कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४
1081

भेषराज दुवाडी चितवनका सफल पर्यटन व्यवसायी तथा उद्योगी हुन् । दुवाडी होटल स्टार बैंक्युटका सञ्चालक, युनाइटेट बेभरेज प्रालिका अध्यक्ष तथा स्यान्डविच होम सोलुसनका सञ्चालक हुन् । आर्थिक तथा सामाजिक विकासका अभियानमा उनी निकै सक्रिय छन् । दुवाडी चितवन उद्योग संघ चितवनका अध्यक्ष हुन् । यस्तै क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्षसमेत हुन् । काठमाडौंमा २०६३ सालदेखि एकल लगानीमा होटल स्टार बैंक्युट सञ्चालन गरेका दुवाडीले ०६६ सालमा रत्ननगर र ०६९ मा भरतपुरमा पनि होटल सञ्चालनमा ल्याएका छन् । युनाइटेड बेभरेज प्रालिमार्फत चितवनमा साझेदारी लगानीमा पहिलो पटक पल्पी जुस उत्पादन गर्दै आएका छन् । यो उद्योगले दैनिक २० हजार लिटर आँप, अम्बा, लिची स्वादको जुस उत्पादन गर्दै आइरहेको छ । उनको साझेदारीमा सञ्चालनमा रहेको स्यान्डविच होम सोलुसनमार्फत स्यान्डविच पफ प्यानलको प्रयोग घरेर भूकम्पप्रतिरोधी संरचना निर्माण गर्ने कामसमेत गर्दै आइरहेको छ । अत्यन्तै कम तौल हुने स्यान्डविच प्यानलहरू फलामे संरचना अथवा सिमेन्टका पिलरहरूमा जडान गरी प्रयोग गरिन्छ । यस्ता प्यानलबाट बनेका आवासहरू तातो–चिसोको असर रोक्ने गरी बनाइएको अत्याधुनिक प्रविधिमा आधरित छन् । मुठीदानबाट सञ्चालित रत्ननगर–१३ स्थित श्रीराम वैदिक संस्कृत गुरुकुलमका अध्यक्ष रहेका दुवाडीको अगुवाइमा ६० जनालाई कक्षा ६ देखि ११ सम्म पूर्ण आवसीय सुविधासहित निःशुल्क संस्कृत पढाउने अभियानमा समेत लागेका छन् । चितवनलाई पर्यटन तथा उद्योग विकास गरेर आर्थिक राजधानीका रूपमा विकास गरिनुपर्छ भन्दै निजी क्षेत्रबाट आवाज उठाउने व्यक्तिबाट चिनिएका चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीसँग कारोबार संवाददाता विप्लव काफ्लेले गरेको कुराकानीको सार:

चितवन उद्योग संघको अध्यक्षको नेतृत्व सम्हाल्नुभएको छ । आगामी कार्ययोजना के–के छन् ?
चितवन उद्योग संघले चितवनलाई आर्थिक राजधानी बनाउनुपर्छ भनेर विगतदेखि नै लबिङ गर्दै आइरहेको छ । नयाँ कार्यसमिति बनेलगत्तै हामीले आगामी कार्ययोजना समेत तय गरेका छौँ, जसमध्ये निर्माणाधीन चितवन प्रदर्शनी केन्द्रलाई पूर्णता दिने, शक्तिखोरमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रलाई द्रुत गतिमा अघि बढाउन आवश्यक राय–सुझाव दिने र चितवनमा औद्योगिक शिक्षालय निर्माणको काम अघि बढाउने लक्ष्य लिएका छौँ । औद्योगिक प्रवद्र्धन र विकासका लागि हाम्रो ध्यान सधैं रहन्छ । संघमा आबद्ध झन्डै ७ सय उद्योगी मात्र होइन, समग्र चितवनको आर्थिक विकास कसरी गर्ने भन्नेबारे नै हामी बढी चिन्तित छौँ । सोही अनुसार नै गतिविधि सञ्चालन गर्दै आइरहेका छौँ ।

औद्योगिक शिक्षालयको अवधारणा ल्याउनुभएको छ, यो के हो ?
भरतपुर–२९ मा जुगेडीमा संघको स्वामित्वमा रहेको पाँच बिघा क्षेत्रफलमा औद्योगिक शिक्षालय बनाउन लागेका छौँ । उद्यमी र उद्योग क्षेत्रको प्राविधिक उत्पादन गर्न शिक्षालय स्थपना गर्न लागिएको हो । नेपालमा उद्योग क्षेत्रमा काम गर्ने दक्ष प्राविधिकको मागलाई परिपूर्ति गर्न शिक्षालय सहयोगी बन्ने अपेक्षा छ । शिक्षालयको प्रारम्भिक काम सुरु भइसकेको छ । ५० जना विद्यार्थीका लागि आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाउनेछौँ । सीपमूलक प्रशिक्षण दिने र औद्योगिक प्राविधिकका लागि प्रयोगात्मक अध्ययन गर्ने व्यवस्था मिलाउने प्रयत्न छ । आर्थिक स्रोत जुटाउने, कस्तो शिक्षालय बनाउने आदिबारे हामी अध्ययनमा लागेका छौँ ।

विगतमा संघमार्फत हुँदै आएको औद्योगिक प्रदर्शनीको तयारी के छ ?
पाँचौँ औद्योगिक प्रदर्शनी गर्ने तयारीमा हामी छौँ । विगतमा सात–आठ दिन हुन्थ्यो । यसपालि हामीले पाँच दिन चल्ने गरी सञ्चालन गर्दै छौँ । चैत २३ देखि २७ गतेसम्म सञ्चालन गर्नेबारे छलफल भइरहेको छ । निर्माणाधीन चितवन प्रदर्शनी केन्द्रमै सो औद्योगिक प्रदर्शनी हुनेछ । सुविधासम्पन हलमा हामीले प्रदर्शनी गर्नेछौँ । ७५ प्रतिशतभन्दा बढीका उत्पादनमूलक उद्योग र तिनका सूचनासहितका स्टल रहनेछन् । २५ प्रतिशत अन्य स्टलमा अटोमोबाइलबाहेकका स्वदेशी उत्पादनलाई प्रोत्साहन दिइनेछ । यस्तै दसैंअगाडि व्यापार मेला पनि गर्नेछौँ । यसपटक हामीले सांस्कृतिक कार्यक्रमलाई त्यति केन्द्रमा राखेका छैनौँ ।
घरेलु तथा साना उद्योग कार्यालयको स्वामित्वको २ बिघा साढे ७ कट्ठा जग्गा २९ वर्षलाई भोगाधिकार गर्ने गरी सम्झौता भएपछि निर्माणको काम सुरु भएको हो । नेपाल सरकारले १५ करोड अनुदान दिएको छ । उद्योगी व्यवसायीले पनि केही लगानी गरेको अवस्था छ । हालसम्म २० करोड खर्च भइसकेको अवस्था छ । मुख्य हलका रूपमा रहेको ‘ए’ ब्लकका तीनवटा भवन अन्तिम चरणमा पुगेका छन् । फुडकोर्ट, बगैँचा, प्रवेशद्वार, सडक, पार्किङ स्थल, सचिवालय निर्माण हुन बाँकी छन् । अहिलेसम्म प्रदर्शनी केन्द्रको ६० प्रतिशत निर्माणको काम पूरा भएको छ । प्रदर्शनी केन्द्र सञ्चालनको जिम्मा संघलाई छ । यो काठमाडौंको भृकुटीमण्डपभन्दा स्तरीय प्रदर्शनी केन्द्रका रूपमा बन्दै छ । नेपाल उद्योग परिसंघसँग पनि आवश्यक सहयोग जुटाउने प्रयासमा छौँ । थप अनुदान लिन सरकारसँग पनि माग गर्ने पक्षमा छौँ । नपुगेको आर्थिक स्रोत स्थानीय उद्योगी–व्यवसायीबाट उठाउन सहयोग रसिद लिएर घरदैलो पनि गरेका छौँ । यो प्रदर्शनी केन्द्रले चितवनसहित समग्र देशकै अर्थतन्त्रलाई चलायमान बनाउन सघाउने अपेक्षा गरेका छौँ । निर्माणाधीन अवस्थामा अन्तर्राष्ट्रिय स्तरको पोल्ट्री एक्स्पो र क्यान मेला पनि भइसकेका छन् । मासिक दुईवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मेला, महोत्सव, प्रदर्शनी मात्रै गर्न सक्ने हो भने उद्योग व्यवसाय प्रवद्र्धन पनि हुनेछ ।

स्थानीय सरकार पनि बनेको अवस्था छ । संघीय तथा प्रदेश सरकार पनि बन्दै छ । निजी क्षेत्रको अपेक्षा के छ ?
चितवन र नवलपुरका स्थानीय सरकारसँग भेटघाट भइसकेको छ । हाम्रो कार्ययोजनाबारे पनि अवगत गराएका छौँ । सरकारले सोच्न नभ्याएको अवस्थामा केही पूर्वाधार विकासमा हाम्रो ध्यान पुगेको भनेर सहयोग दिने प्रतिबद्धता पनि पाएका छौँ । हाम्रो पहलमा बन्दै गरेको चितवन प्रदर्शनी केन्द्र महानगरको पनि गहना हो । चितवनलाई औद्योगिक क्षेत्रका रूपमा उत्पादनमूलक क्षेत्रका रूपमा पर्यटन, कृषिसँगसँगै अगाडि बढाउन खुल्ने भनिएको औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न नेपालभरिकै उद्योगी र लगानीकर्ता आकर्षित भएको अवस्था छ । चितवन सबै भाषाभाषी, जातजातिको समावेशी रूपमा बसोबास भएको साझा जिल्लाका रूपमा रहेको छ । यहाँ सुरक्षा चुनौती नरहेको, बाक्लो बस्ती रहेको र देशकै केन्द्र भागमा रहेकाले चितवनमा उद्योग–व्यवसायमा लगानीमैत्री वातावरण बनाउनुपर्छ भन्ने हाम्रो माग छ । सोप्रति सरकारले पनि राम्रो दृष्टिकोण राख्छ भन्ने विश्वासमा छौँ ।

शक्तिखोरमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्र कुन रूपमा विकास हुनुपर्छ भन्ने लाग्छ ?
सरकारले सातवटै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरिसकेको अवस्था छ । वनक्षेत्रका रूपमा रहेको करिब २ हजार १५ बिघा जग्गामध्ये २ सय ७४ बिघा नेपाली सेनालाई, केही जग्गा सामुदायिक वन, पार्क, समाधिस्थल, मन्दिरलगायतलाई र १ हजार ७ सय बिघा जग्गामा हरियाली पार्कसहितको औद्योगिक क्षेत्र निर्माण गर्ने गरी ‘डीपीआर’ को काम अघि बढेको छ । औद्योगिक व्यवस्थापन लिमिटेडले डीपीआर बनाउने काम अघि बढाएको छ । २५ प्रतिशत ठाउँ छोड्नुपर्ने प्रावधानलाई आधार मान्दा झन्डै १२ सय उद्योग त्यहाँ स्थापना हुन सक्ने अवस्था छ ।
नेपालमै हालसम्म हरियालीसहितको औद्योगिक क्षेत्र सञ्चालनमा आएको थिएन । पर्यटकीय हिसाबले चितवन अगाडि छ । वातावरणमैत्री उद्योग सञ्चालन हुनेछन् । चितवनभित्र सञ्चालनमा अप्ठ्यारोमा रहेका केही उद्योग पहिलो चरणमा त्यहाँ स्थानान्तरण हुनेछन् । बहुराष्ट्रिय कम्पनी र ठूला उद्योग पनि त्यहाँ सञ्चालन हुनेछन् । झन्डै ६ महिनापछि सो औद्योगिक क्षेत्र कस्तो मोडलमा चल्ने भन्नेबारे अध्ययनको निष्कर्ष विज्ञ टोलीले सरकारलाई दिनेछ । रोजगारी सिर्जना, राजस्व वृद्धि हुने, केही हदसम्म आयात प्रतिस्थापन गर्दै निर्यात बढाउन भूमिका खेल्नेछ । हाम्रो माग भोगाधिकारसहितको औद्योगिक जमिन चाहियो भन्ने हो । शक्तिखोरको विगतमा जनमुक्ति सेना बसेको जमिन, चारैतिर अव्यवस्थित अतिक्रमित हुँदै गरेको जमिनमा औद्योगिक क्षेत्र बनाऊँ भनेरै हाम्रो पहलमा उद्योग मन्त्रालयमा विगतमै प्रस्ताव गरेका थियौँ । कम्तीमा १ सय वर्षसम्म भोगाधिकारसहितको जमिन पाउने गरी व्यवस्था मिलाउनुपर्छ भन्दै आएका छौँ । बनेका संरचना, लगानी सुरक्षा र बंैकिङ कारोबार गर्न सहज हुन्छ भन्ने हाम्रो राय हो, जसले छोटो अवधिमै उद्योग बन्द गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । सरकारले लिने कर तथा अन्य नियम परिधिमै हामी हुन्छौँ । तर, हालसम्मको व्यवस्थाअनुसार सरकारले औद्योगिक क्षेत्र बनाएर उद्योगीलाई भाडामा मात्रै लगाउनुभन्दा लगानीमैत्री वातावरण कसरी बन्छ भनेर सोच्नुपर्छ । गत फागुन ३ गते सरकारले औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । छिटो कस्तो मोडलमा सञ्चालन गर्ने भन्ने टुंगो लागोस् भन्ने हाम्रो भनाइ हो ।

चितवन आर्थिक राजधानी बन्ने आधार के छन् ?
चितवन पर्यटनका दृष्टिले तेस्रो गन्तव्य हो । अब राप्ती, नारायणी किनारमा पनि पर्यटन गतिविधि बढाउन पूर्वाधार विकास गर्नुपर्छ । चितवनको पर्यटन अहिले जैविक पर्यटनमा सीमित छ । अब जलयात्रा, धार्मिक पर्यटन, औद्योगिक पर्यटनजस्ता दृष्टिले चिनाउनु जरुरी छ । जंगलमा घाँसे मैदानको कमी भएको छ । जसले वन्यजन्तु मानवबस्ती पस्ने क्रम बढेको छ । अब पर्यटकलाई देखाउन मिल्ने जनावर नै लोप हुन्छन् कि भन्ने खतरा पनि छ । मानव र जनावरबीचको द्वन्द्व कम गर्न पर्याप्त घाँसे मैदान बढाउनुपर्छ । साविक पदमपुर गाविस स्थानान्तरण गर्दा निकुञ्जछेउको बस्तीमा घाँसे मैदान विकास भयो । अब माडीलाई पनि स्थानान्तरण गरिनुपर्छ । सधैं जंगली जनावर, बर्सेनि बाढीको त्रासमा पीडा खेप्दै बस्दै आएको माडी बस्तीलाई उचित मुआब्जा, क्षतिपूर्ति दिएर स्थानान्तरण गरिनुपर्छ । निकुञ्जको काखमा रहेको सो माडी नगरपालिकालाई सार्न सक्ने हो भने त्यो उचित घाँसे मैदानका रूपमा विकास हुनेछ । निकुञ्जको क्षेत्र पनि बढ्छ, पर्यटन गतिविधि पनि बढ्नेछ ।
यस्तै हाल सञ्चालनमा रहेको भरतपुर विमानस्थललाई मेघौली होइन, हालकै अवस्थामा विस्तार गर्नुपर्छ । सेनाको ब्यारेक र घोडा प्रजनन केन्द्रलाई सरकारले छुट्ट्याएको पदमपुर जग्गामा सार्न लाग्नुपर्छ, जसले १ सय सिट क्षमताका विमान चल्न सक्छन् । निजगढ, भैरहवामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल पनि बन्दै छ । जिल्लाको केन्द्रभागमा रहेको हवाई सेवालाई सार्दा पर्यटनमा ठूलो असर पुग्छ । ठोरी केरुङमार्गलाई बेलैमा विकास गरेर भारत र चीनसँगको समान व्यापारिक सम्बन्ध विकास गर्ने थलो बन्छ चितवन । मेडिकल सिटी, पोल्ट्री, दूध, मौरीपालन, माछापालन, केरा खेतीमा चितवन अब्बल बन्दै गएको छ । देशको केन्द्रभागमा रहेको जिल्ला र यहाँका विकासका सम्भावनाले पनि चितवन आर्थिक राजधानी बन्छ भन्नेमा विश्वस्त छौँ ।

निजी क्षेत्रको हकहित प्रवद्र्धन गर्ने थुप्रै संस्था खुलेका छन् । एकआपसमा वैमनस्यता किन बढेको होला ?
वाणिज्य हेर्ने, उद्योग हेर्ने, उद्योग र वाणिज्य दुवै हेर्ने प्रकृतिका संस्था खुलेको यथार्थ नै हो । तर, नेपाल उद्योग परिसंघले उद्योगीको पक्षमा वकालत गर्दै आएको छाता संगठन हो । त्यही मातहतमा हामी पनि छौँ । नेतृत्व चयन गर्दा पनि पदका लागि हानथाप हुँदैन । राजनीतिक प्रभाव छैन । हाम्रो भनाइ यति हो कि उद्योग र वाणिज्य दुवै हेर्ने संस्थाले उद्योगी र व्यवसायीको हित गर्ला त ? यो प्रश्न गम्भीर छ । भन्सार छुट गर्न लगाउने, न्यून बिजकीकरण गरी कारोबार गर्न उद्यत संस्था पनि छन् । उद्योग संघ, नेपाल उद्योग परिसंघले उद्योग मात्रै हेर्छौं । कच्चा सामग्री ल्याएर प्रशोधित गरेर बिक्री गर्छौं । उद्योग जति हामीलाई हेर्न दिनुस्, वाणिज्य सबै तपाईंहरू हेर्नुस् भन्दै आएका छौँ । उद्योगमा एकपटक लगानी भएपछि निरन्तर उत्पादन हुन्छ । पदका लागि दोहोरो भूमिकामा उद्योगी–व्यवसायी लाग्नु हुँदैन । चितवनमा हेर्नुस्, उद्योग संघको अगुवाइमा आर्थिक विकास गर्न के–के भए, घामजस्तै छर्लङ्ग छ । निजी क्षेत्रबीचको वैमनस्यताले आर्थिक विकास सम्भव छैन । हातेमालो गर्नु जरुरी छ ।

-विप्लव काफ्ले