कारोबार संवाददाता
शुक्रवार, भदौ २७, २०७६
424

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइँदै छ । सरकारले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने भनेर निकै महत्वकांक्षी योजना अघि बढाएको छ । २०७४ साल साउन २९ गते नेपाल भ्रमण वर्ष–२०२० मनाउने घोषणा भएसँगै पर्यटन क्षेत्र तरंगित छ । नेपालको पर्यटन क्षेत्रमा भारतको हिस्सा अग्रणी छ भने चीन र अमेरिकाबाट पनि पर्यटक आउने क्रम बढ्दो छ । हिजोका दिनमा नेपालमा पर्यटक सन्तोषजनक रूपमा आउने देशबाट अझ बढाउनुपर्ने र नयाँ क्षेत्रको खोजी पनि गर्नुपर्नेछ ।
भौगोलिक विविधताले भरिपूर्ण भएकाले नेपालमा पर्यटक आउन रुचाउँछन् तर ती पर्यटकका लागि उचित सुविधा दिनुपर्छ । पर्यटकका लागि चाहिने आवश्यक पूर्वाधार विस्तार गर्नुपर्ने जरुरी छ । नेपालमा सन् २०१७ मा करिब १० लाख पर्यटकले भ्रमण गरेका थिए । दुई वर्षको अन्तरालमा पर्यटकको संख्या दोब्बर बनाउने चुनौती पनि छ । यसै सन्दर्भमा प्रदेशहरूले थालेको तयारीका सम्बन्धमा सरोकारवालासँग कारोबारकर्मीहरूले गरेको कुराकानीको सार :

बढीभन्दा बढी पर्यटक भित्र्याउने कोसिस गरिरहेका छौं
माया भट्ट
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवद्र्धन पुनर्गठन भइरहेको छ । पुनर्गठन गरिसकेपछि अनुमोदन गर्न संघीय मन्त्रालयमा पठाउँछौं । त्यसपछि हामीले नेपाल भ्रमण वर्ष २०२० का लागि अगाडि बढाउँछौं । समितिको बैठक बसेर योजनाहरू तयार गर्ने काम त छँदैछ । त्यसभन्दा अगाडि विभिन्न ठाउँमा सूचना केन्द्र राखेर पर्यटकहरूलाई आमन्त्रण गर्ने, पर्चा–पम्प्लेटहरू वितरण गर्ने काम गरिरहेका छौं । हाम्रो यहाँ रहेका पर्यटकीय क्षेत्रहरू र ऐतिहासिक सम्पदाहरूको प्रचारप्रसार गर्ने काम भइरहेको छ ।
भ्रमण वर्षमा बढीभन्दा बढी पर्यटकलाई भित्र्याउने कोसिस गरिरहेका छौं । सुदूरपश्चिम प्रदेश दुवै छिमेकी मुलुक चीन र भारतसँग जोडिएको छ । दुवै देशबाट पर्यटक ल्याउनुपर्छ र आउँछन् भन्ने मन्त्रालयको आशा छ ।
सुदूरपश्चिम प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक दरबार, कोटहरू, प्राकृतिक पर्यटन क्षेत्रहरू छन् । सुदूरपश्चिम जैविक विविधताले भरिएको छ । कहीं नभएको बाह्रसिंगे शुक्लाफाँटामा पाइन्छ । बडिमालिका, उग्रतारा, त्रिपुरेश्वरी, वैद्यनाथ धाम तथा शैलेश्वरीजस्ता देवीदेवताका स्थानहरू छन् । हामी यी सबैको प्रचार–प्रसार गर्छौं ।
अपि हिमाल र साइपाल हिमाल संघीय सरकारले पाँच वर्ष चढ्नका लागि खुला गरेको थियो तर कोही पनि चढ्न सकेनन् । अहिले हामीले अपि र साइपाल मिसन भनेर बजेटको व्यवस्था गरेका छौं । यसको पनि हामी यही वर्षभित्र अध्ययन गर्नेछौं । समिति बनाइसकेपछि यसका लागि पनि काम गर्छौं । अपि र साइपाल चढ्नका लागि समेत हामीले धेरै ठाउँबाट पर्यटकहरूलाई आमन्त्रण गछौं ।
आन्तरिक पर्यटन विकासका लागि पनि हामीले यो वर्ष बजेट विनियोजन गरेका छौं । पहाडतिर सबै चौधरीले देखेका छैनन् । चौधरीहरूलाई मात्र पहाड भ्रमण गराउनका लागि पनि हामीले बजेट विनियोजन गरेका छौं । तराईका मानिसहरूलाई पहाडतिर लैजाने, होमस्टे सञ्चालन गर्ने, एयरपोर्टको स्तरोन्नतिका लागि संघीय सरकारसँग माग गर्ने, निर्माण भएका एयरपोर्टहरूमा प्लेन उडाउन संघीय सरकारसँग समन्वय गर्ने काम गरिरहेका छौं । धनगढीदेखि दिल्ली र दिल्लीदेखि धनगढी उडानका लागि संघीय सरकारले भारतसँग सम्झौता गर्ने गरी छलफल भइरहेको छ । यो विषयमा भदौ २८ गते संघीय पर्यटनमन्त्री धनगढी आएपछि पनि छलफल गर्नेछौं ।
विशेष गरेर पर्यटन प्रवद्र्धन समिति गठन भएपछि भ्रमण वर्ष सफल बनाउनका लागि काम गर्छ । हामी पनि प्रदेश पर्यटन बोर्ड गठन गर्ने तयारीमा छौं । पर्यटन ऐन पनि ल्याउँछौं । त्यसपछि पर्यटनका कामहरू धेरै हुन्छन् ।
पर्यटनमैत्री व्यवहारहरू बनाउनुपर्नेछ । शान्ति–सुरक्षा पनि कायम गर्नुपर्ने छ । प्रचारप्रसारको पनि कमी छ । यी सबै विषयमा छलफल गर्नु पनि आवश्यक छ । हामीसँग पर्यटनसम्बन्धी तथ्य-तथ्यांकहरूको पनि कमी छ । हामी तथ्य-तथ्यांक पनि राख्ने व्यवस्था गर्छौं । पर्यटकहरूलाई आमन्त्रण पनि गर्छौं र आतिथ्यता राम्रोसँग दिन सक्ने गरी हामीले व्यवस्था गर्छौं । यति गरेपछि पर्यटक आउलान् भन्ने लाग्छ ।
पर्यटन पूर्वाधार विकासका काम पनि भइरहेकै छन् । आन्तरिक पर्यटकका लागि पूर्वाधार विकासका काम भइसकेका छन् । तर, बाह्य पर्यटकका लागि पनि उहाँहरूले हेर्न सक्ने गरी व्यवस्था गर्न मन्त्रालय लागिपरेको छ । बाह्य पर्यटकहरू यहाँ जैविक विविधता, धार्मिक स्थल, भूभागहरू, ऐतिहासिक स्थल हेर्नका लागि आउन सक्छन् । आउने पर्यटकहरूलाई बस्नका लागि यसै वर्षको बजेटमा अतिथि गृह निर्माण गर्ने बजेट राखेका छौं । शैलेश्वरीमा अतिथि गृह छ । बडिमालिकामा अतिथि गृह निर्माण गर्ने योजना छ । भारतसँग जोडिएका सबै सीमा–नाकामा सूचना केन्द्र राखेर पर्यटन गन्तव्यहरूको प्रचार–प्रसार गर्ने योजना छ । यसले गर्दा बढीभन्दा बढी आगन्तुकहरूलाई जानकारी होला र नेपाल भ्रमण वर्ष २०२० मा हाम्रो प्रदेशमा धेरै पर्यटक आउँछन् भनेर मैले आशा गरेको छु ।
सुदूरपश्चिम भ्रमणमा आउने पर्यटकहरूलाई यहींका उत्पादनहरूको परिकार खुवाउने र हामीसँग भएका प्राकृतिक सौन्दर्यलगायतका चिजवस्तुहरू देखाउनेछौं । पर्यटक आए भने यहाँका सबै क्षेत्रलाई फाइदा हुन्छ । गाडी चढ्छन्, रिक्सा चढ्छन्, होटलमा बस्छन्, मन्दिरमा जान्छन्, फूल किन्छन् । उनीहरू यहाँ बसिरहँदा यहींका उत्पादनहरू बढीभन्दा बढी खपत हुन्छन् । यसको फाइदा यहाँका सबै क्षेत्रलाई पुग्छ । हामीले पर्यटकलाई लोभ्याउन सक्ने खालका वस्तुहरू उत्पादनमा पनि जोड लिएका छौं । हामीसँग अहिले जे छ, त्यही नै पर्यटकहरूलाई देखाउनेछौं ।प्रस्तुति : मुकेश चौधरी


भ्रमण वर्षलाई कसरी भव्य बनाउने भन्ने विषयमै तयारी भइरहेको छ
राजन श्रेष्ठ
संयोजक
नेपाल भ्रमण वर्ष २०२०, प्रवद्र्धन समिति
प्रदेश १
नेपाल भ्रमण वर्ष २०२० को तयारी तीव्र रूपमा भइरहेको छ । नेपाल भ्रमण वर्ष २०२० नै किन भन्ने प्रश्न उठ्न सक्छ । २०७२ सालको महाभूकम्प, त्यसपछिको नाकाबन्दी, लामो समयसम्म राजनीतिक अस्थिरता हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालमा सुरक्षा छैन भन्ने सन्देश प्रवाह भएको थियो । कतिपय मुलुकमा अझै पनि नेपालमा भूकम्पको त्रास छ भन्ने सन्देश गएको छ । राजनीतिक समस्या समाधान भएसँगै अहिले स्थिर सरकार छ मुलुकमा । अन्तर्राष्ट्रिय जगतमा नेपालका विषयमा जुन गलत हल्ला फिँजाइएका छन्, त्यसलाई चिर्न पनि भ्रमण वर्ष मनाउनु जरुरी थियो । नेपालमा कुनै समस्या छैन भन्ने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पु-याउनु छ । यसका लागि भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यही भएरै नेपाल सरकारले नेपाल भम्रण वर्ष २०२० आयोजना गर्न लागेको हो, जसका लागि केन्द्रमा मूल आयोजक समिति र प्रदेशस्तरीय नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन समिति गठन भइसकेको छ । प्रदेशस्तरमा गठन भएको समितिले धमाधम काम गरिरहेको छ । हाम्रो प्रदेशको कुरा गर्नुहुन्छ भने एक साताअघि मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा छलफल ग-यौं । कसरी भ्रमण वर्षलाई भव्यता प्रदान गर्ने भन्ने विषयमा गहन छलफल भयो । प्रदेशका पर्यटनमन्त्री जगदीश कुसियैतको पनि सहभागी हुनुहुन्थ्यो । अब फेरि अर्को मिटिङ गर्दैछौं । केन्द्रमा पनि भर्खरै पर्यटनमन्त्रीको उपस्थितिमा पनि मिटिङ भयो । हरेक प्रदेशबाट कम्तीमा १० वटा इभेन्ट छनोट गर्ने विषयमा पनि छलफल भयो । मूल आयोजक समितिले माग गरेको प्रदेशका प्रमुख गन्तव्य र सहायक गन्तव्यका विषयमा छलफल भइरहेको छ । प्रदेश–१ मा थुप्रै पर्यटकीय गन्तव्य छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा प्रदेश १ मै पर्छ । कञ्चनजंघा, मकालु पनि यही प्रदेशमा पर्छन् । धार्मिक पर्यटनको कुरा गर्दा पाथीभरा, बराहक्षेत्र तथा हलेसी पनि छन् । इलाम, श्रीअन्तु, तीनजुरे, भेडेटार, हिले, वसन्तपुर पनि आकर्षक गन्तव्य हुन् । २०२० लाई आधार मानेर आगामी वर्षहरूमा कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउने विषयमा छलफल र अन्तरक्रिया भइरहेका छन् । २०२० लाई प्रचारका रूपमा पनि लिन सकिन्छ ।
भ्रमण वर्षअन्तर्गत नै प्रदेश १ मा ‘हिमालयन समिट’ गर्ने तयारी भइरहेको छ । यसमा मुख्यमन्त्रीज्यूले निकै चासो राख्नुभएको छ । समिटमा नेपालका ८ हजार मिटरभन्दा बढी उच्चाइमाथिका हिमाल चढेका आरोहीहरूलाई निमन्त्रण गर्ने तयारी भएको छ । समिटमा विदेश र स्वदेशका आरोहीहरूलाई उपस्थिति गराउने योजना छ । यो धेरै ठूलो इभेन्ट हुनेछ । यो समिट प्रदेश सरकारको नेतृत्व हुनेछ । यसमा पर्यटन बोर्ड, संघीय सरकार, निजी क्षेत्रलगायतसँग सहकार्य रहनेछ । यो समिटमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा धेरै ठूलो सहयोग पुग्नेछ । प्रदेशका जिल्ला समन्वय समितिमार्फत जिल्लास्तरीय भ्रमण वर्ष प्रवद्र्धन समिति बनाउने तयारी पनि भइरहेको छ । हरेक जिल्लाबाट जिल्लाका महत्वपूर्ण पर्यटकीयस्थलहरूको नाम मागिनेछ, जसबाट प्रचारमा नआएका आकर्षक गन्तव्यलाई ब्रान्डिङ गर्न सकिनेछ । प्रदेशभित्र यति धेरै गन्तव्य छन् तिनको ब्रान्डिङ गर्न सकिएको छैन । प्रचारमा कमी छ । हामीले राम्रो सेवा दिन सक्यौं भने पर्यटकले नै प्रचार गरिदिन्छ । पर्यटक फर्किएपछि आफ्नो देशमा कम्तीमा १० जनालाई नेपालको बारेमा सुनाउँछ । त्यो नै ठूलो प्रचार हो । भ्रमण वर्षलाई मार्केटिङ गर्ने ठूलो अवसरका रूपमा पनि लिनुपर्छ । भ्रमण वर्षलाई भव्य बनाउन सकियो भने त्यसले दीर्घकालसम्म पर्यटन क्षेत्रमा प्रभाव पर्छ । त्यहीअनुसार हामीले प्रदेशमा आउने पर्यटकलाई कसरी सेवा दिने भनेर पर्यटन व्यवसायीहरूसँग पनि छलफल गरिरहेका छौं । भ्रमण वर्षमा पर्यटकलाई स्वागत गर्न व्यवसायीहरू आतुर भएको मैले पाएको छु ।
प्रस्तुति : मीनकुमार नवोदित

भ्रमण वर्षको कार्यविधि नहुँदा काम गर्न अलमल
अग्नि कँडेल
संयोजक
नेपाल भ्रमण वर्ष २०२०, कार्यक्रम कार्यान्वयन समिति, गण्डकी प्रदेश
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी दु:खद निधन भएपश्चात् केही समय पर्यटनमन्त्री नियुक्ति हुन ढिलाइ भएसँगै हाल नेपाल भ्रमण वर्षका कुनै कार्यक्रम अघि बढ्न सकेका छैनन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न अब छिट्टै निर्देशिका ल्याउने तयारी भएको छ । केन्द्रबाटै यस विषयमा चासो नदिएकाले हामी पनि आफ्नो क्षेत्रमा के–कसरी अघि बढ्ने, अलि अलमलमा परेका छौं ।
अबको १० दिनभित्रमा गण्डकी प्रदेशका सरोकारवाला निकाय एवं पर्यटन व्यवसायीहरूसँग एक चरणमा छलफल गर्ने तयारी गरेका छौं । भ्रमण वर्षलाई केन्द्र सरकारले १० करोडमात्र बजेट विनियोजन गर्नु निकै कम भएकाले यसमा रकम अभावले घोषणा गरेको भ्रमण वर्षलाई सबै मिलेर सफल पार्नुपर्छ । राज्यले उचित बजेटको व्यवस्थापन गर्न नसके हामीसँग सहकार्य गरी निजी क्षेत्रको समन्वयमा हामी केही कार्यक्रम गर्न सक्छौं । केन्द्रबाट हाल कुनै निर्देशिका नआएको हुँदा नेपाल भ्रमण वर्ष २०२० लाई के–कसरी काम गर्ने, हामी अन्योलमा परेका छौैं, आफ्नो क्षेत्रका अग्रज एवं सरोकारवाला निकायसँग औपचारिक रूपमा कुनै कार्यक्रमको आयोजना गर्न सकिएको छैन । नेपालको पर्यटन प्रवद्र्धन गर्न शान्त वातावरण र नेपालमा सुरक्षाको प्रत्याभूतिको वातावरण सिर्जना गर्नुपर्छ ।
हिजो बन्द–हड्तालको समयमा पनि नेपालमा आएका पर्यटकहरू हिजो-आज केही ढुक्कका साथ नेपाल आउने वातावरण सिर्जना भएको छ । यद्यपि हामीले हिजोको भौतिक पूर्वाधारले अबको पर्यटनले थेग्न सक्दैन । पर्यटनको क्षेत्रमा धेरै पूर्वाधार निर्माण गर्नुपर्नेछ । हामीले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी गर्नुछ, नयाँ पदमार्गको खोजी गर्नुछ, पर्यटकहरूलाई यहाँको बसाइ अवधि लम्ब्याउने गरी विभिन्न कार्यक्रम दिनुपर्नेछ, गुणस्तरीय पर्यटक भित्र्याउनु छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले हाल प्रदेशमा आन्तरिक भ्रमर्ण वर्ष मनाइरहेको छ ।
सरकारले २०२० मा २० लाख पर्यटक र प्रदेशले सन् २०२२ मा २० लाखको पर्यटक भित्र्याउने लक्ष्य राखेर हिँडिराख्दा पर्यटनको अघोेषित राजधानी पोखरामा हाल पर्यटन प्रवद्र्धन गर्ने खासै कार्यक्रम नआएको सन्दर्भमा अब केन्द्र र प्रदेशले संयुक्त रूपमा पर्यटन प्रवद्र्धन हुने गरी अघि बढ्नुपर्ने अवस्था छ । प्रदेश र केन्द्र सरकारसँग सम्बन्धित रहेर एउटा समिति आवश्यक छ, जुन समितिले यस क्षेत्रको दिगो पर्यटन प्रवद्र्धनमा थप टेवा पु-याउन सकोस् । २० लाख पर्यटक भित्र्याउन प्रदेश र संघीय सरकारको समन्वयमा विश्व बजारमा पुगेर नेपाल शान्त र सुरक्षाको कुनै समस्या नभएको सन्देश दिनु जरुरी छ । हामीले हाम्रा दुई छिमेकी मुलुक भारत र चीनलाई पनि पहिलो प्राथमिकतामा राखेर उनीहरूलाई नेपालमा आउने वातावरण मिलाउनुपर्छ । सन् १९९८ मा नेपाल भ्रमर्ण वर्ष मनाउँदा फरक वातावरण थियो, अहिले धेरै परिवर्तन भएको छ, पहिला र अहिले भ्रमणमा निस्कने पर्यटकहरूको आनीबानी धेरै फरक छ । नेपाल भ्रमण वर्ष २०२० को गण्डकी प्रदेश कार्यक्रम कार्यान्वयन समितिको संयोजकको जिम्मेवार पाएसँगै सबैको राय–सल्लाह लिएर म अघि बढ्नेछु । सबैको साथ र सहयोगले भ्रमण वर्ष सफल पार्नुपर्छ । जसरी प्रदेश सरकारले पर्यटनलाई आर्थिक विकासको मूल आधार पर्यटनलाई बनाएको छ, अन्य प्रदेश सरकारहरू र संघीय सरकारले पनि पर्यटनलाई प्राथमिकता दिनुप-यो र पर्यटन क्षेत्रको पूर्वाधारमा लगानी गर्नुप-यो ।

प्रस्तुति : दीननाथ बराल