस्तो खालका सुपथ मूल्य पहसलहरू सबै बजारमा चलाइयो भने उपभोक्ताहरू सरकारी पसलमा जान थाल्छन् र व्यापारीहरू पनि ग्राहक तान्न सही मूल्यमा गुणस्तरीय सामान दिन थाल्छन् ।
प्रस्तुति : मुकेश चौधरी

मूल्यवृद्धिको कारक नै सरकार
राजकुमार न्यौपाने
केन्द्रीय सदस्य
नेपाल उद्योग वाणिज्य महासंघ
नेपालीहरूको महान् चाड बडादसैं नजिकै आइसकेको छ । सर्वप्रथम सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु । दसैंको मुखमै आएर मूल्यवृद्धि हुनेगर्छ भन्ने आमगुनासो आउने गरेको छ । गुनासो किन आयो भन्नेबारेमा यथार्थ बुझ्नु जरुरी छ । आयातित वस्तुको भन्सार मूल्य वृद्धि र बैंकको ब्याजदरमा वृद्धि गरिएको छ, जसका कारण बजार मूल्य बढ्दो क्रममा छ । बजारमा व्यवसायीले कहिल्यै अथाह मूल्य लिएर मूल्यवृद्धि गरेको अवस्था होइन । नेपालमा स्वदेशी उत्पादनमा आत्मनिर्भर हुने भन्ने लक्ष्य लिइएको छ तर अधिकांश आयातित वस्तु बिक्री गर्नुपरिरहेको छ । मूल्यवृद्धि व्यवसायीको कारण नभई सरकारको बढ्दो कर नीति र भन्सार शुल्क वृद्धिका कारण भएको हो । व्यवसायीले प्रशस्त भण्डारण गरी, अभाव सिर्जना गराई मूल्यवृद्धि गरिएको भन्ने आरोप छ । त्यो निराधार हो ।
सरकारले र उद्योगले तोकेको मूल्यभन्दा बढीमा सामान बिक्री गर्नु दण्डनीय छ । त्यस्तो कामलाई हामी पनि निरुत्साहित गर्न लागिरहेका छौं । कालोबजारी, ठगी गर्नुका साथै धेरै मूल्य राखेर सामान बिक्री गर्नु हुँदैन । यदि व्यवसायीले त्यस्तो गर्छन् भने कारबाही गर्न हामी सरकारी निकायलाई सघाउँछौं ।
दसैंका बेला आएर केही मूल्यवृद्धि भएजस्तो देखिन्छ, तर यो वृद्धि लामो समयदेखि हुँदै आएको छ । अघिल्लो वर्षको तुलनामै यो वर्ष धेरै नै मूल्यवृद्धि भएको हामीले महसुस गरेका छौं । दसैंका बेला धेरै सामान खपत हुने भएकाले व्यवसायीले धेरै भण्डारण गर्नुपर्ने, भीडभाड हुने भएकाले सबैको नजर परेको हो । तर, व्यवसायीले अनावश्यक नाफा राखेर मूल्यवृद्धि गराएका होइनन् ।
हामी जबसम्म स्वदेशी कच्चा पदार्थको प्रयोग गरी स्वदेशी उत्पादनमा आत्मनिर्भर हुँदैनौं तबसम्म मूल्यवृद्धि बढि नै रहन्छ । सरकारी पक्षले बोल्ने एउटा, गर्ने अर्को भइरहेको छ । यदाकदा हुने कालोबजारीको कुरामा सरकारी पक्षले व्यवसायीलाई मात्र दोष दिइरहेका छन् । तर, यसमा सरकार पनि जिम्मेवार हुनुपर्छ । पर्याप्त मात्रामा सामान आयात हुन नसकेपछि कालोबजारी बढ्ने गरेको पाइन्छ । पर्याप्त मात्रामा सामान आयात गरिदिने वातावरण सरकारले गरिदिने हो, कालोबजारी नै हुन पाउँदैन । अनुगमन पनि नि:स्वार्थ हुनुपर्छ, निष्पक्ष हुनुपर्छ । कुनै पनि प्रकारको लाभबाट प्रभावित हुनु हुँदैन ।
व्यवसायीले पनि कानुनबमोजिम मूल्यसूची राख्ने, बिलबिजक जारी गर्ने, तोकिएकै मूल्यमा नबढाई बिक्री गर्ने जस्ता काम गर्नुपर्छ । सरकार र व्यवसायीबीच ठूलो खाडल छ । यसलाई हटाउन अनुगमनलाई प्रभावकारी बनाउने, सरकारले खरिद नीतिअनुसार पर्याप्त सामान बजारमा पठाउने वातावरण बनाउनुपर्छ । व्यवसायीले पनि कानुनभन्दा बाहिर रहेर कुनै पनि काम गर्नु हुँदैन । उपभोक्ताहरू सचेत भएर सामानको गुणस्तर, मूल्य र म्याद कायम मिति हेरेर खरिद गर्दा समस्या झनै कम हुन्छ ।
प्रस्तुति : केशव समर्पण

सातामा धेरै पढिएको