यादव हुमागाई
सोमवार, भदौ १६, २०७६
428

नयाँ कम्पनी थपिएसँगै बिमा व्यवसाय प्रतिस्पर्धी र उत्साहित छ । कम्पनीहरूको प्रतिस्पर्धी सेवाका कारण बिमाको पहुँच २० प्रतिशतको हाराहारीमा पुगेको छ । सबै सरोकारवाला पक्ष बिमाप्रति सकारात्मक भएकाले बिमाको पहुँच उत्साहजनक रूपमा बढिरहेको बताउँछन् नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा । बजारमा सबै कम्पनीले राम्रो व्यवसाय गरिरहेको केही वर्षमै यस क्षेत्रमा नाटकीय उपलब्धि हासिल हुने उनको अनुमान छ । पछिल्लो समयमा बिमा व्यवसायलाई नकारात्मक बनाउने केही संकेत पनि देखिएको र यसले बिमा कम्पनीले लामो समय लगाएर बनाएको जग भताभुङ्ग हुने भन्दै यसप्रति बिमकहरूसमेत सचेत हुनुपर्ने उनको सुझाव छ ।
भारतबाट चाटर्ड एकाउन्टेन्सी (सिए) गरेका झाले बैंकिङ र बिमा क्षेत्रमा गरी एक दशकभन्दा बढी समयको अनुभव सँगालिसकेका छन् । उनीसँग नेपालमा बिमा व्यवसायको अवस्था, सम्भावना र चुनौतीबारे कारोबारकर्मी यादव हुमागाईले गरेको कुराकानीको सार :

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई जीवन बिमा पोलिसी बिक्रीमा रोक लगाएको छ । यसले व्यवसायमा कस्तो असर गर्ला ?
राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको व्यवस्थालाई म स्वागत गर्छु । हाम्रो देशमा इन्स्योरेन्स अनिवार्य होइन । कुनै पनि सेवाप्रदायक संस्थाहरूले उपभोक्तालाई एउटा सेवा लिनका लागि अर्को सेवा पनि उपभोग गर्नैपर्छ भनेर बाध्य बनाउन मिल्दैन । हामी इन्स्योरेन्स व्यवसायमा छौं, कहिल्यै सर्वसाधारण जनता इस्योरेन्सप्रति नकारात्मक हुन् भन्ने चाहँदैनौं । यसलाई सकारात्मक ढंगले हेर्ने र स्वीकार गर्ने वातावरण हुनुपर्छ । सर्वसाधारणले आफ्नो आवश्यकता र चाहनाअनुरूप मन लागेका बेला आफ्नो रोजाइअनुसार बिमा गर्न पाउनुपर्छ । यसलाई स्वीकार गर्ने हो भने पछिल्लो चरणमा जस्तो किसिमले नकारात्मक हुने अवस्था सिर्जना भएको थियो, त्यो गलत भइरहेको हो । पहिल्यै इन्स्योरेन्स गरिसकेको व्यक्तिलाई पनि ऋण लिनका लागि फेरि बैंकले भनेअनुसार बिमा गर्न बाध्य बनाउँदा विस्तारै देशभर इन्स्योरेन्सप्रति नकारात्मक असर देखिन थालेको थियो । हाम्रो लागि इन्स्योरेन्स मुख्य व्यवसाय भए पनि बैंक तथा वित्तीय संस्थाका लागि त यो सहायक आम्दानीको स्रोतमात्र हो । उनीहरूको हिस्सा पनि एकदमै थोरै छ ।
यसको अर्को विचार गर्नुपर्ने पक्ष भनेको ‘च्यानल कन्फिल्क्ट’ पनि हो । आजको दिनमा पनि इन्स्योरेन्स व्यवसाय विस्तार गर्ने मुख्य आधार नै व्यक्तिगत अभिकर्ताहरू नै हुन् । गत वर्ष बिमा कम्पनीले २८ अर्ब नयाँ व्यवसाय गरेकोमध्ये २७ अर्ब व्यक्तिगत रूपमा आएको छ ।

केही बिमकहरूले बैंकास्योरेन्सलाई नियमन गरेर व्यवस्थित गर्नुपर्नेमा बन्द गरियो भनेका छन् नि ?
यसमा दृष्टिकोण फरक–फरक हो । कुनै पनि बिमकले बिमाप्रति नकारात्मक असर परोस् भन्ने चाहनुहुन्छ जस्तो मलाई लाग्दैन । बिमामा ‘इजी सेल’ खोज्ने पनि होइन । यदि कसैलाई इजि सेल चाहिएको छ भने यो उहाँहरूका लागि उपयुक्त क्षेत्र होइन । बिमा भनेको तपाईंले ग्राहकलाई विश्वासमा लिएर नै बिक्री गर्ने चिज हो । ग्राहकलाई विश्वासमा लिन राम्रा चिज पस्किनुपर्छ नि ! अहिलेसम्म हामीले ग्राहकले खोजेअनुसारको बिमा पोलिसी पस्किन सकेका छौं त ! ग्राहकले यही हो मैले खोजेको बिमा पोलिसी भनेर स्वस्फूर्त रूपमा बिमा किन्ने वातावरण बनाउनेतर्फ कम्पनीहरू लाग्नुपर्छ ।
अहिले बैंकिङ क्षेत्रमा तरलताको अभाव भएकाले ऋण पाउन गा-हो छ । यो अवस्थामा ऋण लिन गएको व्यक्तिले बैंकको सर्त माने पनि उसको मनमा तपाईंप्रति भावना त सकारात्मक भएन । भोलि यो अवस्थामा सुधार आउँदा संस्थाप्रति नै उसले हेर्ने दृष्टिकोण त गलत हुने भयो । केही समयअघि बैंकहरू ऋण दिनका लागि तँछाडमछाड गर्थे, जुन अहिले निक्षेप संकलन गर्नमा छ । अहिलेको अवस्था ठ्याक्कै उल्टो हुँदा मलाई अप्ठ्यारोमा अनेक सर्त थोप-यो भनेर ग्राहकले त्यो संस्थामा जान्न भन्यो भने अवस्था के हुन्छ ? त्यसैले हामीले धेरै दुःख र माया गरेर हुर्काएको इन्स्योरेन्स क्षेत्रमा नकारात्मकता पैदा हुन्छ भने हामीले आवाज त उठाउनै पर्छ ।

बैंकलाई रोक लगाएपछि कम्पनीहरू सहकारीलगायतका संस्थामा केन्द्रित हुन थालेका छन् त ?
समयले नै हरेक कुराको विकास गर्ने हो । हिजो हाम्रो देशमा बिमाको बजार सानो थियो । यो विस्तारै बढ्दै गइरहेको छ । बिमाको पहुँच ६–७ प्रतिशत त हामीले कति समय भन्यौं । बल्ल दोहोरो अंकको वृद्धिको कुरा गर्न थालेका छौं । यो वृद्धिसँगै बजारमा कम्पनीहरूको आकर्षण पनि बढेकै छ । अघिल्लो वर्ष नयाँ व्यवसायको प्रिमियम २८–३० अर्ब र कुल प्रिमियम संकलन ७० अर्ब हाराहारी थियो । यो वर्ष नयाँ व्यवसायको विस्तार ५० अर्ब र कुल प्रिमियम संकलन सवा खर्ब पुग्छ । अब बजारको आकार ठूलो हुन थाल्यो । त्यस कारणले व्यक्तिगत अभिकर्ताको पनि रुचि वृद्धि भइरहेको छ । उनीहरू पनि व्यावसायिक रूपमा यसप्रति लाग्न थालेका छन् । सुरु–सुरुमा अभिकर्ता बनाउन साह्रै गा-हो थियो । अहिले चार्टर्ड एकाउन्टेट, इन्जिनियर, डाक्टर, अफिसरहरू पनि आकर्षित भएका छन् । बल्ल यो क्षेत्रको व्यावसायिक विकास हुन थालेको छ ।
हरेक कुरालाई हामीले कानुन, नीति–नियम तथा निर्देशिकाबाट व्यवस्थित गर्नुपर्छ । अहिले इन्स्योरेन्स क्षेत्र नकारात्मक हुने गरी व्यवसाय विस्तार गर्न थाल्यो भने सबै भताभुङ्ग हुन्छ । यो धेरै संवेदनशील क्षेत्र हो । अहिले पनि सर्वसाधारण बजारमा गएर सामान किनेजस्तो इन्स्योरेन्स किन्न आउँदैनन् । ढोका–ढोकामा गएर सेवा दिनैपर्छ । सबैभन्दा ठूलो समस्या हिजो पहिलो प्रिमियम संकलन धेरै भए पनि नवीकरण राम्रो थिएन । हामी १५–२० वर्षको विश्वास बिक्री गर्दैछौं भने हामीले अल्पकालीन ढंगले सोच्नु हुँदैन । बिमा लगातार चलिरहने व्यवसाय हो । तपाईंबाट सेवा लिएको बिमितलाई त्यो तहको सेवा पुगेन भने नकारात्मकता त्यही आउँछ ।
पहिलो प्रिमियम संकलनको लागत धेरै उच्च छ । त्यसपछि नवीकरण भएन भने कम्पनीलाई घाटा पर्ने भयो । मैले कति प्रिमियम संकलन गरें भनेर देखाउने मात्र होइन । हाम्रो काम भनेको त दिगो विकास पनि त हो नि । हाम्रा लागि बिमितहरू जति महत्वपूर्ण छन्, लगानीकर्ताहरू पनि उत्तिकै महत्वपूर्ण छन् । यदि प्रिमियम संकलनमा मात्र जोड दिने र ल्याएको सबै खर्चमात्र गर्ने हो भने लगानीकर्तालाई दिने के ? स्टक एक्सचेन्जमा बिमा कम्पनीको सेयर बैंकिङभन्दा राम्रो हुने तर भोलि लगानीकर्तालाई राम्रो प्रतिफल दिन सकिएन भने अवस्था बेग्लै बन्छ । यो सबै कुरालाई एकमुस्ट ढंगले हेर्नुपर्छ । यो ठीक, यो बेठीक भनेर सतही ढंगले हेर्नु हुँदैन । गहन अध्ययन र छलफल गर्नुपर्छ । इन्स्योरेन्स हरेक नेपालीका लागि दालभातजस्तै आवश्यक हो । यसलाई सोहीअनुसार सर्वसुलभ बनाउनुपर्छ ।

जीवन बिमा विस्तार गर्ने मुख्य जिम्मेवारी पाएका अभिकर्ताहरूलाई नियमन गर्न नसक्दा विकृत देखिएको हो ?
हामी नेपालीको बानी अरूलाई मात्र दोष लगाउँछौं । म कस्तो खाना खाने, कस्तो ड्रेसअप गर्ने मेरो काम हो नि ! अभिभावकले त सधै सचेत गराइरहेको हुन्छ । आफूू गलतका गलत काम गर्ने अनि बुबाआमाले वास्ता गर्नुभएन भन्न त मिलेन नि ! अब स्वनियमनको जमाना हो । दालभात मजाले खायो अनि पचेन भने अरूलाई दोष दिने प्रवृत्तिबाट बाहिर आउनुपर्छ । बजारका खेलाडी र नियामकले एकअर्कालाई सहयोग गर्नुपर्छ । यो चोर–पुलिसको खेल होइन । विदेशमा भएका राम्रो काम कसरी देशमा ल्याउने र त्यो अन्यत्र लागू गर्न सकिने अवस्था छैन भने आफंैबाट सुरु गर्न सकिन्छ । मान्छेको नियतलाई त कसैले पनि नियमन गर्न नै सकिँदैन । त्यो सकिएको भए दुनियामा खराब नियत भएका व्यक्ति नै हुँदैनथे ।
अहिले इन्स्योरेन्स क्षेत्रमा राम्रो अवसर देखिएको छ । सबैतिर कुरा मिलेको जस्तो लागेको छ । सबै कम्पनीले राम्रो व्यवसाय गरिरहेका छन् । यसले भोलिका दिनमा यो क्षेत्रमा राम्रो अवस्था सिर्जना हुन्छ भन्न सकिन्छ । अहिले इन्स्योरेन्स कम्पनीले संकलन गरेको प्रिमियम एउटा बैंकबाट अर्कोमा गएको हो, निक्षेप बढेको छैन । गलत बुझाइ बजारमा सुनिन्छ । यसमा हामी सहमत छैनौं । प्रिमियमको आकार २ सयदेखि करोड रुपैयाँसम्म हुन्छ । अहिले पनि ग्रामीण क्षेत्रमा बैंकभन्दा पहिला इन्स्योरेन्स कम्पनी पुगेका छन् । नेपालमा बैंकिङ क्षेत्रको पहुँच ४० प्रतिशतमात्र छ । ६० प्रतिशत त खाली नै छ । बैंक नपुगेको ठाउँमा पनि हामी गइरहेका छौं । मानिसको खल्तीमा रहेको पैसा संकलन गरेर ल्याएका छौं, जसले बैंकको निक्षेप बढाउने काम गरेको छ ।
अर्को कुरा, अभिकर्ताको पेसामा आत्मसम्मानको पनि खाँचो छ । यसलाई राज्यले पनि पहिचान दिनु आवश्यक छ । हामी सबैले त्यसका लागि भूमिका खेल्नुपर्छ । अभिकर्तालाई उच्च मनोबलका साथ काम गर्न सक्ने गरी आत्मसम्मान दिनुपर्छ । जीवन बिमा व्यवसायमा अभिकर्ताको रूपमा संलग्न भई १ लाख युवालाई नेपालमै स्वरोजगार बन्न सकेका छन् । उनीहरूले पार्ट टाइमका रूपमा अभिकर्ताको काम गरेका छन् । यसबाहेक अन्य क्षेत्रमा पनि ठूलो योगदान दिएका छन् । देशमा लगानीको पुँजी जुटाउन उनीहरूले धेरै उल्लेखनीय काम गरिरहेका छन् । यसलाई अझ राम्रो बनाउँदै धेरै मान्छेलाई यसमा आकर्षित गर्न सके बिमामा आगामी दिनमा नाटकीय परिवर्तन आउँछ ।

पछिल्लो समयमा बिमा दाबी भुक्तानी लिनकै लागि हत्या गर्नेजस्ता आपराधिक घटनासमेत सार्वजनिक भए । यसलाई नियन्त्रण गर्नेतर्फ कत्तिको सचेत हुनुहुन्छ ?
मानिसको नियतलाई कसै गरे पनि नियमन र नियन्त्रण गर्न सकिँदैन । यसप्रति सचेत हुने र आगामी दिनमा त्यस्तो हुन नदिन सुरक्षात्मक उपाय अपनाउने हो । बजारमा खेलाडीको संख्या बढेपछि प्रतिस्पर्धा बढ्छ र मानिसले पनि सहजता खोज्छ । यहाँ सबैभन्दा ठूलो आवश्यकता भनेको अभिकर्तालाई व्यावसायिक बनाउनु नै हो । कुनै अनावश्यक प्रलोभन नदेखाई यसको महत्व बुझाएर, सम्झाएरै बिमा गर्न सकिन्छ । त्यसका लागि पर्याप्त तालिम र वातावरण आवश्यक छ । प्रिमियम संकलन गर्नु मात्र ठूलो कुरा होइन । यो सुरुवात हो । अहिले प्रिमियमै केन्द्रित गर्ने प्रचलन हामीकहाँ छ । गलत सिकाइएकाले सुरुवात गलत भएको छ, जसको परिणामस्वरूप यस्ता गलत काम हुनसक्छन् ।
घटना सार्वजनिक भएपछि बिमा समितिले अध्ययन गर्न समिति बनाएको छ । काम सुरु भइसकेको छ । समितिको प्रतिवेदन आएपछि कार्यान्वयमा गइहाल्नुपर्छ । मुख्य कुरा, इन्स्योरेन्सले अन्डरराइटिङ क्षमता बढाउनुपर्ने देखिएको छ । यी घटनामा कम्पनीकै दोष हो भन्न सकिँदैन । अन्डरराइटिङ गर्दा सचेत हुनुपर्छ । कुनै व्यक्तिले बिमा गर्दा उसले बुझेर ग-यो कि नबुझी ग-यो, उसका लागि उपयुक्त पोलिसी हो या होइन, प्रिमियम तिर्न सक्ने अवस्था छ-छैन भनेर छड्के गर्न पनि आवश्यक छ ।

कम्पनीहरूले कर्मचारी, अभिकर्तालाई प्रिमियम संकलनका लागि दिने लक्ष्यसहितको दबाबले समस्या निम्त्याएको हो कि ?
लक्ष्य त जुनसुकै कम्पनीमा हुन्छ नै । तर, कर्मचारीको टर्न ओभर अनुपात ध्यान दिनुपर्छ । लक्ष्य हेरेर गुणस्तरीयतालाई बेवास्ता गर्नु हुँदैन । प्रिमियममात्र होइन, बोनस रेटमा पनि लक्ष्य राख्न आवश्यक छ । हाम्रो गलत बुझाइ इन्स्योरेन्समा प्रिमियम आउनेबित्तिकै अरू सबै चिज ठीकठाक हुन्छ भन्ने छ । अब पाँच वर्ष पख्र्यौं भने यो बुझाइमा परिवर्तन आउँछ ।
हामीलाई बिमा विषयहरूमा अध्ययन पनि आवश्यक छ । हामीकहाँ केही समय काम गर्नेबित्तिकै विज्ञ बने भन्ने धारणा छ । विदेशमा लामो समय अनुसन्धान गरेका व्यक्तिहरू त म अझै सिक्दैछु भन्नुहुन्छ । उहाँहरूको तुलनामा हामी केही पनि होइन । तर, हाम्रो देशमा चाँडै विज्ञ हुन्छौं । बिमा क्षेत्रमा लाग्ने जनशक्तिका लागि पर्याप्त शिक्षा, तालिम आवश्यक छ । यसैका लागि हालै तालिम केन्द्र पनि सुरु गरिसकेका छौं । सबैभन्दा ठूलो एन्टिबायोटिक समय हो भन्छन् । समयले नै रिजल्ट दिँदै जान्छ । अब बिमा कम्पनीहरूले अन्डरराइटिङ बलियो बनाउनैपर्छ । जे आए पनि मजाले पचाउँछ भनेजस्तो गर्नु भएन । जति सक्नुहुन्छ बिमा लिँदाखेरि परीक्षण गर्नुहोस्, दिने बेलामा विकल्प हुँदैन ।
नेपालमा अहिलेसम्म इन्स्योरेन्सको क्षेत्रमा केही पनि भएकै छैन । भर्खरै जग बनाउँदैछौं । देशमा ३ करोड जनता छन् । ५० लाख हाराहारीमा मात्र बिमा भएको छ । त्यसमा पनि प्रिमियमको आकार एकदमै कम छ । सरसर्ती हिसाबले हेर्दा प्रतिव्यक्ति प्रिमियम १४ हजार रुपैयाँ हाराहारीमा छ । आगामी दिनमा यो बढ्ने वाला छ । यसले देश विकासमा ठूलो काम गर्छ । देशको पूर्वाधार विकासका लागि जीवन बिमा क्षेत्रले १० खर्बको योगदान गर्नुपर्छ भनेर लाग्ने हो भने त्यो सम्भव छ ।

सम्भावनाको चर्चा गरिरहँदा बजारमा कम्पनीको संख्या बढी भयो, घटाउनुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ नि ?
हरेक चिजलाई परिपक्व हुनका लागि समय लाग्छ । कुनै व्यक्तिले केही काम गर्छु भनेर योजना देखाएर अनुमति लिएको छ भने त्यो समयसम्म त कुर्नुपर्छ । त्यसैले बिमा बजारमा कम्पनीको संख्या बढी भयो कि भन्ने विषयमा कमेन्ट गर्नु अहिले अलि हतारो हुन्छ कि ! एक वर्षको व्यापार हेर्दा राम्रै देखिन्छ । प्रतिस्पर्धाले नै नयाँ–नयाँ कुराको आविष्कार गराउँछ । अहिले बजारको प्रतिस्पर्धाले हाम्रो देशमा इन्स्योरेन्सको गुणस्तर बढाउने वाला छ । यो समयमा सर्वसाधारणबीच बिमा विषयमा धेरै चर्चा भएका छन् । आमसञ्चारमाध्यममा बिमाका समाचार धेरै आए, जसले गर्दा बिमा साक्षरता पनि फैलिँदै गएको छ । बिमामा नवीकरणदर बढेको छ र ल्याप्स कम भएको छ । अब कम्पनीहरूको साधारण सेयर पनि आउँदैछ । आगामी दिनमा बिमा क्षेत्र राम्रो बाटोमा अघि बढ्छ ।

कम्पनीहरूको क्रस होडिङले समस्या भएको हो ?
यो नियामक निकायले हेर्ने विषय हो । देशका लागि के उपयुक्त हुन्छ त्यही गर्ने हो । मर्जर भनेको एकैपटक आउने र हुने कुरा होइन । यसका लागि समय लाग्छ । फेरि कम्पनीहरूको संख्या धेरै हुँदैमा वा कम्पनीको अवस्था बिग्रिएमा मात्र मर्जर गर्ने होइन । सबैभन्दा ठूला र राम्रा–राम्रा कम्पनीहरू पनि मिल्न सक्छन् । बजारमा आफ्नो मूल्य बढाउनका लागि पनि त मर्जर गर्न सकिन्छ । अहिले सबै कम्पनी विस्तारकै चरणमा छन् । कारोबार, शाखा, कर्मचारी बढिरहेका छन् । सबै बढेर एउटा तहमा पुगेपछि अब विस्तारको सम्भावना छैन, सँगै काम गरौं भन्ने अवस्था आउँछ । केही वर्षमा त्यो अवस्था आउँछ । यसले बिमित र लगानीकर्तालाई नै फाइदा हुने भएपछि उहाँहरू आफैं मर्जरका लागि सहमत हुने अवस्था आउँछ ।

बिमा समितिले लगानी निर्देशिका परिवर्तन गरी क्षेत्र विस्तार गरेको छ । यसले बिमा कम्पनीहरूको लगानी नीतिमा कस्तो प्रभाव देखिएला ?
समितिले परिवर्तन गरेको लगानी निर्देशिकालाई हामीले स्वागत गरेका छौं । गत वर्षमात्र निर्देशिका आएको हो । यसले धेरै नयाँ क्षेत्रमा लगानीको सम्भावना खुलेको छ । तर, हामी एकैपटक निर्णय गर्न सक्दैनौं । जीवन बिमा कम्पनी जोखिमरहित क्षेत्रमा नै जान खोज्छ । सर्वसाधारणबाट उठाएको प्रिमियम संस्थाको आम्दानी होइन । हामी दायित्व पनि लिएका छौं । यसबाट उनीहरूलाई बोनससहित फिर्ता गर्नुपर्छ । त्यसका लागि राम्रोसँग सुरक्षित लगानी गर्नुपर्छ । जोखिमरहित सरकारको ब्याकअप भएको आयोजना नै हुन् । आगामी दिनमा सरकारले पूर्वाधार, पर्यटन, जलविद्युत् क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित ऋणपत्र जारी गरे बिमा कम्पनीहरूले लगानी गर्न सक्छन् ।
अहिले बिमा कम्पनीको धेरै लगानी बैंकको निक्षपमै छ । बैंकमा हुनु नराम्रो त होइन, तर एकै क्षेत्रमा मात्र केन्द्रित हुँदा जोखिम हुन्छ नै । हामी निर्देशिकाले खुल्ला गरेका पूर्वाधारका क्षेत्रमा लगानी गर्न तयार छौं । त्यसका लागि कम्पनीहरू आफैंले कार्यविधि बनाउन आवश्यक छ । यसैले यसको प्रतिफल देखिन केही समय लाग्छ ।

कम्पनीको अवस्था र आगामी योजनाहरू के छन् ?
गएको वर्ष नेपाल लाइफका लागि राम्रो रह्यो । बजारमा नयाँ कम्पनी थपिए पनि बजारमा हाम्रो हिस्सा यथास्थितिमा नै छ । १० वटा कम्पनी हुँदा हाम्रो बजार हिस्सा ३० प्रतिशत थियो भने १९ कम्पनी पुग्दा पनि बजार हिस्सा घटेको छैन । ल्याप्सेस सुधार भएको छ । नयाँ व्यवसायका साथै नवीकरणबाट पनि राम्रो प्रिमियम संकलन भएको छ । जीवन बिमा कोष र लगानी पनि बढेको छ । कम्पनीको व्यवसाय वृद्धि उत्साहजनक छ । यसले हामीलाई उत्प्रेरणासँगै दायित्व पनि थपिएको छ । संस्थागत सुशासनलगायतका क्षेत्रमा हामीले उदाहरण प्रस्तुत गर्नुपर्नेछ ।
बिमाको योजना लिएर सबै सर्वसाधारणसम्म पुग्न सकेका छैनौं । १५ प्रतिशतको मात्र बिमा भएको छ भने बाँकी ठूलो हिस्सामा हामी पुगेकै छैनौं । बिमामा गलत आश्वासन बेच्नु हुँदैन । जीवन बिमा किन आवश्यक छ भनेर महत्व र यसको आवश्यकता बुझाएर बिमा गराउनुपर्छ । यो क्षेत्रलाई नकारात्मकबाट जोगाउनुपर्छ । यसको नेतृत्व नेपाल लाइफले गर्छ ।