सरस्वती ढकाल
बिहिवार, आश्विन ९, २०७६
697

नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि ध्रुव थापा गतसाता सर्वसम्मतिबाट चयन भएका छन् । तीनवर्षे कार्यकालका लागि चयन भएका थापा सिमेन्ट उद्योग आत्मनिर्भर भएसँगै चुनौतीको चाङ थपिएको अनुभूति गर्छन् । सिमेन्ट उद्योगको स्थायित्व र गुणस्तरीय उत्पादनका लागि निजी क्षेत्रका सिमेन्ट उत्पादक र सरकारबीच सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन । यद्यपि सरकारकै नीतिका कारण नेपाली सिमेन्ट अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको थापा बताउँछन् । नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षसमेत रहेका थापाको पारिवारिक पृष्ठभूमि भने व्यवसायी होइन । कहिले सरकारी जागिरको त कहिले पराशर्मदाता हुँदै उनको व्यावसायिक यात्रा वि.सं २०५० देखि सुरु भयो । त्यसपछि उनको व्यावसायिक यात्रा अझ प्रगाढ बन्दै १७ वर्षअगाडि सिमेन्ट उद्योगमा प्रवेश ग-यो । वर्तमान विषयवस्तुका सूक्ष्म अध्येता मानिने उनी साथीभाइबीच पनि लोकप्रिय छन् । सिमेन्ट उद्योगलाई सांगठनिक रूप दिन थापाको अग्रणी योगदान छ । सिमेन्ट उद्योगभन्दा बाहेक कन्स्ट्रक्सन र कृषिमा पनि आबद्ध छन् । अर्गानिक कृषि फार्ममा उनको निकै लगाव छ । शिवपुरी र लमजुङमा अर्गानिक फार्म चलाएका उनी कृषिमा आत्मनिर्भर हुनसके मात्रै देश अगाडि बढ्न सक्ने बताउँछन् । नेपाली युवालाई देशमै रोजगारी दिनसके सरकारको समृद्धिको लक्ष्य सफल हुने उनी बताउँछन् । नवनिर्वाचित थापासँग सिमेन्ट उद्योगको उत्पादन क्षमता, बजार माग, विदेशी लगानीलगायतका विषयमा केन्द्रित भई कारोबारर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :

लामो समयदेखि सिमेन्ट उत्पादक संघको नेतृत्व तहमा हुनुहुन्छ, हालै सम्पन्न साधारणसभाबाट फेरि नेतृत्व सम्हाल्नुभयो । नेतृत्व हस्तान्तरण किन गर्नु भएन ?
सिमेन्ट उत्पादक संघमा गएको एक कार्यकाल मैले अध्यक्षका रूपमा आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरें भन्ने मलाई लाग्छ । त्यसअघि मैले उपाध्यक्ष भएर काम गरेको थिएँ । गएको कार्यकालमा राम्रो काम गरेकै कारण साथीहरूले मलाई दोस्रो पटक पनि जिम्मेवारी दिनुभयो । वास्तवमा म नेतृत्वबाट बाहिरिन खोजेको थिएँ, साथीहरूको आग्रह मानेको मात्र हुँ । संघको अध्यक्ष बन्दा न कुनै फाइदा हुन्छ, न केही लाभ लिने ठाउँ नै छन् । ‘भोलेन्टियर’ रूपमा समय दिएर काम गर्ने नितान्त व्यावसायिक संगठन हो । उद्योगी–व्यवसायीको हकहितका विषयमा आवाज उठाउने, नीतिगत रूपमा लबिङ गर्ने, सिमेन्ट उद्योगलाई विकास र विस्तारका लागि हरतरहले सोच्ने, काम गर्ने र नतिजा देखाउने ठाउँ संघ हो । यहाँ बस्दा मानपदवी पाइने भन्ने केही होइन । साथीहरूलाई अब तपाईंहरूले जिम्मेवारी लिनुपर्छ भनेर पहल पनि गरेको हँु । छोड्छु भन्दा नि साथीहरूले दिनु भएन, समग्र सिमेन्ट उद्योग क्षेत्रका लागि म बस्दा उचित हुन्छ भने ठीक छ भनेर स्वीकार गरेको हुँ । बहुमतभन्दा धेरै साथीले मेरो विकल्प छैन भनेर आग्रह गरेपछि अहिले म पुनः संघको जिम्मेवारीमा छु ।

संघको नेतृत्वका लगि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत भइसक्नुभएका पशुपति मुरारका पनि इच्छुक रहेको चर्चा थियो । तर, उहाँहरू त संघबाटै बाहिरिनुभएछ नि ?
उहाँ बाहिरिनु चुनावसँग सम्बन्धित विषय होइन । पहिले उहाँलाई संघको नेतृत्व तपाईंले गरिदिनुस् भनेर आग्रह गरेकै हो । त्यतिबेला २÷४ जना हामीले भन्यौं, तर सहमति भने जुट्न सकेन । उहाँ महासंघजस्तो ठूलो संस्थाको अध्यक्ष भइसकेको व्यक्ति भएर पनि होला, संघमा आउने त्यति इच्छा देखाउनुभएको थिएन । यो गएको माघ महिनाको कुरा हो । सहमति जुट्न नसकेपछि चुनाव गर्ने कुरा पनि भयो । उहाँ चुनावमा उठेर संघमा बस्ने कुरा पनि भएन, त्यसैले नबस्ने भन्नुभएको हो । अर्कातर्फ बाहिरिएको भन्ने प्रश्न छ त्यो कुरा मिल्दैछ । संघ आफैंमा सानो छ । यो राजनीति गर्ने संघसंस्था पनि होइन । उहाँले गुणस्तरको विषयमा केही ‘रिजर्भेसन’ राख्नुभएको थियो, त्यो पूरा हुने क्रममा छ । उहाँ संघमै हुनुहुन्छ । रिसको झोकमा छोड्छु, किन बस्ने भन्ने पनि होला, तर उहाँ मिलेर जानुहुन्छ । संघमा उहाँको आवश्यकता छ । नितान्त व्यावसायिक संस्था भएकाले आगामी दिनमा अझ धेरै चुनौतीहरू सामना गर्नुपर्ने भएकाले लडेर, छुटेर झगडा गरेर हुँदैन । पहिला तुलनात्मक रूपमा धेरै काम थिएन । देशलाई सिमेन्टमा आत्मनिर्भर बनाउने भन्ने मात्रै थियो, अब आत्मनिर्भर भएपछि धेरै चुनौती थपिए । हामीले सोचेको भन्दा दायरा ठूलो भयो । हामी सबै मिलेर जान्छौं, चुनौती सामना गर्न एकजुट हुनु जरुरी छ ।

संघमा कति सदस्य आबद्ध छन् हालसम्म ?
सबै उद्योगको प्रतिनिधित्व हुनेगरी संघमा सदस्यता छ । हालसम्म ५८ सदस्य संघमा छौँ । हालसम्म ६१ वटा सिमेन्ट उद्योग छन्, त्यसमध्ये दुईवटा हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट सरकारी लगानीका उद्योग छन्, ती संघमा सदस्य हुने कुरा भएन । एउटा नयाँ उद्योग आउँदैछ, प्रक्रियागत रूपमा भएकाले अहिले सदस्य नभएको हो । संघमा सदस्य हुनैपर्छ भन्ने कुनै बाध्यकारी व्यवस्था छैन स्वेच्छाले बन्ने हो ।

सिमेन्ट उत्पादकहरू यस क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को निकै विरोधमा छन् । सरकारले नै विदेशी पुँजी र प्रविधिमा खुला हृदयले स्वागत गरिरहेका बेला व्यवसायीहरूचाहिँ किन विरोधमा ?
हामीले समग्र विदेशी लगानीको विरोधमा छैनौं । हाल भएका उद्योगको क्षमताले आगामी १० वर्षको माग धान्न सक्छ, त्यसैले सिमेन्ट उद्योगमा विदेशी लगानी आवश्यक छैन भनेको हो । दुई वर्षपछि २०२१ मा यसै समयमा आएर कुरा गर्ने हो, बजारमा मागभन्दा दोब्बर क्षमता हामीसँग भइसक्छ । विकास–निर्माणमा कामहरू तीव्र भएर गए पनि अबको १० वर्षका लागि नयाँ सिमेन्ट उद्योग चाहिँदैन, भएकै उद्योगले माग धान्न सक्छन् । भएका उद्योगले पनि क्षमता विस्तार गर्दै लैजान्छन् । आत्मनिर्भर भएको ठाउँमा विदेशी लगानी ल्याउँदा अवस्थ प्रतिस्पर्धा हुनसक्छ । बरु त्यो लगानी अन्यन्त्र ठाउँमा लैजान सकियो भने देशले निकास पाउँछ भने समृद्धिका लक्ष्यलाई पनि सहयोग पु-याउँछ । प्रजातन्त्रको पुनःस्थापनापछि कुनै पनि उद्योग एकदमै राम्रो भएर स्थिर रूपमा रहन सकेको छैन । गलैंचा, गार्मेन्ट, पस्मिना, वनस्पति घिउ, रियल स्टेट कुनै पनि स्थिर बन्न सकेनन् । सरकारले डेटाबेस्ड भएर लगानीकर्तालाई बाटो देखाइदिनुपर्छ । लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा अवश्य खोज्छ, त्यसका लागि सम्भावना देखि त्यहाँको वास्तविक अवस्था डेटाबाट देखाउन सक्नुपर्छ । सरकारी निकायबाट डेटा आएमा मात्रै लगानीकर्ताले आफ्नो भिजन लिनसक्छ । हामीकहाँ डेटाको अभाव छ । उद्योगीले वास्तविकताभन्दा कतै आफ्नो प्रतिस्पर्धी आउन लाग्यो कि भनेर पनि बुझ्न सकिन्छ, त्यसैले सरकारी निकायबाट डेटा आउनु सरकार, निजी क्षेत्र, विदेशी लगानीकर्ता सबैका लागि उचित हुन्छ । त्यसरी डेटा देखेर कोही आउँछ भने अर्काे कुरा हो, तर अहिले रातो कार्पेट ओच्छ्याएर सिमेन्ट लगानी गरिदिनुप-यो भन्नुपर्ने अवस्था छैन । त्यसमा पनि विदेशी लगानी आवश्यक छैन भनिएको हो । स्वदेशी लगानीकर्तालाई पनि सम्भावना कम छ, लगानी नगर है भनेको अवस्था छ । स्वदेशी–विदेशी कुनै पनि प्रकारको लगानी सिमेन्ट उद्योगमा आवश्यक छैन । २०३० सम्मलाई पुग्ने सिमेन्ट उद्योगको क्षमता विस्तार भइसकेको छ भने किन यसमा अरू लगानी गरेर अवस्थ प्रतिस्पर्धा गर्ने ? प्रविधिमा पनि नेपालमा जुन खालको प्रविधि प्रयोग भएको छ, त्यो विश्वमा प्रयोग भएको सर्वाेत्कृष्ट प्रविधि नै हो । व्यवस्थापन पनि हामीले गरिरहेका छौँ । आवश्यकता नभएको क्षेत्रमा विदेशी तथा स्वदेशी थप लगानी गरेर रडाको मच्चाउनु जरुरी छैन । आत्मनिर्भर भएको क्षेत्रलाई अस्वस्थ प्रतिस्पर्धातिर लैजानु भनेको उद्योगमात्रै नभएर समग्र देशको अवस्था नै उल्टो गतिमा जानु हो ।

नेपालमा होङ्सी, ह्वासिनजस्ता वैदेशिक लगानीका सिमेन्ट उद्योगहरू आए । ती उद्योगले इक्विटी ल्याउने नभई स्वदेशी बैंकबाटै ऋण लिएको पनि देखियो । यसलाई कसरी लिनुहुन्छ ?
विदेशी लगानी ल्याउने हो भने पूर्ण रूपमा इक्विटी लिएर आउनुपर्छ । नेपाली बैंकमा भएको पैसा परिचालन गर्न नेपाली उद्यमी व्यवसायी नै सक्षम छन्, किन विदेशी आउनुप-यो ? स्वदेशी लगानीकर्ताले गर्नुपर्ने लगानी विदेशीले आएर गर्दा त्यसको औचित्व के त ? हामीलाई फन्ड नभएर विदेशबाट फन्ड आओस्, देशमा उद्योगधन्दा खुलोस्, रोजगारी बढाओस्, समृद्धिमा टेवा दिन सकोस् भनेर पो विदेशी लगानी चाहिएको हो । नेपालकै पैसा परिचालन गर्न नाममात्रैको विदेशी लगानी किन चाहियो ? विदेशी लगानी भनेर आउने हो भने पूर्णरूपमा विदेशी नै रकम आउनुपर्छ, नेपालको पैसा परिचालन गर्नेलाई विदेशी लगानीकर्ता भन्न सकिन्न । विदेशी लगानीकर्तालाई सरल रूपमा कामहरू भएको छ, त्यत्तिकै सुविधा र छिटो काम गरिदिने हो भने लगानीका हामी सक्षम पनि छौँ र तत्पर पनि छौँ । सरकारले हामीलाई सुविधा देओस् हामी गरेर देखाउन तयार छौँ ।

चिनियाँ लगानीका दुई उद्योगले जति सहजै एफडीआई ल्याए, नाइजेरियन कम्पनी डाँगोटेलाई भने त्यति सहजीकरण नभएको हो ?
खानी पाइएन भन्ने सवाल उहाँहरूको हो । प्रतिस्पर्धाको बजारमा आफूले खोज्ने हो । सरकारले कुनै पनि उद्योगलाई फलानो खानी तिमीलाई भनेर दिएको छैन । प्रतिस्पर्धा गरेरै लिने हो । विदेशीलाई नेपाल आउँदा सबै कुरा तयार गरेर दिने हो भने त्यति सुविधाको ५० प्रतिशतमात्रै सुविधा तयार गरेर नेपाली उद्योगीलाई दिने हो भने झन राम्रो काम गरेर देखाउन सक्छन् । हामीलाई पुगेन भने हामी विदेशी लगानी ल्याउन पनि सक्षम छौँ । इक्विटी पुगेन भने ल्याउन हामी पनि तयार छौँ ।

सिमेन्ट उद्योग प्रवद्र्धनका लागि सरकारले खानीसम्म बाटो आफैं पु-याइदिने आकर्षक प्याकेज विगतमा ल्याएको थियो । यसको कार्यान्वयनप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
त्यसको कार्यान्वयन खासै हुनसकेको छैन । विद्युत्को हकमा हामीले सुविधा पाएका छौँ । अहिले सबैजसो उद्योगमा विद्युत् जडान भएको छ । उद्योगमा लगानी गर्न सुरु गरेको साढे दुई वर्षभित्र उत्पादन गर्न सुरु गरिसक्नुपर्छ, तर बाटो सुरु गरेको १० वर्षसम्म पनि सकिंदैन । हामीलाई चाहिएको समय बाटो नभएपछि उत्पादन गरेरमात्रै पनि भएन, त्यसैले हामीले नै बाटो बनाउने गरेका छौँ । सरकारसँग बाटो कस्तो बनाउने भनिदिनुस्, बाटो उद्योगीले बनाउँछौं, पछि शोधभर्ना गरिदिनुस् भनेका छौँ । यति बजेटमा बनाउनुपर्छ बाटो भनेर बजेट सीमा दिनुस्, सोबराबरको रकम पछि आउने भ्याट ट्याक्समा मिलान गरिदिएपछि हुन्छ भनेर समेत भनेका छौँ । यसको कार्यविधि पनि दुई वर्षअगाडि मन्त्रालयमा पेस गरिसकेका छौँ, त्यसको सुनुवाइ भएको छैन । सडक विभागका आफ्नै योजना पनि अलमलमा छन् । त्यस्तो अवस्थामा सिमेन्ट उद्योगका बाटा कहिले प्राथमिकतामा पर्ला ? मेरो आफ्नै उदयपुरको उद्योगमा पनि टेन्डर गरेर काम गरेको आठ वर्षभन्दा धेरै भयो, तर बाटो आधा पनि बनेको छैन । हामीले आफैं बाटो बनाउँदै काम गरेका छौँ । जे दिने हो, कार्यविधि बनाएर सरल रूपमा दिनुपर्छ । अनुमानित बजेटको ७५ प्रतिशत रकम हामीलाई दिनुस्, बाटो बनाएर बिल पेस गरेर दिएका स्ट्यान्डर्ड भन्दा राम्रो बनाउँछौँ भनेका थियौँ । हामीलाई चाहिने बाटो भएकाले त्यसमा जति राम्रो गर्न सकियो, हामीलाई नै सहज हुने हो ।

नेपालको समग्र बजार माग र आपूर्तिको अवस्था कस्तो छ ?
अहिले बजार मागभन्दा आपूर्ति डेढ गुणा छ । असार मसान्तसम्मको तथ्यांकअनुसार उत्पादन क्षमता १५ मिलियन टन छ भने यो बढ्दै छ । सप्लाई हेर्ने हो भने १० मिलियन टनमात्रै छ । ५ मिलियन टन अहिले पनि उत्पादन क्षमताभन्दा कम माग छ । अहिले ६६ प्रतिशतको उत्पादन क्षमतामा उद्योग चलाउनुपर्ने बाध्यता छ । दुई वर्षपछि ५० प्रतिशत उत्पादन क्षमतामा चलाउनुपर्ने पनि हुनसक्छ । ५० प्रतिशत क्षमतामा उद्योग चलाउँदा ब्रेक इभनमा आउन सक्दैन । त्यसैले स्वदेशी विदेशी कुनै पनि नयाँ लगानी सिमेन्टमा नगरौँ भनेका हौँ ।

तपाईंले मागभन्दा उत्पादन क्षमता बढी भयो भन्दै गर्दा सरकारले चालू वर्षको बजेटमा सिमेन्ट निर्यात गरेर व्यापारघाटा कम गर्ने लक्ष्य पनि राखेको छ । सिमेन्ट निर्यातको सम्भावना कत्तिको छ ?
बजेटले व्यवस्था गरेको छ, त्यसले हामीलाई उत्साहित गराएको पनि हो । आजकै दिनमा पनि हामीसँग बजार मागभन्दा ५ मिलिटन टन उत्पादन क्षमता बढी छ । यसलाई निर्यात गर्न सकिए व्यापारघाटा कम गर्न सकिन्छ । केही समयपछि नेपालको बिजुली सस्तो मूल्यमा भारतलाई बेच्नुपर्ने पनि हुनसक्छ । त्यस्तो बिजुली नेपालमै खपत हुने, रोजगारी बढ्ने, आर्थिक गतिविधिमा टेवा पुग्ने हुन्छ भनेर हामी उत्साहित भएका थियौँ, तर बजेटको तात्पर्यभन्दा अलग हुने गरी अरू नीति आए । हामीलाई निकासी गर्न गुणस्तरको समस्या छैन, भारतले पनि बाधा अवरोध गरेको छैन, अन्य समस्या पनि खासै छैन, तर हाम्रा उत्पादन लागत धेरै छ । भारतको बजारमा गएर निर्यात गर्नसक्ने भनेको सीमावर्ती सहरमा हो । त्यहाँ जाँदा प्रतिस्पर्धी बन्न सक्ने अवस्था छैन । प्रतिस्पर्धी नहुँदा हाम्रो सिमेन्ट बिक्न सक्दैन । एक–डेढ वर्षको अन्तरालमा प्रतिबोरा डेढ समय रुपैयाँसम्म सिमेन्टको भाउ घटेको पनि छ, तर अब घटाउन सक्ने ठाउँ छैन । सरकारले हाम्रो उत्पादन लागत घटाइदिने काम सरकारले गरिदिनुपर्छ । त्यसका लागि के सुविधा दिएर निकासीमा प्रतिस्पर्धी बनाउनुपर्ने हो, त्यो गरिदिनुपर्छ । मूल्यमा प्रतिस्पर्धी हुनसके हामीले निर्यात गर्न सक्छौँ । अर्कातर्फ हाम्रो देशको खपत क्षमता बढाउनुपर्छ । अहिले मौजुदा कार्यक्रमलाई लक्ष्यअनुसार पूर्वाधारका काम हुनुपर्छ । विकासका काम जति बढ्छन् सिमेन्टको काम पनि त्यसरी नै बढ्दै जाने हो । अर्कातर्फ नयाँ ‘एभिन्यू’ हरू पनि खुला गरिनुपर्छ । हामीले बिटुमिन रोड बनाएका छौँ, त्यसमा गुणस्तरको समस्या छ । बनाएको वर्ष दिनमा बाटो बिग्रिएको छ । स्वदेशी उत्पादनको खपत पनि हुने र गुणस्तरीय काम पनि हुने भएकाले रोड, हाइवे सबै कंक्रिट रोडमा जानुपर्छ । यसबाट टिकाउपन ४० वर्षसम्म हुन्छ, मर्मत खर्च निकै न्यून हुन्छ, बिटुमिन आयात घटे व्यापारघाटा कम गर्न सकिन्छ, आन्तरिक भ्यालु एडिसन ८० प्रतिशतसम्म छ भने पर्यावरणका हिसाबले पनि कंक्रिट रोड प्रभावकारी हुन्छ । सिमेन्ट उद्योगका लागि ३८ वटा निकायसँग समन्वय गरेर मात्रै काम गर्न सकिन्छ । सबै निकायको ध्यान कर लिनेमा भन्दा बाहिर जान सकेको छैन । देशमा भएका सबै सरकारी निकायले नाफामूलक संस्थाका रूपमा आफूलाई हेरेको पाइयो । यस्तो प्रवृत्ति बढ्दै जाने हो भने देशले समृद्धिको लक्ष्य पूरा गर्न सक्दैन । अहिले सबै निकायको ध्यान करमा मात्रै गएको देखिएको छ, चाहे त्यो केन्द्रीय निकाय होस्, चाहे स्थानीय नै । सरकारले जतिसुकै कर लगाओस्, त्यसको भार भने उपभोक्तामै जान्छ ।

सिमेन्ट उद्योगको क्षेत्रमा तपाईंको निजी उद्योगको योगदान के–कति छ ?
मेरा दुईवटा प्लान्ट छन्— एउटा कसमस सिमेन्ट उद्योग र अर्काे इस्टर्न कसमस सिमेन्ट उद्योग । २ हजार टनको हाराहारीमा सिमेन्ट उत्पादन हुन्छ । एउटा उद्योग ढल्केवर, धनुषामा छ जसबाट क्लिंकर उत्पादन हुन्छ । चुनढुंगा कच्चा पदार्थ उदयपुरबाट ल्याउँछौँ ।

 

सातामा धेरै पढिएको