कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
485

गत शनिबारबाट लागू हुने गरी मुलुकभर दूधको उपभोक्ता मूल्य प्रतिलिटर ६ रुपैयाँ बढेको छ । मूल्य वृद्धिको विषयलाई लिएर धेरैबाट ‘किसानसम्म मूल्य पुगेमा ठीकै छ’ भन्ने खालको प्रतिक्रिया आइरहेको छ । मूल्य वृद्धिको बहस गर्नुअघि नेपालको दुग्धक्षेत्रको तथ्य पनि उत्तिकै महत्वपूर्ण छ । करिब–करिब आत्मनिर्भरताको बिन्दुमा रहेको दुग्धक्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा मात्र ९ प्रतिशत योगदान गर्छ । प्रतिदिन साढे ३ करोड रुपैयाँ सहरबाट गाउँ प्रवाह हुने दुग्धक्षेत्रमा उद्योगीको मात्र ३० अर्ब लगानी रहेको अनुमान छ भने उद्योगबाट करिब १ अर्ब राजस्व सरकारलाई जाने गरेको तथ्यांक छ । ५ लाख कृषक २० हजार उद्योगबाट लाभान्वित भएका छन् । गत वर्षमात्र मुलुकभर २२ लाख १२ हजार ५ सय मेट्रिक टन दूध उत्पादन भएको छ । जन्मेदेखि मृत्युपर्यन्त प्रयोग गरिने दूधको क्षेत्र पोषणका हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) को मापदण्डअनुसार स्वस्थ रहन प्रतिव्यक्तिले प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्नुपर्छ । नेपालमा प्रतिव्यक्ति दूधको उपभोग दर ७२ लिटर छ । यसको अर्थ अझै दूधको उत्पादन बढाउनु आवश्यक छ । तर, उत्पादन बढाएरमात्र पुग्दैन, गुणस्तर र मूल्यलगायत बजार व्यवस्थापनको पनि उत्तिकै महत्व रहन्छ ।
पछिल्लो समयमा दूधको मूल्य वृद्धि राष्ट्रिय बहसको विषय बनेको छ । किसान र उद्योगीहरूको मागलाई राष्ट्रिय किसान आयोगसम्मले साथ दिएर मूल्य वृद्धिको सिफारिस गरेको थियो । प्रतिलिटर १० रुपैयाँसम्म मूल्यवृद्धि गर्नुपर्ने माग भए पनि उपभोक्तासम्मको मर्कालाई मध्यनजर गरेर प्रतिलिटर ६ रुपैयाँ बढाइएको मन्त्रालयले जनाएको छ । दूधको मूल्य बढाउँदा बढेको मूल्यको ६९ प्रतिशत अर्थात् ४ रुपैयाँ १६ पैसा किसानलाई र १ रुपैयाँ ८४ पैसा उद्योगतर्फ जाने विगतको अभ्यासलाई यो पटक पनि निरन्तरता दिइएको छ । कतिपय उपभोक्ता अधिकारकर्मीले दूधको मूल्य वृद्धिलाई उपभोक्ताको ढाड सेक्ने विषय भनेका छन् भने कतिपयले किसानसम्म पुग्नेमा आशंका गरेका छन् । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कारोबारसँग कुरा गर्दै मुलुकभरका सबै सहकारीलाई किसानको भागमा पर्ने ४ रुपैयाँ १६ पैसा सबै किसानलाई नै दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले किसानलाई उल्टै कमिसन थप दिने गरी सहकारीहरूले नियम बनाएर लागू गरिरहेको बताए । यसका बाबजुद कतिपय किसान र उपभोक्ताहरू भने अझै पनि कुन गुणस्तरको दूधमा कसरी मूल्य अन्तर भयो भन्ने अन्योल पनि देखिन्छ । यस विषयमा अन्य सरोकारवालाको धारणा के छ ? प्रस्तुत छ, यिनै पृष्ठभूमिमा रहेको मूल्यवृद्धिको प्राविधिक पक्ष र बढेको मूल्य किसानसम्म पुग्छ-पुग्दैन, कति र कसरी पुग्छ भन्ने विषयमा केन्द्रित भएर सरोकारवालासँग कारोबारले गरेको बहस : 

किसानको भागको मूल्य विचौलियाको खल्तीमा नजाओस्
खेमराज दाहाल
पूर्वअध्यक्ष
अखिल नेपाल किसान संगठन, सिन्धुली
सरकार, मन्त्रालय र दुग्ध विकास संस्थानद्वारा बढाइएको दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँबाट किसानलाई फाइदा पुग्ने दाबी विश्वास गर्ने खालको छैन । दूधको मूल्य सीधा किसानको हातमा पुग्ने ठोस व्यवस्थापन नहुँदा यो वृद्धिबाट दूधको व्यवसायमा संलग्न विचौलियालाई फाइदा पुग्नेछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनअनुसार दुग्ध विकास संस्थानले शनिबारबाट लागू हुने गरी दूधको मूल्यको लाभांश किसानको हातमा पुग्ने कुनै नयाँ विधि तय गरिएको सार्वजनिक गरिएको छ र ? पुरानै विधिबाट किसानलाई दूधको मूल्य दिने विधिबाट किसान यो मूल्यबाट लाभान्वित नहुने देखिन्छ ।
तपाईंले भनेजस्तै वृद्धि भएको प्रतिलिटर ६ रुपैयाँबाट ४ रुपैयाँ १६ पैसा किसानले पाउने भए त निश्चय नै राम्रो कुरो हो, तर किसानहरू विद्यमान विधि प्रक्रियाका आधारमा विचौलियबाट बाध्य पारिन्छन् । किसानका दूध किन्ने नभएपछि उनीहरूले कि त दूध फाल्नुपर्ने हुन्छ, कि त सस्तोमा बेच्नुपर्ने हुन्छ । कतिपयले रिसाएर दूध फाल्ने गरेको समाचारमा देखिएकै, सुनिएकै विषय हो । किसानको दूध किन्ने ठोस व्यवस्था भए पो उनीहरूले भने जस्तै यो वृद्धिबाट ४ रुपैयाँ १६ पैसा किसानले पाउने हुन् । विचौलिया र धनीमानीले बजारमा किसानको दूध नबिक्ने अवस्था सिर्जना गरिदिने गरेको हामीलाई थाहा छ । एकातर्फ किसानलाई मर्का प-यो भनेर उसको नाममा उपभोक्तालाई मारमा पार्ने काम भएको देखियो । तर, त्यसको प्रतिफल ठूला व्यापारी र विचौलियाले पाउने भए किसानको नाममा अरूलाई पोस्ने काम मात्र भएको ठहरिन्छ ।
सरकारले चाडपर्वको समयमा मूल्य बढाएको हो । यसबाट यो वर्षको चाडपर्व स्वाभाविक रूपमा महँगो हुन्छ । यसमा ध्यान दिइएको देखिएन । किसानको हितमा भएको यो निर्णय विगतको अभ्यासजस्तै दूधको उपभोक्ता मूल्यमा भएको वृद्धिको ६९ प्रतिशत हिस्सा किसानलाई र ३१ प्रतिशत हिस्सा उद्योगीको हुने भएको भनिएको छ । व्यवहारमा यो कार्यान्वयन होस् । पहिले जस्तै किसानले दूधको मूल्य नपाएपछि फाल्नुपरेको देखिएको अवस्था फेरि पनि नआओस् । यसका लागि सरकार र निर्णय कार्यान्वयन गराउने सरकारी निकायहरूले वृद्धिको प्रतिफल किसानको हातमा सीधा पुग्यो वा पुगेन, त्यसतर्फ ध्यान दिनुपर्ने हुन्छ । यसमा हुने कमी–कमजोरी हटाएर यो वृद्धिको प्रतिफल किसानलाई पु-याउनुपर्ने आवश्यकता बोध हामी सबैले गर्नुपर्छ ।
बढेको मूल्यको पहिलो हकदार किसान हुन्
राधाकृष्ण सापकोटा
अध्यक्ष, डेरी एसोसिएसन नेपाल
दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढेको विषयमा हामीले मिश्रित प्रतिक्रिया पाइरहेका छौं । खासगरी बढेको मूल्य शतप्रतिशत उद्योगीले मात्र लिन्छन् भन्ने कतिपय भ्रम पनि देखिन्छ, जुन सत्य होइन । अरू वस्तुको मूल्य बढेजस्तो दूधको मूल्य वृद्धि हुँदैन । यसको फरक अभ्यास छ । दूध उत्पादनविरुद्ध किसानसँग सम्बन्धित विषय भएकाले हामी राज्य र कृषकप्रति उत्तिकै जिम्मेवार छौं । झट्ट हेर्दा मूल्य वृद्धि भन्नेबित्तिकै उपभोक्तालाई मार परेजस्तो देखिन्छ । हो, उपभोक्तालाई पक्कै मार परेको छ । तर, दुई–अढाई वर्षपछि प्रतिलिटर ६ रुपैयाँमात्र मूल्य बढ्नु उपभोक्तालाई मारसँग थोरै राहत पनि हो । किनकि प्रतिलिटर १० रुपैयाँ बढाउने माग रहेकोमा उपभोक्ताको हितलाई मध्यनजर गरेरै ६ रुपैयाँ बढाइएको हो । विगतदेखि दूधको मूल्य वृद्धि हुँदा विगतमा जस्तै हामीले खरिद गर्ने दूधको गुणस्तर ४ प्रतिशत फ्याट र ८ एसएनएफको हो भने बिक्रीको स्ट्यान्डर्ड ३ फ्याट र ८ एसएनएफको हो । यस हिसाबले प्रतिलिटर ६ रुपैयाँ बढ्दा बढ्ने मूल्यअनुसार प्रति आधा लिटरको नीलो पोकामा ३ रुपैयाँ बढेको छ ।
सरोकारवालाले बढेको मूल्य कहाँ जान्छ भन्ने चासो राख्नु स्वाभाविक छ । चासो राख्नु पनि पर्छ । तर, यो कुरा पनि सत्य हो कि बढेको मूल्य सबै उद्योगलाई जाँदैन । दूधको हकमा मूल्यवृद्धिका पहिलो हकदार किसान हुन् । त्यसैले ६ रुपैयाँमध्ये ४ रुपैयाँ १६ पैसा किसानलाई नै जान्छ । हामीलाई आउने १ रुपैयाँ ८४ पैसा रकममध्ये त हामीले बुथम्यानदेखि व्यवस्थापन खर्चमा पनि समायोजन गर्नुपर्ने हुन्छ । व्यापारकै हिसाबले कानुनतः २० प्रतिशतसम्म नाफा लिन पाइने व्यवस्था छ । तर, हामीले लिने नाफा निकै कम छ । कच्चा पदार्थको मूल्यवृद्धि, श्रमको मूल्यवृद्धि, व्यवस्थापन खर्च आदि हेर्दा ६ रुपैयाँ बढ्दा पनि हामीलाई खासै आउने होइन । तर, बढेको मूल्यले थोरै भए पनि राहत भने भएको छ । वास्तवमा हामी उद्योगीले जहिले पनि चुनौतीको सामना गर्दै आएका छौं । कहिले दूध नपुग्ने, कहिले पाउडर दूध नपाउने जस्ता समस्या भोगिरहेका छौं । अर्कातिर श्रमको खर्च पनि बढेको छ । यसका बाबजुद उद्योगीले दूध क्षेत्रमा किसानको हितलाई मध्यनजर गरेर समेत काम गरिरहेका हुन्छौं । गरि नै रहनेछौं । किसानले मूल्य नपाएमा हामी पनि चल्न सक्दैनौं ।
कतिपयले उद्योगीहरू नाफामात्र हेर्छन् भन्ने आलोचना पनि गर्नुहुन्छ । हो, उद्योगीहरू नाफा कमाउनका लागि काम गर्ने हो । तर, यसको अर्थ यो होइन कि गुणस्तरहीन वस्तु बेचेर वा उपभोक्ता ठगेर रातारात धनी भइहाल्नुपर्छ । राज्यले तोकेको मापदण्ड, राज्यका कानुनी मूल्य–मान्यताअनुसार नै हामीले काम गर्ने हो । यो विषयमा कतिपय सरोकारवालालाई जानकारी नभएर पनि नकारात्मक टीका–टिप्पणी गर्नु भएको हुनसक्छ । यस क्षेत्रको गाम्भीर्य बुझिदिन आग्रह गर्छु । यस क्षेत्रमा हामी उद्योगीले करिब ३० अर्बको लगानी गरेका छौं । पछिल्लो समयमा दूग्ध क्षेत्रको व्यवस्थापनमा निकै समस्या भोगिरहनुपरेको छ । यस्तोमा बढेको मूल्यले थोरै राहत दिएको महसुस गरेका छौं । यद्यपि हामीले बिक्री गर्ने दूध भनेको कुल कारोबारको १५ प्रतिशतमात्र हो । बाँकी अनौपचारिक क्षेत्रमा भएको कारोबारको हिसाब राख्ने र अनुगमन गर्ने काममा पनि सरकारले उत्तिकै ध्यान दिनु जरुरी छ । सरकारले तोकेको मापदण्डअनुसार काम गर्ने सर्तमा हामीले उद्योग चलाइरहेका छौं । सरकारले गुणस्तर वा मूल्य वा अन्य मापदण्डका आधारमा हाम्रा उद्योगमा जति बेला पनि अनुगमन गर्न सक्छ । हामी जनता र किसानप्रति उत्तरदायी छौं । त्यसैले दुग्ध क्षेत्रलाई मूल्यवृद्धिको विषयसँग मात्र जोडेर नहेरिदिन आमसरोकारवालालाई अनुरोध गर्छाैं ।
डीडीसीअन्तर्गत किसानले पूरा पैसा पाउँछन्
सञ्जीव झा
योजना, मानव संसाधन तथा बजार प्रमुख
दुग्ध विकास संस्थान
सरकारी स्वामित्वको निकाय दुग्ध विकास संस्थानले सधैँ किसानप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको छ । हरेक दिन किसानले उत्पादन गरेको दूध संकलन गरी हाम्रा उद्योगबाट प्रशोधन गरी उपभोक्तासम्म पु-याउँदै आएका छौं । हाल ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ गुणस्तरको दूधमा प्रतिलिटर उपभोक्ता मूल्य ६ रुपैयाँ वृद्धि भएको छ । यो मूल्यको ६९ प्रतिशत अर्थात् ४ रुपैयाँ १६ पैसा सीधै किसानसम्म पुग्ने व्यवस्था मिलाएका छौं । बाँकी १ रुपैयाँ ८४ पैसामात्र डीडीसीले राख्छ । हामी सहकारीमार्फत किसानको दूध ल्याउँछौं । तर, यसपालि बढेको मूल्यमा सहकारीले कुनै कमिसन नलिएर सीधै किसानलाई दिने व्यवस्था मिलाएका छौं । यसमा सहकारीहरू पनि प्रतिबद्ध हुनुहुन्छ । विगतमा जस्तै हामीले खरिद गर्ने दूधको गुणस्तर ४ प्रतिशत फ्याट र ८ एसएनएफको हो भने बिक्रीको स्ट्यान्डर्ड ३ फ्याट र ८ एसएनएफको हो । यस हिसाबले प्रतिलिटर ६ रुपैयाँ बढ्दा बढ्ने मूल्यअनुसार प्रतिआधा लिटरको नीलो पोकामा ३ रुपैयाँ बढेको छ । डीडीसीका अन्य उत्पादन भने प्रिमियम प्रडक्ट हुन् । बाँकीमा प्रतिलिटर ६ रुपैयाँभन्दा पनि गुणस्तरको मापदण्डअनुसार मूल्य तलमाथि हुनसक्छ । डीडीसीको दररेट हेर्ने हो भने मूल्य वृद्धि हुनुअघि प्रतिपोका ३५ रुपैयाँ रहेको नीलो दूध अब ३८ रुपैयाँमा बिक्री भइरहेको छ । प्रिमियम उत्पादनका रूपमा रहेको हरियो दूध प्रतिपोका ४५ बाट ५० पुगेको छ भने काउ मिल्क ४० रुपैयाँबाट ४५ पुगेको छ । यहाँँनेर विचार गर्नुपर्ने कुरा के छ भने हरियो पोकाको दूधको स्ट्यान्डर्ड भनेको ५ प्रतिशत फ्याट र ८ एसएनएफ हो, जसमा नीलो प्याकेटभन्दा २ प्रतिशत बढी फ्याट हुन्छ । हरियो र नीलो प्याकेटमा गाई र भैंसीको मिक्स हुनसक्छ, तर काउ मिल्क गाईको मात्र दूध हो भने यसमा ३.५ प्रतिशत फ्याट हुन्छ । हाम्रो अर्को उत्पादन टी मिल्क हो । हाल दूध अभावका कारण बजारमा पठाउन सकिएको छैन । तर, पठाएको अवस्थामा १.५ प्रतिशत फ्याट र ९.५ प्रतिशत एसएनएफ रहेको यो दूधको मूल्य प्रतिपोका ३० रहेकोमा अब ३५ पर्नेछ । किसान, उपभोक्ता र सरोकारवाला निकायलाई यो विश्वास दिलाउन चाहन्छौं कि दूधको गुणस्तरअनुसार उपभोक्ताको मर्कालाई पनि ख्याल गरेर हामीले उत्पादनको मूल्य निर्धारण गरेका छौं ।
डीडीसीले मुलुकभरका १२ सय सहकारीसँग दूधको कारोबार गर्छ । करिब २ लाख किसान परिवार डीडीसीको दूधका स्रोत हुन् । हाल दैनिक ८५ हजारदेखि ९० हजार लिटर दूध किसानसँग संकलन गरिरहेका छौं भने वर्षभरिको तथ्यांकअनुसार दैनिक १ लाख ८० हजारदेखि २ लाख लिटरसम्म दूधको कारोबार गर्छौं । मूल्य वृद्धि हुँदा यी सब किसानलाई पुग्छ । उपभोक्ताले रुचाएको ब्रान्ड भएकाले पनि हामीले डीडीसीका उत्पादन उपभोक्ताको मागअनुसार पु-याउने कोसिस गरिरहेका हुन्छौं । केही समययता दूध अभावका कारण भने आपूर्तिमा केही कटौती गर्नुपरेको छ । दूध संकलन कम हुँदा आपूर्ति पनि कम गर्नुपर्ने बाध्यता छ । हिजो ६५ हजार लिटरमात्र दूध बजारमा पठाउन सक्यौं भने आज ७३ हजार पु-याउन सकेका छौं । भोलि ८० हजार लिटरको लक्ष्य छ । अब दूधको उत्पादन बढ्ने सिजन आइरहेकाले आपूर्तिमा वृद्धि गर्दै लैजान्छौं । हाम्रा किसानहरू सन्तुष्ट हुुनुले नै हाम्रो उद्योग चल्ने भएकाले पनि किसानलाई पहिलो प्राथमिकतामा राख्छौं । त्यसैले बढेको मूल्यको ४ रुपैयाँ १६ पैसा प्रतिलिटरका दरले किसानलाई नै पुुग्छ । यस विषयमा सबै सरोकारवालालाई विश्वस्त हुन अनुरोध गर्छाैं ।