दीपेन्द्र थापा
बिहिवार, आश्विन २, २०७६
469

नेपालको पर्यटन क्षेत्र अथाह सम्भावना बोकेको क्षेत्रमात्रै होइन अर्थतन्त्रमा यो क्षेत्रको राम्रो योगदान छ । पर्यटन तथा हस्पिटालिटी क्षेत्रको प्रतिनिधित्व गर्ने संस्था होटल संघ नेपालको अध्यक्षमा सृजना राणा छिन् । राणा पर्यटन र हस्पिटालिटी क्षेत्रमा चिरपरिचित छन् । सम्बन्धित क्षेत्रमा गतिलो काम गरेर नाम कमाउन सफल राणा अन्नपूर्ण ग्रुप तथा होटलको कार्यकारी निर्देशकसमेत हुन् । नेपाल चाइना चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिको बोर्ड मेम्बर, भिजिट नेपाल इयर २०२० को कार्यक्रम कार्यान्वयन समिति उपसभापति राणा पर्यटन क्षेत्रको शूक्ष्म अध्येता पनि हुन् । महिला उद्यमशिलताका क्षेत्रमा पनि उत्तिकै सक्रिय उनी महिलाका मुद्दामा समेत विशेष जोड दिन्छिन् । जोन्टा इन्टरनेसनल डिस्ट्रिक २५, एरिया २ को संस्थापक सदस्य छन् । महिला उद्यमी महासंघ, दक्षिण एसिया महिला विकास मञ्च र सार्क चेम्बर महिला उद्यमशील परिषद्को उनी संस्थापक हुन् । नेपाल युथ फाउन्डेसनको सञ्चालक समिति सदस्य र जयन्ती मेमोरियल ट्रस्टको उपाध्यक्ष रहेकी राणा गत वैशाखमा होटल संघ नेपालको अध्यक्षमा निर्वाचत भएकी हुन् । उनीसँग नेपाल भ्रमण वर्ष २०२०, पर्यटन क्षेत्रको विकासका लागि चाहिने पूर्वाधार, नयाँ गन्तव्यको विस्तार तथा वर्तमान पर्यटनको अवस्थालगायतका समग्र विषयमा कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानी :

होटल संघ नेपालको अध्यक्ष पदमा हुनुहुन्छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । हानले सरकारको यो लक्ष्यमा कसरी सहयोग गरिरहेको छ ?
होटल संघ नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्तिका लागि सरोकारवाला विभिन्न पक्षलाई पूर्णरूपमा सहयोग गरिरहेको छ । आसन्न नेपाल भ्रमण वर्ष–२०२० मा आउने पर्यटकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले होटल संघ नेपालले स्ट्यान्डर अपरेटिङ प्रस्युडियर (यसओपिस्) तयार गरिरहेको छ । होटल संघ नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिलगायत सम्पन्न हुन लागेका विमानस्थलहरू नेपाल भ्रमण वर्ष–२०२० भित्रै सम्पन्न हुनका लागि सम्बन्धित निकायमा आवश्यक पहल भइरहेको अवस्था छ । मुलुकका सातैवटा प्रदेशमा प्रदेश सरकार तथा स्थानीय पर्यटन व्यवासयीहरूसँगको सहकार्यमा आतिथ्यतासम्बन्धी विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने साथै पहिचानसहितका नेपाली रैथाने खाना (स्थानीय तह) प्रवद्र्धन गर्ने कार्य अगाडि बढिरहेको छ । त्यस्तै अहिले विश्वभर माइस पर्यटनको विकास भएसँगै हाम्रो मुलुकमा पनि सातै प्रदेशहरूमा ठूला–ठूला बैैठकहरू आयोजना गरी मुलुकमा बढीभन्दा बढी पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ । हान पूर्णतया नेपाल भ्रमण वर्षको सफलताका लागि विभिन्न कार्यक्रमका साथ प्रस्तुत भएको अवस्था छ । हानले नेपाल भ्रमण वर्ष सचिवालयसँग मिलेरसमेत काम गरिरहेको छ । साथसाथै पर्यटकहरूका लागि नेपाल एउटा मुख्य गन्तव्य हुने खालको सन्देश प्रवाह गरी पूर्वाधार तथा हरेक क्षेत्रका फोहोरमैला व्यवस्थापन, होमको सुव्यवस्था, पर्यटकको सेवा सुविधाका लागि दिइनुपर्ने प्रशिक्षण आदिमा पनि जोड दिइरहेका छौं । अन्तर्राष्ट्रिय पर्यटकहरूले सोहीअनुसारको सेवा–सुविधाको माग गर्ने हुनाले प्रतिष्ठानहरूमा कार्यरत कामदार तथा कर्मचारीहरूलाई उच्चस्तरीय तालिम उपलब्ध गराई चुस्त–दुरुस्त सेवा–सुविधा उपलब्ध गराउन हामी कटिबद्ध छौं । हान सोहीअनुरूप अगाडि बढिरहेको अवस्था छ ।

सरकारले २० लाख पर्यटक भित्र्याउन हाम्रा कुन–कुन पक्षमा सुधार गर्नु आवश्यक छ ?
सरकारले लक्ष्य प्राप्तिका लागि सुधार गर्नुपर्ने पक्षहरू त धेरै छन्, तर तीमध्ये केही सुधारात्मक पक्षको कुरा गर्नुपर्दा होटल जति व्यवस्थित तरिकाले सञ्चालन गर्दा पनि औसत कोठाभाडा आय भने त्यति राम्रो छैन । त्यस कारण वार्षिक आय सोचेअनुरूप माथि जान सकेको छैन । जुन स्तरमा पर्यटकहरूलाई हामी व्यवसायीहरूले सेवा तथा सुविधा दिइरहेका हुन्छौं, त्यही सेवा दिएअनुसारको मूल्य प्राप्त गर्न सकेमात्र होटल उद्योग अगाडि बढ्न सक्छ । नत्र भने होटल व्यवसायको रणनीति गलत भएको सावित हुन्छ । यो एउटा सुधार्नुपर्ने पाटो हो ।
त्यसैगरी नेपालमा भित्रिने पर्यटकहरूको संख्या र होटलहरूमा पर्यटकले ओगटेको होटलका कोठाहरू तथ्यांक उपयुक्त तरिकाले नराख्दा समस्या देखिएको छ । साथै हाम्रो जस्तो पुराना होटलहरूमा क्षमताभन्दा बढी कामदार तथा कर्मचारी हुने अवस्थाले समेत थप समस्या तथा चुनौती दिएको छ । उदाहरणका लागि युरोपजस्ता विकसित राष्ट्रहरूमा एउटा रेस्टुराँमा चारजनाले गर्नुपर्ने काम दुई जनाले गर्छन्, तर नेपालको परिवेशमा लगभग उल्टो छ, जुन राम्रो होइन । तर, नेपाल सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषमा व्यवस्था भएको नियमले यस क्षेत्रमा केही राहत पुगेको छ । अझै पनि लगानीकर्ता र रोजगारदाताहरू मिलेर अघि बढ्ने हो भने सम्बन्ध राम्रो बनाएर अघि बढ्न सकिन्छ, जुन विश्वभर उदाहरणीय हुनेछ ।
यतिमात्र होइन, सरकारद्वारा बनाइएका नीति निर्माण, कर, ट्रेड युनियनबाट झेल्नुपर्ने अनेकौं समस्याले गर्दा पनि होटल व्यवसायीलाई धेरै अप्ठ्यारो र मर्का पर्ने गरेको छ । यदि यस्ता समस्या समाधान गरी सरकारले नयाँभन्दा पुराना लगानीकर्ताहरूलाई प्राथमिकता दिन सके पर्यटन क्षेत्र अझ फस्टाउन सक्छ भन्ने हाम्रो ठम्याइ छ । नेपाल सरकारले बेला–बेलामा लागू गर्ने नीति नियम पर्यटनमैत्री हुनुपर्छ, जसले गर्दा लगानी कर्ता एवं कामदार पक्षलाई सुरक्षित महसुस होस् । सुरक्षित तवरले आफ्नो पेसा व्यवसाय सञ्चालन गर्नसक्ने वातावरण विकास भएको खण्डमा लगानीकर्ताहरूलाई थप हौसला र प्रोत्साहन थपिने विश्वास हामीले लिएका छौं ।

नेपालमा गुणस्तरीय पर्यटन ल्याउन नसकेको अवस्था छ, हामी कहाँ चुकेका छौं ? सरोकारवाला निकाय र सरकार कसरी प्रस्तुत हुनुपर्ला ?
नेपाल यस्तो मुलुक हो जहाँ प्राकृतिक, सांस्कृतिक, पुरातत्विक तथा भौगोलिक आकर्षणहरू प्रशस्त मात्रामा रहेका छन् । यहाँको भ्रमण शुल्क, खाना इत्यादि पनि अन्य मुलुकभन्दा धेरै नै न्यून छ, तर पनि यहाँको पर्यटन त्यति गुणस्तरीय तरिकाले फस्टाउन सकेको छैन । यसको मुख्य कारण पूर्वाधारको विकास नहुनु नै हो । राजधानीबाहेकका अन्य विकट ठाउँहरूमा यात्रा गर्न पर्यटकहरूका लागि अझै पनि कष्टदायक छ । यहाँको प्रदूषण, राजनीतिक अनियमितता समेतले पर्यटन क्षेत्रमा नकारात्मक असर पारिरहेका छन् । नेपालमा पर्यटक भित्र्याउन एयर कनेक्टिभिटी बढाउनुपर्छ । युरोपबाट नेपालसँग सीधा हवाइसेवा छैन, जसले गर्दा नेपाल आउने पर्यटकका लागि हवाई टिकट महँगो पर्छ । नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउनका लागि नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुपर्छ । निगमको विमानमार्फत युरोपलगायतका मुलुकमा उडान भर्नुपर्छ, जसले गर्दा दुई देशबीच सीधा हवाई मार्गले जोड्छ भने टिकट पनि सस्तो भएर पर्यटकको आगमनमा उल्लेख्य वृद्धि हुन्छ । निगमलाई संसारभर उड्ने वातावरण विकास गर्नु आजको आवश्यकता हो । अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानलाई प्रभावकारी र विश्वसनीय बनाउनुपर्छ । आधुनिक प्रचार–प्रसारको माध्यम (डिजिटल)को प्रयोग गरेर नेपालमा पर्यटक आउने सम्भाव्यता भएका मुलुकहरूमा धेरैभन्दा धेरै प्रचारप्रसार गरी नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचार गर्नुपर्छ ।

नयाँ पर्यटक गन्तव्यको विकास गर्न नसक्नु र हाम्रो पर्यटक गन्तव्य विस्तार गर्न नसक्दा पर्यटक आगमन उल्लेखनीय नभएको हो ?
मैले अघि पनि भनिसकें कि पर्यटन क्षेत्रमा रहेका विभिन्न झमेला तथा समस्याहरूले यस क्षेत्रमा असर पारिरहेको छ । हामीले पर्यटकीय क्षेत्र भनेर घोषणा गरेका गन्तव्य स्थलहरूसम्म पुग्नका लागि पर्यटकहरूले सकस खेप्नुपरेको छ । नेपालमा अन्य कैयौं सुन्दरस्थलहरू छन् जसलाई हामीले पर्यटकको मागअनुसार विस्तार गर्न नसकेको अवस्था छ । विकट क्षेत्रका प्राकृतिक छटाहरू उजागर हुन नसक्दा पनि देशले पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान दिन नसकेको अवस्था छ । यसले मुलुकको आर्थिक पक्षमा पनि प्रत्यक्ष असर पारिरहेको छ । हालसालै सरकारले ३० पर्यटकीय साहसिक गन्तव्यहरूको विकास गरिरहेको छ । यसको विकाससँगै पर्यटको बसाइ अवधि लम्बिनेछ र पर्यटकको रोजाइका क्षेत्र बाँडिनेछन् । यसले गर्दा अन्य पर्यटकीय गन्तव्यहरूको विकास हुनेछ । नेपालमा पर्यटन उद्योगको सम्भावना पर्याप्त रहेको छ । यसका लागि हामीले हवाइमार्ग विस्तार गरी नेपाल वायुसेवा निगमलाई संसारभर उड्ने वातावरण विकास गर्नु आजको आवश्यकता हो ।

हाम्रो हालको पूर्वाधारले कति पर्यटकलाई कुन तहसम्मको (हस्पिटालिटी) सेवा सुविधा प्रदान गर्न सक्छौं ? के हामी २० लाख पर्यटकलाई सेवा दिन सक्छौं ?
उपत्यकाभित्रका तथा होटल संघ नेपालका सदस्य होटल तथा रिसोर्टहरूले पर्यटकहरूलाई उच्चस्तरको सेवा प्रदान गर्नेमा कुनै दुईमत छैन । उपत्यकाबाहिर घुम्न मन पराउने पर्यटकहरूका लागि भने नेपाली मौलिकता झल्कने खालका सेवासुविधा दिने उद्देश्यले नै हामीले उपत्यकाबाहिरका स्थानीय क्षेत्रको संस्कृति रीतिरिवाज, नृत्य, रहनसहन आदिलाई नेपाल भ्रमण वर्षको मुख्य आकर्षण बनाउने तयारीमा छौं । विशेषगरी हाम्रो स्थानीय रैथाने खाना तथा परिकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने जमर्को समेत हामीले गरिरहेका छौं । त्यसकारण सो समयमा भ्रमण गर्ने पर्यटकहरूलाई स्थानीय परिकारले स्वागत गर्ने हाम्रो योजनामा छ । साथै नेपालको सातैवटा प्रदेशमा रहेको मुख्य विशेषतासमेत उजागर गरी यसलाई विश्वसामु चिनाउने तयारी पनि जारी छ । यी सम्पूर्ण योजनाहरू २० लाख पर्यटकलाई सेवा प्रदान गर्ने लक्ष्यसहित आयोजना गर्दैछौं । हामी आएका २० लाख पर्यटकलाई सेवा प्रवहा गर्न सक्षम रहेका छौं । यसका लागि हामीले क्रमिक रूपमा रहेका कमी–कमजोरीहरू सुधार गर्दै लानु भने जरुरी छ ।

होटलहरूले पर्यटक भित्र्याउने नाममा गुणस्तरीय पर्यटक नभित्र्याएको आरोप छ नि, कम तारे होटलले पनि सस्तोमा सेवा प्रदान गरिरहेको भनिन्छ ?
त्यस्तो होइन, हामीले पर्यटकको गुणस्तरीयताभन्दा पनि हामीले पर्यटकलाई दिने गुणस्तरीयतामा सजग छौं । पर्यटकहरूले आफ्नो हैसियतअनुसार नै तारे होटलहरू छनोट गर्ने गरेको पाइन्छ । मेरो विचारमा सम्पूर्ण होटल तथा लजहरूले आफ्नो तर्फबाट पूर्णरूपमा सेवा–सुविधा दिन सक्नुपर्छ जस्तो मलाई लाग्छ । कम तारे होटलहरूले सस्तो सेवा दिने भन्नेमा म पूर्ण सहमत छैन । सबैले आ–आफ्नो तर्फबाट उच्चस्तरीय सेवा दिएमात्र पर्यटकहरूको नेपालप्रतिको आकर्षण बढ्न सक्छ । खानाको सेप्टीमा हामी पर्यटन व्यवसायी र सरकारले ध्यान पु-याउनुपर्छ । आर्गानिक खानाको विकास हामीले गर्नुपर्छ । पर्यटकलाई सरसफाइमा विशेष ध्यान पु-याउँदै सेवा प्रदान गर्नेछौं ।

हानको भावी योजना के–के छन् ? हानले तपाँई को कार्यकालमा देखिने गरी पर्यटकीय क्षेत्रमा के–के सुधार गर्न पहल गर्छ ?
हानका योजनाहरू विशेषगरी होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार गर्नेमै केन्द्रित रहनेछ । यतिमात्र नभएर मुलुकको राजनीतिक उथलपुथल तथा उतारचढावका कारण असर परेको पर्यटन तथा होटल व्यवसायलाई कसरी पुनरुत्थान गर्ने भन्नेबारे कार्यक्रमहरू गर्ने हानको लक्ष्य छ । संघको योजना पर्यटन क्षेत्रलाई बलियो तथा प्रभावशाली रूपमा अन्तर्राष्ट्रियस्तरमा लैजाने समेत छ । जेहोस्, मेरो कार्यकालभित्र संघमार्फत पर्यटकीय क्षेत्र तथा होटल व्यवसायमा उल्लेखनीय योगदान पु-याउनु नै संघको मुख्य योजना तथा लक्ष्य रहेको छ । मेरो कार्यसमितिले पूर्णरूपमा यही कुरामा केन्द्रित भएर काम गर्नेछ ।

पर्यटक क्षेत्रको सम्भावना देखेर नेपालमा लगानी बढिरहेको अवस्था छ, यसले गर्दा अस्वस्थ प्रतिस्पर्धा बढेर गएको हो ?
नेपाल एउटा यस्तो मुलुक हो जहाँ पर्यटन व्यवसाय सबैभन्दा मुख्य आर्थिक स्रोत हो । नेपाल सरकारले समेत यो क्षेत्रलाई प्राथमिकताको विषयमा राखेको छ । बढी सम्भावना भएका कारण व्यवसायीहरूको यस क्षेत्रमा चासो तथा आकर्षण बढेको हुनसक्छ । तर, सरकारले स्थापना हुन लागेका नयाँ होटल, रिसोर्ट आदिको स्तरीयताको अध्ययन गरेर मात्र व्यवसायका लागि अनुमति दिएमा राम्रो हुने थियो, जसले गर्दा अस्वस्थकर प्रतिस्पर्धामा केही सुधार आउने थियो ।

नेपालको पर्यटन उद्योग फस्टाउनका लागि सरकार, निजी क्षेत्रले कस्तो भूमिका खेल्नुपर्छ ?
काठमाडौंमा प्रशस्त मात्रामा होटल निर्माण भइसकेका छन्, तसर्थ सरकार तथा निजी क्षेत्रले उपत्यकाका होटलहरूलाई भन्दा ग्रामीण भेगको विकासका लागि त्यहाँको संस्कृति तथा मौलिकता उजागर गर्ने हिसाबले होमस्टेहरूलाई बढावा दिनसके पर्यटकको आवागमनमा उल्लेखनीय सुधार आउन सक्छ । उदाहरणका लागि केही समयअघि भुटानको एउटा दुर्गम गाउँमा पर्यटकहरू पुग्दा त्यो ठाउँ धेरै नै फोहोर एवं दयनीय अवस्थामा भेटियो, तर भुटानी सरकारले त्यस क्षेत्रलाई आवश्यक सुधार गरी हाल सबैभन्दा सुन्दर एवं उच्चस्तरीय होमस्टे रहेको ठाउँमा परिणत गरिदियो । यसबाटै बुझ्न सकिन्छ कि असम्भव भन्ने केही पनि छैन । त्यसैले नेपालको ग्रामीण भेगमा पनि विकासका पूर्वाधारहरू स्थापना गरी पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भन्ने मलाई लागेको छ । नेपालका प्रमुख पर्यटकीय क्षेत्रमा सुरक्षा कायम गर्नुपर्छ, जबकि पर्यटकले ती क्षेत्रमा निर्वाध भ्रमण गर्दै रमाइलो महसुस गरून् । भूकम्पबाट ध्वस्त भएका सम्पदाहरूको पुनर्निर्माणमा पनि सरकारले तदारुकता देखाउनुपर्छ । धेरै पर्यटक नेपालको प्राकृतिक सैन्दर्यता र नेपाली संस्कृतिको अध्ययन गर्न आउने भएर पनि हामीले यो क्षेत्रमा सुधार गर्नुपर्छ । साथै पर्यटन तथा होटल व्यवसायको विकासको मूल साँचो नै सरकार तथा निजी क्षेत्रसँग रहन्छ भन्ने मैले बुझेको छु । त्यसैले सरकारद्वारा जारी गरिने नीति–नियम यस क्षेत्रलाई कतातिर लैजान्छ भन्ने कुरामा भर पर्छ । सरकारद्वारा बनाइएको नीति, नियम र कानुनले यो क्षेत्र तथा होटल व्यवसायीलाई कुनै पनि तरिकाले नकारात्मक असर नपर्ने गरी नीति–नियमको तर्जुमा गर्नुपर्छ । साथै पर्यटन तथा होटल व्यवसायलाई प्राथमिक विषय तथा क्षेत्रमा राखी सोहीअनुसार नीति–नियम कार्यान्वयन गर्नुपर्छ । विमानस्थल नै कुनै पनि देशको ढोका भएकाले विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको मापदण्ड भएको बनाउनुपर्छ । सडक विस्तार गरी पर्यटकका लागि यात्रा सहजीकरण गर्नुपर्छ । आन्तरिक उडानमा सरकार र निजी हवाई सेवाप्रदायक कम्पनीले जोड दिनुपर्छ । यसले गर्दा हाम्रो प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको गतिविधि बढ्न जान्छ ।

नेपालको प्रचार–प्रसारमा कम भएको हो ? पर्यटनसँग सम्बन्धित संस्थाहरूले आफ्नो दायित्व पूरा गरेका छन् ?
तुलनात्मक रूपमा भन्नुपर्दा विश्वसामु नेपालको प्रचारप्रसारमा सोचेभन्दा केही कमी नै भइरहेको छ । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल र सार्थक तुल्याउनका लागि पर्यटनसँग सम्बन्धित सम्पूर्ण सरकारी तथा निजी संघ–संस्थाहरूले आफ्नो तर्फबाट सक्दो पहल गर्नुपर्छ । किनभने मेहनत नगरी फल प्राप्त गर्न सकिन्न । हामी नेपाली परम्पराबाटै प्रचारप्रसार गरेर नेपालको पर्यटन उद्योग फस्टाउने काम गर्न सक्छौं । ‘अतिथि देवो भवः’ योे हाम्रो मन्त्रलाई अंगीकार गर्दै पर्यटकसँग गरिने व्यवहार नम्र र सहयोगी बनाएर पर्यटन आगमनलाई सहजता दिनुपर्छ ।

होटल क्षेत्रमा गर्नुपर्ने सुधार र सरकारबाट हानको अपेक्षा के हो ?
होटलहरूको अहिलेको अवस्था हेर्दा त्यति चित्तबुझ्दो छैन । नेपाल सरकारबाट बनेका पर्यटनसम्बन्धी व्यवस्था, नीतिनियम आदिमा सुधार गर्नुपर्ने देखिन्छ । होटल व्यवसायीहरूले पनि आफ्नो कम्पनीअन्तर्गत कार्य गर्ने कर्मचारीहरूको उच्चस्तरको परीक्षण, तालिमजस्ता कुरामा आवश्यकताअनुरुप ध्यान पु-याएको देखिंदैन । साथै देखावटीपनाभन्दा बाहिर आई हृदयदेखि नै पर्यटकको सेवा र सत्कारमा ध्यान दिन सके यस क्षेत्रमा अझ बढी परिवर्तन ल्याउन सकिन्छ भन्ने मलाई लाग्छ । विशेषगरी हामी पर्यटन व्यवसायीहरू देशको आर्थिक उन्नति उकास्न लागिपरेका छौं, तर यही व्यवसायमा नै विभिन्न विषयमा लिइने गरेको अधिकतम करले हामी साँच्चै धान्नै नसक्ने अवस्थामा छौं । यसमाथि पुनर्विचार गरिनुपर्छ भन्नेबारे सरकारसमक्ष अनुरोधसमेत गर्न चाहन्छु ।