भुवन पौडेल
सोमवार, आश्विन ६, २०७६
1747

आजभन्दा करिब ६ महिनाअघि सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका गणेशराज पोख्रेल बैकिङ क्षेत्रसँग भने सिटिजन्स बैंकको स्थापनासँगै जोडिएका हुन् । बैंक स्थापनाको समयमा नै माथिल्लो तहको जिम्मेवारी सम्हालेका पोख्रेल यसअघि डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए । बैंकिङ क्षेत्रसँग जोडिनुभन्दा अघि शैक्षिक क्षेत्रमा उच्चतहको जिम्मेवारी निर्वाह गरेका पोख्रेलले व्यावसायिक प्रशासनमा स्नाकोत्तर गरेका छन् ।
त्यतिमात्र नभई फाइनान्समा ईएमबीए गरेका पोख्रेलले बैंकिङ र बिमामा एलएलबी गरेका छन् । करिब १४ वर्ष शैक्षिक क्षेत्रको उच्च तहमा रहेर काम गरको अनुभव संगालेका पोख्रेलले बैंकिङ क्षेत्रमा पनि करिब १३ वर्ष बिताइसकेका छन् । प्रमुख कार्यकारीको जिम्मेवारी पाएसँगै सिटिजन्स बैंकलाई अन्यभन्दा फरक बनाएर अघि बढाउने योजनामा रहेका पोख्रेल बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा पनि प्रविधि तथा बैंकिङ क्षेत्रलाई राम्रोसँग बुझेको व्यक्ति हुनुपर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकले नै अनिवार्य गरिदिनु पर्ने तर्क गर्छन् । बैंकहरूको मर्जरको सन्दर्भमा दबाब दिएरभन्दा पनि स्वेच्छिक मर्जर दिगो र प्रभावकारी हुने बताउने उनी नेपाली बैंकहरूले पैसा झिक्नका लागि मात्र एटीएम प्रयोग गरिएको बताउँछन् ।
पैसा जम्मा गर्ने सुविधा पनि एटीएममार्फत गर्ने व्यवस्था गर्नुपर्ने उनको तर्क छ । नेपाली बैंकिङ प्रणाली पनि अन्तर्राष्ट्रियस्तरको भएको हुनाले प्राविधिक जनशक्तिको सन्दर्भमा बैंकहरूले अब सोच्नुपर्ने अवस्था आएको उनको बुझाइ छ । नेपाल राष्ट्र बैंकले कर्मचारीको तालिम तथा सीप विकासका लागि नाफाको ३ प्रतिशत खर्च गर्नुपर्ने भनेर व्यवस्था गरेको, त्यसैगरी सूचना प्रविधिमा पनि १५ देखि २० प्रतिशत लगानी अनिवार्य गराउनु पर्ने उनको भनाइ छ । बैंकिङ क्षेत्र पारदर्शी भएको हुनाले नाफाको विषयमा कुराहरू आइरहेका हुन्छन् । बैंकिङ क्षेत्रबाहेक अन्य क्षेत्रको पनि नेपाल राष्ट्र बैंकजस्तै नियमन निकाय भएर बैंकहरू जस्तो सबै क्षेत्रबाट नियमन भएर काम गरेको व्यवसाय गरेको खण्डमा बैंकिङ क्षेत्रको नाफा केही पनि नदेखिने बताउने पोख्रेलसँग कारोबारकर्मी भुवन पौडेलले गरेको कुराकानी :

छिल्ला दिनहरूमा बैंकहरूले प्रयोग गर्ने प्रविधिमा आधारित भएर हुने अपराध बढेको देखिन्छ । बैंकहरू नाफाको प्रतिस्पर्धामा दौडँदा हुनसक्ने जोखिम नियन्त्रणका लागि गर्नुपर्ने लगानी नगरेको भनिएको छ । यसलाई तपाईंले कसरी हेर्नु भएको छ ?
बैंकहरूले नाफामा केन्द्रित भएर सुरक्षाका क्षेत्रमा लगानी नगरेको भन्ने मलाई लाग्दैन । स्वदेशी बैंकिङ सफ्टवेयर चलाउने बैंकहरूले पछिल्लो समयमा करोडौं रुपैयाँ लगानी गरेर अन्तर्राष्ट्रिय सफ्टवेयर प्रयोग गरेका छन् । त्यसको उदाहरणका लागि सिटिजन्स बैंकले नै केही समयअघि मात्र १२ देखि १३ करोड रुपैयाँसम्म खर्च गरेर सिस्टम परिवर्तन गरेको छ । बैंकले विगत १२ वर्षसम्म स्वदेशी सफ्टवेयर नै प्रयोग गरेका थियौं । त्यो बीचमा त्यस्तो नराम्रो घट्न भने भएन । अहिले हामीले अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर प्रयोग गरेका छौं । त्यसैले पनि बैंकहरूले प्रविधि प्रयोगसँगै त्यसको सुरक्षाका लागि पनि उत्तिकै लगानी गरेका छन् भन्ने लाग्छ । अहिलेको दुनिया भनेको प्रविधिमा जानकार भएको खण्डमा विश्वका कुनै पनि भू–भागमा रहे पनि प्रवेश गर्न सकिने रहेछ । पछिल्लो एटीएमबाट पैसा चोरी भएको घट्नालाई हेर्दा त्यो घट्ना बैंकहरूको प्रविधिमा भएको कमी कमजोरीका कारण भएको जस्तो मलाई लाग्दैन । बैंकहरूले आफूलाई चाहिने र सिस्टमले रिकमन्डेसन गरेकोमा लगानी गरेका छन् । प्रविधिमा लगानी गर्न बैंकहरू हिच्किचाएको अवस्था होइन । सेयरधनीलाई घाटा लाग्छ वा नाफा थोरै हुन्छ भनेर प्रविधिमा लगानी नगर्ने भन्ने कुरा नै हुँदैन । बैंक भनेको सर्वसाधारणलाई पूर्ण सुरक्षाको विश्वास दिएर निक्षेप लिने तथा कर्जा दिने काम गर्ने संस्था हो । विश्व बैंकिङ सेवा पूर्णरूपमा डिजिटल भइसकेको अवस्था छ । तर, नेपालको सन्दर्भमा हामी अझै पनि कतिपय काम वा सेवालाई यान्त्रिकीकरण गर्न बाँकी छ । इक्युपमेन्टमार्फत निक्षेप संकलन गर्ने प्रचलन त नेपाली बैंकिङ प्रणालीमा अझै विकास हुनसकेको छैन । त्यसैले अझै पनि नेपाली बैंकिङ सेवा परम्परागत शैलीमा छ । त्यसैले पनि हामीले प्रयोग गर्ने प्रविधि पूर्ण सुरक्षित नभई हामी आफैँलाई पनि विश्वास हुँदैन । एटीएमबाट पैसा चोरी भएको घट्ना निकै थोरै समयमा केही व्यक्तिले सोचेभन्दा फरक तरिका अपनाएर पैसा चोरेको अवस्था छ । त्यसमा मुख्य कुरा भनेको ह्याकरलाई मद्दत हुने गरी डेटा कहाँबाट लिक भयो भन्ने कुरा हो । त्यसका लागि अनुसन्धान भइरहेका छन् । फरेन्सिकका प्रतिवेदनहरू आउलाउन् । त्यसपछि मात्र थाहा होला । नेपाली बैंकहरू विश्वका बैंकहरूको तुलनामा पूर्ण सुरक्षित छन् भन्ने कुरामा म आफू विश्वस्त छु । केही समयअघि यस्ता घटना भारतमा पनि भएका थिए । तर, भारतमा ह्याकर समात्न सकिएन । नेपालमा सर्भिलेन्स र मोनिटरीको पक्ष प्रभावकारी भएको हुनाले ह्याकर समातिएको अवस्था छ । ह्याकरले आर्टिफिसियल मालवेयर नै क्रियट गरेर बैंकिङ सिस्टममा नै नगई पैसा झिकेका हुन् नि । यो बैकिङ सिस्टममा नभई त्योभन्दा पनि माथि गएर आपराधिक गतिविधि गरेको हुनाले त्यसको सुरक्षाका लागि अपनाउन सकिने उपायका विषयमा सबै बैंक चिन्तित छन् । आज केही बैंकमात्र भएको भए भन्नसक्ने अवस्था छैन । यस्तो समस्या भोलिका दिनमा कुनै पनि बैंकलाई पर्नसक्छ । ह्याकहरू नेपालमै आएर बैंकिङ अपराध गरेको हुनाले पक्राउ परे । तर, यस्तो काम अरु देशमा बसेर गरेका थिए भने ति अपराधी पक्राउ पर्नेसक्ने अवस्था पनि थिएन । त्यसैले गर्दा प्रविधिको प्रयोगसँगै त्यसको सुरक्षाको सन्दर्भमा बैंकहरूले गर्ने लगानीलाई कहिल्यै पनि नाफासँग जोडेर हेरिँदैन । यो भनेको बैंकहरूले गर्नैपर्ने लगानी हो । यसले सर्वसाधारणप्रति अझै विश्वस्त बनाउँछन् । सिटिजन्स बैंकको कुरा गर्दा प्रविधिमा लगानी तथा त्यसको सुरक्षाको विषयमा कुनै पनि सम्झौता गर्दैछ । हामीमात्र नभई अन्य बैंकहरूले पनि यस विषयमा कुनै पनि खालको सम्झौता गर्छन् भन्ने मलाई लाग्दैन ।

बैंकहरूले प्रविधि र त्यसको सुरक्षामा कुनै पनि सम्झौता नगरी लगानी गर्ने गरेको बताउनुभयो । तर, प्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्दै गर्दा त्यसमा हुनसक्ने जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वाधार पनि तयार गर्नुपर्छ भन्ने दूरदर्शी सोच त बैकिङ प्रणालीका मान्छेसँग रहेन छ नि ? एउटा प्रविधिमा आधारित बैंकिङ अपराधको अनुसन्धानका लागि समेत विदेशबाट मान्छे ल्याउनु पर्ने त्यसको अध्ययन अनुसन्धान पनि विदेशमा नै गर्नुपर्ने अवस्था रहेछ ?
पूर्वअनुमान गरेर पूर्वाधार तयार गर्ने सन्दर्भमा बैंकहरूले मात्रभन्दा पनि सरकारका विभिन्न निकायहरूको पनि सहभागिता आवश्यक हुन्छ । सरकारका सुरक्ष निकाय, नेपाल राष्ट्र बैंकहरू आफैँको पहलमा बैंकिङ अपराधी पक्रेर अनुसन्धान भइरहेको छ । यसमा सरकारी निकायले धेरै ध्यान दिनुपर्ने देखिन्छ । जस्तो फरेन्सिक इन्भेस्टिगेनसका लागि जनशक्ति तथा पूर्वाधारको विषयमा बैंकहरूले मात्र चाहेर सम्भव होलाजस्तो मलाई लाग्दैन । यसमा सरकार, नेपाल राष्ट्र बैंक, सुरक्षा निकाय तथा प्रविधि क्षेत्रको र बैंकहरूको सहभागिता हुनुपर्ने हुन्छ । यसको आवश्यक अब अत्यन्तै जरुरी नै भइसकेको देखियो । जनताको पैसा चलाउने भएकाले पनि बैंकिङ क्षेत्र पूर्णरूपमा सुरक्षित भएर अघि बढ्नुपर्छ । त्यसका साथ भविष्यमा हुनसक्ने यस्ता खालका घटनाका लागि सबै सचेत हुनु पनि उत्तिकै जरुरी छ । त्यस्ता घट्नाको अध्ययन अनुसन्धनका लागि आवश्यक पूर्वाधारसमेत तयार गर्नुपर्छ ।
घटना घटिसकेपछि यसमा बैंकर तथा यो क्षेत्रको नियामक निकाय पनि धेरै गम्भीर देखिएको छ । यस सन्दर्भमा कसरी अघि बढ्ने भनेर दर्जनांै मिटिङ बसेका छन् । यसमा बैंकर्स संघले संयोजन गरिरहेको छ । आगामी दिनमा आवश्यकता अनुसारको सम्बोधन हुने तथा कार्यान्वयन हुने आशामा छु ।

बैंकिङ क्षेत्रमा भइरहेको प्रविधि क्षेत्रको जनशक्ति पर्याप्त नभएको र दक्ष तथा क्षमतावान आईटी जनशक्तिलाई आकर्षण गर्न नसकेको हुनाले पनि प्राविधिक सुरक्षाको चुनौती बढेको भनिन्छ, वास्तविकता चाँहि के हो ?
दक्ष तथा अनुभवी आईटी जनशक्ति बैंकिङ क्षेत्रमा भन्दा बाहिर वस्नु परेको छ । बैंक भनेको एउटा संस्था हो । संस्थाभित्र संरचना हुन्छ । सो संरचनाअनुसार जिम्मेवारीसँगै सेवा सुविधा तोकिएको हुन्छ । सोहीअनुसार जनशक्ति नियुक्त गर्ने तथा परिचालन गर्ने गरेका छन् । पछिल्लो समयमा भएका घटनाहरूले योग्य तथा दक्ष जनशक्ति बाहिर बसेर फ्रिलान्सिङ गरेको तथा बैंकमा रहेका आईटी जनशक्ति पनि मोटिभेटेड भएर काम नगरेको भन्ने कुराहरू बाहिर आउन थालेको छ । अब बैंकहरूले आईटीको जनशक्तिलाई फरक ढंगबाट ट्रिट गर्नु गरेर दक्ष तथा अनुभवी मान्छेलाई बैंकिङ क्षत्रेमा चिनाउन पर्ने हो भनेर बैंकहरूमा नै छलफल हुन सुरु भएको अवस्था छ । सिटिजन्स बैंकको सन्दर्भमा आईटीका कर्मचारीको सन्दर्भमा केही सम्बोधन गर्नुपर्ने महसुस गरेको छ । दक्ष तथा अनुभवी जनशक्ति बजारमा उपलब्ध छन् । त्यसैले त्यस्तो जनशक्ति बैंकहरूले दिने गरेको प्याकेजमा आकर्षित हुँदैन कि भन्ने बहस पनि सुनिन थालेको छ । यस सन्दर्भमा सम्बोधन हुनुपर्छ । बैंकहरूले राम्रो जनशक्ति राखेर प्रविधिको सुरक्षाको पार्टमा काम गर्नुपर्छ । विशेष सुविधा दिएर आकर्षण गर्नुपर्छ भने पनि बैंकले त्यसमा हिचकिचाउन हुँदैन भन्ने लाग्छ । बैंकिङ प्रणालीमा भएभन्दा राम्रा मान्छे बाहिर छन् । उनीहरूले बैंकहरूले दिने सेवा सुविधाभन्दा धेरै राम्रो आम्दानी गरिरहेको कुरा सत्य पनि हो ।

नेपाली बैंकिङ प्रणालीलाई पूर्ण सुरक्षित गराउनका लागि बैंकहरूको संस्थागत संरचनामा नै परिवर्तन गरेर सञ्चालक समितिमा बैंकिङ, आईटीलगायतका क्षेत्रको विज्ञहरूको सहभागिता भएको सञ्चालक समिति हुनुपर्ने हो । हाम्रोमा यस्तो अभ्यास हुन नसक्नुको कारण के हो ?
यस्तो अभ्यासका लागि कसैले रोकेको भन्ने त छैन । तर, बैंकको सञ्चालक समिति भनेको कम्पनी ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमार्फत निर्देशित हुन्छ । सञ्चालक हुने प्रक्रियालाई कानुनले नै परिभाषित गरेको छ । बैंक तथा यससम्बन्धी कुराहरू जाने बुझेको व्यक्ति बोर्डमा आएको खण्डमा व्यवस्थापनलाई समेत काम गर्न सहज हुने अवस्था हुन्छ । बैंकको सञ्चालक समितिमा प्रविधि, र प्रविधिमैत्री बैंकिङ सेवा बुझेको व्यक्ति भएन भन्ने कुरामा म सहमत छु । म त भन्छु बैंकहरूको कुल लगानीमा २० प्रतिशत लगानी प्रविधि क्षेत्रमा हुनुपर्छ । बैंकहरूले भवन, जग्गा तथा तमाम फिक्स एसेटमा लगानी गरिरहेको अवस्था छ । त्यसैले बैंकले आईटीमा लगानी गर्न पछि हट्नु हुँदैन । बैंकहरूले आफ्नो पोर्टफोलियो २० प्रतिशत लगानी आईटीमा हुनुपर्छ । नेपाल राष्ट्र बैंकले कर्मचारीको सीप विकास तथा तालिमका लागि नाफाको ३ प्रतिशत लगानी गर्न भनेको छ । त्यसैगरी नाफाको १५ देखि २० प्रतिशत लगानी गर्न सक्नुपर्छ । यो पनि त रिसर्च एन्ड डेभलपमेन्ट हो । त्यो पनि इनोभेसनका लागि गरिने लगानी हो । त्यसका लागि पनि केन्द्रीय बैंकले पनि निर्देशन दिएर प्रविधिमा २० प्रतिशत लगानी गर्न भने हुन्छ । त्यो भयो भने अनिवार्य जस्तो पनि भयो । बैंकहरूले यो क्षेत्रमा लगानी गर्न मानिरहेका छैनन् वा इच्छा देखाएका छैनन् भने नियामक निकायले निर्देशनमार्पmत नै यो व्यवस्था गर्दा उपयुक्त होला । त्यसका साथै आईटी बुझेको व्यक्ति बोर्डमा राख्ने सन्दर्भमा पनि केन्द्रीय बैंकले निर्देशन नै जारी ग-यो भने सबै बैंकले त्यो व्यवस्था पनि गर्छन् । त्यसैले यसका लागि समस्या छ जस्तो मलाई लाग्दैन । बैंकहरूले हृदय खोलेर सुरक्षाको पक्षलाई बलियो बनाउने विषयमा काम गर्ने कोसिस गरिरहेको हुन्छ । हरेक बैंक वित्तीय संस्थाले सुरक्षाका लागि खुला भएर लगानी गर्ने गरेको देख्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकको रिसर्च एण्ड डेभलपमेन्ट विभाग धेरै बलियो छ । त्यो विभागले सबै बैंकिङ प्रणालीलाई हेरेरै बसिरहेको छ । त्यसैगरी अध्ययन पनि गरिरहनु भएको छ । नियामक निकायलाई आवश्यकता महसुस भएको छ भने बैंकहरूलाई नियमन गर्न गाह«ो नै छैन । त्यसका लागि बैंक वित्तीय संस्थाको सञ्चालक समितिमा आईटीको क्षेत्रमा अध्ययन तथा काम गरेको अनुभव भएको एक सञ्चालक हुनुपर्ने तथा हरेक वर्ष आईटी क्षेत्रमा गर्नुपर्ने लगानी समेत तोकिदिएको खण्डमा हरेक बैंक वित्तीय संस्था सोहीअनुसार गरिहाल्छन् नि । यो ठूलो समस्या हो भन्ने लाग्दैन । आईटी तथा सुरक्षाका सन्दर्भमा गर्नुपर्ने काम हो र बैंकहरूले गरिरहेका छन् ।

प्राविधिक सुरक्षाका लागि लगानी बढाउन पनि बैंकहरूको मर्जर आवश्यक रहेको औंल्याइएको छ । फिन्टेकमा लगानी गर्नका लागि बैंकहरूको मर्जर नै गर्नुपर्ने नत्र सम्भव नै भएको हो र ?
मलाई सोध्नु हुन्छ भने बैंकहरूले अहिले पनि फिन्टेकमा पर्याप्त लगानी गरिरहेको अवस्था छ । सबै बैंकहरूले प्रविधिलाई समयसापेक्ष बनाउने विषयमा उत्तिकै संवेदनशील भएर काम गरिरहेको देखिन्छ । त्यसैले फिन्टेकमा लगानी गर्नका लागि मर्जर नै उत्तम विकल्प हो भन्ने सन्दर्भमा मलाई त्यति धेरै ज्ञान छैन । यस विषयमा मैले विचार दिन सक्दिन । अहिले सिटिजन्स बैंकले फिनाकल चलाइरहेको छ । सिटिजन्स बैंक अर्को बैंकसँग मर्जरमा गएको खण्डमा पनि आउने त त्यही फिनाकल नै होला । बैंकको फायरवाल पनि त्यही नै हुने हो । अरु प्रविधिक उपकरण पनि त्यही नै हो । त्यसैले बैंकहरू मर्जर गएपछि प्रविधिमा उल्लेख्य परिवर्तन आउँछ भन्ने लाग्दैन । हामी आईटीका इन्जिनियरसँग बसेर छलफल गरिरहेका छांै । त्यसका साथै आईटीमा यति चिज हुनैपर्छ भनेर आवश्यक कुराहरू केन्द्रीय बैंकले तोकिदिएको पनि छ । त्यसका लागि पनि २ देखि ३ करोड रुपैयाँसम्म थप लगानी गर्नुपर्ने अवस्था छ । त्यसका लागि कुनै बैंकले केही नसोची लगानी गर्न तयार भएकै छन् । मर्जर भए पनि पुँजीको आकार ठूलो हुन्छ । त्यसले लगानी गर्नसक्ने क्षमतामा विस्तार त गर्छ । तर, बैंकको आकार ठूलो भयो भने राम्रो होला भन्ने अनुमान गर्न त सक्छौं । भारत, साउथ अफ्रिकालगायतका विभिन्न देशमा पनि हामीले चलाएको जस्तो सिस्टम चलाई बैंकिङ क्षेत्र चलाएका छन् । अहिलेका नेपाली बैंकहरूको आकारले आईटीमा लगानी कम भयो भन्ने कुरा होइन कि भन्ने लाग्छ । बैंकहरूले गरिरहेका छन् । अझै गर्नुपर्ने ठाँउ देखाइदियो भने बैंकहरू खुसी भएर त्यसमा पनि लगानी गर्न तयार छन् ।

चालू आवको मौद्रिक नीतिले स्वेच्छिक मर्जरको कुरामात्र गरेको छ । त्यसले राष्ट्र बैंकको दबाबमा मर्जरमा जान खोजेका बैंकहरू पनि त्यति उत्साहित देखिएनन् । तर, गभर्नर बैंकहरूको मर्जर गराउने भन्दै बारम्बार फ्लोअप पनि गरिरहनु भएको छ । तर, अर्थमन्त्रीले बाध्यकारी मर्जर उपयुक्त नभएको भनेका छन् । यसले बैंकहरूको मर्जरको विषयलाई द्विविधामा पा-यो होइन र ?
यो धेरै ठूलो कुरा हो । हामीलाई नाफा, निक्षेप, कर्जा कसरी बढाउने भन्ने छ । त्यसका साथै राष्ट्र बैंकलाई पूर्ण पालना कसरी गर्ने भन्नेमै हामीलाई चासो छ । त्यसैगरी कर्मचारीलाई कसरी अभिप्रेरित गर्ने तथा कर्मचारीको उत्पादकत्व कसरी बढाउने भन्नेमा बढी ध्यान छ । सरकारले कुनै पनि नीति अध्ययन अनुसन्धान तथा सोचविचार गरेर ल्याउने भएकाले त्यसलाई सर्पोट नै गर्नुपर्ने हुन्छ । विगतमा सिटिजन्स बैंकले पनि ३ संस्थालाई खरिद पनि गरेको हो । त्यसैले सरकारी निकायले ल्याएको नीतिअनुसार हामीले काम गर्ने हो । आगामी दिनमा बैंक नै तोकेर मर्जर गर्नु भनेर नीति ल्यायो भने पनि गर्नुपर्छ । त्यसमा हामीलाई आपत्ति छैन । आफ्नो भूमिमा काम गर्दा सरकारको नीति नियमको पूर्ण पालना गर्नुपर्छ । हामी आज्ञाकारी समूह हो । यसमा विरोध गर्ने पक्षमा म छैन । सरकारको नीतिअनुसार काम गर्दा नोक्सान हुने पनि होइन ।

सिटिजन्स बैंकको अर्को बैंकसँग मर्जर हुने कुरा कहाँ पुगेको छ ?
नेपाल राष्ट्र बैंकवाट मर्जरको विषयलाई लिएर चिठी आएको हो । त्यो मर्जरको विषयलाई लिएर बैंकको सञ्चालक समितिले पनि सकारात्मक रूपमा नै लिएको छ । मर्जर गर्ने भन्ने कुरा भनेको रातारात हुने कुरा होइन रहेछ । उपयुक्त पार्टनरको खोजीमा छांै । बोर्डमा छलफल भएको छ । त्यसमा बोर्ड नै उपयुक्त पार्टनरको खोजीमा छ । मर्जर साँच्चिकै आवश्यकता हो भने बैंकहरू भनेका निरिह हुन् । केन्द्रीय बैंकले एउटा निर्देशनको भरमा सबै व्यवस्थापन हुने कुरा हो । यसका लागि धेरै हल्लाखल्ला गर्न जरुरी नै छैन । नियामक निकायले यतिभन्दा धेरै बैंक चाहिँदै र यो क्राइटयरियाका आधारमा मर्जर हुनैपर्छ भनेर निर्णय ग-यो भने सबैले मानिहाल्छन् नि । बाध्यकारीभन्दा अवस्थाले सिर्जना गरेको मर्जर दीर्घजीवी हुन्छ । विश्वमा मर्जरहरू असफल भएका उदाहरण पनि छन् । त्यसैले यसलाई उपयुक्त निर्णय लिनुपर्ने आवश्यक छ ।

चालू आवमा पनि सरकारले समयमा खर्च गर्ने अवस्था देखिएको छैन । बैंकहरूले कर्जा प्रवाहमा आक्रामक नै भएर लगानी बढाएका छन् । यसले चालू आवमा पनि विगतमा जस्तो कर्जा लगानी योग्य रकम अभावको समस्या दोहोरिने देखियो नि ?
चाडपर्वको सिजनमा आयात धेरै हुने भएकाले पनि कर्जाको माग बढ्ने गर्छ । बैंकहरूले पहिलो त्रैमासमा लगानी गरेको खण्डमा बाँकी तीनवटा त्रैमासको व्याज आम्दानी गर्ने वातावरण हुन्छ । बैंकहरू सबैले पहिलो त्रैमासमा लगानी बढाउन नै खोज्छन् ।
अहिले विकास निर्माणका काम भइरहेका छन् । उद्योगधन्दा पनि खोल्ने क्रम बढेको अवस्था छ । यसले कर्जाको माग अवश्य बढेको छ । हिजो ठूला निक्षेपकर्ताले पैसा राख्देऊ भन्दा पनि बैंकहरूले नलिएको अवस्था पनि थियो । अहिले बैंकका लागि अवसर पनि हो । कर्जाको मागअनुसार निक्षेपको तारतम्य नमिलेको हो । सरकारले आर्थिक वर्षको अन्त्यमा खर्च गर्नु भन्दा समयमा खर्च गरेको खण्डमा सन्तुलित किसिमको विकास हुन्थ्यो । सरकारले पनि २० देखि २२ प्रतिशत कर्जा लगानीको लक्ष्य लिएको छ । त्यसका साथै राष्ट्र बैंकले स्रोतको व्यवस्थापन गर्नका लागि वैकल्पिक उपायका बाटा पनि खोलिदिएको छ । तर, कर्जा लगानीयोग्य रकम जतिसुकै कसिलो अवस्था देखिए पनि केन्द्रीय बैंकले बैंकहरूलाई नियमन गर्छ । त्यसभित्र विभिन्न रेसियोहरू छन् । त्यो सिमा नाघ्ने वित्तीयकै कारबाही पनि गर्छ । अहिले बैंकहरूले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा आएको पैसा लगानी गरिरहेका छन् । दोस्रो त्रैमासदेखि त्यो पैसा सकिँदै जान्छ बैंकहरूले पनि लगानी घटाउँदै जान्छन् । यो स्वतः नियन्त्रणमा आउँछन् ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिले स्रोतका वैकल्पिक बाटाहरू खोलिदिएको छ । तर, पनि निक्षेपको वृद्धि सकारात्मक देखिँदैन । त्यसैले पनि मौद्रिक नीतिमा गरिएको व्यवस्थाले अहिले सकारात्मक प्रभाव परिसकेको देखिँदैन । आगामी दिनमा विस्तारै त्यसको प्रभाव पनि देखिएला ।

अझै पनि बैंकहरूले कर्जाको ब्याजदर घटाएनन् भनेर व्यवसायीहरूले भन्ने गरेका छन्, ब्याजदर कहिले घट्छ त ?
कर्जाको ब्याजदर घटिरहेको छ । नेपाल राष्ट्र बैंकले बेस रेटको ब्यवस्था गरेको छ । त्यसमा प्रिमियम जोडेर ब्याज लिने व्यवस्था तोकि नै दिएको छ । बैंकहरूको कर्जा तथा निक्षेपको व्याजदर अन्तर पनि घटाइदएको छ । यस्तो अवस्थामा पनि ब्याजदर घटेन भन्नु उपयुक्त हो जस्तो लाग्दैन । अर्को पक्ष बैंकमा लगानी गर्ने लगानीकर्ताले पाउने प्रतिफलबाट पनि हेर्नुपर्छ । गत आर्थिक वर्षमा सिटिजन्स बैंकमा लगानीकर्ताले १५ प्रतिशत प्रतिफल पाउने अवस्था छ । बैंकिङजस्तै कलेज, उद्योगधन्दा खुलेका छन् । यी सबै क्षेत्रमा नियमन र प्रभावकारी नियामक निकाय भइदिए हुन्थ्यो । बैंकहरूले पारदर्शी भएर नियमको पूर्णपालना गरेर लगानीकर्तालाई १५ प्रतिफल पाएको छ । त्यो लगानी पनि ऋणमा लिने हो भने १२ देखि १३ प्रतिशत ब्याज तिर्नुपर्छ । त्यसरी हेर्दा बैंकमा लगानी गर्ने लगानीकर्ता के प्रतिफल पायो त नि ? बैंकिङ क्षेत्र पारदर्शी भएकाले यो क्षेत्रको विषयमा बोल्ने जमात धेरै भयो । बैंकहरूले नाफा गरेमात्र नभई कति लगानी गरेर नाफा गरेका छन् भन्ने कुरालाई पनि हेर्नुपर्छ ।

सिटिजन्स बैंकलाई प्रतिस्पर्धी बजारमा अघि बढाउन तपाईंले कस्तो योजना बनाउनु भएको छ ?
स्थापना भएदेखि सिटिजन्स बैंकमा जोडिएको छु । त्यसैले पनि बैंकमा हरेक पक्षहरूको विषयमा जानकार छु । कुनै पनि संस्था सफल हुनका लागि त्यसका कर्मचारी खुसी हुनुपर्छ भन्ने मेरो सिद्धान्त छ । बैंकका कर्मचारी नै मेरो परिवार हो । यी नै कर्मचारीबाट संस्थाको राम्रो नतिजा ल्याउनु पर्छ भन्ने मलाई थाहा छ । सिटिजन्स बैंक छोडेर जाने अन्य संस्थामा जागिर खान जान्न । यो बैंकबाट बिजनेस लिएर अर्को बैंकमा गएर जागिर खाने भन्ने मलाई छैन । म सिटिजन्स बैंकबाट गएपछि अर्को बैंकमा जागिर खान जान्छु भन्ने पनि लाग्दैन । त्यसैले यो बैंकलाई नै राम्रो गर्ने हो । त्यसका साथै सेयरधनीको नजरमा पनि बैंकलाई राम्रो गरेको व्यक्ति हो भनेर चिनिएर जाने मेरो योजना हो ।
म प्रमुख कार्यकारी भइसकेको पनि बैंकका हरेक शाखाको भ्रमण गर्नेदेखि कर्मचारीको बढुवा पनि गरेको छ । त्यसका साथै विभागहरू स्वायत्त बनाएको छु भने हरेक महिना उत्कृष्ट कर्मचारी तोक्ने अथवा अवार्ड प्रदान गर्ने व्यवस्था गरेको छु । कार्यसम्पादनमा आधारित बजेट बनाएर कार्यान्वयन गरिरहेको छु । कर्मचारीलाई मिहिनेत गरे हुने रहेछ भन्ने सोचाइलाई स्थापित गराएको छु । बैंकभित्र सिस्टम र बाहिर बैंकको इमेज नै हो भन्ने कुरालाई स्थापना गराउन सफल भएको छु । बैंकका सबै कर्मचारीको आवाज एउटै बनाउन सफल भएको छु । सिटिजन्स बैंक भनेको जनताको भरोसायोग्य बैंक हो, राम्रा बैंक खोलेर असल व्यक्तिहरूले नेतृत्व गरेको बैंक हो भनेर स्थापित गराउने योजना छ । त्यसका साथै सहयोगी विकास बैंक मर्जर हुँदैछ । त्यसपछि बैंकका १४ शाखा थप खोलिनेछ । त्यसका साथै आगामी पुससम्ममा बैंकका शाखा संख्या १२५ पुग्नेछ । सरकार तथा राष्ट्र बैंकलाई पूर्ण पालना गरेर असल बैंकको रूपमा स्थापित हुने हो । अनुशासनमा बसेर प्रभावकारी बैंकिङ सेवा प्रदान गरी सन्तुलित प्रतिफल दिने गरी काम गर्ने योजनामा छु ।

सातामा धेरै पढिएको