कारोबार संवाददाता
बुधवार, आश्विन १, २०७६
436

वैदेशिक रोजगारमा रहेका नेपालीहरूको हकहितका लागि सरकारबाट मान्यता प्राप्त संस्थाको नजिँकैदै गरेको अधिवेशनलाई गल्फबाट पनि निकै चासोको रुपमा हेरिएको छ । नेपाल छाडेर विदेशमा स्थायी बसोबास गर्ने नेपालीहरूको अवधारणामा सुरु भएको संस्थामा अहिले भने दुई वर्ष नेपाल छोडेर विदेश बसेको नेपाली नागरिक यसको सदस्य बन्न सक्ने हँुदा यसको दायरा फराकिलो हुँदै रोजगारको लागि अत्यधिक नेपाली रहेका गल्फतिर पनि फैलिँदै गएको छ ।

वैदेशिक रोजगार सुरक्षित त मर्यादित हुनुपर्छ
डिबि क्षेत्री
महासचिवका उम्मेदवार
म मध्यपूर्व संयोजक हुँदा ल्याएको सामाजिक सुरक्षा अन्तर्गतको हजारे अभियानलाई पूर्णता दिँदै बाँकी रहेका यसको कार्यान्वयनका पक्षहरूलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई दबाब दिनेछु । वर्सौसम्म विदेशमा बसेर काम गरेको नेपाली नागरिक नेपाल फर्कंदा विदेशमा सिकेको सीपले आफ्नै देशमा केही गर्न सक्ने वातावरणको सिर्जना गर्नुपर्छ । यतातिर राज्यले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । दस वर्षसम्म विदेशी भूमिका पसिना बगाएर पठाएको रेमिट्यान्सले चलेको देशमा ऊ आफ्नै देश फर्किंदा त्यही रेमिट्यान्सकै आधारमा सरकारले उसले नेपालमा गर्ने व्यवसायमा लगानी गरिदिनुपर्छ । त्यति मात्रै नभएर वैदेशिक रोजगारमा जाने नेपालीहरूलाई सरकारले गर्ने व्यवहारमा केही परिवर्तन गर्नुपर्ने देखिन्छ । उदाहरणको लागि एक नेपाली वैदेशिक रोजगारिमा जाँदा केही कारणवश अलपत्र हुन गएमा वा विदेशी भूमिमा उपचार नपाएर छटपटिरहेको अवस्थामा राज्यले तुरुन्त एक्सन लिनुपर्छ । त्यति मात्रै होइन, बिनाकारण विदेशी भूमिमा कतिपय नेपालीहरूलाई मृत्युदण्डको सजाय पनि सुनाइएको छ । अहिलेसम्म त विभिन्न देशहरूमा रहेका सामाजिक संघसंस्थाहरूले यस्ता विपत्तिमा सहयोग गर्दै आउनुभएको छ । यस्तो बिपत्तिमा राज्यको सहयोग खासै देखिँदैन । त्यसैले सुरक्षित वैदेशिक रोजगारको लागि राज्यलाई जिम्मेवार बनाउन मेरो महासचिवमा उम्मेदवारी हो ।

श्रमिक मजदुरको हितको लागि
नरेन्द्र भाट
उपाध्यक्षका उम्मेदवार
विशेषतः श्रमिक मजदुरहरूको हितमा समस्या पहिचान गरी समाधान गर्न नेपाल सरकारसँग पहल गर्ने र वैदेशिक रोजगारीबाट फर्किसकेका नेपालीहरूलाई स्वदेशमा नै स्वरोजगार बनाउन विशेष योजनासहित कार्ययोजना बनाउने र सिकेको सीप र क्षमतालाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिने हुँदा नेपाल सरकारसँग समन्वय गरेर परियोजना बनाउनको लागि त्यस्तै नेपाल पर्यटन बर्ष सफल पार्नको लागि र विदेशमा नेपालको प्रचारप्रसारसँगै विदेशी पर्यटकहरू देशमा भित्र्याउँदै देशको विकासको लागि वैदेशिक लगानी भित्र्याउने तिनै वैदेशिक लगानीमा हाल विदेशमा रहेका नेपाली कामदारहरूलाई काम दिन सकिन्छ । जसले गर्दा अदक्ष र अर्धदक्ष वैदेशिक रोजगारमा जाने वातावरणको अन्त्य हुन्छ । त्यसैले मजदुरको हितमा काम गर्नको लागि मेरो उम्मेदवारी उपाध्यक्षमा छ ।

अब सबैतिर युवाको पहुँच हुनुपर्छ
सुदिप कार्की
युवा संयोजकका उम्मेदवार
वैदेशिक रोजगारको क्षेत्रमा नेतृत्व गर्नमात्रै होइन, अब देशका सारा ठाउँमा युवाले नेतृत्व गर्नुपर्छ । सम्भवतः म यस संगठनमा कम उमेरमा एनसिसि अध्यक्ष बन्ने व्यक्ति हुँ । जुन जोसजाँगर र उत्साह युवामा हुन्छ, त्यो अरुमा त्यत्ति भेटिँदैन । एनसिसि अध्यक्ष हुँदै हाल केन्द्रिय सदस्य रहेर काम गर्दै जाँदा मेरो अनुभवले त्यही भन्छ । वैदेशिक रोजगारीको लागि कयौ युवा खाडीमा छन् । उनीहरू सीप सिकेर दक्ष भइसकेका छन् । अब उनीहरूलाई देशमा अवसरको खाँचो छ । खाडीमा युवाले सिकेको सीपलाई मात्रै देश निर्माणमा लगाउन सकियो भने देश यिनै युवाको हातबाट बन्छ । खाडीमा विकास गर्न सक्ने नेपालीहरू अब केही कुरामा पनि कम छैनन् । उनिहरूलाई सहि मार्गनिर्देशनको खाँचो छ । त्यही मार्ग निर्देशनसहित देश निर्माणमा युवाको महत्वपूर्ण भूमिकाको लागि । मेरो उम्मेदवारी युवा संयोजकमा हो ।

श्रमिकका समस्यम समाधानका लागि मेरो उम्मेदवारी
आर के शर्मा
सचिव पदका उम्मेदवार
मध्यपूर्व संयोजक भएर मध्य पूर्वमा रहेका श्रमिकका समस्याहरू नजिकबाट बुझ्ने मौका पाएको छु । समस्या बुझे पनि त्यसको निराकरणको लागि केही पहल त गरियो तर ती समस्या सबै निराकरण हुन सकेका छैनन् । पटकपटक उठाइएका आवाजले केही समस्यहरू त समाधान भए तर जति हुनुपर्ने हो भएको छैन । निकै पटक आवाज उठाउँदा निकै समस्या रहेको घरेलु कामदारको समस्या केही समाधान भएको छ । त्यस्तै दूतावासबाटै श्रमस्वीकृती हुनुपर्ने कुरा मध्यपूर्वबाट पटकपटक उठ्दै आएको विषय हो । त्यति मात्रै होइन, मध्यपूर्वमा समस्यामा परेका नेपालीहरूमा सरकारको ध्यानाकर्षण हुनुपर्छ । गल्फ भन्नेबितिकै सरकारले हेर्ने नजर पनि अलगै भएजस्तो महसुस भएका कामदारका समस्याहरूलाई न्यूनीकरण र गर्न केही सुझाव समेत तयार पारेको छु । गल्फमा रहेका नेपालीहरूको समस्या र त्यसको समाधानका उपायहरूमा समेत जानकार भएको हुँदा अब ती मुद्दालाई सबैको साझा मुद्दा बनाएर ती समस्या न्यूनीकरणको लागि मेरो सचिव पदमा उम्मेदवारी रहेको छ ।