कारोबार संवाददाता
बुधवार, कार्तिक १५, २०७४
728

क्यानडाले नेपाललाई गत साता १ अर्ब ५० करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराएको छ । भूकम्पपछिको दाता सम्मेलनमा क्यानडाले ५ अर्ब २० करोडबराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा बाँकी सो रकम भूकम्पपछिको पुनर्निर्माण, आर्थिक वृद्धि र स्वच्छ खानेपानी तथा सरसफाइका लागि उपलब्ध गराएको हो । भूकम्पपछिको तत्कालीन राहत र उद्धारका लागिसमेत सहयोग गरेको क्यानडा र नेपालबीच विगत पाँच दशकदेखिको सम्बन्ध छ । यति लामो समयदेखि दुवै देशबीच सम्बन्ध भए पनि नेपालमा क्यानडाको राजदूतावास छैन । भारतमा रहेको क्यानेडियन राजदूतावासले नेपाल हेर्ने गरेको छ । हालै काठमाडौं आएका गैर आवासीय क्यानेडियन राजदूत नादिर पटेलसँग नेपाल र क्यानडाबीचको सम्बन्ध, भूकम्पपछिको पुनर्निर्माणमा सहायता, क्यानडाले नेपालमा गर्न सक्ने लगानीका क्षेत्र र अवस्थालगायतबारे सम्पादक कुबेर चालिसे र सम्वाददाता भीम गौतमले गरेको कुराकानीको सार ः 

क्यानडाले नेपाललाई थप सहयोगको घोषणा गरेको छ । कुन–कुन क्षेत्रका लागि क्यानडाले थप सहयोग गर्न लागेको हो ? 
क्यानडाले भूकम्पपछि गरेको दाता सम्मेलनमा ५१.७ मिलियन डलर सहयोगको प्रतिबद्धता जनाएको थियो । अहिले जुन १४.७ मिलियन डलर सहयोगको घोषणा गरिएको छ, यो त्यस प्रतिबद्धताको अन्तिम किस्ता हो । अहिले घोषणा गरिएको मध्ये ४.७ मिलियन डलर विश्व बैंकका लागि हो । यो रकम विश्व बैंकको ग्रामीण आवास पुनर्निर्माणका लागि बनाएको कोषमार्फत खर्च हुन्छ । त्यसैगरी १० मिलियन डलर खानेपानी तथा सरसफाइका लागि हो । १४.७ मिलियन डलरमध्ये २.०३ मिलियन डलर भूकम्पप्रभावित समुदायको जीवनस्तर सुधार, १.६२ मिलियन डलर स्वच्छ खानेपानी तथा सरसफाइका लागि तालिम र जनचेतना, २.०३ मिलियन डलर खानेपानी र सरसफाइ तथा २.०१ मिलियन डलर जोखिममा परेका महिला, बालबालिकालगायतको दिगो जीवनस्तरका लागि साना उद्योग विकासका लागि सहायता दिइएको छ । हामीले प्रतिबद्धता गरेका सबै सहयोग उपलब्ध गराइसकेका छौं । सम्झौताअनुसारका आ–आफ्ना कार्यअनुरूपका सबै संगठनलाई पनि यो सहायता उपलब्ध गराइसकिएको छ । उनीहरू सबै सम्झौताबमोमिज स्थानीय स्तरको विकासका लागि सक्रिय भइसकेका छन् । विश्व बैंक पनि ग्रामीण क्षेत्रका आवास पुनर्निर्माणका लागि काम अघि बढाइसकेको छ । 

नेपालमा पुनर्निर्माणले जुन गति लिनुपर्ने हो, त्यो लिएको छैन भन्ने विकास साझेदारहरूको गुनासो छ । नेपालको विकास एउटा साझेदारको हैसियतमा यहाँले कस्तो अनुभव गर्नुभएको छ ? 
विश्व बैंक र अन्य केही संगठनका लागि हामीले प्रतिबद्धता जनाएअनुसारको सहयोग उपलब्ध गराएका छौं । हामीलाई विश्वास छ, हामीले गरेको सहयोगबाट पुनर्निर्माणको काम अघि बढ्नेछ, बढिरहेको छ । हामीले जुन रकम उपलब्ध गराएका छौं, विश्व बैंक र हाम्रा विकास साझेदारहरूले लक्षित समुदायसम्म पु¥याउनेछन् । उनीहरूलाई ठूलो सहयोग हुनेछ । मलाई विश्वास छ, पुनर्निर्माणको अभियानले गति लिनेछ । पुनर्निर्माण क्षेत्रले सबैको प्रयासका साथ अघि बढ्नेछ । क्यानडाले उपलब्ध गराएको ५१.७ मिलियन डलरको सहयोगले नेपालको पुनर्निर्माण अघि बढाउनका लागि धेरै सहयोग पुग्नेछ । 

पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारले भूकम्पप्रभावितहरूलाई दिइने अनुदानलाई २ लाखबाट बढाएर ३ लाख रुपैयाँ पु¥याएको थियो । अनुदान थप भएपछि सरकारले विश्व बैंकलगायतसँगै पुनर्निर्माणमा सहयोगका लागि अनुरोधसमेत गरिसकेको छ । यस्तो अवस्थामा क्यानेडियन सरकारले नेपाललाई थप सहयोगको सम्भावना छ कि छैन ? 
हामीले प्रतिबद्धता जनाएअनुसार विश्व बैंकको ग्रामीण आवास पुनर्निर्माणका लागि रहेको कोषमा सहयोग दिइसकेका छौं । यसलाई हामी निरन्तरता दिन पनि सक्छौं । यो हामीले पहिल्यै प्रतिबद्धता गरेको रकम हो । हामीले अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी नयाँ नीति पनि ल्याएका छौं । यो नीतिले विश्वमै बहुक्षेत्रको सहयोगलाई लक्षित गरेको छ । यसले नयाँ अवसर सिर्जना पनि गर्नेछ । विगतका वर्षहरूलाई हेर्ने हो भने क्यानडाले १ सय २० मिलियन डलरभन्दा बढी नेपालमा सहयोग गरिसकेको छ । संयुक्त राष्ट्रसंघीय कार्यक्रमहरूमार्फत पनि क्यानडाले सहयोग गरेको छ । एसियाली विकास बैंक (एडीबी), विश्व बैंकलगायतलाई सहयोग गर्ने एउटा ठूलो देशका रूपमा क्यानडा रहेको छ । विभिन्न अन्य विकास साझेदार र संगठनहरूलाई सहयोग गरेर पनि क्यानडाले आफ्नो कार्यक्रम अघि बढाउँदै आएको छ । हामीसँग अन्तर्राष्ट्रिय विकास अनुसन्धान संस्था पनि छ । त्यसमार्फत पनि विभिन्न परियोजनामा सहयोग हुँदै आएका छन् । अहिले १४ मिलियन डलरको सहयोगमा विभिन्न आयोजनाहरू जारी छन् । खानेपानी, वातावरण, सुशासन, क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा परियोजनाहरू सञ्चालित छन् । क्यानेडियनहरूले नेपालमा विभिन्न किसिमका परियोजनाहरू सञ्चालन गरेर नेपालको विकासमा सहयोग गरिरहेको छ । 

क्यानडाले वर्षौंदेखि नेपालमा विभिन्न परियोजनालाई सहयोग गर्दै आएको छ र विभिन्न कार्यक्रम पनि सञ्चालित छन्, तर नेपालमा हालसम्म क्यानडाको राजदूतावास किन नखोलिएको हो ? 
५० वर्षभन्दा बढी समयदेखि क्यानडाले नेपालमा विभिन्न किसिमका कार्यहरूमा साझेदारी गर्दै आफ्नो सम्बन्ध स्थापित गर्दै आएको छ । क्यानडा र नेपालबीच बलियो सम्बन्ध छ । विभिन्न परियोजनासँग नेपालको मानवअधिकारको क्षेत्रमा समेत क्यानडाले सहयोग गर्दै आएको छ । धेरै नेपाली क्यानडा पनि पुगेका छन् । क्यानेडियनहरू पनि नेपाल आएका छन् । विद्यार्थी, पर्यटक आदिमा पनि दुई देशबीच सम्बन्ध छ । जलवायु परिवर्तन, वातावरण, सामान्य मुद्दाहरूमा पनि दुई देशबीचमा साझेदारी छ । दुई देशबीच औपचारिक–अनौपचारिक दुवै सम्बन्ध छन् । दुई देशबीच बलियो सम्बन्ध निरन्तर छ । मलाई लाग्छ, भौतिक रूपमा फिल्डमा नेपालमै कार्यालय चाहिन्छ भन्ने छैन । नेपालको काउन्सिलको कार्यालयले निरन्तर रूपमा नेपाली र नेपालीसँग बलियो सम्बन्ध राखेर काम गरिरहेको छ । मैले राष्ट्रपति, प्रधानमन्त्रीलाई पनि भेटें । उहाँहरूसँग म धेरै खुसी पनि भएँ । अर्को, म पनि समय–समयमा बेला–बेलामा नेपाल आइरहन्छु । जहाँसम्म तपाईंको प्रश्न छ, राजदूतावास भए पनि नभए पनि नेपाल क्यानडाबीचको बलियो सम्बन्ध त छँदै छ । 

नेपालले क्यानडामा आफ्नो दूतावास स्थापना गरिसकेको छ, तर नेपालमा क्यानडाको राजदूतावास स्थापना नहुँदा नेपालीलाई महŒव नदिइएको हो कि ? यसबारे के भन्नुहुन्छ ? 
दुई देशबीच बलियो सम्बन्ध छ । हामीले दुई देशबीच सुमधुर हुने गरी सम्बन्धको व्यवस्थापन पनि गरेका छौं । दुई देश र जनताबीचको सम्बन्ध अझ बलियो बन्दै गएको छ । नेपालमा गर्ने सबै किसिमको सहयोग र कार्यक्रमहरू पनि निरन्तर रूपमा अघि बढिरहेको छ । नेपालस्थित काउन्सिलर अफिसमार्फत धेरै काम अघि बढेका छन् । मलाई लाग्छ, नेपालसँगको सम्बन्ध र सहयोगमा दूतावास नेपालमा भए वा नभए केही फरक छैन । 

क्यानडाले नेपालमा धेरै अनुदान र सहायता पनि दिँदै आएको छ । विश्व व्यापार संगठनमा नेपाल प्रवेशपछि नेपालमा क्यानडाले व्यापार प्रवद्र्धनका क्षेत्रमा लगानी गर्न सक्ने अवस्था छ । अन्य क्षेत्रमा लगानी गर्न सक्छ । नेपालमा लगानी गर्नेबारे केही योजना वा लक्ष्य छन् ? 
अन्तर्राष्ट्रिय विकास अनुसन्धान संस्थामार्फत नेपालमा विभिन्न विकासे परियोजनाहरूमा क्यानडाले सहयोग गर्दै आएको छ । हामी नेपालको विकास साझेदारका रूपमा पनि रहेका छौं । आर्थिक वृद्धि गर्ने खालका परियोजनाहरूमा लगानीको सम्भावना छ । विशेष गरी जलविद्युत् विकासमा ख्याति कमाएको क्यानडाले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न सक्छ । क्षेत्रीय सम्पर्कका लागि विमानस्थल, कृषि उत्पादन, प्रविधिका साथै पूर्वाधारहरूको क्षेत्रमा लगानी गर्न सक्ने अवस्था छ । हामीसँग अनुभव पनि छ । नेपालको आर्थिक समुन्नतिका लागि यी सम्भाव्यता बोकेका क्षेत्र हुन् । यसका साथै शिक्षा, आर्थिक वृद्धिदरका कार्यक्रम पनि हाम्रो सहयोग हुन सक्छ । 

क्यानेडियन निजी क्षेत्रले नेपालमा लगानी गर्न सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ? 
लगानीका लागि नेपालमा अवसर छ । यसका लागि नेपालले आर्थिक तथा नीतिगत सुधार र नीतिमा परिवर्तन गर्न आवश्यक छ । सहकार्यका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) लगायतसँग पनि छलफल भएको छ । नेपाल र क्यानेडियन वा भारत–क्यानडाका निजी क्षेत्रबीचमा यस्तो साझेदारीको सम्भावना छ । यसका लागि सरकारको विकास सुधार र नीतिमा परिवर्तन गर्नु आवश्यक छ । नेपालले व्यापार उदारीकरणमा पनि जोड दिनुपर्छ, जसका कारण नेपालमा क्यानडाको निजी क्षेत्रले लगानी गर्ने अवसर र सम्भावना छ । 

अहिले धेरै क्यानेडियन लगानीकर्ताले भारतमा लगानी गरेका छन् । तिनलाई नेपालमा कसरी ल्याउन सकिन्छ ? 
नेपालमा जलविद्युत्, नागरिक उड्डयन, कृषिलगायतका क्षेत्रमा लगानीको सम्भावना छ । उत्पादनशील क्षेत्रमा पनि लगानी गर्न सक्ने अवस्था छ । नेपाल विकास र आर्थिक वृद्धिका लागि युवा देश हो । लगानीका लागि भर्जिन कन्ट्री पनि हो । नेपालमा केही चुनाव भइसकेका छन् भने केही हुने क्रममा छन् । योपछि अझ लगानीका लागि अझ सहज अवस्था आउँछ । सबै त्यसको प्रतीक्षामा छन् । यो अवस्था आउँदै छ, पर्खनुपर्छ । र हामी पनि अवसर हेरिरहेका छौं । 

एडीबी, विश्व बैंक, जाइकालगायतले नेपालमा लगानी गर्नका लागि एउटा रणनीति लिएका छन् । क्यानडाले पनि नेपालमा लगानी गर्ने वा सहायता वृद्धि गर्ने रणनीति बनाउँदै छ ? 
त्यो अहिले छैन, तर हामीसँग अन्तर्राष्ट्रिय सहयोग गर्ने नीति आएको छ । हामी प्रत्येक देशलाई लक्षित गरेर परियोजना अघि बढाउँछौं । यो क्रममा नेपाल पनि प्राथमिकतामा पर्छ नै । यसमार्फत विभिन्न क्षेत्रमा साझेदारी, सहायता र लगानी हुन्छ, तर क्यानडाले अन्य देश वा संस्थाले झैं दीर्घकालीन रणनीति भने बनाएको छैन । 

धेरै नेपाली क्यानडामा छन् । हालैको अमेरिकी रणनीतिमा परिवर्तनले क्यानडामा कुनै असर गर्छ ? 
क्यानडा समावेशी, बहुसंस्कृति, बहुविविधता भएको राष्ट्र हो । यसमा कुनै परिवर्तन आउँदैन । क्यानडामा नेपाली विद्यार्थी मात्र होइन, अन्य विभिन्न क्षेत्रमा पनि नेपालीहरू छन् । कतिपय क्यानेडियन नेपालमा पनि छन् । यसबाट दुवै देशबीच जनस्तरमा नै बलियो सम्बन्ध पनि हुन्छ । क्यानडामा नेपालीका लागि काम गर्ने राम्रो वातावरण छ । विगत ५० वर्षभन्दा बढी समयदेखि नेपाल तथा क्यानडाका जनता–जनताबीच सम्बन्ध छ । त्यसैले हामीले आफ्नो नीतिमा कुनै परिवर्तन गरेका छैनौं । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडामा पनि छ । यो विश्वमा रहेका नेपालीहरूसँग समन्वय गर्ने तथा लगानी तथा पर्यटन प्रवद्र्धन गर्ने संगठन पनि हो । जनता–जनताबीचको सम्बन्धका लागि क्यानेडियन राजदूतावासले योसँग मिलेर अघि बढ्ने कुनै योजना छ ? 
हामी नेपालका विभिन्न समुदायसँग सहकार्य गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा छौं । यस्ता संस्थाहरूसँग मिलेर सम्बन्धलाई बलियो बनाउन सक्रिय हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसैले हामी विभिन्न समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा स्पष्ट छौं । यस्ता समुदायमार्फत शिक्षा र अवसर अभिवृद्धिमा साझेदारी गर्न सकिन्छ ।